विद्याको मन्दिर विद्यालय जहाँ हजारौँ फूलहरू फक्रिरहेका थिए अनि फुलिरहेका थिए । रितेस तिनै फुल्दै पक्रिँदै र ओइलाएर झर्दै गरेका फूलहरू नियालिरहेको थियो । फूलहरूको रस चुस्दै भुर्र उड्दै गरेको पुतली छोप्न यता र उता दगुर्थ्यो । साँच्चै ! प्रकृतिको अनमोल उपहार फूलहरूले बालक देखि वृद्धा सम्म सबैको मन मोहित पारेको हुन्छ । फूलहरूको आ-आफ्नै रङ छ फरक सुगन्ध छ । तिनै फरक रङ र सुगन्धको नसामा भमरा लट्ठिएको हुन्छ ।

प्रदेशकै नमुना स्कुल ठुलो बगैँचा रङ्गीबिरङ्गी फूलहरूको सुन्दर्यतामा हराउँदा रितेसले आफूलाई बिर्सेको रहेछ ।
“ए रितेस ? तिमि यहाँ ट्वाल्ल परि के हेरेर बसेको ? कक्षामा जानु पर्दैन ?” पछाडिबाट रिताले आवाज दिँदा रितेस झस्कियो ।

“पुतली समात्न खोजेको सकिन ल हिँड जाऊ” भन्दै रिता र रितेस कक्षा कोठामा गए । सबै विद्यार्थीलाई माया गर्ने गुरुआमा रमिलाले सामाजिक विषय पढाउँदै हुनुहुँदो रहेछ ।

गुरुआमाले रितेसलाई भन्नुभयो, “कक्षा छोडेर बाहिर कहाँ गएको रितेस ?”

“पानी पिउन गएको गुरुआमा” रितेसले जवाफ फर्कायो ।

“पानी पिउन यतिका समय लाग्छ ? मैले कति धेरै पाठ पढाइसकेँ म आउनुअघि तिमि कक्षामा थिएनौ ?”

रितेस अकमकिँदै भन्यो, “गुरुआमा पानी पिएपछि पेट दुखेर शौचालय पनि गएको थिएँ ।”

अनुहार रातो बनाउँदै अर्को झुट थप्यो ।

गुरुआमाले रितेसको मनोविज्ञान बुझेर होला “अनुशासित बन्नु पर्छ है रितेस ! अनि ठुलो र असल मान्छे बन्न सकिन्छ कक्षा छोडेर बाहिर जानु हुँदैन” भन्नुभयो ।

सामाजिकको पाठ पढाउनु भयो र अर्को घण्टी बजे पछि भोलिको यो पाठ पढ्नु म भोलि प्रश्न सोध्नेछु भन्दै कक्षा बाहिर निस्कनु भयो । कक्षा कोठाबाट रमिला मेडम गएपछि सबै विद्यार्थीहरू आ-आफ्नै धुनमा थिए । कसैले भर्खरै पढाएको पाठ पढेर छलफल गरिरहेका थिए त कोही हो हल्ला मच्काइरहेका थिए ।

रिता कक्षाकी मनिटर थिइन् । उनले हल्ला गर्नु हुँदैन पहिलो बेन्चका साथीहरूले जस्तै पढाइको बारेमा छलफल गर्ने प्रश्नोत्तर गर्ने गर्नु पर्छ भन्दै पछाडिको बेन्चमा बसेर हो हल्ला गर्ने साथीहरूलाई सम्झाउँदै थिइन् ।

यत्तिकैमा प्रधानाध्यापक ऋषि सर कक्षा कोठामा आइपुग्नुभयो । बचत तथा अनुशासनको बारेमा विद्यार्थीलाई परामर्श गर्नु भयो – अनुशासन विद्यार्थीको गहना हो । अनुशासन भनेको आफ्नो पवित्र आत्माले आफैलाई शासन गर्नु हो । कक्षा कोठा र विद्यालयका आचार संहिता मान्नु, राज्यले बनाएका नियम कानुनलाई पालना गर्नु अनुशासन हो । अनुशासित विद्यार्थी मात्र देशको लागि समाजको लागि घर परिवारको लागि  र आफ्नो लागि ठुलो असल र सफल व्यक्ति बन्न सक्दछ ।

त्यसैले हामीहरूले अरूलाई ढाँट्न सकिन्छ तर आफ्नो आत्मलाई ढाँट्न सकिँदैन । गुरुले, आमाबुवाले र आफ्नाले कहिल्यै गलत बाटो देखाउँदैनन् । सधैँ असल मान्छे अनुशासित मान्छे बन्ने प्रेरणा प्रदान गर्दछन् । तर हामी आफ्नो आत्मालाई ढाँटिरहेका हुन्छौँ गुरु र आमा बुवाले भनेका कुराहरूलाई बेवास्ता गरिरहेका हुन्छौँ । त्यसैले हामी गलत बाटोतर्फ अगाडि बढेर अनुशासनहीन क्रियाकलाप गरिरहेका हुन्छौँ । जसले हाम्रो जीवनलाई अन्धकार तर्फ धकेलिरहेको हुन्छ । यसै गरी हामीले फजुल खर्च कटौती गरी बचत गर्ने बानीको पनि विकास गर्नु पर्दछ ।

आज गरेको बचतले भविष्यमा ठुलो खाँचो  टर्ने लगायत विभिन्न ज्ञानमूलक र चेतनामूलक अर्ति उपदेश दिँदै …धेरै कुरा हेड सरले भनिरहनु भएको थियो । कक्षा कोठामा सुनसान थियो मन्त्र मुग्ध भएर सबैले हेड सरका कुरा सुनिरहेका थिए । हेडसरले बिस मिनेट जति आफ्ना कुरा विद्यार्थीलाई सुनाउनुभयो र कक्षा कोठा बाट बाहिरिनुभयो । यो घण्टीमा पढाउने रमेश सर बिदामा भएकोले समयको सदुपयोग गर्न हेडसर आउनुभएको थियो ।

हेडसरका कुराले रितेसलाई झस्कायो । मैले गुरुआमालाई ढाँटे । फूलबारीमा फूलहरू सँग रमाएर पुतली छोप्ने प्रयासमा लामो समय कक्षा कोठाबाहिर बसेर गुरुआमालाई पानी पिउन र पेट दुखेर शौचालय गएको झुट माथि झुट थप्दै गए एक झुट लुकाउन अरू नयाँ बहाना बनाए । मैले त गुरुआमालाई मात्र ढाँटिन । ओहो मैले त आफ्नो आत्मालाई समेत ढाँटेछु भनेर रितेसलाई ठुलो आत्मग्लानि महसुस भयो ।

अब उप्रान्त आफूले आफूलाई र अरू कसैलाई पनि कदापि नढाँट्ने प्रण गर्‍यो र कक्षाबाट बाहिर निस्क्यो । रमिला मेडमलाई यता उता खोज्न थाल्यो । सायद अर्को कक्षामा पढाउन जाँदै हुनुहुन्थ्यो होला बाटोमा भेटिनु भयो । रितेसले मेडमको अघि उभिएर दुई हातले कान समात्यो र आफूले ढाँटेको सबै कुरा बेलिबिस्तार सुनायो । गुरुआमा भावुक भएर भन्नुभयो । यसरी गरेको गल्ती महसुस गर्ने क्षमा माग्ने व्यक्तिले कहिल्यै गल्ती दोहोराउँदैनन् र अनुशासित बनेर भविष्यमा ठुलो असल र सफल व्यक्ति बन्दछन् भन्दै रितेसलाई क्षमा गरिदिनु भयो । रितेस खुसीले गदगद हुँदै कक्षा कोठा तर्फ गयो ।

रितेस र रिता छिमेकी साथी थिए । सँगै खेल्दै खेल्दै घर गए । सधैँको चकचके चुलबुले र बोली बोलीमा नयाँ बहाना बनाएर बुवा आमालाई ढाँट्ने रितेसको फरक स्वभाव देखेर बुवाआमा दङ्ग परेका थिए यस्तो परिवर्तन कसरी आयो भनेर ।
एक दिन बुवाले जिस्काउँदै भन्नुभयो, “ए  रितेस ! आजकल त निकै जाति भएको छस् त ? के ओखती खाइस् र ? बल्ल मेरो छोरो ज्ञानी भयो ठुलो भएर पक्कै केही बन्नेछ ।”

रितेसले मुस्कुराउँदै भन्यो, “बुवा म ठुलो भएर डाक्टर बन्ने हो ।”

“बनिस् डाक्टर किसानको छोरो डाक्टर बन्ने अरे ! के को खर्चले पढाउनी हो ? बरै मेरो सानो जागिरले जसोतसो घर खर्च धानिएको छ ।”

“थोपा थोपा सँगालेर घैँटो भरिन्छ नि बुवा” भन्दै रितेस खेल्न गयो ।

“आज मन साह्रै आत्तिएको छ तेरा बा अझैसम्म घर आएनन् जा त रितेस रिताका बा पनि सँगै सहर गएका थिए उनी आए कि आएनन् ? केही खबर आयो कि ?” रितेसकी आमाले सुस्केरा हाल्दै भनिन् ।

एकछिनमा गाउँले जम्मा भए नराम्रो खबर आयो सहर गएका रिता र रितेसका बुवाको बस दुर्घटनामा मृत्यु भएछ । गाउँ घरमा रुवावासी भयो । सबैभन्दा बढी पीडा रिता र रितेसका परिवारलाई भयो । कमाउनी मान्छे नै नरहे पछि परिवार बिचल्लीमा परे । दुई चार महिना पछि रितालाई लिएर उनकी आमा माइत गइन् । गाह्रो साह्रो  पर्दा छोरीको सहारा भन्नु नै माइतीघर हुने गर्दछ ।

चर्खा घुमे जस्तै समय बितेर गयो । अहिले रिता चार बच्चाकी आमा बनिन् । अभावका कारण पढ्न सकिनन् र अज्ञानताका कारण वर्षपिच्छे सन्तान जन्माउने मेसिनको रूपमा आफूलाई खडा गरिन् । कमजोरीका कारण असाध्यै बिरामी परिरहने रिता यस पटक सहरबाट नयाँ डाक्टर गाउँमा आएको सुनेर जँचाउन गइन् ।

निःशुल्क स्वास्थ्य शिविर रहेछ । खुसी हुँदै डाक्टर भएको क्याबिनमा पसिन् । उनी छक्क परिन् डाक्टर अरू कोही नभएर बचपनको साथी रितेस रहेछ । रितेसलाई देख्नासाथ चिनिन् तर रितेसले रितालाई चिन्न सकेन ।

लामो समयको अन्तरालमा भेट भएको थियो । उनी दुखले गर्दा उमेर भन्दा बढी बुढी देखिन्थिन् । रिताले आफूलाई चिनाउँदै सोधिन्, “रितेस हाम्रो परिवारको बिचल्ली पछि म मामाघर गएँ । तिमी कसरी आज डाक्टर बन्यौ ? आखिर बिचल्लीमा त हाम्रो दुवै परिवार परेको थियो नि ?”

“बस न रिता कुर्सीमा म सबै कुरा विस्तारमा भन्नेछु । यतिका वर्षपछि बाल्यकालको साथी भेटेर सारै मन खुसी भएको छ” भन्दै कुर्सी अगाडि सारिदियो रितेसले ।

“बुवाले आफू प्रस्थापक बसेर बचत र सुरक्षाको लागि मेरो जीवन बिमा गरिदिनु भएको रहेछ । बुवाको दुर्घटनामा मृत्यु भएपछि मलाई बिमा गरे बापत आउने सेवा सुविधाले मेरो भरण पोषण र उच्च शिक्षासम्म अध्ययन गराउनको लागि मेरो आमालाई कुनै आर्थिक अभाव झेल्नु परेन । जसले गर्दा आज म डाक्टर बनेर आफ्नै गाउँ समाजको सेवा गर्ने अवसर पाएँ ।”

रितेसका कुरा सुनेर रिताका आँखा रसाए । मनमनै सोचिन् –  रितेसका बुवाले जस्तै मेरो बुवाले पनि आफू प्रस्थापक बसी मेरो जीवन बिमा गराई दिनुभएको भए म पनि रितेस जस्तै धेरै पढेर आत्मनिर्भर बन्ने थिए होला ? तर के गर्नु दुखै दुखको सागरमा डुब्न लेखेको रहेछ आर्थिक अभावले गर्दा पढ्न पनि पाइन । सानैमा बिहे गरिदिए विरोध गर्ने चेतना पलाएन जब बुझ्ने भए पश्चात्तापको आगोमा जल्दै छु भन्दै सारीको सप्कोले आँसु   पुछिन्  । रितेसले उनको स्वास्थ्य परीक्षण गरी औषधि दियो ।

रिताले धन्यवाद फर्काइन् र फेरी भेट्ने बाचा सहित बाहिर निस्किन ।