मानिस आखिर एक्लै त हो नि कृष्ण ! उस्ले जतिसुकै फुर्ती किन नगरोस् ? ऊ जतिसुकै कुर्लियोस्, जतिसुकै उर्लियोस् । ऊ खुसीमा संसारकै होला । उस्ले सुखमा सारा जगत् मेरो हो भन्ला। ऊ हाँसोमा सबैमा बाँडिएला। तर ! दुखमा, आँसुमा, भोकमा, शोकमा र शून्यमा त सिर्फ एक्लो त छ नि । निरीह छ ऊ आफैँदेखि अस्त बेलाको बुढो घामजस्तै । त्यही बुढो घामजस्तै निरीहता हो मान्छेको सत्य भन्नु पनि । तर कति मजा छ एक्लोमा ! जस्तो यो राराको निर्मल काया !
आफैँमा म एक भिड त हुँ कृष्ण र आफैँमा म एक शान्त रारा पनि हुँ । आज मैले आफैँसँग कुरा गरेँ । मैले रारासँग आफ्ना गुनासाहरू पोखेँ । एक्लो हुनु नितान्त आफैँ हुनु पो रहेछ है कृष्ण ! हेर त कति हजार वर्षदेखि यो रारा एक्लै एक्लै पहाडको सिरानी हालेर अनि पहाड ओढेर बाँचिरहेको छ ! हेर त कति खुसी छ यो आफैँमा !
मेरो उज्यालोको इन्द्रेणी म आफैँभित्र पो रहेछ । आनन्द त आफूले आफैँभित्र खोज्नुमै रहेछ । एक्लै एक्लै आफैँ नदी भएर बहनुमा कति मजा ! आफ्नै भँगालो, आफ्नै बहाव । आफ्नै प्रशान्ति । आफ्नै उज्यालो । आफ्नै खुसी । आफ्नै शीतलता । आफ्नै लहर । आफ्नै किनारा । आफ्नै भूमरी । आफ्नै सुसाइ । आफ्नै बगाइ । आफ्नै उत्फुल्लता । एक्लै एक्लै एउटा शान्त रारा भएर बाँच्न मन लाग्यो मलाई त !
यो एक्लोमा अर्कै मजा, अर्कै शान्ति ,अर्कै खोजी, अर्कै ज्योति, अर्कै लहर, अर्कै प्रमोदिता, अर्कै आनन्द ! यतिबेला मेरो श्रीमान् बैंककको कुनै मसाज सेन्टरमा मसाज गर्दै होलान् । म भने राराको मुहारमा आफैँलाई खोजिरहेकी छु । यो प्रशान्त तलाउको बिम्बले जिन्दगीमा कस्तो आह्लाद उन्माद भरिदियो…..
१३ वर्षअगाडि क्लासमा उभिएर जुन बुलन्द लेक्चर दिन्थिन् म्यामले, आज पनि त्यही दिन दोहोरिए जस्तो लाग्यो ।
साँझ पर्दैथ्यो । किनारमा उभिएका धुपीका बोटहरू दिउँसोको हावाले थाकेर झुके जस्तो । घाम घुर्मैलो हुँदै पर्वतको रुखछेउबाट लुसुक्क डुब्यो । चिसो हावा सिरसिर बहँदै गालाको देब्रे भागबाट भागिरह्यो । हामीलाई छोडेर हेलिकप्टर अघि नै नेपालगन्ज ल्यान्ड गरिसकेको खबरले म्याममा एक प्रकारको तनाव हटिसकेको थियो । मोबाइलको टावरले त्यति काम गरेको छैन । एनटिसीको टावर आउने र बन्द हुने बारम्बार भइरह्यो । होटेलबाट फोन आइसकेको थियो कि साँझसम्म किनारबाट फर्किसक्नु भनेर ।
जिन्दगीमा पहिलोचोटि हेलिकप्टरको यात्रा गरेको, कस्तो रोमाञ्चक भएको म । हरियो पर्वत आफैँ आफैँ बसेर ध्यान गरे जस्तो । एकैछिनअघि घामको प्रकाशले देखेका पहाडहरू एकाएक बेहुलीको घुम्टो ओढेर मस्त निदाए जस्तो देखिन थाल्यो।
“कृष्ण !”
“हजुर म्याम ।”
“फर्किनी होइन त अब ?”
“झम्के साँझ पर्यो, होटेल बन्द होला । फर्किऔँ म्याम !”
“तिमी थाक्यौ र कृष्ण ?”
“छैन नि म्याम ।”
“यस्तो लक्काजवानीले भरिएको हिरो मान्छे पो त तिमी ।”
“म कहिले थाक्दिनँ म्याम, चिन्ता नगर्नुस् !”
“कृष्ण, एउटा कुरा सोधूँ ?”
“सोध्नु न म्याम, प्लिज !”
“तिम्ले यस्तो काम गर्न थालेको कति समय भयो ?”
“धेरै त भा छैन म्याम, लगभग एक वर्ष ।”
“अहिलेसम्म कति जनासँग सम्बन्ध गाँस्यौ ? सम्बन्ध गाँसेका महिलाहरूले तिमीलाई पटक पटक आह्वान गर्छन् कि पछि बिर्सन्छन् ?”
“अहिलेसम्म करिब सय जनाभन्दा बढी नै भए होलान् म्याम । तर जति जनासँग सम्बन्धमा रहे तिनैसँग धेरै पटक दोहोरिएको छ । बोलाउनु हुन्छ । कहिलेकाहीँ त दिनभर नै राख्नु हुन्छ । मेरो दिनभरको रेट दिनुहुन्छ ।”
“कति लिन्छौ कृष्ण दिनभर बसेको चैँ ?”
“त्यस्तो खासै यति रेट भन्ने त छैन म्याम, उहाँहरूको आफ्नो आर्थिक अवस्था हेरेर दिनुहुन्छ ।”
“यो तिम्रो जस्तै पेसा गर्ने अरू थुप्रै होलान् है ?”
“म जस्तै युवा बेरोजगारी धेरै छन् र पनि सबैलाई भ्याइनभ्याई छ । पछिल्लो समय शिक्षित पुरुषहरू धेरै बेरोजगार भएका छन् । बरु शिक्षित स्त्रीहरूले सजिलोसँग जागिर पाउँछन् । पुरुषले पाउँदैनन् । त्यस कारण पनि पुरुषको बाध्यता छ यो पेसा अपनाउन ?”
“तिम्ले यो पेसा किन अपनायौ कृष्ण ?”
“मेरो गरिबी हो म्याम ।”
“सबै गरिब युवाले के यस्तै पेसा अप्नाउँछन् ?”
“धनी सहरका गरिब युवाले अप्नाउछन् ?”
कुरा गर्दागर्दै हामी होटेल पुग्यौँ ।
“रारा इको रिसोर्ट” । राराको सबैभन्दा महँगो र सुविधासम्पन्न होटेल । यहाँ नेपालीभन्दा पनि विदेशी बस्दा रहेछन् । हाइ अल्टिच्युडमा अक्सिजन कम हुने भएकाले पनि होला, शरीर अलि थाकेको जस्तो अनुभूति भएको थियो मलाई । म्याम त असाध्य फुर्तिलो मान्छे । मैले देखेदेखि उहाँको मुहारमा त्यही स्फूर्ति त्यही ज्योति देखेँ । सरकारी स्कुलमा साइन्स टिचरको जागिर छोडेर आफ्नै आइएनजिओ चलाउने कुरा चानचुने थिएन। आइएनजिओ भन्नासाथ- दातृ निकाय, फन्ड कलेक्सन, कुशल व्यवस्थापन, बजेट व्यवस्थापन, तालिम, सेमिनार, गोष्ठी, प्रतिवेदन, प्रगति विवरण, समुदाय लक्षित वर्ग र कार्य उपलब्धिका कुराहरू आउँछन् । यी सबै कुरामा म्यामले कुशलता हासिल गरिसकेको जस्तो लाग्यो उहाँको कुरा गराइले ।
रिसोर्टमा उहाँलाई भेट्न भनेर केही स्थानीय मानिसहरू कुरिरहेका रहेछन् ।
उहाँको भाषण र मानिसलाई बुझाउन सक्ने खुबीलाई मान्नै पर्छ । रारामा वातावरणसम्बन्धी एउटा प्रोजेक्ट सञ्चालित रहेछ म्यामको । रारामा चाउचाउको खोल, प्लास्टिक यत्रतत्र फ्याँकिएका, खैनीको खोस्टो, विदेशी रक्सीका खाली बोतल र बाह्रसिङ्गे बियरको सिसी देख्दा आधुनिकताले पवित्र धर्तीलाई नराम्ररी आक्रमण गरेको देखियो । म्यामले थालेको अभियान पनि राम्रो लाग्यो । यहाँका नेता र व्यापारीको सुर्खेत, नेपालगन्ज र काठमान्डुमा घर हुँदा रहेछन् । जनतालाई भने नुनको जोहो गर्न सधैँ सास्ती ।
जनतालाई नुनको व्यवस्थापन गर्न नसक्ने नेताहरू कर्णालीको दुखको बारेमा राजधानीको तारे होटेलमा मिटिङ गर्छन् ।
म्यामको लेक्चर सकियो । भेटघाटको कार्यक्रमपछि सबैले मलाई देखाउँदै सोधपुछ गरे, “उहाँ को ?”
म्यामले भन्नुभो, “उहाँ मेरो कर्मचारी ।”
दोस्रो तलाको एउटा लक्जरियस डिलक्स रुम हाम्रो लागि पहिल्यै बुक भएको रहेछ । होटेलका सबै कर्मचारीहरूले म्यामलाई असाध्य सम्मान गर्दा रहेछन् । रुम पुगेपछि एउटा अर्कै संसारमा पुगेजस्तो अनुभूति भो मलाई । सफा सुगन्धित अत्तरको कोमल वासना मगमगाइरहेको थियो सारा बिछ्यौनाका कुना कुनाबाट । म्याम सुस्ताउँदै सोफामा बस्नु भो र मलाई एकोहोरो हेर्दै भित्रैबाट मुस्कुराए जस्तो अनुभूति भो, यस्तो लाग्यो कि अन्नपूर्णले फेवामा डुबुल्की मारे जस्तै । आँखाका दुई पलकबाट केही अव्यक्त कुरा बोल्न खोजे जस्तो र फेरि केही भन्न नसके जस्तो ।
“कृष्ण ! मानिस बाहिर जे देखिन्छन् त्यस्तै भित्र हुन्नन्। मानिसको दुइटा चरित्र हुन्छ । एउटा सामाजिक चरित्र र अर्को उसको निजी नितान्त वैयक्तिक चरित्र । जो अत्यन्तै गोप्य हुन्छ र ऊ त्यसलाई जीवनभर छोप्छ । जो मृत्युपर्यन्त पनि कसैलाई थाहा हुन्न ।
यो दुनियाँ सब ढोँगी हो । मानिस जति छली, बेइमानी, पापी र निर्जीव त ढुङ्गा पनि हुँदैन कृष्ण ! ऊ त यस्तो जनावर हो जो एउटाको अँगालोमा बेरिँदा अर्कोलाई सम्झिएर रुन्छ । हेर त ! म तिमीलाई भाडामा लिएर रारा आएकी छु । तिमीसँग मेरो न प्रेम थियो न चिनजान । केवल मेरो यौनको भोक मेटाउन मैले तिमीलाई केही दिनको लागि किनेको त हो । तिम्रो बलियो शरीरलाई, तिम्रो तागतलाई किनेको हो मैले ताकी बर्सौँदेखि चिस्सिएको मेरो मनलाई तिम्रो तातोले पगालोस् ।
म आफ्नो लोग्नेप्रति बेमानी छु । मेरो लोग्ने मप्रति बेमानी छ । एउटा प्रेमी हुँदाहुँदै अर्को एक दुई प्रेमीसँग च्याट चक्करमा हुन्छिन् आजको प्रेमी र एउटी प्रेमिकाले भरपुर माया दिँदादिँदै पनि अर्को प्रेमिकाको ट्विटर सञ्जालमा लोभिन्छ एउटा युवक । यहाँ इमानदार के हो ? धर्म के हो ? पाप के हो ? छल के हो ? कसैलाई मतलब छैन । सब धोकाधरिमा छन् । जसले जसलाई जति छल्यो ऊ उति नै सफल । जो बेमानी छ उस्कै पूजा गर्छ समाज । तर सत्य मर्दैन । बेमानीलाई ईश्वरले कुनै न कुनै रूपबाट बदला लिइरहन्छ बाचुन्जेल । अचम्म चाहिँ यो छ कि सजायको ख्याल कसले गर्छ र कृष्ण ? मान्छे भोलि देख्दैन । आज देख्छ । र ऊ आज मात्र रमाउन चाहन्छ । भोलि छ भनेर बुझ्नेहरू बेमान हुन्नन् ।
मानिसले भोलि छ भनेर बुझिदिने हो भने तिम्रो पेसा सङ्कटमा पर्छ । बुद्धले भोलि देखेका थिए र सारा जगतमा ज्योति बाले । बल्न चाहने बल्छन् निभ्न चाहने तिनकै बुद्धिले निभ्छन् होइन त कृष्ण ?”
ढोका ढकढक गर्यो …. वेटरले एउटा अर्को साँचो म्यामको हातमा थमाएर गयो । उहाँले त्यो साँचो मलाई देखाउँदै भन्नुभो, “देख्यौ कृष्ण ? यो साँचो तिम्रो लागि बुक भएको अर्को रुमको हो । यहाँ देखाउनु छ होटेल व्यवस्थापनलाई कि मैले मेरो पुरुष कर्मचारीका लागि अलग कोठा बुक गरेको छु भनेर तर हामीसँगै सुत्छौँ ।
ल अब म फ्रेस हुन्छु । तिमी दुई घण्टा त्यही तिम्रो लागि बुक गरेको रुममा बस । तिम्रो लागि त्यही रुममा खाना आउँछ । वेटरले तिमीलाई त्यही रुममा देख्छ । तिमी त्यही रुमबाट अरू केही खाजाहरू मगाऊ तिमीलाई जे मन लाग्छ । त्यही रुममा तिमी ९ बजेसम्म बस । जब होटेलमा सबै जना निदाउँछन् अनि हामी उठौँला ।
यो दुनियाँ अजिब छ कृष्ण । यहाँ देखाउनु छ सिर्फ । यो जगत् नाट्यशाला हो । हामीले अभिनय गर्न जान्नुपर्छ सिर्फ । अभिनय गर्न जानेनौँ भने तिमी फेल भयौ । तिमी असफल भयौ । अभिनय गर्न नजान्नेको लागि बनेको होइन यो जगत् ।
एउटा सामान्य केमेस्ट्री टिचरबाट आज म कसरी करोडौँको मालिक भएँ ? शायद अभिनय नगरेको भए म जहाँको त्यहीँ हुन्थेँ । बर्खाले पनि धार बदल्छ, हावाले पनि वेग फेर्छ, पातहरू पनि हावा अनुसार हल्लिन्छन्, खाने कुरा दियौ भने टोक्न आएको कुकुरले पनि तिमीमा दया देखाउँछ । हेर, आज हामी चढेर आएको हेलिकप्टर मेरै थियो । यो होटेल पनि मेरै हो । गोदावरीको त्यत्रो दस रोपनी जग्गामा फैलिएको आइएनजिओको आलिसान अफिस मेरै हो । दरबार मार्गको नयाँ डिपार्टमेन्ट स्टोर बसेको बिल्डिङ मेरै हो । मसँग अन्तर्राष्ट्रिय व्यक्तित्वहरू जोडिएका छन् । आठ दस जना सांसद् किन्न बेच्न सक्छु म । कसलाई मन्त्री बनाउने भनेर मसँग परामर्श लिन्छ राज्यले । राज्य भनेको देश हो भन्ने भ्रममा छौँ हामी तर त्यो होइन कृष्ण ! राज्य भनेको बोरामा पैसा बोकेर हिँड्ने व्यापारी हुन् जसले कानुन मात्रै होइन तिनले चाहे भने यो देशको संविधान नै बदल्न सक्छन् ।
मान्छे लोभी हुन्छ । केटा फेर्ने महिला त होइन म तर यति चिसो पनि नहुनु कि आफ्नो तातो हराएर अर्काको सहायता लिन परोस् । यहाँ यौनको भोक र पैसाको सोख मेट्न कयौँ मानिस हात धोएर लाग्छन् कृष्ण । न म स्त्रीलाई दोष दिन्छु न पुरुषलाई नै । तर एउटासँग सम्बन्धमा रहँदारहँदै अर्को दोस्रो, तेस्रो पुरुष साथी बनाउने र आफ्नो स्वार्थ – चाहे आर्थिक होस्, चाहे सामाजिक होस्, चाहे शारीरिक होस्, पूरा भएपछि दोस्रो, तेस्रो पुरुष खोज्ने म त्यस्तो नीच र पापी स्त्री पनि होइन । म आजसम्म कुनै दोस्रो पुरुषसँग जोडिएको पनि छैन । तर मेरो श्रीमानको म हुँदाहुँदै अरू स्त्रीहरूसँग पनि अफेयर देखेँ, यसले मलाई एन्जाटिकको रोगी बनायो ।
जति सोच्यो त्यति सोचाइको लहर बग्न थाल्यो दिमागमा । म पागल हुन्छु कि भन्ने डर लाग्न थाल्यो । जिन्दगीमा कसैमाथि केही अन्याय नगर्दा पनि ममाथि समयले अन्याय गरिरह्यो । मैले टिचिङ पेसाबाट राजीनामा दिएँ । केही वर्ष नर्वे बसेँ । काम गरेर पैसा कमाएँ । अनि थुप्रै विदेशी साथीहरूसँग नेपाललाई वातावरण र बन संरक्षणमा सहयोग गरौँ भनेर हार्दिक आव्हान गरेँ । आफ्नो अस्मिता कहिले लिलाम गरिनँ ।
खराब कामबाट सधैँ डराएँ । नेपाल आए काम सुरु गरेँ । सबैले पत्याए तर मेरो श्रीमानले कहिले सपोर्ट गर्नुभएन। उहाँको चरित्र बुझेँ । अनि आफैँलाई सम्झाएँ । मन बुझाएँ । तिमीसँग त नचिनेको अभिनय मात्रै गरेको हो मैले, जुन दिन तिम्रो जिगोलोको विज्ञापन देखेको थिएँ, जुन दिन तिम्ले त्यसमा आफ्नो रियल प्रोफाइल पिक्चर हटाएर रातो भालेको राख्यौ, मैले लभ रियाक्ट गरेको थिएँ । फेसबुकमा हतपती कसैलाई पनि लभ रियाक्ट गरिन्न । जो आफ्नो हो, जो मन पर्छ उसको स्टाटस र फोटोमा मात्र गरिन्छ ।
चोर्नु, कसैलाई छल्नु ,कसैलाई धोकामा राख्नुभन्दा त कमसेकम तिमी एकल थियौ, यो पेसा अपनायौ । कर्म गरेर खायौ, त्यो राम्रो हो । यो पनि मानव सेवा हो । तिम्रो पेसालाई म सम्मान गर्छु कृष्ण । कचौरा थाप्ने सबल नेताभन्दा मनोरञ्जन दिएर धन आर्जन गर्ने तिमी गरिब नै भए पनि तिमीलाई मेरो सलाम……….
म्यामको आँखाभरि आँसु थियो पुछ्न पनि सकिनँ । निर्बाध अश्रुधारा बगिरहेको म्यामको आँखालाई छोडेर म निस्किएँ ।
साँचो लिएर मेरो लागि बुक गरेको रुमतिर लागेँ । साँझको चिसो बढिसकेको थियो । खच्चडहरू अझैसम्म लालटिन बालेर उकालो हिँड्दै गरेको खलबल गरेको प्रतिध्वनि आइरहेको थियो । खोइ, कस्तो कस्तो एकतमासको रुन्झुन रात रोइरहेको जस्तो लाग्यो ।
वेटरले रेड लेबल ह्विस्कीको बोतल, लोकल चिकेको कबाफ लिएर ढोका खोल्यो । मैले नुवाइसकेको थिएँ । जता गए पनि प्रायः सबैले मलाई रेड लेबलले स्वागत गर्छन् । हुन त आजकल नपिउने पो को नै छ र ? पिएपछि अर्कै मजा हुन्छ भन्छन् । यहाँ पनि यस्तै त भयो । तर म एक्लै कसरी पिऊँ ? म्यामसँग उहाँको कुरा सुन्दै पिउँदाको मजा अर्कै हुन्थ्यो…..
कल्पनामा हराएँ । खाना ल्याइसकेको थियो । दुई पेग हुस्कीले रम रम लाग्यो ।
मोबाइलमा मेसेज आयो- “कृष्ण, माम खायौ ?”
मैले पनि प्रतिउत्तर लेखेँ, “खाको छैन म्याम । मैले हजुरलाई कति मिस गरिराछु ।”
एकछिनसम्म मेसेजको रिप्लाई आएन ।
कुरिरहेँ । खाना चिसो भैसकेको थियो । रातिको ९ बजेसम्म त्यही रुममा बस्नु भन्नुभएको थियो । अब ९ बज्नलाई ५ मिनेट मात्रै बाँकी थियो । आखिर म्यामको आफ्नै होटेल त थियो नि यो । उहाँले आफ्ना कर्मचारीको किन डर मान्नुपर्थ्यो र ? चिकेन लेग एक पिस खाएँ । मोबाइलमा म्यासेजको घण्टी टुङ्ग बज्यो, “ढोकामा साँचो लगाएर चुपचापले मेरो रुममा आऊ ।”
मेसेज देख्नासाथ मन फुरुङ्ग भो । ह्विस्कीले छोड्यो एकाएक । बिस्तारै साँचो मारेँ । जुत्ता लगाउँदा आवाज आउँछ भनेर खाली खुट्टाले म्यामको रुमको ढोका धकेले । भित्रबाट चुकुल हालिएको थियो । बाहिर लबीमा कोही आउलान् कि भन्ने डर लाग्यो । ढोका ढकढक गर्न पनि भएन । डर लाग्यो । मेरो लागि नभए पनि म्यामको इज्जतको लागि मैले होसियार हुनु जरुरी थियो । बाहिर लबी छेउमा उभिएर मेसेज लेखे, “म्याम, म आएँ । ढोका खोल्नु ।”
ढोका बिस्तारै उग्रियो ।
म्याम नाइट गाउनमा हुनुहुँदो रहेछ, पारदर्शी युरोपेली भेषमा । अब म म्यामको रुमभित्र भएँ । म्याम आफैँले चुकुल हाल्नु भो र बिस्तारै सुस्त गतिले ओछ्यानमा बस्नु भो । ठुलो थ्यो पलङ । यो म्यामको आफ्नो प्राइभेट रुम थियो । म्याम नहुँदा यो रुम बन्द हुँदो रहेछ । म्यामको आँखा पुरै लठ्ठिएका थिए । ब्लु लेबलको बोतल देखे टेबुलमा । फ्रिजबाट आइसका केही टुक्राहरू निकाल्नु भो र दुइटा ग्लासमा राख्दै भन्नुभो – “कृष्ण, म हाम्रो लागि पेग तयार गर्छु है !”
म यतिकै उभिरहेको थिएँ । म्यामले समातेर बेडमा राख्नुभो । युरोपेली अत्तरको वासना र ब्लु लेबलको सुगन्धले कोठामा एक प्रकारको रौनकता थपिरहेको थियो ।
होटेल चकमन्न भो । म्यामसँगको यो सन्निकटताले गाह्रो पारिरहेको थियो । मलाई शिक्षा दान दिने मेरी गुरुआमा यिनी । कतिपय सम्बन्धहरूको बाटो यति दुर्लङ्घ्य हुन्छ कि जसलाई नाघेर जान मनमस्तिष्क र शरीर आफैँले पाप बोध गर्छ, र असमर्थ हुन्छ मान्छे ।
म्यामले अघि नै दुई तीन पेग पिइसक्नु भएको रहेछ । म्याम छुन खोज्नु हुन्छ, म अलिक पर सर्छु । उहाँ माद र मदहोसका कुरा गर्नुहुन्छ, म उहाँको अतीतका अर्ति उपदेशका कुराहरू गर्छु । म्याम वैशाखको कुरा गर्नुहुन्छ, म शिशिरको कुरा गर्छु । म्याम वात्सायनका कुरा गर्नुहुन्छ म मृत्युका कुरा गर्छु । म छुन सक्तिनँ म्यामलाई । यो पाप हो । म कसरी छोऊँ एक तुलसी बोटलाई ? म कसरी भोगूँ सम्मानको भगवतीलाई ? मनमा एक प्रकारको त्रासद् बढ्न थाल्यो ।
मलाई आफ्नै मनले रोक्यो । मलाई मेरै आँखाले हुन्न भन्यो । मलाई मेरै मुटुले नाइँ भनिसक्यो । म्याम मात्तेको कुरा गर्नुहुन्छ । म्याम नसामा छाडा बोल्नुहुन्छ । म सम्हाल्न खोज्छु । म्यामले आँखा जुधाउनु भो । म्यामले हातले इशारा गर्नुभो । त्यस्ता नखरा इशारा मैले धेरै भोगेको हो तर यिनी त मेरी म्याम हुन्, आमासरह । मनले मानिरहेको छैन ।
“कृष्ण, म चिसो छु ! मलाई न्यानो देऊ । मभित्र एउटा तृष्णाको नदी बगिरहेको छ, पिऊ जति पिउन सक्छौ ।”
म्यामका हातहरू मेरो शरीरमा बिजुली जस्तै दौडिन थाले । मलाई गाह्रो भो । मलाई असहज भो । मेरो अगाडि कुनै भगवती साक्ष्यता प्रकट भएर आफ्नै रक्तबीज हलाहल पिउन ललकारी गरिरहेछन् जस्तो लाग्न थाल्यो । म्याम मदहोस छिन् । उनी ममा पोखिन चाहन्छिन् ।
मेरो सामुन्ने आफैँलाई छताछुल्ल बनाएर समर्पण गरेकी आदरणीय गुरुआमाको लाज छोपिदिएँ । असरल्ल भइदिइन् उनी । मलाई अप्ठ्यारो भो । लाज लाग्यो । काँप्न थालेँ । लुलो भएँ । कमजोर नाजुक भएँ । म शिथिल सैलुङ भएँ । म पानीझैँ कोमल भएँ । आफैँलाई सम्हाल्न गाह्रो भो अनि म्यामलाई पलङमा सुताएर बाथरुममा गएर भक्कानिएर रोएँ केहीबेर।
आँसुलाई पानीमा पखालेँ र बाहिर निस्किएँ । रातको १२ बजिसकेको थियो । चिसोले शीत झार्न सुरु गरिसकेको थियो । अर्धनग्न अवस्थामा रहेकी म्यामको सिरकले लाज ढाकिदिएर म आफ्नै रुममा गएर सुतेँ ।
भुसुक्कै निदाएछु ।
भोलिपल्ट बिहान ब्युँझिदा म वस्त्रहीन थिएँ । म्याम मेरो ओछ्यानमा मसँगै निदाइरहेकी थिइन् । घामको नयाँ किरण खटप्वालबाट चियाइरहेको थियो । जिउ काम्यो । चिसो अनुभूति भो । एकछिन एकान्त भएर सोचेँ – “आखिर पुरुष पनि त बलात्कृत हुँदो रहेछ नि है ?”
कोठामा बस्न मन लागेन । चिच्याउँदै दौडँदै कतै भागूँ जस्तो लाग्यो । अपराधी जस्तो लाग्यो आफैँलाई । हीनताबोधको बोझले छातीमा थिचे जस्तो लाग्यो । बाहिर निस्किएँ । बिहानको वाकिङ गर्दै रारा किनारमा पुगेर रारासँग माफी मागेँ, रोएँ रारासँग । पखालिन यिनले मेरो अबोधतालाई । मेरो अन्जानलाई । मबाट नभएको एउटा भुललाई।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।