त्यस जन्तुले एउटा बिसौँ ठाउँमा टालेको पिँडुलासम्म आइपुग्ने वस्त्र कम्मर वरिपरि लपेटेकी थिई । मैले सोचेँ- यो यसको फरिया होला ।

त्यसले पाखुरा, कुम, ढाड र करङहरू देखिने गरी एउटा थोत्रो लुगा जीउमा घुसारेकी थिई । मैले अड्कलेँ- यो यसको चोलो होला ।

त्यस जन्तुले उत्तर फर्किएको एउटा घरको कहिल्यै घाम नलाग्ने छिँडीमा गुँड लाएकी थिई । चार बाङ्गाटिङ्गा काठका चोकेहरूलाई चारतिर गाडेर उसले झन्डै दुई फुट अग्ला खाँबा तुल्याएकी थिई । यी चार बाङ्गाटिङ्गा खाँबाहरूमाथि मकैका ढोड जति मोटा चार घोचा चार सुरमा बाँधिएका थिए । बिचमा परालले छापिएको भए तापनि ती चार घोचाहरूको टाँडमाथि बूढी औँला जत्रा थुप्रै काठहरू खप्टाएर पाँच-पाँच अमलको दूरीमा बाँधेको छ भन्ने कुरो परालबाट नछोपिएको तिनका टुप्पाहरूलाई देख्नासाथ थाहा भइहाल्थ्यो । मैले आश्चर्य प्रकट गर्दै त्यस ठाउँमा निरीक्षण गरेँ अनि मनमनै गमेँ- यो यसको राति बास बस्ने खाट होला ।

त्यो छिँडी गुफाझैँ अँध्यारो थियो । त्यसको एउटै झ्याल थिएन । एउटा ढोका थियो तर त्यो खापा नभएको थियो । खापाको काम एउटा च्याङ्लो बोराले गर्ने कुरो प्रस्ट थियो किनभने त्यो बोरा अहिले ढोकामाथि एउटा डोरीमा सिउरिएको थियो ।

त्यस गुफाको भुइँ नाङ्गो र कूचोको मुख नदेखेको थियो । माकुराका जाल त्यसका छिचरा दलिनमा त्यति नै थिए, जति सतीदेवी आउनुभन्दा पहिलेको महादेवको कोठामा । त्यस साँघुरो कोठाको एक कुना केही माटाका भाँडाहरू ध्वाँसोभन्दा काला थिए । ठिक मास्तिर दलिनमा साँच्चै नै ध्वाँसोका झालरहरू झुन्डिएका थिए । ती झालहरूको मुन्तिर एउटा खाडल थियो जो पिँधमा खरानी र डीलमा तीनतिर तीन चक्का भएको थियो । मैले अर्थ्याएँ- यो जन्तु यहाँ आगो बाल्दी रहिछ । यहाँ यसको खानेकुरा पाक्तो रहेछ । मेरो यो अर्थ्याइ ठिक थियो, किनभने अहिले त्यो जन्तु चुहुने सिलभरे थालमा कोदाको पीठो राखेर एउटा फोहोरी घैँटोबाट पानी हाल्दै मुछ्दै थिई ।

यो दृश्य थियो मैतीदेवी फाँटनेरको बजारको । काठमाडौँको एउटा टोलको । एउटा सभ्य र आधुनिक सहरको । एउटा सभ्य र आधुनिक युगको । बिपनामा यस्ती जन्तु बजारको यस बिच भागमा कसरी देखिई ? मलाई पत्यार हुन सकेन यो बिपना हो भनेर । तर होइन, बिपनै रहेछ । सपना होइन रहेछ । किनभने जन्तु अहिले खोकिरहेकी थिई । यस्तो लाग्थ्यो मानौँ उसको बूढो र कुप्रे त्यो खोकीसँगै बिदा हुन लागेको हो ।

म सडकको पेटीमा उभिएर भित्रको त्यस दृश्यलाई सुटुक्क हेरिरहेको थिएँ । बाहिर घाम पहेँलिइसकेको थियो । अब सुर्जेनारान धेरै बेरको पाहुना थिएन । दश-पन्ध्र मिनेटपछि उनको अवसान निश्चित थियो । यसैले होला सृष्टिका सारा नभचरहरू बिहानदेखि बेवास्ता गरिएका आ-आफ्ना निवासतिर हतार-हतार अघि बढिरहेका थिए । हुन सक्छ तिनमा कतिका घर कोसौँ टाढा थियो । हतार नगरे कसरी घाम डुब्नुभन्दा अगावै त्यहाँ पुग्ने ?

यता त्यो एक्ली एवं गुफाकुरुवी जन्तु पनि कम हतारिइरहेकी थिइन् । स्पष्ट थियो, ऊ हतारिनाका कारण पनि डुब्न लागेको घामै थियो । तर के उसको गुँड पनि ता नभचरहरूका झैँ टाढा थियो र ऊ हतारिएकी ? होइन, उसको गुँड त त्यही गुफा न थियो । उसो भए किन हतारिएकी त ऊ त्यसरी ?

त्यो जन्तु जुरुक्क उठी । उसले एउटा कुम कुम आइपुग्ने मझौला खाले बाकल उचाली । यसपछि बिँड नभएका दुई हतियात उठाई ।

लौ कुरा बुझियो । त्यसलाई हतार परेछ अर्कै कुराको । त्यसलाई हतार परेछ गुँडको होइन, हावापानीको । अगेनु नजोरी आगो कहाँ , आगो नजाेरी हावापानी कहाँ ? अझ दाउरा नै छैन भने आगो र हावापानी दुवै थोक कहाँ ? त्यसैले ऊ हतारिएकी रहिछ दाउराका लागि । अरू जन्तु दिउसभरि चरेर साँझमा गुँडका लागि हतारिन्छन् । तर यो चाहिँ दिउसभरि भोकै बिताएर साँझमा दानापानीका लागि हतारिँदी रहिछ । विचित्रकी रहिछ यो जन्तु ।

एक हातले बाकल र अर्कोले बिँड नभएका दुई हतियार पक्रेको त्यो जन्तु बाहिर आउन लम्केकी मात्र के थिई मलाई देखेर झसङ्ग भई – चील या बाज देखेर कुखुरा झस्किएझैँ । तर केही बेर डराएका आँखीगेडीले मलाई हेरेपछि उसले ममा के पाई कुन्नि उसको ज्यादै बूढो भएको अनुहारबाट डर बिलाएर गयो । उसले मेरो मन पेट पाइछ क्यार । त्यो मैले आफ्नै हातले पालेको जन्तुझैँ मेरो नजिकै उभिई अनि एउटा हतियार भुइँमा राखेर अर्कोले बाकल चिर्ने चेष्टा गर्न लागी ।

बिँड नभएको हतियार । धेरै भुत्ते हतियार । के चिरिन्थ्यो बाकल ? त्यति लामो बाकल । त्यति चाम्रो बाकल । मलाई हाँसो उठ्यो त्यस जन्तुप्रति । सोचेँ – अर्को चाहिँ हतियारबाट हतौडाको काम लिई भने मात्र चिरिएला । तर यो उपाय उसलाई कसरी फुर्ने ? त्यस जन्तुमा योउ बुद्धि कहाँबाट आउने ?

ऊ घरी डुब्न लागेको घामलाई हेर्थी, घरी अलिकति पनि नडगेको बाकललाई । बिँड नभएको हतियारले दुखाएछ क्यार, र त उसले समाउने ठाउँमा एउटा झुम्रो बेरी । दुख्यो र पो उसले झुम्रो बेरी । झुम्रो बेर्दा दुख्दैन भन्ने उसले थाहा पाई । यसै गरी त्यो अर्को हतियारबाट हतौडीको काम लिन पनि जान्ली त ? तर हरे, यो उपाय उसलाई फुरेन । फुर्दै फुरेन । उसले अर्को हतियार भुइँबाट टिपी, तर हतौडो तुल्याउन होइन हतियार फेर्न । तर त्यो दोस्रो हतियार पनि उत्तिकै भुत्ते थियो । मरी-मरी बजार्दा पनि बाकलले ऐया पनि भनेन । घाम पनि झन्-झन् पहेँलो हुँदै थियो । घाम डुब्दै समाप्त गर्नुपर्ने काम अझै एक अमल पनि सकिएको थिएन । त्यस जन्तुले एकपल्ट डुब्न लागेको घामलाई हेरी र खुइय सुसेली ।

तर उसले हरेस हारिन – हार खाइन । आफ्ना बूढा छाला तन्काई-तन्काई हतियार बजारी । तर केही सीप लागेन । बाकलले ऐया पनि भनेन । आखिरमा ऊ एक छिन घोरिई । सेतो फुलेको कपाल तह लगाई । चाउरी परेको निधारको पसिना अर्धचन्द्राकार परेको चोर्नी औँलाले पुछी । एकपल्ट खुइय सुसेली र थ्याच्च बसी । मैले ठानेँ – कथा समाप्त भयो, उसले आत्मसमर्पण गरी । उसको आजको रात दानापानीबिना नै बित्ने भयो । तर होइन, उसले अर्कै आँट गरेकी रहिछ । ऊ कहाँ थाकेर बसेकी रहिछ र ।

वाह ! क्या गजब । ऊ त बाकललाई बिचमा गिँड्न पो लागी । छ्याक । छ्याक । लौ खा त । याँ बिचमा गिँडिएपछि त चिर्न सजिलो भइहाल्छ नि । अहिले त लामो छ र पो अप्ठ्यारो भएको । छ्याक .। छ्याक ..! छ्याक…! लौ त, कसरी नगिँडिँदो रहेछ यो बाकल । क्या बात बच्ची, अहिले पो त उपाय पहिल्याइस् । हो, बल गर । अँ, अँ, अँ । बस अझै बल गर । छ्याक । छ्याक । छ्याक ।

बल्लबल्ल भुत्ते हतियारहरू आलोपालो गरी बाकलको बिचमा आधा चौडाइ काट्न सफल भए । त्यस जन्तुले अब उभिएर खुट्टाले बाकलको एक छेउ टेकी र दुवै हातले अर्को छेउ पक्रेर हतियारले काटेकै ठाउँमा भाँच्न चाही । मलाई लाग्यो- ऊ आफ्नो काममा सफल पनि हुनेछ । तर काठ निकै साह्रो रहेछ । बाकल भाँचिनु त परै जाओस् झन् सगर बिटतर्फ हुत्तिँदै थियो । फेरि थ्याच्च बसेर एकछिन ज्यादै अँध्यारो मुख लाएर झोक्रिई । मैले मनमनै भनेँ – बच्ची ! तेरो मुखभन्दा पनि अँध्यारो मुख अब एकै छिनपछि त्यस आकाशले लाउनेछ ।

तर अघिदेखि मैले रटन्त गरिरहेको उपाय एकाएक उसको मथिङ्गलमा फुरेछ । उसले एक हतियार धारे पारेर बाकलको चोट लागेको ठाउँमा राखी अनि टपक्क अर्को हतियार टिपेर धार नभए तिरबाट हतौडाले झैँ हान्न लागी – ठ्याक ! ठ्याक .! ठ्याक ..!

क्याबात सान्नानी । तेरो फुलेका कपाल अब बल्ल सुहाए । अब पो त ल्याइस् तैँले सुर । लौ- ठ्याक ! ठ्याक .! ठ्याक ..!

हतियारको धारले होइन हतौडाको ठोकाइले बाकलको घाँटी खिइँदै गयो । त्यो जन्तु उस नौलो सफलतामा प्रसन्न देखिई । सुर्जे नाङ्लो जत्रो भइसकेको थियो । डुब्नै आँटेछ मोरो । उसले सुर्जेतर्फ हेरी – गर्वका साथमा ।

ऊ जुरुक्क उठी । खुट्टाले बाकलको एक छेउ टेकी र हातले अर्को छेउ पक्रेर आफूतिर तानी । क्य्राक्क भएर बाकल भाँचियो । अब त्यहाँ एउटा लामो काठको ठाउँमा दुइटा छोरा ठुन्का पेटीमा लम्पसार परिरहेका थिए । सुर्जेनारान आफ्नो आधा जीउ आकाशमा लुकाएर यो रमिता हेर्नमा व्यस्त थियो । मैले मौन भाषामा भनेँ- बच्ची, अझै तैँले धेर काम गर्नु छ । छिटो गर्, घाम डुब्न लागिसक्यो ।

मेरो यो मौन भाषा बुझेझैँ गरी त्यो जन्तु फेरि काममा लागी । ती दुई गिँडमध्ये एउटालाई मच्चिई-मच्चिई चिर्ने चेष्टा गर्न लागी । पहिले एउटा मात्र हतियारले हिर्काई । तर त्यसको केही माने भएन । फेरि अर्को टिपेर हतौडाको काम लिई । यस धार काठमा अलिकति गाडिनुदेखि बाहेक अर्थोक भएन । त्यस कमजोर हतौडाले हिर्काएर त्यो भुत्ते अलिकति गाडिनुदेखि बाहेक अर्थोक भएन । त्यस कमजोर हतौडाले हिर्काएर त्यो भुत्ते हतियारले त्यत्रो गिँडालाई ख्याइसक्नु ! उहाँ नकच्चरो सुर्जे अस्ताउन लागिसक्यो ।

मैले सोचेँ- बच्ची, एउटा उपाय छ । तर मलाई थाहा छ – तेरो छोटो बुद्धिले त्यो उपाय चाल पाउनेछैन ।

घरी हतौडो हतियारको दाहिनेतिर बज्रन्थ्यो, घरी देब्रेतिर । त्याे जन्तु ज्यादै दुब्ली थिई । ज्यादै बुढी थिई । तर त्यसको आँट अद्भुत थियो । यस आँटले गर्दा हतियारको धार गिँडमा अलिकति गाडियो । हतौडो भुइँमा राखेर उसले हतियार उठाई । गिँड हतियारसँगै तुर्लुङ्ग झुन्डियो । यस मौकालाई सदुपयोग गर्न उसले दुवै हातले हतियार पक्रेर गिँडलाई पेटीमा थचारी । अहिलेसम्म ऊ एक हातले मात्र हतियार पक्रिरहेकी थिई । दुई हातको जोर पाएर हतियार अलिकति अझ गाडियो, तर दुर्भाग्य, रेसा बाङ्गिएर गएकाले कुनै असाधारण आघात नभई त्यो गिँड चिरिने सम्भावना रहेन । उता अविवेकी सुर्जे सगर बिटमा चुर्लुम्मै डुब्यो । मैले मनमनै भनेँ- बच्ची, तेरो हार भयो । अब यो उज्यालो अल्प समयको लागि मात्रै हो ।

तर मानो उसले मेरो हाँक स्वीकार गर्ने अठोट गरी । हतियार थुत्त गिँडबाट झिकेर उसले चिरिएको ठाउँलाई बलले आँ पारेर त्यसभित्र खुट्टो पसारी । खुट्टाले तल्लो भागलाई थिचेर माथिल्लो भागलाई हातले आफूतिर तानी । तर यसको केही परिणाम निस्केन । आखिर केही नलागेपछि उसले फेरि एक हतियार त्यस चुपाभित्र घुसाई र अर्को चाहिँबाट हतौडाको काम लिन लागी – ठ्याक ! ठ्याक .! ठ्याक ..!

मैले विचार गरेँ- बच्ची, तेरो हतौडो ज्यादै कमजोर भयो । त्यसले त त्यो गिँड चिर्न घण्टौँ लाग्छ । हेर, घाम डुबिसक्यो । एउटा उपाय छ तर तँ लाटी रहिछस् । थाहा पाइनस् त्यो उपाय ।

अझ अँध्यारो छिप्पिएको थिएन, तर बजारका समृद्ध छिँडी र झ्यालहरूमा बत्ती बल्न लागे । ती बत्तीहरूले त्यस जन्तुको गुफालाई चूकझैँ अँध्यारो पारिदिए तापनि पेटीमा सुर्जेले छोडेर गएका प्रकाशको अवशेष केही छँदै थियो । त्यस प्रकाशमा ऊ घोसे मुन्टो लगाए केही सोच्न लागी । आकाशमा आझै लाली छँदै थियो । केही बेर सोचेर उसले त्यस लीलाई हेरी अनि आफ्नो भुत्ते हतियार टपक्क टिपी । त्यसपछि उसले दोस्रो गिँडलाई टिपेर त्यसबाट हतौडाको काम लिन लागी ।

क्याबात । एकदम छक्क परेँ म । यतिका बेरसम्म म जुन उपायको धक्कु लगाइरहेको थिएँ, त्यो आखिरमा त्यस जन्तुको मथिङ्गलमा फुरिछोड्यो । त्यसले पत्ता लगाइछाडी त्यो उपाय  शक्तिशाली गिँड हतौडाझैँ बज्रिन थालेपछि भुत्ते हतियार बाङ्गो मेसोलाई बलपूर्वक चुँडालेर घाइते काठको आङमा वेगमा भासियो । अनि भयानक आवाज गरेर त्यो दुई फ्याकमा परिणत भयो । त्यसपछि फ्याकमाथि फ्याक भएर पेटीमा दाउराको डिङ्गा लाग्यो । एउटा तुच्छ जन्तुको यो सफलता देखी डाहा भएर सुर्जेले लालीलाई पनि आकाशमा रहन दिएन । आकाश कालो भयो । छिमेकमा समृद्ध छिँडीमा बत्तीले गर्दा यथार्थभन्दा पनि बढ्ता अँध्यारो देखिन लागेको पेटीमा त्यो बुढी कुप्री र सेतै फुलेकी जन्तु आफूले चिरेका दाउराहरू सकी-नसकी सोहोरिरहेकी थिई ।