पक्कै आउँछ । मलाई यस्तै लाग्छ । अन्त सुतिहाल्दैन । असाध्यै अबेर भएपछि पनि आउँछ । कहिलेकाहीँ बिहान पनि आइपुग्छ । अन्त सुतेको हुँदैन । ऊ इमान्दार छ नि !

तर धेरै अबेर आउँदा बढी मातेको हुन्छ । अथवा बढी मातेर बढी अबेर गर्छ कि कुन्नि ?

जति मात्यो उति बिस्तारै हिँड्छ, उति घोरिँदै, उति निहुरिँदै । जति बिस्तारै ढोका घच्घच्याउँछ वा बोलाउँछ, उति बढी मातेर आएको हुन्छ ।

एकचोटि वा बढीमा दुईचोटि बोलाउँदैमा मैले ढोका खोल्न भ्याउनुपर्छ । तीनचोटि बोलाउनुपर्यो भने मलाई ऊ बाघझैँ आँखा तर्छ । चारचोटि बोलाउनुपरे ढोका खुल्नेबित्तिकै मैले मुड्की खान तयार भएर बस्नुपर्छ ।

यो मैले गफ गरेकी हैन । धेरैचोटिको अनुभव हो, किनभने ऊ लोग्ने हो र म स्वास्नी । बिहानको तीन बज्न आँटेको छ । म निदाउन सकेकी छैन । आउनासाथ मलाई पिट्न थालोस् भन्ने म चाहन्नँ ।

ममा त्यसरी कुटाइ खाइरहने तागत छँदा पनि छैन । मेरो तागत नभए पनि उसले कुटेकै छ । मैले सहेकै छु । हप्तामा एकपटक कुटाइ खानु मैले साधारण नेपाली परिवारले हप्तामा एकपटक मासु खानु (या सुँघ्नु) जति स्वाभाविक ठानेर, नियति ठानेर स्वीकार गरेकी छु ।

पक्का अहिले साथीहरूको माझमा होलाः पिउँदै होला । नत्र यति ढिलो गर्दैनथ्यो । सधैँजसो एघार–बाह्र बजेतिरै आउँथ्यो । थोरै खाएको छ भने लाज मानी टोपल्छ पनि । मलाई त्यो मन पर्छ । मेरो जँड्याहा लोग्ने, आफू जँड्याहा भएकामा आफ्नो स्वास्नीसँग लाज मान्छ ।

म त्यो गौरव ठान्छुः प्रफुल्ल हुन्छ । त्यस रात त्यो चाँडै निदाउँदैन । चाँडै निदाओस् भनिठान्छु । भाकल गर्छु । म त्यस रात त्यसलाई अघ्घोरै माया गर्छु । (हामीले आपसमा प्रेमविवाह गरेको पनि त हो नि !

तर बिहा गरेदेखिका दिनहरू मेलैसँग सम्झेर हाम्रो दाम्पत्य सम्बन्धका सबै कुनाकाप्चा खोजीमेली गर्दा पनि मैले उसलाई माया गर्ने या गर्नुपर्ने गुण अलिकति पनि पाइनँ । त्यसैले म आफैँसँग लज्जित हुन्छु ।

यो कुरा मलाई त्यस्तै लाग्छ, जस्तो मेरो लोग्ने मसँग लजाउनु । सके ऊ पनि ममा मैले माया गर्नुपर्ने कुनै गुण पाउँदैन होला । के आधुनिक दाम्पत्य भनेको यही हो—भूतपूर्व प्रेमी वा वर्तमान लोग्नेले स्वास्नीसँग लजाउनु र भूतपूर्व प्रेमिका र वर्तमान स्वास्नीले लोग्नेसँग लजाउनु । त्यो पनि आपसी सम्बन्धले नै गर्दा ?

तर अहिलेकी म, अहिलेकी मसँगै लजाएकी होइन । आजभन्दा दश वर्षअघि जब मेरो लोग्ने कल्पनामा मात्रै थियो । त्यतिखेरकी भर्खर कलेज सुविधाको लागि त्यस किशोरीको नाउँ उमा भनिठान्नोस्, ल !, र मलाई लाग्छ, मेरो लोग्ने पनि उमासँगै लगाएको हो, मसँग होइन ।

मसँग उसले लाज मान्नुपर्ने कुरा के छ र ? म स्वास्नी । उमा पो उसले प्रेम गरेकी केटी । तपाईं प्रेमी भए थाहै होला, प्रेम गरेकी केटीसँग के कस्तो सम्बन्ध हुन्छ । कति लाज मानिन्छ, कति ढाँट कुरा गरिन्छ, कति आकाशपाताल देखाइन्छ, हगि ?

उमासँग लजाएर ऊ कविता लेख्न थाल्छ वा कुनै किताब पढ्न । चोर आँखाले मतिर बराबर हेर्छ पनि ।

अनि मलाई पनि उमासँग लाज लागेर आउँछ । उमाले के भन्ठान्दी हो जस्तो लाग्छ । के यस्तै र यै कुरा सोचेकी थिई त उमाले भर्खर कलेज भर्ना भएकी केटीले ?

उमाले आई.ए.पास गर्नुभन्दा महत्त्वपूर्ण उसको प्रेमीसँग भाग्नु ठानी, किनभने अहिले मेरो छेउमा सुतेको छोराले उसको गर्भमा प्रवेश गरिसकेको थियो… र अहिले यो छोरो सात वर्षको भैसकेको छ… लामा–लामा सात वर्षहरू, अंकले नाप्न नसकिने, बित्ताले नाप्न नसकिने, गजले, उखुले, बाँसले, केहीले पनि नाप्न नसकिने सात वर्ष बिताएर उमा नामक केटी बल्ल म भएकी छ । म अर्थात् ओठमा कलेटी, अनुहारमा चाया, समय–समयमा जँड्याहा लोग्नेको प्रहारले पीडित नारी । उमा …तिमी मलाई क्षमा गरिदिन्छ्यौ ? गर्दिनौ ? तिम्रो खुसी ।

‘तिमी रक्सी नखाएको बेला जति सज्जन हुन्छौ, खाएपछि त्यति नै दुर्जन, पशु हुन्छौ, किन ? तिमी संसारका सबै कुराबारे मलाई सिकाउन सक्छौ, तर मामुली कुरा पनि कहिलेकाहीँ नजान्ने भैदिन्छौ, किन ?’

यी असाध्यै उङलाग्दा पटाइलाग्दा कठोर सात वर्षभित्र मभित्रकी उमा ब्यूँझेर उसलाई सोधेकी थिई, कहिलेकाहीँ यै वा यस्तै आशयका कुराहरू गरेकी थिई । ऊ कपटले भरिएका आँखामा मुस्काएर, धूर्त ओठ अति बङ्ग्याएर खरो बिँडीको गहिरो सर्को तानेर चुप्पामात्रै रहेको थियो ।

ऊ त्यसै गर्छ, मलाई थाहै छ, तैपनि कहिलेकाहीँ आफ्नै उमासँग रिस फेर्न, उसले नमातेको बेला पारेर म यस्ता कुरा गर्दथेँ जुन आक्कल झुक्कल भेट हुने दिउँसोको बेला हुन्थ्यो । त्यसपछि ऊ दिउँसै पनि मसँग तर्कन थाल्थ्यो । चार वर्षदेखि त ऊ नमातेको साँझ मलाई थाहा छैन ।

एक राति यस्तै अबेर मातेर आएर मलाई सक्दो कुटिसकेपछि मैले भनेँ, ‘पिउने यस्तै चाला हो भने तिमी चाँडै मर्छौ पनि ।’ मैले थाहा पाएर ऊ मातेको बेला मैले बोलेको त्यति हो ।

‘अनि त तिमीलाई आनन्द हुन्छ ।’ उसले भन्यो ।

मैले नचिताएको भए पनि उसको मुखबाट त्यो कुरा सुनेर केही बेर सोच्न बाध्य हुनुपर्यो – के त्यसपछि मलाई साँच्चै आनन्द हुन्छ ? के फेरि उमा हुन्छु ? के समयका यी सातवटा अजंग पाङ्ग्रा पछाडि फर्कन्छन् । के म फेरि कलेज पढ्न थाल्छु ? के म मेरो त्यो घर–परिवारमा फर्कन सक्छु जुन लत्याएर म उसको पछि लागेकी थिएँ ?

मलाई एकाएक उमासँग रिस उठेर आउँछ । नकच्चरी ! के त्यसको मात्रै आएको बैँस ? बेस्से । पातर । ठीक छ । त्यसलाई यस्तै जँड्याहा पोई चाहिने, जसले हप्तामा एकचोटि मात्रै होइन दिनहुँ मर्मत गरोस् । वर्षको एक जोर नयाँ लुगा हाल्दिन नसकोस् । आजीवन स्नेहको एक शब्द ननिकालोस् ।

उसको तलब दुई सय पचास रूपियाँ छ र बल पुगे त्यति जम्मै त ऊ दिनहुँ रक्सी र तासमा उडाउने थियो होला । सुन्छु, धेरै ठाउँमा ऊ उधारो पनि खान्छ, जसले गर्दा बेलाबेलामा उसको बेइज्जत पनि भएको छ, तर यस्ता कुरा न म नै सोध्न सक्छु, न ऊ नै आफ्नो बहादुरी बताउन सक्छ ।

हुन त सोधखोजको पनि अर्थ के छ र ? तर यस्ता प्रश्नहरू, स्थितिहरू आउँदा हाम्रो माझमा ‘उमा’ ठडिएकी हुन्छे । म उमालाई धेरै रूवाउन सक्तिन

घरखर्च भनेर उसले बितेका दुई वर्षदेखि मलाई एक पैसा दिएको थाहा छैन, तर घर चलेकै छ । म उसको खल्तीबाट तलब आएको दिन या तिनताका चोर्ने गर्छु… घर यसै गरी चलेको छ ।

यस विषयमा न उसले एकपटक केही सोधेको छ, न मैले भनेकी छु । उमा यो देखेर के सोच्ती हो ? के ठान्दी हो ? उमा, यसरी पनि त घर चल्दो रहेछ, किन तिमीले यस्तै घरको कल्पना पहिले नै गरिनौ उमा ? किन तिमीले बिरायौ ?

अनि एक दिन मभित्रकी उमाले भावपूर्ण आँखाले भनेकी थिई, ‘कमल, दिनभरि मलाई फुर्सद नै हुन्छ, म बरू प्राइमरी स्कूलमा पढाउन थाल्छु हुँदैन ?’

ऊ आँखा तरेर, तिनै कप्टी आँखा जसले उमालाई फकाएका थिए, हेर्छ, मुसुक्क हाँस्छ, उही कलबिख तीतो मुस्कान, जसले उमालाई लोभ्याएका थिए, खोल्दै । ऊ कहिले पनि बतौरो थिएन । षड्यन्त्रपूर्ण मौनता, जसले उमालाई मोहनी लाएको थियो । चुरोटको उही तीखो सर्को जससँग उमा तर्सेकी थिई ।

केही दिनपछि राति निकै माते पनि स्पष्ट शब्दमा उसले भनेको थियो, ‘त्यो प्राइमरी स्कूलको हेडमास्टर मन पर्छ हैन, जान सक्छयौ ।’

ऊ सद्धे भएको बेला मभित्रकी उमा भावुकताले भरिएर भन्छे, ‘धन्यवाद कमल । तिमीले मलाई पोइल जान बिदा दियौ, धन्यवाद ।’

र, उमा रोइदिएकी थिई । चाहन्थी, ऊ कमलको काखमा घोप्टिएर रोओस्, तर त्यो टाढाको भएको थियो ।

कमल मातेर आएर एक दिन यसको जवाफ दिएको थियो, ‘मैले तिमीलाई सधैँ स्वतन्त्रता दिएको छु तिमी चाहेको कुरा गर्न सक्छ्यौ । तिमी पढेलेखेकी छ्यौ, कमसेकम मभन्दा बढी, तिमी जसो अर्थ लगाउन पनि सक्छयौ र जान्दछयौ ।’

म र ऊ उत्तिकै पढेका थियौँ, तर उसले मलाई बढी पढेकी भनेर घोच्थ्यो ।

यी अमिला सात वर्ष यसै गरी त बिते …।

तर म यी प्रयोजनहीन कुराहरू किन यसरी सम्झिरहेकी छु ? नसम्झेर पनि के गरूँ मैले कमललाई मेरो जँड्याहा लोग्नेलाई पर्खनु छ उमाको लागि ।

तर उमा त मरिसकिन र ?

हो, मरिसकी, तर कहिलेकाहीँ, चिहानबाट, लासबाट उसको आत्मा उठेर आइदिन्छ । अनि म अझ व्यथित हुन्छु । भावुक हुन्छ । कमल भन्ने त्यो दानवको अगाडि रून थाल्छु । विगत सम्झन थाल्छु । होइन, यी सबै केही पनि होइनन् । म जाग्राम बस्न बाध्य छु । नत्र मैले पिटाइ खानुपर्छ ।

बिहान पाँच बज्न लागेको छ । मिर्मिरे उज्यालो बग्न लागेको छ । ऊ आएन… कुन्नि कसैसँग झगडा गरेर अस्पताल पुर्याएका छन् कि ! म ढोका खोलेर दलानमा आइपुग्छु । देख्छु— ऊ डेरै अगाडि सडकको नालीछेउ निदाएको छ ।

म मरेकी उमालाई सम्झन्छु । मलाई छिमेकीहरूको लाज लाग्न थाल्छ ।