हामीहरूको डुल्ने, अक्सर खेल्ने ठाउँ नदी किनार थियो। बस्तुभाउ चराउन लैजाने, सक्नेले माछा मार्ने, ससानाले सँगै हिँडिरहने, रमाइलो गर्ने प्रक्रियालाई सामान्य नै मानिन्थ्यो। अधिकांश गाउँमा केटाकेटीहरूको अवस्था एकै हुन्छ। विद्यालय जाने र बाँकी समय बस्तुभाउसँग बिताउने गरिन्छ। बस्तुभाउ चराउन केटाकेटीहरू जाने गर्दछन्। हेरालो गएका दिनभर विभिन्न खेल खेलेर बिताउँछन्। ग्वाला भनेर जानिने हेरालोहरूले देवता स्थापना गर्दछन् । जसलाई ग्वालादेउ भन्ने गरिन्छ । केटाकेटीहरू एक आपसमा राम रमाइलो गर्नु स्वाभाविकै हो।

बालापन चञ्चलापूर्ण नै हुन्छ। चञ्चलतासँगै जीवन व्यवहार पनि जोडिन्छ । विभिन्न खेलको माध्यमबाट मनोरञ्जन गरिरहन्थे । खेल खेलाउने सूत्रधारको शैलीले थप रोचक बनाउँथ्यो । घ्वासघ्वास एक खुट्टो उचालेर खेल्ने, विभिन्न प्रकारका कबड्डीहरू, टिपु सबैले खेल्न सक्ने जान्ने बुझ्ने प्रकृतिका खेल हुन्थे भने केही खेललाई सबै जना बुझ्न नसकिने पनि हुन्थे । आफूहरू त खेलमा सामेल हुन्थे नै बस्तुभाउलाई पनि सामेल गर्दथे । गोरु जुझाउने, एक ठाउँबाट लखेट्दै अन्यत्र पुर्‍याउने जस्ता काम गर्थे। त्यसैमा आफ्ना गाई गोरु, भैँसी, बाख्रा के कस्तो अवस्थामा छन्र निगरानी पनि गर्थे  ।

एक दिन दुई ठुला सिङ भएका गोरु जुझाउन जुटायौँ । निकै यत्न गर्‍यौँ । अन्ततः गोरु जुझ्न थाले जुझ्दाजुझ्दै एउटाले धक्का दिएर भीरतिर लग्यो। ठेल्दै ठेल्दै भीरतिर लगेर भीरमा फालेर होक्काँ गरेर गर्ज्यो । हेर्दाहेर्दै ठुलो बिघ्न भयो । त्यो ठाउँ पुग्दा आज पनि त्यो घटनाले जिस्क्याउँछ। हेर्दाहेर्दै त्यति ठुलो दुर्घटना भयो पश्चात्ताप बाहेक केही बाँकी रहेन।

= = = 

हाम्रो घर खोलानजिक थियो । हामीहरू सानै छँदा देखि पानीमा खेल्ने गर्थ्यौं। पछि पछि त खोला नै हाम्रो नियन्त्रणमा छ जस्तो लाग्थ्यो । दिनभर खोलासँगै हुन्थ्यौँ । नुहाउने, लुगाफाटो धुने, पानी थाप्ने जस्ता कार्यसँगै खोलामा पौडने, माछा मार्ने र यो खोला मेरै हो भनी रात दिन खोला सँगै सङ्गत गरिएको हुन्थ्यो । प्यारो लाग्थ्यो खोलो । पानी पिउनमा मिठास, नुहाउनमा आनन्द, माछामा पनि छुट्टै स्वाद । बढी सङ्गत भएकाले हो वा अन्य कुनै कारण खोलासँग आत्मीयता निकै बढ्यो।

जैराज काकासँग माछा मार्न जाँदा झोडी बोक्ने काम त्यही खोलाको तिरमा गरेको थिएँ । त्यस्तै कहिले अलि पाकासँग त कहीँ केटाकेटीसँग खोलामा गइनै रहन्थ्यौँ। खोलामा माछा मार्ने विभिन्न विधि थिए । सबै विधि प्रक्रियामा अभ्यस्त थियौँ। टिट्की एक ढुङ्गो अर्को ढुङ्गोमा हानेर माछा छोप्ने। द्वाली फर्काएर, घनले ढुङ्गामा हिर्काउने ढुङ्गा मुनिको माछा मर्ने। विभिन्न रुखका बोक्रा कुटेर फिँज जस्तो बनाई माछा बस्ने कुर, गड भएको ठाउँलाई घेरेर मैन हालेर माछा मार्ने योजनामा थियौँ।

खोला किनारमा माछा मार्ने उपाय सोच्दै यताउति गरिरहेकै बेला “काका मलाई त सर्पले टोक्यो” भन्दै एकदम डराएको अवस्थामा अर्जुन आयो।

“कहाँ के ?” हेर्दै गर्दा हातमा रगत बगेको छ । ऊ निकै डराएको छ। बज्यैले बताएका सतर्कता अपनाउनमा लाग्यौँ । आफ्नै कमिज च्यातेर घाउको नजिकै बाँध्यौँ। यो हरियो झार औषधि हुन्छ बज्यैले सिकाउनु भएको त्यो झारलाई हातमा रगडेर पानी बनाई घाउ भएको लगायौँ।

तुरुन्त घरतिर लगी  घटनाको जानकारी गरायौँ। निकै पिडामा अर्जुन छटपटिँदै ऐया ऐया गर्दै थियो। परिवारका सबै सदस्य आत्तिएका थिए। हरेक आउने केही न केही सल्लाह दिँदै थिए। आपतविपतमा कुनै न कुनै सल्लाह सबै दिने नै गर्छन्।भेट्न आएकाले आआफ्ना किसिमले सुझाएरै जाने भए । हरियो औषधिसहित वैद्य बोलाउन गयौँ। भेद मन्त्रद्वारा मन्त्र गरे। औषधी उपचार गरे बिसेक भयो । राम रमाइलो गर्दै खेलोमेलोमा लागेका हेर्दाहेर्दै निकै ठुलो आपत् आइलाग्यो। समय परिस्थितिले साथ दियो। अप्रिय अवस्था आएन तर त्यो ठाउँ जहिले पनि झस्काइरहन्छ। त्यो घटनाको जीवन्त स्मरण गराउँछ।

नदी किनार बस्ने भएकाले खोला नदीसँग जिस्किनु, पौडनु, वारपार गर्नु, माछा मार्नु सामान्य मान्थ्यौँ।

एक दिन मलामी गएका थियौँ। महाकाली नदीको पानी  साबिक सतह भन्दा निकै माथि थियो। हामी सबै ब्रह्मनाल सजाउन, छेउर कार्य गर्नमा लागेका थियौँ। हामीसँगका मलामी मध्ये केही केटाहरू पौडँदै पारी गएछन्। पानी निकै चोटिलो थियो। नियमित माछा मार्नेहरू पनि निकै जतनले वारपार गरिरहेका थिए। ट्युबले तार्दा पनि कठिनै थियो। त्यसैमा केही केटाहरू लहलहै पौडँदै पार गर्न पुगे ।

पारि गएका सात जना मध्ये एक जना तर्दा तर्दै बेपत्ता भए । प्रेममय, निर्मल नदीको प्रवाह कठोर निष्ठुरी रहेछ। हेर्दा हेर्दै कौवाले काफल निले जस्तै एक जनालाई महाकालीले निलिदियो। यसो गर उसो गर भन्ने भेउ दिने समय नै भएन। सयौँ मानिस हेरि रहेका छन्। नदी तर्नका लागि निकै फुर्ती गर्थ्यौं कुनै बेला यति अवाक् भयौँ। तर्दै गरेको बग्दै गरेको इहलीला समाप्त भएको दृश्य एक मिनेट पनि रहेन एक मिनट अघिसँगै भएको साथी एक मिनेट नबित्दै परमलोक पुगेको निर्मम दृश्य हेरिरहनु बाहेक उपाय पनि केही थिएन।

नदीको किनारै किनार खोज्न निस्क्यौँ। नदीको वारिपारि दुबैतिर मानिस खटायौँ। पुलिस प्रशासन खबर गरी राज्यका संयन्त्र पनि खोजीमा लागे । उद्धार सामग्री सहित भएका साथीहरू पनि नदीको बिच भाग भएर ट्युबमा खोजी गर्दै गए। न त सास पाइयो, न त लास नै । विपत्ति बाजा बजाएर आउँदैन भन्छन्। सानो असावधानीले निकै ठुलो विपत्ति आयो। सँगै मलामी गएका, सँगै नदीमा पौडँदै गरेको सहयात्री त्यही छोडेर गयो । त्यो पनि बेपत्ता अवस्थामा। परिवार जनलाई दिने जवाफ पनि कसैसँग केही थिएन। न त समवेदनाका शब्द नै थिए। केवल रिक्तता र पश्चात्ताप थियो।

हेर्दाहेर्दै नचाहँदा नचाहँदै ठुलाठुला घटना घट्दा रैछन्। केही ससानो लापरबाही, असावधानीले हुन्छन् भने केही आकस्मिक रूपमा हुने गर्दछ। यस्ता दुर्घटनाले सावधानी, सतर्कता अपनाउन लगाउँछ तर ग्लानि, पश्चात्ताप सधैँ अमिट रहिरहन्छ। हेर्दाहेर्दै धेरै घटना दुर्घटना भएका छन्। केही स्मरणमा छन् त केही स्मृतिभन्दा बाहिर भइसकेका छन्। धेरैले जीवनमा महत्त्वपूर्ण पाठ सिकाएर गएका छन् भने धेरैले क्षति पुर्‍याएका छन्।

= = =

कोटखोला चार पाँच परिवार रहेको सुन्दर गाउँ थियो। बोडे कामी वर्षौंदेखि घट्ट, घर, आफर राखी बसेका थिए । कुटीर उद्योग जस्तै थियो। घट्ट गहुँ, मकै पिँध्न आउने निकै हुन्थे। त्यही आफर थियो कुटो, कोदालो, हँसिया, बन्चरो, आदि बनाउन आउँथे । निकै जमघट हुने गर्थ्यो। त्यसैनजिक भजने सार्किको घर थियो। निकै मिलेको जोडी कुटो कोदालो गरी जहान पालेको थिए। कति सुन्दर गाउँ र मिलेर बसेका परिवार। बासट्ठी साल असोज आठ गते राती बाढी आयो। बोडे कामी छ जना र भजने सार्की जहान सहित दुवै जना संसारबाट अलप भए ।

हेर्दाहेर्दै लहलह फलेको धान बाली गोठभरि बस्तु भाउको मेलो । रहर लाग्दो परिवार कता हरायो कता।खेतमात्र होइन जीवन पनि बगर भयो। खान, लुगा लगाउन भन्दा प्रिय लाग्दथ्यो धान बाली भित्र्याउन। धान काटेर कुन्यू बनाइ राख्ने ,कुन्यूमा नै सुत्ने । राती अबेर सम्मै धान चुट्ने । धानको रासको माथि झररो पकाउने कति आनन्दित हुन्थ्यो खेतबारी। किसानका लागि जीवन जत्तिकै प्रिय खेत पनि हुन्थ्यो। जीवन नवजीवन खेतले दिन्थ्यो। रहर लाग्दो खेत बडीले लहलहाउदो धान सहित बगायो।खेतको नाउ जोडेर परिचय गरिन्थ्यो पारीखेत, वारीखेत, गैरीखेत खेतका नाम हुन्थे। खेतको धानबाली मात्र बगाएर पुरै खेत बगर भयो । खेत मात्र गुमेन पहिचान परिचय पनि गुम्यो।

सुन्दर रमणीय गाउँ हेर्दाहेर्दै बगर बन्यो।