दुई वर्षको अन्तरालमा जाँदै थिएँ म गाउँको घर जहाँ आमाबुबा बस्नुहुन्थ्यो । मेरो परिवार सहर तिरै बसेको भए पनि आमाबुबा सहर बस्न मानिरहनु भएको थिएन । यस अर्थमा म बेला बेलामा उहाँहरूलाई भेट्नका लागि आफू जन्मेको गाउँको घरमा पुग्नु पर्थ्यो । पहिले पहिले त वर्षको एक चोटि जसरी भए पनि पुगेकै हुन्थेँ तर यस पटक भने दुई वर्ष भएको थियो मैले आमाबुबालाई नभेटेको ।

बेलुका चढेको रात्रि बसले बिहानको आठ बजेतिर ओरालिदियो राजमार्गको स्टेसनमा । यही स्टेसनबाट मेरो गाउँतिर जाने पैदल बाटो थियो । स्टेसनमा वरिपरि गुजमुज्ज परेको सानो बजार । गाउँबाट नुनतेल र ओरापरी बेसाउन आउनु पर्ने ठाउँ । विगतमा मैले पनि यही ठाउँमा आएर नुनतेल खेपेको थिएँ । आउन-जान पूरा दुई दिन लाग्थ्यो । पहिलो दिन आएर यहीँ बास बसिन्थ्यो भने अर्को दिन घरका लागि आवश्यक नुनतेल, मरमसला लगायतका खित्रिमित्री बोकेर बाटो लागिन्थ्यो । समूहमै आउँथ्यौँ हामी । केटौले उमेरमा दुई पाथी नुन र साढे दुई लिटर मट्टितेल भरेको जर्किन बोकेर घर पुग्थेँ म ।

स्टेसनमा ओर्लनासाथ विगतलाई यसरी स्मरण गर्दै चिया पिउने मनसायले यताउति नजर डुलाएँ । पैदल यात्राका क्रममा सुरुमै डेढ घण्टा जति उकालो चढ्नुपर्ने हुँदा खाना खाएर बाटो लाग्नुभन्दा बरु उकालो सकेर भन्ज्याङमा पुगेपछि खानु उपयुक्त होला भन्ने ठानेँ । एउटा चिया पसलमा पसी चिया पिएर बाटो लागेँ ।

विगतका तुलनामा उकालो चढ्दा केही गाह्रो पर्यो मलाई । हिँड्ने बानी केही वर्षदेखि यता निकै घटिसकेको थियो । डेढ घण्टाको उकालो तुर्न लगभग दुई घण्टा लाग्यो । भन्ज्याङमा पुगेपछि एउटा चिया पसलमा ग्राहकहरूका निम्ति राखिएको बेन्चमा केही बेर सुस्ताएँ । पसिनाले लछप्प शरीर बिस्तारै ओभाउन थाल्यो । तलतिरबाट सिरसिर बतास आइरहेको थियो । राती बसमा राम्रो निद्रा परेको थिएन । अहिले झुपुझुपु बनाइरहेको थियो । पुग्नु पर्ने ठाउँ निकै टाढा भएकाले मैले त्यहाँ निदाउन मिल्दैनथ्यो । त्यस चिया पसलमा मेरा लागि भात पाक्न ढिला हुने जस्तो ठानेँ, बरु भातको सट्टा अरू नै केही कच्याकुचु खाने सोच बनाएँ ।

बाटो हिँड्दा आफ्नै तुम्लेटमा पानी बोकेर हिँड्थेँ । यति बेला तुम्लेट रित्तिएको थियो । केही समय धपेरी मारेपछि चिया पसलकी साहुनीसँग पानी मागेँ । पानी पिउँदै गर्दा म आएकै बाटो हुँदै एउटी युवती आइपुगिन् र मेरै सामुन्ने अर्को बेन्चमा बसिन् । बिचमा एउटा पुरानो तर बलियो खालको काठको टेबुल थियो । पानी पिएपछि अम्खोरा त्यही टेबुलमा राखेँ र नियालेर हेरेँ युवतीको जिउ डाल । उमेर त्यस्तै पच्चिस-छब्बिस वर्षको हुँदो हो मेरो अनुमानमा । जनजातिको अनुहार हो भन्ने लाग्यो मलाई ।

“यो पानी पिउन हुन्छ होला नि है ?” अम्खोरातिर आँखा लगाएर मसँग जिज्ञासा राखिन् तिनले ।

“मैले भर्खरै मागेर पिएको हुँ, राम्रो पानी हो । मिठो पनि रै’छ ।” मेरो कुरो सुनेपछि अम्खोरा समाइन् तिनले र घटघट पिउन थालिन् । पानी पिउँदाको आवाज निकै सङ्गीतमय लाग्यो मलाई । झलक्क म सानो छँदा हाम्रो घरमा जोत्ने हली बाको सम्झना आयो । उनको खास नाम त मनबहादुर भुजेल थियो तर मेरा आमाबुबाले उनलाई ‘मने दाइ’ भन्थे, मैले चाहिँ ‘हली बा’ भनी सम्बोधन गर्थें । हली बाका लागि पित्तलको एउटा छुट्टै कुच्चिएको लोहोटा थियो । उनी त्यस लोहोटाभरिको पानी एकै सासमा सिद्ध्याउँथे । अलक्क पिउँदा ‘कलककलक कलककलक’ आवाज निस्कन्थ्यो । ठाडो घाँटीमा रुद्रघण्टी तलमाथि गरेको देख्दा मलाई निकै आनन्द आउँथ्यो त्यति बेला । फरक परिवेशमा यति बेला यी युवतीले आवाज उस्तै निकाले पनि मैले यिनको घाँटीतिर दृष्टि पुर्याइनँ । अम्खोरामा आधा जति हुँदो हो पानी, एकै सासमा सकिन् यिनले पनि ।

“चाउचाउ बन्छ होला नि दिदी ?” युवतीले चिया पसलकी साहुनीलाई सोधिन् ।

“अन्डा राखेर बनाइदिऊँ कि ?” साहुनीको यस प्रश्नको उत्तरमा युवतीले ‘हुन्छ’ भन्न के भ्याएकी थिइन् मैले पनि थपेँ “चाउचाउ त मलाई पनि बनाइदिनोस् है ।”

अन्डासहित दुइटा चाउचाउ उमालेर दुई भाग लगाइदिइन् साहुनीले । टेबुलमा आम्नेसाम्ने बसेका थियौँ, खान थाल्यौँ हामीले । खाँदै गर्दा सोधेँ मैले “घर कहाँ पर्यो नि बैनीको ?”

“हर्पन खोला ।” छोटो जबाफ आयो ।

“अनि नाम चाहिँ ?” मैले फेरि सोधेँ ।

“राममाया राना ।” यस पटक पनि छोटै जबाफ दिइन् उनले ।

सुरुमा चिन्नु न जान्नुको मान्छेसँग धेरै बोल्न उपयुक्त हुँदैन भन्ने ठानेर होला उनले कम्ती बोलेको, यही सोचेँ मैले । मेरो र उनको गाउँ यहाँबाट लगभग समान दुरीमै रहेछ । सँगै हिँडियो भने यहाँबाट चार घण्टाको हिँडाइपछि आउने खोलाको दोभानबाट छुट्टिएर म एक घण्टा जतिमा आफ्नो गाउँ पुग्थेँ भने यिनलाई पनि मेरोभन्दा ठिक विपरीत दिशातिर लागेर एक घण्टा जति नै हिँड्नु पर्ने रहेछ ।

“धेरै बाटोसम्म त हामी साथी साथी पो हुने भइयो नि बैनी, म पनि त्यतै जाने हो ।”

“तपाईं, कहाँ नि ?” युवतीले सोधिन् ।

“म बाहुनडाँडा ।” मैले पनि थोरै बोलेँ उनका लागि जबाफ दिन र थपेँ “बरु अब नभुलौँ, हिँडौँ । बाटो लामो छ ।”

मैले साहुनीलाई बोलाएँ र पैसा दिएँ । दुवै जनाले खाएको चाउचाउको पैसा मैले तिर्दा युवतीले अलि अप्ठेरो महसुस गरिन् तर मैले सहजता ल्याउनका लागि भनेँ “तिम्रो पैसाले फेरि अर्को ठाउँमा खाजा खाऔँला नि ।”

बाटो लाग्यौँ हामी । युवती अघिअघि, म पछिपछि । निकै छिटो हिँड्दी रहिछन् । उनको रफ्तारमा म हिँड्न सकिरहेको थिइन । यति बेलाको बाटो ओरालो र तेर्सो बढी थियो । छिटो छिटो हिँडेपछि धपरीका कारण गफ गर्न पनि अप्ठेरो । “अलि ढिलो हिँडौँ न बैनी ! मलाई त सकसै पर्यो ।” मैले आग्रह गरेपछि भने उनका पाइला पहिलेका तुलनामा केही बिस्तारै चल्न थाले ।

हामी एउटा पखेराको बाटो हुँदै तल सानो खोलामा झर्यौं । टारी खेतमा केही तेर्सो हिँडेपछि एउटा ठाडो उकालो आयो । ढुङ्गा चिनेर बनाइएको थोरै समयको उकालो बाटो । सहरतिर बस्न थालेको केही वर्षपछि नै मेरो जिउमा केही मात्रामा बोसो भरिन थालेको थियो । उकालो चढ्नुपर्दा निकै आत्तिन्थेँ म । अहिले पनि स्याँ स्याँ बढिरहेको थियो । तैपनि युवतीलाई भेटाएर सँगै हिँड्नका लागि म लतारिएको थिएँ । सास फुलेर मुटुमा ढ्याङ्ग्रो बजिरहेको थियो । फोक्सामा सासै पुर्याउन मुस्किल । उकालो सकिएपछि एउटा चौतारो आयो । युवतीलाई अनुरोध गरेँ मैले “एक्कै छिन् भए पनि यस चौतारामा बसौँ न बैनी !”

वरपीपलको चौतारो । चौतारामा बिच्छ्याइएका ढुङ्गामा केही धुलो लागेको । अलि सफा जस्तो देखिएको एउटा ढुङ्गामा युवती बसिन् । कुनापट्टि धुर्सिलीको बोट देखेँ । हाँगो भाँचेर ल्याएँ । ढुङ्गो बढारी बस्न लायक बनाएर म पनि बसेँ । पसिनाले मलाई मात्र होइन, उनलाई पनि लछप्पै पारेको थियो ।

चौताराकै आडमा मूल पलाएर झरेको धारो । धारामा गई मुख धोएँ र रित्तिएको तुम्लेटमा पानी भरेँ । फर्केर पहिलेकै ठाउँमा आई बसेँ । यी युवती किन खुलेर बोल्दिनन् हँ ? मनमनै प्रश्न गरेँ मैले । लगभग एक घण्टा हुन लाग्यो भेट भएर सँगै हिँड्न थालेको । केही सोध्यो भने पनि निकै थोरै शब्दमा उत्तर दिन्छिन् । अनुहार पनि त्यति हँसिलो देखिँदैन, उदास उदास देखिन्छ । अझ धेरै बाटो हिँड्नु छ । गफ गर्दै बाटो काट्न पाए पो हिँड्नुमा पनि बेग्लै आनन्द आउँथ्यो, थकानको अनुभूति हुँदैनथ्यो । यही सोचेर बोल्ने बाटो खोजेँ मैले “बैनीको जागिरसागिर केही छ कि ?”

“मैले पढाउँछु दाइ । आफ्नै गाउँको स्कुलमा अस्थायी शिक्षिका” बोलिन् उनी ।

अब भने मलाई अरू बोल्ने बाटो खुले झैँ लाग्यो र उनलाई प्रोत्साहित गर्दै भनेँ “शिक्षण त राम्रो पेसा हो नि । अरूलाई ज्ञान दिएर सही बाटो देखाउने ।”

केही बोलिनन् उनी । अनि मैले उनको बिहे भए नभएको कुरो पनि सोधेँ । आजभन्दा पाँच वर्ष पहिले उनको बिहे भएको रहेछ ।

“श्रीमान् कहाँ के गर्नुहुन्छ नि ?” सोधेँ ।

“साढे दुई वर्ष विदेश बस्नुभयो । अहिले डेढ वर्षदेखि त घरमै हुनुहुन्छ ।” आफूले सोधखोज गर्ने र बोल्ने चाहना नदेखाए पनि मेरा प्रत्येक प्रश्नको उत्तर भने उनले दिई नै रहिन् ।

“अनि बालबच्चा ?” मैले उनका सन्तानका बारेमा पनि जान्न चाहेँ ।

“छैनन् दाइ, छोराछोरी केही छैनन् !”

सन्तान बारे बोल्नु पर्दा उनले निकै पीडा मिसिएको स्वर निकालिन् । स्वर ज्यादै मलिन थियो । अनुहारमा अझ बढी उदासीनता थपिएको देखेँ मैले । आँखामा पनि आँसु भरिए झैँ लाग्यो । मेरो प्रश्नले उनको मन दुखाएछ सायद । सोध्न नहुने प्रश्न सोधेछु जस्तो लाग्यो मलाई । मैले जे पायो त्यही सोधेर अर्काको मन दुखाउन नहुने ! मलाई नरमाइलो लाग्यो । केही समय नबोली बसेँ । नबोली बस्दा पनि मनमा खसखस लागिरह्यो । नरम भाषा बनाउँदै मसिनो स्वरमा बोल्न थालेँ “सन्तानको कुरा गरेर मन दुखाएँ कि जस्तो लाग्यो, माफ गरिदिनुस् है बैनी !”

“तपाईंले मेरो के नै दुखाउनु भएको छ र मैले माफी दिनु पर्ने ! यो मन विक्षिप्त बनाउने त अरू नै छन् दाइ ! यो जिउ क्षतविक्षत बनाउने पनि अरूहरू नै हुन् । कसलाई सुनाएर पो के हुन्छ र ! आफ्नो घाउ आफूलाई मात्रै त हो दुख्ने ।”

निराशा भरिएका यी शब्दहरू सुनाएर उनी एकोहोरिन थालिन् । उनको पीडा पक्कै पनि सानोतिनो छैन भन्ने मलाई लाग्यो । यी युवतीले विगतमा कुनै ठुलै चोट सहनु परेको थियो भन्ने मैले अनुमान लगाएँ र फेरि पनि संवेदनशील भई सानो स्वरमा सोधेँ “किन, के भयो र बैनी तिमीले विगतमा ठुलै आघात सहनुपरे जस्तो कुरा गरेको ? मैले केही सहयोग गर्न मिल्छ भने… ।”

“तपाइँ एक्लैले केही गर्न सक्नुहुन्न दाइ । व्यथा लामो छ मेरो, भन्न हुने हो कि नहुने हो ? कसरी पो भन्नु र खै ? छ वर्ष पहिलेको घाउ, सन्चो होला भन्ने सोचेकी थिएँ तर बाँचुन्जेल कहिल्यै निको नहुने रहेछ … ।” यसो भन्दै गर्दा उनका दुवै आँखा रसाएर आँसु चुहिएला जस्तो हुन थाल्यो । हत्तपत्त रुमाल झिकेर पुछिन् । सुँक्क सुँक्क गर्न थालेकाले यसपछि भने मैले केही सोध्न सकिन । नसोध्नु नै उपयुक्त ठानेँ ।

“लौ बैनी, अलिकति पानी खाऊ, शीतल हुन्छ ।” मैले अघि भर्खर भरेको पानीको तुम्लेट दिएँ । पानी पिएर उनले एक पटक मेरो अनुहारतिर दृष्टि दिइन् । मेरो अनुहार पढ्दै शिरदेखि पाउसम्म झरिन् । हेरी सिद्ध्याएर खोलापारि ठडिएको अग्लो पहाडतिर एकोहोरो दृष्टि दिन थालिन् केही सोचमग्न भएजस्तो गरी ।

मैले पनि त्यतै पुर्याएँ मेरा नजरहरू । दुईतिरबाट उठेर दक्षिण फर्केको अग्लो पहाड । बिचमा सुन्दर ग्रामीण बस्ती । अधिकांश घरहरू खरले छाएका, केही घर ढुङ्गाले र केही टिनले पनि छाएका । सेतो टिनले छाएका घरहरू मध्यान्हकालीन सूर्यको प्रकाशमा टिलिक्क टल्केका थिए ।

“कति बाक्ला घरहरू रहेछन् हगि ! के नामको गाउँ होला बैनी त्यो ?” मैले एकाग्रतालाई तोड्ने प्रयास गरेँ ।

“खोल्मा काहुले, ती गुजमुज्ज परेका घरहरू भएको बस्ती चाहिँ गुरुङ गाउँ” उनले मतिर मुन्टो नफर्काई जबाफ दिइन् र दाहिने हातको चोरी औँलाले देखाइन् “ऊ त्यो पूर्वतिरको चाहिँ राइनास ।”

“राइनास त म सानै छँदा एक पटक गएको पनि थिएँ । त्यहाँ मेरी ठुलीआमा हुनुहुन्थ्यो ।” उनको व्यक्तिगत जीवनका कुरा केही समय नउक्काएर यस्तै कुरा गर्न चाहेँ मैले ।

घडी हेरेँ । चौतारामा बसेको पनि लगभग पन्ध्र मिनेट भएछ । पसिनाले भिजेको जिउ र लुगाहरू पनि ओबाएका थिए । मनले चाहन्थ्यो– यस्तो शीतल ठाउँमा धुर्सिलीका स्याउला ओच्छ्याएर दिनभरि सुत्न पाए क्या आनन्द आउँथ्यो होला ! निद्रा कति मिठो लाग्थ्यो होला ! आखिर मरी लानु पो के छ र ! दुई दिनको जिन्दगी पनि हतारै हतारमा मात्र बित्ने भो ।

“हिँडौँ दाइ !” बैनी उठेर पाइला चाल्न थालिन् । म पनि उनकै पछिपछि लाग्न थालेँ । यति बेला भने बाटो तेर्सो थियो । हिँड्न केही सहज भयो । लगभग एक घण्टा जति हिँडेपछि थोरै ओरालो झरेर हामी सानो भन्ज्याङ जस्तो ठाउँमा आइपुग्यौँ । त्यहाँ केही किराना पसल र एक दुई चिया पसल रहेछन् ।

“चिया पिउने कि बैनी ?” मैले चिया पसलतिर दृष्टि दिएर सोधेँ ।

“अहिले भो दाइ ! तल चिरुवा बजारमा पिऔँला । यहाँ नभुलौँ ।”

उनले भनेको मानेँ मैले । हामी ओरालो लाग्यौँ । सालघारीको बाटो केही तल झरेपछि वनकै बिच पाखामा एउटा बस्ती रहेछ । बस्ती बिचमा एउटा सानो खोल्सो । त्यही खोल्सा छेउको बाटामाथि एउटा सिमलको ठुलो रुख । त्यसै रुखको फेदमा पानीको कुवा । त्यही कुवाको चिसो पानी पिएर हामीले पाइला बढायौँ । ओरालो सकिएपछि दक्षिण पूर्व हुँदै बगेको खोलाको किनारै किनार हामी तलतिर लाग्यौँ । तेर्सो बाटो हुनाले पाइला अलि छिटै छिटै नै सर्न थालेका थिए ।

हामी चिरुवा बजार पुग्यौँ । दुई खोलाको सङ्गममा अवस्थित चिरुवा बजार, वरिपरि चारै तिरका गाउँबाट मालसामान किन्नका लागि पायक पर्ने ठाउँ ।

“चिया पिऔँ बैनी, एक छिन् थकाइ पनि मेटिन्छ ।” मेरो आवाज सुनेर अघिअघि हिँड्दै गरेकी युवती टक्क रोकिइन् । हामी दुवैले यताउति आँखा डुलायौँ र नजिकैको एउटा चिया पसलमा ग्राहकका लागि राखिएका कुर्सीमा बस्यौँ । उमालेको चाउचाउका भरमा यतिका बाटो हिँडिसकेको हुँदा भोक पनि लागेको थियो । समोसा र तरकारी खायौँ । अन्त्यमा चिया पिउँदै गर्दा हत्तपत्त उनले पैसा तिर्न खोजिन् ।

“खाएर सकिएकै छैन, किन पैसा तिर्न हतार गरेको ?” मैले भन्नासाथ युवतीले मुख खोलिन् “अहिले त मेरै पालो हो नि !”

म उनले साहुनीलाई थमाएका नोटहरू हेर्दै मुस्कुराएँ ।

हामी बाटो लाग्यौँ, फेरि पनि खोलाको किनारै किनार । कतै खेतको आली त कतै कुलाको डिल हामी हिँड्ने बाटो थियो । खोलाको सुसाइ सङ्गीतमय थियो मेरा लागि । तलतिर सङ्लो पानी बग्दै गरेको खोलो । कतै ससाना फाँटहरू त कतै वारिपारि दुवैतिरबाट उठेका ठुला भीर पहराहरू । कतै जङ्गलमा बाँदरका हुल देख्दै थियौँ हामी । चराहरूको चिरिबिरी पनि उस्तै सुनौँ सुनौँ लाग्दो थियो । बाहिरको प्राकृतिक परिवेश असाध्यै मनोहर थियो मेरा लागि । यद्यपि भित्र भित्र भने छटपटाइरहेको थिएँ, म युवतीको विगतका दिनहरू बारे बुझ्न चाहन्थेँ । उनको विगत उनकै मुखबाट सुन्नका लागि उत्सुक थिएँ । अघि नै चौतारामा बस्दा उनले भनेकी पनि थिइन् “छ वर्ष पहिलेको घाउ, सन्चो होला भन्ने सोचेकी थिएँ तर … ।”

अब हामी छुट्टिनु पर्ने समय आउँदै थियो । बाटो छुट्टिने ठाउँ जति नजिकिँदै थियो म त्यति नै बढी छटपटाउन थालेको थिएँ । कतै उनको घाउमा लुकेको कथा सुन्न नपाउने त होइन मैले ! मेरो मन उकुसमुकुस भएर पाक्न थालेको थियो ।

“बैनी, तिमी र म छुट्टिने ठाउँमा केही समय त बसौँ है । घर उज्यालैमा पुगिन्छ क्यारे ।” मैले नम्र भाषामा उनलाई अनुरोध गरेँ । उनी केही बोलिनन् ।

हिँड्दै गर्दा हामी छुट्टिने ठाउँ आइपुग्यो । हाम्रो गाउँतिरबाट झरेको सानो खोलो ठुलो खोलामा मिसिएको दोभान । हाम्रो खेत भएको ठाउँ अर्थात् बेँसी, यहीँबाटै धान–पराल बोकेर उकालो चढ्नु पर्ने । बटुवाका लागि बनाइएको पीपल चौतारीमा बस्यौँ हामी ।

उपयुक्त समय ठानेर मैले अनुनय विनयको भावमा उनको विगत बारे जिज्ञासा राखेँ, “बैनी ! तिमी साह्रै चिन्तित देखिन्छ्यौ । यतिका समयसम्म सँगै हिँडियो तर तिम्रो अनुहारमा मैले कुनै बेला पनि खुसीको लहर देख्न पाइन । तिमीले बोकी हिँडेको पिरको भारी मैले केही हल्का गराउन सक्थेँ कि ! भन न बैनी, तिम्रो घाउका बारेमा ।”

दोभानको चौतारी, यति बेला हामी बसेको ठाउँ । पल्लो किनारामा लास जलाउने चिहान थियो । युवतीले एकोहोरिएर त्यतैतिर हेर्न थालिन् । चिता बनाउने ढुङ्गाहरू थिए त्यहाँ । खोलामा अलिकति ठाउँ रह परेको देखिन्थ्यो । रह परेको ठाउँमा पानी चलायमान थिएन । उनका आँखा त्यही गहिरो रहमा पनि पुगेको अनुमान लगाएँ मैले । केही समयको मौनतापछि बिस्तारै उनका ओठहरू चल्न थाले “विगतमा मेरो सुखी परिवार थियो दाइ ! बाबा इन्डियामा नोकरी गर्नुहुन्थ्यो… ।”

“इन्डियन पल्टनमा ?” उनी बोल्दाबोल्दै मैले बिचैमा सोधेँ ।

“होइन दाइ, फाल्टु नोकरी” भनिन् उनले र अगाडि थपिन् “सानो परिवार गुजारा चलेकै थियो । इन्डियामा रहँदा बस्दा उहाँका गोडा हल्का झमझमाउन थालेका रहेछन् । डेढ महिनाको छुट्टीमा घर आई बस्दा दुवै गोडाले काम गर्न छोडे । प्यारालाइसिसको सिकार बन्नुभयो । औषधि उपचारले काम गरेन । इन्डियामा रहँदा काम गरेको कम्पनीले पनि उपचारमा चासो देखाएन । बाबा थला पर्नुभयो । त्यही समयमा मैले एसएलसी पास गरेकी थिएँ । घरमा आम्दानीको कुनै स्रोत भएन । त्यति बेलै म आफैले पढेको घर नजिकैको स्कुलमा प्राथमिक तहको अस्थायी दरबन्दीमा एक महिला शिक्षिकाको आवश्यकता पर्यो । स्कुलै पाँच कक्षासम्मको थियो । हेडमास्टर थिए श्यामप्रसाद र व्यवस्थापन समितिका अध्यक्ष थिए ललितबहादुर…।”

“श्यामप्रसाद त मसँगै पढेको हो नि” बिचैमा बोलेर थोरै विगत सम्झने प्रयत्न गरेँ मैले– श्यामप्रसाद र म छ कक्षादेखि दस कक्षासम्म एउटै हाई स्कुलमा सँगै पढेका थियौँ । एसएलसी उत्तीर्णपछि मास्टरी गर्न थालेको श्यामप्रसाद २०४८-०४९ सालतिर कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएको समयमा स्वतः स्थायी भएको थियो । अहिले यी युवतीको कुरो सुन्दा ऊ हेडमास्टर भएको रहेछ भन्ने थाहा भयो ।

“अनि बैनी … ?” मैले फेरि जिज्ञासा तेर्स्याएँ ।

“घर चलाउनका लागि पनि मैले जागिर खानु पर्ने बाध्यता थियो । हेडमास्टर र व्यवस्थापन समितिको अध्यक्षसँग कुरो राखेँ । उनीहरूले सिकाएअनुसार नै निवेदन र कागजपत्र पेस गरेँ । नयाँ मास्टर नियुक्ति गर्ने क्रममा खान पल्केका रहेछन् तिनीहरू । विनि र आरपीलाई पैसा खुवाउने निहुँमा आफैले खानका लागि मसँग रुपैयाँ मागे । अलिअलि भएको पैसा बाबाको उपचारमा सकिएको थियो । घरायसी परिस्थिति मात्रै नभएर पैसाकै अभावका कारण पनि मैले सहरमा गएर क्याम्पस पढ्न पाएकी थिइन । छ महिनाको तलब बराबरको रकम खर्च गर्नुपर्छ भन्ने उनीहरूको आदेशलाई मैले स्वीकार गर्नु पर्यो । चर्को ब्याजमा ऋण काढ्नु पर्यो । अन्तर्वार्ताको रिजल्ट भएको दिन तिनीहरूले खसी काटे, रक्सीको खोलो बगाए । मैले त्यस भोजका लागि उनीहरूलाई दिएबाहेक छुट्टै बाह्र हजार रुपैयाँ बुझाएँ ।”

“पढालेखाहरूमा नैतिकता नै नभएपछि त कसको के लाग्छ र ! मान्छेहरू गरिबकै मात्र लुट्न खोज्छन् हगि ?” बोल्दै गर्दा बिचैमा मैले चिन्ता व्यक्त गरेपछि उनी फेरि अगाडि बढिन् “त्यो हेडमास्टर र अध्यक्ष त कुकुरै रहेछन् नि दाइ ! तिनीहरू पैसामा बिके, मेरो गरिबीबाट फाइदा लुटे, यसमा त मलाई त्यति बढी पछुतो थिएन तर मेरो शरीरमा पनि तिनीहरूले आँखा गाडेका रहेछन् । मैले प्रतिकार गर्दा पनि उनीहरूले जबरजस्ती गरे ।

बाबाआमाको शारीरिक अवस्था र गरिबीका कारण म जागिर खान बाध्य थिएँ । ती दुवैले पटक पटक मेरो अस्मिता लुटे । लुट्ने क्रमलाई निरन्तरता दिन थाले । मैले समाजसामु तिनीहरूको चरित्रको भन्डाफोर गर्न चाहेकी थिएँ तर उल्टो मेरै ज्यान लिने धम्की दिए तिनीहरूले । जागिर छोडेरै भए पनि म तिनीहरूका विरुद्धमा लाग्नु पर्थ्यो । लागिनँ । त्यहीँनेर मेरो कमजोरी रह्यो । त्यही कमजोरीको प्रतिफल भोग्नुपर्दा अहिले जीवनदेखि नै निराश भएकी छु दाइ ! यस्तो लाछी र कमजोर मानसिकता लिएर म बाँच्नुको कुनै अर्थ छैन दाइ !” दाहिने हातको बुढी औँला र चोर औँलाले आँखा पुछ्दै जीवनबाटै पलायन हुने भावमा उनले लामो सास छोडिन् ।

मेरो मानसपटलमा फेरि एक पटक श्यामप्रसादको तस्बिर नाच्यो । ऊ सात-आठ कक्षामा पढ्दादेखि नै लव लेटर लेख्थ्यो, केटी साथी भनेपछि हुरुक्क हुन्थ्यो, सित्तैँमा पाएको बेला जाँड पनि पिउँथ्यो । उसलाई देखेपछि कतिपय केटीहरू आफै तर्केर हिँड्थे । कामुक प्रकृतिको उसको स्वभावसँग म स्कुले जीवनमै परिचित थिएँ । दस कक्षाको पढाइ सकेदेखि यता लगभग बाइस-पच्चिस वर्षसम्म उसको र मेरो भेट भएको थिएन । अहिले यी बहिनीले आफ्नो कुरो सुनाउँदै गर्दा बिच बिचमा मेरो मानसपटलमा श्यामप्रसादसँगको स्कुले जीवनको सहयात्राका झिल्काहरू आइपुग्थे । मलाई आफ्नो विगत होइन, युवतीको विगत बारे चासो थियो । म युवतीको अनुहारमा खुसीका लहरहरू दौडिएको देख्न चाहन्थेँ । मैले फेरि पनि अनुरोध गरेँ उनलाई विगतका घाउहरू कोट्याउनका निमित्त ।

“त्यति बेला मेरो पेटमा बच्चा हुर्कँदै रहेछ । मेरो यौवनमा अध्यक्षले भन्दा बढी ताण्डव हेडमास्टरले नाचेको थियो । उसैलाई यो कुरा सुनाएँ मैले । सुरुमा त त्यसले मलाई बेसरी हप्कायो । जस्तोसुकै नकच्चरालाई पनि आफ्नो इज्जत प्रतिष्ठाको ख्याल हुँदो रहेछ ! त्यसका धम्की र हप्काइपिच्छे मैले प्रतिवाद गर्न थालेँ । केही दिनपछि भने उसको अनुहारको रङ उड्न थाल्यो । घरमा श्रीमती र छोराछोरी थिए त्यसका । पछिल्ला दिनहरूमा आएर आफ्नो इज्जत जोगाउनका लागि फकाउन थाल्यो । गर्भपतनका लागि मलाई राजी गरायो ।

उसले भनेअनुसार नै मैले आफू बिरामी भएको बहाना पारेँ र स्कुलमा बिदा लिएँ । उसले आफ्ना लागि जिल्लाको सदरमुकाम स्थित शिक्षा कार्यालयमा काम र काजको बहाना मिलायो । गाउँबाट ऊ अघिल्लै दिन हिँडेको थियो भने म भोलिपल्ट हिँडेकी थिएँ । उसको साथ लागेर म जिल्ला सदरमुकामभन्दा परको एउटा सहरमा पुगेँ । उसले मलाई एउटा प्राइभेट हस्पिटलमा भर्ना गर्यो । डाक्टरसँग कुरो मिलाएर आफ्नो अनुहारमा लागेको दाग मेटायो । केही दिनपछि म स्कुल फर्कें र कामलाई निरन्तरता दिएँ । मनको घाउ मनैमा । घटना गुपचुपमै रह्यो । बाहिर आएर समाजमा छिरलिएन ।” यति भनेर उनी खोलापारिको चिहानतिर एकोहोरिन थालिन् ।

म सोचमग्न हुन पुगेँ– कस्ता कस्ता डरलाग्दा घटनाहरू पनि कति सहजै ढाकछोप गरिन्छन् हगि हाम्रो समाजमा ! यही कारण त हो समाजमा अनैतिकता र राक्षसीपन मौलाउने । मानव जीवनलाई नै खतरामा पार्ने संवेदनशील घटना र जघन्य अपराधहरूलाई पनि कसरी लुकाउन सकेका होलान् मान्छेले ! हाम्रो सामाजिक चेतनाको स्तर देखेर मेरो मनमा असाध्यै दया जागेर आयो । बिस्तारै भनेँ “बैनी, अरूलाई सुनाउँदा पनि आधा बेथा निको हुन्छ भन्छन् ! कति ठुलो घाउ रहेछ है तिम्रो मनमा, सुन्ने मान्छेलाई पनि रुवाउने खालको ।” म अलि भावुक प्रकृतिको मान्छे । मेरा पनि आँखा रसाएर आए । रुमाल झिकेर पुछेँ मैले ।

“त्यति मात्र कहाँ हो र दाइ !” उनी उस्तै उदास अनुहारमा बोल्न थालिन् “जिउको घाउ बिस्तारै पुरिँदै गयो तर मनको घाउ पुरिएन । त्यस घटनाको केही समयपछि मेरो बिहे भयो । बाबा आमालाई छाडेर मैले कर्म घरमा भित्रनु पर्यो । रोगी बाबाको स्याहारसुसार अब आमा एक्लैले गर्नु पर्ने भयो । भारी मन लिएर म कर्म घरमा बस्न थालेँ । बिहे भएको एक वर्षपछि श्रीमान् विदेश जानुभयो । विदेशबाट फर्केको पनि अहिले डेढ वर्ष बितिसक्यो । बच्चाबच्ची भएनन् । बिहे भएको यतिका वर्ष हुँदा पनि सन्तान नजन्मेकाले घरपरिवार सबैमा चिन्ता बढ्न थाल्यो ।

एक पटक राम्रो डाक्टरलाई देखाउने सल्लाह भयो । श्रीमानले सँगै जाऔँ भन्दा एक पटक म एक्लै गएर चेकअप गर्छु भनी उहाँलाई फकाएँ र अस्ति बेलुका म सहर पुगेकी थिएँ । त्यहाँ मैले नाम चलेकै स्त्री रोग विशेषज्ञलाई भेटेँ उसकै प्राइभेट क्लिनिकमा । एक्स-रे गरेर हेर्दा थाहा भयो– मेरो पाठेघर नै फालिएको रहेछ, डाक्टरले यो कुरा सुनाउँदा म त छाँगाबाट खसे झैँ भएँ । चक्कर लाग्यो । झन्डै झन्डै बेहोस भएकी थिएँ । पानी पिएर एकछिन बाहिर राखिएको बेन्चमा सुतेँ । रिसले आँखा पनि देखेकी थिइनँ । जसोतसो मनलाई सम्हालेर म उहिल्यै गर्भपतन गराइएको हस्पिटलमा पुगेँ । त्यति बेला मेरो गर्भ पतन गराउने काम डाक्टर योगेश्वर राय यादवले गरेको थियो । उसले गर्भपतन गराउने क्रममा मेरो पाठेघर नै फालेको रहेछ । भेट्नासाथ मैले त्यसको घाँटी समाउन चाहेकी थिएँ ।

सोधपुछ कक्षमा गएर सोध्दा थाहा लाग्यो– नक्कली सर्टिफिकेटको आधारमा डाक्टर भएको योगेश्वर राय अख्तियारले सर्टिफिकेटको छानबिन गर्न थालेपछि भागेछ । छ महिना जति भएछ ऊ भागेको । त्यस कुकुरले म जस्ता कति महिलाको जिन्दगी बरबाद पार्यो होला ? यस्ता कुकुरलाई फाँसी दिने कानुन हाम्रो देशमा किन बन्दैन दाइ ?” अहिले भने युवतीको अनुहारमा क्रोधको ज्वारभाटा उठ्न थालेको मैले अनुभव गरेँ । दाह्रा किटेर बोल्दै थिइन् सायद । रिसले उनको जिउ काँपेको थियो ।

म निरुत्तर थिएँ । अब यिनलाई कसरी सहयोग गर्ने होला ? दिमागमा कुनै उपाय चढिरहेको थिएन । अब बच्चा जन्मँदैन भन्ने कुरा घरका सबैले थाहा पाएपछि यिनको हालत के होला ? मेरो मनमा पनि उत्तिकै चिन्ताको बादल मडारिन थाल्यो ।

“दुःख भन्ने कुरो त सरुवा रोग जस्तै रहेछ दाइ ! एउटा दुःखले छोएपछि अरू दुःखहरू पनि क्रमैसित थपिँदा रहेछन् । अहिले त अस्थायी शिक्षकहरूलाई पनि सरकारले हटाउने नीति ल्याउँदै छ रे भन्ने सुनेकी छु । घरबाट तिरस्कृत भएँ र जागिरबाट पनि हात धुनु पर्यो भने मेरो बाँच्ने आधार पो के रह्यो र ! न समाउने हाँगो न टेक्ने डाली !” उनले आफ्नो पीडा सुनाइरहँदा मलाई लाग्यो– यी युवतीको कथा व्यथाबाट एउटा सिङ्गो उपन्यास तयार हुन्छ तर म औपन्यासिक कल्पनामा डुब्न चाहन्न थेँ । मेरो त यी युवतीको घाउमा मलम लगाउने चाहना थियो । म त जीवनदेखि यी युवती निराश नहोउन् भन्ने चाहन्थेँ । मेरो मनमा यिनलाई बचाउने चाहना जागृत भएर आयो । मैले मनमनै उनलाई न्याय दिलाउने प्रतिज्ञा गरेँ र एक पटक पुलुक्क उनको अनुहारमा हेरेँ । उनी रुमालले आँसु पुछ्दै थिइन् ।

“नरोऊ बैनी ! यसरी रोएर हामीले जित्न सकिँदैन । जीवनमा जित हासिल गर्नका लागि अठोट चाहिन्छ । मन दह्रो बनाऊ । अब हामीले श्यामप्रसादका विरुद्ध लड्नु पर्छ । यस्ता भ्रष्ट बलात्कारीलाई सजाय दिलाउनमा मैले सक्दो सहयोग गर्छु बैनी ! नरोऊ, किटानी जाहेरी दिनुपर्छ, मुद्दा लड्दा पनि फैसला तिम्रै पक्षमा आउँछ । कत्ति पिर नमान ।” मैले यति भनेपछि भने उनको अनुहार केही उज्यालिएको महसुस गरेँ मैले । उनले केही बेरसम्म मेरो अनुहार पढिन् ।

घाम भर्खरै अस्ताएका थिए । साँझ पर्न लागेको समय । उज्यालैमा घर पुग्नका लागि अब भने यहाँ बसिरहन मिल्दैनथ्यो ।

“जाऔँ बैनी, रात पर्न लाग्यो । अब छुट्टिँदा नै राम्रो होला ।” आग्रहको स्वर निकाल्दै म उठेँ । उनी पनि उठिन् ।

“चिन्ता नगर बैनी ! तिमी अगाडि बढ, मेरो सम्पूर्ण साथ रहनेछ ।” मैले प्रतिज्ञा स्वरूप आफ्नो अन्तिम कुरो राखेँ । यसपछि हामी दुवै आआफ्नो घरतिरको बाटो समाएर हिँड्न थाल्यौँ ।

ज्याग्दीखोला, स्याङ्जा