अस्ति मात्रैको कुरो हो, एकदिन साँझ साँझमा म टहलिँदै डुल्दै खोलाको किनारै किनार उही ठाउँमा पुगेँ जहाँ पुग्दा वर्षौं पहिले बितेका कुराहरूको मलाई एकाएक सम्झना हुन थाल्यो । केटाकेटीमा आफू वरपर दौडेको, खोलामा पौडी खेलेको, माछा मारेको इत्यादि सारा कुराको सम्झनाले मलाई एकछिनसम्म एकतमासको लागिरह्यो । तर खोलाको ‘खलखल’ र ‘कलकल’ माथि थपिएको घट्टको भुनभुनाहटले त्यहाँको वातावरणलाई बिलकुल सङ्गीतमय तुल्याइरहेको थियो, जसले गर्दा मेरो दिल खुसीले उत्तौली बन्न धेरै बेर लागेन ।

त्यहाँ वरिपरिका खेत, मैदान, जङ्गल, डाँडा, भीर सबैसँग मेरो धेरै पुरानो चिनापर्ची थियो । तर बिचमा कैयौँ वर्षसम्म यिनको काखमा खेल्ने सौभाग्यदेखि वञ्चित हुनु परेकोले यो झन्डै बिर्सेको घटना भइसकेको थियो । आफ्नो गाउँमा त म बराबर जान्थेँ तर त्यो ठाउँमा जाने सम्झना कहिल्यै आएको थिएन । त्यस दिन मात्रै संयोगले त्यहाँ पुगेको थिएँ म ।
काठमाडौँको गल्लीमा खेलेर रानीपोखरी छेउको स्कुल र कलेजमा पढेर नयाँ सडकको झिलिमिली हेरेर अनि सिनेमा हलको खैलाबैला सुनेर वाक्क भएको तृष्णा र आशाको छटपटिएको हृदय प्रकृतिको काखमा खेल्दाखेरिको पुरानो सम्झनाले एक पटक निकै प्रफुल्लित भयो मन ।

एकछिन मात्र भए पनि दुःख, पिर र जिम्मेवारीलाई बिर्सन पाउँदा स्वर्गीय आनन्दको अनुभवले देह हलुका भयो । खुसीले टोहोला भएर यताउति हेर्दै थिएँ, एक्कासि कसैले गुनगुनाएको मधुरो स्वर मेरो कानमा पर्यो । वरपर आँखा घुमाएँ । घट्टकै छेउमा खोलाको किनारमा बसेर एउटी आइमाई मधुरो स्वर अलापिरहेकी थिई । बिस्तारै म उतै लागेँ ।

आनन्दसँग प्रकृतिको बगैँचामा बसेर तान छेडिरहेकी चरी उडेर जाली भन्न डरले म धेरै नजिक जान सकिनँ । अलि परै उभिएर सुन्न थालेँ । उसको गीतको अर्थ त मलाई उत्तिको लागेन तैपनि स्वरमा भएको लालित्य तथा मिठासले मुग्ध नभइरहन सकिनँ । मैले ठानेँ, शायद यहाँ वरिपरिको प्राकृतिक ध्वनिले आवाजलाई साथ दिँदा स्वरको माधुर्य झन् बढ्न गएको होला ।

उसको पहिरन बिलकुल सादा थियो  तैपनि त्यहाँको वातावरणसँग धेरै मिल्दोजुल्दो देखिन्थ्यो । शृङ्गार केही थिएन तर अनुहारमा आकर्षण थियो । मेरो आँखा र कान अघाएनन्, डेग नचलीकन उभिएकै थिएँ, कसरी हो कुन्नि उसले मलाई देखी । एकछिन जिल्ल परेर हेरी । मैले पनि आँखा त्यताबाट हटाएको थिइनँ । कताकता चिनेचिने जस्तो देखेदेखे जस्तो उसको अनुहारलाई ठम्याउने कोसिस गर्न थालेँ । शायद त्यही धनवीरे दाइकी छोरी होली घट्टमा पालो बस्न आएकी । मैले एकनाससँग उसको मुखमा हेरेको देखेर होला मलाई आँखा तरेर के के हो कुन्नि उसले भुतभुताई ।

मैले भने केही पनि बुझिनँ । निहुरेर खोलाको बगरको ढुङ्गा खेलाउँदै बिचबिचमा मतिर हेर्दै ऊ फेरि गनगन गर्दै थिई । मलाई उसको नजिक जान मन लाग्यो, गएँ । म उसको नजिक पुगेपछि उसले एक पल्ट टाउको उठाएर मलाई हेरी अनि गाली गरी, “हेर लाज नभाको ! मोरो, स्वास्नीमान्छे बस्या ठाउँमा आउने ।”

यस पल्ट भने यसको जम्मै कुरा बुझेँ ।

मलाई साँच्चै नै लाज लाग्यो । म किन उसको नजिक गएँ ? अनि किन उसको एकान्त विहारलाई खलबल्याएँ ? यसको जवाफ अरू थिएन, केवल उत्सुकता । आफ्नो आनन्दका लागि अर्काको सुखलाई बिथोलेको, यही न थियो मैले गरेको । तर फाँटको हरियालीमा खोलाको कलकल सुन्दै प्राकृतिक बहारको आनन्द लिने हक मेरो पनि त थियो नि । त्यो केटीको मात्र एकलौटी त थिएन । त्यसैले मलाई पनि अलि रिस उठ्यो । अनि उसलाई जिस्क्याउन एक पल्ट बनावटी हाँसो हाँसे । ओहो उसको अनुहारले एकदम विकृत रूप लियो ।

भृकुटीमा सात गाँठा पारेर उसले फेरि ममाथि गालीको हतियार प्रहार गर्न थाली – “छरौटीले लैजाने थारू हाँसेको हेर न । जा न तेरी बज्यैलाई हेरेर हाँस् बजिया ।”

मैले तीन त्रिलोक चौध भुवन देखेँ । वरिपरिको दृश्य फनफनी आँखाअगाडि घुम्न थाले । तै कसो ढली त हालिनँ ।
मलाई सारै अप्ठ्यारो पर्यो । अगाडि बसिरहन पनि भएन । फर्किहालूँ भने पनि हारेर फर्के जस्तो, नभएको दोष स्वीकार गर्न त्यसै लाज लाग्यो । मगजलाई ठण्डा तुल्याउन एकछिन पर्खेँ । त्यतिन्जेल ऊ पनि जहाँको त्यहीँ बसिरहेकी थिई ।

जे भए पनि झगडालाई पन्छाएर, लाज पचाएर फर्कनु पर्यो भन्ने विचारले एक पल्ट डराई डराई बिस्तारै भनेँ, “मैले तिमीलाई केही गरेको थिइनँ, तिमी सित्तै मसँग रिसायौ । म तिमीलाई जिस्क्याउन आएको पनि थिइनँ, भैगो नानी जान्छु ।”

म फर्कन लागेथेँ, त्यो दुच्छर केटी अझै चुप लागेर बस्न सकिन, केही विषालु शब्द ओकली हाली, “छेराउटी मोरो त अझ नानी भन्छ हेर न । तेरो नानी हौ कि क्या हो हामी ।”

अब बोल्न उचित होइन भन्ने सम्झी दाँतमा ढुङ्गा लागे जस्तो भएर म फर्केँ । दुई पाइला अगाडि मात्र बढेथेँ, खोलो पारिबाट एउटा गोठाले ठिटो त्यही केटीलाई ताक्दै आइरहेको देखेँ । त्यो को रहेछ, किन आयो भनेर जान्ने उत्कण्ठा मलाई लाग्यो । त्यहाँ उभिरहन तैपनि डर लागेकोले ढिलो ढिलो पाइला चाल्न थालेँ । खोलाको बिचमा आइपुग्दा नपुग्दै त्यो ठिटो करायो, “ए मेरी माइली प्यारी, परबाट आएको देखेपछि लिन पनि आउँदिन । कति माया नभाकी ।”

जिल्लिएर म उसको मुखतिर हर्न थालेँ । ऊ ङिच्च हाँसेर खोलाको बिचमा उभिएको थियो । उसको माइली प्यारी चाहिँ गालीको वर्षा सहित ढुङ्गा र हिलो फ्याँक्न थाली ।

ऊ चाहिँ जहाँको त्यहीँ उभिएर आधा हाँसेको स्वरले कराउन थाल्यो, “ए नहिर्का न तेरो पोइलाई, लुगा जम्मै भिज्यो ।”
त्यस्तैमा डाँडातिरबाट काँधमा हलो र जुवा हालेर, सानो सिपकिलोले दुइटा झालेमाले गोरु धपाउँदै एउटा अधबैँसे गाउँले खोलातिर झर्यो । त्यो हली त बराबर हाम्रो बारी जोत्न आउने टुल्के थापा हुनाले मैले चिनेकै थिएँ । एउटा चिनेको मानिस आउँदा मेरो मन अलि ढुक्क भयो । त्यहीँ उभिएर माइलीको तमासा हेरिरहेँ । यतिन्जेल त्यो हली पनि माइलीको नजिकै आइपुगेर उसलाई जिस्काउन थाल्यो, “माइली तँलाई लिन जन्ती लिएर कहिले आऊँ ? हिँडेर जान्छेस् कि उलिन्काठ नै चाहिन्छ ?

माइली फेरि उतापट्टि जाइलागी । गोठालो ठिटाले फुर्सद पायो । ऊ चाहिँ माइलीको गाली सुनेर मस्त परेर हाँस्दै आयो । मेरो नजिक आइपुगेपछि एकछिन उभिएर मसँग कुरा गर्यो । फुर्सद पाएर उसका गोरु बगरको हरियो घाँस लुछ्न थाले । मैले पनि आफूले गाली खाएको कुरा संक्षेपमा सुनाएँ । हामी दुई कुरा गरुञ्जेल त्यो गोठालो ठिटो एकनाससँग मेरो मुखमा हेरेर उभियो । माइली चाहिँ जहाँको त्यहीँ बसेर बिचबिचमा टेढो आँखाले मलाई हेर्दै अस्पष्ट शब्दको गनगन सहित रातो मुख पारेर ओठ चलाइरहेकी देखिन्थी । एक छिनपछि हामी सबै आ-आफ्नो बाटो लाग्यौँ । मेरो मनमा लाग्यो…

सङ्गतले कसरी मानिसलाई बौलाहा बनाउँदो रहेछ । बिचरी माइलीको दुच्छरताको कारण त अशिक्षित गाउँले समाज पो रहेछ । ऊ पनि अशिक्षित थिई, त्यसैले मलाई पनि उही थान्कोमा देखी । हो न हो त्यस्तै अश्लील ठट्टा गर्न आयो भन्ने ठानी, अनि गाली गरी । मलाई उसको अवस्थामा विघ्नै दया लाग्यो । बेलुका ओछ्यानमा पल्टेपछि पनि अरू विचारले पालो पाएन, उसैलाई सम्झिरहेँ ।