– तपाईंं के सोचले यो कथा सुन्ने सुर कस्नु भाे ? … रिवाइन्ड गरेर भर्खरै सोच्नु भएको सोच सम्झनुहुन्छ ?
… हैन अलमल्ल पर्नु भाे त ?
– म स्विकार्छु, मलाई पनि तपाईलाई जस्तै गाह्रो छ । कसाे गराैं ?
वास्तवमा मैले यो कथा अन्त्यबाट लेख्न सुरु गरेँ । कथा पढ्दा लाग्ने समयलाई ध्यानमा राखेर सिधै अन्त्यबाट विषयको सुरुवात गरेको छु । विद्वान् महाशयको समयलाई ध्यानमा राखेँ ।
व्यस्त ……अति व्यस्त…..तपाईँ…।
त्यसैले ……..!
– तर विद्वान् महाशयलाई “यो कथाको भान्सेले भन्दैमा मान्छु र ? रिवाइन्ड गर्ने, फर्वाड गर्ने, पज गर्ने फङ्सन भएको वाकमेन हो र ?” भन्ने छुट छ । तपाईंंको जिन्दगीमा रिवाइन्ड गरेर हेर्ने हो भने अत्यन्त महत्त्वपूर्ण विषयहरू छुटेका छन् । मेरो जिन्दगीमा पनि छुटाउन नहुने धेरै कुरा छुटेका छन् । नगद र जिन्सी । धेरै अटेर गरेँ । जसका कारण थुप्रै पटक खिस्रिक्क परेको छु । खिस्रिक्क पर्दा मेरो अनुहार हेरी नसक्नुको हुन्छ । कस्तो भने, बाघसँग जम्काभेट भएको हरिणजस्तो । …अँध्यारो, कँलेटी परेका ओठ…, निस्सास्सिएको.. ओहो ! कुरा छोड्नुस् । तपाईंं पनि एकपटक सोच्ने चेष्टा गर्नुस् । सोच्नलाई केले रोक्छ र ?
– फेरि मानिसलाई आफू खराब लाग्दैन । निराशाको सिकार हुँदासम्म आफूलाई सुधार्न आवश्यक देख्दैन । सामान्यभन्दा सामान्य कुराले मनमा शान्ति दिन्छ, खुसी मिल्छ भन्ने नीति शिक्षा बुझ्न अटेर गर्छ । तर चेतना भए पनि स्वभावले चेतनाको प्रयोग गरेर भ्रमलाई बढी मलजल गर्छ । फरक यति हो, आँखाले देख्न र महसुस गर्न मिल्ने नहुँदा ठुलो भाग पाउने लोभमा स-साना खुसी ओझेलमा पर्छन् । यसोभन्दा सत्यलाई न्याय गरेको ठान्छु ।
विद्वान् महाशयको कम्पासले एउटा गोलाकार कोर्न अनुरोध गर्छु ।
मानसपटलमा बनाउनुस् ।
किनकि, मोबाइलको कम्पासले हुँदैन ।
त्यसो त, हरेक प्रश्नको जवाफ इन्टरनेटमा खोज्ने बानी परेको छ । आजकल ए.आई.ले धेरै कुरा सहज पारेको छ । टेलिभिजनमा देखिने कार्यक्रम प्रस्तोता समेत वास्तविक नभएर ए.आई.ले बनाएको चर्चा निकै छ । सुपर कण्डक्टरको कुरा उठिरहेको छ । केही समयपछि मानिसको मानसपटलमा रहेका हरेक विचार/संस्मरण सहजै चिपमा ट्रान्सफर गर्न मिल्ने होस् भन्ने तपाईंंलाई लाग्छ कि लाग्दैन ? विज्ञानको आविष्कारले मानिसको दिमागभित्र चलेको कुरा मात्र होइन, तपाईंंसँग भएको ज्ञान पनि चिपमा भण्डारण गरेर राख्न मिल्ने बनाउनु पर्छ ।
सोचेको कुरा पत्ता लगाउनु ठिक कि बेठिक ?
….
यस्तै हाे भने अबको केही समयमा तपाईंंको मानसपटलमा आउने सोचलाई मापन गर्ने यन्त्र बन्नेछ । बन्नु पर्छ भन्छु । ती विभिन्न थरीका हुनेछन् । राष्ट्रिय आविष्कार केन्द्रमा दिनहुँ विदेशबाट अध्ययन सकेर इन्टर्नशीपका लागि विधार्थीको लर्को लाग्ने छ । नेपाल सरकारले बजेटमा साे केन्द्रलाई पहिलो प्राथामिकता दिनेछ । त्यो विभाजित रकम विभिन्न शीर्षकमा खर्च हुनेछन्। । त्योमध्ये एक भने मानिसको मानसपटल नाप्ने यन्त्र बनाउन खर्च हुनेछ । निकट भविष्यमा निकै सस्तोमा मेसिन बन्न समय लाग्दैन । उक्त मेसिनले शरीरसँग स्पर्श भएको हुनु पर्यो । वार्षिक रूपमा राज्यलाई सोच अनुसारको कर बुझाउनु पर्नेछ । आस्तिकहरू पाप र धर्मको पनि मापन हुनुपर्छ भनेर माग गर्नेछन् । बोली र व्यवहार फरक गर्ने, ढाँट्ने, छलकपट गर्ने, मेसिन चोरी गर्नेको पनि छुट्टै करको दररेट निर्धारण गर्न माग गर्नेछन् । धेरै पटक लापर्वाहीले गर्दा पृथ्वी नै प्वाल पर्न पटक्कै समय लाग्दैन । यसमा तपाईंंको राय के छ ?
आज पटक-पटक सम्झिनुपर्ने स्थितिको सिर्जना भयो । यति नगरी नहुने भएर नै विद्वान् महाशयलाई निवेदन गरेको हुँ ।
“दिमागमा हरेक कुरा भण्डारण गर्न मिल्ने भकारीको आविष्कार गर्न दबाबा दिइरहेका छन् ।” यसलाई तपाईंंले एउटा परिधि कोरेर गोलाकार रूपमा विचारलाई पङ्क्तिबद्ध राख्नुहोस् । कम्पासका थुप्रै काममध्येको सहज काम परिधि कोर्न हो । तपाईंंको कल्पना जहाँबाट उम्रन्छ सोही विन्दुलाई आधार मानेर परिधि कोर्नुहोस्।
सम्झनुहोस् – तपाईंंका स्कुले दिनहरू ।
उमेरकाे एल्बममा कतै गणित विषय पढेको संस्मरण छ ?
कम्पास चलाउन सिकेको निकै दशक कट्यो । विद्वान् महाशयले स्कुले जीवनपछि फेरि कम्पास किन्नु भयो कि भएन ? फेरि रिवाइन्ड गर्नुहोस्।
सबैभन्दा पहिले कम्पास कहिले चलाउनु भयो ?
….नडराउनुस् ।
– गते खोजेको हैन ।
किनकि यसमा प्रत्येक विद्वान् महाशयहरूले सोच्नु भएको जवाफ सही हुनेछ ।
….. यसमा सबै उत्तर सही छन् ।
खासमा भन्दा, तपाईंंको वास्तविकता तपाईंंलाई बाहेक अरूलाई थाहा हुँदैन ।
निकट भविष्यमा भकारीको आविष्कार हुन्छ । हुनुपर्छ । माफ गर्नुहोस् महाशय ! मानिसको कल्पनामा आउने, मनमा खेल्ने इत्यादि सबै रहने भकारीको आविष्कार भयो भने जरिवानामा पर्नुहुनेछ । तपाईंंजस्तै म पनि सजायको हकदार हुन्छु । सबैभन्दा धेरै चुङ्गी कर भान्से लेखकले नै तिर्नुपर्छ । साहित्यको बहानामा, कल्पनामा सोच्न नहुने-हुने ९ वटा ग्रह-उपग्रह, ब्ल्याकहोल को रहस्य छेडेर – सूर्यभित्रबाट खोतलेर अक्षरका रूपमा छरपस्ट बिस्कुन फिँजाउने नै भान्से लेखक हुन । यस्तालाई कर त लाग्नै पर्छ । यसो भयो भने मानिसले आफू बाँच्ने उमेर पनि रिचार्ज गर्नुपर्ने हुन्छ । बाँच्न मन लागेमा कर फर्छ्यौट गरेर बाँच्ने । आफ्नो जिन्दगीको औचित्य नभए एक्स्पाएर हुने । किनकि, वाइयात सोचेर बस्न सरकारले छुट दिँदैन । जति सोच्यो त्यति करको रकम बढ्दै जान्छ । जसरी कम्पासले बनाउने गोलाकार सानो-ठुलो जत्रो पनि हुन्छ । त्यसैगरी, मानिसको आयु पनि आफ्नो हातमा हुनेछ । तर यहाँ हामी आयुको कुरा बिर्सेर, आउनुस् एकछिन विगतलाई सम्झौँ । यसमा फाइदा तपाईंंकै छ । अब त मान्नुस् !..
हो, त्यति बेलाको संस्मरण गर्नु भयो ?
……
स्कुले जीवनमा प्राय: जसो गणित, अङ्ग्रेजी, विज्ञान, संस्कृत विषय पहिलो ४ वटा कक्षामा पर्थे । बिहान विद्यार्थीको पेट टन्न हुन्छ र यही बेलामा जे जे पढाए पनि ठ्याक्कै दिमागमा घुस्छ भनेर हो कि ?
हाफ-टाइमपछि कक्षाकोठामा विद्यार्थीहरू लोसे हुने । कालोपाटीमा पटक्कै ध्यान नदिने । अनि मास्टरसाबले चकको टुप्पो पिटिक्क भाँच्ने अनि विद्यार्थीलाई ताकेर हान्ने । कुनै बेला त विद्यार्थीको निधारमा, ओठमा, घाँटीमा, ढपक्क ढाकेको टाउकोमा, आँखाको वरिपरि, कानको लोतीमा ट्वाक्क चकले लाग्दा झसङ्ग हुने नै भए । त्यसमाथि मास्टरले कुखुरा बनाउने हो कि ? पाइपले हान्ने हो कि ? उठबस गराउने हो कि ? भन्ने डर त छँदै छ ।
कुनै-कुनै शिक्षक शिक्षिकाले चकको प्याकेट नै बोकेर कक्षा कोठामा पस्ने । कालोपाटीमा लेख्न लाग्दा अगाडि बस्ने छुस्या विद्यार्थीले लामा सग्ला चक निकाल्ने । छेउको साथीलाई दिने । नदिए चक चोरसाथीको खैरियत थिएन । किनकि एउटा चोरले अर्को चोरको उपस्थितिमा पोल खोलेर फसाउँदैन । कति सहजै एउटा चोरले अर्कोलाई पनि चक चोर बनाइसक्यो ।
चाेरेकाे चक कम्पासमा राखेर गर्वले बेन्चमा गोलाकार रेखा बनायाे । यता कापी खाली छ । बेन्चमा चक ताछेर पेन्सिलको आकार बनाउँदाको संघर्ष पछि बनेको गोलो घेरा देख्दा बढो आनन्द मिल्छ । किनकि अरूकाे हातमा चक छैन । अरूसँग नहुनु र आफूसँग हुनु । मैले केही बाेलिनँ ।
– सम्झिनुभयो ?
– सायद कम्पासमा पेन्सिल पसाउने दुलो त नापेर बनाएको हुन्छ ?
ए साँच्चै ! घण्टी बज्नेबित्तिकै निद्रा लागेको, झ्याउ लागेको, सबै जान्थ्यो । हिसाब नबुझ्ने हामीजस्ता लास्ट बेन्चमा बस्न तँछाड र मछाड गर्थ्यौँ नि ?
यो निद्रा त निदाउने समय भएर हैन निदाउने विषय परेर आउने रहेछ ।
निद्रा नहुने हो भने हाम्रो जिन्दगी पनि बुलफ्रगको जस्तो हुन्थ्यो होला । एकपटक जन्म लिइसकेपछी निदाउनै नपर्ने । एकैचोटि चिलिम् । निदाउने उठ्ने झन्झट नै छैन । सहज जिन्दगी । यस्तो हुँदो हो त हाम्रो जिन्दगी बुलफ्रग जस्तै नाङ्गै । यसमा कति जनाको मन्जुरी छ ? (कुनै दिन आवश्यक परेको खण्डमा तपाईंंको विचार सङ्कलन गरौंला ।)
चिलिमकाे अर्काे शब्द मृत्यु ! आत्मा स्वतन्त्र अद्भूत स्थान, “आर्यघाट” !….
त्यहाँ पुग्नु केही क्षणअगाडिसम्म पनि हामीलाई विश्वास नै लाग्दैन । हामी अजर सत्य बिर्सिएर जीवनकाे लाेभमा व्यस्त हुन्छौँ । जमिनमुनि गाडिनेहरूले भने मृत्युपछाडि आफू रहने स्थान देखेका हुन्छन् । त्यही देखेर त्यसैको सिको गर्दै एक जना महाशय आर्यघाट पुगेर आफू जल्ने घाट सरसफाई गर्न पुगेछन् । लासहरूको लाम देखेर निराश भएर फर्किए । गुनासो गर्न कसैलाई सकेनन् ।
कस्तो गोलमोटल कुरा भयो हगि ? हुन पनि संसार नै यस्तै छ । हाम्रा विचारहरू पनि गोलाकार भएरै होला, एउटापछि अर्को विचार निरन्तर हुने । सलल… बगिरहने भन्दा पनि हुन्छ । पानी पनि गोलाकार हुन्छ ? सितको थोपा देख्दा सोध्ने गर्थेँ । सिसामा टाँस्सिएको पानीका थोपाका आकार देख्दा त्यस्तै लाग्थ्यो । कम्पासले पानीका थोपा बनाउन मिल्छ कि मिल्दैन होला ? विद्वान् महाशय, तपाईंंकै भाषामा भन्दा गोला-गोला च्याउ ।
…….. हो त्यस्तै गोला । अनि त्यही गोला-गोला च्याउ गोलो ताप्केमा राखेर बनाएको । ताप्केको आविष्कार गर्दा कम्पासको प्रयोग भएको थियो कि थिएन होला ?
…
हो रहेछ । मैले मानेँ । यही गोलो ताप्केमा पकाएको कारण च्याउ मिठो भएको भन्दा च्याउलाई र च्याउको भान्सेलाई अन्याय नहोला ।
अनि त्यसरी बनाएको च्याउलाई, गोलो सिसीमा राखेको सोमरस, गोलो गिलासमा, गोलो बरफका दुई टुक्रासँग घोलेर, ओठको आकार पनि गोलाकार नै बनाएर, गोलाकार नलीबाट, झन्डै-झन्डै गोलाकार पेटमा पुर्याएर, गोलाकार रगतका कण-कण बनाएर, गोलाकार नसा-नसामा पुग्दा, गोलाकार आँखा लट्ठ भएका छन् ।
– मानसपटल गोलाकार भएर फनफनी घुमाउँदै छ ।
थचक्क बसेको मलाई माथि माथि घुमाइरहेको छ । फनफनी झन्-झन् माथि माथि पुग्दै छु । ……. कुनै बेला आउने सपनाजस्तो । आकाशबाट खसेको सपनाजस्तो, जमिन नै नदेखिने । ठ्याक्कै त्यस्तै गोलो ।
‘कस्तो जँड्याहाले गर्ने छेउ न टुप्पोको कुरा गर्दैछ यो भान्से लेखक जस्तो लाग्दै होला महाशयलाई ।
….. तर यो सत्य हो ।
यो पक्कै पनि महाशयले बनाएको च्याउको कमाल हो । ..
…. जादु चलाउने च्याउ ।
मदहाेश…
*****
श्रीमती सबैजसाे कामलाई उत्तिकै मिहिनेत गर्न रुचाउँछिन् । म सक्दिनँ । उनी सक्छिन्, गर्छिन् पनि । धेरै प्रसङ्गमध्यको एउटा उनले च्याउ पकाउँदाका प्रक्रियाहरू।
अब सुरु हुन्छ च्याउकाे यात्रा । सर्वप्रथम धूपबत्ती सकेर किनमेलका लागि निस्क्याैँ । बिहानको चहकिलो घाम छल्न कालो चस्मा लगाएर उनले गाडी अगाडि बढाइन्। मैले भजन र मन्त्र बजाएर साथ दिइरहेको छु । कहीले आवाज ठुलो हुन्छ । म घटाउँछु । कहीले विज्ञापन बज्छ, त्यसलाई हटाउँछु । झुल्केको घाम कलिलो र चहकिलो हुन्छ । तस्बिर खिच्न आग्रह गर्छिन् । खिच्छु ।
कण्डक्टरको काम त छँदै छ । नक्सा हेर्दै दायाँ लेनमा बस्ने, बाँयाबाट मोडिने, ट्राफिक बत्ती छ, अब हाईवे आयो १ माइलमा, पहिलो लेनमै बस इत्यादि । कण्डक्टर हुन सजिलो छैन बरै ।…..
एकपटक १ घण्टा विपरीत दिशामा पुगिएछ । साथी बस्ने अपार्टमेन्टको ठेगाना पठायो, मैले त्यसैमा थिचेर मोबाइलमा देखिएको अनुसार ईसारा गर्दै थिएँ । ठेगाना एउटै तर शहरको दिशा भने फरक परेछ, पूर्वको पश्चिम पुगियो । डेढ घण्टापछि बल्ल थाहा पाइयो । फर्केर जाँदा अर्को २ घण्टा । घर पुग्दा त रातकाे ११:३० नै भएको थियो ।
खैर, आज भने सधैँ आइरहने ठाउँमा आएकाले कतै गल्ती भएन । हामी दुबै फार्मर्स मार्केटमा आइपुग्छौँ । यहाँ सागसब्जी पाइन्छ । तुलनात्मक रूपमा दैनिक उपभोग्य खाद्यपदार्थ पाइने वालमार्ट, क्रोगर, पब्लिक्सभन्दा निकै नै सस्तो – फार्मर्स मार्केट । त्यसैले हप्तमा एकपटक ताजा सागसब्जी किन्न आउछौँ ।
बाटोमै अम्बाजीको मन्दिर छ । मन्दिरमा बिहान, दिउँसो र साँझ आरती हुन्छ । आरती भ्याउन हतारिन्छौँ । मभन्दा उनलाई भक्ति श्लोक, प्रार्थना र मन्त्रहरूको ज्ञान बढी छ । म उनकै कुरामा म:म: भन्छु । यो मन्दिर भारतीय मूलका समुदाय मिलेर बनाएका हुन् । योबाहेक अरू शहरहरूमा पनि मन्दिरहरू बनाएका छन् । निकै नै कलात्मक र फराकिलो स्थानमा पार्क, हल, खाना खुवाउने स्थान, बालबालिकालाई अध्यापन गराउने कक्षाकोठा सहितका छन् ।
अम्बाजीको मन्दिरमा मध्यान्नको आरती सकिएपछि प्रसादका लागि छेउको भान्सा खुला हुन्छ । मलाई मिठो लाग्छ । मैले थपीथपी खाएको देखेरै उनले मिलेसम्म महिनामा १-२ पटक मध्यान्न पारेर आरती पनि हेर्ने अनि प्रसाद पनि ग्रहण गर्ने चाँजोपाँजो मिलाउछिन् । आज पनि मन्दिरको आरती हेर्यौँ र प्रसाद ग्रहण गरेर पेटको पूजा सकिएपछि लाग्याैँ फार्मर्स मार्केटतर्फ ।
फार्मर्स मार्केट पस्नेबित्तिकै फलफूल र तरकारी भएको खण्डमा पुगिन्छ । एक फन्को लगाउँदा ठेलागाडा भरिन्छ । सबैभन्दा समय लाग्ने भनेको च्याउ किन्न ।
“किन्ने बेलामै सकेसम्म फ्रेस देखिने छानेर लिने ।”, च्याउको प्याकेट समाउँदै उनी भन्छिन् ।
“हुन्छ हुन्छ । अरू केही छ र ? यही च्याउ मात्रै त हो किन्न बाँकी !” उनलाई हतारो नलागोस् भन्ने मेराे मनमा छ ।
‘याे च्याउ प्याक गरेको बट्टाको माथिल्लो भाग मात्र देखिन्छ । त्यसैका आधारमा मुनि रहेका अरु पनि पक्कै ताजा छन् भन्ने अड्कल गर्नु त हाे । बिग्रेकाे पनि पर्न सक्छ । जुनै लिए पनि एउटै त हो ।’, मनोवाद गर्छु । उनलाई केही भन्दिनँ ।
बरू पछाडि रहेका अरू २-३ वटा प्याकेट निकालेर उनलाई सहयोग गर्छु ।
दोधारमा पर्छिन् । सबै प्याकेट ओल्ट्याई-पल्ट्याई सबै हेर्न भ्याउँछिन् । सुरुमा जुन हेरेकी थिइन्, त्यही प्याकेट रोज्छिन् ।
‘सेल्फमा राखिएको अर्को बट्टाको अलि सेतो र सालाखाला अलि धेरै छ कि ?’ भनेर उनका आँखा लोभी हुन्छन् । हात त्यत्तैपट्टि लम्किन्छन् । ‘होस् ‘ भन्छिन् । अघिकोमा चित्त बुझाउँछिन् ।
मन्दिरको प्रसादले टन्न छ दुवैकाे पेट । “त्यो पछिल्लो रोटी र दालले पेट चरक्क बनायो । आज खानेकुरा हेर्नैSS मन छैन ।” उनी बुद्बुदाउँदै छिन् । त्यसैले गर्दा पनि होला आज च्याउ कसरी बनाउने चर्चा बाटाेभरि गरिन । नभए च्याउको कुरा उठिसकेको हुन्थ्यो । सकेसम्म त्यसै दिन च्याउ बनाउन हतारो हुन्छ उनलाई । च्याउले रङ फेर्ला भनेर ।
कुनै पनि कुराको बयान चाख र उत्साह दिएर गर्छिन् । स-साना कुरालाई समेत ध्यान दिने – कुन आकारमा काट्ने ? के के मिसाउने ? मसला कुन हाल्ने ? टमाटर राख्ने कि नराख्ने वा छुट्टै प्लेटमा छुट्ट्याएर राख्ने । किनकि भुट्दा-भुट्दै उनको रेसिपी परिवर्तन हुन कति पनि समय लाग्दैन । अरू सागसब्जी भए जे हो त्यही पाक्छ । तर च्याउ पाकेर निक्लँदाकाे कुरा अर्कै छ । त्यो च्याउ छोइला बन्न सक्छ । …ग्रेभी बन्न सक्छ । … पूरै ड्राई भएर पाक्न सक्छ । …. पूरै मसलेदार हुन सक्छ । …… छिपछिपे बन्न सक्छ । …. साँधेको बन्न पनि सक्छ ।
त्यसैगरी, मैले निकैपल्ट उनले च्याउ पकाउँदा विचार गरेको छु । भान्सामा बज्ने गीतले खानाको मरमसला नै फरक पार्छ । भजन बजेको छ भने लसुन-प्याज नराखी पकाउने । ….आधुनिक गीत बजेको छ भने जीरा पड्काएर खुर्सानी राख्ने ……. ‘पिरो – पिरो खाउँ है’ !
उनको उत्साह र च्याउ पकाउँदाको मिहिनेत लर्तरो हुँदैन । यदि च्याउको पनि भगवान् हुन्थे भने च्याउदेवता प्रसन्न भएर उनको अगाडि प्रकट हुन्थे । सत्ययुगमा भगवान् प्रसन्न भएर प्रकट हुने चलन थियो भन्ने सुनिन्छ । हामीले टेलिभिजनमा देखेकाे नारदमुनि जस्तो, ढ्याङ्ग !!!
विहान नित्य कर्मको अन्तमा,
‘ॐ असतो मा सद्गमय।
तमसो मा ज्योतिर्गमय।
मृत्योर्मामृतं गमय ॥
ॐ शान्ति शान्ति शान्तिः ॥’
भन्दै सिन्के धूपको वासना अपार्टमेन्टकाे प्रत्येक कुनामा पुगोस् भनेर धूपबत्ती गर्छिन् ।
‘आSSS हाSSS के हो यस्तो… यो कति रातो, कति राम्रो ? लाैन, म कसाे गर्ने हाेला ? प्रकृतिसँग रमाउने मान्छे कहिले डिप्रेसनमा जाँदैन । यो घर पूर्व फर्केकाले घाम अर्कै देखिन्छ – कति राम्रो देखेको ।’ एकै सासमा भन्छिन् । तुलसीको बोट भएको गमलामा सिन्का घोप्छिन्, मोबाइल ठाडो पारेर फोटो खिच्छिन् । ढोकाबाहिर उनलाई धूपको धुँवा नाच्दै साथ दिइरहन्छ । केही क्षणमा च्याउ बनाउँदा यसैगरी कम्मर मर्काउछिन् ।
अर्को महत्त्वपूर्ण चरण भनेको – उनका मतिर नहेरी साेधिने सोधाई । हर जिज्ञासाको प्रत्युत्तर ढिला नगरी दिन्छु । बत्तीको स्विच थिचेजस्तो – तुरुन्तै प्रत्युत्तर आउँछ भन्नेमा उनी पनि ढुक्क छिन् ।
“च्याउलाई खुसी बनाउ, मलाई नसोध ।” भन्दै ठाडो जवाफ दिन्छु । अरू बेला भए यो जवाफले अर्कै रूप लिन्थ्यो । उनी च्याउमा व्यस्त भएर खासै महत्त्व् राखेन । च्याउले जादु गर्यो ।
“कि तिमीलाई ग्रेभी खान मन छ ?” च्याउ नसकिएसम्म यत्तिकै हाे उनकाे प्रश्न ।
“तिमीलाई जस्तो मन लाग्छ पकाउ न ! तिमी आजको भान्से ?”
“नजिस्क न !…..
साँधौँ त ?
अलिकति पर्पर्ती भुटेर निकाल्छु …..
अलिकतीमा टमटार राखेर ग्रेभी बनाउँछु ?…..
.. हुन्छ ?”
उत्साहित हुने क्रम जारी रहन्छ ।
म साेमरसकाे स्याहारसुसारमा लाग्छु । चिस्याउन न्याप्किन बेरेर भिजाउँछु । च्याउकाे सुरमा डिपमा राख्नै बिर्सेछु ।
‘छुटाउनै नहुने ‘च्याउकाे कालो भएको भाग काट्ने है । यो च्याउ त सेतै हुँदा खान मज्जा आउँछ । किनेकै दिनमा जति भोलीपल्ट स्वाद आउँदैन ।’ बोल्दाबोल्दै उनको मुख रसाएकाले उनको उच्चारण गर्ने शब्द नै रसिलो हुँदै जान्छ । रसबाट भर्खर निक्लेको लालमोहन जस्तो । चास्नीले डल्ला ढाके जस्तै । च्याउ नसकिएसम्म यस्तै हाे भनेर आफ्ने जाेहाे गर्नै पर्याे ।
“अदुवा लसुन चप गर्ने कि पिस्ने हो ?” म साेध्छु ।
“हैन हैन, यसलाई त पिसेकै लसुन अदुवा चाहिन्छ ।” भन्छिन् ।
फेरि सधाझैँ “यसलाई सानो आगो पारेर च्याउको पानी सबै सुकाउनु पर्छ अनि मिट्ठो हुन्छ ।” च्याउ महात्म्ये सुनाउँदै हलुकासँग चलाउँछिन् । कुनै गीतले उनको ध्यान च्याउबाट हट्छ ।
“होस् होस्, टमाटर नराख्ने, यसलाई सुख्खा भुट्ने । अनि टमाटरको अचार बनाउने ।
बरू अर्को नि टमाटर, प्याज, लसुन, अदुवा काट्न सक्छौ ?”
च्याउका किस्सा सुरु गर्छिन् । प्राय: जहाँ गए पनि च्याउ बनाउन निकै उत्साहित हुन्छिन् । च्याउका परिकारका बखान गर्छिन् । अनि म मनमनै मूल्याकङ्न गर्छु । ‘च्याउ पकाउँदा यति आनन्द लिने विरलै हाेलान् ।’ पाक्दै गरेको च्याउसँग बेला बेला बात मार्छिन् । आफैँ च्याउ भएर जवाफ फर्काउँछिन् ।
काेठामा गीत बजेको छ । हातको पँन्यु उचाल्दै नाच्छिन् । मोबाइलबाट फोटो खिच्छिन् । कोहीसँग कुरा गर्दैछिन् भने मख्ख पर्दै च्याउको भिडियो देखाउँछिन् । पकाउने तरिका बयान गर्छिन् । च्याउमा झोल हालेर खानेहरू भने बखान सुनेर “ओहो, च्याउलाई त अन्याय नै गरिएछ कि क्या हो ?” मनमनै सोच्छन् हाेला । हुन त एकैछिनमा बिर्सन्छन् । च्याउ झोलमा डुब्न छाड्दैन ।
च्याउ किन्दा, पकाउन सुरु गर्दा, र पाकेर थालमा आइपुग्दा फरक पर्छ । तर अझै च्याउको बखान सकिँदैन । “ई ई !! यसरी राSSSतो हुनेगरी सानो आगो बनाएर भुट्नु पर्छ । ”
खाना सक्किएपछि एउटा च्याउ हातमा राखेर खान आग्रह गर्छिन् । “कस्तो मिट्ठो भएछ है ?” पृष्ठभूमिमा सदावाहार आधुनिक गीत बजिरहेको छ ।
…आँखाभित्र बस्नु तिमी, छातीमा निदाउनु।
सपनीमा पनि मलाई, सुस्तरी चिहाउनु ।..
सोही सङ्गीतको तालमा टाउको हलाउँदै मज्जा लिन्छिन् ।
उनी परिवारकी कान्छी छोरी । सबैकी प्यारी । संस्कार सिक्न टाढा जानु परेन । बुवाबाट निकै प्रभावित छिन् । “मेरो आदर्श पात्र भनेकै मेरो बुवा हो । उहाँले बोलेका संस्कृतका मन्त्र, धर्मका कुरा, सत्य बोल्नुपर्छ, अरूलाई दु:ख दिनु हुँदैन, अरूको खानु नपरोस, देखावटी गर्न हुन्न, अरूले के भन्छन् भनेर चिप्लो कुरा नगर्ने आचरण ।” छुटाउनै नहुने उनकाे पक्ष भनेकाे बुवा शाकाहारी । प्रत्येक मासुका टुक्रामा प्राणीको जीवन देख्ने भएकााले पूर्ण शाकाहारी भइन् । उनलाई आदर्श व्यक्त्ति घरमै पाइन्छ भन्ने विश्वास छ । फलस्वरूप बाहिरी दुनियाँले गरेका धेरै कुरामा उनको विमति छ । शाकाहारी भएकै कारण घरमा धेरैजसाे च्याउ पकाउन अगाडि सर्थिन् । सागसब्जी किनमेल गर्न जाँदा च्याउ नछुटाउने रे !
पाक्दा-नपाक्दै, चम्चामा राख्दै, “चाख्नु त” भन्दै परिवारका सदस्यलाई खाेज्दै काेठा-काेठा हिँडने । कसैले ‘मिठाे छ’ भन्ने प्रतिक्रिया दिनेबित्तिकै “त्यसैले शाकाहारी हुनुपर्छ” भन्थिन् ।
उनी मलाई पनि बेला बेला सोधिरहन्छिन्, “ह्याप्पिनेस ईज जोर्नी भन्ने तिम्रो ब्लगमा मैले बनाएका च्याउका परिकारहरु पर्छन् कि पर्दैनन् ?”
“च्याउ रे ? कहिले पकायौ ?” म ठट्टा गर्छु । च्याउ र चुस्कीको आनन्द लिन्छु ।
“ऊ ? म अबदेखि… मिठो भो । भनेको भिडियो बनाएर राख्छु । मैले पकाएको कुनै खाना पनि तिमी सम्झिँदैनाै । उता जाउ ! हाेसमा बाेलेकाे हाे कि खै के हाे !”
…
च्याउसँग चुस्की भाेलिसम्मै धाेत्नी ?
गज्जब भा’छ भान्से लेखकलाई !
म सुतेँ ! तिमी यही पस्सारिए हुन्छ । मलाई डिस्टर्ब नगर ।”
“च्याउ साहित्यको विद्वान् महाशय ! यो च्याउ म्याजिकल भएर होला है… मलाई त के के दिमागमा आइरहेको छ । ……….आविष्कार हुनु जरुरी छ !!!
ल भन्नुस् त …..!
विद्वान् महाशय, तपाई किन चुपचाप ?”
“अब मलाई विद्वान् महाशयले रिवाइन्ड गर्न भन्नुभयाे भने दोष तपाईंंले बनाउनुभएकाे च्याउलाई दिन्छु । यसरी कसरी हुन्छ ? मभन्दा बेसी च्याउ घुमेको छ ।”
विद्वान् महाशयले खासमा च्याउ कसरी बनाउनु भयाे ? भाेलि म खुवाउँछु । साेमरस राखेर पकाउँछु । जुन तपाईंंले आजकाे दिनसम्म बनाउनु भएकाे छैन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।