जताततै सुनसान, केवल झरीको झ्यार्र झ्यार्र आवाजमात्र सुनिइरहेको थियो । उसको मनमा अनेकौँ विचार खेलिरहेका थिए । वर्षाैँदेखि लोकसेवा परीक्षामा अनुत्तीर्ण परीक्षार्थीझैँ ऊ पनि मर्ने परीक्षामा बारम्बार फेल भएको थियो । उसले आजलाई विशेष दिन ठानेको छ । मान्छेले बाँच्ने हरेक आधार पाइन्छ भन्थे तर उसले कहिल्यै कुनै आधार पाएन । सबैतिरबाट आकाशले थिचेझैँ थिचेको थियो समस्याले । नयाँ नयाँ समस्या थपिइरहेका थिए ।
मान्छे किन मर्छन् ? यस्तो सुन्दर जिन्दगी कहिले पाउँछ ? पहिला पहिला उसले त्यस्तै सोच्ने गर्थ्यो तर अरूलाई आश्वासन र सान्त्वना दिन जति सजिलो हुन्छ, आफैँलाई पर्दा कहाँ त्यति सजिलो हुन्थ्यो र ? मर्नका लागि हजारौँ बाटा थिए । रुखमा झुन्डिने, भीरबाट हाम्फाल्ने इत्यादि । तर उसलाई त्यसमा पनि डर लाग्थ्यो । यदि त्यस्तो अवस्था कसैले भेट्टाएर बाँच्यो भने के हाल होला ? अथवा अङ्गभङ्ग भएर अपाङ्ग हुनुपर्यो भने ? यस्तै कुराहरूबाट असफल भइरहन्थ्यो यात्रामा ऊ ।
समाचारमा व्यस्त रहने उसले एक दिन आत्महत्यासम्बन्धी प्रतिवेदन पाएको थियो । त्यसमा विभिन्न आत्महत्याको कारणसँगै बिना अर्थको उपाय तथा आत्महत्याको अवस्थाबारे लेखिएको थियो । नेपालको तथ्याङ्क हेर्दा रुखमा झुन्डिएर मर्ने र बाढीमा हाम्फाल्ने बाहेक विषसेवन गर्ने, अग्लो ठाउँबाट हाम्फाल्नेहरू बढी थिए । त्यसैले उसलाई मृत्युको यात्रा साउन, भदौको बाढीमा हाम्फालेर गर्ने रहर लाग्यो । त्यसैले तानिरह्यो मृत्युले जसरी विपरीत ध्रुवमा रहेको एक चुम्बकीय शक्तिले अर्काेलाई तान्छ । त्यसैले वर्षायाममा आफ्नो शरीरको अन्त्य गर्ने उद्देश्यमा पुग्यो ऊ।
उसले कयौँपटक विद्यालयमा शिक्षकले भनेको सुनेको थियो । कुनै काम सफल रूपमा गर्नु छ भने पहिला योजना बनाउन आवश्यक हुन्छ । त्यसैले उसले पनि योजना बनायो । घडीको सुई बिस्तारै चल्दै बर्खा लाग्यो । उसको मिति पुग्ने दिन आउँदै थियो । रातको १० बजेतिर कोठाबाट बाहिर निस्यो। कहिलेकाहीँ रातमा हिँड्दा लखेट्ने कुकुरको बथान, नजिकैबाट हिँड्दा पनि आज शान्त देखिन्थे । उसलाई लाग्यो, मर्नेलाई सबैले साथ दिँदो रहेछ, बाँच्न पो बाधा दिन्छन् त ! मध्य रातमा उसले कोठादेखि बागमतीसम्मको यात्रा तय गर्यो ।
निरन्तर झरीले बागमती रिसाएकी थिइन् । बिना काम पनि उसलाई थाकेको, गलेको महसुस भएको छ । बागमती उर्लिएर आएको थियो । नदीले उसलाई नेपाली हास्यव्यङ्ग्यका धरोहर भैरव अर्याल सम्झायो । मनमा एक किसिमको भावना आयो । दुनियाँलाई हँसाउने त्यस्तो व्यक्तिले त यही बाटो रोजे भने म त एक धुलो त हुँ । उसमा हौसला बढ्यो । यताउता फाट्टफुट्ट मान्छे थिए, तैपनि ऊ शान्त देखिन्थ्यो । उज्यालो सहरमा अँध्यारो मनहरू अधिक थिए । मान्छेले ३५ सेकेन्डमा गरेको निर्णय निर्णायक बन्छ रे । सोच्न थाल्यो विविध कुराहरू, सम्झिन थाल्यो विगतका कुराहरू । उसलाई याद आयो, भूकम्पमा परेर बाआमा गुमाए पनि जसोतसो छात्रवृत्ति पाएर +२ पास गरेको ।
उसको एउटा सानो भाइबाहेक कोही थिएन । उसैको लागि बाँचेको थियो ऊ । गाउँमा केही थिएन, भाइले विद्यालयमा निःशुल्क पढ्न पाएको थियो । भाइको हेरचाह गर्ने उसैको जिम्मा थियो । भाइ बिरामी हुँदा कयौँ रात ऊ भगवान्लाई प्रार्थना गरेर बस्नुको विकल्प नभएको, कहिलेकाहीँ भारी बोक्ने, मेलापात गरेको पैसाले घरखर्चा चलाएको, +२ सकेपछि स्नातक पढ्न काठमाडौं भाइ लिएर आएको, भाइलाई निःशुल्क पढाउने र खाने बस्नेसमेत व्यवस्था गर्ने संस्था पाउँदा जीवनमा सबैभन्दा खुसी भएको सम्झियो उसले । आफू पढ्नका लागि केही कलेज खोजेको, छात्रवृत्तिको लागि काठमाडौँमा केही क्याम्पसहरू खोजेको, एउटा कलेज पाएको, निःशुल्क पढाउने भन्ने ठाउँमा जेहनदार छान्नका लागि पनि २५०० तिरेर फारम भरेको र खिन्न बनेर घर फर्केको सबै सबै सम्झियो उसले । फेरि सम्झ्याे, इन्जिनियरिङ पढेर पैसा कमाउने, देशको सेवा गर्ने उसको इच्छा जागेको, पढ्न भनी परीक्षा दिएको ठाउँमा नाम निस्किएको तर भर्नको लागि कलेज प्रशासनले २५ हजार माग्दा एक शब्द नबोली फर्केको ।
उसलाई लागेको थियो, निःशुल्क पढ्न पाएपछि बिदा र साँझ, बिहान एक दुई घण्टा भारी बोकेर भए नि जीवन गुजार्न सकिन्छ तर उसको सपना त्यहीँ तुहिएको थियो । त्यसै दिनबाट उसको एउटा सपना टुटेको थियो । त्यो रात ऊ भक्कानिएर रोएको थियो । उसले सम्झियो सबै सबै ।
सहरमा हजारौँ घर थिए तर गरिबले बस्ने एउटा भित्ता पनि थिएन । लाखौँ मान्छेहरू थिए तर सरसहयोग गर्ने मित्र थिएनन् । कयौँ ठुला ठुला विद्यालय, महाविद्यालय, विश्वविद्यालय थिए तर उसले आफ्नो लागि एउटा ठाउँ पनि पाएन । पैसा र बैँसले चलेको देश देखेर आफ्नै आस कम लाग्न थालेको थियो उसलाई ।
जसरी हाँगा भाँचिए पनि वृक्षले पालुवा उमार्न कोसिस गर्छ त्यसैगरी सास रहुन्जेल आस भनेझैँ जिउने बाटो खोजिरहँदो रहेछ जीवन । बेरोजगार र मानसिक तनावले उसलाई च्याप्दै लगेकाे थियो । भएको पैसा सकिन आँटेको थियो । चिनेजानेको कोही थिएन । समाचारमा सुनिन्थ्यो, ठगहरूको बिगबिगीकाे तर आफू ठगिन्छु भन्ने बुझ्दाबुझ्दै मानसिक तनाव, अभाव, बेरोजगारी जस्ता तत्त्वले उसलाई त्यसैमा पुर्यायो । उसले एउटा जब सेन्टरमा ५ हजार तिरेर एउटा कामका लागि निवेदन दियो । काम मिलाइ दिन्छु भन्ने दलालले भोलि, पर्सि भन्दाभन्दै झुलाउँदै गएको सम्झियो उसले । २०, २२ दिनसम्म काम नमिलाएपछि ऊ पैसा फिर्ता माग्न गएको थियो । प्रहरीमा उजुरी दर्ता गर्न जाँदा समेत उसले कुनै सहयोग पाएन । प्रहरी मेरो साथी भन्ने विश्वास त्यस दिनदेखि त्यागेर त्यहाँबाट गहभरि आँसु पार्दै चौकीबाट फर्केको साँझ सम्झियो उसले ।
अभावग्रस्त जीवनले पेल्दै थियो उसलाई । नेपालमा गरिबको लागि स्थान छैन, सम्झेर अन्तिममा बचेको केही पैसा लिएर राहदानी बनाउन गयो । तर त्यहाँ पनि यो मिलेन त्यो मिलेन भनेर भन्ने तर कारण नभन्ने कर्मचारीले पाँचौँपटक पनि रित्तो हात फर्काएका थिए उसलाई । त्यसपछि उसमा बास गर्यो आत्महत्याको सोचले । भएको ६, ७ हजारले जीवन बचाउनेमा भन्दा जीवन समाप्त गर्नेतिर लागे उत्तम हुन्छ लाग्यो उसलाई । बाँच्नु पनि कसका लागि बाँच्नु ? उसको कोही थिएन । ऊसँग केबल चिन्ता, जीवनप्रतिको वितृष्णा थियो । त्यसैले आफूले टेकेको जमिनलाई ढोग्दै, मातापितालाई मनमनै पुज्दै कुकुरको भुकाइसँगै मिसिन गयो हुत्तिएर आएको बागमतीमा । निकै फरक, कसैले नभोगेको/नसोचेको, कसैले वर्णन नगरेको यात्राका लागि नयाँ युगको लागि, शून्यताको लागि !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।