मैले प्रभाको निम्तोलाई अस्वीकार गर्न सकिनँ, त्यसैले ऊसँगै उसको घरतर्फ लागेँ ।

घरभित्र पस्नै लाग्दा कपाल सेतै फुलेकी लगभग ६५–७० वर्ष उमेरकी बुद्ध महिलासँग जम्काभेट भयो ।

‘मेरो हजुरआमा’ प्रभाले सुस्तरी मलाई भनी । मैले हात जोडेर नमस्कार गरेँ । वृद्ध महिलाले नमस्कार नफर्काएर अलिक कडा स्वरमा प्रभालाई सोधिन् ‘को हो ? मैले चिनिनँ ।’

‘हाम्रो स्कुलको सर, हामीलाई पढाउनु हुन्छ ।’ प्रभाले परिचय दिई ।

‘ए मास्टर पो !’ हजुरआमाले ठुलो स्वरमा भनिन् र मलाई नमस्कार गरिन् । अघि मैले नमस्कार गर्दा ‘नमस्कार’ नफर्काउने अनि अहिले नमस्कार गर्ने भनेर मनमनै मुर्मुरिएँ तर देखाउनकै लागि भने नमस्कार फर्काएँ ।

मलाई बूढाबूढीसँग कहिल्यै बस्नु परेन । त्यसैले उनीहरूको बानीव्यवहारसँग म त्यति परिचित थिइनँ । तर साथीहरूले बूढाबूढीहरू साह्रै अप्ठ्यारा हुन्छन्, सानालाई दबाउन खोज्ने भावना हुन्छ उनीहरूको, बूढाबूढीहरू किचकिचे, जे कुराको पनि उल्टो अर्थ लगाउने र फोहोरी हुन्छन् भनेको मैले सुनेको थिएँ । मलाई प्रभाको हजुरआमा पनि त्यस्तै छन् कि जस्तो लाग्यो । उनीसँग बसेर नानाथरी कुरा सुन्नुभन्दा नबस्नु नै बेस भन्ने ठानेर मैले ‘पछि बसौँला’ भनेर फर्कन खोजेँ तर प्रभाले पटक्कै मानिनँ । म ऊसँग भित्र गएँ । मलाई बैठकमा बसालेर प्रभा बाहिर निस्की र कोठामा हजुरआमा पसिन् ।

‘बाबु जत्रा त मेरा नातिनातिना छन्, त्यसैले प्रभाले सर भने पनि मैले सर सर भन्दिनँ । बाबु रिसाउने त हैन ?’ हजुरआमाले मेरो नजिकै बसेर मलाई हेर्दै भनिन् ।

‘तपाईँको त सर होइन नि’ मैले हाँस्दै भनेँ । ‘मलाई बाबु, छोरा, नाति जे भने पनि हुन्छ । उमेर अनुसारको साइनो गर्दा म किन रिसाउने ?’

हजुरआमाले मेरो ठेगाना सोधिन् । उमेर, शिक्षा र ससुराली पनि सोधिन् । मैले सोधेका सबै कुरा बताएँ । कुराकानी चलेकै बेला प्रभा पनि त्यहीँ आएर बसी ।

‘यत्रो उमेरसम्म पनि बिहे किन नहुनु ?’ म अविवाहित हो भन्दा हजुरआमाले विश्वास मानिनन् । उनले प्रभातर्फ हेर्दै सोधिन् ‘हो र ?’

‘खै, हामीलाई पनि त्यसै भन्नुहुन्छ के !’ प्रभाले भनी ।

‘मलाई झुट बोलेर के फाइदा ?’ मैले भनेँ, ‘बिहे गरेको भए त बिहे भइसक्यो भनिहाल्थेँ नि ।’

‘बिहे गरेको छु भन्ने हो भने त केटीहरू पछि लाग्दैनन् त्यही भएर ठिटाहरूले बिहे गरेको कुरा लुकाउँछन् ।’ हजुरआमाले हाँस्दै भनिन् । उनको अप्रत्यक्ष आरोप सुन्दा मलाई झनक्क रिस उठ्यो । तर म केही बोलिनँ । प्रभा उठेर चिया पकाउन गई । हजुरआमाले एउटा घटना सुनाइन् । उनले भनेअनुसार उनको गाउँको स्कुलमा यौटा शिक्षक थियो, जसले बिहे नभएको कुरा बताएको थियो । उसले केटीहरूसँग बढी हेलमेल गर्थ्यो । एकपटक उसले आफैँले पढाउने केटीलाई नै लिएर भाग्यो । पछि गाउँलेले पत्ता लगाएछन् – त्यो शिक्षकको त पहिल्यै बिहे भैसकेको रहेछ ।

हजुरआमाले मलाई पनि त्यस्तै शिक्षकको रूपमा हेरेको मलाई महसुस भयो । हजुरआमाले मेरो चरित्रमाथि औँला उठाउन खोजेको मलाई सह्य भएन ।

‘म त्यति नालायक छैन बुझ्नुभयो ।’ मैले रिसाउँदै भनेँ, ‘मेरा आफ्नै साथी छन् । कलेजमा आफूलाई मिल्ने ’क्लास’का थुप्रै केटीहरू छन् । चाहेँ भने मैले म बराबरका केटीलाई बिहे गर्न सक्छु । अन्त केटी नपाएझैँ स्कुले केटीको पछि कोही लाग्छ होला ?’

म रिसाएको कुरा हजुरआमाले चाल पाइन् । उनले हत्तपत्त भनिन्, ‘मैले बाबुलाई भनेको कहाँ हो र ? त्यसो पनि गर्छन् भनेको मात्र पो ।’

‘मेरो लागि मेरा विद्यार्थीहरू भाइबैनी बराबर छन् । उनीहरूप्रति कुदृष्टि राख्ने कुरै हुँदैन ।’ मैले चर्को स्वरमा भनेँ ।

प्रभाले चिया ल्याएर हामीहरूलाई दिई । हामीले चिया पिउन लागेपछि ऊ पनि त्यहीँ बसी ।

‘तरुनी भा केटीहरूसँग मास्टरले हेलमेल बढी गरेको मलाई पटक्कै मन पर्दैन ।’ चिया पिउँदै हजुरआमाले भनिन् ।

‘हजुरआमाले पनि कस्तो नचाहिँदो कुरा गर्नुहुन्छ ।’ मैले केही बोल्नुअघि नै प्रभाले हजुरआमालाई हकारी ।

आधा घण्टाको बसाइमा हजुरआमाले मलाई नानाथरी कुरा सुनाएर साह्रै दिक्क पारिन् । मुखभरिको जवाफ दिन त मलाई पनि आउँथ्यो तर एकदिन भेट्दा पनि नराम्रो छाप किन छोड्ने भनेर सबै बोली सहेर बसेँ ।

‘बूढी छुच्ची रै’छ नभन्नु है बाबु ।’ हिँड्ने बेलामा हजुरआमाले भनिन् ।

‘हजुरआमाले भनेको कुराले पिर नमान्नु होला है ।’ भन्ने आग्रह प्रभाले पनि गरी ।

त्यस दिनदेखि बूढाबूढीको बारेमा मेरो मनमा पनि नकारात्मक छाप पर्‍यो । अरूले भनेझैँ बूढाबूढीहरू कर्कशता, कुरौटे, कचकचे र शङ्कालु हुन्छन्, अर्काको खेदो खन्छन् भन्ने कुरामा म पनि सहमत भएँ ।

समय बित्दै गयो । दिनहरू हप्तासँग साटिए । अनि हप्ताहरू महिनासँग साटिएर ७–८ महिना पनि बिते । त्यस अवधिमा म कहिल्यै पनि प्रभाको घर गइनँ । अझ भन्ने हो भने कुनै पनि विद्यार्थीको घर नजाने प्रण गरेर बसेँ ।

७–८ महिनापछि एकदिन पहाड जानका लागि बस चढ्न बसपार्क गएँ । म एक्लै बस पर्खिरहेको थिएँ, कहाँबाट हो कुन्नि प्रभाकी हजुरआमा मेरो सामु टुप्लुक्क आइपुगिन् ।

म उनको सामु पर्न चाहन्नथेँ तर पनि एक्कासि उत्पन्न भएको परिस्थितिले गर्दा म भाग्न सकिनँ । औपचारिकता निभाउनकै लागि भए पनि मैले नमस्कार गरेँ ।

‘मास्टर बाबु त देखा पर्नै छोड्नु भयो ?’ हजुर आमाले नमस्कार फर्काउँदै भनिन् ।

‘अचेल फुर्सदै हुन्न ।’ मैले छोटो झूट बोलेँ ।

‘बाबु कहाँसम्म ?’ हजुरआमाले सोधिन् । मलाई त टाढै पुग्नु पर्ने थियो तर पनि तानसेनसम्म मात्र भनेर ढाँटेँ ।

‘म त अलि टाढासम्म पुग्ने हो । जे होस् त्यहाँसम्म भए पनि साथै जाने भइयो’ हजुरआमाले भनिन् । ‘मैले सिट रोकेकी छु, जाऊँ ।’

म हजुरआमाको साथ छोड्न चाहन्थे । जानाजान झन्झटमा को फँस्छ ? मैले ‘मेरा अरू थुप्रै साथीहरू छन्, उनीहरूले सिट रोकेका छन्’ भनेर हजुरआमालाई पठाएँ ।

बसका सबै सिट भरिसकिएका थिए । हजुरआमाको छेउको सिटमा पनि अर्कै मान्छे बस्यो । बस चल्न सुरु गर्यो । म त्यही बसमा नगए अर्को बस दुई घण्टा कुर्नुपर्थ्यो, दुई घण्टा ढिला भएमा म गन्तव्यमा पुग्न सक्दिन थिएँ, त्यसैले म पनि त्यही बसमा चढेँ । सिट थिएन, मैले उभिएरै यात्रा गर्नुपर्ने भयो ।

बस चल्यो । बस हिँडिरहेको बेलामा धेरैपटक हजुरआमासँग हेराहेर भयो, तर उनी केही बोलिनन् ।

‘हजुरआमाले भनेको मानेको भए बस्न पाइन्थ्यो ।’ मेरो मनले भनिरहेको थियो तर म भने हजुरआमाको कचकच सुनिरहनुभन्दा उभिएर यात्रा गर्नु नै राम्रो मानिरहेको थिएँ । खाल्टाखुल्टी भएको बाटोमा बस हिँड्दा कहिले म अगाडि हुत्तिन्थेँ त कहिले पछाडि ठोक्किन्थेँ । म धेरै पटक त्यसो गरिरहेको हजुरआमाले देखिरहेकी थिइन् । बुटवलदेखि २० किमी पर केराबारी पुग्नै लाग्दा हजुरआमाले भनिन्, ‘बाबु तपाई यहाँ बस्नुस्, म भुईँमा बस्छु ।’

हजुरआमाको बोलीमा मप्रति करुणा माया मिसिएको आभास मैले पाइनँ । मलाई उनको प्रस्ताव उचित लागेन, त्यसैले म सिटमा बस्न गइनँ ।

तानसेनसम्मको यात्रा निकै कष्टकर भयो । ‘यो बुढी नभेटिएको भए त पहिल्यै सिटमा बस्थेँ नि ।’ मनमनै हजुरआमासँग रिसाएँ । बस तानसेन बसपार्कमा रोकियो । हजुरआमासँग फेरि भेट नहोस् भनेर म बस रोकिनेबित्तिकै ओर्लेर कुलेलम ठोकेँ । हजुरआमा कता लागिन्, थाहा भएन ।

मलाई टाढै पुग्नु थियो, त्यसैले नरोकिएर यात्रा सुरु गरेँ । बतासे डाँडा उक्लिएर तेर्सै तेर्सो चण्डी भन्ज्याङ पुगेँ अनि त्यहाँबाट उत्तरतर्फ हानिएँ । आधा बाटो पार नगर्दै सूर्यले धर्तीबाट बिदा लिए । बिस्तारै अँध्यारो बढ्दै थियो, म हतार हतार पाइला चाल्दै थिएँ । केही बेरमै म हिँडेको बाटो छुट्टियो । म तल्लो बाटो छोडेर माथिल्लो बाटो लागेँ । मेरो हिँडाइ छिटो थियो, बाटो अप्ठ्यारो थियो । अँध्यारोमा हिँड्दा मैले सन्तुलन गुमाउन पुगेछु । कुनै ढुङ्गामा ठक्कर खाएर म ढुन्मुनिएर लडेँ । त्यसपछि के भयो मलाई थाहा भएन ।

होस खुल्दा म अर्कै ठाउँमा थिएँ । जून उदाइसकेका थिए । जूनको उज्यालोमा म वरिपरिका दृश्यहरू देख्न समर्थ थिएँ । मैले देखेँ – म हजुरआमाको काखमा टाउको राखेर सुतिरहेको थिएँ । मेरो टाउकोमा चिसो बस्तु टाँसिएझैँ थियो, टाउको कपडाले बाँधिएको थियो । आफ्नो मजेत्रोले हजुरआमाले मलाई हम्किरहेकी थिइन् ।

मैले केही सोध्नुअघि नै हजुरआमाले सारा घटना बताइन् । म लडेपछि बेहोस भएछु । माथिल्लो बाटोबाट लड्दै तल्लो बाटोमा पुगेछु । मलाई टाउकोमा चोट लागेर पल्टिरहेको बेलामा त्यही बाटो आउँदै गरेकी हजुरआमाले मलाई फेला पारिछन् – घटनाक्रम यही थियो । हजुरआमाको मजेत्रो च्यातिएको थियो । मैले अन्दाज लगाएँ– हजुरआमाले मजेत्रो च्यातेर मेरो घाउ बाँधिदिएकी रहिछन् ।

‘मास्टर बाबु पनि यतै आउने भनेको भए त सँगै आउन हुन्थ्यो नि ।’ हजुरआमाले मेरो टाउकोमा हात राख्दै भनिन्, ‘मैले बाबुलाई भेट्छु भनेर कति दौडिए तर भेट्नै सकिनँ । बाबु एकपटक पनि पछाडि फर्कनु भएन ।’

म केही नबोली चुपचाप आकाशतर्फ हेरिरहेँ ।

‘बाबु कहाँसम्म पुग्ने होला ?’ हजुरआमाले सोधिन् । यसपालि भने मैले साँचो कुरा बताएँ ।

‘यस्तो हालतमा त बाबु त्यहाँ पुग्न सक्नुहुन्न । मेरो छोराको घर यहाँबाट नजिकै छ, आज त्यहीँ बसेर सन्चो भएपछि भोलिपर्सी गए हुन्छ ।’ हजुरआमाले भनिन् ।

म उठेँ । टाउको एकदम गह्रौँ भइरहेको थियो । शरीर निकै दुःखेको थियो । हातखुट्टा लगलगाइरहेका थिए । हजुरआमाले नभने पनि म हिँड्न सक्ने अवस्थामा थिइन् । अब भने मलाई हजुरआमाको साथ नहिँडी सुखै थिएन । त्यसैले मैले उनको कुरामा मौन समर्थन जनाएँ ।

हजुरआमा उठिन् । उनले आफ्नो ठुलो झोला बोकिन् । म लडे पनि मेरो झोला पिठ्यूँमा टाँसिएकै थियो । मैले नमान्दा नमान्दै पनि हजुरआमाले मेरो झोलासमेत बोकिन् अनि मलाई डोर्याउँदै हिँडिन् ।

हजुरआमाले हात समातेर हिँड्दा मलाई सानो छँदा आमाको हात समातेर हिँडेको जस्तै लागिरहेको थियो । हजुरआमाले मलाई दिएको स्नेह, ममताको अगाडि म पग्लँदै गइरहेको थिएँ । हजुरआमाको बारेमा मैले पहिले सोचेका कुरा सम्झेर आफूलाई आत्मग्लानि भइरहेको थियो । हजुरआमाहरूप्रतिको मेरो धारणा फेरि एकपटक परिवर्तन भएको थियो । हजुरआमाप्रति मनमा श्रद्धा उर्लिरहेको थियो । म हजुरआमाको खुट्टा समातेर क्षमा माग्न चाहन्थेँ, हजुरआमाको काखमा टाउको अड्याएर अघाउन्जेल रुन चाहन्थेँ । तर ममा त्यसो गर्ने आँट आएन । हजुरआमाको हात समाउँदै म लम्किँदै गएँ अनि उनको ममताभित्र हराउँदै गएँ, आत्मीयताभित्र बिलाउँदै गएँ ।