
(१)
‘भोक लागेर – दिदी, केही खाने कुरो देउन’ भन्दै एउटा सुन्दर बालकले प्रेमपूर्वक दिदीलाई अंगालो हाल्यो। पाठशाला-प्रत्यागत भाइको यो करुण स्वर, यो प्रेममय व्यवहारले अन्नपूर्णाको नेत्र सजल भई उठो। अज्ञान शिशुको नव पुष्प झैं सुन्दर शुभ्रमुखमा अजग्र चुम्बन गर्दै, अन्नपूर्णा अविरल अश्रुधारा बहाउन थाली। अबोध शिशुको यो सरल करुण-वाक्य सुनेर असहाय, अकिञ्चन अबलाको हृदय विदीर्ण भयो। भाइप्रति प्रेम र करुणा अश्रुरूपमा परिणत भई, शतधा त्यसका नेत्रबाट बहेर आत्मप्रकाश गर्न थाले।
साथमा फुटेको पैसा पनि छैन, जति भएको पूँजी निःशेष भयो। अन्नपूर्णालाई अन्त्यमा आफ्नो परिधेय वस्त्र औ अलि अलि भएका गहनाहरू बेची यो क्षुद्र संसार सञ्चालन गर्नुपस्यो। तर जहाँ नित्य व्यय मात्र हुन्छ, आयको चाहिँ नाम निशान पनि छैन त्यहाँ कुबेरको भण्डार पनि क्षय हुन्छ। यो क्षेत्रमा पनि त्यै दशा भयो। आज बिहान अन्तिम पैसाले भाइलाई मकै किनेर खुवाई पाठशाला पठाएर, स्वयं सारा दिन ‘निर्जला एकादशी’ धारणा गरेर, बेलुका भाइलाई के खुवाएर सन्तुष्ट गराउने हो, यही चिन्तामा विभोर थिई। पाठशाला प्रत्यागत क्षुधार्त्त मणिले करुण स्वरमा ‘भोक लाग्यो दिदी !’ भनेको सुन्दा र आफ्नो शोचनीय अवस्था सम्झँदा अन्नपूर्णाको कोमल कलेजा फाट्यो, आफ्नो दुःखावस्था औ असहायतामाथि साह्रो दु:ख भयो।
त्यसका नयनाश्रु असारका जल धारा झैं बहेर मणिको गण्डस्थल सिञ्चन गर्न थाले। सरल शिशु दिदीको यो अदूभूत आचरण देखेर विस्मित भयो। ‘मैले केही अप्रिय कुरो त भनेको छैन, दिदीको यो अस्वाभाविक क्रन्दनको कारण के हो ?’ मणि केही कारण आविष्कार गर्न नसकेर, स्वयं रुन थाल्यो। अन्नपूर्णा भाइलाई रोएको देखेर, अति कष्टसँग आत्मसंवरण गरी मणिको अश्रु पुछिदिँदै, कृत्रिम तिरस्कारपूर्वक भनी, ‘छि: ! मणि, लोग्ने मानिस भएर स्त्रीहरू झैँ रुन लाज लाग्दैन। मेरा आँखामा धुलो पसेर आँसु निस्कँदा लाटो झैं तँ पनि रुन थालिस्।’
अबोध शिशु दिदीको छलमय तिरस्कारले लज्जित अप्रतिभ भयो एवं कुनापटि फर्केर अश्रु पुछ्न थाल्यो। तर दिदीका आँखामा धुलो मात्र होइन र निकै ठूलो ढुंगा पस्यो होला भन्ने संशय मणिको मनमा धेरै दिनसम्म रह्याे। अन्नपूर्णाले बालकलाई यस प्रकार शान्त गराई कान्छी आमाको घरतिर प्रस्थान गरी। नहूनू जस्तो साह्रो केही छैन, अभावले हामीलाई सबै थोक गराउँछ । नाना र कमका नाच नचाउँछ। अभावले आज अन्तपूर्णालाई कहिल्यै नगरुँला भन्ने कार्य गर्न बाध्य गरायो। अभाव अभाव संसार अभावपूर्ण छ अभावको अभाव कतै छैन।
(२)
त्यति बेला दार्जीलिङ आजकलको झैं बृहत् शहरमा परिणत भएको थिएन। चारैपटि उन्नतिका लक्षणहरू दृष्टिगोचर हुन्थे। प्रवासी नेपालीहरूको जनसंख्या उत्तरोतर वृद्धि हुँदै थियो। कतिपय नेपाली युवाहरू जिल्ला स्कूलका उच्च श्रेणीमा पढ्दै थिए। अब छिटै यी युवाहरूले परीक्षामा उतीर्ण भएर नेपालीको मुखोज्जवल गराउलान् भन्ने विपुल आशाको संचार समग्र प्रवासी नेपालीहरूको हृदयमा भइरहेको थियो। एउटा क्षुद्र परिवार थियो। यस परिवारका राजा थिए, महाप्राण साधु प्रकृति चन्द्रसिंह र रानी स्नेहकी प्रतिमा शैल ; औ युवाराज निर्दोष, सरल एवं पवित्र बालक वीरेन्द्रसिंह। यो सानो परिवार सुख, शान्ति र तृप्तिको प्रेममय एउटा राज्य थियो। चन्द्रसिंह सामान्य वेतनभोगी कुनै एक अफिसका कर्मचारी थिए, शैल तिनकी साध्वी कमलास्वरूपा गृहिणी थिइन् औ बालक वीरेन्द्र टुहुरो भाइ।
स्नेहमयी शैलले स्वामीगृहमा पदार्पण गरेको दिनदेखि अनाथ वीरेन्द्रलाई मातुरूपमा पालन-पोषण गर्न थालिन्। हतभाग्य वीरेन्द्र भाउज्यूको त्यो आदार, यत्न र प्रेमले धन्य भयो। माताको अभाव अनुभव गर्ने अवसर त्यसले कहिल्यै पाएन। कार्यकुशला नारी दक्षता, सुव्यवस्था र अपरिमित यत्नले चन्द्रसिंहको उजाड परिवार सुशृङ्खला भई उठ्यो, लक्ष्मीको आगमनले चारैपटि सुख र शान्तिको प्रादुर्भाव भयो। दाज्यूको रक्षा र भाउज्यूको गम्भीर प्रेमको बीचमा वीरेन्द्रले आनन्दमय, विर्भावनामय बाल्यकालदेखि मधुर स्वप्नमय यौवनकालमा पदार्पण गन्यो। विलक्षण प्रतिभाशाली थियो यो बालक वीरेन्द्र स्कूलमा त्यसको उन्नति तथा तीक्ष्ण बुद्धिले सबै चकित थिए। अल्प समयमा नै त्यो स्कूलको उच्च श्रेणीमा पुग्यो। यसै बीचमा यो सुखनीडमा एउटा अतिथिको आगमन भयो। सुख र शान्तिका बीचमा जन्मिएकी कन्याको नाम शैलले ‘अन्नपूर्णा’ राखिन्।
यही समयमा वीरेन्द्र प्रवेशिका परीक्षामा ससम्मान उतीर्ण भयो ; शैलको हर्षको सीमा रहेन। अब छिट्टै देवरले ठूलो नोकरी पए भने ‘श्री सत्यनारायणको पूजा’ गर्छु भन्ने प्रतिज्ञा गरिन्। वीरेन्द्रले साँच्ची नै एउटा नोकरी पनि पायो औ शैलले परम उत्साहसँग ‘श्री सत्यनारायण व्रतकथा’ सम्पन्न गरिन्। शैल यतिले मात्र सन्तुष्ट रहिनन्। मानवी आकांक्षा असीम, अगम, अपरिमित हुन्छ। भरिसक्य विरोध गरेकोमा पनि केही फल नभएको देख्दा निदानमा वीरेन्द्रलाई भाउज्यूको एकान्त अनुनय एवं अनुरोध रक्षार्थ विवाह गर्ने सम्मति दिनुपर्ने। सुशिक्षित पात्रका निमित्त धनी गृहकी रूपवती कन्या पनि पाइन्! शैलले आनन्द र तृप्तिको दीर्घ निश्वास तानिन्।
अर्को साल शैलले एउटा पुत्र प्रसव गरिन्। प्रेममयी आनन्दमयी नारीको कार्य पूर्ण भयो। एउटा उजाड संसारलाई प्रेम, प्रीति र पवित्रताले सिञ्चन गरी सुचारु बनाई, पतिको काखमा शिर राखेर तिनले सतीलोकको यात्रा गरिन् ।
छ: महीनापछि चन्द्रसिंह पनि परलोकवासी भए।
(३)
पद्मा धनी कन्या, पद्मा असामान्य रूपवती, पद्मा विदूषी थिई, साथैमा त्यसलाई ‘धनजनयौवन’- को अत्यधिक घमण्ड पनि थियो। वास्तवमा त्यसको हृदय स्वच्छ थियो, दयाको अङ्कुर पनि त्यहाँ अवश्य थियो, तर मद आधिक्यले यी सबै कोमल भावहरूले आत्मप्रकाश गर्ने, विकसित हुने अवसर पाएका थिएनन्, पिता समान जेठाज्यूको आदर औ मात्रूपा जेठानीको गंभीर प्रेमले पनि त्यसको यो स्वभाव दूर भएन । दुर्गुणबाट असल कुरो कहिल्यै उत्पन्न हुँदैन। प्रेमले प्रेम बढाउँछ, तर घृणाले घृणाको वृद्धि गराउँछ। गर्वबाट ईर्ष्या पैदा भयो औ यो ईष्याका पात्र हुन गए, अनाथ-बालक बालिका मणि औ अन्तपूर्णा ।
वीरेन्द्रसिंह शान्तिप्रिय मानिस थिए, तिनको हृदय शिशुको झैं सरल, स्वच्छ ममतापूर्ण थियो। दाम्पत्य जीवनको विषयमा तिनको मत अनौठो थियो। ती पाश्चात्य सिद्धान्तका पूर्ण पक्षपाती थिए। तिनको विवहा भाउज्यूको चेष्टा र अनुरोधले भएको थियो, अतएव तिनको विवाहित जीवन सुखमय थियो, यो कुरो शपथ गरेर भन्न सकिँदैन। पद्माको गर्व र विलासिप्रियता तिनलाई असहनीय बोध हुन्थ्यो, तर नितान्त शान्त प्रकृतिका मानिस हुनाले स्त्रीका कार्यमा हस्तक्षेप कहीं-कतै गर्दैनथे। भगवती वाणीका एकनिष्ठ साधक तिनको अधिकांश समय पुस्तकावलोकनैमा व्यतीत हुन्थ्यो।
यस प्रकार स्वामीप्रेम तथा सहानुभूति वञ्चित पद्माको क्रोध पर्न गयो, दुइजना निर्दोष प्राणीमाथि। मद र क्रोधले चूर भएकी नारीले अति जघन्य कार्य पनि गर्छ। मणि र अन्नापूर्णालाई आफ्नी कान्छीआमाका हातमा नित्य नाना निर्यातन सहनुपर्याे। अन्त्यमा अत्याचारको मात्रा अत्यधिक भयो। बिस्तार-बिस्तार कुराहरू वीरेन्द्रका कानमा पनि परे तर शान्तिप्रिय वीरेन्द्रले व्यर्थमा विवाद गरेर स्त्री-कोपनलाई उत्तेजित गराउन मुर्खता ठानेर और गृहकार्यमा पुरुषहरूभन्दा स्त्रीहरू अधिक निपुण हुन्छन्, यो स्थिर गरेर मौनावलम्बन गरे। शीघ्र नै पुस्तक पाठमा मग्न भएरयो कुरो प्राय: भुलिगए।
सहिष्णुताको पनि एउटा सीमा छ। अन्नपूर्णाले अन्त्यमा कान्छीआमाद्वारा यस प्रकार लाञ्छित, अपमानित तथा निपीडित भएर, टुहरो भाइलाई लिई शरीरमा भएका एक दुइवटा गहनाहरूमाथि सम्बल गरी पितृगृह परित्याग गरी । वीरेन्द्रले व्यर्थमा सम्झाउने र सन्धि गराउने चेष्टा गरे, तर कुनै दलले पनि तिनको वचन कर्णपात गरेनन् !
अन्नपूर्णाले यसरी सभ्राता गृहत्याग गर्दा पद्माको हृदयमा कष्ट ता यथेष्ट भयो, तर मदोन्मत थिई, कर्तव्याकर्तव्यको केही ज्ञान थिएन। त्यसैले अन्नपूर्णालाई सम्झाउने प्रयत्न गरिन, असहाया बालिका पितृगृह छोडेर कहाँ जाली, के गर्ली, केही विचार पनि गरिन।
(४)
अन्नपूर्णा साक्षात्-अन्नपूर्णा प्रेम, दया, धैर्य सबै गुणले युक्त थिई। महाप्राण पिता चन्द्रसिंह औ माता स्नेहमयी शैलबाट राम्रा राम्रा गुणहरू प्राप्त गरेकी थिई। असामान्य धैर्य र सहिष्णुतासँग त्यस्तै कान्छीआमाको अत्याचार, उत्पीडन सहन गरी गोरुले जस्तो काम गरी, कति दिन अनाहार बिताई, तर कहिल्यै मुखबाट नराम्रो वचन निकालिन, कान्छीआमाको आज्ञा उल्लघन गरिन। एक दिन त त्यसको धैर्यकाे सीमा टर्याे ; चार वर्षको निर्दोष भाइप्रति कान्छीआमाको जघन्य व्यवहार त्यसले धेरै दिन सहन गरी, तर अबोप्रान्त सहन गर्ने शक्ति त्यसको हृदयमा रहेन। अत्यधिक भयले भीरुलाई पनि वीर बनाउँछ। एकदिन टुहुरो भाइलाई अघि लगाएर अन्नपूर्णाले पितृगृह परित्याग गरी।
एउटा दूरसम्पर्कीय फुपूको घरमा मणिलाई लिएर अन्नपूर्णा अति दुःख र कष्टसँग तर पराधीन होइन, स्वाधीन अवस्थामा दिन बिताउन थाली। विधवालाई अति कष्टसँग दुइ साँझ खान जुर्थ्यो, यी दुइजनाको आगमनले बुढिया संकटमा परिन् । अन्त्यमा अन्नपूर्णालाई नै यो संसारको भार आफ्ना हातमा लिनुपर्याे। अति कष्टसँग त्यसले यो क्षुद्र संसार चलाउन थाली। तर हाय ! असहाय, अशिक्षिता, अबला कहाँसम्म के गर्न सक्छे ? आज बिहानदेखि अगेनामा आगो जलेको छैन। अन्नपूर्णा स्वयं अनाहार रहेर फुपू र भाइलाई केही खुवाई, अब भरे के खुवाउने हो, यही चिन्तामा मग्न थिई क्षुधार्त्त भाइको त्यो करुणार्द्र स्वर सुनेर, त्यो मलिन मुख हेरेर आत्मसंवरण गर्न सकिन। दया र करुणाले आत्माभिमानलाई पराजित गरे। आज प्राय: छ: महीनापश्चात् कान्छीआमाको गृहमा अन्नपूर्णा गई उपस्थित भई।
पद्मा सूचीकार्यमा तन्मय थिई अन्नपूर्णा साम्नेमा आएर उभिएकी देखेर पनि नदेखेझैँ गरी परम एकाग्रतासँग आफ्न कार्यमा मनोविवेश गरिरही। अन्नपूर्णा कान्छीआमाको यो निर्दय व्यवहारले साह्रै दुःखित भई, यतिका दिनमा भेट हुँदा पनि कान्छीआमाको यो पाषाणीवत् व्यवहार ! त्यसको हृदय क्षेभ र ग्लानिले पूर्ण भयो। यो पद्मा ? पद्माको स्मित मुखमण्डल हेर्दा हेर्दै आपत शुष्क पद्माझैँ परिम्लान भैसकेको थियो। त्यसका नेत्रद्वयमा एउटा उत्कट वेदनाको तीव्र आभास, छातीमा अकस्मात् ठूलो व्यथा भयो भने मात्र शायद त्यस त्रस्त व्याकुलता आँखाको दृष्टिमा देखिन्छ ।
‘कान्छीआमा !’ कसको कण्ठले यो शब्द उच्चारण गर्याे ! बोध हुन्छ, अति दूर दूरान्तरबाट कसैको चिरपरिचित स्वर-लहरी, क्षीणभन्दा पनि क्षीणतम, बिस्तार बिस्तार भासिँदै आउँदैछ ! तर, तर त्यो कुरो शेष भएन, अन्नपूर्णाको कण्ठरुद्ध भयो, आँखाका साम्ने अँध्यारो भयो औ त्यो कोमलाङ्गी छिन्नवल्लीझैँ, अचेत भएर कान्छीआमाको साम्ने लडी। पद्माको हृदय गलिसकेको थियो।
त्यसलाई धेरै दिनदेखि अनुशोचना एवं पश्चाताप भैरहेको थियो। कति फेरा गएर मणि र अन्नपूर्णालाई सम्झाई, बुझाई घरमा ल्याउने संकल्प पनि गरिथिई, तर पापी घमण्डले वारम्वार वाधा दिन्थ्यो। तर आज दीन, मलिनवदना अन्नपूर्णालाई अनेक कालपछाडि देख्ता नारी हृदयको मातृत्व जागृत भयो। अन्नपूर्णाको शिर काखमा राखेर ल्याउने प्रयत्न गर्न थाली। आखिर पद्याको हृदय स्वच्छ निष्कपट थियो।
अन्नपूर्णा होशमा आएर विस्मयविस्फारित नेत्रले चारैपटि हेर्न थाली, औ आफूलाई एउटा स्वच्छ सुन्दर कोठामा एउटी सुन्दरीको काखमा पाएर अत्याश्चर्यित भई। पद्माका नेत्रबाट अविरल अश्रुधारा बहिरहेका थिए, ग्लानि र अनुशोचनाले त्यसको हृदय दुग्ध भइरहेथ्यो। आफ्नु पूर्वकृत्य वारम्वार धिक्कार्दै थिई। घमण्डको जड त्यसको हृदयमा समूल नष्ट भयो औ त्यहाँ कोमल भावहरूको विकास भयो। अन्नपूर्णाले उठ्ने चेष्टा गरी, पद्माले वाधा दिएर अति करुण स्वरमा भनी – ‘पूर्णा ! ऐल तँ साह्रो निर्बल छेस्, उठ्ने चेष्टा नगर!’ कान्छीआमाको यो आयाचित स्नेह, यो निष्कपट, प्रेममय व्यवहारले अन्नपूर्णा ठूलो विस्मयमा परी। साथैमा त्यसलाई ठूलो हर्ष पनि भयो। कान्छीआमाको मनबाट हामीप्रति ईर्ष्या, क्रोध सबै दूर भएछ, योभन्दा ठूलो हर्षको कुरो के हुन सक्छ ? अन्नपूर्णाका नेत्रमा आनन्दको ज्योति चम्कन थाल्यो। कृतज्ञ दृष्टिले कान्छीआमाको मुखपट्टि हेरेर मुस्कान गरेर, कान्छीआमाको हात आफ्नु गालामा राखी।
उच्छुवसित कण्ठले हर्ष र विषादको अश्रु बहाउँदै पद्माले भनी – ‘पूर्णा, म अभागिनी, म पाषाणी मैले भूल गरेँ, पाप गरेँ क्षमा . . .’ अन्नपूर्णाले वाक्य शेष हुन दिइन, कान्छीआमाको मुख आफ्नु कोमल हातले छोपिदिएर, क्षीण कण्ठमा भनी – ‘कान्छीआमा, पापिनी म, अभागिनी म हुँ। दोष मेरो हो, घर छोडेर . . .’
पूर्णाको वाक्य पनि अपूर्ण रह्यो। त्यसै अवसरमा मणि पनि दिदीलाई खोज्दै त्यहाँ आइपुग्यो। ‘दिदी ! दिदी ! खोइ ?’ भन्दै ‘आकुल-परन’ बालक भित्र पस्यो। पद्याले मणिलाई गाढा आलिंगनमा बद्ध गरेर वारम्वार मुखचुम्बन गर्दै गद्गद् कण्ठमा भनी – ‘हृदयमणि, नयनमणि, मणि ! दिदी यहीं छ।’
बाहिर आँगनमा बसी, क्षणभरमा नित्य पुस्तक पाठ गर्न पनि विस्मृत भएका शान्तिप्रिय पुलकित तनु-आनन्दाश्रुपूर्ण वीरेन्द्र त्यो मधुर मिलन, त्यो नयनाभिराम दृश्य देखेर कृतार्थ भए।
= = =
याे कथा किन पहिलाे आधुनिक हाे, डा. अशोक थापाकाे खाेजअनुसन्धान…
(साहित्येतिहासको पुनर्लेखन जरुरी…

डा. अशोक थापा
कुरा अविश्वासबाट सुरु गरौँ – इतिहास सधैँ सत्य घटनामा मात्र आधारित हुँदारहेछन् । कतिपय अप्रमाणिक तथ्यहरू पनि इतिहासमा घुस्दारहेछन् । के त्यसो भए इतिहास भनेको अनुमोदित झुटहरू अभिलेखन हो त ? यसमा आंशिक सत्यता छ । नेपाली साहित्यको इतिहास हेर्दा त्यस्तैत्यस्तै अनुभूति हुन्छ जहाँ शक्ति र सामर्थ्यको जयजयकार अधिक पढ्न पाइन्छ । इतिहासलेखनमा पूर्वाग्रहको हस्को आएको प्रतीत हुन्छ । यसर्थ साहित्य इतिहासलेखनमा हेरफेरको ढोका सधैँ खुला राख्नुपर्दछ । यसो भनौँ न ‘साहित्यको इतिहास उपलब्ध सामग्रीको एकसरो व्याख्या भएकाले यसलाई पुनर्लेखन र पुनर्प्रमाणीकरण गर्नु वाञ्छनीय छ ।’
नेपाली साहित्यको अन्य विधाकोजस्तै कथाको इतिहास पनि एकपक्षीय लाग्छ । गुरुप्रसाद मैनालीको ‘नासो’ (१९९२) बाट कथालेखनमा आधुनिकता भित्रिएको मानिन्छ । नासो जत्तिकै आदर्श र यथार्थको मिश्रण भएको रूपनारायण सिंहको कथा ‘अन्नपूर्णा’ मैले मदन पुरस्कार पुस्तकालयमा सुरक्षित शूक्ष्मछवीकरण (माइक्रोफिल्मिङ) रिलमा पढेको थिएँ । यो एक दशक अगाडिको घटना हो जुन कथा वि.सं. १९८३ मा देहरादुनबाट छापिएको साप्ताहिक पत्रिका ‘गोर्खा संसार’मा प्रकाशित छ । यो कथामा प्रस्तुत भएको विचार आधुनिक छ । कथालेखनको प्रविधि (टेक्निक) आधुनिक कथाको रचनाविधान सापेक्ष देखिन्छ । अझ कथाको उठान (ओपनिङ) र बैठान (इन्डिङ) नासो भन्दा पनि बेजोड छ । यस कथालाई सूक्ष्मपठन गर्ने हो भने आधुनिक नेपाली कथाको इतिहास एक दशक अगाडि नलम्बिन पर्ने कुनै कारण देखिँदैन । अब इतिहासलाई हेर्ने एकाङ्गी आँखा बदल्न जरुरी छ । इतिहासलेखनको मात्र समतलीय सोच त्याग्न जरुरी छ । नवइतिहासवादले स्थापना गरेका युग-सन्दर्भलाई विशेष अनुसरण नगरी नहुने देखिन्छ । नेपाली साहित्यको इतिहासको पुनर्लेखन गर्न ढिलो गर्नु हुँदैन र रूपनारायणहरूलाई अन्याय हुनदिन हुँदैन ।)
डा. अशोक थापा, नेपाली केन्द्रीय विभाग त्रि.वि.का प्राध्यापक हुन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

