सहरको यो व्यस्त कोलाहलमा पनि म मौन छु । सायद सुनिदिने कोही नभएर होला मसँग बोल्नका लागि कुनै शब्द छैनन् । झमक्क साँझ परे पनि सहर उज्यालो छ । सडकमा विभिन्न सवारीसाधनहरू हर्न बजाउँदै आफ्नै रफ्तारमा कुदिरहेका छन् । सबैलाई आफ्नो गन्तव्यसम्म पुग्न हतार छ । सडक छेउका सटरहरू धमाधम बन्द हुँदै छन् । महिलाहरू हातमा तरकारीका झोला बोकेर घरतिर पर्खिरहेका छन् ।

एक हुल मदिरा प्रेमीहरू ‘ मैयाँ भट्टी पसल’को बाहिरपट्टि टुसुक्क बसेर मदिरा पान गर्ने मुड बनाउँदै छन् । हुन सक्छ उनीहरू मदिरा पान भन्दा पनि मैयाँको जवानी पान गर्ने मुड बनाउँदै छन् । खयर, यो उनीहरूको निजी मामला !

यतिखेर म बुदचोकमा छु । बाटो काट्न लाई जेब्राक्रस नजिकै आफ्नो पालो कुरिबसेको छु । अलि परसम्म हेर्छु खासै कुनै सवारी नजिक नआएको देख्छु । म सरासर अघि बढ्छु । यत्तिकैमा उत्तरतिर बाट एउटा मोटरसाइकल बत्तिँदै आएर मलाई नै उछिट्याउला झैँ गरेर अघि बढ्छ । मोटरसाइकल धारीले साथमा एउटी बिस बाइस बर्से युवती पनि बोकेको छ । युवती मोटरसाइकल धारीको पिठ्युँमा चपक्क टाँसिएकी छ । फलाममा चुम्बक टाँसिए जसरी । त्यो युवती मोटरसाइकल चालककी गर्लफ्रेन्ड वा प्राइभेट पत्नी हुनुपर्छ ।

“मुला पत्नी होस् कि गर्लफ्रेन्ड आँखै नहेरी कुदाउने ?” यस्तै यस्तै वाक्य फलाक्दै अघि बढ्छु ।

अलि पर बसपार्क रोड छेउको होटेलको एक कुनोमा बसेर एक कप चिया र बल्याक चुरोट पिइरहेको छु । चियाको अन्तिम चुस्की पिउनै लाग्दा गोजीको मोबाइल थरथरायो । मोबाइल झिकेँ । सेभ नगरेको नम्बरबाट फोन आएको रहेछ । फोन उठाउन मन लागेन । फोनलाई टेबलमा राखेर थरथराउन दिएँ । एक छिनमा चुप भयो । पुनः फोन आयो । साला फोन नउठाई नहुने भो भनेर उठाएँ ।

“हेलो ! को बोल्नु भो होला ?”

“सुवर्ण ! म आरती बोल्दै छु ।”

“को आरती ? म चिन्दिन को कोही आरती सारती” म झर्केर बोल्छु ।

“सरी सुवर्ण ! मैले तिम्रो मन दुखाएँ, सक्छौ भने मलाई माफ गर !” ऊ भन्छे ।

“मलाई कसैको सरीको आवश्यकता छैन । फोन राख !” म रिसलाई कायमै राखेर बोल्छु ।

“मेरो नम्बर ब्लकमा किन राखेको ? अहिले मामुको मोबाइलबाट लुकेर फोन गर्दै छु । सुवर्ण मेरो क्यानडाको भिजा लाग्यो । जानु भन्दा पहिला एक चोटि तिमीलाई भेट्न …।” ऊ यस्तै केही भन्दै थिई मैले फोन काटेर मोबाइल अफ गरिदिएँ ।

= = =

आरती मेरी पूर्व प्रेमिका थिई । छ दिनअघि मात्र मैले हाम्रो दुई बर्से प्रेमको बहीखाता सधैँ सधैँका लागि बन्द गरेको थिएँ । अब ऊसँग कहिल्यै नबोल्ने, नभेट्ने कसम खाएको थिएँ । उसलाई फेसबुक , म्यासेन्जर सबैतिर ब्लक गरेको थिएँ । तर उसका यादहरूलाई ब्लक गर्ने सकेको थिइन । मोबाइलमा सेभ गरेका उसका सबै फोटा डिलिट गरेको थिएँ । तर मनमा सेभ भएको उसको तस्बिर मेटाउन सकेको थिइन ।

यो मनमा बसेको उसको तस्बिर कहिल्यै मेटिने छैन । बरु मेटिने छ मेरो अस्तित्व । अलिकति पनि दाग नछोडी मेटिने छ । तर उसको याद कहिल्यै मेटिने छैन ।

उसको भिजा लाग्यो ! ऊ जाँदै छे । बिछोडको पिडाले भन्दा पनि ऊ जाँदै छे भन्ने कुराले मन खिन्न भयो । छिन्न भिन्न भयो । सिसा टुक्रिएसरि टुक्रियो मेरो मन र आँखा रसिला भए । भक्कानो फुटेर आयो । काँपिरहेको बोली मै मैले मदिरा अडर गरेँ । लाग्यो एक चोटि उसलाई भेटेर अँगालो मारेर रुन्छु । र बगाउँछु उसका यादहरू, उसकै त्यो अन्तिम अँगालोमा छोडेर आउँछु ती प्रेमिल क्षणका सम्झनाहरू । अबेरसम्म मदिरा पान गर्दै होटेलको त्यही कुनामा टोलाइरहेँ । मदिरा भन्दा प्रेयसीका यादहरू धेरै लाग्ने रहेछन् । मलाई मदिराले छुँदै छोएन । आँखा अघि ऊसँग बिताएका दिनहरू झलझली नाचिरहे ।

घडी हेरेँ दस बजेर दस मिनेट गएको थियो । होटेलबाट निस्केर कोठातिर लागेँ । सडक सुनसान थियो । केही दिन पहिले एकर्काका हात समाएर हिँडेका गल्लीहरू सुनसान थिए । सुनसान ती गल्लीहरूले मलाई जिस्काए जस्तो लाग्यो । यदि ती गल्लीहरूले ‘ तेरो प्रेमिल संसारमा एकाएक के आइलाग्यो ? किन पागल भएर हिँडिरहेको छस् ? भनेर सोधे म भन्दो हुँ, ‘मेरो मायाको संसारमा समयले आगो लगाइदियो । जलाइदियो हाम्रो सपनाको महल । ढलाइदियो हाम्रो विश्वासको स्तम्भ । अब त केवल बाँकी छन्  हाम्रो संसार जलेर थुप्रिएका खरानी का रासहरू । जसले हाम्रो सङ्गै जिउने, सङ्गै मर्ने कसमलाई झुटो साबित गरिदिएका छन् ।

कोठामा पुगेँ । भित्तामा झुन्डिएको हाम्रो तस्बिर हेर्दै चुरोट सल्काएँ । अचेल म धेरै चुरोट पिउन थालेको छु । लाग्छ ‘जाबो चुरोट पिएर के हुन्छ र ? मायाले मन जलाएकै छ । चुरोटले फोक्सो त जलाउला नि । यो भन्दा बढी के गर्ने सक्छ यो नाथे चुरोटले ? चुरोटको ठुटो निभाएर भित्तामा फ्रेममा राखिएको हाम्रो तस्बिरलाई नियाली रहे । मनमा रिस, माया, घृणा, दया सबै जागेर आए । फ्रेममा एक मुटकी बजारेँ । सिसा टुक्रिएर भुइँभरि छरियो । हातबाट रगत बग्न थाल्यो । हातमा उसैले दिएको रुमाल बाँधेर खजमजिएको ओछ्यानमा पल्टिएँ । अबेरसम्म निद्रा लागेन । मनमा अनेक कुरा खेलिरहे ।

एघार कक्षाको पहिलो दिन मकवानपुर बहुमुखी क्याम्पसको गेटमा ऊसँग मेरो पहिलो भेट भएको थियो । विस्तारै हामी असल साथी भयौँ । साथी भन्दा माथि भयौँ । हाम्रो मन साटियो । हाम्रो तन साटियो । भावना साटियो, सपना साटियो । दुख साटियो, सुख साटियो । हाम्रा दुई मुटु गाँसिए । साटिनु पर्ने सबै साटिए । गाँसिनु पर्ने सबै गाँसिए ।

हेर्दाहेर्दै दुई वर्ष बिते । हाम्रो सम्बन्ध झनझन गहिरो हुँदै गयो । एकछिन पनि छुट्टिएर बाँच्न नसक्ने भयौँ । कक्षामा पनि सँगै बस्थ्यौँ । कलेज आउँदा जाँदा सधैँ सँगै हुन्थ्यौँ । राती अबेरसम्म म्यासेन्जरमा कुरा भइरहन्थ्यो । बिहान उठ्दा पहिलो म्यासेज उसैलाई गर्थे । शनिवार घुम्न जान्थ्यौँ । पढ्ने बेला मिलेर पढ्थ्यौँ । मेरो नोटहरू उसैले सारिदिन्थी । परीक्षामा आफूले पाएको चिट सुटुक्क मलाई दिन्थी । म बिरामी हुँदा मेरो कोठामा आएर खाना उसैले पकाइदिन्थी । म त गाउँबाट पढ्न भनी सहर पसेको एक्लो मान्छे तर मैले कहिल्यै एक्लो महसुस गर्नु परेको थिएन । मेरो सुख दुखमा ऊ सधैँ सँगै हुन्थी । ऊ मेरो जीवनको अभिन्न अङ्ग बनेकी थिई । बितेका यी दुई वर्ष प्रेममा लिप्त भएर बिताएका थियौँ ।

जुन गतिमा हाम्रो सम्बन्ध अघि बढ्यो त्यही गतिमा बिग्रँदै गयो । बाह्र पासपछि ऊ आयल्स गर्दै थिई । उसलाई क्यानडा जानु थियो । ऊ बेला बेला मलाई पनि आयल्स गरेर क्यानडा जान आग्रह गर्थी । तर मलाई विदेश जान मन थिएन । म त नेपालमै व्यापार गरेर बस्न चाहन्थे । म मकवानपुर बहुमुखी क्याम्पस मै बि.बि एस पढ्न थालेँ । मेरो कक्षा दिउँसो हुन्थ्यो । बिहान म फुर्सदमा हुन्थेँ तर उसको आयल्सको कक्षा चलिरहेको हुन्थ्यो । म फुर्सदमा हुँदा ऊ व्यस्त हुन्थी । ऊ फुर्सदमा म व्यस्त हुन्थे । बेलुका खाना खाइसकेपछि मात्रै हाम्रो कुरा हुन्थ्यो । ऊ दिनदिनै कम बोल्न थालेकी थिई । म्यासेजको जवाफ पनि छोटो छोटो दिन थालेकी थिई । हाम्रो भेट नभएको एक महिना जति हुन थालेको थियो । बोल्न थालेको केही छिनमा ऊ निद्रा लाग्यो भनेर सुतिहाल्थी । म अबेरसम्म हाम्रो पुरानो म्यासेज हेर्दै बस्थेँ ।

मैले धेरै पटक सोधेको थिएँ । आरती आजभोलि के भो तिमीलाई ? किन मन खोलेर बोल्दिनौ मसँग ? ऊ केही पनि भएको छैन भन्दै मेरा प्रश्नहरूलाई बेवास्ता गर्थी । उसको यो व्यवहारले म दिनदिनै त्रसित हुँदै गएको थिएँ ।

ऊ एकाएक किन परिवर्तन भई ? किन मलाई पराइलाई जस्तो व्यवहार गर्छे । मेरो मनमा यी प्रश्नहरू जरा गाडेर बसेका थिए । के कारणले दुरी बढाउँदै छे । बेखबर थिएँ । थाहा छैन ऊसँग मेरा यी प्रश्नहरूको उत्तर छैन या ऊ दिनै चाहँदिन ।  दिनदिनै बदलिँदै गएकी थिई । मैले धैर्य गुमाउँदै गएको थिएँ । मेरा दिनहरू छटपटीमै बितिरहेका थिए । रातहरू हाम्रा पुराना म्यासेज हेर्दै बितेका थिए । म कमजोर हुँदै गए । खाना खान मन लाग्थेन । हरेक पल उसकै यादहरूले सताइरहन्थे ।

एकदिन ! अब कति सधैँ यो छटपटीमा बाँच्नु, कति रातहरू रुँदै बिताउनु, कति पागल जस्तै बनेर हिँड्नु ? आज त टुङ्गो लगाएरै छोड्छु भन्ने सोचेर उसलाई म्यासेज गरेँ ।

थाहा छैन तिमी किन परिवर्तन भयौ आरती ? के कारणले मसँग दुरी बढाउन चाहन्छौ । म कहाँनिर चुकेँ, के गल्ती भो मबाट ? तिमी किन हाम्रो सम्बन्धको गला रेट्न खोजिरहेकी छौ ?

म्यासेज सिन भयो तर जवाफ आएन । मैले नै अर्को म्यासेज गरेँ, ‘भन आरती मबाट के गल्ती भयो ?’ किन टाढा हुन खोजिरहेकी छ्यौ ? यो मयासेजको पनि कुनै जवाफ आएन । एक घण्टापछि एउटा लामो जवाफ आयो ।

लेखिएको थियो ।

सुवर्ण ! तिमी ठुलो जातको छोरा म सानो जातकी छोरी उसै पनि हाम्रो मिलन सम्भव छैन । मायाले मात्र संसार नचल्ने रहेछ । हामीले घर परिवार समाज सबै कुरा हेर्नु पर्ने रहेछ । तिम्रो मायालाई बुझेकी छु । तिम्रो साथ पाउँदा खुसी हुन्छु । तिमीलाई अझै पनि उतिकै माया गर्छु । तर सुवर्ण ! यो जुनीमा हाम्रो मिलन सम्भव छैन । हाम्रो सम्बन्धको बिचमा समाजले जुन पर्खाल खडा गरेको छ । यसले पनि हाम्रो मिलन हुन  दिने छैन । धोका दिई भन्ने नठान्नु । म तिमीलाई कहिल्यै भुल्ने छैन । तिमीबाट टाढै रहेर पनि तिमीलाई माया गरिरहने छु । तिमीलाई सम्झिरहन्छु । मेरो यादमा कहिल्यै नरुनू । बिस्तारै मलाई भुल्दै जानू । आफ्नो सपना पुरा गर्नू । सधैँ सुखी र खुसी हुनू । कहीँ छुटिनु थियो यहीँ छुटिएँ । गुड बाइ ।

उसको म्यासेजले म छाँगाबाट खसे जस्तै भएँ । निशब्द भएँ । थाहा छैन । कतिखेर आँखाका डिलबाट बगेको आँसुले मेरो गाला भिजाइसके । मलाई चिच्याएर रुन मन लाग्यो । जलेर खरानी हुन मन लाग्यो । मेटाउन मन लाग्यो आफ्नै अस्तित्व । सक्दो रोएँ । उसले दिएको रुमाललाई छातीमा च्यापेर रोएँ । यदि आँसुले मनका पीडाहरू बगाउने भए । त्यही रात म पूर्ण रूपमा स्खलित हुने थिए । सबै कुरा भुलेर खुसी हुने थिए ।

उसले त आफ्नो भागको सबै कुरा भनेर गई । तर मैले त दुई शब्द बोल्ने आँट पनि गर्न सकिनँ। दिनौँ जसरी मदिरा पिउन थालेँ । चुरोट नसल्काई एकछिन पनि टिक्न नसक्ने भएँ । मैले घरपरिवारलाई भुलेँ । साथीभाइ भुलेँ, मैले आफैलाई भुलेँ तर उसलाई भुल्न सकिनँ । सायद उसलाई भुल्न आफैलाई मेटाउनु पर्छ होला ।

म दिउँसै मदिरा सेवन गरी चौकी टोलको उकालोमा हिँडिरहेको थिएँ । माथितिर बाट एउटा मोटरसाइकल आइरहेको थियो । मोटरसाइकलमा एकजना केटाको पछाडि उसलाई देखेँ । त्यो केटा अरू कोही थिएन ऊ हाम्रै कक्षाको आमेस थियो । ऊ पनि क्यानडा जाँदै थियो । आरती र आमेशले एउटै कन्सल्टेन्सीदेखि भिजा अप्लाइ गरेका थिए । उनीहरू मलाई नदेखी गए । मैले दक्षिणतिर हेरेँ ।

त्यही साँझ मेलै आरतीलाई अन्तिम म्यासेज गरेँ ।

प्रिय आरती !

तिमी जहाँ जो सँग छौ । सधैँ खुसी र सुखी हुनु । तिम्रो हृदयमा दुख सुहाउँदैन । कहिल्यै दुखी नहुनू । तिम्रो मुहारमा सधैँ मुस्कान फुलिरहोस् । म चाहन्छु, मेरा आँसुले तिम्रो खुसीको बाटो नछेकुन् । म चाहन्छु, मेरा मलामीले तिम्रो जन्तीको बाटो नछेकुन् ।

। अलबिदा ।