चुलोमा खरानी पनि छैन । दाउरा जोरिन नपाएको चार पाँच दिन भइसकेको छ । चामल राख्ने भाँडोको पिँधमा केही रहलपहल भुस होलान् । तरकारी, दाल, आलु, प्याज मीन पचासको बिदामा छन् । अलिकति तेल, केही चिनी  र आधा बट्टा नुनले मात्र भान्सा छोड्न सकेका छैनन् । पुस सिरक ओढेर हिँडिरहेको समयमा भोका तीन नातिनातिनाको हरिबिजोग हेरेर बस्नु परेको छ – पैँतालिस वटा  भित्ते पात्रो फेरिसकेकी हजुरआमाले  । आँसु पनि कति पो आओस् बिचरा उजेलीको आँखाबाट;  हिमपातले हिमनदी जमे झैँ आँखैमा ढिक्का परेर बसेको छ ।

उजेली नाम भए पनि उनले उज्यालो कहिले देखेकी छैनन् । उनको उज्यालोसँग झगडा परेको जस्तो; कुन्नि उज्यालोले उनलाई कहिले मन पराएन । एउटा लामो अँध्यारो जीवनको यात्रा पार गरिसकेकी उजेलीको जीवनको  पुनः एक पटक ढिब्रीमा मट्टितेल सक्किएको छ ।

`आमा ममी कोही ? बुबु खान्छु ।´ तोते बोलीमा अढाई वर्षकी नातिनीले भन्छे । उजेलीसँग त्यो अबोध बालिकालाई दिने कुनै उत्तर छैन ।

`तेरी आमा पापा लिन गाकी छे। आइहाल्छे । अनि बुबु खाने ल ।´ उजेलीले फकाउन जवाफ दिन्छिन् ।

दुई नाति वर्ष पाँच र सातका हुन् । उनीहरू पनि भोकले छटपट्याउँंदै उजेलीको लुङ्गीमा झुन्डिएर भन्छन्, ‘आमा भोक लाग्यो ।´ उजेली यति लाचार भएकी छिन् कि नातिनातिनाको समस्यालाई समाधान गर्नको लागि घरमा एक गेडो अन्न छैन । उजेलीले झिँजो  लिएर आउँछिन् र चिनीपानी पकाउन थाल्छिन्। पानी उम्लिएपछि चिनीपानी नातिनातिनालाई खुवाएर भोकलाई मत्थर पार्ने कोसिस गर्छिन् । दुईचार दिन त उजेलीले पैँचो मागेर नातिनातिनाको भोक मेटाइन । सधैँ मागेर पाइन्न भन्ने कुरा उजेलीलाई ज्ञात भएकोले अब माग्न जाने ठाउँ सकिएको थियो ।

उजेलीको जिन्दगीमा धेरै अँध्यारो आएका छन् । अँध्यारो भनेको उजेलीको लागि दैनिक उदाउने घाम जस्तै हो; जो नचाहेरै पनि उदाउन छोड्दैन । अरूका लागि घाम उज्यालो बोकेर आउँछ भने उजेलीको लागि घामले सधैँ अँध्यारो बोकेर आउँछ । त्यसैले उजेलीको जीवनमा सधैँ कालो  घाम लाग्यो। । उजेलीको लागि प्रत्येक नयाँ घामले दुख कष्टको किरण  बोकेर आउँछ ।

उजेलीको लागि आराम हराम बनेर आउँथ्यो । जब जब उनी आराम गर्थिन् उनको जीवन विराम बनेर आउँथ्यो ।  चौतारीको चिसो हावाले उनको पसिना ओभाउन नपाउँदै श्रमले आमन्त्रण गरिहाल्थ्यो- नयाँ पसिना जन्माउन । थकित शरीरबाट निस्कने सुस्केरा नै उनको जीवनको मधुर गीत बनेको थियो । उनले बिसाउनै पाइनन् दुखको गह्रौँ भारी । डुब्न लागेको घाम रातभर विश्राममा हुन्छ भन्नू पनि भ्रम न हो । यही भ्रम उजेलीको जीवनमा यति बेला सत्य बनेर आएको छ । उजेलीको जीवनमा फेरि अर्को रातपछि दिन नआई रातै परेको छ ।

* * *  

उजेलीको आमाले भन्थिन रे, `तेरा बा र म दिनभर भारी बोकेर थाकेको शरीरलाई निद्राको काखमा आत्मशरण गर्दिएका थियौँ । राती अचानक  बेस्सरी पेट दुख्यो । तेरा बाले कटरघरे साइली आमा  र भुन्टेको आमालाई डाकेर ल्याए । एकछिन पछि  तँ  जन्मिहालिस्  । तँ जन्मिदा भित्ताको कोप्चेरोबाट पूर्णे जूनको किरण पसेर, तेरो गालामा म्वाइँ खाँदै थियो । त्यति नै बेला तेरा बाले कस्तो उजेली छोरी भनेर नाम पनि उजेली राख्देका रे ।´

उजेली बाउआमाकी प्यारी एक्ली  छोरी थिई । उजेली हाँस्दा बाउआमा जून बन्थे ।

उजेली लगभग तेह्र वर्षको हुँदा रुँदै आमासँग भनेकी थिइन्,`आमा मेरो पिसाब फेर्नेमा के ले हो कुन्नि टोकेर गएछ; रगत आएको छ ।´ आमाले उजेलीको कुरा बुझेर सम्झाइन, `छोरी तँ नछुने भईश । अब तँलाई तेह्र दिनसम्म अँध्यारो कोठामा लगेर राख्नुपर्छ  । घामको किरणले पनि तँलाई छुनु हुन्न । कोठाबाट ननिक्लनु  । बालाई हेर्न हुन्न ।´ उजेलीको आमाबाले छिमेकीसँग आग्रह गरेर कोठाको बन्दोबस्त गरे ।

उजेलीले अँध्यारोसँगको सम्बन्ध त्यहीँ दिन देखि गाँसेकी हो । उजेली तेह्र दिन अँध्यारो कोठामा बस्नु पर्ने भयो  । त्यति बेला गाउँकै गधापच्चिसी उमेरको  धनबहादुर उजेली बसेको अँध्यारो कोठामा चाउचाउ, बिस्कुट, पाउँ लिएर भेट्न पुग्थ्यो  । धनबहादुरले उजेलीलाई निहालिरहेको हुन्थ्यो । उजेलीलाई एकतर्फी माया गर्न थाकिसकेको थियो । उजेली पनि कालो अँध्यारो कोठामा एक्लै बस्दा वाक्कदिक्क भइसकेकी थिइन् । धनबहादुरको उपस्थितिले उजेलीलाई समय बिताउन सजिलो हुन्थ्यो । धनबहादुर मात्रै थियो – उजेलीको एक्लोपनको साथी । आमा त खाना लिएर आइदिने मात्र गर्थिन ।

धनबहादुरले उजेलीको कलिलो मस्तिष्कमा प्रेमको बीजारोपण गर्न थाल्यो  । प्रेमजालमा फसायो र लिएर भाग्यो । गाउँमा हल्ला चल्यो धनेले उजेलीलाई उडाएछ । उजेलीमा बाआमा निकै निराश भए । एक्ली छोरीको कन्यादान उनीहरू आफैँ गर्दिने सोचेका थिए। उजेलीसँग रिसाए। घरमा पनि भित्राएनन् । धनबहादुर पनि उजेलीलाई लिएर अन्तै बसाइँ सर्‍यो ।

धनबहादुरले गिट्टी कुट्ने काम गर्थ्यो । दिनभरिको गिट्टी कुटाइ अनि थकानलाई मेट्न भट्टीको औषधी सेवन गर्ने गर्थ्यो । चौध वर्षमै उजेलीले सन्तान जन्माइन्। पहिलो सन्तान जन्मेर न्वारान गर्न नपाई धनबहादुर क्षयरोगको सिकार हुन पुग्यो । अत्यधिक चुरोट र रक्सी त्यसमाथि शारीरिक परिश्रमको कामले धनबहादुर खोक्दाखोक्दै रगत वाक्न थाल्यो र धने बाउ बनेको एक महिनामा छोरा र श्रीमतीलाई छोडेर गयो । सधैँ धनबहादुरले चुरोटको धुवाँ उडाउँथ्यो; त्यो दिन आफै धुवाँ बनेर उडेर गयो । उजेलीको जिन्दगीमा धुम्म कुहिरो लाग्यो । काखको दुधे बालक, कमाएर ल्याउने हात नै डढेर खरानी भयो ।

माइतीले उजेलीको लागि अग्लो पर्खाल लगाइसकेका थियो । सुत्केरीलाई चाहिने पोसिलो खुराक नभएर दूध पनि पर्याप्त पुगेन । काखको छोरो मुटुमै प्वाल पर्ने गरी रुन्थ्यो । उजेलीसँग विकल्प थिएन । उजेली धनबहादुरले काम गर्ने ठाउँमा गएर बिन्ती बिसाइन् र गिट्टी कुट्ने काममा लागिन् । छोरालाई ढाडमा पछ्यौरीले अड्याएर दिनभर गिट्टी कुट्न थालिन । दिनभरिको ज्यालाले भोकको युद्धसँग लड्न थालिन् । चौध वर्षकी एकल महिला भएर उनले जिन्दगीको परीक्षालाई डटेर सामना गरिन् । उनको जीवनमा एउटै मात्र सहारा छोरा थियो । बाँकी जीवन त्यही छोरोको मुख हेरेर बिताउने निर्णय गरिन् । एउटा ऐलानी जग्गा ओगटेर सानो छाप्रो पनि बनाइन् ।

उजेलीको कलिलो जवानीमा गिद्धे नजर लगाउने धेरै आए । त्यसलाई उजेलीले चट्टान भएर सामना गरिरहिन् । कतिले बिहे गर्छु भनेर पनि फकाउन आए तर उजेलीले छोराको लागि अरू कसैसँग नजाने दृढ सङ्कल्प गरिन् ।

* * * 

जिन्दगीको कठिन यात्रामा शरीरलाई कहिले विश्राम नदिएर उजेलीले छोराको लागि सारा जिन्दगी समर्पण गरिदिइन् । छोरा बिस वर्षको भयो। खासै पढाइलेखाइमा मन गएन ट्याक्टरमा हिँड्दाहिँड्दै ट्याक्टर चलाउन थाल्यो ।

उजेलीलाई छोराले भनेको थियो, `आमै अब तिमीले काम गर्न पर्दैन । म कमाइहाल्छु । अब तिमी घरमै बस।´

छोराको यस्तो वचन सुनेर वर्षौंपछि आकाशको तारा आएर मुहारमै खसे जस्तो भयो ।  उजेलीलाई अब दुखका दिन सक्किए जस्तो लाग्यो । छोराले आफैँले मन पराएको केटी लिएर आयो । हेर्दाहेर्दै तीनवटा नातिनातिना पनि भए । उजेलीको दिनचर्या नातिनातिनाको हेरविचारमा बित्न थाल्यो । जीवन भनेको खुसी र आनन्द पनि रहेछ भन्ने कुरा उजेलीले महसुस गर्दै थिइन् ।

एकदिन अचानक छोराले साहुकै स्वास्नी बोकेर भाग्यो भन्ने हल्ला चल्यो । साहुको डरले गाँवै छोडेर भाग्यो । तीन नातिनातिनाको र आमाको एक सर्को पनि ख्याल नगरी छोरा लोप भयो । उजेलीको मुहारमा खुसीको बत्ती धेरै समय बल्नै पाएन ।  `दुखीको कर्म सिसाको गिलास न रहेछ । कति बेला सानो लापरबाहीले पनि झर्‍याम्मै फुट्छ थाहै नहुने ।’ भन्दै बुहारीसँग मन हल्का बनाउँथिन् ।

जसका लागि  सारा जीवन समर्पण गरिन् उसैले जिन्दगीको अप्ठ्यारो बाटोमा ल्याएर अलपत्र पारिदियो । पहिले बरु दुख उजेली एक्लैको थियो अब त दुखमा बुहारी र नातिनातिना पनि थपिए । जिन्दगीले घाउ फेरि बल्झाइदिएको थियो । त्यति बेला अर्को एउटा अनिष्ट घटना घट्यो । बुहारी पनि नातिनातिनालाई छोडेर अर्को ड्राइभरसँग भागिन् भन्ने खबर आयो । उजेलीको जिन्दगीमा अर्को पहिरो गयो । दुखको पहिरोलाई स्यार्ने जिम्मा  अब उजेलीको काँधमा आएर बस्यो । बुहारी भागेपछि उजेलीलाई लाग्यो, `हो हुन त छोरा नै कुलाङ्गार निक्लिएपछि के गर्नु ? तर छोराछोरीको चाहिँ बिचल्ली हुने भयो । दुख त मेरो साथी न हो । ठिकै छ यो दुखलाई पनि बेस्सरी माया गर्नेछु ।´

***

बाउले छोडेको, आमाले लत्त्याएको तीन नातिनातिनाको भोकको अमिलो आवाज उजेलीले सुनिरहन सकिनन् । उजेलीले छोरा कमाउने भएपछि काम गर्न छोडेकी थिइन । अब उजेलीले काम नगरे नातिनातिनाको स्याहारसुसार गर्ने कोही भएनन् ।

उजेलीले सानी नातिनीलाई काँधमा बोकिन् र दुई नातिनातिनालाई डोर्याउँदै खोलाको किनारतिर लागिन् । खोलाको किनारमा गिट्टी कुट्ने लस्कर थियो । ठेकेदारलाई भनिन, `दाइ आज देखि म पनि गिट्टी कुट्न आउँछु ।´ ठेकेदारले भन्यो,`के गर्छेस् त उजेली तेरो जीवनमा जो जो आए सबैले छोडेर गए । यही गिट्टी मात्र रहेछ तेरो अजम्मरी साथी । जा गएर काम सुरु गर ।´

नातिनीलाई छहारीमा सुताएर । दुई नातिहरूलाई खेल्न पठाइन् । अनि ह्याम्मर लिएर गिट्टी कुट्न थालिन् । गिट्टी कुट्दा गिट्टीमा उनले तातो भातबाट बाफ बनेर उडेको देखिन् । फेरि अर्को गिट्टी कुट्दा मसुरोको दाल भलभल उम्लिरहेको देखिन् ।  तीन नातिनातिनाले लामो समयको भोक मेट्न तँछाडमछाड गर्दै खाना खाइरहेको देखिन् । खोइ कताकता कल्पनामा हराइन् । गिट्टीमा हान्नु पर्ने प्रहार औँलामा परेर चोट लाग्यो । औँलाबाट रगत आयो । ढुङ्गा रगतले नुहायो । त्यहीँ ढुङ्गामा तप्प एक थोपा आँसु खस्यो । त्यसपछि एक दाना पसिना पनि त्यहीँ  ढुङ्गामा खस्यो ।

उजेलीले आफ्नो मनसँग संवाद गरिन्, `गरिबको जिन्दगीबाट चुहिने भनेको यही पसिना,आँसु र रगत त रहेछ !´

तानसेन, पाल्पा