ललित आफ्नी भाउजू रोमिकाको साह्रै प्यारो थियो । मिठो बोलीचाली, सहयोगी व्यवहार र मिलनसार भएकोले घरमा मात्र हैन गाउँमा पनि ललितलाई सबैले मन पराउँथे ।

ललितको दाजु रमेश । रोमिकासँग बिहे गरेको एक महिनामै रमेश विदेसियो । लोग्ने रमेश विदेश गएपछि देवर ललित रोमिकाको साथी भएको थियो । उनीहरू बिचमा निकै मेल थियो । खेतबारीमा जाँदा, बजार जाँदा होस् वा सिनेमा हेर्न जाँदा रोमिकाले ललितलाई लिएरै जान्थी । ललित नजाने हो भने ऊ माइत समेत जाँदिनथी । कतै गएर ललित आउन ढिला भयो भने रोमिका खाना नखाई कुरेरै बस्थी ।

‘कस्तो सीता र लक्ष्मण जस्तै छन् यी देवर भाउजू !’ उनीहरूलाई देखाएर टोलछिमेकमा भन्ने गर्थे ।

रोमिका भर्खर २१ वर्ष पुगेकी युवती थिई । सुन्दर मुहार, मिलेको जिउडाल अनि फक्रँदो जवानीले गर्दा निकै सुन्दर देखिन्थी । ललित भर्खर १६ वर्षमा टेकेको थियो । भर्खर जुँगाको रेखी बसेको ललित हँसिलो त छँदै थियो, फुर्तिलो पनि उत्तिकै थियो । उसले भाउजूलाई दुखी हुनै दिँदैनथ्यो । रोमिका उदास भएर वा रिसाएर बसेको भए पनि उसले जिस्काएर, फकाएर भए पनि हँसाउँथ्यो । भाउजूको सामुन्ने ऊ केटाकेटी बनिदिन्थ्यो अनि सहयोग गर्ने बेलामा अभिभावक बनेर अघि सर्थ्यो ।

ललितमाथि रोमिकाको पूरा विश्वास थियो । उसलाई गलत सोच्न ललिताले पाप ठान्थी । त्यसैले उसले ललितसँग कहिल्यै सङ्कोच मान्दिनथी ।

ललितले १२ कक्षाको परीक्षा दिएर बसेको थियो । मेलापातदेखि घाँस दाउरा गर्न ललित र रोमिका सँगै जान्थे । प्रायः जस्तै एकदिन देवर भाउजू खेतमा घाँस काट्न गएका थिए । ललितले आफ्नो घाँसको भारी बाँध्यो । रोमिका भने घाँस बाँध्ने डोरी हातमा समातेर उभिरहेकी थिई । भर्खरै बर्खायाम सुरु भएको थियो । आकाशमा बादल फैलिँदो थियो अनि घाम पश्चिम आकाशमा अस्ताउने तरखर गर्दै थियो ।

‘खै ल्याउनुस् डोरी । घाम डुब्न थालिसक्यो, भारी नबाँधेर के हेरेर उभिनु भएको होला कुन्नि ?’, ललितले आफ्नो भारीतर्फ हेर्दै भाउजूतर्फ हात बढायो ।

ललितले भाउजू टाढा होलिन् भन्ने ठानेको थियो । डोरी माग्दा रोमिका नजिक सरिसकेकी थिई । भाउजूतर्फ नहेरी हात बढाउँदा उसका हातका औँलाले रोमिकाको छातीमा हल्का स्पर्श गर्न पुगे । ललितलाई पनि त्यो स्पर्श महसुस भयो । एक्कासि र अन्जानमा गल्ती भएको हुँदा ललित केही बोलेन । उसले डोरी लिएर भाउजूको घाँसको भारी बाँधिदियो र दुवै जना घाँसको भारी बोकेर घर आए । सधैँ गफ गर्दै हिँड्ने उनीहरू बिचमा फर्कँदा भने कुराकानी भएन ।

ललितको औँलाले आफ्नो छातीमा छुँदा रोमिका झस्किए पनि मुहारमा भने त्यसको भाव आउन दिएकी थिइन । ‘उसले मेरो छातीमा किन छोयो ? झुक्किएर हो कि जानाजान छोएको होला ?’, घर फर्कँदा उसको मनमा यस्तै कुराहरू खेलिरहेका थिए ।

घर आएपछिका समय भने हिजो अस्तिका जस्तै सामान्य रहे । साँझ सुत्न जाने बेलामा आफ्नो कोठामा जानुभन्दा अघि सधैँजस्तो रोमिकाको कोठाको ढोकाबाट हेरेर ‘शुभ रात्रि’ भनेर ललित आफ्नो कोठामा सुत्न गयो ।

रोमिका पनि ओछ्यानमा पल्टी ।

धेरैबेरसम्म उसलाई निन्द्रा लागेन । साँझको घटनालाई सम्झेर उसले मनमनै कुरा खेलाइरहेकी थिई ।

‘ललितले जानीजानी स्तन समात्न खोजेको त हैन ?’, उसको दिमागमा बारम्बार यही प्रश्न दोहोरिएको थियो ।

‘ऊ पनि जवान ठिटो हो । म जस्ती जवान युवतीलाई एकान्त ठाउँमा पाउँदा उसमा यौनतृष्णा जाग्यो होला । नत्र नजिक उभिएको मान्छेलाई नदेख्ने भन्ने हुन्छ र ?’, रोमिकाको मनले निष्कर्ष सुनायो । टरेको बलात्कारको घटनाले ऊ थर्र काँपी ।

राती ११ बजिसकेको थियो । रोमिका अझै सुतेकी थिइन । ललित आफ्नो कोठामा बसेर एमबिबिएस इन्ट्रान्सका कोर्स पढिरहेको थियो । कोठामा बत्ती बलिरहेको देखेर रोमिकाको कोठाको ढोकाबाट चिहायो । बत्ती बलिरहेको थियो, रोमिका आफ्नो ओछ्यानमा त्यत्तिकै पल्टिरहेकी थिई ।

ललिताले ढोका ढकढकायो । रोमिकाले तर्सेर ढोकातर्फ हेरी । ढोकामा ललित उभिएको देखेर ऊ झनै तर्सी ।

‘अझैसम्म सुत्नु भएको छैन. सन्चो भएन र भाउजू ?’, ललितले सोध्यो ।

‘सन्चै छ । निन्द्रा लागेन, त्यसैले उपन्यास पढेर बसेकी थिएँ ।’, रोमिकाले झुट बोली ।

पल्लो कोठामा ससुरा खोके ।

‘धेरै अनिदो नबस्नुस्, सुत्नुस् अब ।’, ललितले भाउजूलाई भन्यो अनि फर्केर आफ्नो कोठामा गयो ।

कहिल्यै ढोकाको चुकुल नलगाउने रोमिकाले ढोकाको चुकुल लगाइन् । काठको आग्लो समेत लगाएर बत्ती निभाएर ओछ्यानमा पल्टी ।

‘दिनमा त मलाई समात्न खोज्नेले राती एक्लै पाउँदा त्यसै छोड्छ र ? अहिले सबै सुते होलान् भनेर साँझ पूरा गर्न नपाएको यौनइच्छा पूरा गर्न आएको होला ! मलाई जबर्जस्ती गर्न लागेको भए म के गर्थेँ होला ? चिच्याएर प्रतिकार गर्दा लोग्ने नभएकोले देवरसँग सम्बन्ध राख्न खोजेकी तर देवरले नमान्दा हल्ला गरेकी भन्थे होला । धन्न बेलैमा ससुराले खोके र ऊ गयो । नत्र आज मेरो इज्जत लुटिने रहेछ ।’, उसको मनमा तर्कना खेले । अज्ञात भयले शरीर काँप्यो । पटक्कै निन्द्रा लागेन ।

हुन त प्रायःजसो साँझ खाना खाएपछि रोमिका ललितकै कोठामा उपन्यास पढ्थी । ललित राती अबेरसम्म लेखपढ गथ्र्याे । पढ्दापढ्दै रोमिका ललितकै पलङमा निदाउँथी अनि ललित पनि पलङकै एक कुनामा सुत्थ्यो । त्यति बेलामा रोमिकालाई कुनै डर लाग्दैनथ्यो । अहिले भने ललितलाई देख्दा पनि ऊ भयभीत भएकी थिई ।

मनमा कुरा खेलाउँदा खेलाउँदै रात छर्लङ्ग भयो । बिहान उठेर रोमिका बाथरुमभित्र नुहाइरहेकी थिई । ऊ बाथरुमको ढोका लगाएर प्रायजसो निर्वस्त्र भएर नुहाउने गर्थी । आज पनि त्यसै गरी नुहाइरहेकी थिई ।

बाहिर बाख्राको पाठो उफ्रँदै आएर ढोकामा बजारियो ।

‘कसले ढोका हल्लायो ?’ रोमिका झसङ्ग भई ।

‘कतै ललितले हेरिरहेको त छैन ?’, उसको मनले एक्कासि सोच्यो । यसले झटपट कपडा लगाएर बाहिर निस्की ।

बाहिर नुहाउन ठिक्क परेर ललित उभिएको थियो । रोमिकाको सातो गयो ।

‘गुड मर्निंग भाउजू !’ सदाझैँ ललितले मुसुक्क हाँस्दै भन्यो अनि नुहाउन बाथरुम छिर्यो ।

ललितलाई बाहिर देख्दा रोमिकाले ललितले नै ढोका हल्लाएको रहेछ भन्ने सोची ।

‘उसले मैले नुहाएको सधैँ हेर्दो रहेछ । सेतो तिघ्रा देख्दा त केटाहरूमा यौनको नशा चढ्छ भने मेरो नाङ्गो शरीर देख्दा उसलाई कस्तो भयो होला ? मेरो नाङ्गो शरीर हेरेर यौनातुर भएर पो मलाई हिजो जबर्जस्ती गर्न खोजेको रहेछ । मेरो नाङ्गो शरीर हेर्न पो ऊ सधैँ मैले नुहाएपछि मात्र उठेजस्तो गरेर बाथरुम जाँदो रहेछ ।’,  रोमिकाले मनमा यस्तै तर्कनाहरू आए । ललितलाई सम्झेर र क्रोधित भई ।

‘अब म कहिल्यै निर्वस्त्र नुहाउन्न ।’ रोमिकाले निर्णय गरी ।

खाना खाएर ललित इन्स्टिच्युट गयो । रोमिका घरधन्दामा लागी । सासूससुरा छिमेकीको पूजामा गएका थिए । घरमा रोमिका मात्र एक्लै थिई । उसको मनमा डर थियो– ‘आफू एक्लै भएको मौका छोपेर ललित आएर जबर्जस्ती गर्छ कि ?’ त्यसैले ऊ निकै चनाखो भएर काम गरिरहेकी थिई ।

हिजोसम्म ललितप्रति रोमिकाको ठुलो विश्वास थियो । निकै आड मान्थी ललितलाई अनि निकै माया गर्थी ।  हिजोको घटनाले गर्दा सम्पूर्ण विश्वास हराएको थियो । मायाको साटो मनमा घृणा भरिएको थियो । हिजोसम्म देउता मानेको ललित आज उसको लागि राक्षस भएको थियो ।

साँझपख ललित आयो । रोमिका आफ्नै कोठामा बसेकी थिई । ललित एक्कासि कोठामा पस्दा रोमिका अक्क न बक्क भई ।

‘भाउजू, हेर्नुस् त दाइको पार्सल आएको छ ।’, ललितले भन्यो । ललितको हातमा सानो प्याकेट थियो ।

‘ए हो र ?’ रोमीका खुसी भई ।

‘के रहेछ ? कसले ल्याइदिएको ?’, रोमीका उठेर ललितको नजिक गई । अघिसम्मको उसको मनमा भएको डर केहीबेरलाई गायब भयो ।

‘खै दिनुस् त !’, रोमिकाले प्याकेट मागी ।

ललित सदाजस्तै जिस्किने मुडमा थियो । त्यसैले भन्यो– ‘अहँ, दिन्नँ ।’

‘खै छिटो दिनुस् न भन्या ।’, रोमिकाले प्याकेट खोस्न खोजी ।

ललितले हात माथि उचाल्यो । रोमिकाले उफ्रेर लिन खोजी, तर खोस्न सकिन ।

‘तपाईँ त कस्तो मान्छे ! दिनुस् न भन्या । प्लिज.. !’, थाकेपछि ललिताले भनी ।

‘मलाई के दिनुहुन्छ र यो पार्सल दिएमा ?’, आफ्नो स्वभावअनुसार ललित बोल्यो ।

‘जे मागे पनि दिन्छु । पहिले पार्सल त दिनुस् ।’

‘पहिले मागेको कुरा दिए मात्र..’, ललितले भन्यो ।

‘ल भैगो, तपाईँले मागेको कुरा नै दिन्छु, माग्नुस् त के हो ?’, बोली रोमिका ।

‘भै गो, माग्दिनँ’, मुसुक्क हाँस्दै बोल्यो ललित, ‘तपाईँले दिनुहुन्न होला ।’

रोमिकाले तिखा नजरले ललितलाई हेरी । भाउजूलाई रिस उठाउँदा ललितलाई मज्जा लाग्थ्यो । त्यसैले अहिले पनि ललितले भाउजूलाई रिस उठाउनकै लागि पार्सल नदिएर आफ्नो कोठामा गयो ।

रोमिका केहीबेर चुपचाप उभिइरही । केहीबेरपछि ऊ सरासर ललिताको कोठामा पसी । ललित लुगा फेर्दै थियो ।

एक्कासि ललितको अगाडि पुगी रोमिका चिच्याउन थाली, ‘तपाईँले मेरो शरीर माग्नुभएको हैन ? ल खेल्नुस् मेरो शरीरसँग । बुझाउनुस् आफ्नो यौनतृष्णा । तपाईँका हातले मेरा स्तन निचोर्नुस् अनि मेरा रसिला ओठ  चुस्नुहोस् । र, आनन्द लिनुहोस् । तपाईँले यही खोजेको हैन ?’

रोमिकाले बोल्दै आफ्ना कपडा फुकालिरहेको थिई । केहीबेरमै साडी, ब्लाउज, पेटीकोट, ब्रा, पेन्टी भुइँमा थुप्रो लागिसकेका थिए । रोमिका ललितको अगाडि निर्वस्त्र उभिएकी थिई ।

ललित भाउजूले के गरिरहेकी छिन् र किन यसो गरिरहेकी छिन् भन्ने नबुझेर वाल्ल परेको थियो । भाउजूको नाङ्गो शरीर हेर्न नसकेर उसले भुईँको कपडाको थुप्रोलाई हेरिरहेको थियो ।