एक मान्छे । अर्को मान्छेद्वारा निर्मित मान्छे । ब्रह्माण्डको मृत्युपछि मान्छेले मान्छेद्वारा निर्मित मान्छेलाई भन्यो- हामी प्रतिब्रह्माण्डमा आइपुगेनौं । मान्छेद्वारा निर्मित मान्छेले बुझ्यो- हो, उनीहरू प्रतिब्रह्माण्डमा आइपुगेनन् । यदि आइपुगेको भए उनीहरू कम्तीमा पनि स्वरूपहरूमा विनष्ट भइसक्थे ।
तब उनीहरू कहाँ आइपुगे ? दुवैले सोचे । मान्छेले मस्तिष्कका जैविक न्युरोनहरूमा । मान्छेद्वारा निर्मित मान्छेले मस्तिष्कका धात्विक न्युरोनहरूमा । शून्यातानुभूति दुवैलाई भयो । तर दुवैले एकअर्कालाई भन्न सकेनन्, अनुभूतिको शून्यता पदार्थगत थियो कि अपदार्थगत । त्यही मनस्थितिमा दुवैले चुपचाप ब्रह्माण्डको मृत्युप्रक्रिया अवलोकन गरिरहे,
जसको सामूहिक मापन गर्न उनीहरू पूर्ण रूपले असमर्थ थिए। ब्रह्माण्डको मृत्यु समयको पनि मत्यु थियो ।
पृथ्वीको वातावरणयुक्त ब्रह्माण्डभेदी यान पक्का इगोट्रोनिक गतियुद्ध । प्रकाश र ट्रयाम्योन गतिहरूमा यो यात्रा सम्भव थिएन, मान्छेले बुझ्यो । मान्छे बुझेको कुरा मान्छेद्वारा निर्मित मान्छेले बुझ्न सक्थ्यो ।
“मानिसमा, म गर्व महसुस गर्न सक्दिनँ । तिमी सक्छौ ?’ ब्रह्माण्डको मृत्युप्रक्रिया अवलोकन गरिरहेको मान्छे एक प्रश्नात्मक पीडा उभियो ।
“कुन सन्दर्भमा ?’ मान्छेद्वारा निर्मित मान्छे उभिएन तर, ढुक्कसित बसी पनि रहेन ।
“यही सन्दर्भमा कि ब्रह्माण्डको मृत्युपछि पनि जीवित म एक मात्र मान्छे हुँ र तिमी एक मात्र निर्मित मान्छे हौ ।” मान्छे पीडा उभिएन मात्र,चुलियो पनि । मान्छेद्वारा निर्मित मान्छेले अन्तिम मान्छेको प्रथम दुःख आत्मसात गर्यो । “गर्व गर्न पृथ्वी चाहिन्छ, जुन हामीले गुमाइसकेका छाैँ,” र भन्यो ।
दुवै द्रवीभूत भए । दुवै रोए । मान्छेले आफ्नो आँसुलाई सक्कली ठानेन । मान्छेद्वारा निर्मित मान्छेले आफ्नो आँसुलाई नक्कली ठानेन । समयहीन । ब्रह्माण्डविहीन । उनीहरूले रोइ मात्र बस्ने फुर्सद पाएनन् ।
“मानिमा !” अकस्मात् मान्छे करायो, ‘युरेका, आर्किमिडिज शैलीमा म गर्व गर्नुपर्ने स्थितिबोध गर्दै छु ।’
“किन र,” सोध्यो मान्छेद्वारा निर्मित मान्छेले पारमाणिक विद्युत् विस्मयमा, आँसुहरू वाष्पीकृत हुँदै ।
“अब हामीले शोक मनाएर ब्रह्माण्डको मृत्यु रोकिने छैन त्यसैले”, मान्छेले विना भावपरिवर्तन शैलीपरिवर्तन गरेन, “मानिमा, म ब्रह्माण्डको अन्तिम मान्छे होइन । पहिलो मान्छै हुँ, आदि मानव । तिमी कुरा बुझ्दै छौ ?’
“सायद बुझ्नु पर्ने कुरा हो, तर पहिले तपाईंले भन्नुभएको थियो, ब्रह्माण्डको मृत्यु रोकिए मानवताको मृत्यु रोकिन्छ, जुन सम्भव हुन सकेन ।”
“हो, मैले त्यसो भनैको थिएँ, अब यसो भन्छु- ब्रह्माण्डको मृत्युपछि पनि मानवताको मृत्यु हुनेछैन” भन्दै मान्छै उत्साह उत्प्रेरित भई पक्का युरेकाई अन्दाजमा मुस्कुरायो ।
मान्छेद्वारा निर्मित मान्छेले बुझ्यो, सायद त्यो आदिमानवको आदि मुस्कान हो । तर, उसले त्यसमा अन्तिम मानवको अन्तिम पीडा पनि अनुभव गर्यो ।
अभिव्यक्तिमा ऊ शाब्दिक भइहालेन । उसका धात्विक संरचनाभरि चुपचाप दायित्व साङ्केतिक लहरहरू उत्पन्न भएपछि मुस्कान र पीडा बिच मान्छेलाई छोडी ऊ यानको यान्त्रिकतामा व्यस्त भयो ।
नामले सुन्ना, सुन्ना, सुन्ना- ब्रहमाण्डभेदी यानको स्थिति परिसूचक कम्प्युटरमा केही क्रियाहरू । कम्प्युटरले आफ्नो पर्दामा भन्यो :
पृथ्वीको वातावरणकक्ष वायुसंरचना प्रणाली- अत्यन्त सन्तोषजनक । वायुविनाशको सम्भावना सुन्ना प्रतिशत । यानको अवस्थिति- अज्ञात, तर सङ्केत छैन … छैन … छैन … ।
छोडिएको मान्छेले आँखा चिम्ल्यो । नेक्लियोकस्मोक्रोनोजली । बिग ब्याङ र पूर्वरूप अल्फाबिटा- गामा सिद्धान्त बिब्ल्याँटोमा एसटिडी इस्टेट सिद्धान्त । निहारिकाहरूले रासायनिक विवर्तन । बी २ एफ् एच पत्र । ई, आर, एस्, पी, एक्स- पाँच प्रणालीहरू । पाई () सिद्धान्त ।…
सबै देखापरे । पृथ्वीको मान्छे पृथ्वी देखापर्यो । पृथ्वीबाट देखिने चन्द्रमा देखापर्यो । विविध कलासहित । त्यसपछि देखापर्यो, बिहानीको रातोरातो, कलिलोकलिलो सूर्य । अन्तमा देखापरे रातका नौलाखे ताराहरू ।
आह ! सबै हराए । सबैले हराए । ब्रह्माण्डको एक अगणित मृत्युप्रक्रियामा सबै हराए ।
मान्छेलाई फेरि रूवाइको बाडुली लाग्यो । “टिमटिम तारा, हराए सारा टिमटिम तारा, हराए सारा ।’ …
उसले आफूलाई नर्सरी गीतमा भुलाउन चाह्यो । मन भुल्यो, मन भुलेन ।
पृथ्वीको एउटा देशमा उसको पनि एउटा घर थियो । बाबुआमा दुवै थिए, मरिसकेका । स्वास्नी थिइन्, तर एक थान छोरा, एक थान छोरी थिए, उसको सपनामा ।
ऊ एक युवावैज्ञानिक थियो, अप्रसिद्ध । मायालु केही गर्ने केही बन्ने महत्त्वाकाङ्क्षा थियो अदम्य।
एक दिन उसकी मायालुले सोधेकी थिई, जो वैज्ञानिकहरू पागल हुन्छन् रे हो ?’ र, दुवै पागलहरूझैँ हाँसेका थिए, पागले नभएर ।
पछि उसकी मायालुले कति मायालु पारामा गुनासो पोखेकी थिई “ऐया हो ! मेरो त मुखै थाक्यो, पेटै दुख्यो … ।’ .
आँखाहरू खुले अर्धनिलिमित, अर्धनिलिमित । र, बन्द भए । ब्रह्माण्डभेदी यानभित्र मायालु थिइन, मायालु सम्झना मात्रै थियो ।
एक दिन उसकी मायालुले भनेकी थिई, जो दार्शनिक थिइन, “मलाई कहिले पनि नछोड्नु है नत्र म संसार छोड्छु नभए पागल हुन्छु ।”
जवाफमा उसले मायालुलाई जीउमा समाहित गर्लाझैँ गरी समातेको थियो, कहिले पनि नछोड्ने हिसाबकिताबमा ।
“आह ! अभागी मान्छे म र सिर्फ- सिर्फ म !” उसले आफैँलाई भन्यो मनमनै, किनभने उसले ब्रह्माण्ड छोड्नुभन्दा पहिले संसार छोड्छु भन्ने मायालुले उसलाई छोडिदिएकी थिई, पागल हुन्छु भन्ने मायालुले उसलाई पागल घोषित गरिदिएकी थिई ।
तर, उसलाई पागल घोषित गर्ने उसकी मायालु एक मात्र थिइन ।
मायालुले छोड्न नचाहेको पूरै संसारले उसलाई पागल घोषित गरिदिएका थिए र, कारण थियो, उसको जीवनको सर्वप्रथम खोज याने सिद्धान्त प्रतिपादन ।
ब्रह्माण्डको आकस्मिक मृत्यु सिद्धान्त- नाम यही दिइएको थियो ।
जम्मा पाँच पाना लामो विशुद्ध गणितीय सिद्धान्त प्रतिपादनपछि ऊ मायालुकहाँ पुगेको थियो, अनि लो प्रोफाइलमा सक्दो खुसी प्रदान गर्न खोज्दै भनेको थियो-
“यी तिमीले जन्मदिनको उपहार दिएका फूलैफूल रहेका कापीमा मैले ताराहरूको सिद्धान्त फेला पारेँ ।”
“साँच्चै ? मायालु साँच्चै नै खुसी भएकी थिई । त्यही खुसीमा उसले मायालुबाट भक्कु खानासहित केही अतिरिक्त उपहारहरू पाएको थियो, मायैमायाको । त्यहाँबाट फर्कने बेला उसले “यदि तिमी मलाई माया गर्छ्याै भने” भन्ने खोचे नथापी सिधैँ भनिदिएको थियो, “ल तयार भई बस । कुनै पनि बेला हामी पृथ्वी र पूरै ब्रह्माण्ड छोड्दै छौँ ।”
यसपालि उसले मायालुबाट अतिरिक्त-. अतिरिक्त व्यवहारहरू पाउन सकेन … ।
आह ! माया दुख्यो ।
मायाको ब्रह्माण्ड दुख्यो । ‘
उसले आफ्नो खोज याने सिद्धान्तलाई इन्टरनेटमा राखेको थियो, विश्वविश्रुत भौतिक प्रयोगशालाहरू र वेधशालाहरूमा पठाएको थियो ।
संवाद चाहने संवाददाताहरूलाई उसले भनेको थियो- “म अल्बर्ट आइन्सटाइनको सापेक्षतावादी सिद्धान्तहरू सन् १८०५ मा प्रस्तुत विशेष सिद्धान्त र सन् १९१६ मा प्रस्तुत सामान्य सिद्धान्तमा एड्विन पी हब्वलद्वारा सन् १९२९ मा प्रस्तुत प्रयोगात्मक प्रमाण रेड सिफ्टस्का अन्तर्विरोधलाई पुनःअध्ययन गर्दै थिएँ, अकस्मात् ब्रह्माण्डको आकस्मिक
मृत्युसिद्धान्त पत्ता लाग्यो । पहिलेका कथित मृत्युसिद्धान्तहरूमा पदार्थ, शक्ति र गतिका स्वरूपहरू निश्चयतात्मक छन्, त्यसैले मानवजाति अस्तित्वप्रति अचेत भएका छन् । सामान्य पृथ्वीको एक शताब्दी पनि औसत आयु नभएका मानिसहरू अबौँ वर्षपछि सूर्य- चन्द्र, पृथ्वीसहित ब्रह्माण्डको मृत्यु भएर के फरक पर्छ र भनी अजिम्मेदार पनि भएका छन् ।”
ब्रह्माण्ड- मानिसको पहिलो सत्य हो, त्यसैले मानिसको पहिलो जिम्मेवारीको ब्रह्माण्डप्रति हुन्छ । ब्रह्माण्डको आकस्मिक, मृत्युसिद्धान्त के हो ?… साधारण भाषामा भन्दा यो एक यस्तो सिद्धान्त हो, जसले ब्रह्माण्डको अबौँ वर्ष कुनै पनि निमेष घटित हुन सक्छ भन्ने सिद्ध गर्छ ।
पाउल- ऊ सिद्ध भइहाल्यो ।
उसले आफ्नो नियतिलाई ब्रुनो ग्यालिलियो नियमित भन्न मन पराएन । आफ्नो सबै सम्पत्ति खर्चेर उसले सुन्ना, सुन्ना, सुन्ना ब्रह्माण्डभेदी यान तयार पार्यो ।
त्यसपछि उसले पृथ्वीका धेरैभन्दा धेरै जैविक जिनहरू सङ्ग्रह गर्यो ।
अन्तरिक्षको नोआ- मानिसहरूले उपहास गरे । उसले अपमानबोध गरेन । आहा ! पीडा ।
पीडाको ब्रह्माण्ड ।
आँखाहरू खुले, अर्ध निमिलित होइन पूरै । देख्यो उसले, मान्छेद्वारा निर्मित मान्छे आफ्नो धात्विकता बिर्सेर उसको जैविकता जाँच्न व्यस्त छ। ऊ मुस्कुरायो, कारण उसले पृथ्वीमै भनिराखेको थियो, ब्रह्माण्डबाहिर उसको शरीरमा विगठन लक्षणहरू देखापरे उसको जीनलाई सुरक्षित पारिराख्नु ।
“म कस्तो छु ?” सोध्यो उसले ।
“समयहीनताको असर छैन, तर हुन सक्छ ।”
मान्छेद्वारा निर्मित मान्छेले जाँचको परिणामसहित राय प्रकट गरिदियो । ऊ मान्छेका सम्पूर्ण पीडासहित फेरि पनि मुस्कुरायो । मनमनै सोच्यो, समयहीनता केही गर्नका लागि हो, केही नगर्नका लागि पक्कै पनि होइन ।
“युरेका !” यसपालि ऊ कराएन तर शान्त, तरल भावमा उसले जैविक जिनका पारदर्शी भाँडाहरू निरीक्षण गरिरह्यो ।
“सबै कुरा ठीक छ” ऊ सन्तुष्ट भयो । समयहीन शून्यतामा उसले अहम्नाद गर्यो-
ब्रह्माण्डको पुनर्रचना होस् ! …
समयको पुनर्रचना होस् ! …
पृथ्वीको पुनर्रचना होस् ! …
म जीवनहरूको रचना गर्नेछु … गर्नेछु … गर्नेछु !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।