चुलोमा खरानी पनि छैन । दाउरा जोरिन नपाएको चार पाँच दिन भइसकेको छ । चामल राख्ने भाडोको पिँधमा केही रहलपहल भुष होलान् । तरकारी, दाल, आलु, प्याँज मिनपचासको बिदामा छन् । अलिकति तेल, केही चिनी  र आधा बट्टा नुनले मात्र भान्सा छोड्न सकेका छैनन् । पुष सिरक ओढेर हिँडिरहेको समयमा भोका तीन नातिनातिनाको हरिबिजोग हेरेर बस्नु परेको छ – पैँतालिसवटा  भित्ते पात्रो फेरिसकेकी हजुराआमाले  । आँसु पनि कति पो आओस् बिचरा उजेलीको आँखाबाट;  हिमपातले हिमनदी जमेझैँ आँखैमा ढिक्का परेर बसेको छ । उजेली नाम भए पनि उनले उज्यालो कहिले देखेकी छैनन् । उनको उज्यालोसँग झगडा परेको जस्तो; कुन्नी उज्यालोले उनलाई कहिले मन पराएन । एउटा लामो अँध्यारो जीवनको यात्रा पार गरिसकेकी उजेलीको जीवनको पुनः एकपटक ढिब्रीमा मट्टितेल सक्किएको छ ।

`आमा ममी कोही ? बुबु खान्तु ।´, तोतेबोलीमा ढाई वर्षकी नातिनीले भन्छे । उजेलीसँग त्यो अबोध बालिकालाई दिने कुनै उत्तर छैन । `तेरी आमा पापा लिन गाकी छे । आइहाल्छे । अनि बुबु खाने ल ।´ उजेलीले फकाउन जवाफ दिन्छिन् । दुई नाति वर्ष पाँच र सातका हुन् । उनीहरू पनि भोकले छटपट्याउँंदै उजेलीको लुङ्गीमा झुन्डिएर भन्छन्, `आमा भोक लाग्यो ।´

उजेली यति लाचार भएकी छिन् कि नातिनातिनाको समस्यालाई समाधान गर्नका लागि घरमा एक गेडो अन्न छैन । उजेलीले झिँजो  लिएर आउँछिन् र चिनी पानी पकाउन थाल्छिन्। पानी उम्लिएपछि चिनी पानी नातिनातिनालाई खुवाएर भोकलाई मत्थर पार्ने कोसिस गर्छिन् । दुई चार दिन त उजेलीले पैँचो मागेर नातिनातिनाको भोक मेटाइन् । सधैं मागेर पाइन्न भन्ने कुरा उजेलीलाई ज्ञात भएकाले अब माग्न जाने ठाउँ सकिएको थियो ।

उजेलीको जिन्दगीमा धेरै अँध्यारो आएका छन् । अँध्यारो भनेको उजेलीका लागि दैनिक उदाउने घाम जस्तै हो; जो नचाहेरै पनि उदाउन छोड्दैन । अरुका लागि घाम उज्यालो बोकेर आउँछ भने उजेलीका लागि घामले सधै अँध्यारो बोकेर आउँछ । त्यसैले उजेलीको जीवनमा सधैं कालो  घाम लाग्यो। । उजेलीका लागि प्रत्येक नयाँ घामले दुखकष्टको किरण  बोकेर आउँछ ।

उजेलीको लागि आराम हराम बनेर आउँथ्यो । जब जब उनी आराम गर्थिन् उनको जीवन बिराम बनेर आउँथ्यो ।  चौतारीको चिसो हावाले उनको पसिना ओभाउन नपाउँदै श्रमले आमन्त्रण गरिहाल्थ्यो- नयाँ पसिना जन्माउन । थकित शरीरबाट निस्कने सुस्केरा नै उनको जीवनको मधुर गीत बनेको थियो । उनले बिसाउनै पाइनन् दुखको गह्रौँ भारी । डुब्न लागेको घाम रातभर विश्राममा हुन्छ भन्नु पनि भ्रम न हो । यही भ्रम उजेलीको जीवनमा यतिबेला सत्य बनेर आएको छ । उजेलीको जीवनमा फेरि अर्को रातपछि दिन नआइ रातै परेको छ ।

*** **

उजेलीको आमाले भन्थिन् रे, `तेरा बा र म दिनभर भारी बोकेर थाकेको शरीरलाई निन्द्राको काखमा आत्मशरण गर्दिएका थियौँ । राती अचानक  बेस्सरी पेट दुख्यो । तेरा बाले कटरघरे साइली आमा  र भुन्टेको आमालाई डाकेर ल्याए । एकछिन पछि  तँ  जन्मी हालिस्  । तँ जन्मिदा भित्ताको कोप्चेरोबाट पूर्णे जूनको किरण पसेर तेरो गालामा म्वाइँ खाँदै थियो । त्यति नै बेला तेरा बाले कस्तो उजेली छोरी भनेर नाम पनि उजेली राख्देका रे ।´ उजेली बाउआमाकी प्यारी एक्ली  छोरी थिई । उजेली हाँस्दा बाउआमा जून बन्थे ।

उजेली लगभग तेह्र वर्षको हुँदा रुँदै आमासँग भनेकी थिइन्,`आमा मेरो पिसाब फेर्नेमा केले हो कुन्नि टोकेर गएछ; रगत आएको छ ।´ आमाले उजेलीको कुरा बुझेर सम्झाइन, `छोरी तँ नछुने भइस् । अब तँलाई तेह्र दिनसम्म अँध्यारो कोठामा लगेर राख्नुपर्छ  । घामको किरणले पनि तँलाई छुनु हुन्न । कोठाबाट ननिक्लनु  । बालाई हेर्न हुन्न ।´ उजेलीको आमाबाले छिमेकीसँग आग्रह गरेर कोठाको बन्दोबस्त गरे ।

उजेलीले अँध्यारोसँगको सम्बन्ध त्यहीँ दिनदेखि गाँसेकी हो । उजेली तेह्र दिन अँध्यारो कोठामा बस्नु पर्ने भयो  । त्यतिबेला गाउँकै गधापच्चिसी उमेरको  धनबहादुर उजेली बसेको अँध्यारो कोठामा चाउचाउ, बिस्कुट, पाउँ लिएर भेट्न पुग्थ्यो  । धनबहादुरले उजेलीलाई निहालिरहेको हुन्थ्यो । उजेलीलाई एकतर्फी माया गर्न थाकिसकेको थियो । उजेली पनि कालो अँध्यारो कोठामा एक्लै बस्दा वाक्कदिक्क भइसकेकी थिइन् । धनबहादुरको उपस्थितिले उजेलीलाई समय बिताउन सजिलो हुन्थ्यो । धनबहादुर मात्रै थियो – उजेलीको एक्लोपनको साथी । आमा त खाना लिएर आइदिने मात्र गर्थिन् ।

धनबहादुरले उजेलीको कलियो मस्तिष्कमा प्रेमको विजारोपण गर्न थाल्यो  । प्रेमजालमा फसायो र लिएर भाग्यो । गाउँमा हल्ला चल्यो, धनेले उजेलीलाई उडाएछ । उजेलीमा बाआमा निकै निरास भए । एक्ली छोरीको कन्यादान उनीहरू आफैं गर्दिने सोचेका थिएँ । उजेलीसँग रिसाएँ । घरमा पनि भित्राएनन् । धनबहादुर पनि उजेलीलाई लिएर अन्तै बसाइँ सर्‍यो ।

धनबहादुरले गिट्टी कुट्ने काम गर्थ्यो । दिनभरिको गिट्टी कुटाइ अनि थकानलाई मेट्न भट्टीको औषधी सेवन गर्ने गर्थ्यो । चौध वर्षमै उजेलीले सन्तान जन्माइन् । पहिलो सन्तान जन्मेर न्वारान गर्न नपाई धनबहादुर क्षयरोगको सिकार हुन पुग्यो । अत्याधिक चुरोट र रक्सी त्यसमाथि शारीरिक परिश्रमको कामले धनबहादुर खोक्दाखोक्दै रगत वाक्न थाल्यो र धनेबाउ बनेको एक महिनामा छोरा र श्रीमतीलाई छोडेर गयो ।

सधैं धनबहादुरले चुरोटको धुवाँ उदाउथ्यो; त्यो दिन आफैँ धुवाँ बनेर उडेर गयो । उजेलीको जिन्दगीमा धुम्म कुहिरो लाग्यो । काखको दूधेबालक, कमाएर ल्याउने हात नै डढेर खरानी भयो ।

माइतीले उजेलीका लागि अग्लो पर्खाल लगाइसकेका थिएँ । सुत्केरीलाई चाहिने पोसिलो खुराक नभएर दूध पनि प्रयाप्त मात्रमा पुगेन । काखको छोरो मुटुमै प्वाल पर्ने गरी रुन्थ्यो । उजेलीसँग विकल्प थिएन । उनले धनबहादुरले काम गर्ने ठाउँमा गएर बिन्ती बिसाइन् र गिट्टी कुट्ने काममा लागिन् ।

छोरालाई ढाडमा पछ्यौरीले अड्याएर दिनभर गिट्टी कुट्न थालिन् उजेली । दिनभरिको ज्यालाले भोकको युद्धसँग लड्न थालिन् । चौध वर्षकी एकल महिला भएर उनले जिन्दगीको परीक्षालाई डटेर सामना गरिन् । उनको जीवनमा एउटै मात्र साहारा छोरा थियो । बाँकी जीवन त्यही छोरोको मुख हेरेर बिताउने निर्णय गरिन् । एउटा ऐलानी जग्गा ओगटेर सानो छाप्रो पनि बनाइन् ।

उजेलीको कलिलो जवानीमा गिद्धे नजर लगाउने धेरै आए । त्यसलाई उजेलीले चट्टान भएर सामना गरिरहिन् । कतिले बिहे गर्छु भनेर पनि फकाउन आए तर उजेलीले छोराका लागि अरु कसैसँग नजाने दृढ सङ्कल्प गरिन् ।

***

जिन्दगीको कठिन यात्रामा शरीरलाई कहिले विश्राम नदिएर उजेलीले छोराका लागि सारा जिन्दगी समर्पण गरिदिइन् । छोरा बीस वर्षको भयो। खासै पढाइलेखाइमा मन गएन, ट्याक्टरमा हिँड्दा हिँड्दै ट्याक्टरै चलाउन थाल्यो । उजेलीलाई छोराले भनेको थियो, `आमै, अब तिमीले काम गर्न पर्दैन । म कमाइहाल्छु । अब तिमी घरमै बस ।´

छोराको यस्तो वचन सुनेर वर्षौंपछि आकाशको तारा आएर मुहारमै खसे जस्तो भयो ।  उजेलीलाई अब दुःखका दिन सकिए जस्तो लाग्यो ।

छोराले आफैंले मन पराएकी केटी लिएर आयो । हेर्दाहेर्दै तीनवटा नातिनातिना पनि भए । उजेलीको दिनचर्या नातिनातिनाको हेर्विचारमा बित्न थाल्यो । जीवन भनेको खुसी र आनन्द पनि रहेछ भन्ने कुरा उजेलीले महसुस गर्दै थिइन् ।

एकदिन अचानक छोराले साहुकै स्वास्नी बोकेर भाग्यो भन्ने हल्ला चल्यो । साहुको डरले गावै छोडेर भाग्यो । तीन नातिनातिनाको र आमाको एक सर्को पनि ख्याल नगरी छोरा लोप भयो । उजेलीको मुहारमा खुसीको बत्ती धेरै समय बल्नै पाएन ।  `दुखीको कर्म सिसाको गिलास न रहेछ । कतिबेला सानो लापरबाहीले पनि झर्‍याम्मै फुट्छ थाहै नहुने ।´ भन्दै बुहारीसँग मन हल्का बनाउँथिन् उनी ।

जसका लागि  सारा जीवन समर्पण गरिन् उसैले जिन्दगीको अप्ठ्यारो बाटोमा ल्याएर अलपत्र पारिदियो । पहिले बरू दुःख उजेली एक्लैको थियो अब त दुःखमा बुहारी र नातिनातिना पनि थपिए । जिन्दगीले घाउँ फेरि बल्झाइदिएको थियो ।

त्यतिबेला अर्को एउटा अनिष्ट घटना घट्यो । बुहारी पनि नातिनातिनालाई छोडेर अर्को ड्राइभरसँग भागिन भन्ने खबर आयो । उजेलीको जिन्दगीमा अर्को पहिरो गयो । दुःखको पहिरोलाई स्यार्ने जिम्मा अब उजेलीको काँधमा आएर बस्यो । बुहारी भागेपछि उजेलीलाई लाग्यो, `हो हुन त, छोरा नै कुलङ्घार निक्लिएपछि के गर्नु ? तर छोराछोरीको चाहिँ बिचल्ली हुने भयो । दुःख त मेरो साथी न हो । ठिकै छ, यो दुखलाई पनि बेस्सरी माया गर्नेछु ।´

***

बाउले छोडेको, आमाले लत्याएको तीन नातिनातिनाको भोकको अमिलो आवाज उजेलीले सुनिरहन सकिनन् । उजेलीले छोरा कमाउने भएपछि काम गर्न छोडेकी थिइन् । अब उजेलीले काम नगरे नातिनातिनाको स्यारसुसार गर्ने कोही भएनन् ।

उजेलीले सानी नातिनीलाई काँधमा बोकिन् र दुई नातिनातिनालाई डोहोर्‍याउँदै खोलाको किनारतिर लागिन् । खोलाको किनारमा गिट्टी कुट्ने लस्कर थियो । ठेकेदारलाई भनिन्, `दाइ, आजदेखि म पनि गिट्टी कुट्न आउँछु ।´

ठेकेदारले भन्यो,`के गर्छेस त उजेली ? तेरो जीवनमा जो जो आए सबैले छोडेर गए । यही गिट्टी मात्र रहेछ तेरो अजम्बरी साथी । जा, गएर काम सुरू गर ।´

नातिनीलाई छाहारीमा सुताएर दुई नातिहरूलाई खेल्न पठाइन् । अनि ह्याम्मर लिएर गिट्टी कुट्न थालिन् । गिट्टी कुट्दा गिट्टीमा उनले तातो भातबाट बाफ बनेर उडेको देखिन् । फेरि अर्को गिट्टी कुट्दा मसुरोको दाल भलभल उम्लिरहेको देखिन् ।  तीन नातिनातिनाले लामो समयको भोक मेट्न तछाडमछाड गर्दै खाना खाइरहेको देखिन् । खोइ कताकता कल्पनामा हराइन् । गिट्टीमा हान्नु पर्ने प्रहार औंलामा परेर चोट लाग्यो । औंलाबाट रगत आयो । ढुङ्गा रगतले नुहायो । त्यहीँ ढुङ्गामा तप्प एक थोपा आँसु खस्यो । त्यसपछि एक दाना पसिना पनि त्यहीँ  ढुङ्गामा खस्यो । उजेलीले आफ्नौ मनसँग संवाद गरिन्, `गरिबको जिन्दगीबाट चुहिने भनेको यही पसिना, आँसु र रगत त रहेछ !´