फेसबुकबाट सुरु भएको प्रेम फेसबुकमै गएर अन्त हुन्छ  भन्ने कुरा मैले बुझेकी  थिएँ। यो कुरा मलाई मेरो बिगतको अनुभवले राम्रो पाठ पढाएको छ।

मेरा बाबुआमाले घरमा बोलाउने नाम सुनयना हो । तर फेसबुके नाम चैँ सुनिता चौहान हो । केही महिनादेखि म एउटा केटासँग फेसबुके प्रेममा छु । थाहा छ फेसबुके प्रेम फेसबुक जस्तै चटपटे र छटपटे हुन्छ मैले बुझेको छु, तर बुझ्दा बुझ्दै पनि मैले मेरो मनलाई चैँ बुझाउनु सकेकी छैन र अनियन्त्रित रूपमा अगाडि बढिरहेकी छु । जब एकान्तमा हुन्छु फेसबुक र अरू सोसल मिडिया मेरो श्वास जस्तै हो ।

नविन र मेरो प्रेम फेसबुकको माध्यमबाट झाँगिएको थियो । डेढ-दुई महिने हाम्रो फेसबुके प्रेमले सबै अव्यक्त कुराहरू व्यक्त गरिसकेका थिए । भन्न बाकी केही थिएनन् । बोल्न बाकी पनि केही थिएनन् । फेसबुक नै सर्वस्व भयो हाम्रो । फेसबुकमै बिहे गरिसकेका थियौ हामीले । अब सुहागरात मान्ने काम मात्रै बाँकी थियो त्यो पनि प्रत्यक्ष मात्रै हो अप्रत्यक्ष त मनाइसक्यौँ।

म एउटा हाई स्कुलमा म्याथको टिचर थिए। प्रायः गाउँमा म्याथ पढाउनेको निकै महत्त्व हुन्छ। एउटा गैरसरकारी संस्थाले म्याथ टिचरहरूलाई “टिचिङ मेथोड फर हाएर सेकेन्डरी स्कुल” नामक तालीम  दिइरहेको थियो। त्यही तालिममा भाग लिन म काठमाडाैँ जाँदै थिएँ। यो कुरा मैले मेरो फेसबुके प्रेमी नविनलाई भनेकी थिएँ कि म राजधानी आउँदै छु भनेर ।

यो न्युज पाएको केही दिनदेखि उसको निद खलबलिएको थियो । ऊ मेरो आगमनलाई अधैर्य भएर कुरिरहेको थियो। ऊ हरेक च्याटमा अनेकन् सपना बुन्ने गर्थ्यो र मलाई भन्थ्यो “तिमी आएपछि म तिमिलाई यस्तो माया गर्छु कि यस्तो माया कसैले पनि आजसम्म नगरेको होस् । तिम्रो तालीम अवधिभर हामी होटेलमा सँगै बस्ने । मैले तिम्रो लागि धेरै सपनाहरू थाती राखेको छु” ।

उसको प्रायः हरेक कुराको पछाडि कहीँ न कतै यौन जोडिएको हुन्थ्यो । उसको त्यो छटपटीमा म पनि सरिक भइदिन्थेँ । उसको कुराले प्रस्ट हुन्थ्यो कि ऊ निकै कामातुर छ । ऊ मलाई छुन निकै हतासिएको छ, पाउन निकै तड्पिरहेको छ । ऊ प्रायः च्याटमा मेरा शारीरिक अङ्गहरू देखाउन अनुरोध गर्थ्यो । म पनि उसका कुराहरूलाई मानिदिन्थेँ । मैले यो विषयलाई गम्भीरतापूर्वक लिएकी छैन । तर हरेक च्याटमा ऊ मेरो बैँसलाई परख गर्थ्यो । मात्तिएर उत्तेजनामा खै के के भन्थ्यो । म पनि उसको कुरामा खै किन कसरी बहकिन्थेँ होस नै गुमाएर। उसको कुरा गराइ मन पर्थ्यो मलाई । हरेक शब्दमा ऊ मेरो सौन्दर्यकाे खुलेर प्रशंसा गर्थ्यो। हामी स्त्रीहरू आफ्नै सौन्दर्य प्रशंसाको भोका हुन्छौँ  पुरुषबाट ।

मैले बुझेकी थिएँ जिन्दगीलाई र यो पनि बुझिरहेकी थिएँ कि हामीले समयलाई दुरुपयोग गरिरहेछौँ।

० ० ०

पहिलो प्रेम ब्रेक अप भएपछि निकै तनावग्रस्त थिएँ म । त्यही तनावको आवेग कम गर्न ममा फेसबुक चलाउने र नयाँ साथीहरू (प्रायः केटा) बनाउने आदत पर्दै गयो । योभन्दा अगाडि  एउटा टिचर (सुरज)सँग प्रेममा थिएँ करिब डेढ  वर्ष। फेसबुकमा स्थायी प्रेम भन्ने कुरा नहुने रहेछ। मेसेन्जर च्याटपछि भेट्न मन लाग्दो रहेछ। भेटेपछि खै के के हुँदो रहेछ । बैँस हो सम्हाल्न पनि अलिक गाह्रो। त्यो माथि पनि मायाको स्वाद चाख्न थालेपछि एक पछि अर्को कस्तो होला भन्ने जिज्ञासा मनमा हुरहुरती । शरीरको भोक भन्दा यौवनको भोक यति तीव्र हुँदो रहेछ कि विश्राम लिनै गाह्रो।

म जुन स्कुलमा पढाउँथे त्यहाँ टिचरका लागि छुट्टै आवास थियो । सुरज अङ्ग्रेजी पडाउँथ्यो । गाउँमा खुलेर प्रेम गर्न गाह्रो हुन्छ त्यहाँको वातावरण नै त्यस्तै हुन्छ। हेड टिचरको रुल कडा थियो। महिला आवास छुट्टै थियो । उसलाई  मेरोमा आउन अलि कठिन हुनेभएकोले म नै उसकाेमा जान्थे राती राती र बिहानै झिसमिसेमा आफ्नो रुममा फर्कन्थे  । विद्यार्थीहरू बिहान सुतिरहेका हुन्थे । एक दिन एउटी दस क्लासकी स्टुडेन्ट वासना रोकाएले देखिन मलाई झिसमिसेमै सुरज सरको कोठाबाट बाहिर निस्कँदै गरेको अवस्थामा। देख्नासाथ उल्टो उसैलाई हप्काएँ मैले कि यति सबेरै विद्यार्थी भएर किन बाहिर निस्केको भनेर। ऊ पनि लजाई म पनि लजाएँ । उसलाई फकाएँ चुप लाग है भनेर । उसले पनि भनी “मिस म पनि बाहिर निस्केको कुरा कसैलाई नभन्दिनु है” ।

यसो सोचेँ यो वासना रोकाए पनि कसैको वासनामा छे। वासना अरू विद्यार्थी भन्दा अलि उत्ताउली थिई। हेड सरले थाहा पाउलान् कि भन्ने ठुलो डर थियो । त्यस्तो कडा नियन्त्रणमा पनि हामीले प्रेम गर्यौं  दुई वर्ष।

स्कुलमा धेरै पिरियड लिनुपर्दा ऊ बेला बेलामा कतिन्जेल यो जाबो अस्थायी शिक्षकको जागिर खाइरहने भनेर गुनासो पोख्थ्यो र आफै देखि बिरक्तिन्थ्यो। पछि उसले भारतीय दूतावासबाट छात्रवृत्ति पाए भन्यो । बाहिर जान पनि कोसिस गर्दैथ्यौँ तर दुई दुई चोटि अमेरिकी एम्बेसी भिसा रिजेक्ट गर्दा भएको एक दुई लाख पनि रित्तिएपछि निकै भौँतारिरहेका देखिरहेथेँ सुरजलाई ।

अन्ततः उसले स्कुल छोड्ने निर्णय गर्यो। स्कुलबाट बिदाइ भएपछि काठमाडाैँ पुगेको सम्म खबर गर्यो । त्यसपछि ऊ हरायो। मोबाइल स्विच अफ भयो उसको। पछि हामीले एकले अर्कालाई बिर्संदै  गयौँ । हाम्रो प्रेममा प्रेम कम वासना ज्यादा थियो । मायामा कुनै वाचा बन्धन पनि थिएन । भोलि समय र परिस्थितिले छुट्टिनु पर्ने अवस्था सिर्जना भयो भने चुपचापले अलग्गिने भन्ने मौन स्वीकृति थियो हामी बिच । र छुट्टियौँ पनि ।

ऊ गैसकेपछि एकान्तबोध भो मलाई । केही दिन गाह्रो भो । र सहारा बन्दै गयो फेसबुक । अनि यो फेसबुक भित्रको अर्कै सन्सार अर्कै दुनियाँ देखेर अचम्मित हुन्थ्यो मन । फेसबुक फेसन बन्दै गइरहेको थियो । यो मेरो फेसबुक एकाउन्ट  सुरजले नै खोलिदिएको हो। ऊ पनि मेरो फेसबुक साथी थियो तर उता गएपछि उसले कहिले हेलो भनेन र मेरो मेसेजको रिप्लाइ पनि  गरेन । शायद ऊ अनलाइन आएको थिएन वा आएर पनि मेसेन्जरको मेरो मेसेजलाई रिड गरेन। सात आठ महिना नाघिसक्यो । म फेसबुकमा यसरी रमाउन थाले छु कि समय बितेको पत्तो नै भएन ।

एक दिन वासना रोकाएको पनि नराम्रो कुरा सुनेँ। एकजना सरसँग भागिछ ऊ । अरू विद्यार्थी भन्ने गर्थे वासनाको काम नै मेसेन्जरमा च्याट गर्ने। उसले आफ्नो पढाइलाई बरबाद गरी । सेन्ट अप परीक्षा नजिक आउँदा शिक्षकले विद्यार्थी लिएर भाग्नु कति नैतिकता थियो कुन्नि ? । स्कुलको पनि बदनाम भो । त्यो  घटनापछि बोर्डस गरिएका सबै विद्यार्थीको मोबाइल खोसियो। र विद्यालयमा मोबाइल लैजान पूर्णतया बन्देज  गरियो ।

स्कुलको त्यो परिवर्तनले सबै विद्यार्थीलाई गाह्रो पारेको थियो। बोलचाल हुन छोडेपछि घनिष्ठ मित्रतामा पनि छाया पर्दै जाँदो रहेछ । फेसबुकमा भेटिने कति केटा साथीहरू बौद्धिक भए पनि कुरा गर्दै जाँदा अन्ततः उनीहरूका उद्देश्य केवल यौन मात्रै हुन्थ्यो । यौनलाई जिन्दगीबाट झिकिदिने यदि हो भने मलाई लाग्छ यो दुनियाँ यति धेरै निरस र मरुभूमि तुल्य हुन्छ कि तपाईं अनुमान लगाउन सक्नु हुन्न । डेढ-दुई वर्षसम्म लगातार एक रात नबिराई ओछ्यान साटेको पुरुष विदेश पुगेपछि एकाएक हराउँछ भने उसलाई के भन्ने । दया लाग्यो ऊप्रति कि यति छिटो नै रङ्ग बदल्न सक्ने छेपारो बनेकोमा । मलाई  रिस उठ्यो  र उसलाई ब्लक हान्दिएँ ।

नपरुन्जेल त रहेछ नि कस्तो होला भन्ने कौतुहलता मनभित्र जिज्ञासा  आउने । तर जब पर्छ नि अनि जस्तै असामान्य कुरा पनि सामान्य लाग्न थाल्दो रहेछ  । समयले बनाएको घाउ समयले नै सकेर निको बनाउँदो रहेछ । स्कुल छोडेको केही दिनपछि सुरजको मोबाइल स्विचअफ भयो । सम्झेँ शायद ऊ छात्रवृत्ति पाएर इन्डिया अध्ययन गर्न गयो ।

पुरुषहरू सजिलोसँग परिस्थितिलाई आफ्नो नियन्त्रणमा राख्न सक्छन् भने हामी महिला मात्रै किन तिनकै सम्झना र रोदनमा रित्तिने ?  माया त बराबरीमा मात्रै फुल्न सक्छ नि । उसले बिर्सन सक्छ भने म चैँ उसलाई किन सम्झिराखूँ। मैले पनि सजिलै बिर्सिदिए सुरजको अनुहार । सम्झिने कोसिस पनि गरिन । किन सम्झिऊँ म । के छ त्यस्तो गुणको भारी उसलाई सम्झिनुपर्ने । यौन सम्बन्धकै कारण सम्झिनु पर्ने के बाध्यता छ र ? उसो भए विवश भएर यौन पेसा अँगाल्ने स्त्रीहरू दुई चार जना पुरुषसँग दिनकै सम्बन्ध गाँस्छन् । के ती सबै बज्रस्वाँठहरूलाई सम्झेर बसिरहनु ! वाहियात हो यस्ता लेनदेनको सम्बन्धहरू । मायामा विश्वास लाग्दैन अब । नाटक गर्न चैँ मजा आउँछ ।

कुनै पनि सम्बन्धहरू स्थायी हुँदैनन् । समयको भेलमा बग्नु सिवाय जिन्दगी अर्थोक केही होइन । त्यसैकारण जिन्दगीलाई गम्भीरतापूर्वक लिएर अल्झिरहनु भन्दा रमाइलोसँग बिताउने निर्णय गरेकी थिए मैले । म म्याथको टिचर । म्याथ  निरस विषय हो । बर्सेनि हजारौँ विद्यार्थी म्याथमै अनुत्तीर्ण हुन्थे किनकि यसमा कुनै रमाइलो छैन ,यसमा कुनै आनन्द छैन,यसमा कुनै जीवन छैन र यसमा कुनै रस छैन । अफसनल म्याथका फर्मुलासँग जीवनको फर्मुला म्याच नहुँदा विद्यालयका कयौँ  विद्यार्थीमा आउने नैरास्यता न्यून गर्न म तिनीहरूलाई साथीहरूसँग घुलमिल हुन, सोसियल मिडियामा विचरण गर्न र नयाँ नयाँ साथीहरू बनाउन सुझाव दिन्थेँ ।

मनलाई नियन्त्रण गर्ने होइन बरु यसलाई कन्चन नदी जस्तै बग्न दिनुपर्छ भन्ने मान्यता राख्छु म । मनलाई नियन्त्रणमा राखेपछि मानिसहरू जीवनमा आउने  खुसी र आनन्द मिल्ने कुराहरूलाई पनि नियन्त्रणमा राख्छन् र तिनीहरू कहिले खुसी हुन सक्तैनन् । रह्यो नैतिकता अनैतिकता र चरित्रका कुरा । आकाशमा उड्ने स्वतन्त्र पन्छीलाई कुनै चरित्रको दोष लाग्दैन । जङ्गलमा चरण गर्ने स्वतन्त्र  चौपायालाई कसले चरित्रहीन भन्ने ? तिनीहरू स्वतन्त्र छन् । आफूले आफैँलाई नियन्त्रण गर्न छोडेको दिन शायद मानिस पनि पशुपन्छी जस्तै निर्भय पूर्वक खुसीले बाँच्न जान्ने छ । यो दुनियाँमा को नैतिक को अनैतिक? । नैतिक अनैतिकताका कुराहरू सब बकवास जस्तो लाग्छ मलाई । अमेरिकाका राष्ट्रपति जस्ता व्यक्ति पनि यौनका मामलामा चुके र झुके ।मानिस यौनको मामलामा आफ्नो पदीय मर्यादा  पनि बिर्सन्छ । त्यसकारण म अच्युत छु यदि कुनै पुरुष या स्त्रीले भन्छन् भने मेरा कन्सिरीका रौँ तातेर आउँछन् भित्र भित्रै ।

आजकल म मेरा नयाँ फेसबुके प्रेमी नवीनसँग रमाउन थालेकी छु । सुरुको कुरा गराइले म ऊप्रति नजिकिएकी थिएँ । सरस्वती कलेजमा लेक्चर छ  पोल्टिकल साइन्सको । मैले नविनमा आफ्नोपन देखेँ र त नजिकिएकी थिएँ। राजनीति शास्त्रको विद्यार्थी कुरा पनि त्यस्तै आक्रमण गर्थ्यो कहिले त कहिले भने छिल्लड । कहिलेकाहीँ बियर पिएर मात्तिएर लाइभ च्याट गर्दा पनि खोइ किन पो हो मन पर्थ्यो मलाई । एक छिन प्रतिउत्तर दिन ढिलो भो भने नविन सन्का गरिहाल्थ्यो र भन्थ्यो ओइ को सँग कुरा गर्दै छेस् । म अरू केटासँग कुरा गरेको ऊ पत्ता लगाइहाल्थ्यो । चतुर थ्यो नविन । म कहिलेकाहीँ अरूसँग पनि च्याट गरिरहेकी हुन्थे । ऊ ठ्याक्कै पत्ता लगाउँथ्यो।

उसको कुरा गर्ने स्टाइल मन पर्थ्यो । उसले आफू अविवाहित भएको कुरा गरेको छ मलाई तर सन्का लाग्छ ३५ वर्षको उमेर सम्म पनि कोही केटा मान्छे अविवाहित रहन्छ होला र ? हुन सक्छ उसले आफ्नो करियरमा ध्यान दिएर छिटो  बिहे गर्ने सोचाइ  नै ल्याएन की । तर मैले हाम्रो यो फेसबुके प्रेमलाई गम्भीर रूपमा लिएकी छैन । जिस्किने मस्किने र रमाइलो गर्ने लतका कारण उसले मलाई च्याटमा बुढी भनेर सम्बोधन गरिसकेपछि मैले पनि भनेकी थिए

“बिहे नै नगरी त्यसै अर्काकी छोरीलाई बुढी भन्न पाइन्छ ?” अनि उसले एकदिन मेसेन्जरको भिडियो च्याटमै मेरो सिउँदोमा सिन्दूर हालेको थियो । अनि निर्धक्कसँग बुढी भन्न थाल्यो र मैले पनि बुढा भन्न थाले । वास्तविक श्रीमान् श्रीमती भन्दा फेसबुके यो साइनोमा खै किन पो हो मलाई रोमाञ्चक लाग्यो र तालीम लिन आउँदा तिम्लाई भेट्छु है भनेकी थिएँ कुरै कुराको तालमा  ।

० ० ०

त्यसको पन्ध्रौँ  दिनपछि बसबाट ओर्लिना साथ उसले मलाई झ्याम्म अँगालो हाल्यो । पहिलो चोटि भेटेको उसलाई । कस्तो लाज लाग्यो आफूलाई त । वरिपरि हेरेँ । मानिस थिए । ती सबैले हामीलाई नै हेरे जस्तो लाग्यो । उसको अँगालोबाट जबरजस्त फुत्किए म। माथि छतमा सामान थियो । उसलाई सङ्केत गरे  कि माथि छतमा सामान छ भनेर । नवीन सामान झिक्न बसमा उक्लियो । म तल भुइँमा नै उभिएँ । तालिम भक्तपुरमा थियो र सबै प्रशिक्षार्थीहरूलाई  आवास सुविधा  उपलब्ध गराइएको  थियो ।

होटेल बुक गर्नुपर्ने झन्झट  पनि थिएन। पाल्पाबाट बिहान ७ बजे हिँडेको बस साँझको ६ बजे बल्ल बसपार्क आइपुग्यो । ज्यान थाकेर आफ्नो हो कि अर्काको हो हल न चल भएको थियो । बेलुकी ८:३० सम्म सबै प्रशिक्षार्थी एकै ठाउँमा भेला भइसक्नु पर्ने थियो ।

नविनले सामान झार्यो । बसबाट सबै यात्रु आआफ्ना गन्तव्य तर्फ लागिसकेका थिए । हामी दुई बसको आडमा उभिएर गफ गर्न थाल्यौँ । मैले ८:३० भित्र भक्तपुर तालिम केन्द्रको आवास भवनमा छिरिसक्नु पर्ने कुरा बताए । यो भनिसकेपछि नवीनले नमज्जा फिल गर्यो र भन्यो – “ह्या ..के भनेकी बुढी आज त हामीसँगै बस्ने हो ।”

उसले बागबजारको एउटा होटेलमा रुम बुक गरिसकेको रहेछ । खोइ के गर्ने के नगर्ने म अलमलमा परेकी थिएँ। नविनले कर गर्यो । मैले उसको वचन हार्न सकिन । भोलि बिहान ८ बजे तालीम सुरु हुनुभन्दा अगाडि नै नविनले पुर्याइदिने वाचा गर्यो । एउटा कलेजको जिम्मेवार लेक्चरले भनेको कुरालाई कसरी विश्वास नगर्नु  ?

उसले ट्याक्सी रोक्यो । हामी बागबजारको एउटा  होटेलमा पुग्यौँ । काउन्टरमा उसले मेरो परिचय पत्र राख्यो । हामी दुवै रुमभित्र गयौँ । २०५ नम्बरको कोठा। भित्रै  अट्याच बाथरुम रहेछ । सुरजसँग पहिला दुई चोटि आउँदा हामी सुनधारा लजमा बसेका थियौँ । उता भन्दा यता अलि सफा र शान्त रहेछ होटेल ।असाध्य भोक र थकाइ लागेको थियो ।

म फ्रेस हुन बाथरुम छिरेँ तातोपानीमा मजाले नुहाएँ। मनमा अलिकति डर अलिकति त्रास अलिकति चिन्ता र व्यग्रता बढेको छ । भोलि बिहान भक्तपुर समयमा पुग्नकै लागि भनेर नविनले यता बागबजार ल्याएको रहेछ । फेसबुक म्यासेन्जरमा जति खुलेर कुरा गर्थे म अहिले चैँ कस्तो अड लागिरहेछ । नविनको अनुहार सिधा गरेर हेर्न पनि सकिरहेकी छैन। नुहाउँदा आफूले म्यासेन्जर लाइभ च्याटमा गरेको हर्कत सम्झिए । आफैलाई लाज लागेर आयो । जाडाे महिना तातोपानी छोडेर निस्कनै मन लागेन फेरि । जिउ एकसरो नुहाइ सकेकी थिए । कपाल भिजाएकी थिइन । कपाल पनि नुहाऊँ जस्तो लाग्यो । स्याम्पो पनि राम्रो थ्यो। कपाल नुहाउन थाले । बाहिर खाना आइसकेको रहेछ । नविन करायो । छिटो छिटो नुहाएर रुमालले कपाल पुछ्दै बाहिर निस्किए ।

मेरो भिजेको शरीर देखेर नविन लोभिए जस्तो लाग्यो । टेबुल खानेकुराले सजिएको थियो । म कहिलेकाहीँ सुरजसँग उता होस्टेलमा टुबर्ग बियर पिउँथेँ आज पनि नविनले दुई बोतल टुबर्ग बियर मगाएको रहेछ । म सोफामा बसे। खानेकुरा देखेर झन् भोग बढ्यो । नविनले दुवै गिलासमा बियर राख्यो र पिउन अनुरोध गर्यो ।

सुरजलाई सम्झिएँ हामीसँगै बियर पिउँदै रानीमहलतिर हेर्दै असङ्ख्य सपनाहरू बुनेको । नवीन त सुरजको अगाडि केही पनि होइन । फेसबुके फ्रेन्ड त हो ऊ । तर धेरै नजिक्यायो मेसेन्जरको लाइभ गफले । बियर हातमा थमायो नविनले । मेरो निधारमा म्वाइँ खायो । पिउँदिन भन्न पनि सकिन । चिकेन लेगबाट तातो बाफ उड्दै थियो । बियर सँगै हामीले चिकेन लेग खायौँ । दुई बोतल बियर सक्कियो । फेरि पिउन मन लाग्यो भन्यो नविनले । एउटा बियरले मलाई चैँ खोइ खाली पेटमा पिएर हो कि राम्रै टिप्स दियो । नविनले खोइ के के कुरा सोध्यो मैले अन्ट सन्ट जवाफ दिएछु। बियर पुगेन फेरि  वेटर अर्को दुई बोतल बियर लिएर आयो ।

पिएको बेलामा गफ गर्न मजा हुँदो रहेछ । पिउनेहरूले अरू बेला झुट बोले पनि पिएर अलिक मात्तिएको बेला सत्य कुरा बोल्दा रहेछन्। आज नविनले मेरो अतीतको तीन प्रेमीहरूको पनि नाम थाहा पायो। उनीहरूसँगको मेरो सेक्सुअल रिलेसनसिप थियो भन्ने कुरा पनि थाहा पायो। नसामा भन्दिएँ। उसले पनि किन त कर गरी गरी सोधेको त ? यति थाहा हुँदा पनि  उसले त्यस्तो केही फिल गरेन। आफ्नो केटीको एक्स बोइफ्रेन्ड बारेमा खुलेआम थाहा पाउँदा पनि ऊ दुखी नभएको देख्दा मलाई पनि अचम्म लाग्यो। उसले जिद्दी गर्यो मैले नि मातको सुरमा भन्दिएँ।

ऊ पनि कति जना केटीसँग सम्बन्धमा थियो होला मैले सोधपुछ नै गरिन किनकि मलाई थाहा छ यो फेसबुके बहकाउ हो कुनै दिन ब्रेकअप हुन्छ भनेर। हामी फेरि सँगै बसेर पिउन थाल्यौँ । पिएको सुरमा नवीन मेरो शरीरसँग खेल्न थाल्यो । वेटर बाहिरिएपछि हामीले ढोकामा चुकुल हाल्न बिर्सिएछौँ ।एउटा आपत्ति जनक अवस्था भोग गरेर  फेरि  हामी आफ्नै सभ्य अवस्थाको चरणमा फर्किसकेका थियौँ। एक्कासि  ढोकामा ढकढक गर्दै कसैले बोलायो ।

ढोकामा उभिएको असई चिनेजस्तो लाग्यो। दुई जना प्रहरी भित्र आए । असई ढोकामै उभियो । मेरो होस त्यति बेला खुल्यो कि ढोकामा उभिने असई सुरज थियो । मेरो भुपु प्रेमी जो छात्रवृत्ति मिल्यो भनेर काठमाडौँ आएको थियो । ओठबाट कुनै शब्द निस्केन । म स्तब्ध भएँ  । एउटा लाचार वेश्याजस्तो सम्झिएँ आफैलाई  र धिक्कारेँ कि म किन बहकिएँ। मनभित्र अतीतको बाढी आयो । प्रहरीले नविनलाई केरकार गर्न थाल्यो । एक थप्पड गालामा कसेर हिर्कायो । एकै क्षण अगाडिको त्यो रोमाञ्चक पल एकाएक यसरी दुखमा बदलियो।ओहो के यही हो त जीवनको नियमित आकस्मिकता ! सँगै उभिएको होटेलको भित्ता पनि गर्ल्यामगुर्लुम भत्किए जस्तो लाग्यो ।

प्रहरीले यस्तो व्यवहार गरेकी हामीले कुनै मान्छेको हत्या गरेर यहाँ लुक्न आएका छौँ ।छापा हान्दा तल काउन्टरमा मेरो परिचयपत्र देखेर सुरज मलाई भेट्न यो रुममा आएको रहेछ । नविनलाई प्रहरीले आफ्नो परिचय पत्र देखाउन र हामी बिचको साइनोको बारेमा स्पष्टीकरण माग्यो । उसले भन्यो हामी श्रीमान् श्रीमती । नवीनसँग कुनै परिचयपत्र पनि रहेनछ । क्याम्पसको लेक्चर भन्नेले त कमसेकम एउटा परिचयपत्र खल्तीमा हाल्न पर्छ नि । यो भन्दा अगाडि पनि प्रहरीले  उसलाई यही होटेलबाट पक्रिएको रहेछ ।

प्रहरीले नविनलाई समातेर लग्यो । नवीनसँगै सुरज पनि तल गयो ।  आफैँ स्तब्ध थिएँ। के बोल्ने र के नबोल्ने भन्ने होस पनि गुमेर गयो । हिँड्ने बेलामा देखेँ सुरजको आँखाबाट आँसु तप्किरहेको थियो । आफू निस्किन पनि सकिन ढोकाबाट र सुरजको अनुहार राम्रोसँग निहालूँ । चुकुल पनि हालिनँ । ढोका खुलै राखेँ । रातभर जाग्राम बसेँ । नविन आउने हो कि वा सुरज आउने हो तर अन्ततः दुवै आएनन्।

बिहान सबेरै उठेँ । काउन्टरमा गएँ । हिसाब सोधेँ । सबै पैसा नविनले होइन असई साहेबले तिर्नु भो भन्यो वेटरले ।

तालीममा पनि जान मन लागेन । अवाक् लाग्यो जिन्दगी देखेर। आफ्ना यिनै दुई उदास आँखा  लिएर पुनः बसपार्क फर्किएँ । म कस्ती  नकारात्मक ? म कस्ती भोकी, म कस्ती हतभागी ? म किन यसरी बिग्रेकी ? स्वतन्त्रताको नाउँमा स्वच्छन्दता भनेको यही हो कि ? आफूले पहिला एक्स बोइफ्रेन्डहरूलाई  पठाएका आफ्ना अन्तरङ्ग तस्बिरहरू केही गरी दुरुपयोग भयो भने मेरो जिन्दगी के होला त  ? सम्बन्ध सधैँ एकनास नहुँदो रहेछ नि ! जिन्दगी के फेसबुक र नयाँ केटाहरूसँग रमाइलो गर्नु मात्रै हो त ? जिन्दगीमा साँचो माया गर्नेलाई तिरस्कार गरियो र नक्कली माया गर्नेको बढी विश्वासमा परियो र धोका पाइयो !

पाल्पा जाने बसको टिकट काटेँ ।

निर्मल आकाशमा आफैँले आज थुके जस्तो लाग्यो । सजिलो छ भन्नलाई र उपदेश दिन त अरूलाई कि हाँसीखुसी बाँच्नुपर्छ भनेर तर यथार्थमा खुसी ल्याइदिने को हो त जिन्दगीमा ? आफैँले हो वा अरू कसैले  ? मैले यो कुरा सोच्नै सकिन । घोत्लिइरहेँ पाल्पा जाने बस भित्रको एउटा कुनाको  सिटमा बसेर। हिजो आउँदा  खलासी भाइ चिनेकी थिएँ।

ऊ नजिक आयो र भन्यो- ” किन दिदी आज चैँ चुपचाप हुनुहुन्छ ? वाइफाइ फ्री छ नि चलाउनु होला । यी लिनुस् पासवर्ड”  भन्दै एउटा सानो कागज थमायो हातमा । यसो हेरेँ पासवर्ड थियो “एन ए बि आइ एन” अर्थात् नविन ।

आफैँदेखि रिस उठ्यो । मोबाइल स्विचअफ गरेर नालीमा फाल्दिएँ । बस गुड्न थाल्यो । मोबाइल फालेपछि खोइ किन पो हो फेरि त्यही नालीमा एक चोटि फर्केर हेरेँ । यस्तो लाग्यो कि मैले आज नविनलाई त्यही नालीको पानीमा बगाइदिएँ ।

बल्ल मन शान्त भो र मैले बिर्सन खोजेको त्यो रात अब जिन्दगीमा कहिले पनि नदोहोरियोस्। मेसेन्जरको अश्लील वार्तामा दौडिने यी हातका औँलाहरू अब आफूलाई सभ्य नागरिक बन्नुमा उत्प्रेरित बनुन् भन्ने प्रेरणा जागोस् हृदयमा ।

पुनः सम्झिएँ आफ्नै प्यारो पाल्पा, ती विद्यार्थी भाइबहिनी अनि अमर प्रेमको आँसु बोकेर बाँचिरहेको प्रतीक त्यो एक्लो रानीमहल…