कुलुलु कुलुलु आवाजमा पहाडलाई चिरेर सुनसान खोँचबाट बग्थ्यो एउटा खोला । खोलाको ढुङ्गामा नाच्थ्यो कल्चुडो । पात्लेको पोथ्रापोथ्रामा कलकल कराउँथे कलकले । चिलाउनेको रुखमाथि गीत गाउँथ्यो कोकले । खोलाको वारिपारि भिरालो खेतहरू त्यही खोलाको आवाज सुन्दै चकमन्न उभिएका जस्ता देखिन्थे ।

बर्खामा बालीनाली लगाउने खेताला र मङ्सिर, पुसमा दाइँ गरेर थन्कोमुन्कोमा लागेका मानिसहरू बाहेक हिउँदभरि यो ठाउँमा मानिसको पाइला बिरलै पर्थ्यो । पारिपट्टिको ठाडो पाटो हेर्दा टोपी खस्ला झैँ लाग्थ्यो । वारिपट्टि अलि सम्मजस्तो लाग्थ्यो ।

हिउँदको बिहान मानिसहरू गाईबस्तु तह लगाउन पुग्थे त्यो ठाउँसम्म । हिउँदभरि गाई वस्तु हेर्ने चलन थिएन । फुकाएर परसम्म खेदेर आउँथे । दिनभरि कता कता चर्थे र बेलुकी आफ्नो बासमा फर्किन्थे गाईबस्तु । यसरी परसम्म खेदाउनुलाई ‘तह लगाउनु’ भन्ने चलन थियो ।

डाँडागाउँमा जम्माजम्मी तीन चार घर थियो । गाउँमुनि खुट्टा प्वाल पर्ला झैँ लाग्ने तिखो दर्शन ढुङ्गोहरू भएको ठाडो बाटो थियो । रातो माटो र दर्शनढुङ्गोले गर्दा पाइला पाइलामा होसियार भएर हिँड्नुपर्थ्यो । खुट्टा चिप्लिने र चोटपटक लाग्ने ठुलो डर हुन्थ्यो ।

अलि तल एउटा चौतारो थियो । चौतारोबाट पश्चिम लागेपछि एउटा खेत पार गर्नुपर्थ्यो अनि आउँथ्यो खोला । भन्ज्याङबाट सुरु भएको खोला छोटै खेवा भए पनि बाह्रमासै ठुलै पानी बग्थ्यो । यही खोलाले सिञ्चित गर्थ्यो वारिपारिका खेतहरू । खोलाको डिलैडिल पातला रुखबोट भएको जङ्गल थियो । जङ्गलमा बाक्लो बनमारा घारी हुन्थ्यो मुसो पनि छिर्न नसक्ने ।

त्यतैतिर लगेर छोड्ने चलन थियो गाईबस्तु । सुनसान ठाउँमा चराचुरुङ्गी  र झ्याउँकिरीको आवाज मात्र सुन्न पाइन्थ्यो । गाउँबाट अलि कोल्टे पर्ने हुनाले बेस्सरी चिच्याउँदा पनि कसैले सुन्दैन थियो ।

मङ्सिर, पुससम्ममा दाइँ गरिसकेपछि खेतको बिचबिचमा परालको माच बाहेक उभिने चिज अरू केही हुँदैन थियो । त्यता केही उभिन्थ्यो भने न्याउरी मुसो उभिन्थ्यो । हाँचका बाँदरहरू उभिन्थे । नत्र उभिने सजीव वस्तु पाउन गाह्रो हुन्थ्यो । त्यसैले होला पुस महिनाबाट चैत महिनासम्मलाई ‘आइमाई पोइल जाने महिना’ भन्थे बुढापाका । साह्रै उराठ लाग्दो भएर मन बुझाउने ठाउँ खोज्छन् रे यो महिनामा मान्छेहरू ।

पहाडमा साइनो नलाग्ने मान्छे कोही हुँदैन थियो । यो सानो जातको यो ठुलो जातको भनेर छुट्याउने चलन खासै थिएन । कामी, दमै, सार्की, बाहुन, क्षेत्री जोसुकैलाई पनि साइनो लाएर बोलाउने चलन थियो । सबै चिने जानेका एउटा न एउटा साइनोले भेट्ने । अपरिचित मानिस देखिँदैन थियो ।

उद्योगधन्दा, इलम केही थिएन । हिउँदको समय कटाउनै गाह्रो । हाँसो ठट्टा पनि कोसँग गर्नु । सबै चिने जानेका हुन्थे । सानो केही कुरा भए हल्ला भइहाल्थ्यो । फलानाले फलानीलाई आँखा झिम्क्यायो रे भन्ने कुराले ठुलै हल्ला मच्चाउँथ्यो । त्यसैले मानिसहरू सबै सतर्क थिए अनुशासित थिए ।

ठुलो पोस्टका जागिरेहरू पनि थिएनन् । स्कुलका मास्टरहरू र स्थानीय राजनीतिज्ञहरू नै गाउँका ठुलाबडा । इलाका प्रहरी कार्यालयको इन्चार्ज त राजा भइहाल्यो । खल्तीमा दुई चार पैसा हुने मान्छे भनेका जम्माजम्मी यति नै थिए । अरू भनेको कि अलिअलि अन्न बेच्न सक्ने कि कुखुरा बाख्रा बेच्नेहरूसँग हुँदो हो दुई चार सय । नत्र सबै भुक्का । त्यसैले युवाहरू हिउँद लागेपछि गाउँ छोडेर हिँड्थे । नहिँडुन् पनि कसरी बर्खाभरि लगाएको अन्नपात माघ नलाग्दै सकिन्थ्यो । केही त कमाउनै पर्ने हुन्थ्यो नत्र गुजारामा समस्या हुन्थ्यो ।

दुई चार हर्ष पावरको मोटर जोडेर अन्न कुटानी पिसानीको मिल खोल्ने चलन भर्खर भर्खर भित्रिँदै थियो गाउँमा । काम केही नहुँदा यही भए पनि सुको मोहोर जोड्ने पेसाको रूपमा अँगाल्न थाले गाउँलेले । त्यो पनि कति नै चल्ने हो र एउटा मिलले तीन गाउँ भ्याउँथ्यो ।

गाउँका महिलालाई जहिले हतारै हुन्थ्यो । मेरो पहिले कुटाइदिनू भन्दै झगडा निकाली हाल्थे । आफू आफू भनाभन गरेको रिस मिलवालामा पोखिन्थ्यो । मिलवालाले के गरोस् उसको लागि सबै उत्तिकै थिए । पालैपालो कुटानी पिसानी गरिदियो ‘पख्लास् तँलाई ¤ मैले भनेको टेरिनस् हैन ¤’ भनेर रिस गरिहाल्थे । मिलवाला ठिक छैन त्यसलाई ठिक पार्नुपर्छ । कुरै कुरामा दुस्मन बनाइ हाल्थे ।

यस्तै एउटा मिल हालेका थिए डाँडागाउँका एकलव्यले । डाँडागाउँमा जम्माजम्मी दुई चार घर मात्र भएकोले अलि बाक्लो बस्ती भएको पल्लो गाउँको सिरानमा स्थापना गरे मिल ।

देउराली मुनि लहरै घरहरू थिए । पल्लो छेउमा जोरधारा । त्यही जोरधाराको पानी लाग्ने गरेर बनाइएको थियो मिल । केजीको ५० पैसा तिरेपछि धान, गहुँ, मकै, कोदो आदि पिस्न पाइन्थ्यो ।

आफ्नो अन्न पहिले पिसाइदिएन भन्ने रिसले एकलव्यलाई पनि धेरैले धारे हात लगाउँथे । एकलव्य जो पहिले आउँछ उसैको पहिला भन्दै काम गरिदिन्थे । कोही महिला स्थानीय राजनीतिज्ञका श्रीमती । कोही आर्मी, प्रहरीका श्रीमती । कोही खानदानको धाक लगाउने खालका थिए । मिलवाला ठिक छैन यसलाई ठिक लगाउनु पर्छ भन्ने हल्ला गाउँघरमा फैलँदै गयो ।

एकलव्य अलि कडा मिजासका थिए । अलि कडा स्वरमा ‘हजुरको पनि भइहाल्छ मुखुनी’ भन्दिन्थे । महिलाहरूले यो बोली खरो मान्थे । उनको स्वभावले आगोमा घ्यू थप्ने काम गर्दै गयो । हुँदा हुँदा वल्लो गाउँ पल्लो गाउँमा हल्ला फैलियो ।

एकलव्यको जति नै रिस गरे पनि घरमा ढिकी जाँतो चलाउने जाँगर सबैको सिद्धिएको थियो । रिस उठ्दै भए पनि मिलसम्म पुग्थे र अझै रिस बढाएर घर फर्किन्थे । भित्रभित्रै एकलव्यको रिस गर्नेहरूमा आगो दन्किन थाल्यो । मेलापात, हाटबजार, पानी पँधेरो सवैतिर एकलव्यको कुरा काट्न थालियो ।

एकलव्य सदरमुकामतिरबाट जागिरको सिलसिलामा त्यहाँ आएका थिए । त्यतै रस बस्यो । बिहेवारी त्यतै गरे । त्यही ठाउँ मन पराए र घरबार त्यतै जोडे । उनको आफन्त, दाजुभाइ भनेकै ससुराली गाउँका मानिसहरू थिए । उनको घरपट्टिका कोही थिएनन् त्यहाँ । जागिर सिद्धियो । समय पनि कट्ने, दुई चार पैसा आम्दानी पनि हुने सोचले मिल खोलेका थिए ।

उनी हृदयको सफा तर मिजास कडा भएका व्यक्ति थिए । समाज सुधारका काममा अग्रसर हुन्थे । बाटोघाटो, पाटीपौवा, धारा, कुवा इत्यादि निर्माण तथा मर्मत सम्भार कार्यमा अगाडि बढ्थे । कतिले राम्रो काम गरेको भनेर प्रशंसा गर्थे कतिले जान्ने भयो भनेर रिस, डाहा ।

गाउँघर न हो चाडपर्वमा यसो तीनपाने लगाउने चलन जता पनि भइहाल्छ । एकलव्यले पनि लगाए तीनपाने । लाएपछि जिस्किने चलन कुन गाउँमा नहोला र ¤ त्यहाँ पनि जिस्किन आयो गाउँकै एउटा उटपट्याङ केटो ‘साने’ । एकलव्यले ‘उता जा मुला’ भनेर ठेल्दिए । मातेर रन्थनिएको केटो अलि पर पुगेर लड्यो ।  ढुङ्गामा ठोक्किएर भाउन्न हुँदै उठ्यो । कम्मरको खुकुरी निकाल्यो । बाउलाई काट्छ भन्ने सोचेर होला एकलव्यको माइलो छोरोले भाटा टिपेर लड्ने गरी दियो ।

अब गाउँलेलाई के चाहियो ? सारा गाउँ नै एकलव्यको खिलाफमा ओइरियो । एकलव्यको बाउछोराले सानेलाई काटे भनेर हल्ला फैलियो । भाटाको चोट पनि खुकुरीले प्रहार गरेजस्तै देखिन्थ्यो । सानेलाई बेहोस हुन लगाइयो । प्रहरीमा उजुरी दिइयो । एकलव्यको छोरालाई हिरासतमा लिइयो ।

हप्ता दिन बित्यो साने बेहोस नै रह्यो । एकलव्यले अनेक उपचार गरे । डाक्टर झिकाइयो । सानेको घरमै उपचार हुन थाल्यो । सम्पूर्ण खर्च एकलव्यले बेहोरे । अझै गाउँलेलाई चित्त बुझेन । सानेलाई बेहोसीको अभिनय गरिरहन लगाइयो । अस्पताल लगियो । एउटा गरिबमाथि अत्याचार गरेको हल्ला फिँजाइयो ।

अस्पतालमा पनि एकलव्यको बाउछोरा मिलेर सानेलाई काटेका रे भन्ने हल्ला थियो । आउने जानेले त्यही बुझे । जताततै हल्ला फैलियो । एकलव्य सबैको नजरमा खराब भयो ।

एकलव्यको छोरालाई ज्यान मार्ने उद्योग गरेको मुद्दा चलाउने कुरा आयो । एकलव्यले बल्लबल्ल रोइकराई गरेर छोरो छुटाए । भाइ छुट्नासाथ उसको दाजुले लिएर गयो । गाउँमा बस्न दिएन । आमाबुबालाई पनि लिएर जाने कुरा ग¥यो तर गाउँको श्रीसम्पत्ति सल्टाउने अनि जाने भन्ने सल्लाहले बाबुआमा गाउँमै बसे ।

त्यो समय जनविद्रोह चर्किँदै थियो । एकलव्यलाई दागाधर्नेहरूले विद्रोहीको धम्की समेत दिएका थिए । तर कोही विद्रोहीले भने उनलाई धम्क्याएको थिएन । त्यसैले उनी डराएका थिएनन् । सामान्य रूपमा दिनचर्या गुजारिरहेका थिए ।

टुँडिखेलमा विद्रोहीले परेड खेलिरहेका छन् भन्ने कुरा आर्मीले थाहा पायो । त्यहीँ आर्मीले आक्रमण ग¥यो । माओवादीहरू भागेर डाँडागाउँको सिरानपट्टि झरे । आर्मीले बम प्रहार ग¥यो । बम डाँडागाउँको बिचमा झ¥यो । चारजना बच्चाहरू घाइते भए । एउटी बच्चीको ज्यान गयो । जुन घरमा बम झ¥यो त्यो एकलव्यको ससुराली घर थियो । त्यही घरको मुनी एकलव्यको घर थियो ।

केही समय अगाडि एकलव्यको जेठान भीरबाट झरेर मरेका थिए । भीरबाट झरेको होइन झारिएको हो भन्ने पक्षमा एकलव्यले बयान दिएका थिए । गाउँका केही व्यक्तिले त्यो बयानको विपक्षमा बयान दिए र मुद्दा दर्ता समेत भएन । सामान्य दुर्घटनाको रूपमा मुद्दा सामसुम भयो ।

एकलव्यप्रति गाउँका केही मानिसहरूमा आवेगको बीजारोपण त्यहीँबाट भएको थियो । उनी निडर र अन्याय नसहने स्वभावका मानिस थिए । विस्तार विस्तार उनको दुस्मन बढ्दै गएको कुरा उनी मान्न तयार थिएनन् । मैले कसको के बिराएको छु र भन्ने उनको मनमा थियो ।

एकलव्यको जेठो छोरोले महसुस गरेको थियो । मामाको दुर्घटनाप्रति बाउको बयान, डाँडागाउँमा झरेको बम, सानेमाथि भएको कुटपिटलाई बनाइएको पहाडको सम्बन्धमा । उसले बाउलाई सम्झाउने प्रयास ग¥यो तर बाउले घर छोडेर जान मानेनन् । ‘बाउले काल खोजे घर छोड्न मानेनन् तर तँ चाही काललाई निम्ता दिएर नबस्’ भनेर भाइलाई लिएर हिँड्यो ।

हिउँदको महिना थियो । एकलव्य बस्तुभाउ तह लगाउन उही खोँचतर्फ लागे । कुलुलु कुलुलु बगेको खोला र झ्याउँकिरीको झ्याउँझ्याउँ बाहेक अरू केही आवाज नभएको एकान्तमा । झुल्के घाममा हिँडेका एकलव्य आधा दिन बित्दासम्म फर्किएनन् । उनको श्रीमतीले खोजी गर्न थालिन् । हुँदाहुँदै गाउँका मानिसहरू उही खोँचतर्फ लागे ।

अलिमाथि झन्डै दुई केजीको दर्शन ढुङ्गो रगतले लतपत भएको भेटियो । अलि तल खेलाको छेउमा एकलव्य ढलिरहेको देखियो ।  गाउँलेले उठाउने प्रयास गरे । उनी चिसो र अररो भैसकेका थिए ।

भोलीपल्ट हत्याको जिम्मेवारी विद्रोहीले लिएको अपुष्ट हल्ला फैलियो । विद्रोहीको तर्फबाट जारी भएको विज्ञप्ति भने कसैले देखेनन् । त्यसै घटनापछि गाउँको एउटा कलिलो युवक माओवादीमा प्रवेश गरेको समाचार फैलियो । हत्यामा उही संलग्न भएको भन्ने हल्ला चल्यो । मैले हत्या गरेको हैन भन्न ऊ फर्किएर पनि आएन । हुँदाहुँदै हत्याको आरोप उसैको थाप्लोमा थुपारियो ।

कोही भन्थे – ‘त्यति सानो कलिलो केटोले आफ्नै बाउसमान मान्छेको कसरी हत्या गर्न सक्छ ?’, कोही भन्थे – ‘उसले हत्या नगरेको भए त्यसको प्रतिकार गर्न किन आएन ?’

जान्नेबुझ्नेहरू भन्थे ‘जनयुद्धमा होमिएको मान्छे गाउँ कसरी आउन सक्छ ? प्रहरी, आर्मीको डर थियो, हत्याको आरोप थियो । गाउँको पनि डर राज्यको पनि डर । यहाँ कुरा अर्कै छ ।’

अर्कै कुरा के हो ? प्रश्न प्रश्नमै सीमित रह्यो । उत्तर कहिल्यै आएन ।