ऊ नास्तिक थियो तर पनि देवीको दर्शन गर्न देवीथान जाँदै थ्यो । बाटोमा सुइँ सुइँ हिँड्दै थियो – मन्दिरको बनावट, काष्ठकला र किंवदन्ती बुझ्ने ध्येयले होइन, बरु जाँदै थियो आमाले कातेका बाती बाल्न । मन्दिरका अवयव, टुँडालमा खोपिएका देवीदेवताका बटारिएका आसन नियालेर कुनै अन्वेषकको स्वाङ पार्ने जमातभन्दा टाढै थियो ऊ । प्रभाकर अल्छी गर्दै सुस्तरी डाँडाको काँध चढेर व्योममा उक्लिँदै थियो उसरी नै दिवाकर पनि झिँजो मान्दै मन्दिर पुगिने सोपान उक्लिँदै थियो ।

मन्दिर परिसर पुग्नै लाग्दा अकस्मात् कसैले दिवाकरको हात तान्छ । एउटा मान्छे कराउँछ, “दाइ, पूजा सामग्री लानुस् न दाइ !”

यस वाक्यबाट यस्ता सयौँ वाक्यको सिलसिला सुरु हुन्छ । सिँढीभन्दा तल रहेकी बहिनी कराउँछिन्, “दाइ, दाइ, यहाँ सस्तो छ । यहाँबाट लानुस् दाइ । एकदमै सस्तो छ ।”

यत्तिकैमा दिवाकरको हातमा डाली थमाउँछ त्यस मानिसले ।

दिवाकर असमञ्जसमा पर्छ । पर परसम्मबाट मानिसहरू आफ्नो सामान किनिदिन भन्दै उसैलाई पुकारिरहेछन् । लागिरहेछ, साक्षात् प्रभुले यिनीहरूलाई दर्शन दिए भने यिनीहरूले भगवान्लाई पनि आफूतिर घिसार्नेछन् ।

एउटै किसिमका पूजा सामग्री बिक्री गर्न त्यहाँ एकैनासे साना सयौँ पसलहरूको लहर हुन्छ जहाँबाट मानिसहरू ग्राहकलाई बोलाइरहन्छन् । सबैको पुकार मिसिएर कर्कश ध्वनि बन्छ, दिवाकर दिक्किन्छ ।

आइलागेको डालीको पैसा तिर्ने ठाउँमा भने एउटी युवती बसेकी हुन्छिन् । त्यस मानिसले एक हातले युवतीतिर देखाउँदै अर्को हातले दिवाकरलाई तान्दै भन्छ, “पैसा तिर्ने ठाउँ यता छ दाइ ।”

यी घटना तीव्र गतिमा भइरहेका हुन्छन् । दिक्किएको दिवाकरले मान्छेलाई हेर्छ र डालीमा हेर्छ । एउटा रातो चुनरियाले छोपेको डालीमा रातो घन्टीफूल, नरिवल देख्छ ।  अगरबत्तीको खोल बाहिर निस्किएको हुन्छ, त्यो सानो डालीमा नअटेर ।

“मलाई यो सबै चाहिँदैन ।”, दिवाकरले भन्छ ।

“लानुस् दाइ, देवीलाई चुनरिया ओढाउनुस्, नरिवल फोड्नुस् । धर्म हुन्छ । लानुस्, लानुस् ।”

धर्ममा कुनै दिलचस्पी नभएको दिवाकरलाई त्यो नरिवल त्यही मानिसको टाउकोमा फोडिदिऊँ जस्तो लाग्छ तथापि शान्त भएर उसले डाली राख्न खोज्दै भन्छ, “मलाई चाहिँदैन । पूजा गर्न जान लागेको होइन म । मसँग पैसा पनि छैन ।”

“लानुस् दाइ, पैसा फर्केर आएर दिनु नि त ! लानुस् लानुस् ।”, उसले डाली राख्नै दिँदैन ।

तानेको तानै गर्ने त्यस मनुवाले अब भने दिवाकरलाई ठेल्न थाल्छ । फर्केर आएपछि पैसा दिनुहोला भनेर यसरी भन्छ, मानौँ देवीले त्यस पूजा सामग्रीले पूजा गरेपछि दिवाकरलाई मक्ख परेर ऐश्वर्य दिनेछिन् र त्यो डाली बेच्नेलाई पैसा तिर् भन्नेछिन् ।

तेलमा भिजाएका बातीको पोको उसको खल्तीमा बसिरहेकै छ । यसो खल्ती छाम्छ, पैसा त हुँदै हुँदैन; टोलाउँछ । अचानक दिवाकरलाई धकेल्छ त्यस पसलेले । तीन पाइलापछि हुत्तिन्छ ऊ ।

“जानुस् दाइ जानुस् । पूजाआजाले देवी खुसी हुन्छिन् ।”, अघिसम्म तानिरहेको मान्छेले अब ठेल्न थालेपछि दिवाकर अवाक् हुन्छ । रङ्मङ्गिएको मगज लिएर दिवाकर अघि बढ्छ । फोटो खिच्ने र त्यस्तै पूजा सामग्री बेच्नेको आवाज उसको गिदीमा बजिरहन्छ । जुत्ता चप्पल फुकाल्ने ठाउँमा पनि पैसा तिर्नुपर्ने देखेपछि एउटा रूखको फेदमा चप्पल फुकाल्छ र श्रद्धालुको लाममा बस्छ ।

अबिर, बाती, अगरबत्तीका बास्ना धुवाँ भएर दिवाकरको फोक्सोसम्मै पुग्छन् । उसले लामो श्वास फाल्छ । हत्तपत्त “खै ल्याउनोस्” भन्दै पुजारीले डाली तान्छन् । च्यातेको सयपत्री डालीमा हाल्छन्, कपडा चढाउँछन् र  ट्यास्स टाँस्छन् अबिर उसका ललाटमा ।

“बत्ती बाल्ने र नरिवल फुटाउने उता” मुख चुच्याँउदै इसारा गर्छन् पण्डित । ऊ नरिवल फुटाएर त्यही डालीमा राख्छ । रुखमुनि पुगेर चप्पल लगाउँछ र सुस्तरी बाती बाल्न लम्कन्छ । जतनसाथ राखेको बातीको पोको ज्याकेटको भित्री गोजीबाट निकालेर बाल्छ । नरिवल त्यही बातीको पोकामा राख्छ । अब भने मन्दिरको एक फन्को लाएर घुम्छ । वरिपरि नियाल्छ । आफ्नी आमाको झझल्को पनि देख्छ । केहीबेर गम्छ र लम्कन्छ । ‘बेलुकी आमालाई दिन्छु देवीको प्रसाद’ यस्तै सोच्दै गोजी छाम्छ ।

मन्दिरबाट फर्किँदा कसैले उसलाई बोलाएन, लास जलाइसकेर फर्किएका मलामीलाई नबोलाएझैँ । कसैले समाएनन् उसका पाखुरा । डाली बेच्ने पसले भने बिच बाटामा उभिएको  रहेछ । “पूजा गर्नुभयो दाइ ? खै ल्याउनुस् ।” हातबाट डाली लिँदै साेध्यो उसले ।

“पैसा उता तिर्नुहोला ।”, फेरि उही युवतीतिर औँलो तेर्स्याउँछ ।

“मसँग पैसा छैन, डाली थमाइहाल्नुभयो, देवीले पुण्य गरेको मान्नेछिन् भाइ ।”

“के भन्नुहुन्छ ? कस्तो पैसा छैन ? पूजा सामग्री लगेपछि पैसा छैन भनेर हुन्छ ?”, कड्किन्छ पसले, “रेला नगर्नुस् दाइ, खुरुक्क ल्याउनोस् पान्से ।”

“मसँग पैसा नै छैन भाइ । मैले अघि नै लिन्नँ भनेको थिएँ । फेरि एउटा फूल र धूपको पाँच सय ?”

“खुरुक्क पैसा ल्याऊ है । कस्तो लाज नभएको मान्छे, सामान लगेपछि पैसा त तिर्नुपर्‍यो नि !”

“मसँग पैसा छैन ।”, दिवाकर अघि बढ्यो ।

पसले रन्क्यो, “खुरुक्क ल्याइहाल् ।”

वरिपरिका मान्छे तमासा हेर्न नजिकिए ।

“म सँग पैसा छैन मैले अघि भनेको !” निन्याउरो दिवाकर झन् निलो भयो ।

पसलेले फेरि उसको ज्याकेट समाउँदै थर्काउँछ । फिस्स हाँस्यो दिवा । नानाभाँती सुन्यो, सत्तोसराप पनि सह्यो । छामछुम गरिसकेपछि फेरि धकेलियो दिवाकर । यसपटक नराम्रोसँग पछारिने गरी । उठ्यो र अघि बढ्यो । कानबाट पसेर उसको मगजमा केके बज्यो, उसले सुनेन ।

बेलुकी दिवाकर घर पुग्यो । आमालाई सयपत्रीका मञ्जरी दियो ।

“प्रसाद दिएनन् बाबु ? बत्ती मजाले बले नि ?”

“मजाले बल्यो, राम्ररी भिजेको रैछ । दिएका थिए आमा । नरिवल पनि थियो, बाटामा दुःखीआत्मा थिए उनैलाई दिएँ ।”

“ए, ठिकै गरेछस् बाबु ।”

“कस्ता–कस्ता लिच्चड हुँदा रहेछन् नि !”, आमाले ठिकै गरेछस् बाबु भन्दै गर्दा उसको मथिङ्गलमा बजिरह्यो, “तँलाई जता गए पनि धर्म कहिल्यै हुने छैन !”