सामान्य कुरालाई यसरी भन कि कसैले नबुझोस् । नबुझिने कुरा बौद्धिक हुन्छन्, जसरी सिनेमा बुझिएन भने खतरनाक हुन्छ । बौद्धिक हुन सही हुनु पर्दैन, भिन्न चाहिँ हुन्नै पर्छ ।

‘दाइ केही नयाँ लेख्नु भा छैन अचेल ?’

मेलै लेख्छु र कहिलेकाहीँ (सम्पादकहरू उदार भए) छापिन्छ भन्ने थाहा भएको चार जना (एक जना स्वयम् मै हुँ) मध्येको भाइले सोध्यो ।

‘अस्तिको वाला पढ्‌यौँ ?’, छ महिनाअघिको लेखलाई अस्तिको भन्दै सोधेँ ।

‘अँ दाइ, कस्तो बोरिङ दुखिया लेख हो !’

‘राम्रो लाग्यो’ नभनेर उसले सिधै सत्य वचन फेँक्यो । राम्रो लाग्यो भन्याभा बरु पत्यार लाग्दैनथ्यो होला, उसले सत्य बोल्यो । कसरी विश्वास नगर्नु ?

‘हुन्छ भाइ, जाँगर चले लेखम्ला नि !’ यति नै भनेँ ।

‘चार जनाले पढ्ने कुरा केका लागि लेख्छौ त ? भविष्यका लागि ?’, कसैले सोधेको थियो मलाई ।

‘ना ब्रो, आइ राइट बिकज थेरापी इज एक्सपेन्सिभ !’

सोचेँ, अब बोरिङ र दुखिया लेख नलेख्नु पर्ला ! तर लेखनमा आफ्नो जीवन झल्किन्छ भन्छन् । जीवन नै बोरिङ भएपछि, दुखी भएपछि, लेखन पनि बोरिङ हुने भइहाल्यो ।

त्यो भाइले नभनेको भए मेरो लेख सायद यस प्रकारको हुन्थ्यो – ‘म दुखी छु । संसारको दुःखले मलाई दुखी बनाउँछ । संसारको सुखले मलाई झन् दुखी बनाउँछ । फेसबुकमा चिनेका मान्छेको प्रगतिले दुखी बनाउँछ । इन्स्टामा चिनेकाको, टिकटकमा नचिनेकाको  सुन्दरताले, धनले दुःखी बनाउँछ । अझ युट्युबको ट्रेन्डिङले त तीन करोड नेपाली जनता सँगसँगै दुखी बनाउँछ ।’

अस्तित्वको भारी,  सडेको समय, मान्छेका स्वार्थ, जीवनको दुःख, नैतिकताको पतन, ह्यानत्यान, लम्बोतान !

सहरले घाम निल्दै गरेको एक साँझ, कमलपोखरीको छेउमा साथीसँग गफ गर्दै छु । त्यतिकैमा एक सुन्दर युवती नजिक आइन् र आइफोन देखाउँदै मिठो स्वरमा भनिन्, ‘ हाम्रो फोटो खिच्दिनु न है !’ अर्की एक सुन्दर युवतीसँग बस्दै ।

हातमा आइफोन परेपछि त्यसै त मेरो कन्फिडेन्स लो हुन्छ । यो आइफोन जिनिसमा कसरी ब्याक गर्छन्, कहिल्यै सिक्ने भइनँ मैले ।

बहाना बनाउँदै भनेँ, ‘मलाई फोटो खिच्न खासै आउन्न ।’

‘मेमोरीका लागि न हो, जस्तो भए नि फरक पर्दैन ।’, उनले मीठो स्वरमा भनिन् ।

‘होइन, यति राम्री मान्छेहरूको  फोटो राम्रो नआउला कि भनेर नि !’

उनीहरू हाँसे र त्यो हाँसोसँगैको सुन्दर तस्बिर आइफोनले राम्रैसँगै कैद गर्‍यो ।

हाम्रो भेट कहाँ भएको थियो ?

जतासुकै होस् ।

एकछिन पोयटिक लाइसेन्स फेकम् न !

सायद सहरको कुनै लाइब्रेरीमा, जहाँ ऊ मार्क्स, माओ, लेलिनबारे किताब पढ्दै थिई । ( मेरो जेन्रिक ज्ञानविहीन नजर लेफ्टलाई हेर्ने, पछि था भयो लेलिन होइन लेनिन भन्दा रैछन्)

म जसलाई आफ्नै पिरहरूबाट फुर्सद छैन । देश दुनियाँ बर्सिएको धेरै समयपछि त्यहाँ थिएँ । मेरो हातमा यस्तै कटुवाल, रिमाल, बानिरा, पारिजात कसैका शब्द छरिएका हुन सक्थे ।

त्यो समय जब म हातमा किताब लिई, किताब पढिरहेकी उसलाई हेरिरहेको थिएँ , त्यो दृश्यमा सुन्दर रिल बन्न सक्थ्यो । टाइटल ?

‘ओल्ड स्कुल रोमान्स लाइक दिस !’

अडियो ?

ए आँखे दिख कर हम सारी दुनियाँ भुल जाते है

कि कुनै पहाडतिर ट्रेकिङ जाँदा बाटोमा भेटिएकी स्वीडिस युवती थिई ऊ । बग्रम्यानको देशबाट मलाई भेट्न भनी आएकी ।

कि बम्बलमा भेटिएर ‘अचेल मलाई केही पनि महसुस गर्न मन लाग्दैन’ भन्ने छिमेकी राष्ट्रकी सुन्दर केटी । उसले मलाई ‘कुनै नेपाली गीत पठाऊ न’ भन्दा मैले पठाएको थिएँ –

मनको रहर

कान्छीलाई घुमाउने काठमाडौँ सहर

भलै लखनउकी ती कान्छी काठमाडौं कहिल्यै नआएकी हुन् । अनि, सायदै कहिल्यै आउलिन् पनि ।

तिमीलाई कस्का कविता मन पर्छन् ?

मलाई अमृता प्रीतम ।

तिमीलाई नि ?

मलाई साहिर ।

ऊ हाँसी ।

अनि मन पर्ने गायक ?

बब डिलेन, जीवन शर्मा, टिका सानु, टेलर स्वीफ्ट् ।

‘मिडनाइट रेन’देखि ‘म त्यहीँ आउने छु’सम्म कस्तो खतरनाक रेन्ज ।

कम्युनिस्टहरू रोम्यान्टिक्स हुन सक्छन् र ?

हुन सक्छन् ।

कैफी थिए ।

फ़ैज़ थिए ।

तर म छैन ।

प्रेम के हो ?

प्रेम सायद मृत्यु हो । स्वर्ग हो ।

अनि प्रेमको बिछोड ?

त्यो जीवन हो ।

प्रेमको रङ र क्रान्तिको रङ किन एउटै छ ?

किन रातै छ ?

मेरो प्रश्न ऊ तिर सोझियो ।

वातावरण एकछिन शान्त र विचारमग्न ।

त्यसपश्चात् उसको जवाफ, ‘सायद प्रेमको रातो रङमा कृष्ण-राधाको हृदयमा बेरिएका छन् अनि क्रान्तिको रातो रङमा कुरुक्षेत्रमा रगत बनी पोखिएका छन् ।’

‘उफ् ! कस्तो मीठो सोच्न सकेको ? कम्युनिस्टहरूले गर्ने भनेकै गफ र विरोध मात्र हो भन्थे, हो रैछ ।’ मैले उसलाई जिस्काएँ ।

अर्को  एनालोजी सुन्छौ ?

बिलकुल ।

एक जना प्रबुद्ध मान्छे भन्छन्, ‘म प्रेमबाट धेरैपटक भागेको छु । प्रेम सायद कुरुक्षेत्र हो र म बलराम । म कृष्ण बन्न कहिल्यै सकिनँ । प्रेमलाई अँगाल्न सक्ने साहस सायद ममा छैन। म प्रेम पनि त्यति गर्छु जुन छुट्दा सम्हालिन सकूँ । प्रेमको रङ मेरा लागि गुलाबी छ, यो रातो कहिल्यै बन्न सकेन । थाहा छैन किन यति विधि डराउँछु म प्रेमसँग ।’

तिमी यति धेरै सिनेमा किन हेर्छौ ?

प्रायः रुनलाई ।

मतलब, यथार्थमा पीडामा रुन सक्दिनँ। जति नै पीडा भए पनि पोल्छ मात्र, दुख्छ मात्र, मन निसासिन्छ मात्र । तर रुन भने म सक्दिनँ । खै किन ? आँसु आउँदैन । सम्बन्ध र भावनासँग यति टाढा भएछु कि मैले रुन बिर्सिएछु । पीडामा हुनु तर रुन नसक्नु जस्तो पीडा अरू केही छैन । रुन नसकेर मलाई पीडाले पनि छाड्न सकेन । अझै बाँकी छन् आफूभित्र । ती अनेकन् बेलाका अनेकन् पीडा मनमा गुम्सिन्छन् मात्र । थोपा थोपा बनेर । र, सिनेमाको कुनै यस्तो दृश्य होस् जहाँ म थिएँ वा हुन सक्थेँ वा रुन सक्थेँ भन्ने सोचेर सिनेमा हेर्दा मस्त रुने गर्छु । त्यसैले म रुनलाई सिनेमा हेर्छु ।

म कसैलाई प्रायः केही भन्दिनँ तर सिनेमामा मन खोलेर कुरा गर्दा मलाई आनन्द लाग्छ । सोच्छु, किन म यस्तो छैन ? सिनेमाको कुनै एक्स्प्रेसिभ क्यारेक्टर देख्दा लाग्छ, किन म यस्तो भइनँ ?

बुद्धिजीवी, प्रबुद्ध बन्न के गर्नु पर्छ, मार्क्सवाद पढ्नुबाहेक ?

इन्ट्लेक्चुअल बन्न त सारै गाह्रो छ ।  ज्ञानमा यसरी डुब्नु पर्छ कि सँगसँगै घमन्ड पनि डुबोस्, कतै गहिराइमा ।

अलिक सजिलो उपाय छैन ?

बन्न त छैन, तर ईन्ट्लेक्चुअल देखिन चाहिँ छ !

ल ठिक छ, बन्न नसकिएला, देखिने चाहिँ कसरी हो ?

इन्ट्लेक्चुअल को हुन् ? ती मान्छे जसले अरूभन्दा दुई चार किताब बढी पढेका छन् । दुई चार ठाउँ बढी घुमेका छन् । दुई चार सिनेमा बढी हेरेका छन् ।

प्रबुद्ध हुनुको पहिलो नियम, सामान्य कुरालाई यसरी भन कि कसैले नबुझोस् । नबुझिने कुरा बौद्धिक हुन्छन्, जसरी सिनेमा बुझिएन भने खतरनाक हुन्छ । बौद्धिक हुन सही हुनु पर्दैन, भिन्न चाहिँ हुन्नै पर्छ ।

प्रायः सबै कुराको विरोध गर्नुपर्छ ।

एकछिन एकछिन ! सबै कुराको विरोध गर्ने त कम्युनिस्ट हैनन् र ! इन्ट्लेक्चुअलभन्दा पनि ?

‘कहाँ मार्क्सवाद, कम्युनिजम,  द्वन्द्वात्मक भौतिकवाद थाहा नभई  इन्ट्लेक्चुअल बनिन्छ ?’, अधरमा मुस्कान सहितको उसको जवाफ ।

हुनचाहिँ के हुन यिनीहरू ?

‘खै असलमा चाहिँ मलाई पनि थाहा छैन ।’

‘हम्बल मान्छेहरूको पारा नै बेग्लै ।’

‘वरुण ग्रोभर भन्थे – इन्ट्लेक्चुअल हुन आफू ट्विटरमा हुन पर्छ । तर अहिले समय फेरियो । ट्विटरमा भएर मात्र हुन्न, टिकटकलाई मस्त गाली पनि गर्नुपर्छ । फेसबुक इज सो क्रिन्ज पनि भन्नुपर्छ ।’

उसको जन्मदिन थियो । म गाउँतिर थिएँ । त्यो दिन हँसिया खेतमा राखेँ, र बगैँचाबाट रातो गुलाफ टिपी हतौडाको ठाउँमा राखिदिएँ ।

क्याप्सन ?

दिल धड़केगा तो धड़कन गायेगी

ये आजादी की लौ बुझना पायेगी

मोहब्बत से ही तो क्रांति आयेगी

जनमदिन मुबारक कामरेड!

‘सुक्रीया कामरेड ! ‘

‘धन्न !’

‘किन धन्न ?’, उसको प्रश्न ।

‘जन्मदिन बुर्जुवा प्रथा हो । पुँजीवादीहरूले केक बेच्न बनाको भन्छौ जस्तो लाथ्यो, क्या कम्युनिस्ट बनेगी रे आप !’

‘म रातोवाला कम्युनिस्ट होइन नि, पिङ्कवाला हुँ !’, इमोजीमा हाँसोसहितको उसको जवाफ ।

‘हैट, कम्युनिस्टहरू नि फरक फरक किसिमका हुन्छन् र ?’

‘भन्ने एउटा गर्ने अर्को, त्यस्ता प्राणीलाई अचेल कम्युनिस्ट भन्छन् नि ?’

‘सारकाज्म ?’

‘सत्य’ साथमा हाँसेको इमोजी ।

सहरसँग मेरो वितृष्णा छ । मान्छेहरूसँग मेरो खासै राम्रो सम्बन्ध छैन। धेरै जसो म थकित हुन्छु, मान्छेहरूसँग । जिन्दगीसँग । र प्रायः आफैँसँग । मौका मिलाएर म सहरबाट टाढा भाग्न खोज्दछु । जिम्मेवारीहरूबाट पर । डाँडाकाँडातिर । पहाड-देउरालीतिर । हिमालका छेउछाउतिर । जहाँ जीवनका यावत् समस्या र पिरहरूले उकाली चढ्न नसकुन् । जहाँको हावामा व्यस्तताको गन्ध नहोस् । प्रकृतिको नजिक मान्छे सामाजिक बन्छ । सायद ऊ बुझ्छ, प्रकृति कति महान् छ र ऊ कति नगण्य ।

यो संसारमा कसैलाई कसैको मतलब छैन । सबै आआफ्ना समस्याका पहाडहरूले थिचिएका छन् ।

प्रेम धेरैजसो पीडा मात्र हो । असह्य पीडा । बेकारको जिम्मेवारी । आखिर केका लागि ?

केटाकेटीहरू त क्युट हुन्छन् नि ?

‘अँ हुन्छन् नि ! पाँच मिनेटका लागि । अनि त्यसपछि रुन थाल्छन् । सायद यिनीहरू बुझ्दछन्, जीवन पीडा हो । त्यसैले जन्मको प्रतिरोधमा, असह्य असन्तुष्टिमा यिनीहरू जन्मनेबित्तिकै रुन थाल्दछन् । सायद जीवनविरुद्धको असफल, नगण्य क्रान्ति जन्मसँगै सुरु हुन्छ । त्यसैले यो संसारमा सन्तान जन्माउनु निरर्थक हो ।’

यतिखेर उसको आवाजमा बर्गम्यानको प्रतिध्वनि थियो ।

‘म प्रायः पीडा मात्र महसुस गर्छु । मेरा कारण प्रायः मानिसहरू पीडा मात्र महसुस गर्छन् । मेरो अस्तित्व एउटा विशाल श्राप हो । आर्थिक एवम् इमोस्नल लायब्लिटी हो । मान्छे जन्मेपछि आफूले त दुःख पाउँछ पाउँछ, उसका कारण अरूले पनि दुःख पाउँछन् । त्यस कारण मैले कहिल्यै सन्तान जन्माउने छैन । र, अस्तित्वको श्राप मेरो मृत्युसँगसँगै समाप्त हुनेछ । यो संसार देखी देखी म कसरी जीवन सिर्जनाको हिस्सा बनूँ ? पाँच मिनेटलाई क्युट देखिन्छन् भन्दैमा ती कमजोर काँधमाथि जीवनभरको पीडा थुपारूँ ?

मलाई मानवताको मतलब त छैन तर प्रोक्रियसनको अन्त्य नै शान्ति र सौन्दर्यको मार्ग हो ।

एकदिन मैले सपनामा मृत्यु देखेँ । तर मृत्युपछि पनि म दुःखी थिएँ । मानौँ, जिन्दगीभरको दुःख काफी थिएन । मेरो शरीरमात्र मरेको थियो । अस्तित्वको चेतना भने जीवित, शरीर मृत भए पनि आत्मा थकित । त्यो समय मलाई मृत्युको दुःख थिएन । सोच्थेँ, मृत्यु अन्तिम सत्य हो । मृत्यु सबैको एकमात्र भविष्य हो । पीडाको अन्त्य हो । रङ्गमञ्चमा खसेको पर्दा हो । आत्माको उन्मुक्ति हो । तर होइन रहेछ । मृत्युपछि पनि मेरा जीवनका पीडा जीवित थिएँ !’

उसका यस्ता भारी भरकम कुरा सुनेर मैले सोधेको थिएँ, ‘यति दार्शनिक कुरा गर्ने तिमी को हौ ?’

‘म केवल एउटा यात्री हुँ । एक्लो यात्री ।’

‘तिम्रा कुरा सुन्दा मलाई एउटा साथीको याद आउँछ ।’

‘यु मिन हर ?’, साइडमा हात देखाउँदै उसले भनी ।

‘होमस्टेमा के खुवाए मलाई ?’, मेरो मनमा त्यही खुलदुली चल्दै थियो । त्यतिकैमा ती दुवै जना नजिक आए र एकअर्काका हात समाए । एक्कै छिनमा ती दुई शरीर एक भए र अर्को सुन्दर अनुहार बन्यो ।

‘काठमाडौँ सहर घुमाउँछु भन्थ्यौ, हिमालतिर पो  लिएर आयौ ?’, उसले ओठमा मुस्कान छरेर भनी ।

‘अनि ती दुई जना कता हराए त ?’, आश्चर्य मिश्रित आवाजमा मेरो प्रश्न उसतर्फ सोझियो ।

‘उनीहरू बारे चिन्ता लिनु पर्दैन । त्यसै नि एउटा हावा मान्छेले लेखेका छन्-

हराएँ भने म

तिमी बुझ्नु

म त्यही पुगेँ

जहाँ मलाई पुग्नु थियो ।’

त्यतिकैमा चारैतिर अन्धकार पोखिन थाल्यो, र मेरो अघिको पहाडबाट झिनो प्रकाश बढ्दै बढ्दै गयो । आश्चर्यमा सही, म पनि उसलाई पछ्‌याउँदै उतै लागेँ ।

‘यो के हो ?’

‘अर्को युनिभर्सको, बेग्लै संसारको प्रवेशद्वार । पोर्टल ।’

‘यु मिन मल्टीभर्सको पोर्टल ! नेपालमा ? मजाक नगर न ।’

‘के मल्टीभर्सको मार्भलको मात्र जागिर हो र ? नेपालबाट इन्टर डाइमेन्सन्ल ट्राभल गर्न नमिल्ने हो र ?’

(त्यसै पनि यो कथा हो यार, फिल्मजस्तै प्रोडक्सन कस्टको चिन्ता नगर न तिमी । सारा नियम तोड । कल्पनाको क्षितिज फैलाऊ । गो वाइल्ड ।)

जे भए पनि मन्टिभ्रसको उधुम सुरु गर्न जसलाई पनि आखिर नेपाल नै आउनु पर्ने रैछ, चाहे ती डक्टर स्ट्रेन्ज हुन या अरू कोही, ह्यास्ट्याग प्राउड मोमेन्ट ।

हेर्न चाहन्छौ त्यो असीम सुन्दर संसार जहाँ मान्छेले प्रोक्रियसन बन्द गरेका छन्, जहाँ अस्तित्वको श्राप अन्त्य हुँदै छ ?

त्यो प्रकाशभित्र पसेर उसले आफ्ना हात मतर्फ बढाई ।