आकाश डम्म धुमिएकाे छ । त्यसले दोब्बर धुमिएका छन् किसानेकाे मन । आज पनि उसकाे पालो आएन तारजाली पाउने । धेरै छन् प्राकृतिक पीडितहरू । हतार छन्, बित्दो छन् , भयावह छन् सबैका कथाहरू ।

‘करेसोमै ठोकिरहेछ खोला ।’ एकजना मान्छेको कथा ।

‘तुरुन्तै बाँध निर्माण नभए पुरै गाउँ लैजान सक्छ नदीले । पहिलो प्राथमिकता हामीलाई होस्, हाम्रो गाउँको विषय छ ।’ सुरिन्छ गाउँको त्रास बिसाउन आउने मान्छे ।

‘होइन मेरो पालो आउन पर्छ, यहाँ बसेको तीन दिन भइसक्यो । हाम्रो खेत बाँझै छ ।’ अर्को टोक्दै गरेको लामखुट्टेलाई मार्दै भन्छ ।

‘होइन यो कार्यालयमा आफन्तवाद र कृपावाद चल्छ के हो ? आजै आउनेले जाली पाएर हिँडिसके । यो भएन साथी हो, यहाँ पहुँचको दबदबा भइरहेछ । भेला भएर नारा लगाऊँ साथी हो -‘भ्रष्ट कर्मचारी !!’

अरू कराए -‘मुर्दावाद मुर्दावाद !!!!’

‘नातावाद कृपावाद !’

‘चल्दैन चल्दैन !!’

‘भेदभावी कर्मचारी  !!’

‘हाेस गर होस गर !!’

जुलुस नै मच्चिन थालेपछि प्रहरी तैनाथ भए । तारजाली बोकेर हिँडेको मान्छेले फर्केर मोबाइलमा रेकर्डिङ भएको भिडियो देखायो । हेरे पछि सबै चुप भए । उसकाे घर निरै ठोकिरहेको थियो खोला ।

चौबिसै घण्टा एफ एममा सुन्छन् कर्नालीले रेटेको कुरा । कोसीले उजाडेको कथा । बबई नदीले दिने वेदना ।कन्काइ खोलाले बिर्सेको बाटो । पहिरोले राजधानीसँग भाँचेकाे टाँगो । पहाडी गाउँलेले भोग्न परेको चोट । तराई क्षेत्र जलमग्न भई सर्पदंश र झाडापखालाले मान्छे मरेका खबरहरू ।

भँडारे काका पालो मै छन्, दुई दिन भाे सदरमुकाम आकाे । होटेलमा खायाे, पानीको बोतल किन्यो, मोबाइलमा कुरा गर्याे, लर्कने खसी बेचर ल्याएको पैसा तुरिसक्यो । त्यो भन्दा फड्को जान लाग्छ धुमिएकाे आकाशले । पुर्खाबाटै जीवनयापन दिँदै आएको खोला यसपालि रिसाएको छ, उसकाे पेट काटेर गाउँ जाने बाटो निर्माण भएपछि । अझै माथि माथि बाटो खन्दा फ्याँकेको माटो समेत खोलाले बोकेर झर्ना पर्दा बहुलाएको छ । र स्वतन्त्र भई मान्छेका खेततिर पस्दै छ ।

भँडारे काकाको खेत पनि कटानमा पर्दा, बुझ्ने मान्छेहरूलाई सोधपुछ गर्दा, अधिकारी खोज्दा,  वार्डको सिफारिस, थानाको सर्जिमिन गर्दा पाँच दिन बित्यो । त्यसपछि जिल्लामा तीन दिन भइसक्यो तारजाली पाउने आशा बोकेर बसेको। तटबन्धको लागि तारजाली पाए पछि खेत जोगाउने ठुलो आशा छ भँडारे काकालाई । विविध समस्याका दाह्राहरूले तीन कट्ठा जति टोकिसकेको छ । यसपालिको बाढी भेलबाट रहेको दुई कट्ठा पनि जोगिएन भने, सर्वस्वहरणमा पर्ने छन् बिना अपराध नै ।

मेघ गर्जनसँगै मूसालधारे पानी परिरह्याे । भँडारे काका आफन्तको दलानबाट आफ्नो गाउँको दिशातिर हेरिरहेका छन् अकल्पनीय त्रास बोकेर । घरमा पोन गर्न छट्पटिरहेका छन्, तर मोबाइलको चार्ज सकिएको छ । अरूको मोबाइलमा पनि टावर छैन शायद पानी परेर होला ।

बिहान आठबजे दस ओटा जालीकाे निवेदन दिएकोमा  केवल दुइटा मात्र पायो । त्यही जाली बोकेर बसपार्क आए काका । त्यता कुनै बस नजाने जानकारी हुन्छ, भत्केका छन् अरे बाटो, भलबाढीले ।

पैदलै हिँडे जाली बोकेर । शायद समय काकाको विपक्ष भएर उभिएको छ । र त रातभरि पानी परेको आकाशले यातना दिइरहेकाे छ, प्रचण्ड  घाम बोकेर । भित्री मधेसको तातो ठाउँ, तररर पसिना झार्दै थकित भई पाँच बजे गाउँ पुगे काका ।

गाउँलेहरू लहरै उभिएका थिए खोलातिर हेर्दै । त्यहाँ पुग्दा सबैको हेराइ काका तिरै सोझिए ।

‘कहाँ लाउने तारजाली ? भाइको खेत त सबै बगायो खोलाले ।’ गैरी टारे दाइले भँडारे काकालाई टिस्याउँदै भन्नु भयो ।

‘हो र…?’ भन्दै जाली फ्याँकेर दगुरे आफ्नो खेततिर ।साँच्चै आफ्नो खेतको नामाेनिशान थिएन ।त्यहाँ त ठुलो खोला उर्लिरहेको देखे ।  थचक्क बसे । स्याँस्याँ हुँदै सास बढ्यो । उप्रान्त काका कागजीमा नभए पनि भौतिक रूपमा सुकुमबासी भइसकेका थिए ।

काकाको मगजभित्र रन्थनियो तीनाेटी छोरीको बिहे, महिनाको हजार रुपैयाँको भन्दा माथिको श्रीमतीको औषधी, त्यसपछि खाने के ? बिना उत्तरको प्रश्नमाला ।

कतार हुर्रिँदै आएर दम्का रोगी श्रीमतीले अँगालेर रोइन्, राेइरहिन् । सास झनै बढेको थियो, त्यो देखेर झनै अतालिन्छन् काका ।

सबैले ढाडस दिए । गाउँपालिका, सामुदायिक बन उपभोक्ता समिति लगायत सङ्घ संस्थाले साहेता गर्ने प्रण गर्छन् । स्थानीय पत्रकारले स्थितिको भिडियो  बनाई अनलाइनबाट प्रसार गरे सहयोगको याचना गर्दै ।

‘समय मै तारजाली दिएको भए मेरो खेत जोगिने थियो’ भन्दै मुड्कीले हाने छातीमा डम्मै । अब हाम्रो आउँदो  जीवन के हुने हो जुनुकी मम्मी ? भन्दै श्रीमतीलाई अँगालेर झनै पगालिए काका ।

‘नसुर्ताउनुस् म पाल्छु तपाईंहरूलाई । विदेश गएर कमाएर ल्याउँछु बुबाआमा ।’ भन्दै ठुली छोरी पनि  छाँदिएर रुन्छे ।

‘कसले ऋण दिन्छन् र हामी सर्वहारालाई, अनि विदेश जान्छेऊ छोरी ।’ छोरीलाई हेर्दै झनै करुण बने भँडारे काका ।

समय बित्दै गयो –

सहयोगी हात बाट जेनतेन चलेको जीवन । आज फाँटतिर गएका छन् आमा छोरी बनी गर्न ।

जति कम्लाए पनि थारै बस्ने थोरे भैँसीलाई एक पाँजो घाँस दिएर पेटीमा बसेर सानो सिसाभित्र मुस्कुराइरहेको छोराको तस्बिरलाई हेरे, चसक्क चस्कियो छाती, धसियो मन भँडारे काकाको ।

‘छोरालाई निमोनियाले नखाएको भए यति बेला लक्का जवान हुने थियो । धेरै पढ्थ्यो, गाउँको प्यारो हुन्थ्यो ।’ काका मनमनै कता कता हराउँछन् । झनै कल्पनाको सागरमा चोभिए -‘छोरा जिउँदो भए हाम्रोमा पनि रेमिटेन्स आउने थियो । तल बजारमा काठकै खाँबा, धरिन र टाेकल ठोकेर उभिन्थ्यो घर । या त्यो बजारे स्कुलको माडसाहाब भएर धेरै विद्यार्थीका गुड्माेर्निङ सर हुन्थ्यो मेरो छोरो ।’

ओठमा च्यापेको खैनी फ्याँकेर  प्याच्च थुक्दै फेरि कल्पनामै डुबे । आज मरेर गएको छोरोलाई जिउँदो  बनाएर कल्पनु साह्रै मजा आएको छ काकालाई – ‘या त मेरो छोरो गाउँपालिकाको अध्यक्ष अवश्य बन्थ्यो । बुद्धिका तिखो थियो, बा अमेरिका पुग्थ्यो रतन सरकाे छोरा झैँ चिट्ठा परेर । लौ ती सबै नहोस्, कृषि तालिम लिएर खेती गर्थ्यो, कृषि मेलामा हाम्रो काउलीले प्रथम पुरस्कार पाउँदा कति मगमगाउँथ्याे मेरो छोरोको नाम ।’

भैँसीले अइँ गर्दा पो झस्किए । सालाले काठमाडौँबाट ल्याइदिएकाे  बाल्टीमा पानी भरेर भैँसीलाई दिए । त्यहीँ बसेर भैँसीले पानी तानेकाे  तरङ्गसँगै फेरि हराउनु भयो छोरा कै सम्झनामा – ‘बा साहित्यकार भएर सभा तताउँथ्याे होला कविताको वाण छोड्दै । या गायक भए आज युटैवमा उसकाे गीत सुनेर कति रमाउँथ्याैँ हामी ।अनि माेटरसाइकलमा राखेर उसकाे माउलाे पुर्याउँथ्याे, धुलो उडाउँदै । लौ केही नगरे पनि ऋणपान गरेर एउटा अटो त किन्थ्यो पक्कै । अनि कति सजिलो हुन्थ्यो मधेस, लेख, बेँसीको यात्रा । काश मेरो छोरो कुनै सङ्घ संस्थाकाे अध्यक्ष भए कति हुन्थे खादा र ब्याजका लस्करहरू ।’ झसङ्ग भए थोरे भैँसीले टाउको हल्लाउँदा लागेको पानीको छिटाले ।

‘छि: के नहुँदो कल्पना गरेको म मुलेले ।’ भन्दै गोबर  साेहाेर्न थाले ।

‘नमस्कार है अङ्कल !’ भन्दै जिल्लाबाट पत्रकार आइपुगे ।

पिँढीमा खोस्टे पिरा दिँदै काकाले भन्नु भयो, ‘बसौँ है नानी  ।’

बस्दै पत्रकार भन्छन्, ‘हाम्रो युटूब हेरेर विदेशमा बस्ने नेपाली युवाहरूले पचास हजार सहयोग रकम पठाउनु भएका छन् ।त्यो रकमलाई गजल वाचनको कार्यक्रम राखी सी डी ओ साहेबको हस्तद्वारा रकम हस्तान्तरण गर्ने कार्यक्रम राखेका छौँ ।’ एउटा खाम दिँदै ‘निमन्त्रणा हजुरलाई । भोलि ठिक बिहानको एघार बजे साहित्यिक हलमा आइपुग्नु होला ।’

प्रफुल्ल बने काका सुनेर ।

साहित्यिक हलमा प्रमुख अतिथि जिल्ला प्रमुखको छेउ मै विशेष अतिथिको सुन्दर रिबने ब्याज र टल्कने खादा ओढेर अग्रपङ्क्ति मा बस्न पाउँदा अति हर्षित बने भँडारे काका । उहाँका पारिवारिक सन्दर्भ र विपतका लुँगहरू उही पत्रकार बाबुले भट्याइरहँदा झनै काकालाई हर्षले सगरमाथा टेकेको अनुभूत प्रसार भइरहेको थियो । दर्शकदृघाकाे हूलमा बसेकी भँडारनी काकीलाई पनि  अचम्मित लागिरहेको थियो, आफ्नो श्रीमानलाई त्यो अग्लाे ठाउँमा बसेर हाँसिरहेको देख्दा । उकालो हेरेर नमन गर्दै बरबराइन्- ‘धन्य ! अर्काको देशमा पसिना बगाउँदै खुसीको कोसीलाई हामी सम्म पुर्यायाैँ । कल्याण होस दानी मनहरूको । आज तिमीहरूले त बचाइरहेका छौ नेपाली पीडितहरूलाई । चाहे भलबाढी पीडित हुन्, चाहे क्यान्सर पीडित । चाहे मिर्गौला फेर्न पराेस् चाहे ब्लडमणि सङ्कलन गर्न पराेस् धन्य धन्य । तपाईंहरूले दिनु भएको अकल्पनीय खुसी !’ भन्दै बररर खसाइन खुसीको आँसु । राेक्दा राेक्दै पनि भकानियाे मन ।

एउटा अतुलनीय पीडित हिक्काले शून्यतामा डुब्न विवश बन्यो कार्यक्रम भइरहेको साहित्यिक हल ।