कथयिताको भूमिका :

..तर यस्तो पहिले कहिल्यै भएको थिएन । यसकारण आज सृष्टि हाहाकारमय छ, त्रसित छ । यो दन्त्यकथाजन्य अवस्था हो । दन्त्यकथा वर्तमानमा घटित हुनु भनेको चानचुने कुरा होइन ।

यतिखेर म पनि आर्तनाद गरिरहेको छु, म पनि चरम बेथिति र वेदनाको घनघोर विपत्तिमा छु । म जस्तै छन् सबै । सबै जस्तो भएको छु म । तथाकथित धर्म, दर्शन, कल्याण, प्रेम, भविष्यबाट परिरक्षित मानव चोलालाई आज के भइरहेछ ? उसको सामु यो चट्याङ किन पर्‍यो ? उसको मनमा डरले किन डेरा डाल्यो ? उसको मथिङ्गल तार्किक प्रश्न गर्न सक्ने स्थितिमा छैन ।

स्पेस स्टेसनबाट हेर्ने हो भने रातको समयमा पृथ्वीको बत्ती निभेको छ । उसो त दिउँसो पनि कसैको मुख उज्यालो छैन । अँध्यारो अस्थिरपञ्जर मुसारिरहेका छन् सबै । पृथ्वी सूर्यको होइन सर्वनाशताको अन्डाकार घेरामा घुमिरहेको छ ।

औँसी र पूर्णिमा भन्ने नै छैन । दिन र रात भन्ने नै छैन । साँझमा झ्याउँकिरी कराउँदैनन्, बिहानमा जुरेलो चिर्बिराउदैन । महासागर सुक्दै गइरहेका छन्, अल्गीहरूको बाहुल्यता बढेको बढ्यै छ । बस..एक दलदल । जहाँ हरेक जीवहरू नित्य फस्दै गइरहेका छन्, दब्दै गइरहेका छन् । नासामा अब त्यस्तो खासा कुनै बात रहेन, मामुली चिया दोकान भइसक्यो ऊ । हाय..,मानवको सामु रनभुलल्लता सिवाय अर्थोक केही छैन, उससँग किङ्कर्तव्यविमूढता सिवाय केही छैन । यो कस्तो बिलखबन्द ? यो कस्तो अलमल ? यो कस्तो दोधार ?

इहलीलाको खारेजीको पूर्वसूचना दैलोमा आइपुगिसकेको छ । अब आफ्नो कुम्लोकुटीरो बोकेर महाप्रस्थान गर्नुपर्ने छ उसले । अब आफ्नो फोक्सो र मुटुलाई गतिशील बनाई राख्नुको कुनै औचित्य बचेकै छैन । घर, परिवार, इष्टमित्र, नातागोता भन्ने कुरा नै छैन । यहाँ कोही कसैको लागि छैन, कसैलाई कसैको नाम ठेगान थाहा छैन । थाहा पाउनु पर्ने आवश्यकता पनि छैन । हरकोही एकअर्कासँग त्रसित छन् । हाय, मानवको भाग्य ! अब उसको विधाता कोही रहेन । उसको सम्मुख मृत्युको छायाँ नित्य मडारिरहेको छ, मडारिरहेको छ ।

यता, पराबैजनी किरण निस्किएको निस्कियै छ । ओजन तह चाल्नो बनिसकेको छ । क्षितिज देखिएको छैन । बस्, धुवाँ र धुलोको तातोपन सिवाय अर्कोथोक केही छैन ।

मैले चिनेका, मैले जानेका धेरैले सु साइड गरिसके । सहकर्मी, सम्पादक र मितव्ययी लेखक मित्रहरूले महिनौँ अघि आफूलाई सिद्ध्याइसके । कसैले घाँटीलाई पासोमा अल्झाए, कसैले बिखलाई जिब्रोमा घोलिदिए। उनीहरू भन्दा सायद म काँतर रहेछु, मैले त्यसो गरिहाल्न सकिनँ ।

हुभर ड्यामको ३०० मिटरको पानीमा डुबुल्की मार्दा सजिलै प्राण जान्छ रे, तर त्यो टाढा छ र महँगो पनि । मसँग त्यो विकल्प छैन । मरियाना ट्रन्चको दबाब सहन गर्न सक्ने खुबी पनि ममा छैन । परेवे गुफाको ढोका बन्द गरेर भित्र पसे पनि हुने थियो, तर त्यो साहस पनि ममा छैन । मर्न विछटट मन छ, तर कुनै उपाय फेला परेको छैन । मर्ने उचित उपायको खोजीमा टाउकोमा टुटिल्को उठिरहेछ, मस्तिष्कको अन्डस्थुलन भइरहेको छ ।

प्यास र भोकले सिथिल बनिसकेको छु । खानेकुरा पनि त केही बचेको छैन । चिरा-चिरा परेको पृथ्वीमा पाइला अड्डाउँन पनि हम्मेहम्मे छ । के थाहा कुन बेला पृथ्वीको अर्को चोक्टो अफ्रिकाझैँ ऊछिटटीने हो र आफ्नै पैताला मुनि अर्को माउना लोहा फुट्ने हो ? यो सब सोच्दै, ढुनमुनाउँदै म तल झर्छु ।

झर्दै गर्दा सोच्छु, ‘भेटिइहालेछ भने भर्खर-भर्खरै मरेका कुकुरको रगत पिउँछु ।’ चियाको तलतल पनि लागिरहेकै छ, पहिलेपहिले कुकुरको रगतलाई उमालेर पिउँदा दम रोग ठिक हुन्छ भन्थे, मैले मानिनँ । आज जे त होला, पिइदिन्छु । मर्नै छ भने चिया चुस्कीको स्वाद लिँदै मर्ने हो, नाथे चिया खानै नपाएर मर्नु के मर्नु ? यस्तो मरण पनि के मरण, कुरा कसो- कविवर घिमिरे जी ? तपाईँ यो दुर्दशा नदेखी जानुभयो, गजब गर्नुभयो ।

अझ ताल पर्‍यो र ‘मौकामा चौका’ मेरो थाप्लोमा रहेछ भने कुनै बलिया र सुम्लिएका बडी बिल्डरहरूको पाखुरा चपाउँदै र मुटु निचोरेर पिउँछु । उसै पनि भ्याम्पायर कम्युनिटी (मानव जगत्) मा हरेक दिन रगत चुस्नेहरूको कमी थिएन क्यारे ! जूलिया टुफाना, एलिजाबेथ बेथोरी, इदी अमिनको म जबरजस्त फ्यान हुँदै हुँ । पोइला हिँडिसकेको विज्ञान पनि पोहोरसम्म मेडिकल माफियाहरूसँग कानेखुसी गरिरहन्थ्यो- ‘दिनहुँ सात बुँद मात्रै मानव रगत निल्ने हो भने मानिसमा जबरजस्त स्फूर्ति आउँछ, ताजगी पलाउँछ, पाचन प्रणाली चुस्त-दुरुस्त-तन्दुरुस्त हुन्छ ।’ मांसपेशी दुखाइ र हड्डी दुखाइ निवारणको अचुक ओखतीको रूपमा एक वर्ष पहिलेसम्म कानुनको आँखा छलेर यो काम हुँदै आएकै थियो । ३/३ महिनामा एक-एक पाउन्ड रगत दिएर धर्म कमाउनुभन्दा आफूलाई यसप्रकार स्वास्थ्य राख्न सकिने कुराको किन व्यापारीकरण भएन ? म घोर अच्चममा पर्छु ।

खैर, यस्तो अवस्था एक न एक दिन त आउने नै थियो, डोनर-भ्याम्प्यार रिलेसन सीप (रगतको नाता) ले कानुनी मान्यता पाउने नै थियो । अब यो बेथितिमा केका कानुन, केका मानवीयता ? जे भेट्यो, खाने हो । खाने पनि यसरी कि नितान्त सहज मृत्युवरणको लागि हरेक कदम सार्थक सिद्ध होस् । र बाँच्नबाचिरहनेहरूको देन हो- कानुन, धर्म र संस्कार भन्ने कुरा । मृत्युका दिल्लगीबाजहरूका लागि त न्यायालय शौचालय बराबर, प्रेम-पुण्य गु-मुतले भरिएको कोपरा बराबर ।

जसरी हुन्छ- अहिले भोक निवारण गर्नु छ, यसकारण धेरै गन्थन-मन्थन गरेर दिमागलाई दु:ख दिन्न । दिमागलाई ठन्डा राखिराख्नु छ भने रगत पिउनुभन्दा उपयुक्त विकल्प कुनै छैन । बरु केही ब्लड ब्यागहरू पनि लिग्छु, केही झोला रगत काँधमा भिरिराखे भने यो कुरुक्षेत्रमा मलाई सजिलो हुन्छ । हरहमेसा छातीमै दाह्रा गाडेर ओठ रगताम्मे बनाउनु भनेको त्यति मनपसन्द कुरा होइन। एकैफेर १०/१२ वटा ब्लड ब्यागहरू भर्छु ।

सोडियम हेपारिनका कारण रगत जमिहालेछ भने रौता सोचेर खान हुन्छ । कति जनावरको रौता चपाउनु? कहिलेकसो मानव रौता पनि दामी हुन्छ । चोइटिरहेको आइफियल टावर र जलिरहेको जेरुसलममा मानव रौताको हाटबजार चलेको खबर अलजजिराले हिजोअस्ति कहिले हो फुकी पनि राथ्यो । म चाहिँ ढिला भएछु, यार..म कस्तो अल्छी भएछु यार! अलिकति लाज, घिन भन्ने त हुनुपर्छ नि..ममा । त्यो पनि छैन । कस्तो नकचरो मोरो म, कस्तो कचकरो ठेट्ना म ?

आफैँलाई सत्तोसराप गर्दै तहसनहस भइसकेका बादलचुम्बी महलका कोठा-चौकोसा डुल्दै छु । जताततै रगतको दुर्गन्ध मात्रै छ । पैतालाले मानव खोपडी कुल्चनु भनेको उ..बेला सहरका सडकहरूमा प्लास्टिक कुल्चनु जस्तै नाथे कुरा हो । …तर फेरी बडो साहसिक यात्रा पनि हो यो । जो पायो त्यो, कहाँ हिँड्न सक्छ यसरी ? मानव हृदयलाई क्याचक्याची कुल्चँदै हिँड्नु भनेको चानचुने मान्छेको बस् को बात होइन । को सक्छ ?

गगनचुम्बी खण्डहरको नाभीस्थलबाट महिना दिन भइसक्यो यसरी कुँजिएर बसेको । साइरनको आवाज पनि सुनिन छाडेको छ अब त । पहिले-पहिले दिनमा बन्दुक पड्केको, घर लडेको, पुलिसको साइरन र मानिसका चिच्याहट सुनिन्थ्यो । त्यो पनि दिनहुँ जस्तो ओरालो झर्दै गइरहेको छ । आज कसैगरी कसैले भेट्यो भने मलाई जिउँदो नछाड्ने पक्का छ, तर मलाई बाच्नु पनि त कहाँ छ ? कसैले निकै सजिलोसँग आएर मलाई मारिदिन्छ भने त्यो मेरो सौभाग्यको कुरा भयो । मार्दीओस् । एकै पलमा मर्लान्त बनाइदिओस् । बस्, बिन्ती छ कुनै दुःख नदेओस्, अलिकति पनि नघोचोस्, नचिमोटोस्, नदबारोस्..।

एहै…ल गजब उपाय भेटियो । अब मरिदिन्छु । यसरी त मेरो प्राण निकै सजिलो सँग जान्छ, मलाई कुनै दुःख पनि हुँदैन । के साँच्चै म यो गरूँ ..? यसैगरि मरूँ ? .. मर्छु…।

मलाई के भएको हो, मेरा आसपासका व्यक्तिहरूलाई के भएको हो बताउँदै जान्छु । कथमकदाचित मृत्यु आइपुगी हालेनछ भने मैले आफ्नो कुरा सर्वाङ्ग बताउन सकुँला, अन्यथा मेरो गाथगादी लेख्दालेख्दै सकिएला, लेख्दालेख्दै तुरिएला ।

कथानक- १:

हो जान्दछु, आकस्मिकता र चमत्कारिता प्रथमपटक नै घटित हुन्छन् । यसैले त तिनको स्वाद छ, रस छ । तर अचानक यसप्रकारको घटना कायममुकायम होइदिँदा/ रहिदिँदा सर्वश्रेष्ठताको पगरी गुथेको मेरो (मानव चोला) प्राणपखेरु उडेको छ । कारीयताको कारनामा भनेर यसबाट मुन्टो उठाउने ठाउँसम्म हामी (मानिस) सँग छैन ।

आफ्नै पैतालामुनिको जमिन, टाउकोमाथिको आकाश र हातका औलाले छोइरहने हावामा दुर्गन्ध छ, ‘ठ्वासठ्वास’पन छ । विरक्ति, वैराग्य र मानव खोपडीको यसप्रकारको भू-क्षयिता यसअघि कहिल्यै भएको थिएन । मानिस यतिखेर आफ्नो आयुको भाका हालिरहेको छ, आफ्नो मृत्युको दिन गनिरहेको छ । क्याँकिदै गइरहेको मानव चोला यतिखेर बस् ‘चरा..चरा..र चरा..’ गरिरहेको छ । दुख्ने गरी घाँटी खस्ख्साउदै चराकै काँसो हालिरहेको छ । आउनुहोस्, मानव चोलाको सद्गतिका लागि काँधीकाठ (घारो) तयार गर्दै पृष्ठभूमितर्फ जाऔँ ।

पृष्ठभूमि :

मनकान्छे बिहान :

कुरालाई धेरै बेर काँजो नहालौँ, मेरो मृत्यु धेरै टाढा छैन । श्वासको कुनै टुङ्गो छैन । जतिसक्दो चाँडो मलाई सरसर्ती मानव चोलाको क्षय तिथिलाई स्मरण गर्नु छ, आफ्नो अनुभव टिपोट गरी छाड्नु छ ।

अतः कुरा त्यस दिनको हो, जब एकाबिहानै घाम क्षितिजबाट ओर्लँदै थियो । प्रकाशका पहेँला किरणहरू पहाडका पाखुराहरूलाई सुमसुमाउदै थिए । फिनिक्स चराको पखेटाजस्ता राता-पहेँला रङले आलोकित प्रभातकालीन आकाशको सौन्दर्यता लट्ठ पार्ने किसिमको थियो । मनोरञ्जकताको उक्त समयमा म मनकान्छे भएको थिएँ । यस्ता बिहानहरूको दर्शन आक्कल-झुक्कल मात्रै मसँग ठोक्किन आइपुग्छन् । यति खुबसुरत र मन हर्ने बिहान मैले देखेको थिइन । एक अलगै बास्ना थियो बिहानको, एक अलगै मानसिक सुख थियो त्यस बिहानको ।

झल्यास ब्युँझदा मस्तिष्क र आँखा दुवै स्थिर थिए । झुपूझुपू लोलाउने आँखाहरू एक्कासि खुलमखुला भएका थिए-उदाङ्गा किनारहरू झैँ । आँखाहरूमा चमक थियो । शरीरमा फूर्ती थियो। पुसको सियाँलमा आइपरेको एक थाप्लो घाम जस्तो मायालु थियो त्यो बिहान। तर दिन पुसको होइन।

साउन भर्खर..भर्खर.. निख्रिँदै थियो। पानीका छुँटपुंट बुँदहरू फाट् फुट् खस्दै थिएँ। फाट्..फुट,..फाट्, फुट..। रिमझिम बिहानमा सिमसिम पानी फुसफुस..फुसफुस झार्न थालेका थिए। यद्धपी हल्का चिसोले छालामा काउकुती भने लगाइरहेको थियो।

त्यतिखेर किञ्चित बोर लागेको थिएन । लोदरनेसको एक थोपो भावाशेष थिएन। बस्, मज्जा आइरहेको थियो, धूमधामको माहौल थियो। रमझमको मुड थियो। आनन्द विहारको क्षण..। प्रफुल्लताको शीतलहरी बिहान। सबकुरा शतप्रतिशत ग्रहण गरिरहेको थिएँ, हावाको गन्धदेखि उसको गति र वेगसम्म। खुल्दै गरेको क्षितिजको रङदेखि उसका शृङ्गार र माधुर्यतासम्म। कहिलेकाहीँ कसोकसो यसो हुने गर्दा मनले मेसो पाउँदैन रहेछ, के-कसो भइरहेको हो भनेर। त्यो बिहान, मलाई त्यस्तै त्यस्तै भयो।

तीन परेवा :

तर एक्कासि पानी रोकियो । घाम देखियो । र, घामको ताप बढ्दै गयो ! उता म आफ्नो नित्य कर्म सक्दै थिएँ ।

जसै नित्य कर्मबाट फर्किएर, म चियाको गिलास लिएर बार्दलीमा ठिङ्ग उभिएँ । कसोकसो घामले पोले जस्तो पनि भयो । अलि ओझेल खोजेर उभिएँ । र, फराकिलो आकाशमा आफूलाई केहीबेर डुलाइरहें । आकाश एकदम कन्चन थियो,..बिल्कुल निलो र सफा ।

एक्कासि मेरा चिम्सा आँखाहरू सामुन्नेको उदाङ्गो छानामाथि परे। छानाको रङ्ग निलो थियो । र, छाना टल्किरहेको थियो । देखेँ, परेवाका तीन सङ्ख्या छानामाथि आङ कनाइरहेका रहेछन्। उनीहरूको आङ कन्याई हेर्दै मैले जुँगा मुसारें । मेरा जुँगा बटारिएका रहेछन्, अझै बटारिदिएँ । उनीहरूले पनि एक-अर्काका प्वाँखहरू मुसारें । एक-अर्काको प्वाँखहरू बटारें । अझ छिटो..छिटो…। एक मृदुल काउकुती !

हेर्दै गर्दा देख्छु- उनीहरू भुत्रुक्क भुत्रुक्क उफ्रिरहेका पनि छन्, एकैस्थानमा आँधी मिनेट पनि उभिन सकिरहेका छैनन् । मानौँ उनीहरूको शरिरमा केही बाह्य तत्त्व परेको छ । उनीहरूको आङ कन्याई बाक्लिँदै गयो । म भने आफ्नो तातो चियाको तातोपनलाई चुपचाप बक्लाउन थालेँ । तर कसोकसो मलाई हरेकपल्ट आफूले पिउँदै गइराखेको चियाको चुस्कीमा अझ तापमान थपिएको हो कि भन्ने भान पर्‍यो, किनभने चिया पिउंदै जाँदा सेलाउने चिज हो र कहिलेकाही रुम टेम्प्रेचरभन्दा पनि तल झरिदिन्छ । घाम चर्केकाले यसो भएको होला ! र चुपचाप चियाको तातो-तातो चुस्की निल्दै रहें । चुस्की निल्दै सो पंक्षीहरू आङ कन्याईको मज्जा लिगें। यस उपक्रममा उनीहरूका शरीरमा सखारै-सखारै उम्रिँदै गरेका ढुङ्ग्री प्वाँखहरू पनि देखिए ।

परेवाका सुलीले छानामा अभूतपूर्व आकृतिहरू बनाएको थियो। उनीहरूका राता-खैरा खुट्टाहरूको छापबाट अछुतो रहेको थिएन- त्यो छानो। उनीहरूलाई आरामसाथ नियालिरहँदा याद गरेँ कि, यी सुन्दर पंक्षीहरूको पन्जा सुलीमा गाडिएतापनि पदचापको कुनै नामोनिशान छानामा देखिएको छैन । एकाबिहानै अकस्मात् चर्कोसँग घाम लागेको कारण सायद परेवाका सुली पनि सुकी गए होला !

उसै पनि उनीहरू छिटो-छिटो पन्जा उफ्राइरहेका थिए । घाम चर्किँदै जाँदा, परेवाहरू आ-आफ्ना पन्जाहरू छिटो-छिटो चालिरहेछन् भन्ने लाग्यो। म यस्तै यस्तै अनुमान लगाउन थालेँ । कसोकसो मलाई आफ्ना पाखुराहरू अझ रापिएझैँ भयो, निधारदेखि साना-मसिना पसिनाका दानाहरू बुर्कुसी मार्न थालेझैँ भयो । तातो चिया छिटो-छिटो खाँदा यस्तै हुन्छ सोल्टी, आफैसँग बात मारें ।

मलाई याद थियो , घाम चर्किरहेको उरन्ठेउलो वैशाख जेठ होस्, पानी दर्किरहने शीताङ्ग असार-साउनका बिहानीपख हुन् । या, मङ्सिरका ठन्डी, चैतको उत्ताउलो वायू वेग होस् या मध्य महिनाहरूका मनमोहक बिहान, साँझ र रातहरू हुन्- परेवाहरू छानामा आइरहेकै हुन्थे । यो कुनै नौलो र नवआगुन्तक विषय या प्रसङ्ग थिएन, मेरो लागि। परेवाको सुली, चर्को घाम,..एकदम सामान्य कुरा थियो । यसैकारण यसप्रकारको घटनाक्रमले झ्वाट्ट तानिहालेन। यो मेरो लागि पेट दुखेको मान्छे तारातार चर्पी छिरिरहे जस्तो अत्यन्त मामुली विषय थियो।

रित्तो छानो र मानिसक उथलपुथल :

तर यसै, उसै अनायासै म विभिन्न प्रश्नहरूलाई आफ्नो मन-मस्तिष्कमा आसनग्रहण गराउँदै गएँ।

प्रश्नहरू: कहाँ-कहाँसम्म उडिभ्याएका होलान् यी परेवाहरूले ? यिनीहरूको गुड कहाँ होला ? अण्डा पनि पारेका होलान् ? ओथारो को बसिरहेको होला ? कसको दायित्व हो बच्चा हुर्काउने ? कसले गर्छ आहारा खोज्ने काम ? परेवाको अण्डालाई खुब स्वादले चपाउने ढाडे बिरालोहरू यतिखेर कहाँ होलान् है ?

उपप्रश्नहरू : परेवाहरू तीनको सङ्ख्यामा किन छन् ? उनीहरू दुई किन रहेनन् ? उनीहरू मध्ये कुन चाहिँ भाले हो ? कुन चाहिँ पोथी हो ? यी तीन मध्ये दुई भाले त होइनन् ? यी तीन मध्ये दुईटा पोथी भए? यी तीन मध्ये एउटा उभयलिंगी भए? या तीनवटै भाले भए ? या तीनवटै पोथी भए ? या तीन वटै उभयलिंगी भए ?

‘म्यामोरिरी सिंह, क्लाउन फिस, जेब्रा फिन्च..’ जस्ता थुप्रा उभयलिंगी पशुपंक्षीको नाम सनै..सनै ..मेरो दिमागमा आउन थाल्छन् । र, म सोचमग्न हुँदै जान्छु । यो सम्भव छ कि तेस्रो परेवा साँच्चैमा उभयलिंगि होस् । यसो हुँदा उसले शान्तिको अर्को परिभाषा यस लैङ्गिक समाजमा थप्ने निश्चितता रहने थियो ।

अल्झाई : घटना एकदम सामान्य हो । एकाबिहानै बार्दलीको सामुन्नेको छानोमा तीन वटा परेवा देखिए । तर म त्यसै त्यसै अल्झिँदै गएँ । अब मैले यो सब छोडेर नुहाउन छिर्नुपर्छ, मेरा थुप्रा कामहरू बचेका छन्, ती सक्नुपर्छ भन्ने लाग्यो ।

नुहाउनका खातिर बाथरुम छिर्नुअघि मैले अचानक याद गरेँ कि तीनमध्ये दुई परेवाहरूको छाया छानोमा देखिइरहेको छैन । यो कसरी सम्भव छ ? के उभयलिङ्गी परेवाको मात्रै छाया देखिएको हो त ? हाय, क्या विसङ्गति !

म अझ.. अझ.. अचम्ममा पर्दै गएँ। सेरेबेलमको शक्ति क्षयीकरण हुन् थाल्यो मेरो, थालेमस र हाइपोथालेमस जड बन्दै गए । मस्तिष्क आफ्नै कूट प्रश्न (पहेली)मा फस्दै गयो । मस्तिष्कलाई खोपडीबाट निकालेर एकफेर जोडसाथ पटकार्न सके कति कायदा हुने थियो ! कति शान्ति हुने थियो ! मलाई लागिरहेको थियो- मेरो टाउकोबाट अर्को कार्कोसेस ज्वालामुखी फुट्ने छ.., हजारौँ मिटर गहिरो खाल्डो बनाउनेछ र खाल्डोमा म्याग्मा छड्किरहेनछ ।

भावावेग : म अनुभूत गरे कि साँच्चै वातावरणको तापमान बढिरहेको थियो । तर, झटपट आफैँलाई ओठे जवाफ फर्काएँ, ‘मस्तिष्कमा म्याग्मा छड्किएपछि वातावरणको तापमान बढिहाल्ने भयो नि, सोल्टी ?’

म्याग्मा सेलाउने नामै लिएन । उफ्.. यो मनोविकारदेखि छुटकारा पाउनु अत्यावश्यक छ, तर कसरी ? नाथे परेवाको छायाँ देखिनु र नदेखिनुले मलाई यति साह्रो मर्का किन परेको ? हिलोमा गाडिएको चप्पल जस्तो लावारिस किन हुनु परेको ? म आफैँलाई डीस हान्न थाले ।

थुमथुमाइ: केहीबेरपश्चात आफैँलाई थुमथुम्याएँ । मुलायम स्पर्शले आफ्नो हृदय मुसार्न थालेँ ।

‘यार.. म पनि केके सोच्छु । घाम परेन, यसकारण दुई वटा परेवाको छायाँ देखिएन । कुरा सिम्पल छ, भएको यति नै हो ।’ म आफ्नो मन बुझाए । तर मन बुझेन । मुला..मन !

छड्काइ: जसै मेरो आँखा तेस्रो परेवाको शरिरमा पर्‍यो, मभित्रको म्याग्मा फेरी छड्कियो । यार..तेस्रो परेवाको शरीरमा पनि घामका किरण परेका छैनन्, फेरी उसको छायाँ कसरी देखिरहेछ ? मेरो सामान्य बुझाइमा कुनै पनि वस्तुको छायाँ तब देखिन्छ जब प्रकाशको बाटोमा ठेस लाग्छ । तेस्रो परेवा के कुनै चमत्कारी परेवा हो ? घाम नपरीकन नै उसको छायाँ कसरी हलचल गरिरहेको छ ? निलो रङ्गको छानोमा सेतो रङ्गको परेवाको रातो रङ्गको छायाँ कसरी परिरहेछ ? यार.. यो के भइरहेछ? कसरी भइरहेछ ?

…म तेस्रो परेवालाई नियालिरहें ।..नियालिरहें । हेर्दाहेर्दै उसको छायाँ अझ रातो हुन् थाल्यो । अझ रातो..,अझ रातो.., रातो..। पूर्णतः रक्तिलो..रगतको ढिक्का जस्तो..सिन्दुरे सूर्य जस्तो । अझ त्यसभन्दा पनि गाढा, त्यसभन्दा पनि बढ्ता ।..

मेरो मस्तिष्कमा म्याग्मा छड्किने क्रममा अझ बढोत्तरी हुन् थाल्यो । सुझबुझ सबै गुमाएँ मैले । कुनै तार्किक प्रश्नको गुन्जाइस नै रहेन मसँग। म आफैँले देखिरहेको दृश्यको बंगरामा चपाईंन थालेँ । आफैँले महसुस गरिरहेको तातोपनामा छट्पटीन थालेँ । पसिना बग्न थाल्यो । निरन्तर..बगिरह्यो । चैतमासमा अगेनो छेउ बसेर कुखुरा पकाएजस्तो..। कस्तो गर्मी बढेको ? ल, माने गर्मी म आफैँभित्रको म्याग्मा हो तर त्यो दृश्य ? त्यो के हो ? आफ्नै आँखामाथि कसरी विश्वास गरौँ ? नगरौँ, फेरी कसरी नगरौँ ?

बेसुरे जस्तो भइगएँ, बेक्कामे जस्तो बनिगएँ । ज्या, यति सुन्दर बिहानमा मलाई यो के टन्टा आइलागेको ? यति मुलायम प्रकाशका किरणहरू मुनि म किन बफ्फीदै गइरहेको ? म आफैँले सँगालेका तथाकथित दर्शन, विचार, साहित्य र कलाको सहायता लिन पुगें । तर ती काम आएनन् । तिनले मलाई अझ बफाएँ, अझ वाष्पीकृत गर्दै गए ।..बस एक छटपटी.., बस एक अत्यास !..

ताता-ताता फोका:

यसप्रकार जीवनलाई निर्ममतापूर्वक परिमार्जन र परिष्कार गर्न नसकेको एक प्रकारको अपेक्षा भावले ब्यानब्यानै घाँटी अठ्ठायो । रातभर लगाएर रातलाई उज्यालो बनाउँछु भनेर लागेको जुनकिरीको मिहेनत जस्तो ! लास्ट लोदर लाग्यो ।

चिडचिडाहट बढ्न थाल्यो ।..काखी लुछुप्प हुन् थाल्यो । गुप्तांगमा आएर मानौँ कसैले तातो चिया घोप्टाइदिएको छ । शरीरभर फोका उठेजस्तो भयो । साँच्चै उठेछ पनि । एउटा फोकालाई समाए र जोडले निचोरें । पानी निस्किएन त्यहाँबाट, बस् एक तातो हावाको झोक्का आकाशमा विलीन भयो । यार..अब यो के भयो ?

हेर्दाहेर्दै शरीरभरि फोकाहरू उठ्न थाले । फोकाहरू यति ताता थिए कि त्यसले डसेर शरीर इन्तु न चिन्तु भइसकेको थियो । फोकाहरू फुटाउन खोज्दा औँलाका टुप्पा-टुप्पा ताता-ताता फोकाहरू उठे । ती फोकाहरू आफैँ टनटन गरिरहेका थिएँ । भित्तामा गएँ । शरीरलाई जोड पारेर दर्बार्न थालेँ, घिसार्न थालेँ !

..अहँ..जति घिसार्छु, जति दोबार्छु..उति उति फोकाहरू फुट्दै, बढ्दै र रापिँदै गएँ । ..म पाकेको आँप जस्तो प्यातफ्याती हुन् थाले । छड्किएको खिर जस्तै भ्यातभ्याती हुन् थाले । परेवाको सुली जस्तै गन्ध आइरहेछ शरीरबाट पनि ।

‘यो मलाई के भयो ? यो आज के भयो ? यो बिहान यति निठुर किन भइरहेछ ? यी घामका किरणहरू यति तेजिलो किन बनिरहेछन् ? के नजिकै कुनै ज्वालामुखी फुटेको छ ? के सूर्य आफ्नो कक्षदेखि डगमगाएको छ ? के कुनै ठुलो क्षुद्र ग्रह उसैगरि वृहस्पति, मंगल, चन्द्रमादेखि उम्कँदै पृथ्वीको कक्षमा आएर ब्रजीएको छ ?..आखिर यो के भइरहेछ ? के सहरको कुनै क्यामिकल फ्याक्ट्री पड्किएको हो ? के १७ देशले आ-आफ्ना आणविक हतियार प्रक्षेपण गरिरहेका छन् ?’, मैले आफैँलाई प्रश्न गरेको थिएँ !

केही बुझ्न सकिनँ । केही सोच्न सक्दिनँ ।..कसो कसो लोलाएजसो..कसोकसो होस् गुमाए जस्तो हुँदै गएँ । मस्तिष्कको म्याग्मा पड्कनुभन्दा एक पल अगाडी आफू आफ्नै ओछ्यानको एक फेदीमा ड्याम्म बज्रिएको मलाई याद छ । बज्रँदा मेरो शरीर लडेको आवाज सँगसँगै केही थप आवाजहरू सुनेको थिएँ- ..ड्याम..ड्याम..।..ड्याम..ड्याम..। त्यसपछि जान्दिनँ म के भयो, मलाई के भयो ?

ब्युँझँदा :

एक्कासि म व्युझिएँ । ब्युँझनासाथ मैले गरेको पहिलो काम थियो- घडी हेर्ने । घडीको काँटाले सभा सात देखाइरहेको थियो । म एकफेर फेरी आँखा चिम्लिएँ । जसै आँखा चिम्लिएँ, मलाई सब कुरा एक-एक गरेर याद हुन् थाल्यो। बिहानै ब्युँझिएको कुरा, बिहान सुन्दर लागेको कुरा, परेवाको कुरा, परेवाको छायाको कुरा, तापमान बढ्दै गइरहेको कुरा, शरीरमा फोको उठेको कुरा..सबै । अत्तालिँदै आँखा उघारेँ ।

जसै आँखा उघारेँ, म तीन छक परेँ । सब कुरा सामान्य स्थितिमा गतिमान थिए । शरीरमा कुनै फोका थिएनन् । तापमान पनि एकदम ठिक थियो, त्यही १७/१७ डिग्री आसपास । आकाशमा थोरै थोरै बादलहरू देखिएका थिए, साउनको झझल्को दिइरहेका । मलाई आफूले भर्खरै अनुभूत गरेको कुनै पनि कुरा सह्य हुनै सकेन ।

फेरी आँखा चिम्लिएँ । जसै आँखा चिम्लन्छु, आफू छटपटाउँदै लडेको याद भयो । शरीरभरि फोकैफोका उठेको याद भयो ! मस्तिष्कमा म्याग्मा उम्लिरहेको याद भयो । फेरी आँखा उघारेँ, सब कुरा सामान्य पाएँ । मानौँ केही भएकै छैन । नित्य दैनिक जस्तो, कहिँकतै केही कुराको फेरबदल छैन ! त्यसपछि मैले आँखा चिम्लन सकिनँ ।

हत्त न पत्त बार्दलीमा पुगेँ । बार्दली चर्किएको थियो । के भूकम्प आएको थियो ? वरपर नियाले । अहँ, कुनै घर लडेका थिएनन् । फेरी यो बार्दलीमा परेको चिरा ? मलाई यो प्रश्नको उत्तरमा घोत्लिने फुर्सद नै कहाँ ? म त छानाका चराहरू नियाल्न आएको थिएँ । नियालेँ । तर ती चराहरू छानामा थिएनन् ।

कहाँ गएँ ? “गुड तिर गए होलान् ।”

गुडतिर ?..”हो, गुडतिर गए होलान् ।”

तीनवटै गए होलान् ? “हो तीनवटै गए होलान् ।”

रित्तो छानो र सुखानुभूति :

छाना रित्तो थियो । अर्को घरको छत पनि रित्तो-रित्तो, उदाङ्गो उदाङ्गो , ह्वाङ्गै थियो । मुन्टो उठाएर वरपर नियालेँ । आकाश देखियो तर परेवाका बेमेल तीन सङ्ख्या देखिएन। भुईँतिर हेरेँ- तीनका सुलीहरू देखिएन । अलि पर नवनिर्मित चाउचाउका कार्टुन जस्ता घरहरूको झ्याल तिर हेरेँ- देखिएनन् ।

डीस होमको प्यानलतिर पनि देखिएनन्। काला/निला हिल ट्याङ्कीका ढकनी तिर नजर बटारे- ती परेवाहरू देखिएनन्। दुरान्तका चाउचाउका कार्टुनहरूमाथि सुकिरहेका कुनै भद्र पुरुष एवं रूपमती महिलाको भित्री वस्त्रहरूको हलचलतिर हेरेँ..बस् हेरीरहेँ।

***

परेवाहरू हराए। परेवाहरू आएनन्।

जसरी चिठीहरू हराए, चिठीका ठेगानहरू हराए। हृदयका आवाजहरू आएनन् ।

अचम्म, जसै ती तीन सुकुमार पंक्षीहरू हराए, उनीहरूको दुर्गन्धित दिसाहरू पनि हराए । त्यसबाट आउने गन्ध पनि हरायो । तर मेरो दिल-दिमागबाट उनीहरूको सम्झना भने हराउन सकेन । तिनका प्वाँखहरू पनि उडेर कहीँ पर.. पर पुगिसके क्यार। तीनका आवाज पनि सुनिन छाड्यो ।

मानिसक उलटपुलट:

प्रश्न गरे आफैलाई, ‘परेवाहरू साँच्चै हराएकै हुन् त ?’

‘होइन होला हाउ’, आफ्नै अस्वीकृति।

‘तीन मध्ये कुनै एक पनि कतै देखिन्न। कहाँ गएँ त ?’, प्रतिप्रश्न आफ्नै ।

उत्तरबेगर बसिरहेँ । दूर दूरका क्षितिज र पर परका आकाशहरू नियालिरहेँ । उत्तरको आशामा।

र, उत्तरहरू पनि परेवाहरूसँगै कहीँ उडिगए..फर्किएका छैनन् ।

मलाई पर्खाइ रह्यो-.उत्तरहरूको,.. परेवाहरूको ।

आकस्मिकता जति लाभदायक हुने गर्दछ, उति नै पीडादायक पनि हुने गर्दछ। एउटा निष्कर्षमा आफूलाई पुयाई हालेँ फेरी पनि। र आफ्नो निष्कर्षसँग सन्तुष्ट भएर नित्य कामकाजमा आफूलाई रुमल्लाएँ। नाक, मुख, दाँतदेखि कपालसम्मको स्याहारसुसार गरेँ, तिनैको सुसारे बनेँ ।

बिहानको खानापछि :

खाना मिठो थियो। धेरै मिठो होइन, मिठो मात्र। बुद्धिजीवीहरूका आलिस्यता जति मात्र।

सरसर्ती आकाश नियालेँ। त्यतिले पुगेन। घुरी-घुरिकन नै आकाश नियालेँ। अझै पुगेन, ट्वाल्ल परेर नियालेँ । वाल्ल परेर नियालिरहेँ । प्वाक्क परेर नियालिरहेँ । छक्क परेर नियालिरहेँ ।..नियालिरहेँ ।

परेवाहरू छोडौँ, आकाशमा कुनै पनि चराहरू नै पो देख्दिनँ त म।

कस्तो गतिछाडा स्थिति यार..चराहरू बेगरको आकाश त फुस्रो फुस्रो लाग्ने रहेछ !

जोडिएका ऐनाहरू जस्तो, मोडिएका गोरेटाहरू जस्तो ।

हाउ, अचम्मलाग्दो स्थितिको एकाएक सिर्जना कसले गर्‍यो ?

को हो साइकोलोजीकल्ली डिप्रेस्ड सिनेमाको भिलेन जस्तो यो कुख्यात अपराधी ?

मलाई उत्तर चाहिएको थियो!

कहाँ गए ती तीन सुकुमार पंक्षीहरू ? कहाँ छन्, अन्य पंक्षीहरू ?

मैले चरा किन देखिरहेको छैन ?

मलाई चरा मात्रै देख्न किन मन लागिरहेको छ ?

..उत्तरहरू प्रश्नको पिँजडामा बारबार कैद भइरहे।

उत्तर खोज्न सहरमा देखिएजति आकाश जम्मै नियाल्न थालेँ। देखिएजति आकाश हेरेँ, नाइँ कतै पनि थिएनन् ती परेवाहरू र बाँकी तमाम चराहरू पनि। पर-परको आकाशसम्म पनि। पाइलट बाबाको आकाशसम्म पनि। लुवुतिरको आकाशसम्म पनि।

न चिबे, न काग, न कोइली, जुरेली। केही पनि छैनन्।

न गिद्ध, ..न कुखुरोको भाले नै देखिन्छ कतै।

न कतै कुनै चराको डाँक र चिरबिर सुनिन्छ।

फुत्रुक्क फुत्रुक्क उफ्रिरहने भँगेरा कहाँ गए ?

एक प्रहरलाई दिमागमा बुल्डोजर चल्यो ।

अर्को प्रहरमा पहरा बज्रियो ।

अर्को प्रहरमा गिट्टीहरू छ्यालब्याल भयो। टनटन हुन्छ ।

मानौँ दिमाग फुट्यो अब, फुट्यो ।

मानौँ मुटु बेलुन बन्यो ।

टुट्यो अब टुट्यो ।

प्वाटट, प्वाटट र प्वाटट..।

क्रमशः एउटा अत्यासलाग्दो उकुसमुकुसाउदो माहौलको बधखानाहरूमा आफूलाई पाउँदै गएँ । र, बधखानाको असजिलो छस्केलोबाट उम्किभाग्ने चाह राख्न पुगेँ। तर त्यो उन्मुक्ति त्यति सजिलै मेरो हात परेन। निक्खर अँध्यारो गुफामा एक झिल्का पनि उज्यालो देख्ने कहाँ भाग्य मेरो ? औँसीको रातमा कहाँको चमक ? पूर्णिमाको रातमा कताको अँध्यारो ? लठबद्र हुन पुगेँ ।

हे..लट्ठक..आफैँलाई सरापे..त्यो चाहिँ अलि केही बेरपछि । त्यसअघिसम्म म आफूलाई सम्हाल्ने यथेष्ट चेष्टा(कू) गरिरहेको थिएँ ।

बिहानको ११:३० आसपास :

एकाएक यस सहरबाट चराहरू कता हराए ? कहाँ गए !

एक आकाश फराकिलो प्रश्नवाचक चिन्ह। एक खोँच साँघुरो विस्मयादिबोधक चिन्ह।

के यो सहरबाट चराहरूले एकाएक अन्यत्र उडान भरेका हुन् ? मानसिक उथलपुथलले अब अडिने धरातल भेट्दैन।

के गरूँ-नगरुको दोधारमा आफूलाई धेरैबेर रुम्मीलिरहन दिन्नँ । नजिकै फोन देख्छु । उठाउँछु । नम्बर घुमाउँछु।

पहिलो डायल नम्बर- सिम्ले बस्ने साथीलाई आकाश नियाल्न अर्हाउँछु। ‘ए, ल, ल हेर्दिम्ला..’ गरेर उसले फोन काट्छ।

दोस्रो डायल नम्बर- पिपल चौतारा बस्ने भाइलाई वरपरको रुखहरू तिर घुर्न भनेँ। “ए, हुन्छ हुन्छ हेर्दिन्छु..’ गरेर उसले फोन राख्दियो।

तेस्रो डायल नम्बर- ‘माफ गर्नुहोस्, तपाईँले सम्पर्क गर्न खोज्नुभएको नम्बर सम्पर्क हुन् सकेन ।’

चौथो डायल नम्बर – पोखराको होटेलवाला दाइलाई विन्ध्यवासिनी मन्दिरका गजुर/सुनौला छानाहरूतिर ध्यानपूर्वक आँखा घुमाउन भने। उनले आँखा घुमाएर भन्छन्, “खै चराहरू त देखिएका छैनन् भाइ, मान्छेका चहलपहल चाहिँ बढेको छ।”

‘बढोस्, मुला मान्छेहरू’ गर्दै फोन काटेँ।

एक्काइसौँ डायल नम्बर – यता धरानको, बिहे गरिसकेकी पूर्व प्रेमिकालाई फोन डायल गर्दा हात काम्यो, तर जिब्रो कमाउँदै देखिएसम्मको क्षितिजसम्म नजर दौडाउन कर गरेँ। उसले अरू केही साथीहरूले पनि चराहरू बिहानदेखि नदेखिएको बताएको बताई। उसका कुराले मेरा पाखुरामा जङ्गल उम्रियो। एक चिसो हावा चल्यो, जीउ थरर काम्यो। मनमा हुस्सु लाग्यो, तुवाँलोले परेला भिजायो।

सैतीसौं डायल नम्बर- ‘माफ गर्नुहोस् तपाईँले सम्पर्क गर्न खोज्नुभएको नम्बर व्यस्त छ ।’..

पचपन्नौं डायल नम्बर – ‘माफ गर्नुहोस् तपाईँले सम्पर्क गर्न खोज्नुभएको नम्बर व्यस्त छ ।’..

‘माफ गर्नुहोस् तपाईँले सम्पर्क गर्न खोज्नुभएको नम्बर व्यस्त छ ।’ …

“गर्नुहोस् तपाईँले सम्पर्क गर्न खोज्नुभएको नम्बर व्यस्त छ ।’ …

‘र्नुहोस् तपाईँले सम्पर्क गर्न खोज्नुभएको नम्बर व्यस्त छ ।’ …

होस् तपाईँले सम्पर्क गर्न खोज्नुभएको नम्बर व्यस्त छ ।’ …

स् तपाईँले सम्पर्क गर्न खोज्नुभएको नम्बर व्यस्त छ ।’ …

तपाईँले सम्पर्क गर्न खोज्नुभएको नम्बर व्यस्त छ ।’ …

पाईँले सम्पर्क गर्न खोज्नुभएको नम्बर व्यस्त छ ।’ …

ईँले सम्पर्क गर्न खोज्नुभएको नम्बर व्यस्त छ ।’ …

ले सम्पर्क गर्न खोज्नुभएको नम्बर व्यस्त छ ।’ …

सम्पर्क गर्न खोज्नुभएको नम्बर व्यस्त छ ।’ …

म्पर्क गर्न खोज्नुभएको नम्बर व्यस्त छ ।’ …

र्क गर्न खोज्नुभएको नम्बर व्यस्त छ ।’ …

गर्न खोज्नुभएको नम्बर व्यस्त छ ।’ …

र्न खोज्नुभएको नम्बर व्यस्त छ ।’ …

खोज्नुभएको नम्बर व्यस्त छ ।’ …

ज्नुभएको नम्बर व्यस्त छ ।’ …

भएको नम्बर व्यस्त छ ।’ …

एको नम्बर व्यस्त छ ।’ …

को नम्बर व्यस्त छ ।’ …

नम्बर व्यस्त छ ।’ …

नम्बर व्यस्त छ ।’ …

नम्बर व्यस्त छ ।’ …

यार, यी सब कता व्यस्त भएका हुन् ? सबका सब फोनमा के गर्दै छन् ?

फेसबुक खोलेँ र लेखेँ- ‘काठमाडौँ सहर भित्र कुनै पनि चराहरू छन् भने फोटो कमेन्टमा खसाल्नुस्।’

फोटोहरू खस्न थाल्छन्। तर फोटोमा चराहरू देखिँदैनन्। चराका छायाँहरू देखिँदैनन् । चराका गुड, प्वाँखहरू देखिँदैनन् । भिडियो खसालिन्छन् तर चराको चिरबिर सुनिँदैन ।

उता बुटवलको साथीलाई ह्वाट्स एपमा भिडियो कल गरेर उसको घर आसपास देखाउन भनेँ । देखायो। तर रुखका हाँगाहरू रित्ता-रित्ता थिए। आकाश सुनसान थियो। कतै कुनै कौवाले कावा खाइरहेको थिएन। कतै कुनै सारौँले च्याउँच्याउँ गरिरहेको सुनिएन।

मोरङ कानोपोखरीको ‘दाइ, दाइ’ गरिरहने बहिनिलाई सोधेँ, “बहिनी तिम्रा घरतिर चराहरू देखिएका छन् ?” उसले झटपट उत्तर दिई, “अहिले त देखिएका छैनन् दाइ।”

फोन गइराख्छ !

बुटवल भन्छ, ‘चरा त छैन हो ।’

टिकापुर भन्छ, “चरासरा केही छैन बे।”

फोन भेरी नदी किनार पुग्छ। भेरी नदी किनार भन्छ, “बगर सुनसान छ। हिजो-अस्तितिर त बकुल्लाहरूले बगर खचाखच हुन्थ्यो।”

वल्लो किनारदेखि पल्लो किनारसम्म फोन गरेँ । तल्लो कुनो देखी माख्लो थलोसम्म मेसेज गरे। पूर्वतिर पनि उस्तै। पश्चिमतिर पनि उस्तै।

सबैको एकै कुरा- ‘चराहरू छैनन्।’

संशयवादी- ‘थिए झैँ लाग्छ बिहानसम्म तर अहिले मैले देखिनँ।’

अठोटवादी- ‘हुनुपर्ने हो यार, यतै कतै होलान्। साँझमा गुड फर्किहाल्छन् नि।’

जिज्ञासु- ‘मेरोतिर त छैन है ! हँ, के भयो हँ..खै चराहरू ?’

विश्वासी- ‘चरा नि हराउँछ? यतै कतै होलान्, अहिले आउँछन्।’

अर्को बाठो भइटोपल्छ, ‘चराहरूको वृहत् सम्मेलन होला, त्यतै गएका होलान्।’

अर्को लाटो देशको गाडो तन्नेरी बनी भ्याउँछ- ‘चराहरूको भोजभतेर होला, त्यतै रमाइरहेका होलान्।’

निराशावादी- ‘सबै चराहरू मरे कि क्या हो ?’

राष्ट्रवादी- ‘सबै चराहरू विदेश भागे होलान्। सबै चराहरूले देश छोडे होलान्।’

कृषि वैज्ञानिक- ‘खेतबारीमा विषादी र रासायनिक मलको प्रयोग कसले बढाउन भन्या’थ्यो ? प्राकृतिक वासस्थानमा मानिसहरूको हस्तक्षेप बढ्या थ्यो, अब चेतो ।’

वातावरणविद्- मानिसले प्रकृतिका सम्पदाहरूमाथि एकाएक अधिकार जमाउँदै जल, जमिन, जङ्गल, आकाश सबैतिर एकोहोरो आधिपत्य जमाउँदै थियो। यसरी सीमाभन्दा बाहिर गएर अर्काको अधिकार क्षेत्रभित्र प्रवेश गर्नु र एकाधिकार कब्जा गर्न खोज्नु कदापि शुभ लक्षण होइन । यसैको नतिजा हो-एकाएक चरा हराउनु ।

आइटी विज्ञ – चराहरू स्वतन्त्र आकाशमा विचरण गरेका देखेर नै मानिसहरूले हावामा चराजस्तै उड्ने सपना पहिलोपटक देखेका थिए । हामीले चराहरूलाई जसरी पनि खोज्नुपर्छ ।

पंक्षी संरक्षण नेपाल- ‘हाम्रा वरिपरि कतै चराहरू हुनु भनेको हामी आफैँ हुनु र हाम्रो अस्तित्व यस संसारमा अझै लामो समयसम्म रहनेछ भन्ने बलियो प्रमाण हो । यो घटनाले अनर्थ ननिम्ताओस् ।’

विश्व चरा समाज- ‘पिँजडाबाहिरको खुल्ला आकाशमा विचरण गर्ने चरा वास्तवमा स्वतन्त्रताको मेटाफर हो । एकाएक चरा हराउनु भनेको मानव अस्तित्वमाथिको च्यालेन्ज हो ।’

दिउँसोको ३/४ बजे आसपास :

साँच्चै चराहरूको फिक्री हुन् थाल्छ । साथै, अघि तन्द्रामा हो कि जस्तो लाग्ने आफ्नै शरीरमा उठेका फोकाहरूको सम्झना हुन् थाल्छ । फोका निचोर्दा दुखेको र शरीर भुइँमा बज्रनुअघि आएको ड्याम..ड्याम आवाजको सम्झना हुन्छ । ती दुखाइ, ती आवाज र ती फोका मैले मात्र महसुस गरेको, सुनेको र भोगेको हुँ ? ..एकपछि एक प्रश्नहरूले मेरो मस्तिष्कमा डेरा डाल्दै जान्छन् ।

म प्रेमिका’जीलाई सोध्छु, उहाँले पनि त्यो भोगाई भोग्नु भएको रहेछ । उहाँले पनि त्यो दुखाइ महसुस गर्नु भएको रहेछ । तर यतिखेर उहाँ त्यस घटनालाई त्यति माने दिइरहनु भएको छैन । उहाँले भन्नुभयो, ‘बिहान चाँडो उठ्दा निन्द्रा पुग्दैन, र कहिलेकाहीँ जीउ दुखेको जस्तो हुन्छ । यो सामान्य कुरा हो । डु नट वरी डियर । बरु निन्द्रा नपुगे-नपुगे जस्तो भइराछ । म एक छिन् दिवा स्वप्नको लुफ्त उठाउँछु । एउटा मिठो किस देउ न ।’ किस त दिएँ, तर किस दिइसकेपछि अझ ठिस भएँ । यो के थियो ? प्रेमिका’जीको बकबक के थियो ? उहाँले मैले जस्तो भोगेको घटनालाई त्यति सामन्य हिसाबले किन लिनुभो ? उहाँ दिवा स्वप्नको मुफ्त उठाउन हो कि केहि गम्भीर समस्या आइपरेर ओछ्यान पर्नुभयो ?…यो अर्को दिमाग छड्काउने प्रश्न थियो !… प्रश्नहरू मुर्दावाद !
उत्तरहरू जिन्दावाद ! जय उत्तर ! जय जय !

त्यसपछि, अनलाइन न्यूज पोर्टलका भित्ताहरू चहारेँ । समसामयिक राजनीतिक घटनाक्रम र पुँजीवाद, आतङ्कवादका उही-उस्तै समाचारहरू मात्रै भेटेँ । कसैले चरा हराएको, एकाबिहानै घाप तेजिलो भएको, गर्मी बढेको र शरीरमा फोका उठेका सूचनामा आधारित भएर समाचार लेखेका थिएनन् ।

युट्युब स्क्रोल गर्दै थिएँ, एकाएक एउटा भिडियो सामुन्ने आयो । एक पत्रकार आफ्नो भोगाई बताइरहेका थिए । ‘ब्युँझदा सब उस्तै भए पनि बिहान मेरो शरीरमा फोका उठेको थियो । मैले गर्मी महसुस गरेको थिएँ । मलाई यो घटना सेयर गर्न मन लागेर गरेको । तपाईँहरूले पनि गर्नुभएको छ भने कमेन्ट गर्नुहोला । साँच्चै, लाइक र सस्क्राईब पनि गर्नुहोला । बेल आइकन दबाउनु नभुल्नुहोला । यस्तै खबरका लागि हेर्दै गर्नुहोला हाम्रो च्यानल तीन परेवा डटकम ।’

हँ, तीन परेवा डटकम ? के यो कुनै संयोग थियो ? म कमेन्ट पढ्न थाल्छु, कमेन्टमा उसैप्रकारको भोगाई आफ्नो पनि रहेको बताउने मानिसहरूको लाम लग्यो । सबको मत थियो, “बिहान केही अनौठो त भएकै थियो । तर यतिखेर सब ठिक छ ।”

त्यसपछि पक्का भयो कि यो नित्य घटना होइन । अपर्झट केही अप्रत्याशित भएकै हो । म आफ्ना साथीभाइसँग शरीरमा फोका उठेको र चरा हराएका कुराहरू गर्न थाल्छु । अब चाहिँ उनीहरू पनि यही मतमा आइपुगेका छन् कि, ‘बिहान एकाएक हप्प गर्मी बढेको थियो र यतिखेर आफ्ना आसपास चराहरू देखिएका छैनन् ।’

यसपश्चात्, विश्व उदाङ्गो हुन् पुग्यो ।

विश्व पिँजडामा कैद भयो । आ-आफ्नै प्रश्नहरूको पिँजडामा । आफ्नै प्रतिप्रश्नहरूको नजरबन्दमा । (जो म भइसकेकै थिएँ)

साँझ ६/७ बजे आसपास:

घटनाले गति समात्यो । यो कसैबाट लुक्न सकेन कि चराहरू साँच्चै छैनन् । र, बिहान एकाएक पृथ्वीको तापमान बढेको थियो । तापमान एकाएक बढ्नु र तुरुन्त सेलाउनु अनि सोही समयमा संसारभरबाट एकाएक सम्पूर्ण चराहरू लुप्त हुनुले बौद्धिककर्मीहरूको कन्चट रन्कायो ।

टिभी खोल्यो, त्यही घटनाको व्याख्या-विश्लेषण आइरहेको थियो । रेडियो, पत्रपत्रिका, सामाजिक सञ्जाल जहातही यही घटनाको चर्चा-परिचर्चा सुरु भएको थियो । हरेकले आ-आफ्ना अनुभव साझा गरिरहेका थिए ।

एउटा: “म पनि एकाबिहानै ब्युँझिएँ । बिहानको बास्ना साँच्चै अद्भुत थियो । तर एकाएक गर्मी बढ्यो । गर्मीसँगै शरीरमा फोकाहरू बढे । रोएँ, चिच्याएँ । परिवारको अन्य सदस्यहरूको हालत त्यही थियो ।”

अर्को : “एकले अर्कोको फोका निचोर्दा औला-औलामा फोका उठे । भित्तामा गएर घिसार्न थाल्यौँ । फोकाहरू त फुटे तर जति फुट्थे उति बढ्थे । अनि एक्कासि ‘ड्याम..ड्याम’ आवाज आयो । लडे । लड्यौँ । त्यसपछि थाहा छैन, खै के भयो ?”

तेस्रो : “..ब्युँझँदा सबैकुरा सामान्य थियो । हामीलाई के थाहा हामी ब्युँझ्दासम्ममा कोही आएर चराहरू लिएर गइसक्ने छ। यो पृथ्वीले चरा बेगरको भू-लोक बनिसक्नेछ ।” र यावत, यावत !

भोलिपल्ट:

रातभर संसारभर कोही निदाउन सकेनौँ । हरेक ‘लाटोकोसेरो’ बनिरह्यौँ तर वास्तवमा लाटोकोसेरोहरू पनि संसारमा थिएनन् । लाटोकोसेरो जस्तो राति शिकार गर्ने पंक्षीलाई एकाबिहानै अपहरण गर्ने अपराधी को थियो हँ ? को होस् हँ ? ए मुला, बोल ! झ्याक्ने किन बोल्दैनस, बोल । फरकफरक भाषा र अर्थमा यसैप्रकार मनोवैज्ञानिक आक्रोशहरूको सारेगम विश्वभर गुन्जिरह्यो ।

चरा, चरा मात्रै कहाँ हो र मान्छेका लागि ? अन्त्यहीन आकाशमा उड्ने आदिम चाह हो । पुर्खाहरूले देखेको एउटा सुन्दर सपनाको क्रमबद्द्ध निरन्तरता हो ! यसैले त चरा सांस्कृतिक बिम्ब हो । धार्मिक बिम्ब हो । सामाजिक बिम्ब हो । चरा मान्छेले कहिल्यै नपाएको एक विराट स्वतन्त्रताको उपमा हो । चरा स्वतन्त्रताको उच्चतम आभास हो। चरा प्राकृतजैविक वस्तु मात्रै नभई मानव सभ्यतालाई जिउँदो राख्ने संजिविनी हो । चरा मान्छेको मन, मस्तिष्कमा ढसमस्सै भएर बसेको छ ।चरा देखेरै मान्छेले कल्पनाशक्ति आफूकन रहेको चाल पाएको हो ।

बच्चो चरा देख्छ र उड्न खोज्छ, उफ्रिन्छ । भुइँमान्छे चरा देख्छ र उठछ ।आजको पूंजीवाद धरी ‘म पनि चरा बन्नेछु, समाजवादी बन्नेछु’ भनिरहेको छ । यसकारण, चरा, महादुर्लभ प्राकृतिक रम्यता हो । चरा महामूल्यावान खुसीको स्रोत हो । मनोवैज्ञानिकहरू भन्छन्, चराको मूल्य अथाह छ । साहित्यकारहरू मान्छन्, चराको काव्यिक भ्यालु अतुलनीय छ ।

ठुलो टाउके हावासील, ध्यानी बकुल्ला देखिएनन्। समुन्द्रका ठू्ल्ठूला सेता समुन्द्री चराहरू कहाँ गए कसैलाई पत्तो रहेन। युरोप र युरोप मास्तिरको आइल्याण्ड, ग्रिनल्याण्डतिर पेङ्गुइन थिएनन् । जन्मेदेखि मर्दासम्म हिउँमाथि नै रहने यो चराले एकाएक कसरी पग्लियो, थाहा थिएन ।

खबरहरू आइरहे… ।

‘रसियाको पूर्वेली भाग र चीनको मध्यपूर्वतिर पनि चरा छैनन्। टीग्रीस नदी किनारमा पनि चराहरू छैन। ह्वान्गो नदिका बगरमा पनि चराहरू छैनन्। गङ्गा, पदमा र सरस्वती नदी किनारमा पनि चराहरू छैनन। बास्पोरस नदी तिर पनि छैनन्। ओलास्कामा पनि छैनन्, ओस्लोमा पनि छैन। ग्वाटेमाला पनि छैनन्, इन्डोनेसियातिर पनि छैनन्। पार्ल हार्बर चरा बेगर छ। जेरुसेलम पनि चरा बेगर छ।’

जलेवा, राज धनेश कोही कतै छैनन्। सुतुरमुर्ग छैन । फिस्टा छैन । ढुकुर छैन । लामपुच्छ्रे छैन । आकर्षक गुड बनाउने तोप चरा छैन । मैना, सुनचरी, चखेवा, खोया हाँस,..छैनन् ।

घाटमा लास कुरिबस्ने हुटिट्याउँ खै? आकाश थाम्छु भन्थ्यो, अब धर्तीमा देखिनै छाड्यो । धानवारीमा धान रङकै भई लुकिबस्ने बटाइ खै ? एकापास सल्लाह गरेर बच्चा कोरल्ने भ्याकुर र तोरीगाँडा प्रजातिका चराहरू खै?

दन्त्यकथाहरूका जियान, भारुन्ड, फिनिक्स चरा आइदिए पनि त हुने, तर आइदिएनन् । ग्रिसको फिनिक्स नआइदिए पनि नेपालकै गोलसिमल खरानीबाट फुत्त निस्किदिए हुने नि, निस्किँदैन ।

संसारकै सबैभन्दा पुरानो चरा ‘आर्चियोटेरिक्स’को अस्थिपन्जर (सन् १८६१ मा भेटिएको) मा पुन: प्राण भरिए हुने नि तर, भरिँदैन ।

अस्ट्रिज, इमुज र रेहेज जस्ता ठुला खालका चराहरू त हराएका छैनन् कि? कति भेटिई पो हाल्छन् कि ? काठफोडुवा र टोउकान प्रजातिका चराहरूले काठ फोडिरहेको आवाज कतै सुनिई पो हाल्छ कि ? रुखमा बस्ने चराहरू, पानी चराहरू, खेलाडी चराहरू, रात्रिचर चराहरू, शिकारी चराहरू, उड्न नसक्ने चराहरू, उड्न सक्ने चराहरू, भुँईमा गुड ल्याउने चराहरू कुनै पनि देखिएनन् ।

न लास छ, न गुड छ, न बचेरा छन्, न चरा छन्। न प्वाँख छ, न अस्थिर पञ्जर छ, न आवाज छ !

आकाश रित्तो रित्तो थियो। धर्ती सुनसान थियो। रुखहरू झोक्राएका थिए। खोला र समुन्द्रहरू सुसाउन छोडेका थिए। ताल र पोखरी बन्धन तोडेर निस्किएका थिए – चराहरू खोज्न।

दुई दिन बित्यो !

युएन, डब्लुडब्लुएफ, बर्डलाइफ इन्टरनेशनल, बर्ड कलेक्टिभ, बर्ड कन्जरभेसन नेपाल सहित विश्वका ४०/५० वटा चरामा काम गर्ने संस्थाका पदाधिकारीहरू आ-आफ्ना मन्त्रीपरिषद र सुरक्षा निकायहरूसँग छलफलमा बसेका छन् । एउटा विश्वव्यापी मिसन सुरु भयो- ‘ह्वेर इज ड बर्ड ? गो एन्ड फाइन्ड इट्स।’

तर, हाँसउठ्दो कुरा- दुई दिनदेखि चरा नदेखिएर आकाशले अर्थ गुमाइसकेकाले, सब अर्ध मुर्छित थिए । रक्सि खाएर हिंडेको मान्छे जस्तो धङमङ्गिदै उनीहरू विश्व चहार्न निस्केका थिए !

सारौँ बाँसघारीमा छैनन्। भँगेरा कुनै आँगनमा छैनन्। कुखुरो कसैको खोरमा छैन।

स्यालको मन रो’को थियो। ब्वाँसोको परेला भिजेको थियो। भैँसीको ढाड चिलाएको थियो। तर चराहरू थिएनन्।

पृथ्वीको गुरुत्वसँग हरहमेसा लडिरहने चराहरू कहाँ गएँ ? कहाँ हराएँ ?

भनिन्छ, ‘यदि कहीँ चरा देखियो भने त्यहाँ जीवन सम्भव छ ।’ नोहाको डुङ्गादेखि उडिगएको चरा, जीवन सम्भव छ भनी सूचकाक्षर गर्ने चरालाई कसले लग्यो ? कता पुर्‍यायो?

एक हप्तापछि :

स्थिति उही छ, समय र मौसमको सङ्केत गर्ने चराहरू हराइरहेका छन् ।

यज्ञ-यज्ञादी सुरु भएको छ, होम-होमाधिले गतिशीलता पाएको छ। भाकल दिन थालिएको छ- राँगा, बोका काटिएका छन्।

‘ओम मणि पद्मे होम’ गुन्जिएका छन्। धामी झाँक्री बर्बाइरहेछन् । भूमे पूजा सुरु भएको छ । दोलखा भिमसेनबाट पसिनाको खोलो निस्केको छ । पुजारीलाई बगायो अरे भन्दै थिए ।

डडलासको छोरा, जो ममको प्वाँख लगाएर सूर्य नजिक पुगेको थियो, र पग्लिएर मरेको थियो, उसको पुनर्जीवनको कल्पनामा पश्चिमी विश्वले जिसस पुकारीरहेको छ ।

..मानिसहरू आकुल-व्याकुल छन्। जनावरहरू घोर निराशामा डुबेका छन्। तर चराहरू कहीँ छैनन्, देखिएनन्।

पन्ध्र दिन नाघ्यो !

मानिसले खान, सुत्न बिर्से। अनिदा आँखाहरू झ्याल खोलेर आकाश हेरीरहे। सिथिल परेलाहरू डाँडाकाँडा चहारिरहे। मानवलाई एक-दुई घण्टाको निन्द्रा लिनु पनि मुस्किल पर्न थाल्यो ।

पहिले-पहिले चराहरू देखिएको ठाउँ, स्थान, गुफा र किनारमा मानिसहरूको खोज अभियान जारी छ तर चराहरू थिएनन् ।

पहिले चरा देखिएको ठाउँहरू नै अदलाबदली भएको खबरहरू बाहिरिए। ती ठाउँहरू नै हराएको छ भन्न थालियो। पत्ताउन पनि गाह्रो..स्विकार्न पनि असजिलो । कुन खबर साँचो हो, कुन झुटो ?

आन्दोलन मच्चियो- चराहरू छोएको, चराहरूले हगेको, चराहरूले थुकेको, चराको प्वाँख परेको- सब एक एक जमिन हराउन थाल्यो । एक घर-बार्दली र हाँगाहरू गायब भयो। हो कि होइन, थाहै छैन । छुटाउने संयन्त्र तहसनहस भइसकेको थियो । (के त्यहिँ भएर मेरो बार्दली भासिएको थियो ?)

साँचोमा चराहरू रनबन लापता भएका थिए । चरा पर्यटन ध्वस्तप्राय भयो । अमेरिकाको हवाई चरा पर्यटक नआउनाले आगबबुला भएको छ । इक्वेडरको मिन्डो आफ्ना ५०० प्रजातिका चरा गुमाएर न्युरोडेभलपमेन्ट डिसअर्डरबाट प्रताडित छ । भारतको मध्यप्रदेश सरकार भारतभरिको २५ प्रतिशत चरा गायब भएपछी वाइल्डलाइफ प्रोटेक्सन याक्ट १९७२ को मलामी गएको छ । बर्दियाका बालीनाली लोलाउन थालेका छन्। वृहत्तर लुम्बिनी क्षेत्रमा बालीनाली खाने किरा–फट्याङ्ग्राको सङ्ख्या बढ्न थालेको छ ।…एकफेर फेरी सलह आतङ्क सतहमा आयो । रुखबिरुवाको विस्तृतीकरण रोकियो। परागसेचन विथोलियो ।

बाइनाकुलरहरू गायब भए, बुख्याँचा र गुलेलीहरू गायब भए । भरुवा बन्दुक राखेको ठाउँमा नै थिएन । प्रख्यात चरा फोटोग्राफर राथिका रामस्यामी आफूले हालसम्म खिचेका चराहरू एकाएक हराएपछि प्यानिक डिसअर्डरको शिकार भएकी छन् । कुशल फोटोग्राफर जेरी पेल्टोम्याकी प्राइमरी इन्सोमेनियाको फेजमा पुगेका छन् । नेचर डकुमेन्ट्रीको पायोनियर मानिने स्वर्गीय ओलिभर जि. पाइकका फोटोहरूको भौतिक एवं इन्टरनेट अर्काइभ भेटिएन, ब्रिटिश सरकार आफ्नो स्वर्णिम इतिहास मेटिएको झोकमा चरा विश्वभरका चरा तस्करहरूलाई ठाडै गोली हान्ने आदेश दिइरहेको छ । एक हाहाकारको स्थिति, जसलाई जे ठिक लाग्छ, त्यो गरिराछ ।

कवि, साहित्यकार, कलाकारहरू रचनाहरूबाट चरा गायब भए । महानतम् रचनाहरू आत्माबिनाको शरीर जस्ता भए । शेक्सपियरको ‘द फिनिक्स एन्ड द टर्टल’ कविता बेकामे भयो । वालेस स्टेभेन्सको ‘थर्टिन वेज अफ लुकिङ एट अ ब्ल्याक बर्ड’ कविताको उही हाल रह्यो । शिरोमणिको ‘पिजराको सुँगा’ नामको कविताको भौतिक उपस्थिति गयल भएको छ । निरङ्कुश राणाशासनको प्रतिक सो कविता लापता हुँदा अर्को ‘पिजरा’ स्थापित भएको छ, जहाँ नेपालमा प्रख्यात कविका कविताहरू थुनिएका छन् ।

संस्कृत साहित्य, पाली साहित्य, चरक संहिता, इज्पिसियन साहित्य जताततै उही हालत रह्यो । आस्था र अनास्थाको लडाई फेरी सुरु भयो । विज्ञान र अध्यात्म फेरी जुधिरहेका । एउटा भन्थ्यो, ‘तैँले चरा गायब पारिस् ।’ अर्को भन्थ्यो, ‘तैँले चरा मारिस् ।’

प्रख्यात पंक्षी विज्ञ डा. हेमसागर बरालले पंक्षीहरूको खोजीमा हिँड्दा लापता भएको खबर कान्तिपुरले छापिसकेको छ । उनीसँग डा. तुलसी सुवेदी, डा. कमल गोसाई पनि रहेको खबर छ, उनीहरूको पनि अत्तोपत्तो छैन । ‘चरामा पारिवारीकरणभन्दा समुदायीकरण हुन्छ’ भनिरहने, चराको उधुम राम्रो फोटो खिचिरहने रमेश बस्नेत दाइ अल्जाइमरग्रस्त हुन् पुगेका छन्, आफ्ना सैनिकको जस्ता पोसाकमा दाँत गाँडेर छटपटाइरहेका छन् । डब्लुडब्लुएफ नेपालमा कार्यरत ‘अमित खड्का’ बुद्धले जोगाएको सारस चराको खोजीमा लुम्बिनी पुगेको खबर छ, हालसम्म फर्किएका छैनन् । उनीसँगै बृहत् लुम्बिनी क्षेत्रमा सारस गणनामा सक्रिय वातावरणविद् हेमबहादुर कटुवाल पनि थिए भन्ने खबर छ । दुवै पश्चिमी नेपालको कुनै सिमासार क्षेत्रमा धसिए कि भन्ने अनुमान छ ।

‘द फ्यालकन्स’ फिल्मको दृश्यबाट एका-एक चराहरू गायब भए अरे । ‘मैने प्यार किया’ फिल्मबाट पनि चराहरू उसगैरी हराए अरे । ‘कालो पोथी’ फिल्म पनि अब ‘कालो पोथी’ रहेन । द लिजेण्ड अफ पेल मेल (The legend of Pale Male) का कुनै पनि दृश्यमा Adult Red-tailed Hawk देखिदैन । न्यूयोर्कको सेन्ट्रल पार्क यो डकुमेन्ट्रीको खोजी गरौँ कि, विद्युत प्रसारण लाइनहरू भत्काउदै हिडौ भन्ने दोसाँधमा जाकिएको छ ।

उता, पाटनमा सुवर्ण लेपन सहित विराजमान राजा योगनरेन्द्र मल्लको लाइफ साइज आकारको सालिकमाथिको चरा गायब भयो अरे ! रुनाधुना सुरु भयो । योगनरेन्द्र मल्लको मृत्युमा देशभक्तहरू कपाल मुडुलाए अरे ! ‘चरा नउडेसम्म म मर्दिनँ भनेका राजा पनि मरिगए, साँच्चै कलि आयो । महाराजको शिरबाट चरा उडिगयो । हामी टुहुरा भयौँ । महाराज, दया देखाइबक्सिओस् । बापास आइबक्सिओस् । हामीलाई अनाथ नबनाई बक्सिओस् ।”

अझ उता, ट्विटरमा आतङ्क मच्चिएको रहेछ । लोगोमा रहेको चरा एकाएक गायब भयो अरे । ट्विटर ठ्याक्कै गुड झरेको ढुकुर जस्तै भएको थियो ।

न रेकर्डेड भ्वाइस बचेका छन्। न चराको आवाज निकाल्न सक्नेका मुखारबिन्दुबाट चराको आवाज निस्किएको छ। न किताबमा छन् चराबारे कुनै उल्लेख, न पत्रिकामा छापिएका फोटोहरूको अस्थिरपञ्जर सुरक्षित छ। सौराहका नेचर गाइडहरू ‘नेपालका चराहरू’ भन्ने प्रख्यात किताब पुनर्मुद्रणको मागसहित आन्दोलन चर्काइरहेका छन्, पुस्तकका अन्य तीन लेखक रिचर्ड ग्रिमेट, क्यारोल इन्सिकाप, टिम इन्सिकापको पनि बरालको झैँ कुनै अत्तोपत्तो छैन । घाँसेमैदानमा पाइने चरा गुण्ड एवं अण्डा संरक्षणका लागि एउटा समूह लिएर चितवन राष्ट्रिय निकुन्जका वार्डेन टाइगर टप्ससम्म पुगेछन्, फर्किएका छैनन् । उनी निकुन्जमा सल्किएको आगोमा परे कि भन्ने अनुमान छ । भनिदै छ, नारायाणघाट क्षेत्रवरपर आगोबाट उम्किएका घाइते बाघहरू स्वतन्त्र विचरण गरिरहेका छन् ।

कोइलीको सुरिलो बोली, ओरियलको सुन्दरता, रानी चरीको कोयनेस, मयुरको ईरोटिक नृत्य, झ्याउँकिरीको गीतसम्म सब लापता छन्, आजसम्म पनि देखिएका छैनन्।

संग्रालयमा सङ्गृहीत चराको अस्थिरपन्जरहरू छैनन्। कतै कुनै पिँजराहरू पनि रहेनन्। चरा विज्ञहरूले दिनानुदिन आत्महत्या गर्दै गए । बचेकाहरूको पनि मुख सुकेको थियो । ओठतालु प्याकप्याकी भएको थियो । चरा विशेषज्ञहरू आ-आफ्ना मेमोरी गुमाएर बेहोस जस्तो भएका थिए । आफ्ना दाँतका किबोर्ड चलाएर एक शब्द निकाल्न सकिरहेका छैनन्। – चरा लापता हुनुको पछाडिको कुनै पनि छेउटुप्पो उनीहरूले भेट्न सकेका छैनन् ।

चरासँग सम्बन्ध राख्ने कुनै चीज छैन, कुनै थोक छैन। चराहरूसँग सरोकार राख्ने न कुनै लेख बचेका छन्। शिलालेख, ताम्रपत्र कतै पनि । कहीँ पनि ।

पकाइरहेको चराको मासु गायब भयो भन्थे, कोही। सुरक्षित राखेको कुखुरा, हाँसका अण्डाहरू घर-घरदेखि हरायो भनिरहन्थे कोही। पोलट्री फारमदेखि कुखुरा हराए भन्नेहरू पनि थिए । चराको चित्र बनाइरहेको बालकको दाहिने हात नै गायब भयो अरे । चराबारे बोलिरहेकी हजुरआमाको प्राण नै गयो अरे । ‘अब चरा उच्चारण गर्न पनि नहुने अरे । गरेमा बोली सुक्ने, नभए मृत्यु नै हुने अरे ।’ ज्योतिषीहरूको प्रवचन सुरु भएको थियो ।

विष्णुको गरुड, सरस्वतीको हाँस, कामदेवको सुगा, कार्तिकेयको मयूर, लक्ष्मीको उल्लू सब गायब छन् । मन्दिर, देवल, मूर्ति, पोस्टर, फोटो कतै पनि छैनन् । भगवान्हरू समेत वाहनविहीन भएका छन् । कस्तो हास्यास्पद ! कृष्णको शिरबाट मयुर पङ्ख गायब छ । रोमन प्राचीन देवताको पंख बिना कुँजिएका छन् ।

महिना दिन बित्यो !

चराहरू कहीँ कतै कसैले भेटेको देखेको छैन। वन–जङ्गलको पारिस्थितिकीय प्रणाली निरन्तर ह्रासोन्मुख छ । जङ्गलमा बाघहरू भेटिन छाडे । लामखुट्टेहरूको बढोत्तरी भयो ।

सिचाईको पानी कुलो भत्किन थालेका छन् । वन्यजन्तु चोरी सिकारी बढेको छ, बालुवागिट्टी तस्करी बढेको छ । सिमसारका स्रोतहरूको अत्याधिक शोषण सुरु भएको छ, उद्योगहरू तालतलैयामा खुट्टा चोबलेर बदलिदो विश्वपरिवेशअनुसारको व्यापारबारे सोच्दै छन् ।

शिकारी युगमा एक व्यक्तिले प्रतिदिन ३ किलोग्राम प्राकृतिक स्रोत खपत गर्दथ्यो, कृषि युगमा त्यो बढेर प्रतिदिन ११ किलोग्राम पुग्यो, जुन औद्योगिक युगमा आइपुग्दा त्यो प्रतिदिन ४४ किलोग्राम पुगेको थियो । हाल विश्वभर प्रतिव्यक्ति प्रतिदिन प्राकृतिक स्रोत खपतदर १०० क्विन्टल नाघेको छ । यहिस्तर खपत रहने र मानिसको मृत्यु रोकिने हो भने १०० वटा पृथ्वी पनि अपुग हुनेछ ।

तर, सो स्थिति आइदिएन । एउटा सुखद संयोग मान्नुपर्छ, अर्को हप्ता दिनमै विश्वभर हाहाकार मच्चियो । कति मान्छे खान नपाएर मर्न थाले। कति झुन्डिएर मर्न थाले ! कोही रमिते बने । खानेकुराको मोलभाउ बढेको बढ्यै भयो । इन्धनमा कालोबजारी सुरु भयो । स-सना चोरी डकैतीका घटनाहरू सामुन्ने आए। इकोलोजिस्ट, प्राणीशास्त्री, वनस्पतिशास्त्री, भूगर्भशास्त्री, मौसमविज्ञानशास्त्रीहरू नै पारिस्थित्क प्रणाली दोहनमा लागेका छन् । चराको खोजीभन्दा उनीहरूको जीव-मण्डल दोहनमा अग्रसर हुन् थालेका छन् । कुन मिसनमा के काम गर्न हिडेका हुन् भन्ने उनीहरूले सुझबुझ गुमाइसकेका छन् ।

दुई महिना भयो !

चराहरूको कुनै खबर छैन ।

कानुनले बन्देज गरेका ड्रग्सहरू खुलेआम भए । मानिसहरू ब्ल्याकमा ड्रग्स किन्दै, आफूलाई समाप्त पार्दै थिए । आर्यघाटमा गएर बलिरहेको चिहानमाथि जीवन होम्नेहरूको सङ्ख्या दिनानुदिन बढ्दो थियो ।

ब्रेन ड्यामेज भएर खोपडी प्वाटट फुट्नु मामुली बात भइसक्यो । मेन्टल डीसअर्डर र साइक्यात्रिस्टहरू नजरबन्दमा राखिएका छन्, उनीहरूमाथि आतङ्कवादको जरिवाना छ । भन्दै छन्, ‘मेन्टल डीसअर्डर विरुद्ध ओखतीमुलो खोज्नु यिनीहरूको बदमासी हो, बदख्वाइँ हो ।’ उनीहरूलाई राख्न अर्को आस्विट कन्स्ट्रेसन् क्याम्प निर्माण गरिँदै छ अरे !

अह, कसैगरी पनि चराहरूको आवाज सुनिएको छैन ।

‘राइट टु डाई’का सम्झौता पेपरहरू गु पुछ्न प्रयोग भयो । बन्दुक कसैको नियन्त्रणमा रहेँ, गन पाउडरले वातावरण रङ्मङ्गियो । कुनै पनि देशमा जान-आउन रोक छैन । खुसीको कुरा, हेगलको साम्यवाद र विष्णुको सतीयुगले खुट्टा हालेको छ । तर भन्नेहरू भनिरहेका थिए कि, ‘पशुपतिबाट विरुपाक्ष उफ्रिसक्यो, बुद्धको ५,००० वर्ष आइसक्यो, मक्काको कावा सेतो फर्किसक्यो।’

यता, हकिङ्गसको नोबल प्राइजको बदनामी सुरु भयो । ‘बिंगब्यांग गफ थियो’ भनिरहेका छन् । युनानीहरू, फारसीहरू, यहुदीहरू, रोमनीहरू, अफ्रिकालीहरू, मिस्रेलीहरू, भारतीयहरू र बेबलोनीयनहरूको धर्मग्रन्थ, दैविक उत्पत्तिका कथाहरूको मजाक उड्न थाल्यो । ‘सबका सब गफ थियो, राजनीतिक सत्ता र सबन्ध बचाउने खेल थियो’ भनियो । यतिखेर पनि सोही हालत छ, हरकोही आदिकालका देवताहरू जस्ता भएका छन्- रिसाहा, अभद्र ।

चार महिना बित्यो !

चराहरू देखिएका छैनन् ।

ब्रहामन्डीय व्यवस्था, काल-चक्र, दैवी आदितत्त्व, लौकिक सम्बन्धबारे चोक-चोक र गल्ली-गल्लिमा पुनः मुद्रण गरिएको, पुनः सम्पादन गरिएको धर्मग्रन्थ, इतिहास र साहित्यका पुस्तकहरू भेटिन थालेको थियो । गणित विज्ञहरूले मानव चोलाको आयु ७६० साल बताएका थिए तर त्यो पनि एक मजाक बनेको छ । जे रिचार्डले मानव जातिको लोप हुने तिथि सन् २७०० को आँकडामा निकालेका थिए तर त्यो उनको त्रुटि थियो भन्ने प्रमाणित भइसकेको छ । पृथ्वीको अर्बिटमा मौजुद स्याटलाइटहरू लवस्तरो सिद्ध भइसके । प्रजन क्षमतामा भारी गिरावट आउन थाल्यो । वैश्विक आबादीमा आपत्तिको कुहिरो मडारियो।

चराहरू भेटिएका छैनन् ।

एकातिर किरा फट्ट्यान्ग्राको आतङ्क बढे, अर्कोतिर जुका, गँड्यौला सलबलाएका सलबलाए । माकुराको जालोले घर-आँगन ढाक्न थाले । जङ्गली जनावरहरू सहर बस्तीमा छिर्न थाले। दिनहुँ जस्तो कलङ्की, कोटेश्वरमा बाघ/चितुवाको आक्रमणबाट १०/१२ जनाको मृत्यु हुन् थाल्यो । न्यु योर्क, बर्लिनतिर हिंस्रक सर्पहरू निस्किए । भियतनाम, थाइल्यान्डतिर समुन्द्री माछाहरूले मछुवारहरूलाई निल्न थालेको खबर आयो ।

क्रमशः क्रमशः दुनियाँबाट मानवहरू लोप हुन थाले । यो भूलोकमा मानव सभ्यता अझ फूल्न र फैलिन सक्ला जस्तो देखिइरहेको छैन । दुनियाँको जैविकतामा साँच्चै ह्रास आउन थाल्यो । पर्यावरण मानवमैत्री रहन सकेन । सेरोफेरोमा केहीबेर एकनास चकमन्नता देखिन्थ्यो र फेरी केही बेरमा हो-हल्ला सुरु हुन्थ्यो ।

भर्खरै सुनसान छाएको केहिबेर नहुँदै कोकोहोलो सुरु हुन्थ्यो । कुनै पनि कुराको स्थिरता रहेन । अस्थिरताले डेरा जमाउन थाल्यो । भुईँचालो र ज्वालामुखीको कुनै भर रहेन। जति बेलै आइरहेको छ, गइरहेको छ ।

मानिसहरू एक-अर्कासँग बोलिरहेका छैनन् । बस, हेरिरहेका छन्- प्रश्नसूचक आँखाले । संसारभर प्रश्नहरू छन् । र, उत्तर अझैसम्म पनि प्रश्नहरूकै पिँजडाबाट मुक्त हुन् सकिरहेको छैन ।

जलवायू परिवर्तन ‘दादुरा, हैजा’ जस्तो मामुली कुरा भयो, त्यसबारे कोहि सोच्नै चाहदैन । प्राकृतिक स्रोतको समुचित र समन्यायिक वितरण भन्ने सिद्धान्त कुन पिजडाको नाम हो थाहै भएन । जलवायु र ऋतुचक्रमा उभौली–उँधौली लगायत अरू बन्द–व्यापार र मौसमी बसाइँसराइका तालिका निर्धारण गर्ने नेपालीहरू ४६ प्रतिशत संरक्षित क्षेत्रको मनलाग्दी उपयोग र व्यवस्थापनतर्फ हौसिएका छन् । २२ हजार सामुदायिक वन उपभोक्ता समितिहरू, मध्यवर्ती क्षेत्रका बासिन्दाहरू र वनकर्मीहरू जैविक विविधता महासन्धि, जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय महासन्धि, रामसार महासन्धि, क्योटो अभिसन्धि, पेरिस सम्झौता, दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि, ०७२ क संविधानको धारा ५९, उपधारा (४) र (५) लाई कागजको हवाईजहाज बनाइरहेछन्, तर उनीहरूले तिनलाई उडाउन जानेनन् । उनीहरूको उडानसम्बन्धि सबै ज्ञान नाश भइसकेको छ । विश्वको संरक्षित क्षेत्र प्राणाली, सरकारी नीति र विधान सबै एक्सुरे भएका छन्, साइकोलोजिकल्ली डिप्रेस्ड भएका छन् । हरेक देश र संविधान पर्यावरण आन्दोलनका कटु आलोचक भएको उनीहरूको व्यवहारले बताइरहेको छ । सम्पूर्ण राज्य संयन्त्र मानवअधिकारको हवाला दिंदै अनेकन् मूर्ख्याई गरिरहेका छन्, त्यसैको दुष्परिणाममा आत्मसात् गरि जीव मण्डलीय क्षयको बाटोमा हिडिरहेका छन् ।

९ महिना बित्यो।

संसार घोर आश्चर्य छ। हरेक श्वासधारी जीव एवं वनस्पतिका ध्वनि यन्त्रहरू चराहरूको आवाज मात्र सुन्न खोजिरहे। हरेक आआफ्नो दिमागमा रहिबसेका- चराको चित्रहरू याद गर्ने चेष्टा गरिरहे। तर समस्याको कुरा यो छ की, त्यही चित्रहरू पनि घुर्मैलो हुँदै गयो। धमिलो हुँदै गयो। हराउँदै गइरह्यो । क्रमशः..क्रमशः.. मेटिँदै जाँदो भयो ।

मानिसहरूले नयाँ उपाय पनि लगाए। प्वाँख लगाए। पखेटा लगाए। तर प्वाँख जस्तो, पखेटा जस्तो, चरा जस्तो जे-जे, जो-जो बन्न खोज्छ, त्यो गायब भइरह्यो। चरा जस्तो देखिने सब कुरा गायब हुँदै गइरह्यो।

मानिसहरू चराबारे सोच्नसम्म डराउन थाले। उनीहरू सोच्नसँग नै डराउन थाले। के सोचिरहेको छु भन्ने नै थाहा पाउन छोडे । सोचिरहेका हुन् या विस्मृत भइसकेका हुन्, पत्तो हुन् छोड्यो । उता प्राणिजगत पनि आहार-विहारको समस्याले ग्रस्त हुँदै गइरहे । रुखविरुवाहरू क्रमशः..क्रमशः..सुक्दै गइरहे । संसार एक फुङ्ग उडेको मरुभूमि बन्दो भयो । संसारमा अब कति प्राणि बचेका छन्, कुनै तथ्याङ्क छैन । ५/१० प्रतिशत मानव बचेको अड्कल छ । अन्य प्राणी जगतको संख्या यकिन छैन ।

पृथ्वीबाट भाग्ने विकल्प पनि सुरक्षित छैन।

अन्तरिक्षमा आफैँले फैलाएको फोहोरको डङ्गुरका कारण पृथ्वीबाट निक्लनु मुस्किल बन्यो । पृथ्वीको राक्षीसीय व्यहोरासँगै नै बसउठ गर्नुपर्ने बाध्यता रह्यो । बढ्दो तापमानका कारण पृथ्वीको अक्सिजन सेन्टर मानिएको ग्रेट ब्यारियर रिफको कोरल रिफ सुक्दै गइरहेको छ । यसैकारण सास फेर्नै पनि गाह्रो परिरहेको छ ।

समुन्द्रमा किनारमा ठुला माछाहरूको लास थुप्रँदो छ । साना माछाहरू अझ बढी हिंस्रक हुँदा छन् । अमेजन जङ्गलमा आगलागी भइरहेको छ । लाखौँ जङ्गली प्रजातिको कङ्काल मात्रै मानवको हात परिरहेको छ । उत्तरका हिमराशीहरू मकै भुटेको हाडीजस्ता काला-ध्वाँसे भएका छन्, अर्को चेर्नोविल आणविक दुर्घटना निम्ताउन तम्तयार जस्ता देखिन्छन् ।

चराहरू फर्की आएका छैनन् ।

कुनै पनि मानिसमा मानवीय सचेतता देख्न मुस्किल छ । ऊ एकसुरे भएको छ । एक्लै-एक्लै बोल्ने, हाँस्ने, रुने र चिच्याउने गरिरहेको छ । को सद्दे र को पागल छुट्टाउन सकिँदैन । हरेक अनिँदा छन्, भोका छन्, काँतर छन् । समग्रमा मानव अस्तित्वको काउनडाउन सुरु भएको छ । एक..दुई..तीन..र त्यसपछि बुम..। सब सखाप ।

पृथ्वीको इतिहासको सामूहिक विनाश सुरु भयो । मध्यपूर्वी एसिया, दक्षिण पूर्वी एसिया र अफ्रिकामा बाढी आएको आयै भयो, भइरहेछ। अन्टार्टीका प्लेट मुनि दबेर रहेका म्याग्मा सतहमा आएका छन्, जसका कारण हिउँ पग्लिरहेका छ । यसले समुन्द्री सतहमा १० मिटरको बढोत्तरी गराएको छ । ट्वीन टावरको अस्थिर पञ्जर बाढीमा बगिरहेको छ । बसाइसराइले तीव्रता पाएको छ तर बस्न लायक कुनै ठाउँ बचेकै छैन । तटीय इलाकामा मानवलाई बाहिर निकाल्न सकिएको छैन । खरबौँ डलरको खर्च गरेर पनि यस कामलाई पुरा गर्न सकिएको छैन । प्रशान्त महासागरमा तैरिरहेका लासहरूको सङ्ख्या लाखौँमा पुगिसकेको छ ।

एउटा चरो पनि फर्की आइदिए हुने नि ? अहँ, त्यस्तो भएको छैन । यतिका दिन भइसक्यो संसार चरा बेगर भएको । मानवीयता बेगर रहेको । यो पृथ्वीको यो कुन रूप हो ? पृथ्वीको यो कुन स्वरूप हो ? अब तार्किक प्रश्नहरूको पनि कुनै औचित्य रहेन ।

साढे एक वर्ष बित्यो !

हरेकका लागि हरेक पुरोहित, व्याख्याकार भए । हरेको रहस्य ज्ञाता, भविष्यवेता भए । बडो अनौठो छ, हरेक आ-आफ्ना नीति, निर्माण र अदालत निर्माण गरिरहे । र, आफ्ना विरुद्ध फैसला सुनाइरहे।

आफ्नो लागि आफै चिहान खन्नु र चिता तयार पार्नु मामुली बात भइगयो । त्यो चार-छ महिना अघिसम्म हुने गर्थ्यो । हिजोआज त्यसो पनि छैन । कतै- कसो एक दुई मानव देखिन्छन् । बोलाउँछु, बोल्दैनन् । बोलाउँछन्, बोल्दिनँ ।

यता, बिल नेल्शनहरू रकेट ल्याब, स्पेस एक्स कम्पनीहरू आफ्नो स्पेस टुरिजमको व्यापार यस्तो विषम परिस्थितिमा पनि फस्टाउन नसकेकोमा आगबबुला भइरहेका थिए । जेफ बेसोजहरू नयाँ नयाँ प्रविधिका लन्च गर्दा रहे । विनोद चौधरीले चाउचाउ छाडेर विष फ्याक्ट्री सुरु गरे । बडो सुयोग्य काम गरेका छन्, उनको भलो होस् । तर विषको मूल्य अत्यधिक चर्को छ, मसँग त्यत्ति पैसा छैन। यसकारण अहिलेसम्म म जीवित छु ।

दिनहुँ जसो स-साना एस्ट्रोरोइडहरू पृथ्वीमा बज्रन थाले । तिनमा बहुमूल्य मणि-माणिका हुन्छन् अरे । म पनि केही महिनाअघि खोज्न निस्केको थिएँ । धन्नैले आफ्नै शरीरमा आएर बज्रिएन । त्यसदिन देखि २२ तले धरहराको पार्किङ लटमा डेरा डालेर बसेको छु । लड्दैन भनेको धरहरा फेरि लड्यो । यही कुजिएर बसेको छ ।

खैर, नेपालमै पनि एस्ट्रोरोइड प्रशोधन केन्द्रहरू धमाधम खुलेका छन् । स्पेश स्टेसनहरू पनि धमाधम निर्माण हुँदै छन् । पूँजीपतिहरूलाई भ्याई- नभ्याई छ । जसरी हुन्छ पृथ्वीबाट निस्किभाग्ने दाउपेचमा लागेका छन् उनीहरू । तर सार्थकता प्राप्त गर्न सकिरहेका छैनन् ।

कुन-कुन वस्तुको मात्रै जाँच गर्ने ? कुन-कुन ढुङ्गाको मात्रै ल्याब टेस्ट गर्ने ? सिन्थेटिक रगत, आर्टीफिसियल अङ्ग, ट्रान्स ह्युमन र एन्टी म्याटर स्पेस सीप वास्तविकता बन्न सकेको छैन, यसकारण मानव पुस्तान्तरणको कुनै सम्भावना बचेको छैन । तर यसतर्फ पनि महावीर पुनहरू लागि परेका छन् । सूर्यको एउटा किरण मात्रै भए पनि ब्ल्याक होलमा पुर्याउछु भनेर इजरायलका वैज्ञानिकहरू लागिपरेका छन्। दोस्रो दुनियाँको खोजमा आफ्ना छोरा-नातिले सार्थकता पाउने लक्षण देखिँदै छ भनेर चीनले घोषणा गरेको छ । तर हालसम्म सबै हुन सक्छ मात्रै हो, भएका छैनन् ।

नयाँ-नयाँ नाम गरेका आतङ्कवाद सामुन्ने आएका छन् । नवनिर्मित अन्तरिक्ष इन्फास्ट्रकचर लगातार टुट्दा र फुट्दा छन् । साथै, कम्प्युटरको क्षमतामा एकाएक बढोत्तरी भएको छ । उनीहरू एकापासमा गफ गर्दै छन् । उनीहरूको क्षमतामा एकाएक आएको बढोत्तरीले मानव चोलालाई अझ जोखिममा डालेको छ । पृथ्वीको ध्रुवहरू एकापासमा साटफेर हुँदै छन् अरे, यसमा सायद वास्तविकता नहोला । होला पनि के थाहा ? एकाएक कुनै कस्मिक तागतले पृथ्वीमा आगो लगाएर छाड्ने निश्चय लिएको पो छ की ?

तर, चराहरू देखिएका छैन , भेटिएका छैन, कराएका छैनन्, फर्किएका छैनन् ।

देखिने आस पनि छैन, भेटिने अपेक्षा पनि छैन ।

दुई वर्ष बित्न लाग्दै छ..!

अझै पनि मेरो मनमा झस्का पस्किरहन्छ- कतै चराहरू पो देखिने हो कि ? कतै बाट चराहरू आउने हो कि ? कतै चराहरू आवाज पो सुनिने हो कि ?

आज पनि म आकाश हेरिरहेको छु। आज पनि मानिस सुकिसकेका रुखहरूमा नजर दौडाइरहेको छु। चराहरू प्रतीक्षामा आफ्नो भोक-तिर्खालाई खपी जीवित रहने कोसिस गरिरहेको छु।

रोबर्टीक फुलहरू चराहरू नियाल्न कहिलेकसो मुन्टो उठाउने गर्छन् । .. म हासीदिन्छु । बस्, हासीरहन्छु । ..हासीरहन्छु ।.. सबै कुरा सामान्य छ, अब यो विध्वंस पनि मलाई सामान्य लागिरहेको छ ।

हावामा कुनै मिठास छैन। घामका प्रकाशमा कुनै तातोपन छैन । जमिन चिसो हुँदै गइरहेका छन् । प्राणविहिन मानव बस्ती झैँ । रगतबिहिन मानव मुटु झैँ ।..

अल्टरनेटिभ युनीभर्सको खोजीमा निस्किएका अन्तरिक्ष यात्रीहरूको पनि कुनै खबरो-खाबर छैन । पानी भनिएको ठाउँमा सल्फरको घोल भेटिएको र अक्सिजनको सानो मात्रा होला ठानिएकोमा ओस्मियम टेत्रोअक्साइड र रेड फस्फोरस भेटिएको पूर्वसूचना यस अघि नै आइसकेको थियो । छुद्र ग्रहहरूबाट निस्किएका गामा रे’का कारण नपुंसक भइसकेका उनीहरू जीवित नै भए पनि अब मेरो वास्तामा पर्दैनन् ।

एलन मस्कको कुकुर ‘जीओस्’को भुकाइमा खिसीटिउरी छ । कति भुक्छ यो बान् ? सक्दो हुँ त, म यसको रगत निचोरेर खान्थे । मलाई किन-किन लागिरहेछ, उसको भुकाइमा कसोकसो ‘हामी रोबर्टका पनि दिन आए’ भन्ने व्यङ्ग्य खित्काहरू छन् ।

उफ्.. , ब्रम्ह्मान्डको विशालताको सामु मानवता कुनै ठुलो कुरा होइन रहेछ । मानव केही नै होइन रहेछ । नाथे चराहरू हराउँदा संसारबाट मानिस हराए । हाय..हाय..हाय ।

नाथे, साङ्लो धरी भेटिँदैन यहाँ । हाय..हाय..हाय ।..

उपसंहार

अन्ततः संसार विचित्रमय भएको छ। शोक सन्तप्त भएको छ- चराहरूको वियोगमा।

चराहरू कुनै मेमोवर लेखिएको छैन। लेखिएको पनि गायब भएको छ।

म बडो आँट गरेर यो लेख्दै छु ! मलाई लागिरहेछ- केही बेरमा पनि हराउनेछु। र यो लेख पनि।

यो कथा सुरक्षित रहन सके सम्झनु- चराहरू पुनः फर्किएछन्। चराहरू पुनः धर्तीमा आएछन्।

र, चराहरूसँग नै सोध्नु;-

उनीहरू कहाँ गएका थिए ?

किन हराएका थिए ?

कहिले आए ?

किन आए?

र, कहिलेसम्म रहनेछन् ?