विश्वेश्वरप्रसाद कोइरालाको प्रसिद्ध कथा हो, ‘शत्रु’ । त्यसमा ‘गाउँका सबभन्दा भद्र’ र प्रतिष्ठित मानिस कृष्ण रायमाथि एक रात कसैले लठ्ठी प्रहार गर्छ । संयोगवश लठ्ठीको प्रहार उनीमाथि पर्दैन, तर भित्तामा लागेर लठ्ठी भाँचिन्छ । आक्रमणकारी उनले देख्न नपाउँदै भागिसक्छ । जीवनमा कसैलाई आफ्नो शत्रु नबनाएको सन्तोषमा बाँचिरहेका कृष्ण रायको मनमा त्यसपछि अचानक थुप्रै शत्रु प्रकट हुन पुग्छन् । भोलिपल्ट प्रहरी उनीकहाँ पुग्दा सम्भावित आक्रमणकारीका रूपमा उनले धेरैको नाम लिन्छन् । प्रस्तुत छ, त्यसपछिको कथा ।

प्रहरी इन्स्पेक्टर प्रबल कार्कीले पाइन्टको गोजीबाट सेतो पन्जा निकालेर दुवै हातमा लगायो र भाँचिएको लठ्ठीका दुवै टुक्रा सरक्क उठाएर पोलिथिनको थैलोमा हाल्यो । सब इन्स्पेक्टर रोशन रौनियारलाई थैलो थमाएर चूपचाप बाहिर निस्क्यो र झ्याल वरपर निरीक्षण गर्न थाल्यो ।

‘आक्रमणकारी झ्यालबाटै भागेको त होला नि ?’ कार्कीको प्रश्न थियो ।

कृष्ण रायले भने, ‘भनिहालें नि, राति बत्ती निभाएर सुत्न लागेको थिएँ । अकस्मात् आक्रमण भयो । म उठुन्जेलमा आक्रमणकारी भागिसकेको थियो ।’

‘कसैलाई हारगुहार गर्नुभएन ?’

‘निकै बेरसम्म दिमागले कामै गरेन । त्यसपछि निदाएँछु ।’

‘चिन्ता नलिनोस्, हामी अपराधी पत्ता लगाउँछौं,’ कार्कीले भन्यो, ‘बरु हजूर एकचोटि प्रहरी चौकी सवारी भएर जाहेरी दर्ता गराइदिनुपर्ला ।’

प्रहरी चौकीमा ‘तपाईंलाई कसैमाथि शंका छ ?’ भनेर सोध्दा कृष्ण रायले अघि घरमा भने झैं गम्भीर भएर उत्तर दिए, ‘रामे, बलभद्र, केदार युवक, गोविन्द पण्डित, कन्हैया मास्टर, बुधे, लीला, पुष्पराज, रामचन्द्र पराजुली ।’

उनलाई चिया ख्वाएर बिदा गरेपछि रौनियारले भन्यो, ‘बूढालाई मान्नैपर्छ । त्यत्रो आक्रमण भएपछि पनि कसरी ढुक्कसँग निदाउन सक्या होला ? म भए त रातभरि आँखा झिमिक्क पार्न सक्तिनथें ।’

कार्कीले ‘अँ’ मात्र भन्यो । उसका आँखा लठ्ठीका टुक्रामा केन्द्रित थिए । एकै छिनमा ऊ डटपेन टोक्न थाल्यो । दिमागमा केही नयाँ कुरा खेल्न थाल्यो कि डटपेन टोक्ने उसको पुरानो बानी थियो ।

एक छिन पछि लामो सास फेरेर उसले भन्यो, ‘यो लठ्ठी फिंगरप्रिन्ट एक्सपर्टकहाँ पठाइदे । बूढाले चिया खाएको गिलास पनि सँगै पठाइदिनू । भरे एकपल्ट फेरि घटनास्थलमा जानुपर्छ ।’

साँझ पाँच बजेतिर उनीहरू कृष्ण रायकहाँ पुग्दा उनी सधैं झैं टहल्न निस्किसकेका थिए । घरमा सुधो नोकर रामे र भान्से बाहुनी मात्र थिए । दुवैले रातिको घटनाबारे भोलिपल्ट प्रहरी आएपछि मात्र थाहा पाएको बताए । बूढाको धर्मपुत्र पुष्पराज भने घरमा थिएन ।

कृष्ण रायका सन्तान थिएनन् । पत्नी दुई वर्ष अघि दिवंगत भइसकेकी । सन्तानको अभाव पूर्ति गर्न उनले टाढाको भतिजो पुष्पराजलाई धर्मपुत्र बनाएर पालेका थिए । ऊ अलिक पुलपुलिएको र फजूलखर्ची रहेछ । नयाँ साइकल किनिदिएनन् भनेर एक हप्ता अघि कृष्ण रायसँग झगडा गरेको रहेछ । त्यसपछि बूढासँग बोलेको थिएन रे । कृष्ण रायकी दिदी नजीकैको शहरमा बस्थिन् । लठ्ठी काण्ड भएको दिन ‘फुपूलाई आँप लगिदिन्छु’ भनेर पुरानो साइकलमा आधा बोरा आँप हालेर दिउसै शहर गएको, फर्केको रहेनछ ।

घर पछाडि खोरमा एउटा कुकुर थियो । त्यो चूपचाप बसिरहेको देखेर कार्कीले सोध्यो, ‘यो भुक्तैन ?’

‘दिउसो भुक्तैन हजूर,’ रामेले जानकारी दियो, ‘साँझ खोरबाट निकाल्छौं । त्यसपछि भुक्छ । रातभरि घर वरिपरि कसैलाई पाइला हाल्न पनि दिंदैन ।’

‘तर हिजो राति त यो पनि भुकेन,’ भान्से बाहुनीले भनिन् ।

चौकीमा फर्केपछि रौनियारले तर्क गर्‍यो, ‘लठ्ठी हान्ने मान्छे बूढाकै आफन्त हुनुपर्छ । नत्र कुकुर भुकिहाल्थ्यो नि ।’

‘ठीक भनिस्…’ कार्कीले भन्यो, ‘बूढाले जसजसका विरुद्ध किटानी जाहेरी दिएका छन्, अब तिनका बारेमा पत्ता लगाउनुपर्छ ।’

दोस्रो दिन, दिनभरि दौडधूप गरेर दुई भाइले धेरै कुरा पत्ता लगाए । तदनुसार :

बलभद्र कृष्ण रायको हिसाबकिताब हेर्ने मान्छे रहेछन् । त्यसमा गोलमाल गरेको थाहा पाएर बूढाले दुई हप्ता अघि नराम्ररी गाली गरेपछि जागीर छोडेका रहेछन् । हिजो राति उनको छोराको बिहे रहेछ । त्यो पनि कृष्ण रायले नाम लिएका, पल्लो गाउँका रामचन्द्र पराजुलीकी छोरीसँग । गोविन्द पण्डित र कन्हैया मास्टर पनि जन्ती गएका रहेछन् । चारै जना रातभरि बिहामै रहेछन् ।

केदार युवक महीना दिन अघि कृष्ण रायकहाँ काम माग्न आएको, तर बूढाले काममा नराखेको मानिस रहेछ । ऊ बस दुर्घटनामा परेर तीन दिन अघि अस्पताल भर्ना भएको रहेछ । दुवै खुट्टा भाँचिएका रहेछन् । कृष्ण रायले बेइमानीको आरोपमा कामबाट निकालेको बुधे नोकर अर्को गाउँमा चोरी गर्दागर्दै समातिएर जेल परेको रहेछ । लीला चाहिं कृष्ण रायको भाइ पर्ने रहेछ, काकाको छोरो । ऊ पाँच जना गाउँलेसँगै तीर्थ गएको रहेछ ।

कार्की र रौनियारले ठहर गरे, यिनीहरू मध्ये कसैले पनि कृष्ण रायमाथि लठ्ठी प्रहार गरेका होइनन् । दिनभरि गोरू झैं काममा जोतिएर बेलुका आठ बज्दा नबज्दै निद्रामा झुलिसक्ने घिउलाटो रामेबाट पनि यस्तो कृत्य सम्भव देखिएन । त्यसैले शंका पुष्पराजमा केन्द्रित भयो । आठ माइल परको शहर गएको मान्छे तीन दिनसम्म नफर्केपछि शंका गहिरिनु स्वाभाविक थियो ।

ऊ त्यसै दिन साँझ गाउँ  फर्क्यो र तत्काल चौकीमा हाजिर गराइयो । उसले भन्यो, ‘शहरको साथीले नयाँ सिनेमा आएको छ भनेपछि ऊसँगै सिनेमा हेर्न इन्डिया गएको थिएँ ।’ साइकलको निहुँमा बूढासँग झगडा गरेको त उसले स्वीकार्‍यो, तर भन्यो, ‘आफ्नै बाबुमाथि म कसरी आक्रमण गर्न सक्छु ?’

पुष्पराजले चिया खाएको गिलास पोलिथिनको थैलोमा हालेर इन्स्पेक्टर कार्की अर्को दिन आफैं शहर गयो । भारतीय सीमा नजीकैको शहर जिल्ला सदरमुकाम पनि थियो । उसले पुष्पराजको साथीको घरमा पुगेर उनीहरू सिनेमा हेर्न भारत गए नगएको सुराक लगायो । त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट लठ्ठीका टुक्रा सहित फिंगरप्रिन्टको रिपोर्ट संकलन गर्‍यो । रिपोर्ट पढेपछि उसका आँखा चम्किन थाले । ऊ डटपेन टोक्तै कृष्ण रायकी दिदीकहाँ पुग्यो ।

कार्कीलाई चिया दिन लाग्दा पोलिथिनको थैलोमा लठ्ठीका टुक्रा देखेर उनी चिच्याइन्, ‘लौन नि, यो लठ्ठी कसरी भाँचियो ?’

‘तपाईं यो लठ्ठी चिन्नुहुन्छ र ?’ कार्की छक्क पर्‍यो ।

‘किन नचिन्नु बाबु, छ महीना अघि मैले देहरादूनबाट दश रुपैयाँ हालेर कृष्ण भाइलाई ल्याइदिएको लठ्ठी त हो नि यो । यस्तो बुट्टा भएको लठ्ठी यताहुँदि कसैसँग छैन । लठ्ठीको मूठ मुन्तिर मैले भाइको नाम पनि खोप्न लगाएकी थिएँ । नपत्याए हेर त  !’

नभन्दै, लठ्ठीको समात्ने ठाउँ मुन्तिर मसीना अक्षरमा ‘कृष्ण’ लेखिएको रहेछ । कार्की फेरि डटपेन टोक्न थाल्यो ।

ऊ गाउँ फर्केपछि रौनियारले भन्यो, ‘त्यो पुष्पेलाई तुरुन्तै गिरफ्तार गरौं । लठ्ठी हान्ने उही हो । त्यसको कारण पनि छ, उद्देश्य पनि छ र उसको व्यवहार शंकास्पद पनि छ ।’

कार्कीले ‘अँ…’ भन्यो र कृष्ण राय तथा पुष्पराज दुवैलाई बोलाउन पठायो । उनीहरू आएपछि ‘अरू कसैलाई भित्र पस्न नदिनू’ भन्ने आदेश दिएर रौनियारलाई आफ्नो अफिसको ढोका ढप्क्याउन लगायो । र, गम्भीर स्वरमा घोषणा गर्‍यो, ‘यो बदमाशी कसको हो, मैले पत्ता लगाइसकें ।’

कृष्ण राय ट्वाल्ल परेर उसलाई हेर्न थाले । पुष्पराजका आँखामा कताकता डर जस्तो देखियो र रौनियारका आँखामा प्रसन्नता । ऊ पुष्पराजलाई पक्रन उसको कुर्सीनेर उभियो ।

कार्कीले कृष्ण रायका आँखामा आँखा जुधाएर भन्यो, ‘हजूरले यो के नाटक गर्नुभएको ? आफैंले लठ्ठी भाँचेर आफूमाथि आक्रमण भयो भन्ने, अनि बिनसित्ती हामीलाई दु:ख दिने ?’

अब पुष्पराजको आँखाको डर कृष्ण रायका आँखामा सर्‍यो । रौनियार भने अलमल्ल परेको थियो ।

कार्की भन्दैगयो, ‘माटोको लिउन लगाएको कच्चा इँटाको भित्तामा लागेर यति दरो लठ्ठी भाँचिएको भन्दा मलाई शुरूमै अनपत्यार लागेको थियो । हुन त घटनाक्रम र परिस्थितिले पुष्पराजमाथि शंका गर्ने पर्याप्त ठाउँ दिएको हो । तर मेरो दिमागमा अर्कै कुरा खेलिरहेको थियो । फिंगरप्रिन्टको रिपोर्टले मेरो शंका पुष्टि गर्‍यो । लठ्ठीमा हजूर बाहेक अरू कसैको औंलाको छाप छैन । चियाको गिलासमा भएको र लठ्ठीमा भएको औंलाको छाप एउटै व्यक्तिको हो भनेर विशेषज्ञले प्रमाणित गरिसकेका छन् । त्यसमाथि दिदीले समेत यो लठ्ठी मेरो भाइकै हो भनेर प्रमाण नै देखाइदिएपछि त यो सब हजूरकै नाटक हो भन्ने कुरामा कुनै सन्देह बाँकी रहेन ।’

रौनियारका आँखा आश्चर्यले फैलिएका थिए । ऊ सोच्तैथियो, ‘यो कस्तो हाकिम होला, जहिले पनि मैले कल्पनै नगरेको तरीकाले अपराधी पत्ता लगाउँछ ।’

कृष्ण राय घोसेमुन्टो लगाएर चूपचाप भुइँतिर हेरिरहेका थिए । कार्कीले कडा स्वर गर्‍यो, ‘यो कानूनलाई झुक्याउने षडयन्त्र हो । यसबापत हजूरले सजाय भोग्नुपर्ने हुन्छ ।’

कृष्ण राय आत्तिएका थिए । आँखाभरि आँसु पारेर हात जोडे, ‘मबाट गल्ती भो बाबु । दिनदशा लागेर बुद्धि बिग्रेछ । अब आइन्दा यस्तो गल्ती हुनेछैन । एकपल्टलाई मेरो इज्जत जोगाइदिनोस् । बिन्ती छ ।’

वातावरण निकै गम्भीर भयो । पुष्पराजले पनि बूढालाई माफी दिन अनुरोध गर्‍यो ।

‘यो अपराध भन्दा पनि मानसिक समस्या हो,’ कार्कीको स्वर नरम भयो, ‘हजूर यो गाउँको सबैभन्दा भद्र र प्रतिष्ठित मानिस । त्यही भएर एकपल्टलाई छाडिदिन्छु । आइन्दा बुद्धि नबिगार्नुहोला । जानोस्, जाहेरी फिर्ता लिनोस् ।’

कृष्ण राय हात जोडिरहेकै थिए, कार्की मुस्कुरायो, ‘हजूरले किन यसो गर्नुभो भनेर त सोध्दिनँ । तर एउटा कुरा भन्नोस् न, त्यति दरो लठ्ठी कसरी भाँच्नुभो ?’

‘मेरो बलले त भाँचिदैनथ्यो बाबु ! अर्कै अक्किल लगाउनुपर्‍यो,’ बूढाले ङिच्च गरे ।

० ० ० ०

विशुद्धीकरण : ‘शत्रु’ कथा पहिलोपल्ट १९९५ सालमा छापिएको हो । त्यसवेला नेपालमा सर्वसाधारणले चिया खाने चलन आइसकेको थिएन । प्रहरी इन्स्पेक्टर, सब इन्स्पेक्टर जस्ता पद थिएनन् । ‘फिंगरप्रिन्ट एक्सपर्ट’ हुँदैनथे । डटपेन, पोलिथिनको थैलो, प्रहरीको गोजीमा सेता पन्जा आदि इत्यादि पनि थिएनन् । त्यसैले, विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यसलाई ८२ वर्षपछि, २०७७ सालमा लेखिएको संक्षिप्त उत्तर कथा भनेरै बुझ्नु मनासिब हुनेछ ।

===

अब विश्वेश्वरप्रसाद कोइरालाको कथा ‘शत्रु’ पनि पढ्नुस्ः

कथा – शत्रु 

– ‘आँखामा राखे पनि नबिझाउने’ भन्ने उखान कसैको निमित्त उपयुक्त हुन्थ्यो भने कृष्ण रायको निमित्त हुन्थ्यो । ४५ वर्षका कृष्ण राय गाउँका सबभन्दा भद्र मानिस थिए । तिनले यता १०/१२ वर्षदेखि गाउँभन्दा बाहिर पाइलो राखेका थिएनन्; यसैबाट तिनको शान्त स्वभावको परिचय हुन्छ । कसैलाई कर्जा तिनी आप्नो सिद्धान्तको विरूद्ध ठान्थे । तिनका मतअनुसार कर्जामा गएको रूपैयाँ आफू आउँदा झगडा बोकी ल्याउँछ । तर दु:ख परेको बखतमा ‘राजद्वारे श्माशाने च’ तिनी गाउँलेको सहायतामा प्रस्तुत रहन्थे ।

जनककुमारीको एक्लो छोरो मर्दा जनककुमारीको पीरभन्दा तिनको सान्त्वनाले त्यहाँ भएका मान्छेहरूको आँखामा आँसु ल्यायो । गाउँलेहरूमा झगडा पर्यो भने तिनी नै मध्यस्थ हुन्थे । तिनले गरेको फैसलाले कोही पनि असन्तुष्ट भएको देखिँदैनथ्यो । आफ्नो घरबाट तिनी कम निस्कन्थे र निस्केको दिन कि त कसैकहाँ मृत्यु भएछ कि झगडा भएछ भनी ठान्नुपर्थ्यो; सडकमा सब जना अदबसँग तिनको अभिवादन गर्थे ।

कृष्ण रायलाई सब प्रकारको सुख थियो, धनको, यशको र सम्मानको । तिनको सन्तान थिएन, तर यस अभावलाई तिनले आफ्नो एउटा टाढाको भतिजोलाई पाली पूर्ति गरेका थिए ।

एक रात तिनी खाईपिई सुत्ने यत्न गरिरहेका थिए । तिनका मनमा धेरै-धेरै प्रकारको विचार आउन थाल्यो । तिनको जीवन कसैले असफल भन्न सक्तैन । सानोतिनो पूँजी पनि कमाइहालेका थिए; रुपैयाँ जम्मा गर्दा अरूहरूले गरेजस्तो रैतीहरूलाई पीर पारेनन् । तिनको कोही वैरी थिएनन्, यही तिनको सन्तोषको ठूलो कारण थियो । ४५ वर्षको यत्रो लामो जीवनमा तिनले कसैलाई आफ्नो शत्रु बनाएनन् । यस कल्पनाले तिनको तन्द्राको सुख बढाइरहेको थियो बेलामा तिनीमाथि लट्ठीको प्रहार पर्यो । संयोगवश लट्ठीको मुख्य चोट तिनीमाथि परेन । प्रहारकर्ताले तिनीमाथि प्रहार गरेको हो कि भित्तामाथि – यो छुट्याउन गहारो थियो ।

कृष्ण राय जुर्मुरिँदै उठे; तबसम्म आक्रमणकारी भागिसकेको थियो । ‘मलाई कसले यसरी आक्रमण गर्यो होला?’ तिनी विचार गर्न थाले । ‘यस जीवनमा मैले कसैलाई आफ्नो शत्रु बनाइनँ, झगडा-फसादमा रहिनँ ।’ कृष्ण रायलाई पैले त कसैले आक्रमण गरेको हो भन्ने कुरामा विश्वास भएन, सब तन्द्रावस्थामा भ्रमजस्तो लाग्यो; तर भित्तामा लागेरभाँचिएको लट्ठीको टुक्रा त भ्रम हुन सक्तैन । कृष्ण रायले बिछ्यौनाबाट निहुरीकन त्यस टुक्रालाई टिपे, हेरेर गम्न थाले ‘को मेरो शत्रु हुन सक्छ?’

धेर घोरिँदा तिनलाई यस रहस्यको सुइँको पाएको जस्तो लाग्यो । आजै बिहान एउटा काम बिगार्दा रामे भन्ने नोकरमाथि तिनी रिसाएका थिए । नोकरको के ठेगान, त्यसमा पनि भोटे नोकरको, झोँक उठ्यो होला र मालिकलाई हान्न हिँड्यो होला । नोकरसित झर्कँदा तिनले नोकरको मुख रातो भएको देखेका थिए । उनलाई के थाहा रिसले रातो भएको रहेछ । तर उनले केही अचाक्ली गरी रिसाएको थिएन, यत्रो पुरानो नोकरले त्यति हप्की पाउँदा मालिकलाई मार्न नहिँड्नुपर्ने । रामेले योभन्दा ठूलो-ठूलो गाली सहेको थियो, र आज झटनीले त्यसको धैर्यको अन्त नगर्नुपर्ने । तर मनुष्यको स्वभाव कसले जान्न सक्छ र ? रामे नभए अरू को मेरो शत्रु होला ? हो न हो, यो तिनको काम हैन बलभद्रको काम हो । कारण, अस्ति हिसाब गोलमाल गरी मालिकलाई ठग्न खोज्दा कृष्ण रायले तिनलाई फेला पारी लज्जित पारेका थिए ।

आखिर बलभद्रको समाजमाआदर थियो, गाउँलेहरू तिनलाई इज्जत गर्थे । कृष्ण रायले तिनलाई बेइज्जती गरेको तिनले सहन सकेनन् होला र आज राति बदला दिन आएका होलान् । कृष्ण राय विचार गर्दै थिए । अस्तिको नोकरी खोज्दै आएको युवकको ध्यान तिनलाई आउन थाल्यो । बिचरा खान नपाएर तिनकहाँ आएको थियो, काममा लाउन छोडेर तिनले उसलाई उपदेश दिन थाले । कुरामा कुरा चल्दा कृष्ण रायले उसलाई अप्रिय शब्द भने; त्यस युवकले यो निश्चय मन पराएन होला । त्यो बडो स्वाभिमानी होला जस्तो थियो, त्यस्तालाई कठोर शब्द असाध्य बिझ्छ र धेरै दिनसम्म ईख लिइरहन्छन् । कृष्ण रायको एउटा अत्यन्त नराम्रो बानी छ । आफूलाई अकलुषित र दुर्गुणरहित भनी ठान्ने कृष्ण रायलाई आफ्नो एउटा ठूलो दोषको सम्झना भयो । समय‍-समयमा तिनी अर्कालाई आदेश र सल्लाह दिइरहन्छन् । नाहक कृष्ण राय यस दुर्गुणलाई गुण ठानेर अङ्कमाल गरिरहेका थिए ।

कृष्ण राय धेरै झगडामा मध्यस्थ भएका थिए । यो बडो गर्वको कुरा हो; गाउँले तिनीमाथि नै विश्चास गरी तिनलाई झगडामा मध्यस्थ तुल्याउँथे । यसैले पनि तिनको गाउँमा धेरै सम्मान थियो । तर निश्चय नै यो कामले तिनलाई धेरैको मन नपरेको बनायो होला । एक दिनको घटना उदाहरणस्वरूप तिनको सामुन्ने आउन थाल्यो । गोविन्द पण्डितको र गोरे जमदारको खेतको झगडा धेरै दिनदेखि चलिआएको थियो, तर त्यस दिनको जस्तो कुटामारी कैले भएको थिएन । कृष्ण राय सदाको जस्तै मध्यस्थ भए र बानीले प्रेरित भए झैँ ती झगडियाहरूलाई झगडाको दुष्परिणाम बुझाउन थाले ।

हेर गोविन्द पण्डित, हेर गोरे जमदार, झगडा गरेर के लाभ, आपसमा मिल, खाऊपिऊ र ईश्वरको भजन गर । यति उपदेशमै तिनीहरू झगडा गर्न छोड्ने भए तिनीहरू कैले पनि झगडा गर्ने थिएनन् । तिनीहरू मिल्न मानेनन् र विचरा, मध्यस्थलाई कर लागेर गोरे जमदारको पक्षमा न्याय दिनुपर्यो । य झगडामा मध्यस्थ भएर तिनले निश्चय नै गोविन्द पण्डितलाई आफ्नो शत्रु बनाए होलान् । फेरि एउटा मास्टरको र कैयाँको झगडामा न्याय कैयाँको पक्षमा हुँदा मास्टरले रिसाएर भनेको थियो, “हेर्नुहवस् कृष्ण रायजी, फैसलालाई त म आफ्नो शिरमा राख्छु तर कैयाँ कैयाँ नै हुन् काम लाग्ने छैनन् ।” एउटा झगडामा सबभन्दा निर्दोष काम हो, त्यो झगडाको मध्यस्थ हुनु तर कुनै पनि मध्यस्थ दुवै पक्षको समर्थक हुन सक्तैन । मध्यस्थले एउटा न एउटाको शत्रु हुनैपर्छ – कृष्ण रायले बिउँझेझैँ यो ज्ञान आर्जन गरे ।

विचार गर्दागर्दै कृष्ण रायले रेलको डब्बामा भएको झगडा सम्झे; हाटमा तिनीद्वारा धक्का खाई लडेको एउटा मान्छेलाई सम्झे; तिनले निकालिदिएका नोकरहरूलाई सम्झे; गरिब तर इर्ष्यालु दाजु-भाइलाई सम्झे; जो तिनको उन्नति देखिसहँदैनथे । अरूको त के कुरा आफ्नै पोष्य पुत्रमाथि पनि उनलाई भरोसा थिएन । चाँडै नै सम्पत्तिको मालिक हुन उसले जे पनि गर्न सक्छ, आखिर आफैँले जन्माएको छोरो त …!

घटनालई बिर्सने प्रयत्न गर्दै कृष्ण राय निदाउने निहुँले बिछ्यौनामा बुङ्ग लडे । शत्रुता पनि कस्तो व्यापक सम्बन्ध रहेछ ? दुनियाँमा कोही पनि मित्र हुँदैनन् सब शत्रु सबै वैरी नै हुन्छन् । कसले भन्छ अकारण नै कोही शत्रु हुँदैन ? माने अकारण कोही कसैको शत्रु हुँदैन, तर झगडाको निहुँ कति सजिलै पाइन्छ । कृष्ण रायले धेरैसँग सङ्गत गरेनन्, तर जतिसँग गरे सबैलाई तिनीसँग ‘बाप वैर साध्ने’ कुनै न कुनै निहुँ दिए । कस्तो अचम्म निर्दोष कुरामा पनि विषालु साँपजस्तो वैनी बनाउने साधन लुकरहेको देखिन्छ !

भोलिपल्ट यो घटनाको जाँच हुँदा पुलिसको इन्स्पेक्टरले तिनलाई सोध्यो- “तपाईँलाई कसैमाथि शङ्का हुन्छ ?”

कृष्ण रायले गम्भीर भएर उत्तर दिए – “रामे, बलभद्र, केदार युवक, गोविन्द पण्डित, कन्हैया मास्टर, बुधे, लीला, पुष्पराज, रामचन्द्र पराजुली ।”