मेरा आँखाहरू भरिएर आए । मटरको गेडा जत्रै देखिइरहेको गाडीको सेतो दृश्य एकैछिनमा बिलायो । मेरो मनभित्र बलिरहेको एउटा आसाको दियो सधैँका लागि निभ्यो । मेरा आँखाअगाडिबाट एउटा जून सधैँका लागि अस्तायो ।
प्राक्कथनः
त्यसको आज आधि दशकपछि ।
महिन्द्राबाट हामीले एसएलएक्स बोलेरो लिएको एक महिना भएको छ । त्रिवेणीबाट निरन्तर कमलदह–ढोरपाटन–पोखरा–वालिङ हुँदै पन्ध्र घण्टामा हामी यहाँ आइपुग्यौँ । यतिबेला डार्किज इन्टरनेसनल होटेलको छतमा उभिएर मेरो आँखाहरू, अगाडी पूर्व–पश्चिम राजमार्गमा बगिरहेको मानव सागरमा एउटा अनुहार खोजिरहेका छन् । गन्नु र गन्ती मेरा भाइहरूले पनि मेरो साइडमा उभिएर त्यसरी नै हेरिरहेका छन् । आज हामी आधि दशक अगाडीको स्मृतिमा जाँदै–आउँदै गरिरहेका छौँ ।
मैले यतिबेला यो कुरा बिर्सिरहेको छु— म नेपाल राज्यको पाँच नम्बर प्रदेशको कुनै एउटा सामान्य सहरमा छु । मैले यतिबेला यति मात्र सम्झिरहेको छु— म मेरो देश रुकुमको त्रिवेणी पुगेर मेरो मन लुटेर आएकी उस्मानी राणाको देश रुपन्देहीको बुटवलमा छु ।
त्यतिबेला गरेको वाचा उसले यतिबेला पुरा गर्छे कि गर्दिन ? हामी उसको देश रुपन्देही आइपुगेका छौँ । हे ईश्वर ! तर ऊ यतिबेला कहाँ छे ?
प्रारम्भः
मध्य असारको एक साँझ । मान्छेहरू चिनिन छोड्दै थिए । अँध्यारो बढ्दै थियो । मान्छेहरूका घरका कौसी,सडक,पेटी र गल्लीहरूमा जहिल्यै बल्ने बत्तीहरू बल्न छोडेको चार दिन भइसकेको थियो । मैनबत्तीको धिपधिपे उज्यालोमा रुकुम पश्चिमको त्रिवेणी बजार बास बस्ने तरखर गर्दै थियो ।
यतिबेला गाउँमा कुखुराहरू खोरमा पसिसके होलान्,गाई–बाख्राहरू गोठमा बसिसके होलान् । बाहरू पश्चिम आकाशमा झुल्किएको एउटा तारोलाई हेर्दै गाई–गोरुलाई घाँस हाल्दै होलान् । आमाहरू दैलोको ढुङ्गामा दियालो फोडेर चुलो जोड्दै होलान् । तर हामी त्रिवेणी गेस्ट हाउसको गेस्टरुममा रहेका आठओटामध्ये एकओटा टेबुल ओगटेर बसिरहेका थियौँ । मसँग मेरा दुईओटा भाइहरू थिए; गनेश र गनेस । नाम एउटै भएको कारण पछि–पछि म उनीहरूलाई गन्नु र गन्ती भन्न थाल्छु ।
आजको साँझ मेरो निम्ति त्रिवेणी बजारमा पहिलो हुँदै थियो । यसलाई छोडेर गएको पाँच वर्ष पछि म यहाँ फर्किएको थिएँ । कुनै बेला यहीँ मध्य बजारमा मेरो स्थापित व्यापार थियो । यात्रामा घुम्तीहरू अनपेक्षित आए,जीवनले धार बदल्यो । खैर, तर आज यहाँ सबै कुरा नौलो लागिरहेको थियो । पाँच वर्षमा बजार पाँच गुणा बढिसकेको थियो । सरकारी कार्यालय,रेडियो,बैङ्क र अन्य नयाँ उद्योगहरू सँगसँगै थुप्रै नयाँ अनुहारहरू थपिएका थिए । मान्छेहरू नौला लागिरहेका थिए । म छोडिगएको समय सम्झिँदै थिएँ । भाइहरू मोबाइलमा व्यस्त थिए ।
“दाइ ! मेरो आइफोन चार्ज लगाइदिनुस् न है !”
तल भुवादार सुरुवाल र माथि हुडीजस्तो देखिने सामान्य पोसाक लगाएकी, कम्मर–कम्मरसम्मको बाक्लो कपाल खुल्ला छोडेकी,पाँच फिट दुई/तीन इन्चजस्तो उचाइ भएकी,मेरैजस्तो तेइस–चौबिस उमेर लाग्ने एउटी नौली युवती हातमा नोकियाको एघार–सय मोडेलजस्तो देखिने कि–प्याड मोबाइल समाएर आई र साहुजीलाई हाँस्दै भनी । ऊ ढोकाबाट छिरेदेखि नै मैले उसलाई याद गरिरहेको थिएँ,आफ्नै मोबाइल प्रतिको उसको व्यङ्ग्य देखेर म नहाँसी रहन सकिनँ । म हाँसेँ । तर यो उसले चाल पाइन ।
अविरल वर्षाको कारण चार दिनदेखि त्रिवेणी बजारमा बिजुली थिएन । मान्छेहरूलाई मोबाइल चार्ज गर्न नै हम्मे–हम्मे परिरहेको थियो । त्रिवेणी गेस्ट हाउसमा जेनरेटर थियो । `पानी कति पर्न सकेको ! मामुसँग सम्पर्क नभएको तिन दिन भइसक्यो´ भनेर साहुजीसँग गुनासो गर्दै थिई ऊ । मैले उसलाई ठम्याउन सकिनँ । उसको बोली एडभान्स थियो; जसले ऊ यहाँको रैथाने नभएको बताउँदै थियो । मोबाइल चार्जमा छोडेर ऊ गई । र मेरो मनलाई तरङ्गित बनाएर ऊ गई ।
पुनः एक घण्टा पछाडि उसको इन्ट्री भयो । यसपल्ट ऊ सिधै बेसिनमा गएर हात धोएर हाम्रै साइडको टेबुलको एउटा कुर्सीमा आएर बसी । मैले उसलाई हेरिरहेको थिएँ । उसले पनि गौर गरेर मतिर हेरी । प्रथमपल्ट हाम्रा नजर ठोक्किए । काउन्टरतिर हेर्दै ऊ कराई– “दाइ ! अब खाना लगाउनुस् है !”
त्रिवेणी गेस्ट हाउसपछि एउटा घर छोडेर आउने घरको माथिल्लो फ्ल्याट त्यसै दिनदेखि हामीले लिएका थियौँ । हरेक साँझ–बिहानको खानाको प्रबन्ध यहीँ मिलाएका थियौँ । हाम्रा लागी सबै कुरा नौला थिए । हामीले लिएर आएको सुनचाँदी गहना उद्योगको भविष्य झनै नौलो थियो ।
भोलिपल्ट बिहान पनि ऊ त्यस होटेलमा खाना खान आइ । जागिरको सिलसिलामा टाढा कतैबाट ऊ यस ठाउँमा आएको ठम्याउन अब सकस परेन । घाँटीमा कुनै कार्यालयको आइडी झुन्ड्याएर हिँडिरहेको अवस्थामा दिउँसो मैले उसलाई बजारमा देखेँ । बाँकी केही थाहा भएन । तर हरेक दिनको साँझ-बिहानको खानामा भने हामी निरन्तर भेट्टिन थाल्यौँ ।
प्रायः हामी त्यस्तो समयमा मात्रै खाना खान पुगेका हुन्थ्यौँ, जतिबेला अरू मान्छेहरूको भिडभाड हुँदैन थियो । डिनर रुम खाली–खाली हुन्थ्यो । जहाँनेर बसे पनि अप्सन खाली–खाली हुन्थ्यो । त्यस समय मसँग मेरा सहयोगी भाइहरू अनिवार्य हुन्थे । तर ऊसँग ? ऊसँग पनि अपवाद बाहेक दुईजना केटाहरू अनिवार्य हुन्थे । धत् ! केटाहरू नभनौँ; स्टाफ साथीहरू हुन्थे ।
ऊ हातको घडीको सुइको परिणाम बमोजिम चल्ने प्राणी हो । किनकि ऊ कर्मचारी हो । उसको समय अफिसियल हुन्छ । उसले खाना खाने समय पनि एकनासको हुन्छ । तर हाम्रो त्यस्तो हुँदैन । हामी आफ्नै मनका नीति–निर्देशन बमोजिम चल्छौँ । तसर्थ ऊ र म खानामा सधैँ भेट्टिरहनु संयोग मात्रै कसरी भइरहन सक्छ ? यसमा म आफूलाई शङ्का गर्ने ठाउँ प्रशस्तै भेट्छु ।
चौथो दिनको बिहान, समय साढे दश भइसकेको थियो । होटेलमा मान्छेहरूको आवागमन शून्य थियो । गेस्टरुमबाट आठ÷दश पाइला जति प्यासेज हिँड्दा सिडीको मुनी वासरुमको साइडमा थियो बेसिन । म हात धोएर फर्किँदै थिएँ, कताबाट हतारिँदै आएकी ऊ झन्डै मसँग ठोकिनँ, छोई मात्र । मुस्कुराउँदै सरी भनी । केही छैन भन्दै म हाँसिदिएँ । तर उसको शरीरको सुगन्धले मलाई लट्ठ्यायो । सेन्ट चैँ किनेकै हो मोरीले !
टिमिक्क परेको कालो चुज पेन्ट लगाएकी थिई । बाउला फर्काएर लगाएको सेतो सर्ट भित्र कोचेकी थिई । उसको कालो बेल्टमा मेरो नजर पर्यो,उसको कम्मरको साइज उनन्तिस हुनुपर्छ । मन परेको मान्छेको सबै कुरा मन पर्छ । तर ऊ हात धोएर आएर मेरो भन्दा टाढाको टेबुलको कुर्सीमा गएर बसी । सबैतिर खाली थियो, मेरो अगाडीको कुर्सीमा आएर बसेको भए उसको के जान्थ्यो ! रोक्दा–रोक्दै पनि मेरा आँखाहरू उसैलाई हेर्न पुगिरहेका थिए । चाल पाएर होला, उसले भने मलाई जतिसक्दो नहेर्ने कोसिस गरिरहेकी थिई । साहुजीले खाना ल्याएर उसको अगाडी राखिदिए । ऊ बल्ल बोली–“हेर्नु न दाइ ! आज कस्तो ढिला भयो ।”
तुफान गतिमा खाएर ऊ गई । गति जति नै तुफान भए पनि छेल्लिने बेला फर्किएर एकपल्ट हेरेकी थिई । मेरो कटौरामा दाल थपिदिन आएका साहुजीलाई मैले सोधेँ–“दाइ ! उहाँको घर कहाँ हो ?”
“ए ! उहाँ बैनीको ? बुटवल हो ।”
उसको बारेमा मसँग जिज्ञासा जति नै भए पनि बाँकी सोध्न उचित लागेन । फेरि शङ्का हुन्छ । जसले लङ्का जल्छ ।
साँझ पनि त्यस्तै समय पर्यो । नौ बजेको थियो । भाइहरू उठेर गइसकेका थिए । मेरो ढिलो गर्ने बानी छ । तर फाइदै भयो । हातमा थर्मस समातेर ऊ आइ । अब झन् म ढिलो गर्ने भएँ ।
त्रिवेणी बजार उच्च ठाउँमा छ । जाडोको दुई महिना हिउँ पर्छ । वर्षको बाह्रै महिना जाडो हुन्छ । पानी चिसो हुन्छ । स्वास्थ्य सन्तुलनको निम्ति म सधैँ तातो पनि पिउने गर्थेँ । खानामा हात हालेको पाँच मिनेट भित्र नै ऊ किचन तिर हेर्दै कराइ–“दाइ ! मलाई चिसो लाग्न सुरु भ’को छ । तातो पानी ल्याइदिनुस् न ल..।”
तर ऊ कराएको कसैले सुनेनन् । शान्ति सुरक्षालाई कारण देखाउँदै साढे आठ बजे नै होटेल/पसल बन्द गरिसक्नुपर्ने पुलिसको उर्दीका कारण यतिबेला चहलपहल शून्य छ । डिनर रुममा ऊ र म मात्रै एक–एक ओटा टेबल ओगटेर बसेका छौँ । सिसाहरूमा पर्दा र गेटमा चुकुल लगाएर आएका साहुजी काउन्टरमा पनि देखिएनन् । उसको अगाडी खाना राखिदिएर उनी कता गए ? पत्तो भएन । किचनतिर पनि कोही देखिएन । ऊ फेरी कराइ–“दाइ..!”
“दाइले आज सुन्नु हुन्नजस्तो छ ।”उसको एकलापलाई साथ दिनको निम्ति हाँस्दै मैले भनेँ ।
“अँ.., के ।”उसले जानी–जानी रुन्चे स्वर लगाइ । बच्चाजस्तो ।
ओख्खो ! बच्चाजस्तो हुँदा त झन् उसलाई कस्तो सुहाएको ! मेरो लागी ल्याइदिएको तातो पानीको किट्ली लिएर मैले उसलाई दिएँ । ऊ फुर्किई– “थान्क्यु..!”
“त्यो पर्दैन ।”मैले भनेँ–“हजुर पिउँदै गर्नुस्, आवश्यक परे म लान्छु ।”
‘हस्’को भावमा उसले टाउको दायाँबायाँ हल्लाई । म हात धोएर आएर आफ्नो ठाउँमा बसेँ । गिलासको पानी पिउन थालेँ । ऊ पनि हात धुनलाई बेसिनतिर जान जुरुक्क उठी । देब्रे हातले किट्ली ल्याएर मेरो टेबुलमा राखिदिँदै भनी– “लिनुस् ।”
“थ्यान्क्यु ।” मैले पनि भन्न भ्याएँ ।
“त्यो पर्दैन ।” उसले हाँस्दै भनी– “रातीको लागी म पनि अलिकति थर्मसमा हालेर लान्छु ।”
म उसलाई हेर्दै हाँसेँ । ऊ पनि हाँस्दै बेसिनतिर गई ।
–––
ऊ मलाई असाध्यै राम्री लाग्दै थिई । उसमा म मेरी बालसखा सामनाको छनक पाउँछु । उसका कुनै न कुनै गुण जब म कसैमा पाउँछु, म उसको निम्ति खुला भइदिन्छु । मेरी बालसखा मेरो कमजोरी हो, यो मलाइ थाहा छ । तर यो केटी को हो ? यसको त मलाई नाम पनि थाहा छैन ।
पाँच दिनपछि । मलाई एउटा सकस पर्यो । जुन–जुन बैङ्कमा मेरो खाता थियो, ती त कुनै पनि यस बजारमा रहेनछन् । हामी बस्नेदेखि बायाँतिर एउटा बैङ्क रहेछ– शताब्दी कमर्सियल बैङ्क । द्वारमा पुग्दा पालेले मास्क र स्यानिटाइजर छर्किनेवाला आफ्नो कर्मकाण्ड पुरा गरे । भित्र हल शान्त थियो । कर्मचारी बाहेक सेवाग्राही कोही थिएनन् । म सिधै ट्रेलर लेखेको काउन्टरमा पुगेँ । दुईजना केटाहरू कम्प्युटरमा अत्यन्तै व्यस्त थिए । नमिल्ने भएर होला, मिल्ने भए कम्प्युटरमै पस्थे टाइपले । वरपर के भइरा’छ उनीहरूलाई मतलब थिएन । उनीहरूको पारा देखेर मैले उँचो स्वरमा भनेँ–“हेलो सर ! नेपाल एसबिआई बैङ्कको खातामा पैसा जम्मा गर्नु छ, के गर्ने होला ?”
“शताब्दीमा खाता छ ?”टाउकै नउठाई उनीहरू मध्येको एउट बोल्यो ।
“छैन ।”
“खाता नभई त हुँदैन ।”उनीहरूले आफ्नो डिसिजन सुनाए ।
“अब के गर्ने?” मैले भनेँ ।
“ऊ..,पहिले त्यहाँ गएर खाता खोल्ने ।”
उनीहरूले औँलो तेर्साएको निशानातिर मैले नजर लिएँ । गएर मेरा नजरहरू उसमा ठोक्किए । एक्कासि शरीरमा करेन्ट सञ्चार भयो । भर्रर काँडाहरू उम्रिए ।
देब्रे हात कपालमा गयो । दाहिने हातले आफ्नो हुलिया जाँचेँ । सम्हालिँदै बडो सजगताका साथ उसको सम्मुखमा पुगेँ । भनेँ—“खाता खोल्न के–के लाग्छ ?”
मलाई मजाले हेर्दै ऊ अदबका साथ मुस्कुराइ । मेरो मनले मान्यो– उसको मुस्कानमा जादु छ ।
मैले उसले घाँटीमा झुन्ड्याएको आइडीमा हेरेँ । जहाँ लेखिएको थियो— उस्मानी राणा । मैले मनमनै उसको नामलाई पटक पटक उच्चारण गरेँ । बल्ल उसले जवाफ दिई–“नागरिकता र दुईवटा फोटो ।”
म केहीबेरमा आउँछु भन्दै त्यहाँबाट बाहिरिएँ । ढोकाबाट निस्किने बेलासम्म उसका आँखाहरूले मलाई पछ्याइरहेका थिए । त्यो, शुक्रवारको दिन थियो ।
कोठामा आइपुग्दा कारखानामा केही मानिसहरू जम्मा भएका थिए । ग्याँस लिक भएर पाइपमा आगो लागेछ । भाइहरूले दुई मिनेटमै आगो नियन्त्रणमा लिए पनि गन्नुको देब्रे हातमा थोरै जलन भएको थियो । म उसलाई लिएर पालिका हस्पिटल खारा गएँ । बैङ्क जान भ्याइएन । आइपुग्दा बैङ्क बन्द भइसकेको थियो ।
–––
साँझको नौ बजे । त्रिवेणी गेस्ट हाउसको डिनर रुममा मानिसहरू खचाखच भरिएका थिए । मेरा दुईजना भाइ सहित हामीले एउटा टेबुल ओगटेका थियौँ । अर्को टेबलमा दुईजना सहकर्मी सहित उस्मानी थिई । बेलाबेला हाम्रा नजरहरू ठोक्किने र झुक्ने क्रम जारी थियो । बाहिर अविरल वर्षा भइरहेको थियो । टेबुलमा खाना आइपुगेको थिएन । भाइहरूतिर हेर्दै मैले भने–“कफीको डिब्बा खोइ ?”
“लास्टमा तपाई आउनु भयो ।”उनीहरूले एकसाथ भने– “हामी त नल्याई आयौँ ।”
त्यतिबेला हामीलाई कामको चाप अत्यन्तै थियो । राति अबेलासम्म बस्नुपर्थ्यो । निद्राले नसताओस् भनेर कफी पिउने गरेका थियौँ । कोठामा कुनै व्यवस्था थिएन । खाने/पिउने सबै प्रबन्ध यतै मिलाएका थियौँ । त्रिवेणी बजारमा कफी कहीँ नपाइसकेपछि अनलाइनबाट मगाएका थियौँ । म कोठा जानलाई बसेको कुर्सीबाट उठेँ । उस्मानीले मलाई हेरी ।
दौडिएर जाँदा तिस सेकेन्डको दुरीमै थियो हाम्रो रुम । तर बाहिर वर्षा यति भारी भइरहेको रहेछ कि त्यसमा पस्दा मान्छे दश सेकेन्डमै निथ्रुक्क रुझ्न सक्थ्यो । म निस्किन सकिन । हामीले छाता पनि नल्याई आएका थियौँ । यताउता हेरेँ– गेटकै साइडमा पार्क गरिएको स्कुटीको सिटमा कसैको छाता रहेछ । साहुजीलाई भनेँ–“पाँच मिनेटको लागी मलाई छाता चाहिएको थियो । यो कसको हो ? म लान्छु है !”
“सुन्नु त बहिनी ।”उस्मानीतिर हेर्दै उँचो स्वरमा उनी बोले–“एकछिनको लागी उहाँ भाइलाई छाता चाहिएको रहेछ । लिएर ल्याइदिइहाल्नु हुन्छ है !”
ओहो ! मैले उस्मानीलाई हेरेँ । उसले स्वीकृति सूचक मुन्टो हल्लाउँदै अदबका साथ मुस्काई । म बाहिरिएँ ।
मलाई उसको छाता उसको शरीरको एक अंशजस्तै प्रिय लाग्यो । उसका फिङ्गर प्रिन्टहरूमा मेरा फिङ्गर प्रिन्टहरू मिसिए । लाग्यो, यो निस्पट्ट अँध्यारो एकान्तमा हामी सँगै छौँ । मुटु ढप्प भयो । उसले घाम र पानी दुवैमा आफू सँगसँगै हिडाल्ने यो छातामा मैले उसको पर्फयुम् महसुस गरेँ । मैले उसलाई महसुस गरेँ ।
उसले पनि मलाई महसुस गर्नुपर्छ भन्ने लाग्यो । कोठामा पुगेपछि मैले मेरो पर्फयुम् उसको छातामा हानिदिएँ । अब ऊ आफ्नो छातामा मलाई भेट्ने छे । आएर यथास्थानमा बस्दै उस्मानीलाई भनेँ–“थ्यान्क्यु ।”
रिप्लाईमा ऊ त्यसै गरी सेता दाँत देखाएर फिस्स हाँसी ।
–––
शनिवारको दिन थियो । आकाशमा बादल डम्मै लागेको थियो । समय एघार भइसकेको थियो । सदरमुकामको यात्रामा म हतारमा थिएँ । पाँच मिनेट पार भइसकेपछि दबाङ्गको जङ्गलमा म सवार बाइकलाई कसैले हात दियो । एक हातमा उही छाता र अर्को हातमा फोन समाएर उभिएकी उसलाई मैले चिनेँ— उस्मानी थिई । उसले मलाई चिनिन । भनी–“हजुरले पछाडि कहीँ गाडी देख्नुभयो र ?”
“कहाँसम्म पुग्नु थियो र ?”मैले क्रमशः चस्मा,हेलमेट र मास्क उतारेँ ।
“ए..,तपाई पो !”ऊ मुस्कुराई–“सदरमुकामसम्म ।”
“त्यति सहयोग त म पनि गर्न सक्छु, माग्नु भयो भने ।”म हाँसेँ ।
“हैन म गाडीमै जान्छु । तपाईँको बाइकलाई किन दुख दिनु !”कुटिल मुस्कानका साथ उसले गाडी आउने बाटोतिर हेर्दै भनी ।
“निर्जीव वस्तुको दुखको बारेमा त यति सोच्ने मान्छेले झन् सजीव वस्तुको दुखको बारेमा कत्ति सोच्नुहुन्छ होला है !”मैले ऊतिर हेरेँ ।
“हेहेहे..,है !”ऊ हाँसी । भनी–“पानी पर्ला पर्ला जस्तो भइरहेको छ । रुझिने डरले म स्कुटरमा आइन । फेरी यो झरीको बेला मलाई बसमा यात्रा गर्न रमाइलो लाग्छ । अहिले त बस कुर्दा–कुर्दा ढिलो पनि भइसक्यो ।”
“झरीमा रुझ्न मलाई त रहर लाग्छ । तपाईँलाई चैँ डर लाग्ने रै’छ !”म हाँसेँ । भनेँ–“अब नडराउनुस्, म छु । तपाईँसँग तपाईँको छाता पनि छ ।”
हातले मेरो कुममा टेक्दै ऊ सिटमा उक्लिई । उसको स्पर्शको करेन्ट सिधै मेरो मुटुमा गएर शरीरभरि सञ्चार भयो । हिँडेको पाँच मिनेटसम्म हामी कोही केही बोलेनौँ । खास, उसले मेरो बारेमा केही सोध्छे कि भनेर मैले पर्खिरहेको थिएँ । तर स्मरण भयो, अपवाद बाहेक नेपाली समाजका महिलाहरू सुरुमै आफू खुल्न चाहँदैनन् । वस्तुस्थितिलाई मध्यनजर गर्दै मैँ बोलेँ–“नयाँ मान्छेसँग त कस्तो कुरै गर्न अप्ठ्यारो हुने । मिल्छ भने परिचय गरौँ हुन्न !”
“केको नयाँ ! म त तपाईँलाई चिन्छु नि ।” कानैनेर आएर ऊ बोली ।
“कसरी ?”मैले सोधेँ ।
“सँगसँगै एकै ठाउँमा खाना खाने मान्छे, म बस्ने घरभन्दा पल्लो घरमा बस्ने मान्छे र प्रत्येक दिन देखिइरहने मान्छे ।”उसले जवाफ दिई ।
“यति नै पर्याप्त छ ?”म हाँसेँ ।
“थाहा छैन ।”उसले मलाई साथ दिई ।
के थाहा छ त ? भन्न आँटेको थिएँ, भनिनँ । एक मिनेटको मौनतालाई तोड्दै ऊ बोली–“तपाईँको नाम ?”
“समय शङ्कर ।” स्पिड स्लो गर्दै मैले पहिल्यै उत्तर थाहा पाइसकेको प्रश्न गरेँ–“अनि तपाईँको ?”
“उस्मानी राणा ।”
“जङ्गबहादुरकै खलक हो र ?” म जिस्केँ ।
“त्यो पत्ता लगाउने काम तपाईँको ।” ऊ उन्मत्त हाँसी ।
“अनि घर ?” उत्तर थाहा पाइसकेको अर्को प्रश्न ऊतिर ठेलेँ । सायद मैले आधिकारिकता खोजिरहेको थिएँ । यतिबेला हामी चर्चित डाँगी मोडको ओरालो झरिरहेका थियौँ । बरियोझैँ बेरिएको सडक अगाडी खाली नै थियो । बादल बाक्लिएर आकाश कालो भएको थियो ।
“बुटवलको तामनगर ।” उस्मानीले यति के भन्न भ्याएकी थिई, सिम्रुतुतिरबाट बेतोड गतिमा आएका दुईजनाले मोटरसाइकल भित्तामा लिएर ठोक्काए । बल गरेर दुवै हातले मलाई च्याप्दै उस्मानी बेस्सरी चिच्याई । मैले बडो कुशलतापूर्वक उनीहरूबाट हाम्रो सवारीलाई बचाएँ ।
–––
सोलाबाङ्ग कटिसकेपछि केहीबेरमै झरी सुरु भयो । आकाशबाट झरेर सालका पातहरूमा बजारिएको पानीले बनेको सङ्गीतले उस्मानीलाई बिथोल्यो । भनी– “एक ठाउँमा उभिएर छाता ओढौँ ।”
त्यो समय असारको उत्तरार्ध थियो, पानी झन् जोडले पर्न थाल्यो । वरपर घरहरू थिएनन् । थप सात किलोमिटर पार भइसकेपछि मात्रै मानव बस्ती सुरु हुन्थ्यो । ऊ र म एउटै छाताको परिधिभित्र अटाएका थियौँ । बाछिटाले झनझन हामीलाई एकर्काका पास धकेलिरहेको थियो । बाहानमा झरी पर्याप्त थियो, हामी एकर्काका अत्यन्तै करिबमा उभिएका थियौँ । मैले उसको श्वास प्रश्वासलाई महसुस गरिरहेको थिएँ । छाताको वातावरणभित्र उसको र मेरो पर्फयुमको मिश्रणले अलौकिक सुगन्ध सञ्चार गरिरहेको थियो । मलाई लाग्न थाल्यो— यो झरी यसै गरी परिरहनुपर्छ । यो समय यहीँ रोकिनुपर्छ ।
काठमाडौँमा सँगै पढेको उसको एकजना सहपाठीको घर रै’छ मुसिकोट । उसैलाई भेट्न निस्किएकी रै’छे ऊ । फर्किन भ्याइन्न कि भन्ने अत्यास, उसको मुहारमा देखिन थाल्यो । `तपाई बस रोकेर जानू´ भनेको उसले मानिन । केहीबेरमा अलि कम भए पनि आकाश पूर्णरुपमा थामिएको थिएन । उसले भनी–“म छाता ओढाउँछु, तपाई बिस्तारै चलाउनु । यसरी कुरेर त हुन्न ।”
रुमाल निकालेर सिट पुछी । निथ्रुक्क भयो; निचोरी । चिसो रुमाल मेरो ब्यागको खल्तीमा पछि झिक्छु भन्दै राखी । म बसेँ । ऊ टाँस्सिएर बसी, बिचमा हावालेसम्म बास पाएन । ५–७ को स्पिडमा हामी हिँड्यौँ । हावाले उसको छाता पल्टाउन खोज्थ्यो । ऊ प्रतिरोधमा छाता तल दबाउन बल गर्थी । अगाडीको जम्मै दृश्य छोपिन्थ्यो । म स्पिड स्लो गर्थेँ । ऊ हाँस्थी । यो निकटता देखेर मलाई लागिरहेको थियो— मैले उसलाई पाएँ । आफ्ना दुवै हात मेरो बाहुबाट फसाएर पछाडिबाट उसले मलाई पुरै अङ्गालो हालेकी थिई । यो पल मलाई अत्यन्तै रोचक लागिहेरेको थियो । उसले भनी—“असहज मान्नुपर्ने कुनै आवश्यकता छैन है ! सम्पूर्ण दोष परिस्थितिलाई दिनुपर्छ ।”
आधीउधी भिज्दै हामी सदरमुकामको `स्यार्पू ताल´ क्याफेमा गयौँ । आकाश लगभग थामिसकेको थियो । उसले आफ्नो साथीलाई फोन गरेर त्यहीँ बोलाई । साथीसँग मेरो पनि सामान्य परिचय गराइदिई । उसको साथीले मान्दै–नमान्ने भएपछि बिहान अफिस भेट्टाउन फकिर्नेगरी ऊ आज साथीकै घरमा बस्ने भई । कफी पिई सकेर म बाहिरिनै लाग्दा उसले भनी– “राम्रोसँग जानू । तपाईँलाई आवश्यक पर्न सक्छ, यो छाता लानू ।”
“तपाई नभएपछि छाताको के काम ?”म जिस्के ।
“ठुलो पानी परिहाले उभिएर ओत लाग्न त हुन्छ ।”उसले सिरियस भएर भनी ।
“भनेको हैन ! मलाई रुझ्न मन पर्छ ।”म हाँसेँ ।
“बिरामी हुनुपर्ला !”उसले सचेत बनाई ।
“भए पनि कोही न कोही सेवा गर्न त कसो नआउलान् !”म रोमान्टिक बन्न खोजेँ ।
“जमाना तपाईँले सोचेजस्तो नहुन पनि सक्छ ।”ऊ सिरियस भई ।
“त्यो पनि हो ।”
म गएँ भन्दै क्याफेबाट बाहिरिएँ । राम्रोसँग जानु भन्दै उसले बिदाइको हात हल्लाएकी थिई ।
बजारमा ढिलो भयो । फर्किने बेला साढे सात बजिसकेको थियो । आउँदा सँगै आएको बाटोमा एक्लै फर्किनुपर्दा नमिठो लाग्यो । कानमा एअरफोन हालेर गीत बजाएँ । गति बढाएँ । बिहान सँगै हुँदाका दृश्यहरू आँखामा आउँदै–जाँदै गरिरहेका थिए । स्पिकरको भोल्युम बढाएँ । कानमा गीत बजिरहेको थियो– सँगसँगै सहेको त्यो घाम पानी नभुल्नू है………!
–––
आइतबार साढे दश बजे फोटो र नागरिकता लिएर म कोठाबाट निस्किएँ । छर्लङ्ग आकाश खुलेको थियो । बादलका सेता–सेता थुम्काहरूले पहाडका दृश्यलाई सुन्दर बनाइरहेको थियो । सम्मुखमा सिस्ने हिमाल आफ्नो रङ्गमा धपक्क बलेको थियो । शताब्दी बैङ्कको गेटमा उभिएका गार्ड दाइले हातमा स्यानिटाइजर हालिदिए । मास्क मैले लगाएर गएको थिएँ ।
भित्र बैङ्कको हल शान्त थियो । तर मेरा आँखाहरू अशान्त भए । आफ्नो कुर्सीमा उस्मानी थिइन । मैले खाता नखोलेर आउँ भयो, गार्ड दाइ छेउमा आएर सोधे–“सरको काम के थियो ?”
“खाता खोलौँ भनेको ।”म सानो स्वरमा बोलेँ ।
“सर ! एकछिन कुर्नुपर्ने भयो । उस्मानी म्याम पुग्नै आँट्नुभयो रे !”उनी यति भनेर गेटतिर गए । म बसेँ । दश मिनेट बित्यो, उस्मानी आइन । मेरो मोबाइलमा फोन आयो । गन्नुको थियो–“दाइ ! कारखानामा छिट्टो आउनुपर्ने भयो ।”
म निस्किएँ । त्यसपछि त्यो दिनभर बैङ्क आउन फुर्सद नै मिलेन ।
–––
साँझको खाना खाने बेला एकतमास झरी परिरहेको थियो । हामी जाँदा सहकर्मी साथीहरू सहित उस्मानी बसिरहेकी थिई । हामी साइडकै टेबुल ओगटेर बस्यौँ । ऊ मलाई देखेर मुस्कुराई । बोलिन । मैले पनि बोलाइन । प्रत्युत्तरमा मुस्कुराएँ मात्र । थाहा भइसकेको थियो— ऊ परिस्थिति बाहेक र आफ्ना सहकर्मी बाहेक कसैसँग खुल्दिन ।
उसका र मेरा सहकर्मीहरू खाना खाँदै उठ्दै गरिरहेका थिए । तर म भनेँ खाना खाइसकेपछि पनि हात नधोई बसेँ, जबसम्म उसले खाइ सकिन । उसले पानी पिउँदै थिई म उठेर बेसिन तिर गएँ । हात धोइसक्दा पनि ऊ आइन । मैले ढिलो गरेँ । ऊ आई । सँगसँगै उसको पर्फयुमको सुगन्ध पनि आयो । मैले ठाउँ छोडिदिएँ । ऊ मुस्कुराई । हात धुन थाली । म बोलेँ—“खाता खोल्नलाई म आज पनि गएको थिएँ । तपाई कतिबेला आउनुभएको नि ?”
“म एघार बजे ।”उसले मतिर हेरी–“भोली आउनु न ।”
भोलीपल्ट पनि मैले भ्याइन । दिउँसो दुई बजे खाजा खान भनेर होटेल छिरेको थिएँ, उसलाई बसिरहेको देखेँ । अफिसको ड्रेसमा थिई, घाँटीमा आइडी भिरेकी थिई । मोबाइलमा व्यस्त देखिन्थी ।
“खाजामा के छ दाइ?”मैले साहुजीलाई सोधेँ ।
“ओहो ! आज त अहिले नै सबै सकियो, केही छैन ।”उनी बोले—“एक पिलेट जति मम बचेको थियो । उस्मानी बहिनीको लागी रेडी हुँदै छ ।”
मैले उस्मानी तिर हेरेँ । ऊ मुस्कुराई । भनी–“बैङ्क जानुभएन त !”
“अँ, व्यस्त भएँ । भ्याइन ।”म उसको टेबुल अगाडीको कुर्सीनेर गएँ–“एकछिन टाइम निकालेर यहाँ आ’को खाजा पनि रहेनछ । अब जान्छु ।”
“बस्नु न ! मम आउँदै छ । अलिअलि खाउँला ।”उसले भनी ।
“तपाईँको मम किन खाइदिनु र !”मैले नखरा गरेँ ।
“मेरो होइन, पिठोको÷मासुको÷मसलाको के–केको होला नि ! त्यसमा मलाई आपत्ति छैन ।”ऊ हाँसी ।
म उसको हाँसोलाई साथ दिँदै अगाडीको कुर्सीमा बसेँ । मम आयो । उसले के भन्न आँटेकी थिई । मैले साहुजी तिर हेरेर कराएँ—“दाइ ! एउटा खाली पिलेट दिनु न ।”
“तपाईँलाई एउटै पिलेटमा चल्दैन र !”उसले ठुला आँखा बनाएर मलाई हेरी ।
“तपाईँलाई चल्दैन होला नि भनेर ।”मैले आफ्नो विचार राखेँ–“मलाई यो संसारमा जुठो हुन्छ भन्ने कुरामा विश्वास लाग्दैन । धेरै मानिसलाई लाग्छ भनेर म सचेत हुन्छु । मलाई फोहरमा विश्वास लाग्छ, जुठोमा लाग्दैन ।”
“ए.., म फोहर त छैन है !”ऊ मुस्कुराई । र साहुजी तिर हेर्दै कराइ—“दाइ ! पिलेट छोडिदिनु । बरु एउटा काँटा ल्याइदिनू ।”
“ए, तपाईँलाई चैँ एउटै काँटा चाही चल्दैन ?”मैले जिस्काउने मौका पाएँ ।
“चलिहाल्छ नि !” उसले भनी– “मलाई पनि त्यसमा आपत्ति छैन । सहजताको लागी भनेको । एउटाले खाने अर्कोले हेर्ने पनि त गर्नुभएन ।”
खाएर निस्किँदै गदा उसलाई भनेँ— “आफ्नो रुमालको याद आउँदैन ? धोएर सुकाइदिरा’छु ।”
“अँ, है ! मैले त बिर्सेछु ।”उसले भनी–“आउँदा कुनै बेला ल्याइदिनु नि !”
–––
सोमबारको सवा दश बजे । म ग्राहक दीर्घामा बसिरहेको छु । मेरो आँखा अगाडी उस्मानी कम्प्युटरमा व्यस्त छे । मेरो हातमा फोटो र नागरिकता छ, जसलाई मैले केही समयदेखि सुमसुम्याइ रहेको छु । केहीबेरमा मेरा अस्थिर औलातिर उस्मानीले नजर लगाई । तन्किएर पछाडिको घर्राबाट ३/४ ओटा कागज निकालेर मतिर बढाई । भनी–“फर्म भर्न त आउँछ होला नि ?”
“आउँदैन । यो बारेमा मलाई त्यति थाहा पनि छैन ।”मैले भनेँ–“जानेको मान्छेले भरिदिनु न छिटो–छिटो ।”
कम्प्युटरबाट ध्यान हटाई । मतिर बढाएका खाली फर्महरू आफूतिर तानेर एकछिनसम्म बेतोडले कलमको निब दौडाएपछि टक्क अडिई । कर्के नजरले मतिर हेर्दै भनी—“तपाईँको नाम ?”
ऊ पहिलोपटक नमुस्कुराएको मैले देखेँ । ऊ हतारमा थिई ? वा उसको यो काम गर्ने शैली ? उसको औपचारिकताले मलाई असहज बनायो । त्यै पनि म लयमा आएँ । फोटा र नागरिकता उसको टेबुलमा राखिदिँदै भनेँ—“समय शङ्कर ।”
“अनि बुवाको नाम ?”लेखिसकेर फेरी सोधी । मैले उसको टेबुलमा राखिदिएको नागरिकता हेर्दै हेरिन ।
अब चैँ मलाई सङ्कट आइलाग्यो । बोल्दाबोल्दै टक्क रोकिन पुगेँ । के बोलौँ÷नबोलौँको अलमल भयो । हतारमा फेरी उहीँ बोली— “बुवाको नाम ?”
बडा मुस्किलले दबिएको स्वरमा भनेँ— “जुठे कामी ।”
यो भनिरहँदा मेरो अनुहारको भावभङ्गी नराम्रोसँग बिग्रियो । अघिल्लो प्रश्नको जवाफ दिने बेला मेरो मुहारमा जुन उमङ्ग थियो,त्यसले निमेषभरमै नेटो काटिसकेको थियो । आधी होस गुमाएजस्तै भए पनि जतिसक्दो सामान्य देखिने प्रयास गरिरहेको थिएँ । ऊ लेखिसकेर फेरि बोली—“अनि बाजेको नाम ?”
मलाई पुनः करेन्टको झड्का लाग्यो । कानबाट स्वर गएजस्तै भयो । सम्हालिएर सकसकसाथ उत्तर दिएँ—“गासे कामी ।”
अब लगभग होस असामान्य भइसकेको थियो । बाँकी केही कुरा सुन्नै नसक्ने भइसकेका थिए कानहरू । तत्पश्चात् पेसा र शैक्षिक योग्यता सोधिछे उसले । मैले सुनेनछु । दुई÷तिन पटक कराएपछि मात्रै सुनेँ । मलाई ऊसँग झनक्क रिस उठ्यो—“पख्नुस्, प्रमाणपत्र लिएर आउँछु ।”
“त्यो ल्याइरहनु पर्दैन, तपाई भन्नु न ।”ऊ बोली ।
“त्यत्तिकै त म मिलाएर जे पनि भन्न सक्छु । त्यसो हो भने तपाई आफै लेखिदिनु न मिलाएर, भइहाल्यो त ।”सायद उसले मेरो बेचैनी बुझी । केही बोलिन । लेखिरही । मेरो नागरिकता हातमा लिएर हेरी । फोटोकपी गर्नलाई कुर्सीबाट उठी ।
मलाई उकुसमुकुस हुन थाल्यो । मानसपटलमा चलचित्रको झैँ रिल घुम्न थाल्यो— मेरो समुदायलाई इतिहास कालदेखि हिन्दु उच्च जातीय राज्यसत्ताले÷क्रूर सामाजिक संरचनाले शिक्षा र सम्पत्तिको स्वामित्वको अधिकारबाट वञ्चित गरायो । सम्पत्ति राखे जफत र पढ्नु त के पढेको सुनेसम्म दण्डित गरी पिँधमा पुर्यायो । मेरा पुर्खाहरूलाई निरक्षर बनायो । तिनै कथित उच्च जातका साक्षर हाकिमहरूले निरक्षर दलितका नागरिकतामा लेखिदिएका अपमानजनक नामहरूले निदाउन दिँदैनन् । छाती पोलिरहन्छन् । मेरा बाभन्दा दश वर्ष बुढो गैरदलितको नाम हरिशरण÷भरतमणि शर्मा हुनसक्छ भने मेरो बाको नाम भरतमणि कामी किन हुन सकेन ? मेरो हजुरबा भन्दा बढी उमेरका गैरदलितका नाम दिवाकर,माधव प्रसाद,राम शरण,चिन्तामणि हुनसक्छ भने मेरो हजुरबाको नाम यिनैमध्ये कोही किन भएन ? उताका लक्ष्मीदेवी,हरिमाया,सुवर्णलता हुनेबेला मेरा काकी,बोजुहरू चुके,चुकुन्टी,कुकुर्नी कसरी भए ? मेरो प्रतिछाया मेरो अगाडी प्रकट हुन्छ÷कराउन थाल्छ— त कसरी यति सहनशील ? यत्रो भइरहँदा पनि त के हेरेर हात बाँधेर बसेको छस् ? भत्काउन अझै ढिलो भएन यो अत्याचारको शृङ्खला ? छिटो उठ । रङ्गमञ्चमा तेरो अधिकार र स्वाभिमानको चीरहरण भइरहेको छ । जा ए.., गएर डढाइदे त माथि हजारौँ वर्षदेखि शासन गरिरहेको शासकको साम्राज्य । सक्छस् भने मसीले नत्र रगतले भए पनि लेख, आफ्नो नयाँ इतिहास ।
“समय जी, चेक लिनुस् ।”उस्मानी बोली । मेरो निधारभरि पसिना–पसिना आइरहेको थियो । उसको कम्प्युटरको साइडमा पानीको बोतल थियो, इशारा गरेँ । उसले दिई । अलिकति पिएँ । अनुहारमा छ्यापेँ ।
निस्किने बेला उसले एटीएम र मोबाइल बैङ्किङको बारेमा के–के भन्दै थिई । म नसुनी एटीएम र चेक टिपेर आएँ । मोबाइल अफ गरेर दिनभर छतको कुर्सीमा आकाशतिर हेरेर आँखा चिम्लिएर बसिरहेँ । साँझ छ बजेसम्म बदलिरहेको मौसम(घाम,हुरी,पानी)ले मेरो ध्यान बिथोल्न सकेन ।
–––
धेरै दिनसम्म म उस्मानीको अगाडी परिन । साँझको खाना भाइहरूलाई रुममै ल्याउन लगाउन थालेँ भने बिहानको खाना बाह्र बजे खाना थालेँ । भाइहरू भन्थेँ— तपाईँले खाना खाने टेबुलतिर उस्मानी म्यामले हेरिरहनु हुन्छ ।
अर्को दिन साँझ गन्तीले भन्यो— “दाइ, तपाईँको बारेमा उस्मानी म्यामले सोध्दै हुनुहुन्थ्यो । दाइ कहाँ जानु भा’छ र, देखिनु हुन्न नि भन्दै हुनुहुन्थ्यो । मैले पनि नेपालगन्ज जानुभा’छ भनिदिएँ ।”
त्यसपछिको एउटा शनिवार । धरतीमा घाम लागेको थिएन । एकतमास चिसो हावा चलिरहेको थियो । समता फाउन्डेसनले प्रकाशन गरेको `दलन विरुद्धको प्रतिरोध´ छतमा बसेर पढिरहेको थिएँ । पल्लो घरको छतमा निकैबेरदेखि कसैले चहलपहल दिइरहेको थियो । मैले किताबबाट हटाएर नजरहरू त्यता लिएँ । सम्मुखमा उभिएको सिस्ने हिमाललाई मात खुवाउने गरी हात हल्लाउँदै उस्मानी हाँसिरहेकी थिई । टाढैबाट बोली–“के छ खबर ? अचेल होटेलतिर पनि देखिनुहुन्न ! बैैंकतिर पनि जानुहुन्न त !”
ओहो ! उस्मानीले मेरो हालचाल सोधी । मलाई त थियो, उसलाई पनि मेराप्रति चासो रहेछ । उसमा मेरो ख्याल रहेछ । मन हर्रर भयो । वल्लो घरको छतबाट जुनझैँ बलेकी उसलाई हेरिरहेँ । उसका आँखाहरूले पनि मलाई हेरिरहेका थिए । र मैले उसका आँखामा आफूलाई देखेँ ।
मानिसलाई आसले बचाउँछ । बाँच्न÷रमाउन इच्छा जगाउँछ । भरेदेखि म पुरानै लयमा फर्किएँ । मेरा सहकर्मी दुईओटा भाइ सहित हरेक साँझ र बिहान म त्रिवेणी होटेलको एउटा टेबुल ओगटेर बस्न थालेँ । त्यसै समयमा आफ्ना सहकर्मी सहित उस्मानी पनि अर्को टेबुल ओगटेर बस्न थाली । मुस्कान र आँखाको भाषामा बात मार्न थाली । मानिसहरूको अगाडी र विशेषतः सहकर्मीहरूको अगाडी उसले मलाई कहिल्यै बोलाइन् । उसले मलाई बोलाउन नसक्ने परिस्थिति भनेको मैले पनि उसलाई बोलाउनै नहुने परिस्थिति हो भन्ने बुझेर मैले पनि उसलाई कहिल्यै बोलाइन । जति नै भिडमा पनि उसका आँखाहरूले भनेँ मलाई नोट गरिरहेका हुन्थे । महिनौँदेखि एउटै छानामुनि एउटै कसौटीको भात सँगसँगै खाँदै आए पनि उसका सहकर्मीहरू कहिल्यै बोलेनन् । बङ्करहरू घमन्डी हुन्छन् भन्ने कुरा थप विश्वसनीय भयो । गार्ड दाइ भने एक्लै अर्को टेबुलमा बसेर खाना खान्थे । मलाई देख्नसाथ भने उनी सुनको गुण,विशेषता र गहनाहरूको बारेमा अनेक जिज्ञासु राख्न आइपुग्थे । एकपटक साहु दाइले भनेका,– उस्मानीको दुईजना सहकर्मी केटाहरूमध्ये गोरे केटाको हजुरबा चैँ नेपाल राष्ट्र बैङ्कका गभर्नर थिए रे ।
अफिसको ड्रेसमा उस्मानी मलाई झन् अथाह सुन्दरी लाग्थी । ऊ आफ्नो कुर्सीमा बसेर औलाहरू किबोर्डमा दौडाइरहेको दृश्य झन् स्वर्णिम लाग्थ्यो । लगभग आठ हजार वर्षदेखि पुरुष सत्ताको अधीन र उत्पीडनमा पर्दै आएका महिलाहरू नेतृत्वदायी स्थानमा पुगेको दृश्य मलाई संसारकै सबैभन्दा सुन्दर लाग्छ । हर्षले आँखाहरू रसाउँछन्, गर्वले छाती चौडा हुन्छ ।
साँझ र बिहानको नपुगेर दिउँसो पनि उस्मानीलाई हेर्न म बैङ्क छिरिरहन्थेँ । कारखानाको कच्चा पदार्थ अर्डरको लागी तिन दिनमा दुईपटक त आइपिएस् गर्ने काम नै पर्थ्यो । म जानसाथ उसले आइपिएसको भौचर आफै भरिदिन्थी । पछिपछि क्रमशः उसलाई मेरो नाम,ठेगाना,मोबाइल नम्बर,खाता नम्बर सबै कण्ठ भएको थियो । खाली, अमाउन्ट मात्रै सोध्थी ।
देखेर म चकित पर्थेँ,ऊ अत्यन्तै छिटो कलम चलाउँथी । उसका अक्षरहरू पनि ऊजस्तै सुन्दर थिए । एकपटक मैले मुखै फोरेको थिएँ–“कति राम्रा अक्षर ।”
“होइन होला !”ऊ मस्किँदै फुर्किएकी थिई ।
पहिलो दिन कोठामा आएर मैले भाइहरूसँग खुसी बाँडेको थिएँ । भने—“तिमीहरू पनि हेर ! उस्मानीका अक्षरहरू । कति राम्रा छन् है ।”
“राम्रा र नराम्रा छन् भन्दा पनि प्यारा छन् भन्नुस् दाइ ।”गन्नु हाँस्यो ।
“यी भन्दा राम्रा त तपाईँकै छन् होला दाइ ।”गन्ती बोल्यो । ऊ अलि प्याच्च बोल्छ ।
जे होस्, उसका अक्षरहरू भएको त्यो भौचर मलाई लभ लेटर भन्दा कम लागेन । सेफ खोलेर सुनभन्दा जतनका साथ राखेँ ।
एकपटक सँगै तिन ठाउँ आइपिएस् गर्नुपर्ने थियो । सेवाग्राहीहरूको चाप थियो । उसले दुईओटा भौचर भरिसक्दा मैले एउटा भौचर भरेर दिएँ । उसले राम्रोसँग हेरी ।
“ठिक छ त ।”उसले हाँस्दै भनी–“झन् राम्रा रहेछन् त तपाईँका अक्षर ।”
सामाजिक सुरक्षा भत्ता बैङ्कहरूले वितरण गर्ने भएको कारण सेवाग्राहीको चाप बढेको थियो । रोल्पाको गङ्गादेव,सल्यानको दार्मा र रुकुमको त्रिवेणीका कत्ति वडाको भत्ता शताब्दीले वितरण गर्न सुरु गरेको थियो । मान्छेहरूको भिडबाट छिरेर आइपिएसका केही खाली भौचर मैले उस्मानीको अगाडी राखिदिएँ । अत्यन्तै व्यस्त देखिन्थी, त्यै पनि उसले मलाई हेरी । केही बोलिन । अरू दिनजस्तो हाँसिन पनि । आफ्नै काममा व्यस्त भई ।
“आज त मेरो पालो आउँदैन होला ।”दश मिनेट कुरिसकेपछि आत्तिँदै म बोलेँ ।
“जान्नेले त भौचर आफै भरौँ है !”मतिर नहरेरै उसले मलाई भनी ।
“तपाई भर्दिनु न ।”म मायालु पारामा बोलेँ ।
“म भ्याउँदिन ।”ऊ कठोर भई ।
मलाई छातीभित्र कता चसक्क भयो । उसको अगाडी राखिदिएका भौचरहरू लिएर पछाडि स्टेसनमा आएँ । भरेर उसको अगाडी राखिदिएँ । आएर पछाडि मानिसहरू बसेको लहरमा छेल्लिएर बसेँ ।
दुई मिनेट पछि गार्ड दाइ भन्दै ऊ कराई । गार्ड दाइले मलाई स्लिप ल्याएर दिए ।
–––
समय आफ्नै गतिमा हिँडिरहेको थियो । ठुलो रकम पठाउनुपर्दा मात्रै म बैङ्कमा जान्थेँ । सानोतिनो मोबाइलबाटै गर्थेँ ।
एक साँझ खाना खानु अघि गोरे केटासँग परिचयको निम्ति हात बढाएँ । उस्मानीले हेरिरहेकी थिई । केटोले खासै रुचि देखाइरहेको थिएन । त्यो कुराको मलाई मतलब पनि थिएन । मैले आफ्नो मोबाइल ऊतिर बढाउँदै भनेँ—“मलाई आइपिएस कनेक्ट गर्दिनुस् न ।”
दश पन्ध्र मिनेट जति लगाएर उसले मेरो काम सहर्ष गरिदियो । आइपिएसको लागी अब म बैङ्क नजाँदा पनि हुने भयो । डिपोजिटको लागी भनेँ बैङ्कले कर्मचारी बजारका सेवाग्राहीको ढोकामै पठाउने गरेको थियो ।
समस्या पहिले नआउने नै गरेको भन्ने चैँ थिएन, तुलनात्मक रूपमा अब चैँ धेरै आउन थाल्यो । मेरो मोबाइल बैङ्किङमा तीव्र रूपमा समस्या आउन थालेको थियो । सबै मिले पनि ट्रान्जेक्सन् सक्सेस नहुने, कहिले एप्स नै नखुल्ने । दिउँसो खाजा खान जाँदा उस्मानीसँग भेट भयो । उसलाई देखाएँ । उसले के–के चेक गरेजस्तो गरी, भएन । भनी—“एकछिनमा बैङ्क आउनुस् ।”
मेरो एउटा अत्यन्तै हितैषी मित्र थियो— सीमान्त । ऊ विदेशमा बस्थ्यो । हाम्रो एकापसमा स–साना कुराहरू पनि सेयर हुन्थे । च्याटमै धेरै बोल्थ्यौँ । प्राय जतिबेला पनि म्यासेज गरिरहेकै हुन्थ्यौँ । उस्मानीको बारेमा मैले उसलाई सबै कुरा सुनाएको थिएँ । मन पराउन थालेको र उसकोमा गइरहने कुरा पनि भनेको थिएँ ।
म जाँदा उस्मानी कम्प्युटरमा व्यस्त थिई । म उसको सम्मुखको कुर्सीमा बसेर सीमान्तसँग च्याट गरिरहेको थिएँ । उस्मानीले कम्प्युटरमा मेरो मोबाइल बैङ्किङको अवस्था जाँचिरहेकी थिई । मेरो हातको मोबाइल करायो, सीमान्तले भिडियो कल गरेको थियो । काटेर म्यासेज गरेँ—“बैङ्कमा छु ।”
मोबाइल बैङ्किङको सेटिङ्ग मिलाइदिन भन्दै उस्मानीले मेरो मोबाइल मागी । मैले दिएँ । उसले चलाउँदै थिई, टिङ् आवाज आयो । ऊ मुस्कुराइ । र भनी—“सबै ठिक छ । र,गलत पासवर्ड पनि नहान्नुहोला, आफै डियाक्टिभ हुन्छ ।”
मैले मोबाइल लिएँ । म्यासेन्जरमा सीमान्तको म्यासेज आइरहेको नोटिफिकेसन माथि देखाइरहेको थियो । उसको म्यासेज देखेर मेरो अनुहार रातो भयो । उसले लेखेको थियो–“कुन बैङ्क ? त्यै तैँले मन पराउने केटी उस्मानीको ?”
उस्मानीको मुस्कानको रहस्य पत्ता पाएँ । थप लजाएँ । मास्क लगाएर निस्किएँ ।
मोबाइल बैङ्किङको सेवा सुचारु भयो ।
तर अर्को एकदिन फेरी समस्या आयो । भाइहरूले जिस्काए—“दाइ, तपाईँलाई बैङ्कबाट निम्तो आयो, जानुस् ।”
मोबाइल बैङ्किङमा आएको समस्या देखाउन म दिनहुँजस्तो बैङ्क जानुपर्ने भयो । म भित्र छिर्नसाथ उसले थाहा पाइहाल्थी । हाँस्थी । भन्थी—“कतिबेला सिस्टमले काम नगरेको पनि हुन्छ ।”
“यसरी आइरहनुभन्दा समस्या पर्दा म कल गर्छु ।”उसको छेउमा राखिएको टेलिफोनतिर इशारा गर्दै मैले भनेँ—“यसको नम्बर दिनु न ।”
“यो त बिग्रिएको छ ।”ऊ हाँसी ।
म केही बोलिन । र, ममा उसको नम्बर माग् नसक्ने आँट पनि थिएन ।
–––
गोरे केटाको जन्मदिन रहेछ । एक साँझ खाना खानु अघि टेबुलमा उनीहरूले केक काटेर खाए । एकर्काका निधारमा सिम्रिक लगाए । रेड बुल पिउँदै गरेकी उस्मानी खुसी देखिन्थी । त्यो शुक्रवारको दिन थियो । गोरे केटा बोल्यो—“उस्मानी मिस ! कुरा त्यही भयो, आइतबारदेखि तपाईँ ट्रेलरमा बस्नुस् ।”
आइपिएस गर्न जाँदा पनि भौचरमा आठ÷दश पटक सिग्नेचर गर्न लगाउँथी । जति गर्दा पनि मिलेन नै भन्थी । म थकित हुन्थेँ । उसले मानिटर मतिर फर्काइदिन्थी । म हेरी हेरी कपि गर्थेँ । त्यै पनि उसको कुरा उहीँ हुन्थ्यो । म हार्थेँ । ऊ भन्थी—“सिग्नेचर च्यान्ज गरौँ ।”
“होइन, ल्याप्चे नै राखौँ ।” म जवाफ दिन्थेँ ।
उसले मतिर हेर्दे कुटिल मुस्कान छोड्थी ।
ऊ ट्रेलरमा बस्न थालेदेखि मेरो चेकहरू फर्काउने क्रम बाक्लिएको थियो । मान्छेहरू कारखानामै आएर भन्थे—“सिग्नेचर मिलेन रे हौ ! अकाउन्ट होल्डर नै जानुपर्यो रे ।”
“म यहाँ आए पनि मेरो सिग्नेचर त्यही हो, मिल्ने होइन ।”म बैङ्कमा गएर उसलाई भन्थेँ ।
“अकाउन्ट होल्डर आफै आएपछि नमिले पनि त्यति फरक पर्दैन ।”ऊ हाँस्दै चेकमा छाप बज्जार्थी ।
त्यसरी म बैङ्क गएर आफै नगद झिकेर मान्छेहरूलाई नगद नै दिने गरेको थिएँ ।
एकदिन अत्यन्तै इमर्जेन्सी परेको थियो । भाइको हातमा चेक पठाएको थिएँ । फर्काइदी । म दौडिँदै गएर आक्रोशित हुँदै भनेँ—“हैन, यो सिग्नेचर रुजु गर्ने मेसिन नै हुन्छ कि आँखा नै हो ?”
“आँखा नै हो ।”उसले जवाफ दिई ।
“मेरा आँखालाई मिलेको लागिरहेको छ, तपाईँलाई छैन । अब कसकोलाई मान्ने ?”मैले खरो प्रश्न गरेँ ।
“मेरोलाई ।”ऊ मतिर नहेरी हाँसी ।
अघिदेखि उसको ध्यान मनिटरमै थियो ।
–––
उस्मानी राणा ! मैले उसलाई मन पराउन थालेको छु । प्रेम गर्न थालेको छु । म आफ्नो चाहमा कत्तिको सही र सुरक्षित छु ? घोत्लिन्छु । म यो मायाको भविष्य सोच्छु, आत्तिन्छु । सकभर म कहिल्यै पनि उसको अगाडी आफ्नो मनको कुरा राख्न सक्ने छैन । र, सकभर उसले पनि राख्नेछैन । अथवा उसले यो कहिल्यै जरुरी नै ठान्नेछैन ।
सबैभन्दा धेरै मलाई लागिरहन्छ— उसको आँखामा म भएको कुरा गलत पनि हुनसक्छ । वा उसको जीवनमा अरू कोही हुन पनि सक्छ ।
किन–किन म आफ्नो सुदूर भविष्यमा आफ्नो मनलाई धेरै दुखेको देख्न थाल्छु ।
–––
दुई दिने नेपाल बिदाको एक साँझ, खाना खानु अघि पल्लो टेबुलमा उनीहरू केही प्लान बुनिरहेका थिए । उसका दुईजना सहकर्मी केटा साथीहरू स्यार्पु घुम्न जाने भए । के बोलौँ÷नबोलौँ भएर उस्मानी वरपर हेरिरहेकी थिई । उसका साथीहरू उसलाई हेरेर हाँस्दै भनिरहेका थिए—“गाराघाट माथिको ग्राभेल उकालोमा स्कुटी हिँड्दैन । बाइकमा तिन जना जान पनि मिलेन क्यारे !”
“कसरी हुन्छ लिनु न हो लिनु, बिचरा बैनीलाई पनि ।”खाली गिलासहरू टेबुलमा बसाल्दै साहु दाइ बोले ।
“उहाँहरू दुईजना नै जाने हुनुभयो ।” निराशाको भाकामा उस्मानी हाँस्दै बोली—“अब म बिहे गरेपछि आफ्नै बुढासँग नै घुम्छु ।”
“त्यो त कहिले हो कहिले !”साहु दाइ हाँस्दै हाम्रो टेबुल तिर आए—“हाम्रो समय भाइलाई भन्नु न ! दुईवटा बाइकमा ठिक्क चार जना पनि भइन्छ । फेरी उहाँ यही ठाउँको मान्छे, सबैतिर चिनाउँदै पनि लानुहुन्छ ।”
एकसाथ उनीहरू तिन जनाले मतिर पुलुक्क हेरे ।
बिहानको खाना खाइसकेपछि हामी हिँड्यौँ । मेरो बाइकको पछाडि उस्मानी थिई । मेरो जिन्दगी मैसँग छजस्तो लाग्दै थियो ।
उनीहरूको स्वभावै त्यस्तै हो कि के ? उसका साथीहरू मसँग त्यति खुल्न चाहेनन् । यात्राभर उस्मानी मसँग भए पनि रोकिदा उनीहरू तिन जना सँगै हुन्थे । खाली आफ्नो सेक्टरको कुरा गर्दै गफ्फिन्थे । उनीहरूलाई म पनि छु भन्ने कुरामा खासै मतलब थिएन । घुमिसकेको ठाउँ घुम्न ममा पनि त्यति जाँगर थिएन, दिनभर म एकै ठाउँमा बसिरहेँ ।
फर्किदा उस्मानी खुसी हुँदै भनी—“तपाईँको कारण म यो सुन्दर जिल्लाको सुन्दर ठाउँ घुम्न पाएँ । तपाई रुपन्देही आउनुभयो भने म तपाईँलाई लुम्बिनी घुमाउनेछु । यो मेरो वाचा भयो ।”
यो खुसी साँझ कोठामा पुगेर मैले भाइहरूलाई बाँडेँ । भनेँ—“उस्मानी म्यामले हामीलाई लुम्बिनी घुमाउने रे ।”
मैले उस्मानीको फेसबुक आइडी र नम्बर कहिल्यै माग्न सकिन । मेरो नसक्नुलाई, एकदिन उसले टिकटक चलाइरहँदा मैले टिकटक आइडी सोध्दा चलाउँदिन भनेर टारेको कुराले भरथेग गरेको थियो ।
“तपाई नसक्ने भए मै मागी दिउँला ।”गन्नु हाँसेको थियो ।
“दाइ, तपाईँको राइटिङ राम्रो छ चिठी नै लेख्नुस् ।”गन्तीले सुझाएको थियो ।
तर मैले कहिल्यै केही गर्न सकिन । सिवाय, ऊ तिहार बिदामा घर जाँदै गर्दा, राम्रोसँग जानुहोला । नबिर्सिएर त्रिवेणीलाई छिट्टै आउनुहोला । शुभयात्रा ! मार्करले लेखेर एउटा कागज छतबाट उसको खुट्टानेर फालिदिएको थिएँ । ऊ त्यो टिपेर बसमा चढेकी थिई ।
–––
धेरै यामहरू बितेर गए । समय आफ्नै गतिमा हिँडिरह्यो, कहिल्यै धर्म छोडेन । हाम्रो सम्बन्ध पनि एकनास त्यसरी नै हिँडिरह्यो, कहिल्यै धर्म छोडेन ।
वसन्त ऋतुको एक साँझ, आफ्ना सहकर्मीहरू सहित उस्मानी सहिद स्मृति पार्कमा भेटिई । वरपरको भूगोलको वर्णन गर्दै खारा युद्धको बारेमा मैले उनीहरूसँग विस्तृत चर्चा गरेँ । उस्मानी मेरा कुरामा बग्दै इतिहासमा पुगेकी थिई । मनमा उब्जिए जति जिज्ञासा राखिरहेकी थिई । गफ गर्दै साँझ गेस्ट हाउससम्म सँगसँगै गयौँ ।
भोलिपल्ट धरतीमा घामले पाइला नटेक्दै एक महिनाको लागी म काठमान्डु निस्किएँ । हरेक दिन भाइहरूले मेरो ह्वाट्सएपमा भिडियो खसाल्थे । उस्मानीले खाना खाइरहेको/उस्मानी हिँडिरहेको चोरेर भिडियो गरेका हुन्थे । भन्थे—“दाइ, तपाई कहिले आउनुहुन्छ ? डिनर रुममा उस्मानी म्यामका नजरहरूले हजुरलाई खोजिरहन्छन् ।”
एकदिन गन्नुले म्यासेज ग¥यो—“दाइ, उस्मानी म्यामको आज व्रत रहेछ । निकैबेर बसेर पानी मात्रै खाएर जानुभयो । त्यो त उहाँ आफ्नो कोठामा पनि गर्न सक्नुहुन्थ्यो । तर तपाई देखिहाल्नुहुन्छ कि भनेर आउनुभएको थियो होला !”
मैले आफ्नो मनका ऊप्रतिका सारा भावहरूलाई सम्बोधन गरेर तिन हजार शब्दको पत्र लेखेँ । प्रिन्ट गरेर खाममा बन्द गरेँ । ऊ छतमा टहलिरहेको बेला डल्लो बनाएर उसको आङमा फालिदिने विचार बनाएँ ।
एक महिनापछि काठमान्डौँबाट म फर्किएँ । त्यो साँझ त्रिवेणी होटेलमा भिड थियो । सामान मिलाउन लाग्दा विलम्ब भयो, हामी पस्दै गर्दा ऊ खाना खाएर निस्किँदै थिई । झल्याँस्स देखादेख भयो । उसको पर्फयुमको सुगन्ध मेरो मुटुसम्मै पुग्यो ।
अनपेक्षित ! भोलिपल्टदेखि मैले उसलाई देखिन । पन्ध्र पटकसम्म बैङ्क आउजाउ गर्दा पनि उसको कुर्सी खाली थियो । सबै काम उसको साइडमा बस्ने स्टाफले गरिरहेको थियो । उसलाई नदेख्दा मेरा आँखाहरू छटपटिन थालेका थिए ।
बाइसौँ दिन, म बैङ्क नगएको हप्ता दिन हुँदै थियो । थोरै काम धेरै आसा लिएर म शताब्दीको गेटमा पुगेँ । गार्ड दाइले मेरो हातमा स्यानिटाइजर हालिदिए । मास्क मैले लगाएर गएको थिएँ ।
सेवाग्राही थिएनन् । भित्र हल खाली थियो । आज पनि उस्मानी आफ्नो कुर्सीमा थिइन । निराशाले भाउन्न छुटेर आयो । आइपिएसको भौचर भर्न थालेँ । गार्ड दाइ छेउमा आएर बोलेँ—“के छ सर सन्चै ? सुनको भाउ कति पुग्यो ?”
मैले उनको प्रश्नलाई बेवास्ता गर्दै प्रतिप्रश्न गरेँ—“उस्मानी म्याम खोइ ? अचेल देखिनु हुन्न नि !”
“उहाँ घरतिरै हुनुहुन्छ ।”उनले जवाफ दिए ।
“धेरै भएन र ? यत्रो पनि बिदा हुन्छ र ?”म जिल्ल परेँ ।
“हामीलाई पनि निम्ता थियो, हामी त जान पाएनौँ ।”गार्ड दाइ बोले—“तपाईँले थाहा पाउनु भएको थिएन र ? पाँच दिन अघि उस्मानी म्यामको बिहे भयो ।”
सुन्नसाथ मलाई चक्कर आयो । छाती ढप्प फुल्यो । अगाडीको धरती भासिएजस्तै भयो ।
“कुन ठाउँ ?”मलाई के जान्ने इच्छा लाग्यो कुन्नि, सकिनसकी भए पनि सोधेँ । गला अवरुद्ध भएको थियो । आँसुहरू डिलबाट खस्ने तयारीमा थिए ।
“हेटौडा ।”उनी बोले—“सरुवा पनि मिलाइसक्नु भयो । बिदाइ लिन अबको तिनपछि श्रीमान् सहित यहाँ आउँदै हुनुहुन्छ । यहीँ पन्ध्र गते ।”
त्यस दिन उसले झोलामा हालिदिएर रुमाल कहिल्यै मागिन । आज थाहा भयो, पछि आँसु दिनलाई पहिल्यै रुमाल दिएकी रै’छे । त्यसपछि त्यो रुमाल, मेरा आँसुले कहिल्यै सुकेन ।
–––
१५ गते ।
त्यस दिन बिहानबाट छतमा बसेर बाटोतिर हेर्न थालेँ । दिउँसो बार बजेतिर सेतो कलरको हुन्डाइको क्रेटा गाडी आएर बैङ्कको अगाडी रोकियो । गन्नु र गन्ती पनि मेरो छेउमा आएर उभिए । गाडीबाट उस्मानी र एउटा केटा झर्यो । हामीलाई ठम्याउन सकस परेन — ऊ उस्मानीको श्रीमान् थियो ।
एक घण्टापछि उस्मानी माला र दोसल्ला सहित बैङ्कबाट बाहिरिई । सेतो गाडी पल्लो घरको कम्पाउन्डमा आएर रोकियो । घरबेटी अङ्कल–आन्टीले उस्मानीलाई गाडीमा लगेज हाल्न सघाए । अब ऊ जानेबेला भयो ।
गाडीको देब्रे ढोका खुल्यो । भावुकताले उसलाई छोपेको थियो । दुवै हात हल्लाउँदै वरपर सर्सर्ती हेरी । अन्तिममा हाम्रो छततिर हेरी । नदेखेझैँ गरेर गाडीमा उक्लिई ।
मेरो शिर माथिको आकाश ममा खस्दै गरेको भान भयो । मन आत्तियो— उस्मानी अब मेरो देश त्रिवेणीबाट सधैँको लागी जाँदै छे । म बस्ने घर अगाडिको बाटोमा अब ऊ कहिल्यै हिँड्नेछैन । चिसो कपाल झट्कार्दै फोन समाएर टहलिने मान्छे अब पल्लो घरको छतमा कहिल्यै देखिनेछैन । के छ खबर,बैङ्कतिर जानुहुन्न नि भनेर त्यहाँबाट अब मलाई कसैले सोध्नेछैन । दाइ कहाँ जानु भयो, अचेल देखिनु हुन्न नि भनेर भाइहरूको हातबाट अब खबर कसैले पठाउनेछैन । हामीले खाना खाने टेबुलको पल्लोपट्टि बसेर मुस्कुराउने मान्छे अब त्यहाँ कहिल्यै हुनेछैन । बिहानको नौ र साँझको आठ बजे त्रिवेणी गेस्ट हाउसको बेसिनमा हात धुन अब ऊ कहिल्यै आइपुग्नेछैन । शताब्दी कमर्सियल बैङ्क त्रिवेणी शाखाको छानो मुनी अब ऊ कहिल्यै भेटिनेछैन । मेरा आँखाअघि उसको मुस्कान अब कहिल्यै फक्रिनेछैन । र, उसको र मेरो भेट अब कहिल्यै हुनेछैन ।
झ्यालको सिसा खोलेर पुनः सबैलाई बिदाइको हात हल्लाई । रुन मात्रै सकिरहेकी थिइन । दुई वर्षसम्म उसलाई माया दिएर राखेको यो ठाउँसँगको बिछोडको वियोगले उसलाई गाँजेको थियो । एकछिनमा सिसा बन्द भयो । र, गाडी हुइँकियो ।
गाडीको दृश्य सानो हुँदै गयो ।
ऊ कहिल्यै नफर्कने गरी गई । दृश्य धमिलो बन्दै गयो । मेरा आँखाहरू भरिएर आए । मटरको गेडा जत्रै देखिइरहेको गाडीको सेतो दृश्य एकैछिनमा बिलायो । मेरो मनभित्र बलिरहेको एउटा आसाको दियो सधैँका लागि निभ्यो । मेरा आँखाअगाडिबाट एउटा जून सधैँका लागि अस्तायो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।