
यस होटलको छतमा देखिन्छ सहजना फुलेका, फलेका । छतबाट टिप्न पनि सकिन्छ । वास्तवमा यो सहजनाको बोट होटलको होइन । होटलकै छेउमा अवस्थित घरको मालिकले रोपेको हो यो बोट, जुन अहिले रूख भएर यसका हाँगाहरू होटलको छतसम्म फैलिएका छन् ।
मूलसड़ककै छेउमा अवस्थित त्यो घरको मालिकको ‘राशिन दोकान’ छ । तर चिया पनि बेच्ने गर्छ त्यहाँ । म बेलुकी चिया पिउन त्यहीँ जान्छु । छेवैको होटलमा कोठा लिएर बसे पनि होटलमा चिया पाउँदैन । होटलले पनि त्यहीँबाट चिया ल्याउने हुनाले त्यस दोकानको चिया निक्कै बिक्री हुन्छ। त्यही दोकानको हो सहजनाको रूख । बिजुलीको तारलाई छुने कोशिशमा माथिमाथि उक्लिरहेको सहजनाका हाँगाहरूका हरिया पातहरूलाई थाहा छैन बिजुलीको तारमा खरानी बनाउने आगो बग्दैछ भनेर । हाइटेन्सन लाइनले देख्नेलाई टेन्सन नदिई छोड्दैन । त्यही तारलाई छुने क्रममा अघि बढ़ेको देखिन्छ सहजनाका हाँगाहरू । सहजना फले पनि त्यतापट्टिबाट टिप्न डरसरी छ। बिजुलीको तारलाई छुन खोज्ने हरियो पात भएका ती हाँगाहरूको अहङ्कारलाई रोक्नु हो भने समयमा नै ती हाँगाहरू काट्नुपर्ने हुन्छ ।
चिया पिउँदै हेरिबसेँ सहजनाको अकासिँदा हाँगाहरू । तर आफू बसेको होटलको छतबाट भने सहजै टिप्न सकिन्छ सहजना । त्यहाँ त्यस्तो केही टेन्सन छैन ।
हेर्दाहेर्दै सेता फूलहरू फुल्न थाले सहजनाको बोटमा। बजारमा पनि बिक्रीमा पाउन थालियो फूलहरू । कस्तो स्वाद हुन्छ सहजनाको फूलको ? जिज्ञासा थियो। एक दिन होटलको छतमा गएर सेतै फुलेका फूलहरू हरेँ र टिपेर चपाएँ। त्यति स्वाद पाइनँ। तर मानव शरीरका निम्ति सहजनाको फूल खानु राम्रो हो भनेर होटलको म्यानेजरबाट थाहा पाएँ।
शनिवारको दिन लुगा धोएर सुकाउन होटलको छतमा पुगेर तारमा लुगा झुण्ड्याएँ। देखेँ छतको भुइँसम्म फैलिएका सहजनाका हाँगाहरूमा चिचिला लागेछन्। मसिना सहजना टिपेर चपाएँ। एक प्रकारको स्वाद पाएँ। लुगा सुकाउन होटलमा काम गर्ने केटो पनि छतमा आयो र लुगा तारमा टाँग्न थाल्यो।
“आज त निकै गरम छ नि सर!” त्यसले भन्यो ।
“हो नि। यसपालि गर्मीले सताउने रहेछ। छुट्टीमा भाग्नुपर्ला जस्तो छ।” मैले भनेँ।
“हुन्छ सर ।” त्यति भनी छेवैको प्लास्टिकको बाल्टी बोकेर गयो त्यो।
केही दिनपछि छतमा जाँदा सहजनाहरू लटरम्म फलेका थिए अनि छतबाट सजिलै टिप्न सकिन्थ्यो। हरिया सहजनाहरू टिपुँटिपुँ लाग्ने र लोभलाग्दा देखिन्थे । यतिबेला टिपेर पकाए मीठा लाग्ने रूपमा थिए सहजनाहरू । घर यतै भए त टिपेर पकाउनु हुने थियो, सोचेँ। आज छुट्टीको दिन परेकोले छतमा केही क्षण शारीरिक व्यायाम गरी होटलको कोठामा पुगेर पानी पिएपछि स्नान गर्न बाथरुममा पसेँ । स्नानपछि अघिबाटै सर्फमा भिजाएका लुगाहरु पखालेर छतमा पुनः पुगी सुकाएँ। सहजनाहरूले भुइँ पनि छोएका थिए। यति बिघ्न सहजना फलेका दृश्य मेरो आँखामा प्रथमचोटि परेको थियो। लुगा सुकाएर कोठामा आएर बसेँ। बाहिर गर्मीको प्रकोप बढ्दै थियो ।
बेलुकी गर्मी केही कम भएकोले टोटोमा चढ़ी बजारतिर लागेँ । केही फल, मिठाई आदि किनेर ल्याएँ। बिहान सुकाएको लुगा उठाउन बिर्सिएछु र उठाउन छततिर लागे तर छतभित्र जाने दैलोमा ताला लगाएको पाएँ। होटलमा काम गर्ने केटोलाई खोज्न गएँ । तर कहीँ भेटिनँ । उसलाई खोज्दै जाँदा म्यानेजरको कोठासम्म पुगेँ । म्यानेजर रजिस्टरमा केही लेख्दै थियो।
उसैलाई सोधेँ- “विशाल कहाँ गयो ? माथि छैन त्यो ।”
“त्यसको के कुरा गर्नु ?” म्यानेजर बोल्यो ।
विशाल होटलमा काम गर्ने त्यही केटोको नाम हो जसको ड्यूटी म बसेको तलामा पर्दछ अनि छतको दैलोको चाबी त्यसैकोमा हुन्छ ।
मैले फेरि सोधेँ- “त्यो खोइ ? छतमा ताला लगाएको छ । मैले लुगा सुकाएको छु। उठाउनुपर्छ। छतको दैलो खोल्नुपर्छ ।”
“अरे सर, छतको दैलोको चाबी त्यसकोमा छैन । मालिकले त्यसकोबाट खोसेको छ । चाबी मालिककोमा छ । अब छतमा मालिकबाहेक कोही जानु पाउँदैन ।” म्यानेजरले भन्यो ।
“किन? हामीले लुगा नसुकाउनु ?” मैले सोधेँ ।
“मालिकसित कुरा गर्नुहोस् ।” म्यानेजर बोल्यो ।
” अचानक के भयो यस्तो ?” मैले पुनः सोधेँ ।
जवाफमा म्यानेजरले मेरो कानमा बिस्तारै जे भन्यो त्यो सुनेर म छक्क परेँ। मामाको घोड़ा मेरो हिहिले लालायित बनाएपछि जे हुन्छ त्यही घटित भएर छतको दैलोमा ताला लागेछ ।
छतको दैलोमा ताला लगाउनुको उद्देश्य र घटना यस्तो थियो । सहजनाको बोट होटलको मालिकको होइन । तर हाँगाहरू फैलिएर होटलको छतभरि लटरम्म सहजना फलेको छ । होटलमा काम गर्ने केटो विशालले केही सहजना टिपेर कसैलाई लगिदिएको होटल मालिकले थाहा पाएछन् र विशाललाई भक्कु गाली गरेर छतको सहजना नटिप्ने चेताउनी दिएछन्। यति कुरोमा दुवैमाझ भनावैरी हुँदा विशालले पनि निकै मुख चलाएछ; जुन मालिकलाई अपच्य हुँदा उसले विशाललाई एक लपेटा कसेछन् र विशालले पनि हातको सहजना मालिकको मुखैमा फ्याँकेर काम छोड़ी घरतिर लागेछ । त्यसपछि मालिकले छतको सहजना अरूले टिप्न नसकोस् भनेर ताला लगाएछन् दैलोमा ।
अर्काले रोपेको सहजनाका निम्ति घटित घटना सम्झेर मालिकको प्रलोभन र रोष तीव्र भएको मन र दिमाग छर्लङ्ग भयो । त्यसैले गर्दा अर्थात् मालिकको त्यस्तो प्रवृत्तिले गर्दा नै होटलमा काम गर्नेहरू परिवर्तन भइबस्दा रहेछन् ।
सुकाएको लुगा उठाउनुपर्ने हुनाले म्यानेजरको सल्लाहअनुसार म सोझै मालिकको कोठाअघि पुगेर ढोका ढकढकाएँ ।
मालिक निस्किएर बोले- “के भयो ?”
“छतको दैलो खोल्नु परयो । छतमा मैले बिहान लुगा सुकाएको थिएँ । उठाउनुपर्छ ।” मैले भनेँ।
मालिक चुपचाप भित्र गएर चाबी ल्याएर सीधै छततिर लागे र छतको दैलो खोले र बोले- “अब छतमा लुगा नसुकाउनू ।”
“कहाँ “सुकाउनु?” मैले सोधेँ ।
“तल कोठाभित्रै सुकाउनू ।”
लुगा उठाएर कोठातिर लागेँ। सहजना मालिककलाई खुबै मनपर्दो रहेछ । सहजना भनेपछि हुरुक्कै रहेछन् । त्यसैले पनि ऊ त्यति लालायित बनेका रहेछन् आफ्नो होटलको छतभरि लटरम्म फलेका सहजना देखेर । तर अर्काको सम्पत्तिमाथि यति साह्रो लालयित हुनु कति उचित हुन्छ कुन्नि?
होटल मालिक र विशालमाझ सहजना विषयमा भएको झगड़ा एक कान दुई कान मैदान भएछ। सहजनाको बोटका मालिकले होटलपट्टि गएका र अन्य हाँगाहरू सबै काट्न लगाए । बोटभरि हरिया सहजनाहरू झुण्डिएका थिए। टिप्नुलाई सबै हाँगाहरू काटिए। सहजनाको रूख पात्लियो । होटल मालिकले छतमा ताला लगाएर जोगाएका सहजनाहरू सबै काटिएर सहजनाको बोटको मालिकले टिपे । होटलका मालिक हिस्स परे । माथि माथि हाँगाहरूमा झुण्डिएका सहजनाहरूले तल तल काटिएका हाँगाका ऐयाहरू सुने ।
कालान्तरमा माथिमाथि झुण्डिएका भाग्यले बाँचेका सहजनाहरू मोटिनेछन्। हरिया सहजनाहरू छिप्पिएर फुस्रा हुँदै फुटेर बीजहरू यताउता छरिनेछन् । छाँटिएका हाँगाहरूबाट फेरि हरिया पालुवाहरू पलाउनेछन्। फेरि झ्याम्मिएर हरियै देखिनेछ बोट । कालान्तरमा सेतै फुल्नेछन् फेरि । फूलहरूबाट हरिया सहजनाहरू निस्किनेछन् फेरि । तुर्लुङ झुण्डिरहेछन् सहजना। टिपुँटिपुँ लाग्ने हुँदा फेरि आँखाहरू लोभिनेछन् । सहजनाको रूखको मालिकलाई थाहा हुनेछ फेरि होटलको मालिक र नोकरमाझ भएको झगड़ा। त्यसपछि छाँटिनेछन् हाँगाहरू फेरि । निमिट्यान्नै हुनेछन सहजनाहरू। माथिमाथि भाग्यले झुण्डिएका केही सहजनाहरू बाँच्नेछन् । ती सहजनाले प्राकृतिक मृत्यु अँगाल्नेछन् । उछिट्टिएर बीजहरू त्यसका अर्काको आँगनतिर पनि पुग्नेछन् । त्यहाँ नयाँ बोट उम्रिनेछ। फैलिएर त्यो रूख बन्नेछ कालान्तरमा हाँगाहरू फिँजिएर अनि एउटा घरदेखि अर्को घरको आँगन र छतमा पुग्नेछन् । घरकाहरूले सहजनाहरू टिप्नेछन् । मालिक रिसाउनेछ। बाझाबाझ हुनेछ । सहजनाका हाँगाहरू काटिनेछन्। दुख्नेछ सहजनाको बोटलाई फेरि । हरियो पालुवा लाग्नेछ फेरि । सहजनाले जुनी फेर्नेछ। जुनीजुनीभर मान्छेहरू भने सहजनाका लागि बाझ्नेछन् । आफैँ उम्रिएर फलेको सहजनाका निम्ति मेरो र तेरो खोप्ने लोभ भने मान्छेको दिमागमा सहजनाजस्तै हरियो बन्नेछ सधैँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

