
‘टङ्कबहादुर !’
‘हजुर सर … ।’
‘चिसो पानी ले त ।’ अह्रायो लेखापालले ।
स्फूर्त टङ्कबहादुर पुग्यो पानी लिएर । ‘मलाई होइन उहाँलाई ।’ इसारा गर्छ लेखापाल सुनको चापटे चेन झुन्ड्याउने व्यक्तितिर । व्यक्तिको पोक्चे अनुहारले घोच्यो, टङ्कबहादुरको कोमल मनलाई । दिनहुँ देख्थ्यो, यस्ता मान्छे र भ्रष्टाचारी अधिकारीका बिच भएका अनैतिक कार्यहरू । यस्तै दृश्यले टङ्कबहादुर तातिइरहन्थ्यो । तर के गर्ने मन त छ नि निकृष्ट खेललाई तगारो हाल्ने । उपाय माले ।”
‘टङ्के !’ सम्बोधनले छिन्यो उसको अन्तर विद्रोहको आवेग ।
नामोच्चारण गर्ने टेबलमा उपस्थित हुन्छ ।
एक बिटो कागज दिँदै खरदार – “दुई सेट फोटोकपी गरेर फाइलिङ गर ।’
कम्प्युटर इन्जिनियर साफी गर्या कागज दिँदै – ‘पहिला हाकिमलाई यो कागज दे त ।’
‘टङ्क भाइ ! भरै दश किलो चामल दोकानबाट मेरो डेरामा पुर्याइ देऊ ल ?’ खरदारको विनायामको प्यारो शब्द फुट्दा मनमनै भन्यो —‘काम खाने चिप्ले ।’
यस्तै कार्यालयको कार्य प्रवृत्तिले ऊ भित्र तातो हुरी चलिरहन्थ्यो, तर हुरीले रद्दी टोक्रीको एक टुक्रो कागजसम्म उडाउन सकेको थिएन ।
पहुँचवाला ऊ जस्तै कर्मचारीहरू जाडोमा हिटर र तातोमा ए.सी.मा रमेका हुन्थे । गाडी दगुर्थ्याे दुई किलोमिटर दुई सय पचास ग्राम केराउ किन्न । चालक महासय आफ्नै इच्छाले किलोमिटर लेखेर तेल र मोबिलको फाल्तु पैसा लिन्थ्यो । सरकारी धन, हुती पुगे जति खन्छस् खन् । तर कुनैले खानु जानेर पचाउनु नजान्दा जागिर खोसिएर मामाघर हेर्न पर्दा घमाइलो हुन्थ्यो टङ्कबहादुरको आत्मा ।
आफ्नो स्तरलाई सोच्थ्यो साह्रै नमिठो पद, झरी यही माथि, घाम जुन यही माथि, हिउँ-तुसारो र शीत यही माथि ।
समय फेरिएर होला अलिक पर्दैन, हाकिमको सागसब्जी बोक्न, कुखुरा काट्न, मसला पिस्न, धोबीकोबाट लुगा स्त्री गरेर ल्याउन । तर अरू विभागमा त्यहाँ जस्तो मनपरी थिएन ।
मध्याह्न तिर अर्को कार्यालयमा चिठ्ठी पुर्याएर आको । स्टुलमाथि बसेर निधारको पसिना पुछ्न भ्या’छैन हाकिमको घण्टी बज्यो । ‘हजुर सर !’ भन्दै दैलो उघारेर हेर्यो ।
‘क्यासियर सरलाई बोला त ।’ हाकिमको आदेश ।
काम सकेर स्टुलमाथि बस्यो र गालाको मयल माड्दै हेर्छ । महिला सहायक कर्मचारी फूलमाया दोक्चे ठेकेदारसँग पैसा माग्दै छ, फायल खोजेर निकालिदिएँ भन्दै । त्यसपश्चात् दुवै बार्दलीतिर गा’थे के भो थाहा भएन टङ्कबहादुरलाई । हिँड्न लागेको उही ठेकेदारलाई रामलाल सहायक कर्मचारीले तेस्रो पल्ट सलाम ठोक्यो । ठेकेदारले रामलालको पासवर्ड बुझेर एउटा नम्बरी दिएर गनगनाउँदै हिँड्यो, ‘चोटादेखि सङ्घारसम्म धूप दिएर के सक्नु । महिनै जस्तो समानको भाउ बढ्छ । बन्द, हडतालले काम हुँदैन, चन्दाको एलर्जी अलग्गै छ । भूमिमाथिबाट भूमिमुनिका सम्मलाई खुस राख्न पर्छ । अर्थी उठाउने देखि मान्छे जुटाउने समेतलाई, चन्दा दिन पर्छ । अनि हामीले कसरी दिने गुणस्तरीय कार्य ?’
एक दिन बाटोमा दुई जना कुरा गर्दै थिए, ‘तपाईँलाई थाहा छ, म यहाँ सरुवा हुन ठुलै चारो दिएर आ’छु, ठुला माछाहरूलाई । महिनै पिच्छे मझौला माछा सम्म कमिसन नपुर्याए अर्कोतिर फ्याँकिने डर छ ।’
‘साँच्चै हामी भ्रष्टाचारी बन्न विवश छौँ । घरको सदस्य समेत ल्याकतभन्दा बाहिरका फर्माइस् गर्छन् । पूरा भएन कि मनमुटाव सुरु । छिमेकीका उदाहरण दिँदै, पवित्र आत्मालाई दागी बनाउने तिर लाग्छन् ।’ अर्कोले आफ्नै विवशता पोख्यो । टङ्कबहादुर उनीहरूकै पछि पछि जाँदै थियो डेरातिर ।
‘साँच्चै मान्छे विवश हुन्छन् भ्रष्टाचार गर्न ?’ टङ्कबहादुरको मनमा खुल्दुली मच्चियो उनीहरूका कुरा सुनेर ।
‘फूलमायाले झैँ मुहान भेट्न पा’पो !’ रामलाल आफ्नै चित्त नबुझ्या कुरा गर्छ ।
‘ए रामलाल !’ टङ्कबहादुरले भन्यो, ‘परायाको पैसासँग वायुसँगै आको हुन्छ र दुःख दिन्छ, घुस लिनेको घरमा । चित्त ठुलो पार राम्रो निद्रा लाग्छ । छोराछोरी सप्रिन्छन् ।’
‘घुस दिएर कालो कामलाई गोरे बनाउनेलाई के भन्छस् ?’
‘गोरे बनाउन होस् या टुकी धागोको आन्द्रो निकालेर माग्ने घुस होस् । घुस खान भएन ।’
‘लौ तँचाहिँ जप्तै गर इमानदारीको माला’ भन्दै रामलाल दगुर्छ अग्ले ठेकेदार आ’को देखेर ।
‘ए टङ्के !’
‘किन सर !’
‘फूलमायालाई पानी दे त ।’ फाँटवालाको स्वर ।
भेदभावको बलुले टङ्कबहादुरको आत्मा झन् कसियो । ‘जो पनि पेल्ने सोझो पाए । त्यो मोटी कुन चाहिँ हाकिमनी हो, मैले पानी लगेर दिनू।’ मनमनै भुत्भुतिँदै पानी दिँदै भन्छ, ‘फूलमाया अलिक जीउलाई झाँट । फेरि अभिशाप बन्ला नि भतुवा मासु ।’
‘टङ्क दादा कसरी घट्छ यो जीउ ?’
‘कुर्सीमा मात्रै जम्न हुँदैन, अलिक फुर्ती हुनु पर्छ ।’
‘मोर्निङ्वाक गर्छु र पनि घट्दैन मोटोपन ।’
‘मोर्निङ्वाकसँगै वार्कवाक गर्नु पर्छ र पो घट्छ । कुमारीलाई देखेकी छौ ? एक्लै भियाउँछे त्यत्रो कार्यालय । अनि ऊ सुस्वास्थ्य नभए को हुने ? बेलैमा फेर व्यक्तिगत सभ्यतालाई । फेरि कुनै रोग लाइफ टाइम नबनोस् ।’ भन्दै टङ्कबहादुर हिँड्यो हुलाकतिर ।
सधैँ झैँ यसपालि पनि कठोर जाडोलाई फ्याँक्न स्टुलमाथि टुसुक्क बस्यो टङ्कबहादुर । बाबुहरू भने तातो हावा फुक्ने हिटर ताप्न मस्त थिए । फूलमाया अझै मोटाकी छे । रामलालको ट्याम्के भुँडी अलिक उक्सेको थियो । खरदारसँग अर्को विभागको सुब्बा आएर गफ लडाउँदै थियो, घरायसीदेखि राजनैतिकका मैदान सम्मको ।
‘टङ्कबहादुर !’
‘हजुर सर !’
‘मनतातो पानी ले त ।’
‘एउटा कुरा भनौँ सर ।’
‘भन् ….।’
‘तपाईं छेउमै रामलाल र फूलमाया हिटर ताप्दै छन् । छेउकालाई नअह्राई मलाई अह्राउनुको कारण के हो ?’ टङ्कबहादुरले पक्षपातको मुखौटो च्यात्ने प्रयास गर्यो ।
‘चुप लागि पानी ले हामीलाई पाठ नसिका ।’
‘आज म मेरै मात्र श्रमशोषण किन गरिँदै छ ? बुझेरै छोड्छु । यहाँ भइरहेको कमिसन प्रवृत्ति, नातावाद र कृपावादको फस्टाउँदो कार्यशैलीको प्रयोजन के हो ? म यहाँ मात्रै होइन केन्द्रसम्म गुञ्जाउँछु ।’ टङ्कबहादुरको तर्कसँगकाे भनाइले सबै छक्क परे । टङ्कबहादुर अझै भन्दै छ, ‘हाकिमसँग यो प्रश्न राख्छु । समाधान भएन भने पत्रकार भेला पारेर भण्डाफोर गर्छु ।’
‘मुखले भने झैँ सजिलो हुँदैन आरोप लाउन ।’ लेखापाल हलमा आएर भन्छ ।
‘साक्षी म छँदै छु । छानबिन आयोगमा उजुर गरेर बाबुहरूको सम्पत्ति जाँच भो भने छुट्टिहाल्छन् दूध र पानी । मलाई भेदभावपूर्ण श्रम शोषणले भन्दा अझै राष्ट्रिय सम्पत्ति चुस्दै, कुकर्मको बल्छीले तान्दै देशलाई लुरे बना’ परिस्थितिले सिस्नुपानी लगाइरहेछ । देश लुट्नेका डोके हो होसियार । समय आउँदै छ, ढिला सुस्ती र भ्रष्टाचारीको कुसंस्कार निर्मूल पार्न ।’
‘ए टङ्के ला, पाँच सयको मासु लगेर खाओ, सबै परिवार मिलेर । तैँले भने झैँ यहाँ स्वच्छ र इमानदारीपूर्ण कार्यभन्दा अरू केही हुँदैन ।’ भन्दै सुब्बाले पाँच सयको नोट दिन खोज्यो ।
‘मलाई भ्रष्टाचारी खुकुण्डी हरक आउने पैसाले छाद आउन खोज्छ । सरकारले दिएको पैसामा घर परिवार चलाउन सिकेको छु । मसँग टाउको भन्दा ठुलो टोपीको सपना छैन ।’ टङ्कबहादुरको कुरो सुनेर खरदारले पैसा गोजीमा राख्यो ।
‘तँ जस्तो इमानदार मान्छेको धेरै खाँचो थियो । तर ठर्रा तान्नेलाई ह्विस्की मन पर्दैन भने झैँ हो ।’ कटाक्ष गर्छ सुब्बा ।
‘मरेर पनि बेसारे चीललाई झैँ थुकिमाग्नु छैन । इमानको रुखमा बसेर काकाकुलले झैँ कराउनु राम्रो लाग्छ मलाई ।’ टङ्कबहादुरले छाती फुकायो ।
‘उप्रान्त तैँले भेदभावपूर्ण शैलीको महसुस गर्ने छैनस् । न तेरो स्वाभिमानलाई प्रतिघात हुने कार्य हुने छ । यो कुरा हामी हाकिम साहेबसँग राखेर तेरो इमानदारी कामको सम्मान गर्न पनि आग्रह गर्ने छौँ । पोहोर साल तैँले पाउने पुरस्कार अर्कोलाई पर्यो । हामी एउटै घरको परिवार मन चिसो राख्न हुँदैन … ।’ सुब्बाको कुराले टङ्कबहादुरको वीरबहादुर मत्त्थरियो । र दुई दिनको बिदा लिएर घरतिर हाँकियो ।
टङ्कबहादुर कार्यसमय अगाडि नै कार्यालय आइपुग्यो । सूचना पाटीमा नयाँ कार्यालय आदेश झुन्डेको देखेर कौतूहल जाग्यो र त्यहाँ पुगेर हेर्दा झसङ्ग भयो । लगत्तै ऊभित्र एउटा उमङ्ग पसेर नाच्न थाल्यो । आफैँलाई परिवर्तन पायो । फेरिएको झैँ लाग्यो । उसको हिम्मत र सचेतनाले टुप्पो छुवायो ।
आफ्नै शरीरलाई छामेर भन्यो, ‘गाँठे ! म पनि हान्ने गोरु पो भएछु । साह्रै सुधो गोरुलाई केटाकेटीले पनि जोत्छन् । गोरु जोतिनु मात्रै होइन, दुहुनो भैँसी र उसलाई छुट्याएर घाँस दिने गोठालोलाई दप्काउन पनि पर्दो रहेछ । फूलको सुवासमा कहिलेकाहीँ विष पनि घोलियो भने मालीले एकपल्ट सोच्न पर्थ्यो फूल टिप्नअघि ।’
होहल्ला गरी कार्य व्यवधान गरेको हुनाले निज टङ्कबहादुरलाई दुर्गम क्षेत्रको कार्यालयमा स्थानान्तरण गरिएको छ भन्ने कार्यालयबाट आदेश निक्लेकाे थियाे । यसरी सरुवा गराइएको थियो, टङ्कबहादुरलाई ।
टङ्कबहादुरले रमाना पत्र बुझ्यो । त्यो बेला सबै कर्मचारीहरू हलमा आएका थिए, मूर्ख टङ्केले के गर्दो रहेछ भनेर । तर ऊ हाँस्दै हाकिमको कार्यालयबाट निस्केको देख्दा अन्यलाई असहज लाग्नु स्वाभाविकै थियो । ठिङ्ग उभिएर भन्यो ‘सबैलाई सामूहिक प्रणाम ! मैले जे गरेँ, त्यो धेरैअघि नै गर्न पर्थ्यो । फलतः मैले लामो मानसिक पीडा भोगेँ । तर अर्को मनको चाक्लोमा खुसी छु, लाटो भएर यहाँको चरित्रहीनतालाई टिपोट गर्न पाएँ । म ती टिपोटहरू कुनै बेला पनि जस्तै विपरीत समयमा पनि मजाले वाचन गर्न सक्छु । यो अल्प बोल्ने बहादुर अलिक गफाडी भएर जाँदै छु, अर्का साथीहरूका माझ । तुच्छ सरुवा संस्कृतिले मेरो चेतनालाई कलम गर्न सक्तैन । बरु म जस्तै इमानदार पृष्ठभूमिमा यो चेतनाको बेर्ना सार्छु । कमिसनखोरी, भ्रष्टाचारी, नातावाद, कृपावाद र ढिलासुस्तीको विरुद्ध घाम छेकेर उठ्नेछन् न्याय प्रेमीहरू, एक दिन । म अनुनय गर्छु तपाईँहरूले पनि समयमै फेर्नुहोस् आफ्ना कार्य संस्कृतिलाई । र म सधैँ पर्याप्त रहनेछु राष्ट्र हितको सुकार्य गर्न ।’
आकस्मिक ताली पड्कियो ।
आज टङ्कबहादुर एक डोको ओढ्ने ओछ्याउने बोकेर उकालो चढ्दै थियो, सरुवा भएको गन्तव्यतिर ।
बाबुहरू लगायत हाकिम समेतले ठोकेको ताली उपहासको थियो या समर्थनको … ? ताली सकारात्मक थियो या नकारात्मक मजा दुवैमा थियो ।
टङ्कबहादुरले डाँडाको थाप्लोमा डोको टेकाएर यस्तै सोच्यो, स्वच्छ हावासँग रम्दै ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

