लीला दिदीको आत्महत्याको खबरले मेरो मनलाई नराम्ररी हल्लायो, किनभने दिदीले कहिल्यै आफूलाई कमजोर महसुस गरेकी थिइनन् । त्यसपछि एक दिन मलाई दिदीको त्यो पत्र प्राप्त भयो जसले सबै रहस्य खोल्यो जसले मलाई समस्या र अन्योलको भुमरीमा पार्‍यो ।

म बरन्डामा भएको कुर्सीमा चुपचाप बसिरहेको थिएँ । लीला दिदीको निधन भएको एक महिना भन्दा बढी भइसकेको भए पनि किन मन  दुखिरहेको हो थाहा छैन । दिदीको सम्झना आउँदा मनमा उनीसँग सम्बन्धित सम्झनाको जुलुस निस्किए झैँ लाग्छ । जुन दिन एक्कासि ‘लीला दिदीले आत्महत्या गरिन्’ भन्ने खबर पाएको थिएँ, यो सत्य हुन सक्छ र भनेर पत्याउनै सकिनँ । किनकि दिदी यति साह्रो कमजोर थिइनन् ।

विवाहपछिको उनीहरूको सुरुका तीन-चार वर्ष राम्ररी नै बितेको थियो । शंकर भिनाजु र दिदी दुवै भैरहवामा काम गर्थे । भिनाजु बैङ्कमा सहायक प्रबन्धक हुनुहुन्थ्यो । दिदी विवाह अघि कृषि कार्यालयमा अधिकृत थिइन् ।

लीला दिदी प्रसिद्ध लेखिका पारिजातका कथाहरूको फ्यान थिइन् । फुर्सदको समयमा पारिजातका कथाहरू पढ्थिन् । एकपटक म भैरहवा गएको थिएँ । मैले दुई दिनमा पारिजातका  केही कथाहरू पढेको थिएँ । ती कथाहरूले मलाई यति प्रभावित गर्‍यो कि पोखरा फर्किँदै गर्दा मैले दिदीलाई भनेँ, ‘बाँकी कथाहरू पढिसकेपछि म यो पुस्तक तपाईंलाई फिर्ता पठाउँछु ।’

‘हैन भाइ, हुन्न, यो मेरो मन पर्ने किताब हो र म कसैलाई पनि दिँदिन, तिम्रो भिनाजुलाई पनि दिन्न, किनकि एकपटक कसैलाई किताब दिएपछि फर्किँदैन’ उनले मेरो हातबाट किताब लिएर र्‍याकमा राखिन् ।

दुई-तीन दिनको बिदा हुँदा उहाँ जहिले पनि हाम्रो घरमा आउनुहुन्थ्यो र दुई दिन सँगै बस्नुहुन्थ्यो । त्यो बेला हामी पोखराको रमाइला ठाउँहरू घुम्न जान्थ्यौँ, कहिलेकाहीँ राम्रो चलचित्र हेर्न जान्थ्यौँ । यसरी हाँस्दै खेल्दै तीन-चार वर्ष बित्यो । एक दिन अफिसबाट घर आउँदा दिदी आएको थाहा पाएँ । आमालाई सोध्दा उनले आफ्नी साथी शशीसँग केही महत्त्वपूर्ण काम छ भनेर भेट्न गएको बताएकी थिइन् ।

राति अन्दाजी दश बजेतिर घर आइन् । जब मेरो नजर उनको अनुहारमा पर्‍यो, मलाई लाग्यो उनी अलिकति विचलित छिन् र उनको अनुहारमा पहिले जस्तो खुसी छैन । उनी सिधै भित्र कोठामा गइन् । लुगा फेर्न गएको होला भन्ने लाग्यो तर धेरै समय बितिसक्दा पनि बैठक कोठामा नआएपछि म  भित्र कोठामा गएँ । उनी उदास अनुहार लिएर बसिरहेकी थिइन् ।

मैले सोध्दा उनले भनिन्, ‘ए ! केही होइन भाइ, म यात्राको कारणले थाकेको छु ।’

मैले उनको भनाइ पत्याउनै सकिन । मैले भनेँ, ‘दिदी, साँच्चै भन्नु पर्दा तिमीले केही लुकाएकी छौ, आज तिम्रो अनुहारले तिमीलाई साथ दिएको छैन । बिहेपछि भाइले दिदीको मनमा के छ भनेर थाहा पाउन सक्दैन र ?’

यो सुनेर उनको आँखाबाट आँसु झर्‍यो र निरन्तर आँसुको धारा बग्न थाल्यो ।

‘अहिले मलाई केही भन्छौ कि रोइरहने हो ।’

मैले उनको आँसु पुछ्दै  गर्दा भनिन्, ‘भाइ, हाम्रो बिहे गरेको पनि पाँच वर्ष भयो, यसबिचमा मेरो कोख भरिएको छैन । यही कारण घरमा दिनहुँ झगडा हुने गरेको छ ।’

‘तर यसमा तिम्रो के दोष दिदी ?’

‘तर भाइ, मेरो नन्द र सासूले मलाई मात्र दोष दिन्छन् ।’

‘तर दिदी, भिनाजुमा पनि दोष होला नि ?’

‘तर उनीहरूको घरमा कोही पनि यो कुरा मान्न तयार छैनन् । गल्ती मेरै हो भनेर एउटै रटान लगाएर बसेका छन् ।’

‘ठिक छ दिदी, म तिमीसँगै भैरहवा जान्छु र भिनाजुसँग  कुरा गर्छु ।’

म दिदीसँगै भैरहवा गएँ र मध्यरातसम्म यही विषयमा भिनाजुसँग कुरा गरिरहेँ ।

उनले भने, ‘हेर भाइ, मैले तिम्रो दिदीसँग बिहे गर्दा, मेरो घरमा पनि मेरो छोराछोरी हुनेछन्, साँझ घर फर्किंदा मायाले मेरो खुट्टा समातेर काखमा लुटपुटिन उनीहरूको मुखबाटबाट तोते बोलीमा मलाई बाबा…बाबा…भनुन् त्यसपछि म उनीहरूसँग खेलूँ, कहिले हाँसिरहेको, कहिले रोइरहेको देखूँ भन्ने सपना देखेको थिएँ । तिनीहरूलाई काँधमा बोकेर बगैँचामा घुमाउन लैजाऊँ । उनीहरूलाई राम्रोसँग पालनपोषण गरूँ, म बूढो हुँदा उनीहरूले मलाई सहयोग गर्न सक्ने गरी सक्षम बनाऊँ, मेरो नाम र वंशलाई अगाडि बढाउन सकूँ । त्यसपछि पनि पुत्रले पानी नदिएसम्म मरेपछि पनि आत्माले मोक्ष पाउँदैन भनेको छ । मेरो यो चाहना गलत हो र ?’ भिनाजुले आफ्नो मनमा लागेको कुराहरू सुनाए ।

‘भिनाजु, पुत्र नहुँदैमा मोक्ष पाउँदैनन् भन्न खोज्नु भएको हो ? तर तपाईंलाई एउटा सत्य पनि थाहा हुनुपर्छ कि यी ब्राह्मण-पुजारीहरूले आफ्नो पेट र खल्ती भर्नका लागि मात्र यी कुराहरू फैलाउँछन् । वास्तवमा कर्मको आधारमा मानिसले मोक्ष पाउँछन् ।’

मेरो आग्रहको बाबजुद पनि उहाँ आफ्नो कुरामा अडिग रहनुभयो । अब मैले त्यहाँ बसेर अरू के नै गर्न सक्थे र । म दुःखित भएर घर फर्किएँ ।

एक रात  दिदीको फोन आयो । उनले भनिन् “तिमी यहाँबाट गएको भोलिपल्टै नवलपुरबाट मेरी सासू र नन्द भैरहवा आइन् । त्यसपछि दुवैजना आएर भने, ‘लीला, दुम्किबास डाँडामा एउटा साधुबाबाको आश्रम छ, तिमी हामीसँगै त्यहाँ हिँड, सायद उनको आशीर्वादले तिम्रो कोख भरिनेछ ।’ म उनीहरूसँगै त्यहाँ गएँ । अब अर्को औंसीको रातमा बोलाएको छ । मलाई साधुबाबाको स्वभाव र व्यवहार अनौठो लागि रहेको छ, आजकल भिनाजु अर्को कोठामा सुत्न थालेका छन् ।”

“अलिकति धैर्य गर दिदी, हेर केही दिनपछि सबै सामान्य हुन्छ ।” त्यो बाहेक उसलाई के भन्न सक्थेँ ।

केही दिन बित्यो । यी दिनहरूमा न दिदीको फोन आयो न चिट्ठी आयो । एक दिन फोन गरेँ । दिदीले नै फोन उठाइन् । मैले बारम्बार सोध्दा उनले भनिन्, “भाइ, भिनाजुको नवलपुरमा सरुवा भइसकेको छ र अहिले म एक्लै बस्छु । भन्नको लागि यहाँ उहाँको बहिनी र ज्वाइँ छन् ।” यति भन्दै उनले फोन काटिदिइन् ।

यसै गरी ६ महिना पनि बित्यो । एक दिन हाम्रै सहरमा बस्ने भिनाजुको जेठो दाजुलाई बजारमा भेटेँ । कुराकानीका क्रममा उनले ‘शंकरले नवलपुरस्थित आफ्नै बैङ्कमा काम गर्ने सम्बन्धविच्छेद भएकी एक महिलासँग विवाह गरेको बताए । ‘भिनाजुले दोस्रो विवाह’  यो सुन्ने बित्तिकै आकाशमा चट्याङ परेर सिधै ममाथि खसेको जस्तो भयो । म स्तब्ध भएँ र सोच्न थालेँ यो खबर पाएपछि दिदीलाई के होला ?

दिदीसँग राति फोनमा यस बारे कुरा गर्दा उनले भनिन्, “भाइ, मलाई थाहा थियो, उनले यस्तै गर्नेछन् । ल अब यो कुरा छाडिदेऊ, अब मेरो चिन्ता नगर, बरु तिमीले राम्रो केटी भेटे तुरुन्तै बिहे गर । भाइ, अब म मेरो बाँकी जीवन कुनै न कुनै रूपमा बिताउनेछु ।”

“तर दिदी, यो एक्लोपन…” मेरो कुरा काट्दै उनले भनिन्, “हो भाइ, अब एउटा कुरा ध्यानमा राख्नु मेरो फोन नआए पनि राम्रै छु भनी बुझ्नू ।” उनले रुँदै फोन काटिन् ।

दुई महिनापछि मेरो विवाह  हुने पक्का भयो । दिदी मेरो बिहेमा आएकी थिइन् तर विवाहभरि मौन बसिन् । उनले मेरो बिहेमा दिएको उपहारलाई मैले सबैभन्दा बहुमूल्य उपहार सम्झेर आफ्नो दराजमा सुरक्षित राखेको थिएँ ।

बिहेपछि श्रीमतीसँग हनिमुनमा गएँ । त्यहाँबाट फर्केपछि तुरुन्तै आफ्नो काममा व्यस्त भएँ । एक रात साढे दश बजे फोनको घण्टी बज्यो । प्रहरी चौकीबाट फोन आएको थियो “यहाँ लीला नामकी महिलाले आत्महत्या गरेकी छिन् । तपाईं तुरुन्त आउनुहोस् ।”

यो सुनेर म छक्क परेँ । आमालाई लिएर म भैरहवा पुगेँ । मैले भिनाजुलाई फोनमा सबै कुरा भनेँ तर उनी आएनन् । दिदीको अन्तिम संस्कार मैले नै गर्नु पर्‍यो ।

दिदीको आत्महत्यामा भिनाजु मात्र जिम्मेवार हुन् । उनले दिदीलाई जुन अनगिन्ती यातना दिएका थिए कहिलेसम्म सहने ? यस प्रकारको एक्लोपन आजीवन कारावास भन्दा कम पीडादायी हुँदैन ? पहिला भिनाजु छुट्टै कोठामा सुत्नु, त्यसपछि केही नभनी चुपचाप नवलपुर सर्नु र त्यसपछि त्यहाँ गएर दोस्रो बिहे गर्नु, दिदीसँग उनको यो अक्षम्य अपराध हो । म उनलाई मात्र दिदीको अपराधी मान्छु ।

म सम्झनाको घेराबाट बाहिर निस्केर ओछ्यानमा पल्टिएँ । अञ्जली, मेरी श्रीमती मामाघर गएकी छन्, त्यसैले एक्लोपनले मलाई निल्न मतिर सर्दै थियो, त्यसमाथि पनि दिदीको सम्झना । त्यसै बेला बिहेमा उनले दिएको अमूल्य उपहार सम्झेँ, हतार हतार कोठामा गएर दराज खोलेर दिदीले दिएको उपहार निकालेँ । अब मेरो अगाडि दिदीले दिएको सिल्बर पेपरमा बेरिएको अमूल्य उपहार थियो । मैले सिल्बर पेपरको कभर खोलेर हेर्दा म छक्क परेँ । दिदीले मलाई आफ्नो ज्यान भन्दा प्यारो पारिजातको किताबहरू उपहार दिनु भएको थियो । मैले एउटा किताबको पहिलो पाना पल्टाएँ । दिदीले आफ्नै हातले लेखेकी थिइन्, ‘दिदीको तर्फबाट प्यारो बिक्रम भाइलाई अमूल्य विवाह उपहार । भाइ ! जीवनमा कहिल्यै कसैलाई आफ्नो कठपुतली नबनाऊ र आफैँ कसैको कठपुतली नबन । तिम्रो दिदी लीला ।’

उनले लेखेका शब्दहरू पढेर म भावुक भएँ र त्यही अवस्थामा किताबको अर्को पाना पल्टाउन थालेँ, तब एउटा कागज भुइँमा खस्यो । त्यो कागज उठाएर पढ्न थालेपछि मेरा आँखा भरिए  । त्यो दिदीको पत्र थियो, मलाई मात्र सम्बोधन गरिएको थियो । उनले लेखेकी थिइन्:

“प्यारो भाइ । सबैभन्दा पहिले यो पत्र तिम्रो लागि मात्र हो । यो ख्याल राख्नु । यस पत्रमार्फत म तिम्रो सामु केही तथ्यहरू ल्याउन चाहन्छु जसको तिमीहरू अझैसम्म अनभिज्ञ छौ । भाइ ! मेरो सासू र नन्दले मलाई दिनहुँ  तेरो बिहे भएको पाँच वर्ष नाघिसकेको छ भनेर बचन लाउँथे । छिमेकीहरूले पनि बुहारीको अझै सन्तान भएन । यदि भएको छैन भने, कुनै साधु सन्त वा बाबाको आश्रममा लैजानु र आशीर्वाद लिनु ।

भाइ, मलाई यस्ता कुराहरूले मन दुख्ने गर्दथ्यो, तर त्यसमा पनि यो अर्को घटना भयो । हाम्रो नजिकैको छिमेकीको बुहारीको दही चिउरा खुवाउने कार्यक्रम थियो । म पनि त्यहाँ गएको थिएँ । एक एक गरी सबै महिलाले शुभकामना दिँदै थिए । जब म उनलाई शुभकामना दिन उठेँ, उनले मलाई बाँझी महिला भन्दै अस्वीकार गरिन् । उसको मुखबाट यी शब्द सुनेपछि मेरो हालत यस्तो भयो कि काट्यो भने रगत बग्दैन । त्यहाँबाट अपमानित भएर म घर आएर सुत्ने कोठामा रोइरहेँ ।

एक दिन जब मैले आफ्नो नन्दलाई यो कुरा सुनाएँ, उनले भनिन्, ‘यसमा के भयो र ? पाँच वर्षभन्दा बढी भइसक्यो । यति वर्ष बितिसक्दा पनि तिम्रो कोख भरिएन भने अरूले तिमीलाई बाँझी त भन्छन्, होइन र ?’

‘भाइ, तिमीलाई याद छ, एक पटक फोनमा कुराकानीको क्रममा मैले दुम्किबास नजिकैको पहाडमा साधु बाबाको आश्रममा जाने कुरा गरेको थिएँ । भाइ, म पहिलो पटक सासू र नन्दसँग त्यहाँ गएको थिएँ । त्यसपछि उनले भनिन्, ‘त्यस बाबाको आशीर्वाद पाएर धेरै नारीहरूको कोख भरिएको छ भन्थे । नन्दले मलाई डाँडाको बाबाको आश्रममा लगिन् । बाबाको आश्राममा ‘तनाव हटाउने बाबाको आश्रम’ भन्ने ठुलो बोर्ड राखिएको थियो । तल लेखिएको थियो, ‘यहाँ जडीबुटीले सबै किसिमका समस्या निको पार्छ ।’ त्यहाँ धेरै पीडित महिला–पुरुष बसिरहेका थिए । बाबाले एक एक गरेर सबैलाई भित्र बोलाउँथे । मेरो पालो आएपछि बाबाले भन्नुभयो, ‘मैले तिम्रो समस्या बुझेको छु । तिमीसँग को-को आएका छन् ?’

‘मैले इशारा गरेर भनेँ कि मसँगै नन्द आएकी छन् ।’

उसले नन्दलाई भन्यो, ‘बहिनी, कुरा पुरानो भइसक्यो, समय लाग्छ तर परिणाम अवश्य राम्रो आउँछ । यसलाई चार महिनासम्म औंसीको रातमा यहाँ ल्याउनु । तन्त्रमन्त्र, पूजा र हवन आदि गर्नु पर्छ । गर्भगृहमा यी सबै काम रातिमा गरिन्छ,’ त्यसपछि उसले मेरो घाँटीमा जन्तर बाँधेर नन्दतिर हेरेर भन्यो, ‘अब औँसीको रात यहाँ ल्याइदिनु ।’

‘बाबाको भनाइअनुसार म नन्दसँग तीन महिनासम्म औँसीको रात पहाडमा बाबाको आश्रममा गइरहेको थिएँ । चौथो औँसीको रातमा बाबाको आश्रममा पुग्दा बाबाले मेरी नन्दलाई भने ‘बहिनी, आज राती ११ बजे गर्भगृहमा विशेष तान्त्रिक महापूजामा बस्न लगाइनेछ । यो तन्त्रक्रिया एकान्तमा गरिन्छ, त्यसैले यदि तिमी चाहन्छौ भने घर जानु र बिहान एक बजे पछि लिन आउनू।

उनले भने पछि नन्द घर गए । त्यसपछि ती बाबाहरूले मलाई अँध्यारो गर्भगृहमा लगेर हवनकुण्डको अगाडि बसाएका थिए । उनीहरूले केही बेर चर्को चर्को स्वरमा मन्त्रोच्चारण गरे, त्यसपछि बाबाले भने, ‘अब एक–एक गरी शरीरमा भएको लुगा फुकालेर यो अग्निकुण्डमा फालिरहनु ।’

मैले कपडा फुकाल्न अस्वीकार गरेँ । त्यसपछि एउटा साधुले पछाडिबाट मेरो हात समात्यो र अर्कोले ममाथि जबरजस्ती गर्न थाल्यो । म चर्को स्वरले चिच्याएँ, तर टाढा डाँडामा मेरो आवाज सुन्न कोही थिएन । त्यो रात म उनीहरूको दुर्व्यवहारको सिकार भएँ । दुर्व्यवहार गरेपछि उनीहरूले मलाई डाँडाबाट तल फाल्न चाहन्थे तर धेरै सङ्घर्षपछि ज्यान जोगाएर त्यहाँबाट भाग्न सफल भएँ ।

‘भाइ, दुर्व्यवहारको सिकार भएपछि म तुरुन्तै आत्महत्या गर्न चाहन्थेँ, तर त्यस्तो अवस्थामा मेरी सासू र नन्दले मलाई नै दोषी ठान्नेछन्, त्यसैले ज्यान जोगाएर घर आएँ । जब यो घटनाको बारेमा नन्दलाई सुनाएँ, उनले भनिन्, ‘तिमीसँग त्यहाँ यस्तो हुन्छ भन्ने मलाई के थाहा ? हामी यो मात्र चाहन्छौँ कि जसरी पनि तिम्रो कोख भरियोस् र हाम्रो दाइलाई आफ्नो वंश चलाउने कोही होस् ।’

‘यो घटनाबारे मेरी सासुलाई थाहा भएपछि उनले भनिन्, ‘मेरो भाग्यले म मरेपछि पनि मलाई पानी दिने कोही नहुने भो जस्तो लाग्छ ।’

भाइ ! अब तिमी नै भन, यस्तो फोहोरी जीवन बाँचेर के गरूँ ? तिम्रो भिनाजुले मेरो जीवनमा दिएको एक्लोपनले दिक्क भएँ, त्यसैले आत्महत्या गरूँ कि भन्ने सोच आएको छ । भाइ, ख्याल राख्नु, यो चिठी केवल तिम्रो लागि मात्र हो, त्यसैले यो कुरा कहिल्यै कसैलाई नभन्नू, प्रहरीलाई पनि नभन्नू ।

तिम्रो दीदी लीला ।’

पत्र पढेपछि दिदीको मृत्युमा भिनाजु मात्र दोषी छ भन्ने कुरा मनमा पक्का भयो । अब दिदीको यो चिठ्ठी प्रहरीमा बुझाएर भिनाजु र तथाकथित झुटो बाबाहरूलाई कारबाही होस् भन्ने मन छ तर दिदीको चिठ्ठीमा लेखिएका शब्दलाई पनि सम्मान गर्नुपर्छ कि ‘भाइ ख्याल राख्नु, यो चिठी केवल तिम्रो लागि मात्र हो, त्यसैले यो कुरा कहिल्यै कसैलाई नभन्नू, प्रहरीलाई पनि नभन्नू ।’

म विचलित र अलमलमा छु के गर्ने ? दिदीको आत्महत्या व्यर्थ जान दिऊँ ? सायद, मानिसको यो अवस्थालाई विवशता भनिन्छ ।