अनिश्चितकालीन बन्दले हरियो पहाड दुब्लिएर पहेँलो हुँदै गएको झैँ लागिरहेको थियो उसलाई । ऊ जुलूस सकिएपछि सिधै घरतिर लाग्यो। बीच बाटोमा पुगेपछि के सोचेर हो कुन्नि ऊ फेरि फर्कियो । पानी पर्नथाल्यो । छाता बोक्न गाह्रो मानेको उसले कतै ओत नलाग्ने विचार गरेर सीधै चोरबाटो लाग्यो। पानी बाक्लो पर्न थाल्यो । त्यो बाटो भएर फटाफट हिँड्दै जाँदा उसले कतै ओत लाग्ने विचार गर्यो । उसले हिँडेको बाटो भएर आकृति बहिनीको घर पुग्छ भनेर थाहा थियो उसलाई। पानी झन् ओइरियो । उसले आकृति बहिनीको घरमा पुगेर ओत लाग्ने विचार गर्यो । हतारहतार ऊ त्यहाँनेर पुग्यो । फलामको गेटमा ताला थिएन । गेट खोलेर सिँढी उक्लियो र आकृति बहिनीको घरको ढोकाअघि उभियो ऊ । उसले कलबेलको स्वीच दबायो तर बजेन । बिजुली नभएकोले बेल नबजेको उसले सोच्यो । उसले ढोका ढकढकायो। भित्रबाट कुनै आवाज आएन । फेरि तीनचारचोटि ढकढकायो। तर ढोका खोलिएन ।

“आकृति बहिनी” भनेर तीनचारपल्ट उसले बोलायो। र पनि कुनै उत्तर आएन । उसको आवाज सुनेर हो कि केले हो आकृति बहिनीको घरदेखि माथि भएको बिल्डिङको एउटा खिड्की खोलियो । त्यहाँबाट एउटी युवतीले उसलाई चियाई । पानी परेको परेकै थियो । ऊ चुपचाप त्यहाँ ओत लागिरहेको थियो । उसले फेरि एकपल्ट ढोका ढकढकाएर जोडले बोलायो- “आकृति बहिनी ।” तर अहँ कुनै उत्तर आएन । उसले ढोकालाई ठेल्यो। ढोका बिस्तारै खोलियो। ढोकाभित्र टाउको छिराएर दुईतीनचोटि “आकृति बहिनी” भनेर उसले बोलायो। तर भित्रबाट अहिले पनि कुनै आवाज आएन । भित्र पसेन ऊ । के सोचेर हो कोनि ऊ त्यहाँबाट फेरि पानीमा भिज्दै सिँढीबाट ओर्लियो । त्यसपछि उसले फलामको गेट बन्द गरिदियो। ऊ एकक्षण गेटनेर पानीमा भिज्दै उभिरह्यो । छाता ओढेर आएको एकजना केटोले छक्क परेर उसलाई हेर्दै गयो। ऊ पुनः बजारतिर लाग्यो। दोकानहरू सबै बन्द थिए । मानिसहरू त्यति हिँडेका थिएनन् । एकदुईजना मानिस भने जुलूस सकेर यताउता भुलिएपछि फर्कदै थिए । ऊ भिज्दै घरतिर लाग्यो ।

उसले कति भन्यो, सम्झायो तर उनीहरू मानेनन् । उसका कुरा पटक्कै पत्याएनन् उनीहरूले । ऊ छक्क पर्यो । अहिले उसलाई आफ्नो कोही नभएको जस्तो लागिरहेको थियो । रिस भक्कु उठे पनि उसले केही गर्न सकिरहेको थिएन । उनीहरूले उसलाई कुटे, पिटे। उसले आफूले केही नगरेको भन्दा पनि मानेनन् उनीहरू। उसका आफन्तहरू चिन्तित थिए । के गरौँ ? कसो गरौँ ? कता जाऔँ ? कसलाई भनौँ ? जस्ता प्रश्नहरूले सताइरहेका थिए उसका आफन्तहरूलाई । उसलाई भने आफ्नो असहाय अवस्थामा ग्वाँग्वाँ रुन मन लागेको थियो। एकदमै असुरक्षित भएको अनुभव गरिरहेको थियो उसले। उनीहरूले घरीघरी उसलाई सोध्दै थिए। उनीहरूले अर्थात् पुलिसले सोधेका प्रश्नहरूको उत्तरमा ऊ बोलिरहेको थियो- “मलाई केही थाहा छैन। मेरो केही दोष छैन सर । मैले केही गरेको छुइनँ । म निर्दोष छु । प्लीज मलाई छोड़िदिनुहोस् ।”

लकअपभित्र चुपचाप थियो ऊ । पिसाब गन्हाएर बान्ता आएजस्तो लाग्दैथ्यो उसलाई । लकअपभित्र अरू कोही थिएन । हातले नाक छोपेर उभिएको थियो ऊ । ऊमाथि हत्याको आरोप लागेको थियो। उसलाई पुलिसले पक्रेर लकअपमा राखेको थियो। हो, ऊमाथि आकृति बहिनीको हत्याको आरोप लागेको थियो ।

शनिवारको दिन आकृतिकी बहिनी नियति दिदीलाई  भेट्न आउँदा आकृतिलाई पलङमा नै मृत अवस्थामा भेट्टाएकी थिई ।आकृति घाँटी निमोठिएर मारिएकी थिई । आकृतिको हत्या भएको थियो । आकृतिको हत्याले सानो शहरमा एक प्रकारको त्रास फैलिएको थियो । झन् उसलाई पुलिसले त्यस हत्याको आरोपमा पक्रेको खबरले त सबै तीन छक्क परेका थिए ।

आकृति एकजना उदयोन्मुख लेखिका । विवाहित नारी पनि । उसको लोग्ने कपिल विदेशमा कार्यरत थियो । एउटा कवितासङ्ग्रह र एउटा उपन्यास प्रकाशित गरेर तीद्वारा सुचर्चित भएकी लेखिकाको हत्याले साहित्य जगत् पनि शोकार्त भएको थियो । उसले पनि लेख्ने गर्थ्यो । तीनवटा पुस्तक प्रकाशित गरिसकेको थियो उसले पनि । ऊ ख्याति आर्जन गर्दै गरेको लेखकको समूहमा परिसकेको थियो । साहित्यको प्रायः सबै विधामा कलम चलाउने एकजना लेखकको रूपमा स्थापित भइसकेको थियो ऊ । धेरैचोटि गोष्ठीतिर आकृतिसित उसको भेट भएको थियो । एकजना लेखकले लेखिकाको हत्या गरिदिएकोले गर्दा साहित्यिक समूहमा त्यसको चर्चा झन् चलिरहेको थियो । लेखक पनि हत्यारा कसरी हुन सक्छ त्यसरी ? सबै छक्क परेका थिए ।

उसलाई पुलिसले शङ्कामा पक्रेको थियो । कारण आकृतिको हत्या भएको थियो अनि शुक्रबारको दिन ऊ पानी परेकोले आकृति बहिनीको घरमा ओत लाग्न पुगेको थियो । उसले धेरैचोटि “आकृति बहिनी” भनेर बोलाएको पनि थियो । त्यस दिन आकृति बहिनीको घरको ढोका पनि धेरैपल्ट ढकढकाएको थियो उसले । ढोका खुल्लै थियो । तर ऊ घरभित्र पसेन । पानीमा भिजेर आकृतिको घरनेर उसलाई उभेको धेरैले देखेका थिए । त्यसैको आधारमा ऊ पक्रा परेको थियो ।

चार दिनपछि उसलाई जेल पठाइयो। उसका साहित्यिक मित्रहरू उसलाई भेट्न जाँदा ऊ ग्वाँग्वाँ रोएको थियो। आफूले कुनै कसूर नगरे पनि त्यसरी हत्याको आरोपमा पक्रा परेर थुनिएकोमा ऊभित्रको लेखकलाई सहिनसक्नु भइरहेको थियो। परिबन्धको शिकार भएर उसको मन क्षतविक्षत भएको थियो । यदि उसले आकृतिको हत्या गरेको होइन भने कसले गर्यो त आकृतिको हत्या ? यस्तो प्रश्नले धेरैको दिमागमा घोचिरहेको थियो ।

ऊ र दिनेश नै आकृतिको हत्यामा संलग्न हुनसक्ने धेरै सम्भावना रहेको थियो । आकृतिसित दिनेशको गाढ़ा सम्बन्ध थियो। दिनेश आकृतिको घरमा आइबस्थ्यो । आकृतिको कुनै सन्तान भएको थिएन । घरमा आकृति र सासूमात्र हुन्थे । आकृतिको लोग्ने कपिल विदेशमा कार्यरत थियो। सासूको देहान्तपछि घरमा आकृति एकली भएकी थिई । बेलाबेलामा उसकी बहिनी नियति आउँथी र आकृतिसित बस्थी । नत्र आकृति एकलै हुन्थी । तर पुलिस दिनेशमाथि शङ्का गर्न अक्षम बन्यो । कारण आकृतिको हत्या हुनु ठीक एक हप्ताअघि दिनेशको मृत्यु भइसकेको थियो । यसैले ऊमाथि नै पुलिसको शङ्का गाढ़ा भएको थियो । तर आकृतिको हत्या उसले पनि गरेको थिएन । तर शङ्कामा पक्रा परेर ऊ जेलमा थुनिएको थियो। पुलिसी अनुसन्धान जारी थियो ।

आकृतिको मृत शरीर चितामा जलेको देखेर आकृतिको लोग्ने कपिल धेरै रोएको थियो । मलामीहरूको मनै दुखाएको थियो उसको रुवाइले । उसले आकृतिलाई धेरै माया गर्दोरहेछ भनी छर्लङ्ग भएको थियो । मलामीहरू कुरा गर्दै थिए।

“अब त लेखकसित पनि डराउनुपर्ने भयो।”

“डराउनु मात्र कहाँ! जोगिनुपर्ने भयो।”

“लेखकले लेखिकाको हत्या गरेको घटना हाम्रो समाजमा पहिलोपल्ट घट्यो।”

“उपन्यास त दामी लेखेकी रहिछ त्यो बैनीले।”

“यसो हेर्दा त ऊ सीधा छ जस्तो छ । कम्ती बोल्छ।”

“सीधा मान्छेको भित्री मन रहस्यमय हुन्छ। बुझ्नु साह्रो पर्छ । कम्ती बोल्ने मान्छेको भित्री मनसाय बुझ्नु झन् साह्रो हुन्छ।”

“कति राम्री थिई त्यो बैनी । बिचरी, त्यसरी मारिनुपर्छ भनेर के थाहा ? कस्तो भाग्य ! आफ्नै       घरमा हत्या भयो।”

“खोइ के हुनु आँट्यो आँट्यो यस्तो?”

आकृतिको घरको ढोका र फलामको गेटमा ताला मारिएको थियो । त्यहाँ कोही बस्दैनथ्यो । बेलाबेलामा त्यहाँबाट युवती रोएकी आवाज सुनेका कुरा ग्रामवासीहरू गर्ने गर्थे। थाहा पाउनेहरू साँझ परेपछि त्यो बाटो भएर हिँड्दैनन् थिए । राम्री लेखिका आकृति भूतप्रेत भएको हल्ला गाउँभरि फिँजिएको थियो । धेरैपल्ट तर्साएको कुरा फैलिएको थियो । मान्छे जिउँदो छँदा चाटुँला र टोकुँलाझैँ गर्छ मान्छेले नै । तर त्यसरी मरेपछि मान्छे डराउन थाल्छ मान्छे नै । मरणपछि त डर पो रहेछ डरलाग्दो खलनायक ।

एक दिन उता विदेशमा मध्य राति आकृतिको लोग्ने कपिल मातेर रुँदै कोठाभित्र बरबराइरहेको थियो। उसको ओठबाट अन्तर्कथा प्रकट हुँदै थियो ।

“आकृति, तिमीबाट धोका पाउँछु भनेर मैले सपनामा पनि सोचेको थिइनँ। तिमीले मलाई भुलेर मेरो अनुपस्थितिमा कसरी त्यो दिनेशसित अवैध सम्बन्ध राख्न सकेकी? हँ? उफ् ! म बौलाहाजस्तो भएको थिएँ । त्यो रात तिमीले मलाई जोडले अँगालेर “दिनेश, आइ लभ यू” नभन्नुपर्थ्यो आकृति ! म त तिम्रो पति कपिल हुँ । तर त्यो बिहीबार राति म कसरी दिनेश भएँ ? पतिलाई अँगालेर परपुरुषको नाम तिम्रो ओठबाट निस्कँदा तिम्रो पतिलाई कस्तो भयो होला ? उफ् ! त्यसपछि त…” आकृतिको लोग्ने कपिल धेरै बेर मातेर बरबराइरह्यो एकलै कोठाभित्र । वास्तवमा त्यो बिहीबार राति घटित धमिलो घटना उसका शब्दहरूबाट धेरै उघ्रिएको थियो ।

लोग्ने कपिल विदेशमा छँदा आकृति दिनेशको सामीप्यमा पुगेकी थिई । दुवै धेरैपल्ट सिलगढ़ीको होटलमा एकसाथ बसेका थिए । दुवैमाझ अवैध प्रेम फक्रिसकेको थियो। यी दुईको सम्बन्ध थाहा पाउनेहरूले आकृतिको हत्या दिनेशले नै गरेको हो भनी सोचेका थिए । तर आकृतिको हत्या हुनु एक हप्ताअघि खोलामा दिनेशको लाश भेटिएको थियो । मातेर लड़ी मरेको ठानिएको थियो दिनेशलाई। तर पुलिसले भने हत्याको आशङ्का गरेको थियो। त्यसपछि आकृतिको हत्या भयो। उसको लोग्ने कपिल विदेशमा थियो। त्यसो भए साँच्चै उसले नै मारेको हो त आकृतिलाई ? रहस्य प्रगाढ़ भइसकेको समयमा त्यसरी आकृतिको लोग्ने कपिल विदेशमा मातेर रुँदै बरबराउँदा रहस्य बोतलजस्तो फुटेर सत्य त्यहाँबाट निस्किने कोशिशमा थियो । एउटा सत्य यस्तो निस्कियो- आकृतिको हत्या आकृतिको लोग्ने कपिलले गरेको थियो । तर ऊ विदेशबाट कहिले आयो र आकृतिको हत्या गर्यो ? त्यो कसैले थाहा नपाउनुमा अविश्वास लागे तापनि आकृतिको हत्यारा आकृतिकै लोग्ने कपिल थियो । तर कसरी अनि कतिबेला उसले त्यसरी यस्तो कुकर्म गर्यो ? के दिनेशलाई पनि उसैले मारेको थियो ? कपिलले मातेर रुँदै बोलेका शब्दहरूको आडमा अनुमान लगाउन सकिन्छ यसरी-

१. सायद उसले साथीहरू, कसै न कसैबाट दिनेश र आकृतिको अनैतिक सम्बन्धबारे थाहा पाएको थियो किंवा उसैले नै दुवैलाई एकसाथ भेटेको अथवा देखेको थियो र प्रतिशोधमा उसले त्यस्तो जघन्य अपराध गर्ने योजना बनायो ।

२. आकृतिको लोग्ने कपिल छद्मभेषमा विदेशबाट आएपछि मताएर किंवा मातेको अवस्थामा भेटेर दिनेशलाई मारेर राति खोलामा फ्याँकिदिएको हुनुपर्छ । त्यसपछि कपिल कतै होटलतिरै बसेको हुनुपर्छ।

३. आकृतिको लोग्ने कपिलले छद्मभेषमा बिहीबार राति घरमा पसेर आकृतिलाई सरप्राइज दिएको हुनुपर्छ अनि त्यही राति रतिक्रियामा लीन भएको समयमा आकृतिले कपिललाई “दिनेश आइ लभ यू” भनेकीले कपिलले रिसको झोँकमा आकृतिको घाँटी निमोठेर हत्या गरी त्यहाँबाट कुलेलम ठोकेको हुनुपर्छ ।

जे होस्, जसरी होस् तर दिनेश र आकृतिको हत्या अघिबाट परिकल्पित भएर गरिएको स्पष्ट भयो । पूर्वनियोजित हत्याको सूत्र आकृतिको लोग्ने कपिलको ओठबाट निस्किएको अन्तर्कथाले दिएको थियो ।

ऊ भने अझै कारागारभित्रै थियो ।