
उदार मनको व्यक्तिद्वारा अनुदान भूमिमा गाउँले श्रमदानबाट ठडिएको स्कुल । एकमूठो बाता, एक घना बाँस हाम्रा गाउँका प्रत्येक घरबाट योगदान भएको थियो । उप्रान्त म जस्तै थुप्रैले यही स्कुलबाट यात्रा गर्नु छ शिक्षाको । अनि पुग्नु छ धेरै माथि, जहाँबाट आफ्नो र माटोको उत्साह कोर्नु पर्छ ।
मेरो ठम्याइमा, मैले पनि मेरो स्कुललाई अलिकति श्रमदान गरेको छु । खर, फुगचा, डाँडा, झ्याल्सी, बला, सिमेन्ट, बालुवा, रोडा अनि कर्कटपाता बोकेर ।
मेरा लँगौटियाहरू फ्याँचे, बोक्तरे, चुइँया, डाडुकुच्चे अनि म जिरे । यी हाम्रा अनौपचारिक संज्ञा । म अज्ञात छु हाम्रा उपनाम राख्ने को हुन् ? तर स्कुलमै पाएका हौँ, यी नामहरू । त्यसरी नै हामीले पनि शरीर, अनुहार, बोली, व्यवहार आदि हेरेर विद्यार्थीदेखि सरहरूका समेत नाम दर्ता गरेका थियौँ मथिङ्गलको बृहत् शब्दकोशभित्र ।
एक दिन कलासम्बन्धित विषय पढाउने (निर्मल सरको नाकको फोँद्रो अलिक फुकेको हुनाले फाेँद्रे सर भन्ने गथ्र्यौं) फोँद्रे सरले स्वैच्छिक विषयमाथि चित्र बनाउने गृहकार्य दिनुभयो ।
भोलिपल्ट क्लासमा सबैले बनाएको चित्र देखाउँदै भन्नुहुन्छ – ‘विद्यार्थी भाइहरूले बनाएको आजको यी चित्रका फेदीमा उहाँहरूका झर्राे उपनाम र नामका भावसँग मेलखाने अर्काे उपनामको चिचिलो फलाउनु भएका रहेछन् । म उहाँहरूको फाेँद्रे सर, ती चित्रहरूले बोकेका भविष्यका विहङ्गम दृष्टि या सम्भावनासमेत राख्न गइरहेको छु ।’
म झसङ्ग हुँदै मुसुक्क हाँसेँ फोँद्रे सरतिर हेरेर । हामी पाँच भाइलाई छोडेर अन्य विद्यार्थीका मनमा भने खुलदुली दौडिरहेका थिए होला, आखिर कुन कुन नामले फलाए त सुन्दर चिचिलो ।
मैले बनाएको झन्डाको चित्र देखाउँदै भन्नु भो फोँद्रे सरले– ‘यो झन्डा बनाउँने झर्रो उपनाम जिरे, नामः दिनेशले आफ्नो नामको पुच्छरमा ‘दीप्ति’ उपनाम फलाउनु भएको छ । र उहाँ भविष्यमा देशभक्त बन्ने सपना देखेको छु । अर्काे चित्र बन्दुक बनाउने भाइ झर्रो उपनाम फ्याँचे, नामः सुमन कुमारले आफ्नो उपनाम ‘सुगन्ध’ लेख्नुभएको छ । र उहाँ भविष्यमा प्रखर बन्दुकधारी बन्नु हुने प्रवल सम्भावना देखेँ । त्यस्तै, तेस्रो चित्र हलो बनाउने झर्रो उपनामधारी बोक्तरे, नामः इन्द्रबहादुरले ‘सप्तरङ्गी’ उपनामको चिचिलो फलाउनु भएको छ । र उहाँ भविष्यमा नामुद कृषक बन्नु हुने प्रवल आशा गरेँ मैले । चौथो चित्रकार झर्रो उपनाम डाडुकुच्चे, नामः आविर्भूतले आफ्नो नामको पुच्छरमा ‘दीन’ लेखेर नुतन प्रयोग गर्नुभएको छ । र उहाँको गाई चित्रले पशुपालनतिर ढल्कने लखकटाई बन्यो मेरो । अब अन्तिम उपनामधारी चुइँया, नामः स्कन्धश्रीले ‘यात्रा’ उपनाम थपेर पृथक् कौतुहल जगाउन सक्षम हुनुभएको छ । उहाँको मासु झुन्ड्याएको चित्र हेरेर भविष्यमा कटिङ् सेन्टर सञ्चालक बन्नु हुने छाँट मैले देखेँ । त्यस्तै, अन्य विद्यार्थीका चित्रहरू फल, चरा, फूल, पहाड, हिमाल, घर, पाठशाला आदि हेर्दा उहाँहरू भविष्यका देशका कर्णधार हुन् ।
विशेष हाम्रा पाँच जना उपनाम थप्ने भाइहरू क्लासका राम्रा विद्यार्थी हुन् । अझै परिश्रम गर्दै अन्य क्लासका साथीहरूसँग हातेमालो गर्दै राष्ट्रिय स्तरमा पुग्नुहुने छ, त्यो आशा मैले गठ्याएँ । र उहाँहरूको चित्र बनाउने उत्कृष्टताले सुन्दर भविष्य कोर्ने छ । विशेष उपनाम राख्ने चलन कहिले, कस्ले शुरु गर्यो ? थाहा छैन । र पनि विशेष साहित्यकारहरूले आफ्नो नामको पुच्छरमा सुन्दर उपनाम लेख्ने गर्छन् । यदि भविष्यमा प्रख्यात साहित्याकार बन्नु भयो भने मेरो अग्रिम बधाई रहने छ उहाँहरूलाई ।
अन्तमा, चित्र बनाउने चित्रकार भविष्यमा त्यही चित्र सम्बन्धित चित्रको व्यवसाय गर्ने भन्ने जो अट्कल काटेँ, त्यो केवल मनोरञ्जनको लागि मात्र थियो । किन कि सोचाइ र लक्ष्य परिवर्तन भइरहने गर्छन्, कारक परिस्थिति र समय हुन सक्छ ।’
समयको पात फेराइसँगै मेरो हृदयमा फोँदे्र सरको देशभक्ति शब्द बेलाबेला तरङ्गीत हुने गथ्र्याे । बन्दुकको चित्र बनाउने फ्याँचेले भनेको थियो – ‘अरे यार ! फोँद्रे सरले त मेरो हृदयको कुरालाई ठ्याक्कै भन्नु भो । म त भविष्यमा निशानेबाज भएर देशलाई स्वर्ण पदक दिने रहर छ । बुबाआमाको, गुरुको, माटोको, पितृको र प्रकृतिको आशिष रहोस्, म लागि पर्छु, सपना पूरा होस् यस्तै यस्तै ।’
‘तर मेरो लक्ष्यभन्दा फरक तर्क थियो सरको’— झुन्ड्याइराखेको मासुको चित्र बनाउने चुइँयाले गुच्चा हाने जस्तो औंँला बनाउँदै भनेको थियो – ‘म त नेता भएर समूह, गाउँ, जिल्ला हुँदै राष्ट्र हाँक्छु । देशमा नयाँ प्रगतिधारको प्रादुर्भाव गर्दै माटो र माटोका सन्ततिलाई जुरुक्क उठाउँछु । अनि तिमीहरू जिरे, डल्ले, फ्याँचे, बोक्तरे, डाडुकुच्चे, सुइँठी, गार्लाकी, क्लास टप गर्ने झुसी जस्तालाई सलाम ठोकाउने पहिलो यात्रा रहने छ, बुझ्यौ ।’
‘हा हा हा ! अनुहार कता, बन्ने रे नेता । नेता बन्न त आँट, छाँट र ग्याँठ हुनुपर्छ ।’ भन्दै फ्याँचेले खिसी गर्या थ्यो ।
‘हेर फ्याँचे ! तैँले बनाको बन्दुकको चित्र हेरेर फोँद्रे सरले भन्नुभएको छ तँ बन्दुके बन्छस् अरे । विश्वको निशाना मारक त बन्दैनस् । मेरो अंगरक्षक त अवश्य बन्ने छस् । त्यो बेला म फेरि सम्झने छु आजको पललाई ।’
‘ई………..!’ परैबाट हात लोपार्दै भन्यो फ्याँचेले – ‘मान्छे फुचुनो, सपना गाइ दुहुनो । अरे गफ हाँक्ने पनि एउटा सीमा हुनुपर्छ नि । घरमा मुसोका नाराजुलूस, सपना मन्त्री हुने । कस्तो बिना आकारको शून्य गफ ठोकेको यार ।’
‘ल सुन है जिरे !’ चुइँयाले फेरि हाँक् लगा’थ्यो – ‘भोलि नै म विद्यार्थी युनियन गठन गरेर नेता बन्ने शुभसाइत गरेँ । तँ मेरो समूहमा आउँछस् भने सेक्रेटरी बनाउँछु ।’
‘लु बधाई चुइँया !’ छेउकै पातीको मुन्टा टिपेर दिँदै भने थेँ – ‘नेता र मन्त्री बन्ने राम्रो टार्गेट । म, सलाम हान्न अवश्य आउने छु, तेरो कार्यलयमा । त्यतिबेला मेरो सम्बोधनमा तँ, तपाईं हुने छस् । तेरो आग्रहलाई डस्बिनमा फ्याकेँ अहिलेलाई । मैले मेरा बुबाआमाको सपना साकार गर्नुछ । किनकि बाजेबज्यू र बुबाआमाले नेता भएस् भनेर आशिष दिनुभएको छैन ।’
‘ओ के म त होमिएँ राजनीतिमा’ — भन्दै चुइँया हिँड्यो थियो भलिबल मैदानतिर ।
एक समय आउँदो रहेछ, फूलहरू फुल्दा रहेछन्, एक समय आउँदो रहेछ फूलहरू झर्दा रहेछन् । फूल जस्तै भयौँ । हामी माध्यमिक तहसम्म सँसँगै फुल्यौँ, रमायौँ, तत्पश्चात् उपनामधारीको समूह पानी भरिएको माटोको घैला फुटे जस्तै भयौँ । ल्याकतअनुरूप हाम्रा अध्ययनको लक्ष्य फरक भए । कोही काठमाडौं कोही विराटनगर, धरान, धनकुटातिर लागे । म भने आर्थिक स्थितिको सेपले गर्दा सिराहातिर लागेँ ।
समयसँगै मधेसको भित्री गाउँमा मैथली भाषी नानीहरूसँग अक्षर खेल्दै शिक्षा आर्जन गर्दै थिएँ । जुन घरमा बस्थेँ त्यो घरबाट एकझोला मधेसको माया बोकेर पहाड लान्थेँ । ती सरदामसँगै पछ्याउँदै गएको मधेसको घूर प्रिय हुन्थ्यो मेरो घरको घूरसँग समिश्रण भएर । त्यो मात्रै होइन मधेसको मैथली गीत, भोजपुरी, मगही आदि अधुरो भए पनि गाउँदा गाउँका तरुणी तन्नेरीहरू कति मजाले नाँच्थे ।
त्यस्तै, पहाडबाट एक झोला आत्मीयता बोकेर समर्पण गर्न पुग्थेँ मैथली आँगनमा । त्योबेला हाम्रो साग, सिस्नु, भटमास, चिउरीको घ्यू, घराखुरीको तेल, ऐँसेलु, काफल, सुन्तला, नाशपातिले अलग्गै लोकप्रियता आर्जन गथ्र्याे ।
कहिले ढोलक, मृदङ्गा, ख्याली, चिम्टाको सङ्गीतमा हाम्रो हूर्रा, मारुनी, सालैजो, झ्याउरे, बालन, सँगिनी, काठे गुन्गुनाउँदा, नानी र युवाहरू नाँच्दा यस्तो लाग्थ्यो – पहाड गीत गाइरहेछ र मधेस नाँच्दै छ ।
केही वर्षको त्यो आत्मीयपनलाई आज पनि बचाइराखेका छौँ, फोनको माध्यमद्वारा ।
त्यसपछि उच्च शिक्षा हासिल गर्न काठमाडौँ जानु मेरो बाध्यता थियो । कसरी पढ्ने, कहाँ बस्ने, के खाने ? अलग्गै तीतो र यथार्थ समस्या मसँग गाउँबाट पछ्याउँदै काठमाडौंसम्म आइसकेको थियो । समस्याका लहरोले झन् घरको चरदेखि धुरीसम्म जेलिएका थिए । त्यो लहरोको मूलजरो काट्ने हतियार भने मैले नै कमाउनु थियो । सके देशको, नसके क्षेत्रको, सके गाउँको, नसके घरको स्थितिलाई सुधार्ने जमर्को गर्नु छ मैले ।
यस्तै, छुट्टै सपनालाई शिरपोश बनाएर हिँडिरहेँ लक्ष्यतिर ।
म मेरै गाउँको दलित दाइको छाहरीमा ओत लिन पुगेँ, धेरै आफन्तहरूबाट निराशा पाएपछि । उहाँ गलैँचा कारखानाका डिजाइन मास्टर हुनुहुन्थ्यो । हामी शिक्षित युवाहरूले गाउँको छुवाछुत संस्कारलाई भित्रभित्रै भाँचिसके पनि अलिक बुढापाकाहरूले अझै पहिरी रहेकै थिए छुवाछुती घिनलाग्दा आवरण । सामाजिक स्थलहरूमा खुल्ला गरे पनि आफ्नो निजी अधिकारभित्र भने भेदभावको मूलदेवता पुजिरहेकै थिए ।
दाइले मेरो समस्यालाई बुझेर उहाँसँगै राख्नु भो । बिहानको कलेजपश्चात त्यही कारखानामा कामको तारतम्य मिलाई सहज बनाइदिनु’भो । म आफैँ निर्भर भएर पढ्न थालेँ, तर पहिलो वर्षको नतिजा उत्साहजनक आएन, झिनो अङ्कले मात्रै पास भएँ । यस्तो नतिजाले बाजेबज्यू र बुबाआमाको आशिष् साकार होला जस्तो लागेन । त्यहीँ काम गर्ने बेला एउटी तान बुन्ने ठिटीसँग आँखा जुध्दाजुध्दै बसेको प्रेमलाई पतिपत्नि बन्ने रहरले चिमोट्यो । मैले उसलाई बिहे गरेँ भने मेरो अग्रजका लक्ष्य पुग्न सक्ने स्थितिलाई सोचे थेँ मनमनै ।
बिहेको निर्णय छिटो गर्नु थियो । प्रस्ताव राखेँ । पहिले त आनाकानी गरिन् । तर मैले वार या पारको कुरा राखेपछि स्वीकार भयो । कारण उनी पनि म जस्तो छक्कापन्जा नगर्ने केटो छोड्ने पक्षमा थिइनन् ।
त्यसपछि आर्थिक समस्या सहज भएको थियो । म पढ्न थालेँ, श्रीमतीको न्यानो माया र चोखो श्रमोत्साहले । कसैले त श्रीमतीको पसिनामा पौडी खेल्ने पानीमरुवा चेपासमेत भने । त्यति मात्रै होइन, दलितको जूठो खाएर पढ्नेलाई समाजबाट निकालेर कालो कुखुरोले बाटो काटिदिनेसम्म भन्न भ्याए, भित्र भित्रै । त्यो भन्ने एउटै भाडोमा भात खाने रहेछन्, पछि थाहा पाएँ । हाक्काहाक्की नभएको कुरा एउटा कानले सुनेँ अर्कोले उडाइपठाएँ । मैले त अग्रजले देखेका लक्ष्य टेक्नु थियो ।
समयसँगै कहिले खडेरी परेर भोकै भएँ, कहिले शरद् र वसन्तजस्तै ढकमक्क फुलेँ । आज एउटी चालकको नाउमा बसेर मनसुन यात्रा गरिरहेकोे छु । त्यसैले संसारको धेरै खुसीयाली मनाउने मान्छेमध्ये मेरो पनि नाम आउँथ्यो होला, यदि कसैले खोजी गरे ।
चाडबाडमा घर जाँदा, घरको दुःख देख्दा लाग्थ्यो, सबै परिवारसँगै काठमाडौं लिएर जाउँ । तर घर संसार चलाउन, पुगिसरी भइसकेका थिएन्यौँ, काठमाडौंको हतारो, महँगे परिवेशभित्र । र जन्मभूमिसम्म जाने माध्यम पनि छिनाइहाल्नु थिएन मलाई । पैतृक माटोमा मैले पनि नमेटिने छाप छोड्नु थियो सर्वप्रिय कर्मको ।
सानोमा कुनै वास्ता नरहेको संस्कार संस्कृति योबेला हाम्रो मौलिक सम्पत्ति ठानेर त्यतातिर आकर्षित हुन थालेको छु । अझै सम्झना आलै छ, गाउँमा सुँगुर काट्दा सुँगुरको मूत्रथैली (फुकाउने) लाई माटोमा खुट्टोले माडेर खुब नरम बनाई, सानो बाँसको तारिका काटेर फुक्थयौँ र भकुण्डो बनाएर खेल्थ्यौँ । अझै अचम्म, पशुचिकित्सकहरूले विशेष बार पारेर सुँगुरको पाठा सज्दा निकै ध्यान दिएर हेर्न थालेँ । रौं खाने कर्दको टुप्पोले अण्डकोष चिरेर निकालिन्थ्यो । त्यो अण्डकोष निकालेको थैलोमा बेसार र मकैको पिठोलाई तोरीको तेलमा मुछेर लगाइदिने गरिन्थ्यो । तीन औँला जति राखेर पुच्छर काटी घाउमा झरिलो आगोको अगुल्ठोले डामेर तेल लगाइ छाडिन्थ्यो । निकालिएको अण्डकोष र पुच्छरको ठुन्कालाई बाँसको झिरमा उनेर घर या खोल्माको छानोमा सिउरेर राखिन्थ्यो । ‘जति छिटो अण्डकोष र पुच्छर सुक्छ त्यति छिटो पाठाको घाउ सुक्छ’ भन्ने लोकोक्ति पनि थियो । त्यही पाठो ठूलो सुँगुर भएर मुरी, पच्चीस धार्नीको भएपछि गाउँमा भेजा लगाइन्थ्यो । भेजा लानेको टिप्पनी लेखिन्थ्यो बेहोरासहितको, धार्नी, बिसौली, बोडी, हमाली, सातसेर कसले कति लगे भन्ने । त्यो सुँगुरको नाइटो पनि पुच्छर र अण्डकोष सिउरेको ठाउँनिरै साटामा झुन्ड्यान्थ्यो । त्यो नाइटोको बोसो वर्षामा जोत्दा फुटेको गोरुको काँधमा दवाइको रूपमा प्रयोग हुन्थ्यो । जहिलेसम्म सुकेको नाइटो छानोमा रहन्छ, कहिल्यै खोरमा सुँगुर टुट्दैन भन्ने सुनिन्थ्यो कतै । वर्षमा कति सुँगुर काटियो यो घरमा भन्ने सङ्केत सानो बटारिएको, त्यसपछिको अलिक ठूलो उस्तै ढुँडी बसेर बटारिएको नाइटोहरूले गथ्र्यो ।
मेरो घरमा सानो ‘खसी पार्ने’ र ठूलो ‘गोरु बर्ताउने’ दुइटा काठका चेपुवा थिए । कहिलेकाहीँ मसिना भाइहरूलाई ‘अब खसी पार्छु’ भन्दै सानो चेपुवा लिएर दगुराउँथेँ । ती भाइहरूले पछिसम्म मलाई ‘चेपुवा दाइ’ भन्दै खिसी गर्थे ।
एकदिन चरनमा एउटा भाइले सिङारे खसीतिर देखाउँदै भन्यो – ‘दाइहरूले यसको गेडा (अण्डकोष) खाइदेको होइन ?’’
सुनेर म नहाँसी रहन सकिनँ । हो भन्न बाध्य भएँ । त्यति बेलाको सम्झना आयो काकाले चिरेर खसी बनाउनु भएको लर्कने बोकाको अण्डकोषलाई भुटेर खाइएका थियौँ । मिठो पनि लागेको थियो । त्यसपछि त, हामी तीन भाइ चियो गरिहिँड्थ्यौँ । कसको घरको बोका खसी पार्ने बेला भयो भन्दै । आज सोच्दा नराम्रो लागे पनि यथार्थ थियो ।
गाउँका अघोषित पशुडाक्टरहरू गाइगोरुको पुच्छरमा बुटी बाँधेर देशान रोक्ने विश्वास गर्थे । त्योभन्दा पनि मलाई अचम्म लाग्छ, कुकुर र बिरोलो समेतलाई नियोजन गरिन्थ्यो । अझै अचम्म त आधुनिक विज्ञानलाई चुनौती दिँदै भूनी सँगुरलाई पनि बन्ध्याकरण गर्थे । हलो र लगनाको बाध खुवाउनु, हलगोरुको उचाई अनुसार हलो बाध्नु इत्यादिले छक्क पर्थेँ ।
आज यहाँ उभिन आइपुग्दा प्रत्येक मान्छेका हातमा स्मार्ट फोन छन् । यातायातको सुविधाले पैदल यात्रा छैन, डोको, ढाकर, किर्पेट छैन । जाँतो, ढिकी, दियालो, कुपी लाल्टिन, मयनटोल, बाँसको राँको, टर्चलाईट, बिनायो, मुर्चुङ्ग, बाच्छाकी बाजा देखिँदैन ।
अरूलाई अनुकूल लागे पनि मेरी श्रीमती मलाई महान् छिन् । आज उहाँले परिश्रमको आरनमा मेरो सपनालाई रसायन नदिनु भएको भए, मेरो भाग्यमा ढाकर हुन्थ्यो या कसैको हलो ।
समयको तारतम्य, मेरो भोगाइको श्लोक —
स्कुल स्तरका साथीहरू चुइँया साँच्चै नेता नै बन्यो । बन्दुक बनाउने प्याँचे सुमनकुमार “सुगन्ध” भारतीय सैनिक छ । डाडु कुच्चे आविभूर्त ‘दीन’ चर्चित व्यापारी बनेको छ ।
खै मैले शिखर पुगेर पहिलो पाइला टेकेको आँगनको माटोलाई बिर्सन त खोज्दै छुइनँ । आमालाई गाउँ र भाइप्यारो छ । धेरै प्रयास गरेँ दुःखको परिधिबाट झिकेर सुख सयलमा राखौँ । सायद, आमा हुनाले दुःख पाएको सन्तान पहिलो प्राथमिकतामा रहन्छ, आफ्ना इच्छालाई बन्धक राखेर पनि । र मसँग बस्नु मान्नु भएन ।
गाउँ पनि सहर जस्तो कहाँ सुखी छ र !
बेलाबेला आमालाई भेट्न जाँदा सुरुमा गाउँ भेट्छु, भाइबुहारी, इष्टमित्र भेट्छु । सानोमा बेहुलाबेहुली खेलिहिँडेको ढिस्कुरो, खोल्सी रुख आदि भेट्छु । अनि त्यहीँको हावापानीले हुर्केका नयाँ पिढी देख्छु, जस्लाई चिन्न उसको बुबाआमाको परिचय सोध्न पर्छ । मेरी आमा र भाइलाई देखाएर चिनाउनु पर्छ आफूलाई पनि ।
परैबाट हेरिरहेका हुन्छन् मलाई चिन्नेहरू । अनि अप्ठ्यारो मान्दै भन्नुहुन्छ– ‘अब यो गाउँ फर्कन्छ के ?’
कुरा सुनेर स्तब्ध हुन्छ म, जवाफ दिने शब्दहरू छैनन् । केवल विद्रावित मन लिएर हेरिरहन्छु, बचन पूरा गर्न नसकेको मान्छेले झैँ । आफू पढेको स्कुलमा स्वर्गीय बुबाको नामबाट अक्षयकोश खोलेर जेहान्दार विद्यार्थीलाई पुरस्कृत गर्ने मनसाय बनाएर आएको छु यसपालि । र कसैलाई भनेको छुइनँ, गाउँ भेलामा नसोचेको उपहार दिन । तर —
अचानक मोबाइल बज्यो । उठाएँ । उताबाट श्रीमती बोल्छिन्— ‘अमेरिका जाने मामा घडेरी बेच्नु हुन्छ रे । पैसा नमासी तुरुन्त काठमाडौं आउनुहोस ।’
म छाँगे भिरबाट छ्याङ्ग खस्छु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

