‘इकेबाना’ म उसलाई पहिलोपल्ट यसरी सम्बोधन गरेर बोलाउँछु । ऊ मुस्कुराउँदै मेरो कोठाभित्र पस्छे । दुई दिनअघि चिनियाँ माटोको कचौरामा उसैले भरेको फूलतिर देखाउँदै म भन्छु ‘इकेबाना अर्थात् यो फूल सजाउने कला जापानी जनजीवनको एउटा विशिष्ट दर्शन रहेछ । यो कलामा डाक्टरेटसम्म लिन पाइने रहेछ । जापानमा मानिसको जीवनलाई एकदम क्षणिक अहिले छ भरे छैनको रूपमा लिइने रहेछ, उनीहरू भाग्यमा बढी विश्वास गर्ने रहेछन् र आकस्मिक मृत्युको त्यति विश्वास गर्दैनन् रे । तिमीलाई थाहा छ, जीवनलाई यसरी लिनुको पछि पनि कारण रहेछ र मलाई अनौठो लाग्यो त्यो कारण भौगोलिक रहेछ ।’

ऊ जिज्ञासा देखाएर मतिर एकाग्र हुन्छे । म भन्दै जान्छु, ‘सधैँभरि भुइँचालोको कम्पनमा बाँच्नुपर्ने देशका नागरिकहरू कतिलाई भुइँचालो आएको र गएको पत्तै हुँदैन रे, कति यस्ता प्रकोपमा परेर मरिरहेछन्, रोएर बिलाप गरेर साध्य हुँदैन रे । त्यसैले यो जीवन अति क्षणिक छ भन्ने प्रवृत्तिगत विकासमा इकेबानाको सिर्जना भएको रहेछ । त्यसै पनि त जापानीहरू युद्धमा शत्रुको हातबाट मर्नुभन्दा पहिले हाराकिरी गरेर मर्छन् । इकेबानामा भर्खर मात्र प्रवेश गरेकाले सायद ती अर्थहरू केही पनि तिमीलाई थाहा छैन, थाहा त मलाई पनि छैन, तर त्यो कचौरामा भरेको फूललाई भने मैले आज आफ्नै पाराले अर्थ्याएँ, हुनसक्छ इकेबानाभन्दा यसले भिन्न अर्थ राखोस् ।’

ऊ फेरि कचौरातिर एकाग्र हुन्छे, म भन्दै जान्छु, ‘पृष्ठभूमिमा राखिएको स्नो ड्रप्सका ती सुइराजस्ता पातहरूले जीवनमा आउने हरियालीको प्रतीक बोकेको छ र त्यो एकजोडी आधा फक्रेको गुलाफले युगल प्रेमीको अर्थ दिन्छ र ती क्रमशः ओइलाउन लागेका छन्, जसरी गुलाफ सधैँभरि ताजा रहँदैन ओइलाउनैपर्छ, जसरी जीवन पनि ओइलाउँछ । दायाँपट्टि सजाइएको त्यो एउटा स्नो ड्रप्स, जो हिउँजस्तै सेतो रङको छ त्यो प्रेममा हुनुपर्ने एकनिष्ठताको प्रतीक हो र फेदमा सजाइएका बाबरीका ती मसिना हरिया पातहरू बैंसमा आउने अज्ञात खुसियालीको प्रतीक हो र जुन बाबरीको बास्ना जस्तै क्रमशः मध्यम हुँदै जान्छ ।’

ऊ छक्क परेर मेरो अनुहारमा हेर्छे र भन्छे, ‘तपाईंले गजबले अर्थ्याउनुभएछ । वास्तवमा त्यति गहिरिएर मैले यसलाई भरेकै होइन, देख्दा सुन्दर लाग्यो, यसै राखिदिएँ ।’

निकै बेर ती कचौरामा अर्थ्याइएका फूलहरूलाई हेरेपछि ओइलाएका गुलाफलाई झिक्तै ऊ भन्छे, ‘हो, जीवनमा त कुन्नि किन बैँसको अवधि भने निकै क्षणिक हुन्छ जस्तो लाग्छ मलाई तथापि जीवनलाई भाग्य मान्ने पक्षमा छैन म ।’

त्यसपछि फेरि कुतुुतुतु हाँसेर भन्छे, ‘हेर्नुस् न कत्रो विरोधाभास भएछ, एक त मलाई यो इकेबानाको असाध्य रुचि भइरहेछ, अर्कातिर डाक्टरले मलाई फूलको झ्याङतिर नजानुस्, तपाईंलाई एलर्जी छ यसको, त्यसो हो भने तपाईंको यो चिलाउने रोग ठीक हुँदैन भनेको छ ।’

‘दुःखको कुरो अनि के गर्छौ त तिमी ?,’ म सोध्छु ।

‘मैले वास्ता गरेकी छैन ।’ यसो भन्दै ऊ सानो कैँची झिकेर बाहिरतिर गई र केही क्षणपछि एक अँगालो झारपात, लहरा, काँडा, फूल लिएर फर्की । त्यतिखेर म अर्को भाँडामा सजाइएको सुकेको हाँगालाई लपेट्ने मसिनो पात भएको हरियो लहरालाई अध्ययन गर्दै थिएँ आफ्नै पारामा । यो हरियो लहरा आशाको प्रतीक हो, जीवन जतिसुकै जर्जर र बूढो भए पनि त्यहाँ आशा मरेको हुँदैन, तर यो अर्थ पक्कै पनि इकेबानामा छैन ।

अचानक ऊ चिच्च्याएर उफ्रिन्छे र झारपातहरू भुइँभरि छरपस्टिन्छन् । म ‘के भयो’ भनेर उसलाई सोध्छु ।

एउटा फक्रिसकेको सेतो गुलाफतिर देखाउँदै भन्छे ऊ ‘झुसिल्कीरा !’ ऊ औँलाहरू झट्कार्न थाल्छे ।

म देख्छु, त्यो गुलाफमा एउटा कालो झुसिल्कीरा मज्जासँगले टाँसिएर बसेको रहेछ, हत्तपत्त नझर्ने गरी । ‘ई अब चिलाउन थाल्यो’ भन्दै ऊ हातगोडा मुसार्दै कन्याउँदै गर्न थाल्छे ।

एकछिन उसलाई स्वाभाविक हुन दिएपछि म प्रश्न गर्छु, ‘यी सेता गुलाफका फूलहरूलाई तिमी के मान्छ्यौ ?’

‘संसारभरि नै सेता गुलाफलाई पवित्रताको प्रतीक मान्छन् क्यारे, होइन ? मलाई राम्रो अध्ययन भने छैन है ।’ झुसिल्कीरालाई त्यहाँबाट हटाउने साहस ऊ गर्दिन, त्यो कीरा डटेरै गुलाफमा बसिरहन्छ ।

म भन्न थाल्छु, ‘तिमी मान या नमान, तर मैले यसलाई अर्कै किसिमले अर्थ्याएकी छु । त्यो सेतो गुलाफ पवित्र मान्छेको शरीरको प्रतीक हो, पवित्र मान्छेको अर्थ हुन्छ श्रम गर्ने मान्छे । त्यसैले त्यो गुलाफ श्रमजीवीको प्रतीक हो । त्यो कालो झुसिल्कीरा पसिना चुस्नेको प्रतीक, अलिअलि दखलले त्यो कीरा झर्दैन । त्यसलाई त्यस गुलाफबाट झार्न साहस चाहिन्छ, जस्तो तिमी त्यसलाई झार्न साहस गरिरहेकी छैनौ र तिम्रो एक्लैको साहसले पुग्दैन पनि ।’

ऊ अलिकति हाँसेर भन्छे, ‘हरे ! तपाईं जीवनको प्रत्येक पक्षलाई यसरी नै अर्थ्याउनुहुन्छ । श्रमशोषणभन्दा जीवनमा अरू थोक केही हुँदैन ? के यति रूखो छ जीवन ?’

म पनि हाँसेर भनिदिन्छु, ‘जीवन रूखो छैन, रसरंगले भरिएको हुन्छ, भुसिल्कीराहरूको जीवन । धेरै थोक हुन्छ जीवनमा, म यसलाई अस्वीकार गर्दिनँ, तर आधारचाहिँ श्रम र शोषण नै हो ।’

केही बेर ऊ मौन बस्छे र अचानक बोल्छे, ‘बेकार टिपिएछ त्यो अर्को गुलाफ पनि, बीचैमा खाइसकेको रहेछ झुसिल्कीराले, छिः ! अघि राम्रोसँग हेरिएन ।’

एकैछिनपछि फेरि ऊ अघिजस्तै चिच्च्याएर बुरुकबुरुक उफ्रन्छे, म छक्क परेर हेरिरहन्छु । आखिर उसका खुट्टामा जुका पनि टाँसिएर रगत चुस्न थालिसकेको रहेछ । डराउँदैडराउँदै ऊ कैँचीको सहाराले जुका झिक्छे ।

दोस्रो सन्त्रासको स्थिति फेरि स्वाभाविक भएपछि म आफ्नै पाराको निष्कर्ष झिक्छु, ‘इकेबाना सजिलो रहेनछ, कठिन लाग्यो यसको प्रक्रिया मलाई त, भन्दा मात्र फूल । जापान मुलुकको जनजीवनको दर्शन निहित छ रे इकेबानामा । हाम्रो जीवनदृष्टि पनि निहित हुन खोजिरहेको छ जस्तो लाग्न थालिसकेको छ मलाई यद्यपि भौगौलिक दृष्टिकोणले जिउँदा ज्वालामुखीहरूमाथि बाँचिरहेका जाति होइनौँ हामी ।’

ऊ अब जिल्लिएर मलाई हेर्छे र भन्छे, ‘तपाईंको कुरा मलाई अलिक स्पष्ट भएन ।’

‘स्पष्टै छ त,’ म भावुक भएर बोल्दै जान्छु, ‘हाम्रो पनि त आफ्ना मान्छेहरूको जीवन आज छ भोलि छैन । पैसा कमाएर फर्कन्छु भनी लाहुर भासिएको छोरो फेरि घर फर्केर आउँदैन । डलर, पाउन्ड र भारतीय करेन्सीमा बिकेका हाम्रा वीर तन्नेरीहरू, सीमासीमामा जोखिमपूर्ण ठाउँहरूमा तैनाथ छन् । रातदिन मर्नमार्नलाई तयार । उनीहरूको जीवन पनि आज छ भोलि छैन, कति अनिश्चित । भुइँचालोको कम्पन अनुभव नगरेरै हामी कति अनिश्चित ! आजभोलि त नेपाली किशोरीहरू पनि खेत आलीबाट, वनजंगलबाट हराउँछन् र फेरि आउँदैनन्, आज छ भोलि छैन, कति अनिश्चित ! हेर, त्यो इकेबाना यी क्षणिक जीवनको प्रतीक कसरी हाम्रो जीवनदर्शन बन्दै गइरहेको छ ।’

ऊ अँध्यारिएर घोप्टिन्छे र कैँचीले त्यो झुसिल्कीरालाई उप्काउने कोसिस गर्छे । गुलाफबाट झुसिल्कीरा त झर्छ, तर जीवनबाट ? एउटा विकराल प्रश्नचिह्न मेरो अघि उभिदिन्छ । म फूल भर्ने केटीलाई ठिक प्रश्नचिह्नजस्तो देख्न थाल्छु ।

त्यसपछि उसलाई आफ्नो नजिक बोलाएर झ्यालबाट पारि देखाउँदै भन्न थाल्छु, ‘यहाँबाट देखिँदैन नि, उः त्यो डाँडा हेर त हेर, ती ठूलठूलाहरूका बीचमा थला बसेको त्यो कच्ची इँटको घर सुन्दर अनुहारमा निस्किएको सार्की खटिराजस्तो देखिन्छ हगि ? हो, त्यही घरलाई हिजो रातिको बर्सातले थचारिदिएछ । त्यस घरमा एउटी बूढी आमै बस्छिन्, जसको छोरो केही वर्षअघि नेफामा मारिएको थियो ।’

ऊ तर्सेर सोध्छे, ‘के भएछ त्यो बूढी आमालाई ?’

‘हुन त केही भएनछ, एउटा दलिन यसो छड्के परेर बसिदिएछ र बाँचिन्,’ म भन्दै जान्छु, ‘बिहान यतातिर रुँदै आएकी थिइन् । भन्थिन् घर पनि आफ्नो होइन रे । क्याच्चै किचिएर मरेको भए बरु छोरा भएठाममा पुग्न पाइन्थ्यो, दुःख पाउनलाई बाँचेकी ।’ यस्तैयस्तै । कति अनिश्चित उसको छोराको जीवन, कति अनिश्चित उनको पनि, जीवन अहिले छ, भरे छैन यद्यपि हामी भुइँचालाहरूको कम्पन अनुभव गर्दै प्राकृतिक सन्त्रासलाई पचाएर बाँचेका जाति होइनौँ ।

छरपस्टिएका फूलपातहरूलाई हेरेर ऊ एकाग्र हुन्छे, अँध्यारो देखिन्छे । मेरो भन्ने कुरा बाँकी नै हुन्छ, भन्दै जान्छु, ‘पोहोरपरार सालतिर नागाल्यान्डमा मारिने एउटा लाहुरेकी आमाको कथा थाहा छ तिमीलाई ? अझै पनि त उनको एउटा छोरो हङकङमा छ । हङकङवाला छोराले हेर्दैन रे उनलाई । उनी आफ्नो विधवा बुहारीसँग बस्छिन् र आज–भोलि उनी एउटा नाति आङमा र एउटा नाति छेउमा राखी रुँदै भाततिहुन पकाउँछिन् रे । बुहारीले जागिर खाएकी छे । कति अनिश्चित जीवन, कति अनिश्चित भविष्य ।’

केही बेर हामी दुवै मौन बस्छौँ, त्यसपछि खस्किएको आवाजमा ऊ भन्छे, ‘मनको जस्तै पनि प्रगाढ घाउ समयको हेरफेरले निको तुल्याइदिन सक्छ । तर, एक्लिएर बाँच्नेहरूलाई हामीले दुःख बिसाउने वातावरणसम्म दिन सकेका छैनौँ ।’

कताकता मेरो मन अमिलो हुँदै जान्छ । म एकैचोटि कराउँछु, ‘इकेबाना, हाम्रो धर्तीमा फुलेको कुनै गुलाफ चोखो छैन, एकदम छैन । सबैलाई झुसिल्कीराले टोकिरहेको छ । कुनै गुलाफ ओभानो छैन यहाँ । सबैमा असुरक्षित र अनिश्चित बाँच्नेहरूको आँसु टल्किरहेको छ । डलर र पाउन्डमा बिक्री भएर जाने ती हाम्रा तन्नेरीहरू विवश होइनन्, नपुंसक भइरहेका छन् । हामी घरवासीहरू विवश होइनौँ, काँतर भइरहेका छौँ । हामी अपराधी हौँ इकेबाना, अपराधी ! हामीलाई यी असुरक्षितका आँसुहरूले नडुबाउने त कुरै छैन एक दिन । खोइ हामीले भुइँचालोको कम्पन अनुभव गरेको ? फेरि यो अनिश्चितता किन बढ्दै छ ? क्षणभङ्गुुरता हाम्रो जनजीवनको प्रतीक हुनै सक्तैन । फेरि यो के भएर गइरहेछ हामीलाई ?’

हामी दुवै एकार्कालाई हेर्छौं । सायद हामी दुवै एकार्कालाई प्रश्नचिह्न देखिरहेका हुन्छौँ ।

(साभारः ‘प्रज्ञा आधुनिक नेपाली कथा, भाग–२’)