साँझको सात बज्न लागेको समय। घामले आफ्नो अनुहार डाँडाको टाकुरोमा लुकाइसकेको थियो। बिहानीबाट आँखा नउघारी आकाश रोइरहेको थियो। साँझ गएर आकाशले रुन विराम लियो तर पनि ढुस्स परेर आफ्नो रिस देखाइरहेको थियो। परिणामस्वरूप सात बजे नै निस्पट्ट अँध्यारो भयो। मेरो घरअगाडि थापिएको सानो पान-पसलमा साँझपख खानपिन भएपछि प्रायः गाउँ-घरका दाजुभाइ पान-चुरोट खान आउने गर्थे। आज पनि लीलादाइ पान खान आएका थिए। पिँढीको सीएफएल बल्ब फियुज भएर अँध्यारोले प्रभुत्व जमाउन सफल भएको थियो। म पसल बन्द गर्न तरखर गर्दै थिएँ। लीलादाइ पिँढीको बेन्चमा बसेर पान चपाउँदै थिए। भदौको महिना लामखुट्टेले सन्चले बस्न कहाँ दिन्छ र ? पान हालेको मुखभन्दा लामखुट्टे मार्नमा उनका हात बढी चलिरहेका थिए।
मैले पसल बन्द गरेँ। लीलादाइले बिदा माग्दै भने- ‘लौ मनमाया ! म घरतिर लाग्नु पर्यो। मच्छेटले बस्नै देन। पानी फेरि पर्लाझैँ हुँदै छ। छाता नलिई आइछु। पानीले बाटैमा भेटो भने भिजाउँछ।’
‘हुन्छ दाजु। आउँदै गर्नु, तपाईं त आजभोलि आउनै छोड्नु भो।’
‘के गर्नु मनमाया, घरको कामले फुर्सत पाइँदैन। अँ साँच्चै ! साइँलाको आउने कुरा छैन? ऊ नआएको पनि चार वर्ष भइसक्यो त ?’
‘तपाईंलाई सबै कुरा थानै छ दाजु। त्यो कलकत्ताको विदेश पठाउने एजेन्टले दुबई पठाउँछु भनेर दस लाख ठगिदियो। दस लाख यहीँ कलकत्तामा नकमाई घर फर्किदिनँ भन्नु हुन्छ साइँला। यो वर्षको दसैँमा चैँ कसै गरेर पनि एक हप्ताका लागि घर आउन कर गर्नु पर्नेछ।’
मेरो कुरो अपूर्ण हुँदै तगोरोबाट दुई जवान केटा भित्रिए। सुइसुइ पिँढीतिर आए। अँध्यारोले गर्दा ठ्याक्कै चिन्न सकिनँ। तर उनीहरूले एकअर्कामा फुस्फुसाएको सुनेर कुकी समाजका केटा भएको ठम्याएँ। रक्सी धोकेर आएका रहेछन्। ह्वास्सै गनायो। कुकी केटा हुन् भनेर जानिसक्दा डरले थुरुरु भएँ। तीन दिनदेखि लेलिनले ‘मेरो एक लाख ऋण फिर्ता गर्दे नत्र अन्डरग्राउन्डका मान्छे पठाउँछु।’ भन्दै धम्काएको थियो। डरै मात्र देखाएको होला भनी यादै गरिकी थिइनँ तर आज घरमै आइपुग्दा हंसले ठाउँ छोड्यो।
पिँढीमा आएपछि एउटाले हातमा भएको सानो बिडीको ठुटोलाई ओठमै बिलाउने गरी लामो सर्को तान्यो अनि फ्याँकेर भन्यो- ‘अन्दर चलो, प्राइवेटमा कुरा भन्छु ?’
मलाई सोधेको प्रश्नमा लीलादाइले जवाफ दिन अघि सरेका थिए अर्को जवानले पछाडिपट्टि कम्मरमा राखेको पिस्तोल निकालेर लीलादाइलाई बेन्चमा थेचारिदियो। म डरले काँप्न लागेँ। तर डर उनीहरूलाई देखाइनँ। भित्र ससाना तीन वटा छोराछोरी टिभी हेर्दै बसिराखेका थिए। म डराएँ भने नानीहरूको के हाल होला ?- यो डर कुकीको डरमा भारी पर्यो । मैले निडर रहने प्रण गरेँ।
बाहिरको आवाजले दस वर्षे छोरा बाहिर निस्कियो। बन्दुकधारी केटा देखेर मसँग टाँसिन पुग्यो। छोराले सोलर लाइट बोकेर बाहिर आएको हुनाले ती जवानका अनुहार प्रस्टै देखिए। बन्दुकधारी, हेर्दै डरमर्दा। लामा जगटा, एउटा गोरो अर्को कालो, खैनी खाएर होला दाँत कालो र पहेँलो रङले मिश्रित भएका। काले बन्दुकधारीको गालामा छुरा चलेर बसेको जस्तो लामो कोटेको दाग।
फेरि मलाई धम्कायो – ‘भित्र हिँड् बनेको, सुनेको छैन तैँले?’
‘म जान्नँ। लोग्ने नभएको घरमा आएर यसरी धम्काउन सरम लाग्दैन। जे भन्नु छ यही भन्।’ निर्धक्क भएर भनेँ।
पिस्तोल ठड्याउँदै एउटाले भन्यो- ‘हम अन्डरग्राउन्डका मान्छे हो। लेलिनको वान लाख मनी जल्दी दे नहीँ तो मार देगा।’
‘मैले लेलिनलाई पनि भनिसकेको छु, मैले उसको ऋण लिएकी छैन। जसलाई ऋण दिएको छ त्यैसँग माग भन्नू लेलिनलाई।’
दुई जनाले कुकी भाषामा केही गन्थन गरे। मैले बुझिनँ।
गन्थन सकेर मलाई फेरि धम्कायो- ‘भोलि फेरि आएगा। मनी रेडी राख नहीँ तो गोली मारेगा।’
बन्दुकधारीले जाने सङ्केत दिएपछि अलिक ढुक्क भएँ। दुवै गए। तर जानुअघि पसलबाट दुइटा पान, सिगरेट र मच्चिस् सित्तैमा लगे।
लीलादाइले गाउँको महिला समितिलाई सिकायत गर्ने सुझाव दिएर ऊ आफ्नो घरतिर लागे। पिस्तोल मेरो टाउकोमा तन्काइएको थियो। घरमा लोग्ने थिएनन्। ससाना नानी लिएर बसेकी, मलाई औधी डर लाग्यो। समय खेर नफ्याँकी भान्जाको घर पुगेँ। भान्जा जागिरबाट छुट्टी आएका थिए। भान्जालाई एकै सासमा घटनाको वृत्तान्त सुनाएँ। भान्जाले पनि महिला समितिलाई सिकायत गर्ने सल्लाहमा सहमति दिए। भान्जालाई अभ्यावेदन लेख्न लगाएँ। भान्जाले तुरुन्तै अभ्यावेदन लेखिदिए।
सेवामा, दिनाङ्क- ०८/०७/२०२२
महिला समिति अध्यक्षा
कोपाक गाउँ, सेनापति, मणिपुर
आदरणीया अध्यक्षा,
म, मनमाया देवी। यही गाउँकी निवासी हुँ। गाउँलाई थाहा छ मेरा श्रीमान् चार वर्षदेखि परदेशमा हुनुहुन्छ। दुःखसुखमा छोराछोरी पालेर बसेकी छु। श्रीमान् विदेश जाने हुँदा इम्फालको मैतेई सनजाओबा सिंहलाई श्रीमान्ले घरको जमिन बेच्नु भएको थियो। ऊ तीन वर्ष यही बस्यो। पछिल्लो वर्ष सनजाओबाले नेपाल भाषीलाई नै हामीबाट किनेको जमिन बेचेर यहाँबाट गयो। तल्लो गाउँ, लाइकोटको लेलिन सनजाओबाको घरमा एकचोटि आएको जस्तो लाग्छ। केही हप्ता दिनबाट लेलिनले मसँग एक लाख पैसा मागेर मलाई दिक्क लगाइरहेको छ। हिजो त, लेलिनले अन्डरग्राउन्डका मान्छे पठाएको थियो। दुई जना पिस्तोल बोकेर आएका थिए। डराए, धम्काए। भोलि आउँछौँ भनेका छन्। छोरो मान्छे नभएको घरमा, ससाना छोराछोरी लिएर बसेकी छु। घरमा बस्न डरै भयो। तपाईंहरूले केही उचित मद्दत गर्दिनु पर्यो। लाइकोटको गाउँबुढालाई भनेर लेलिनबाट पिछा छोडाइदिनुहोस्। म समितिको सधैँ आभारी रहनेछु।’
भवदीया,
मनमाया
= = =
भान्जाले भोलिपल्ट आफैँ अभ्यावेदन महिला समितिलाई बुझाएर आए। समितिले भरसक सहायता गर्ने आश्वासन दिए। म बिचरीको पीडा सम्झेर समितिले त्वरित् कारबाही गर्दै त्यही दिन दुई जना सदस्य लेलिनको घरमा गए। घरमा लेलिन थिएनछ। उसकी श्रीमतीसँग भेटेर सिधै मेरो घरमा आए। उनीहरूले यथाशीघ्र कारबाही गरेको जानकारी मलाई दिए।
‘मनमाया, तिम्रो अभ्यावेदन पाएपछि हामी भर्खरै लेलिनको घरमा गएर आएका हौँ। तिम्रो नि गल्ती रहेछ। सनजाओबाले जमिन बेचेर उसका ऋणदातालाई पैसा दिएको समय लेलिनलाई किन खबर दिइनौ ? त्यसैमा लेलिन रिसाएको रहेछ। उसले तिमीलाई भनेको थियो अरे- ‘सनजाओबाले मेरो एक लाख लगेको छ। उसले जमिन बिक्री गर्ने कुरा गर्दै थियो।
जमिन बेचेको खबर पाइसक्दा मलाई पनि खबर दिनु। सनजाओबा कता भाग्यो थाहा छैन। मनमायाको जमिन किनेर बसेको थियो। जमिन बेचेको खबर मलाई सुनाइन। उसलाई सबै थाहा भएर पनि बुझ पचाई। अब एक लाख मनमायाले नै दिनु पर्छ।’ निकै उफ्रिँदै थिई उसकी श्रीमती। तर उसकी श्रीमतीलाई हामीले पनि टाइड भएर भन्दिएका छौँ- जसलाई ऋण दिएका छौँ, उसैसँग पैसा माग, किन एउटी अबला नारीलाई पिरोल्छौ?’ अध्यक्षाले आफ्नो भरिलो अनुहारमा कान्ति छर्दै भनिन्।
‘दिदी, लेलिनले मलाई खबर त गर्नु भनेको थियो तर सनजाओबाले जमिन बेचेको बेला सबैलाई बोलाएको थियो। उसको घरमा ड्याम्मै ऋणदाता आएका थिए। म पनि आफ्नै काममा मग्न थिएँ। सनजाओबाले गाउँभरि ऋण गर्यो। ऊ त जमिन बेचेर हरायो तर मलाई भने घाँटीमा हड्डी अड्काइदियो।’
‘अब तिमी चिन्ता नगर हामीले लेलिनकी स्वास्नीलाई मजाले सम्झाइदिएका छौँ। फेरि पनि तिमीलाई पिरोल्ने काम गरे भने गाउँबुढालाई भनेर कारबाही गर्न लगाउँछौँ।’
मलाई आश्वासन दिएर गए। म अलिक ढुक्क भएँ। तर लेलिन चुप कहाँ बस्थ्यो र? महाकप्टी मान्छे। लेलिन पहिले अन्डरग्राउन्डमा छ भनेको सबै कुरा गर्थे। महिला समिति आएको बुझेर लेलिन रिसले धुवाँ भयो। मेरो घरमा आई त हालेन तर डर भने भइरह्यो।
= = =
सिकायत गरेको भोलिपल्ट लेलिनले तिनै दुइटा बन्दुकधारीलाई महिला समिति अध्यक्षाको घरमा धम्काउन पठायो। साँझ परेपछि अध्यक्षाको घरतिर बन्दुकधारी बाइकमा सवारिएर गए। अध्यक्षाको घरमा ताला लगाइको रहेछ। अध्यक्षालाई कुर्न लागे। अध्यक्षा आउञ्जेल समयको सदुपयोग गर्दै छेउको पसलमा पैसा लुट्ने योजना गरे बन्दुकधारीले। रामनाथको पसल छेउमा थियो। झमक्कै रात पर्नाले बाटो चकमन्नताको काखमा बसेको थियो। रामनाथले पसल बन्द गर्न मात्रै लाग्दै थिए, पसलभित्र बन्दुकधारी भित्रिए। रामनाथको कनपट्टीमा पिस्तोल ताकेर पैसाको दराज खोल्न लगाए।
रामनाथ पेसामा शिक्षक पनि थिए। शान्त स्वभावका रामनाथले बन्दुकधारीसँग लडाइँ गर्ने हिम्मत जुटाउन सकेनन्। कनपट्टीमा पिस्तोल राखेपछि अरू के नै उपाय हुन्छ र ? आत्मबल बाहेक पिस्तोलको अघि बाहुबलको केही भर लाग्दैन। त्यही आत्मबलको आडमा रामनाथले एउटालाई धकेल्ने प्रयास गरे तर पिस्तोलको चुच्चोले घोचेपछि समयसँग हार्नु बाहेक अरू केही विकल्प भेटेनन्। यसै पनि गाउँ कैयौँ वर्षदेखि बन्दुकधारीबाट त्रसित हुँदै आएको थियो। दराजबाट दिनभरि बिक्री भएका रुपियाँ एउटाले मुट्ठ्याएर ज्याकेटको खल्तीमा घुसार्यो। यति गरेर दुइटा बाइकतिर लम्कँदै थिए रामनाथले ‘चोर कि चोर’ भनेर चिच्याउन थाले। गाउँ केही क्षणमा गुजुल्टियो जसरी चिनीका दाना देखेपछि कमिला गुजुल्टिन्छन्।
अन्डरग्राउन्डका मान्छे भनेर चिच्याउँथे भने सायद यति छिटो सहायता गर्न आउने थिएनन् होला तर रामनाथले लगाएको युक्ति सटीक ठहर्यो। भीडले बन्दुकधारीलाई घेरे। एउटा उम्कियो। अर्कोलाई सबैले रामधुलाइ गर्न लागे।
तल्लो बाटाको छेउमा प्रेम कार्कीले छोराको जन्मदिन समारोह मनाउँदै रहेछन्। प्रेम कार्की इन्डियन आर्मीका जवान थिए। छोराको जन्मदिनमा निकै साथी भेला पारेका रहेछन्। चोर समात्ने गुहार लगाइएको आवाजले बाहिर मात्र निस्किँदै थिए बन्दुकधारी भाग्दै गरेको फेला पारे। प्रेम कार्की र साथीले च्याप्प समाते बिरालोले मुसो समाते जसरी। बन्दुकधारीले पिस्तोल तन्काई त हाल्यो। प्रेम कार्की ड्युटीमा रहँदा यस्ता बन्दुक दिनै सिरानीमा लिएर सुत्ने फौजी मान्छे। पिस्तोलमा मेगाजिन नरहेको बुझिहाले। बन्दुकधारीलाई कान तात्ने गरी बजाए। शेष काम अरूले गरे। लादी काढेर दुइटै अन्डरग्राउन्डलाई छेउमा स्थित असम राइफल्स क्याम्पमा जिम्मा लगाइदिए।
अन्डरग्राउन्डका शीर्षस्थले बन्दुकधारीलाई कुटेको गाउँमा सोधपुछ गरे। फौजीले कुटेको जानेपछि हाम्रा मान्छे होइनन् भनेर हात उठाइदिए। तर भित्रा भित्री आगो बल्न लाग्यो।
ऋण उठाउन लागेको कहानीले ठुलो रूप धारण गर्यो। झ्यासमा आगो लगाएको जङ्गलमै सल्कियो। मलाई धम्काउने बन्दुकधारीले फल पेटभरि खाए। उनीहरू साँच्चिकै भित्रीका मान्छे थिए या ढोँग गरेर धम्काउन मात्र आएका थिए मलाई ज्ञान भएन। तर उनीहरूलाई आदेश दिने कप्टी लेलिन गाउँभरि मैले ऋण लिएर नदिएको झुटो हल्ला फिँजाइरहेको थियो। महिला समिति आक्रोशित भएर लाइकोट-गाउँबुढालाई तुरुन्तै फोन हाने। फोनमै सबै घटना सुनाइदिए। महिला समितिले भोलिपल्ट तुरुन्तै मिटिङ समिति कार्यालयमा गर्ने कुरा राखे। गाउँबुढाले बिरामी छु भनेर मिटिङमा नआउने असमर्थता जनायो।
गाउँबुढाको कुरा सुनेर फोनमा अध्यक्षा झर्किन्- ‘यसो भनेर हुन्छ ? तपाईंको गाउँको मान्छेले यसरी हाम्रो गाउँको मान्छेलाई पिरोल्न पाउँछ ? तपाईं आउन नसक्ने भने हामी नै तपाईंको घरमा आउँछौँ। त्यही मिटिङ गरौँला।’
गाउँबुढाले असहाय स्वरमा भन्यो- ‘लेलिनलाई जे गर्न मन छ, गर। ऊ मेरो बात सुन्दैन।’
सनजाओबालाई खोजेर बोलाइयो। महिला समितिका सदस्यहरू, गोर्खा युनाइट एसोसिएसनका केटा अनि सनजाओबा भएर भोलिपल्ट गाउँबुढाको घरमा गयौँ। लेलिनलाई मिटिङका लागि बोलाउन सय चोटि फोन गर्दा पनि अहिले इम्फालमा छु, भ्याउँदिन भन्यो। तर समितिले मिटिङ गरेर जाने अठोटमा रहे। नभन्दै लेलिनलाई बेलुकी बखत मिटिङमा आउन कर लाग्यो।
मिटिङ सुरु भयो।
पहिले लेलिन बोल्यो – ‘यो मनमायाको जमिन किनेर सनजाओबा फोर यर्स तक बसेको हो। यसले मेरो वान लाख मनी लगेको वान यर भो, अझै देको सैन। माग्न जाँदा जमिन सेल गरेको बेला दिन्सु भनेको हन्ड्रेड टाइम्स भयो। मैले मनमायालाई सनजाओबाले जमिन सेल गरेको बेला खबर गर्नु भनेको थेँ तर यसले मलाई भनेन। झुठ बोला। सायद सनजाओबासित मिलेर मेरो वान लाख डायजेस्ट गर्न ट्राय गरेको होला।
सनजाओबा त भागिहाल्यो। यसैको जमिन किनेर बसेको थियो। नाइबर थियो, योसित पैसा नमागी कोसित लिने ?’
लेनिनले आफ्नो कुरा सकेपछि अध्यक्षाले बोलिन्- ‘यो लेनिनले मनमायाबाट ऋण लिएको रहेनछ। सनजाओबाबाट ऋण लिएको हामी सबैले थाहा पायौँ। फेरि किन यो अबला नारीलाई यो लेनिनले पिर दिएको ? मनमायाले सनजाओबालाई जमिन बेचेको भन्दैमा सनजाओबाले लिएको ऋण मनमायाले तिर्नु पर्छ भन्ने कहाँसम्म न्यायोचित हो?’
गाउँबुढाको ध्यानाकर्षण गराउँदै अध्यक्षाले थप्छिन्- ‘फेरि अन्डरग्राउन्डका मान्छे लगाएर यसले किन यसरी धम्काएको? भन्नुहोस् ओझा, (मणिपुरमा महोदयलाई ओझा भनिन्छ) के यस्तो गर्नु ठिक हो?’
गाउँबुढाले भन्यो- ‘सनजाओबा तैँले लेलिनबाट पैसा लिएको थिइस् ?’
सनजाओबा भन्छ- ‘मैले पैसा लिएको लेलिनबाट हैन लेलिनको ससुराबाट लिएको थिएँ। यो लेलिनसँग मेरो बात भएको सैन।’
लेलिन झर्किँदै बोल्यो- ‘यस्तो बन्न पाइन्स र? मेरो ससुराले मसित वान लाख मनी लिएर सनजाओबालाई दिया था। ससुरो त मरो। उसको ऋणकर्ता, तँ होस्। मेरो ऋणकर्ता मेरो ससुरो। ऊ त मरो। ऊ सैन अब मेरा लागि तँ नै ऋणकर्ता हो। अब मेरो ससुरो र तँ नभएपछि मनमाया मेरालागि ऋणकर्ता। इसलिए मैंने मनमाया से मेरा पैसा मांगा है।’
टाउकोमा हात राखेर अध्यक्षाले भनिन्- ‘हरे राम ! लेनिनले कहाँको कुरा कहाँ ल्याएर मनमायाको टाउकोमा खन्याउँदै छ। ओझा, यसरी कहाँ मिल्छ? यो लेलिनलाई सनजाओबाबाट पैसा लिन लगाएर मनमायाको पिछा छोड्ने वाचा गराउनुहोस्। हामी यही चाहन्छौँ, तब गएर दुई समाज मिलेर बस्न सक्छ। दुई समाज लडेर बसेको कहाँसम्म ठिक हो? भन्नू त ?’
गाउँबुढाले निकै बेर सोच्यो अनि लामो सास फेरेर भन्यो- ‘कुरा त ठिक हो अध्यक्षाको। लेलिन तैँले अबदेखि मनमायालाई पिर नगर्नु। तैँले तेरो ऋणकर्ता भेटिस्। यसैबाट तेरा ससुराको पैसा लिनु।’
गाउँबुढाले सनजाओबालाई औँल्याउँदै सोध्यो- ‘सनजाओबा, तैँले के गर्न लेलिनिको ससुराबाट पैसा लिएको थिइस्?’
‘म र लेलनिको ससुरो साथी थियौँ। एक वर्ष अघि पैसा डबल हुने स्किम मेरो हात परेको थियो। यो स्किम इम्फालको मेरो एक जना साथीले मलाई भनेको थियो। यस स्किमका लागि मलाई पाँच लाख चाहियो। सालभरिमै पाँच लाखलाई दस लाख बनाउने उद्देश्यले धेरै जनाबाट ऋण गरेर कम्पनीमा पैसा जमा गर्दिएँ। यही क्रममा लेलिनको ससुराबाट एक लाख लिएँ। पैसा जमा गरेको महिना दिनमै कम्पनीले चम्पट खोल्यो। जमिन बेचेको पैसाले पनि ऋण तिर्न पुगेन। लेलिनका ससुराको निधन हुनाले उसको परिवारलाई खबर गरिनँ। अलिक पछि उसको परिवारलाई पैसा दिने सोचेको थिएँ।’ सनजाओबाले जवाफ फर्कायो।
मैले केही बोलिनँ। अध्यक्षाले सबै पीडा थामिदिन्। समाज मेरालागि ढाल बनिदियो। सनजाओबाको कुरा पुरा भएपछि गाउँबुढाले भन्यो- ‘अब कुरा यही सक्यो। लेनिनले अब उपरान्त मनमायासँग पैसा नमागेर सनजाओबासँग माग्नेछ।’
सनाजोबाले टाउको हल्लाउँदै हुन्छको सङ्केत दियो। लेनिनले केही बोलेन। गाउँबुढातिर निर्दयी नेत्रले हेरिरह्यो।
मिटिङ सकिएपछि गाउँबुढासँग अध्यक्षा र म भएर भेट्यौँ।
अध्यक्षाले भनिन्- ‘ओझा, यो लेलिनलाई चैँ अलिक टाइड गर्नु होला। सारै दुःख दिँदै छ।’
गाउँबुढाले भरिया गलेर बोलेझैँ भन्यो- ‘म केही भन्न सक्दिनँ। मेरो कुरा केही सुन्दैन। तिमीहरूलाई जे पसिनमेन्ट जहाँबाट मिल्छ त्यहाँ गएर दिन लगाऔँ।’
गाउँबुढाको निरुत्साहित उत्तर उसको जातिगत मोह थियो या साँच्चिकै उसका लागि बोझ भएको थियो त्यस बखत अड्कल काट्न सकिएन।
केही दिनमा भित्री कुरा सुनियो। मिटिङको अघिल्लो दिन लेनिनले गाउँबुढालाई बेसमारी मान्छे लगाएर कुटाएको थियो अरे। लाइकोट गाउँको हुने वाला गाउँबुढा मैँ हुँ भनेर लेनिनले कुरा फिँजाएको पनि सुनियो।
= = =
लेनिनले सुरु गरेको काण्ड यहाँ सकिएन। अन्डरग्राउन्डका शीर्षस्थ नेताले दुई बन्दुकधारीलाई हाम्रा मान्छे हुन् भनेर सार्वजनिक रूपमा स्विकारेनन्। सार्वजनिक रूपमा नस्विकारे पनि गुप्त रूपमा दुई जना बन्दुकधारी उनीहरूका मान्छे भएको पुष्टि गर्दै गाउँले पक्राएको कारणले आक्रोश पोख्न थाले। गाउँसँग छलफल गर्न गाउँको व्यवस्था र प्रशासनसँग आबद्ध भएर काम गर्ने गोर्खा युनाइट सोसाइटीका नेताहरूलाई अन्डरग्राउन्डका नेताबाट कल आयो। पहिले सोसाइटीका कोषाध्यक्ष भरत चापाईं परे।
भरत गाउँमा मानिएका व्यक्ति थिए। ऊ पैँतिस वसन्त पार गरेका युवा, अनुशासित, शान्त एवम् गम्भीर स्वभाव भएकाले गर्दा सबैले उनीमा विश्वास र सम्मान राख्दथे। यसै गाउँको भारती संस्कार विद्यालयमा अध्यापन गर्थे। अध्यापनको साथै भरत सामाजिक कार्यमा अत्यन्तै सक्रिय रहन्थे। गोर्खा युनाइट सोसाइटी बाहेक अखिल मणिपुर गोर्खा एसोसिएसन कोपाक इकाइ-प्रमुख थिए। रामनाथको पसलमा लुटपाट गर्न आएका बन्दुकधारी पक्राउ पर्दा उनीहरूलाई कुट्नेहरूको भीडमा ऊ पनि सामेल थिए।
बन्दुकधारी पक्राउ परेको केही दिनमा भरतलाई कल आयो- ‘भरत! म थाङबोय बोल्छु। तेरो गाउँले गर्डा मेरो दुइटा मान्से फौजीले समातो। दुइटा पिस्तोल पनि लगो। तेरो गाउँले बिग मिस्टेक गरो। यसको कस्सिक्वेन्सेस डेन्जर हुन्छ अब। तँ पनि मेरो मान्से कुतेको बेला थियो, फौजीलाई खबर गरिस्! तेरो सोसाइटीसँग टक गरेर दुई लाख जल्दी दिनु। नभा रिजल्ट ठिक हुँदैन।’
भरतलाई उनको मुटुमा सोला हानेझैँ भयो, डराउँदै जवाफ फर्काए- ‘ओजा! म त स्कुल-टिचर हुँ। म त्यो दिन त्यहाँ थिइनँ पनि। सोसाइटीका ठुला नेतालाई भन्नू। अनि गाउँलाई थाहा पनि थिएन दुई जना ओझाका पार्टीका मान्छे रहेछन्! थाहा भएको भा केटालाई गाउँले कुट्ने थिएन!’
भरतले थाङबोयलाई धेरैबरेसम्म सम्झाउने प्रयास गरे तर ऊ कहाँ मान्थ्यो! यसै पनि अन्डरग्राउन्डका मान्छे निर्दयी, कडा र भावनारहित हुन्छन्। हप्तादिनमा दुई लाख पैसा दिने धम्की दिएर कल काट्यो।
भरतले गाउँका ठुलाबडा र गोर्खा युनाइट सोसाइटीका सदस्यसँग थाङबायबाट पैसा डिमान्ड गरेको जानकारी दिएर चाँडै मिटिङ राख्ने सुझाव दिए। सुझावअनुसार मिटिङ बस्यो।
‘थाङबोयले यसै धम्काएको होला, केही प्रतिक्रिया नदिँदा आफैँ कल गर्न छोड्छ। समय बद्लिएको छ, यो समयमा पनि भित्रीका मान्छेले पैसा मागे जति दियो भने हामीलाई सधैँ हेप्छन्। सधैँ हामीमाथि अत्याचार गर्छन्। हामीले हिम्मतले काम लिनुपर्छ।’ यही मिटिङमा छलफल भयो।
एक हप्ता बित्यो। थाङबोयले भनेअनुसार गाउँले पैसा बुझाएन। थाङबोय रिसले आगो भयो। अन्डरग्राउन्डले धम्काएको खण्डमा गाउँ नडराउँदा उनीहरूको आबरुको हनन हुने कुरा पनि आयो। थाङ्बोयले सोसाइटीको महासचिवलाई कल गरेर समयमा पैसा नदिएको दण्ड दिँदै पाँच लाख रुपियाँ तीन दिनभित्र दिने धम्की दियो।
यो चोटि पनि गाउँले नडराउने नै अठोटमा रह्यो। सबैले एकजुट भएर परिस्थितिको सामना गर्ने साहस बटुले। यस्तो घटना पहिलो चोटि गाउँमा घटेको थिएन। अन्डरग्राउन्डले अपहरण गरेर पैसा डिमान्ड गरेका कैयौँ घटनाहरूले गाउँ त्रसित थियो। यस चोटि पछिल्लो समय जसरी निहुरिएर पैसा नदिऊँ भन्ने निर्णयले सबैलाई हिम्मत दियो।
तीन दिनभित्र पाँच लाख पैसा नदिँदा यो चोटि थाङबोयले अध्यक्षालाई कल गरेर दस लाख रुपियाँ हप्ता दिनमा दिने कडा धम्की राख्यो। पैसा समयमा नपुर्याएको खण्डमा निकै ठुलो काण्ड गर्ने थप धम्की पनि दिराख्यो।
गाउँमा फेरि मिटिङ भयो। पैसा नदिने, हिम्मत नहार्ने नै फैसला भयो। अन्डरग्राउन्डको धम्कीलाई विधायक, सांसद र मुख्यमन्त्रीसम्म पुर्याउने प्रस्ताव सर्वसम्मतिमा पास भयो। विधायकले अन्डरग्राउन्डको प्रमुखलाई कल गरेर डिमान्ड निरस्त गर्ने आश्वासन दियो। गाउँको टोली मुख्यमन्त्री कार्यालय गएर मुख्यमन्त्रीलाई भेटे। समस्या राखे। मुख्यमन्त्रीले त्वरित् कारबाही गर्दै गाउँका लागि सुरक्षाको बन्दोबस्त गरिदिए। गाउँमा दिनरात चौबिस घण्टा कमान्डले सुरक्षा दिन थाले। गाउँ ढुक्क भएर आफ्नो दैनिकी काममा व्यस्त भयो। यो गाउँका लागि सफलता थियो। हिम्मतले लिएको फैसलामा सबै गौरवान्वित भएका थिए।
सरकारले सधैँ यसरी सुरक्षा गर्ने कुरा आएन। गाउँमा शान्ति कायम देखेर सरकारले एक महिना पछाडि कमान्डलाई गाउँबाट बोलायो। अन्डरग्राउन्डले कुरा बिर्सिएछ भनी गाउँले मस्त भए।
= = =
चाडबाडको समय थियो। सबैले तिहारको तयारी गर्न लागेका थिए। भैली खेल्नेहरू तयारीका लागि दिनै अभ्यास गर्न लागेका थिए। केटाकेटी तिहार अगाडि नै पटाका पट्काउन थालिसकेका थिए। गाउँको वातावरण रमाइलो भएको थियो।
भाइटिका आउन पाँच दिन मात्र थियो। भरत साँझपख सांस्कृतिक कार्यक्रमका लागि मिटिङ गर्न गाउँको सभाघर गएका थिए। मिटिङ सक्दा छ बजिसकेको थियो। अँध्यारोले चारैतिर आफ्नो वर्चस्व कायम गरिसकेको भान लाग्थ्यो। यसै पनि अन्य राज्यहरूको तुलनामा पूर्वोत्तर राज्यमा घाम चाँडै अस्ताउँछन्। मिटिङपछि भरत अध्यक्षासँगै निस्किए। राष्ट्रिय राजमार्गमा दुवै गफ गर्दै जाँदै थिए। बाटोमा चकमन्नता थियो। सबै गाउँले आफ्ना घरभित्र थिए। छिनछिनमा पटाका पड्किरहेका थिए।
मङ्सिरको बेला जाडोले आफ्नो गति बढाउन थालेको थियो। भरतले भित्रबाट टिसर्ट र बाहिर पातलो स्वेटर लगाएका थिए। दुवै हात खल्तीमा हालेर हिँड्दै थिए। अध्यक्षा भरतभन्दा उमेरमा केही वर्ष सानो हुनाले दुवै साथीसरह थिए। अध्यक्षाले भरतलाई काँधमा हात राखेर बढिरहेका थिए। दुई सय पाइला चालेपछि पान-पसल आयो। अध्यक्षाले जर्दापान मुखमा ठुसे अनि भरतले सेन्टर फ्रेस। शिक्षक थिए, सात्त्विक रहने उनको स्वभाव थियो। पसललाई टाटा गरेर बिस पाइला पार गरेपछि आ-आफ्ना घरतिर लाग्दै मात्र थिए पूर्व दिशाबाट सियाज कार सुइँय आएर घचक्क रोक्यो। तीन जना केटा फुत्त उत्रिए। कार स्टार्टिङ्ग मुडमा भइरह्यो। तीन जना मध्ये एक जनाले अध्यक्षालाई धम्काउँदै भन्यो- ‘ओय ! गाडीमा जल्दी बस्।’
अध्यक्षाले डरलाई लुकाएर निडर भएर भने- ‘तिमीहरू को हौँ? म किन जाने?’
यति भन्दै अर्काले अध्यक्षालाई तानेर कारमा हाल्ने यत्न गर्यो तर अध्यक्षाले प्रतिकार गर्दै हात छोडे। भरतले पनि अध्यक्षालाई सहयोग गर्दै उनीहरूमाथि खनिए। पाँच जनामा कुटाकुट हुन लाग्यो। भरतभन्दा अध्यक्षा अलिक शारीरिक रूपमा बलवान थिए। पसलमा बसेकी महिला डरले ग्वार लगाउन पनि सकिनन्। भरत र अध्यक्षाले आफूलाई छुटाउन सक्दो बल लगाएर सङ्घर्ष गर्दै थिए यतिकैमा एउटाले भरतलाई पिस्तोलको बटले घुच्चुकमाथि ड्याम्म हान्यो। भरतका आँखा तिरिमिरिए। पृथ्वी गोलाकारमा घुम्न थाल्यो। यसरी पृथ्वी गोलगोल घुमेको भरतले सानोमा छँदा हाराहुरी खेल्दा देखेका थिए। उनको चेत बिलाउँदै गयो।
अचेत भरतलाई गाडीमा बसेको चालक बाहिर आएर पछाडिपट्टिको सिटमा राख्यो। अध्यक्षा सङ्घर्ष गर्दै थिए, यतिमै फेरि भरतलाई अचेत बनाउनेले ब्ल्याङ फायर गर्या। अध्यक्षा डरले तर्किए। यतिमै तीनै गाडीभित्र पसे। गाडी पलमै हावाको साथी भइदियो। पिस्तोलको आवाज पटाकाको आवाजमा विलीन भयो। परिणामस्वरूप पिस्तोलको आवाज कसैले बुझेनन्।
गाडी उडेको पन्ध्र मिनटमा भरतको चेत फर्कियो। बाहिर हेरे, अड्कल काट्दा उनलाई लाइकोटको बाटोतिर लगेको थाहा लाग्यो।
‘मलाई कहाँ र किन लगेका?’ उनलाई के कारण र किन लगेका हुन् बुझिसकेका थिए तर पनि प्रश्न गरे।
‘राम्रोमा पैसा माग्दा देन। तेरा गाउँले टेन लाख दिन्छ अब।’
यही उत्तर आउँछ भन्ने भाँपिसकेका थिएन भरतले। टाउकोमा दाहिने हातले छामेका, तातो रगत हातमा लाग्यो। स्वेटरमा पुसे अनि भने- ‘मलाई चैँ किन लगेका? म टिचर हुँ। मलाई छोड्देऊँ?’
एउटाले मुष्टि उजाउँदै धम्क्यायो- ‘धेर नबोल। आइ विल किल यु। बुझिस् !’
भरतले चुपो लागेर बस्ने बुद्धिमत्ता बुझे। लाइकोट पुगिसकेपछि गाडी रोकियो। भरतलाई आँखामा कालो फेटा बाँधिदिए। सब अन्धकार। यसै पनि गाडीमा होस आएपछि उनले बुझिसकेका थिए, मेरो मृत्यु निश्चित छ। एउटाले हात डोर्यायो। अर्काले टर्चलाइट बालेर बाटो देखाउन लाग्यो। उसका पछिपछि सबै सबै हिँड्न थाले। करिब एक घण्टा हिँडेपछि भरतका आँखालाई आजाद गरिदिए। अँध्यारो थियो, चारैतिर रुखै रुख, डाँडाबिचको भीरमा पुगेको उनले अनुमान काटे। आकाशतिर हेरे, जुन झुल्किन मात्रै लागेको थियो, मान्छे चिन्न हुने उज्याले छाइसकेको थिएन। तीन जना बन्दुकधारी थपिएका रहेछन्, भरतले आँखाको पट्टी खोलेपछि थाहा पाए। डर लागे पनि उनले मनमा हिम्मत बाँधेर सोधे- ‘टिचर मान्छेलाई किन यसरी दुःख दिएका? कहाँ लिएर जान लागेका? मलाई छोड्देऊँ?’
यति के सोधेका थिएन एउटा बन्दुकधारीले पहिले मुखमा एक मुष्टि बलपूर्वक कस्यो अनि कम्मरमा राखेको पिस्तोल भरतको कनपट्टीमा ताकेर भन्यो- ‘बोल्सस्’… तीनचार अभद्र गाली ओकल्यो। यतिकैमा अर्को बन्दुकधारीले पिस्तोल तल गर्दै कुकी भाषामा केही भत्भतायो। दुवै जनाको बोलाइ र भावले भरतले अट्काले काटे- यसलाई मार्नु हुँदैन, डिमान्ड पुरा भयो भने फिर्ता गनुपर्छ, पैसा नदिँदा मात्र मार्ने हो। भरतको सातोपुत्लो सबै उड्यो। हातगोडा थरर कामे। मुष्टि-प्रहारले नाकबाट रगत भललल बग्यो। खल्तीबाट रुमाल निकालेर पुसे तर रगत अड्एन। भरत थचक्क बसे अनि टाउको पछाडि गरेर रगत रोक्न प्रयास गरे। केही बेरमा रगत रोकियो। उनले अब चुप बस्ने नै मनमनै कसम खाए।
हिँड्ने क्रम फेरि आरम्भ भयो। जङ्गलमा, बाटो कहाँ थियो र? झाडी पेलेर बाटो बनाउँदै निस्किए। झारले पासेको त ठिकै थियो तर सिस्नामा हातखुट्टा लाग्दा रसाउन लागेका आँखाबाट पानी बरर झर्थे। कतै ठुटामा, ढुङ्गामा ठोक्किएर बढी औँलाबाट रगत निस्किन्थ्यो। भरतले चप्पल लगाएका थिए। उनले सम्झे, मिटिङ्मा निस्किएको बेला श्रीमतीले जुता लगाएर जाने आदेश गरेकी थिइन् तर श्रीमतीको कुरा नसुनी चप्पल नै लगाएर गएका थिए। अहिले श्रीमतीको मायाको सम्झनाले मन झन् भक्कानियो।
ती बन्दुकधारीलाई यस्तो बाटो हिँड्ने बानी परेको होला, कतै नबिसाई हिँडे। भरतको अभ्यास थिएन। गलेर लखतरान भए तर केही बोल्नु भएन। ज्यान जाने डर। उनले आफू मरेको दृश्य अगाडि देखिरहेका थिए तर मान्छेको मन हो, बाँच्ने आशा पालिरहन्छ। झन्डै छ घण्टा हिँडेपछि कब्रुपहाड कटे। भरत अठार वर्ष पुग्दा कब्र चढेका थिए। कब्र भोलेबाबाको वासस्थान हो भनेर हिन्दुहरूले मान्यता दिन्छन्। सालको फब्रुअरी-मार्चमा कब्रुबाबाको दर्शन गर्न भक्तगणको यहाँ मेला लाग्छ। यो ठाउँमा पाण्डव अज्ञात वासको बेला आएका थिए अरे, भन्ने पनि मान्यता छ। भरतले यिनै भोले बाबा र पाण्डवसँग आज पुनः सकुशल घर लगिदिने प्रार्थना गरे। कब्रुपहाडपछि एक डाँडो काटेर बास बस्ने बन्दुकधारीले भने।
बास बस्ने कुनै घर थिएन। ओछ्यान घाँस भएको जमिन र छानो खुल्ला आकाश थियो। छेउमा सानो कटेरो रहेछ। कुकीहरूले डाँडामा दाउरा काट्न या तुलफुल लगाउन आउँदा आराम गर्ने ठाउँ हुनुपर्छ। खुट्टा सुन्निएर उचाल्न पनि सकेनन्। नाकको रगत सुकेर कटकटिएको थियो। सिन्साले खुट्टा पासेर रातै भएका थिए। हातलाई काँडा र सिरुले म्वाइँ खाएर राता धर्का धर्कै पारिदिएको थिए।
सात जनामा एक जना बन्दुकधारी ड्युटीमा बस्यो बाँकी सुते पानी खाएर। ड्युटी गर्नेले भरतलाई पानी खान दियो, उनले ‘खान्नँ’ भनिदिए। ‘मार खान्छस्?’ भनेपछि भरतले बोतल समाते। यसै पनि तिर्खाले घाटी सुकेको थियो। तीन घुट्की पानी खाएर उनले बोतल जिम्मा लगाइदिए।
भरतलाई निद्रा पटक्कै लागेन। लागोस् पनि कसरी? उनले अड्कल काटिसकेका थिए, बन्दुकधारीले मलाई मार्नेछन्। कारण- उनको परिवार यति ठुलो रकम, दस लाख चाँडै दिने स्थितिमा थिएन। गाउँले दिने कुरा आएन। गाउँले यो परिस्थितिसँग लड्ने अठोट गरिसकेको थियो।
‘समाजमा आइपरेको बेला हामीले हिम्मत राख्नुपर्छ, अबदेखि अन्डरग्राउन्डका मान्छेले जति माग्यो त्यति पैसा दिनुहुँदैन।’ भरतले नै मिटिङमा भनेका थिए। यी कुरा अहिले सम्झिँदै, भाषण गर्नु र यथार्थ भोग्नुको अन्तर अनुभव गरे। अर्को मनले सोचे, समाज र जातिका लागि एक जनाले बलिदान गरेको सर्वथा ठिक हो। हुन सक्छ एक जनाको बलिदानको परिणामस्वरूप समाजले अगाडि गएर यस प्रकारका परिस्थितिसँग लड्ने ढाडस पाउँछ कि! फेरि ऊ आफै तर्क गर्न लागे, यसरी बलि हुने पहिलो म मात्रै कहाँ हो र? बितेका तीस वर्षमा झन्डै बाह्र-पन्ध्र गोर्खाली दाजुभाइ अपहरण भएका हुन् जसमा छ-जनालाई अन्डाग्राउन्डले मारे पनि। पैसा दिन सक्नेहरू बाँचे। चार वर्ष अगाडि नै छिमेकीले आठ लाख तिरेर छोरालाई बचाएका हुन् तर गाउँले सुइँको थाहा पाएन। पछि गएर एक कानदेखि दुई कान हुँदा मात्र थाहा लाग्यो। मेरो मरण निश्चित छ अब। खुइय! काढेर निदाउन प्रयास गरे तर निद्रा देवीले आफ्नो काखमा सुताउन सकिनन्।
भरतलाई मर्ने डरभन्दा परिवारको चिन्ताले सतायो। चार वर्षकी छोरी, काखको दुधे-छोरा, श्रीमती, आमा, रोगले ग्रसित भएका बुढा-बाबालाई हिजै अस्पतालमा लिएर गएका थिए। परिवारको पिरले आँखा सजल भए। मनमा गाँठो पर्यो। भरतले एक चोटि आकाशमा निहालेर हेरे, जुनको उज्यालो परचममा थियो। आँखा चिम्म गरेर ऊ परिवारको सम्झनामा मग्न भए।
= = =
भरत अपहरण भएको खबर अध्यक्षाबाट सुनेपछि गाउँमा हल्ला र खल्ला हुन थाल्यो। अध्यक्षा र पाकाहरूले पुलिसलाई खबर दिए। गाउँका हट्टाकट्टा, चर्का स्वभाव भएका युवाहरू राजमार्गमा गुँडुलिए। ‘हाम्रो मान्छे यसरी किड्नेप गर्न पाउँदेनन् अन्डरग्राउन्डले’, कराउँदै भीड आक्रोशित हुन लाग्यो। केही समयमा पुलिस आइपुगे।
पुलिसले ‘चाँडै खोजेर ल्याउँछौँ, सबै जना घरमा जानू’ भन्यो तर भीड कहाँ मान्ने वाला थियो र? अपहरण गरेको मान्छेलाई पुलिसले घर ल्याइदिएको इतिहास थिएन। पुलिसको अनुरोधलाई लत्त्याउँदै राजमार्ग बन्द गर्ने युवाले अठोट गरे। क्रोध देखाए। अपहरण गरेकोमा उग्र प्रतिक्रिया देखाए। गाउँ गुडुलेकाे देखेर पुलिस हताश भए। युवालाई मन्थर पार्ने भरसक प्रयास गरे तर असफलता हात लाग्यो। केही निमेक नलागेपछि पुलिसले गाउँका पाकालाई भरतका लागि सर्च अप्रेसन सुरु गरेको जानकारी दिएर चाँडै फेला पार्ने पूर्ण आश्वासन दिएर राजमार्ग बन्द नगर्ने अनुरोध राखे।
गाउँका पाकाले युवालाई सम्झाए- ‘हिंसात्मक धर्नाभन्दा शान्तिमय धर्ना गरौँ, राजमार्ग बन्द गरेर प्रशासन एवम् जनताको कार्यमा बाधा न बनौँ, पुलिसले भरतको खोजबिन सुरु गरेको छ। चाँडै भरतलाई हामीबिच ल्याउने कुरा भएको छ।’ यसरी निकै बेर सम्झाएपछि युवा शान्त भए।
यता भरतका परिवार डर एवम् शोकले व्याकुल भयो। सबैको हालत पानीबाट निकाल्दा छटपटाएको माछासरि भयो। भरतकी श्रीमतीले रोएर मुर्छै परिन्। भरतको अपहरणले घरदेखि गाउँसम्म ठुलै हल्ला गरायो। यसरी अपहरण हुँदा गाउँ-समाज जागेको पहिलो चोटि थियो नभए अपहरण गर्दा कसैलाई खबर नै हुँदैनथ्यो।
भरत भारती संस्कार विद्यालयका शिक्षक, समाजसेवी एवम् अखिल मणिपुर गोर्खा एसोसिएसनका सदस्य हुनाले पनि मणिपुरभरि ऊ अपहरण भएको खबर डाँडामा आगो लागेसरि फैलियो। भोलिपल्टबाट नै भारती संस्कार विद्यालयका विद्यार्थीले राजमार्गछेउ धर्नामा बसे, मणिपुरभरि अखिल मणिपुर गोर्खा एसोसिएसनका प्रत्येक इकाईले धर्ना एवम् जुलुस निकालेर विरोध प्रदर्शन गरे। खबर विधायक, सांसददेखि लिएर मुख्यमन्त्रीसम्म पुग्यो।
मुख्यमन्त्रीले भरतलाई चाँडै सकुशल घर ल्याउने आश्वासन दियो। भरत अपरहरण भएको समाचार राज्यको न्युज चैनल, न्यूज-पोर्टलदेखि लिएर सामाजिक सञ्जालभरि आगोसरि फैलियो। अन्डरग्राउन्डको यो अप्रिय कार्यप्रति सबैले आक्रोश देखाए, निन्दा गरे। भरतको अपहरणले गोर्खा समाजलाई एकजुट पार्न सफल भयो तर यहाँ कसैको ज्यान पनि सकुशल बचाउनु थियो। आक्रोशले मात्र होइन नीतिगत लडाइँ लड्न पनि आवश्यक थियो।
= = =
सरकारको नजरबाट अन्डरग्राउन्ड कहाँ लुक्न सक्छ ? किनभने अन्डरग्राउन्डलाई संरक्षण दिने त सरकारको शीर्ष पदमा बसेका हुन्छन्। राजनीतिको मञ्चमा यस्ता अन्डरग्राउन्डको भूमिका निकै दह्रो भएको हुन्छ। सरकारले आफ्नो औपचारिकता पालना गरेर आश्वासन दिँदै थियो तर भरत भने जङ्गलमा अन्तिम सास गन्दै बसेका थिए। भोलिपल्ट बिहानै बन्दुकधारीले भरतलाई अर्कै ठाउँ सारे। जनताको धर्नाले सरकारमाथि दिएको दबाबले अन्डरग्राउन्ड पनि दबाबमा आएको थियो। कतै फौजले हमला गरिहाल्यो भने भारी नुक्सान हुन्छ भन्ने डरले घण्टा घण्टामा ठाउँ फेर्ने बन्दुकधारीले योजना बनाएका थिए। बिहानको दस बजेपछि अर्को डाँडामा लगेर डेरा लगाए। सानो कटेरो थियो। दुई बन्दुकधारीले झोलाबाट पकाउने भाँडा र चामल निकाले। छेउछाउबाट दाउरा भेला पारे। कटेरोमा आगो सल्काए। भात पकाए। भरतलाई भोकको भन्दा घरको चिन्ताले सताइरहेको थियो। घरी आँखाबाट आँसु बग्थे घरी छोराछोरीको यादले एकैतिर टोलिरहन्थे।
बन्दुकधारीले भात पकाइ सकेर भरतलाई खान बोलायो।
‘म खाँदिनँ। म दाल-तरकारीबिना भात मात्र खान सक्दिनँ। मेरो घाटीमा केही महिना अगाडि अप्रेसन भएकाले मलाई निल्न गाह्रो पर्छ।’ भरतले डराउँदै उत्तर दिए।
भात पस्किने बन्दुकधारीले कर्कश आवाजमा भन्यो- ‘भात खा, न भा मर्छस् भोकले। तेरो गाउँले पैसा दिने कुरा गरेको छैन। पुलिसमा कम्प्लेन गरेको छ, मुख्यमन्त्रीलाई भनेको छ। यु विल डाय डेफिनेटली’ बन्दुकधारीको कुराले भरतलाई थप विश्वास भयो, मेरो मृत्यु निश्चित छ। उनले सोचे, सरकारले पैसा दिने होइन। यिनीहरूले पैसा पाएनन् भने मलाई मारेरै आफ्नो रिस मार्छन्। हे दैव! मेरो परिवारको जिम्मा अब तिमीलाई छोडेँ।
आशा मान्छेको अन्तिम आश हो। यही आशाको भरमा भरतले सोधे- ‘यसरी किन मलाई किडनेप गरेर राखेका, के पाउँछौ तिमीहरूले? मैले तिमीहरूको केही बिगारेको छैन। मेरा घरमा स-साना नानी छन् ? बिरामी बाबा-आमा छन्। प्लिज छोड्दे मलाई।’
भरतले यति के भनेका थिए एउटा बन्दुकधारीले केराको पत्तामा खाँदै गरेको भात राखेर भरततिर झम्टिएर आयो अनि चल्नीमा बन्दुक साधेर भन्यो- ‘बोल्छस्! गोली खान्छस्। तेरो मान्छेले हाम्रो दुइटा मान्छे फौजीमा लगो। दुइटा पिस्तोल लगो। मारदिन्छु नि गोली।’ बन्दुकधारी खितिति गर्दै हाँस्यो। ऊ हाँसेपछि अरू पनि गलल हाँसे निकै बेर।
अर्को बन्दुकधारीले यसलाई पछाडि तान्दै मणिपुरी भाषामा भन्यो- ‘छोड दे, बिचरा टिचर हो। मेरा दाजुका नानी यो पढाउने स्कुलमा पढ्छन्।’ भरतले मनै मने सोचे, दुष्टका बिचमा एकजतना त शिष्ट भएको मान्छे हुँदो रहेछ।
सबैले जर्रो भात पानी पिउँदै खाए। भरतले पानी खाएरै भोक टारे। उनका खुट्टा घट्नुभन्दा आफ्नो आकार बढाइरहेका थिए।
बन्दुकधारी फोनबाट कसैलाई कल गर्दैन थिए। पक्राउ खाने डर थियो। दिनमा दुई तीन जना बन्दुकधारी फेरिरहन्थे। धर्नाको स्थिति र सरकारले के भन्दै छ त्यसको खबर लिएर आउँथे। बेलुका खबर लिएर आउने बन्दुकधारीले जुस लिएर आएछ। भरतलाई दियो। उनले खाँदिन भन्ने ठाउँ थिएन। यसै पनि भरत भोकले लखतरान भएका थिए। बेलुकासम्म तीन ठाउँ सरिसकेका थिए। उनले मेलैसितगन्दा दुई दिनमा आठ डाँडा कटिसकेका थिए। भरतले आज पनि जङ्गलको झार-पातलाई नै ओछ्यान बनाएर सुते। सुत्नु अघि उनको घाटीको समस्यालाई देखेर भान्से बन्दुकधारीले भातको माड निकालेर दिएको थियो। त्यही खाएर सुते। निद्रा भने पटक्कै आएन। बाघ-भालु आउँछ भन्ने बेग्लै पिर। वरिपरि हेर्दा कहालिने जङ्गल थियो।
= = =
तेस्रो दिन अझ धर्ना-प्रदर्शनले गति समात्यो। गोर्खाली समाजका टोलीका टोली भएर सरकारको दैलोमा गएर गुहार लगाए। सांसद र मुख्यमन्त्रीलाई कोट्याइरहे। केन्द्रको गृहमन्त्रीसम्म कुरा पुर्याए। राज्य सरकारमाथि दबाब बनियो। सामाजिक सञ्जालमा भरत अपहरण भएको खबरले विराम लिने कुरा गरेन।
भरतले दुई रात जङ्गलमा बिताइसकेका थिए। उनको बाँच्ने आशा, परिवारसँग भेट्ने अभिलाषाको दियो जङ्गलको हावामा धिपधिप बल्दै थियो। तेस्रो दिन पनि चार ठाउँ सारे बन्दुकधारीले। भरतको शरीर ओइल्याएको पहेँलो सागझैँ हुन लागेको थियो। पेटमा अन्न नपसेको तीन दिन भएको थियो। जुस र भातको माडले चल्दै गरेको सास कहिलेसम्म चल्थ्यो होला र! भरतले बन्दुकधारीसँग सवाल-जवाफ गर्न छोडिसकेका थिए। बन्दुकधारीले जति सोध्थ्यो त्यति नै जवाफ दिन्थे। पुलिसले सर्च अप्रेसन चलाइरहेका थिए।
अपहरण भएको तेस्रो रात पनि आयो। भरत माड पिएर घाँसमा पल्टिए। आँसुपान गर्दै बाबाआमा, श्रीमती, छोराछोरी, भाइबहिनी, आफन्त, इष्टमित्रलाई सम्झिए। के थाहा ज्यान रहेन भने सम्झना गर्न पनि पाइँदैन। ऊसँग सम्झना गर्नु बाहेक अरू केही विकल्प थिएन। तीन दिनको अनिद्रा, भोको-पेट, अब त रिँगटा लाग्ला जस्तो पनि हुन थालेको थियो। दिनमा दस-पन्ध्र किलोमिटर जति दिनै हिँडेकाले खुट्टाको अवस्था असारमा फालीले खुट्टामा चोटैचोट लागेको गोरुको जस्तो भएको थियो। सोच्दासोच्दै भरत रातिको दुई बजेतिर भुसुक्क निदाए। तीन दिनको निद्राले उनलाई आकुल बनाएको थियो।
बिहान सूर्यले आफ्नो उपस्थिति देखायो। कब्रु-पहाड सूर्यको किरणले झलमल चम्कियो। भरतको अनुहारमा किरणको पहिलो आभा परेपछि उनका आँखा खोलिए। आँखा मिच्दै चारैतिर हेरे। एक जना बन्दुकधारी पनि थिएन। पहिले अचम्म लाग्यो अनि फेरि डर। राति पकाएको खानाको भाँडा त्यही लडिरहेका थिए। सात जना बन्दुकधारी किन यसरी एकाएक भागे? उनले अड्कल काट्न पनि सकेनन्। झट्टै दौडिएर भागौँ भने भरे बन्दुकधारीले कतैबाट बन्दुक पड्काएर ढलाउने हुन् कि! शङ्का, आशङ्कामा निकै बेर वरिपरिको चाल बुझे। कतै पनि बन्दुकधारी देखेनन्।
बिस्तारै-बिस्तौर पाइला चाल्न थाले। केही प्रतिक्रिया कतैबाट आएन। चार दिनको भोको शरीरमा जिउने आशाले अनायासै ऊर्जा भरिदियो। बिस्तारै पाइलाको चालमा गति दिए। केही प्रतिक्रिया आएन। पन्ध्र मिनट दौडिएपछि कमान्डुको जत्था उनले देखे। मन खुसीले अत्तालियो। कमान्डुले उनलाई आफ्नो सुरक्षा कवचभित्र राखेर अन्डरग्राउन्डको पता सोधे। भरतले औँल्याउँदै रात बिताएको ठाउँ देखाइदिए। दुई जना कमान्डुले भरतलाई लिए गाउँतिर लागे। अरू झन्डै पन्ध्र जना कमान्डु बन्दुकधारीलाई खोज्न उँभो लागे।
= = =
भरतलाई पुलिसथाना लगेर जिम्मा लगाए। पुलिसले आफ्नो औपचारिक कार्य सकेर मेडिकलकाे लागि लग्यो। मेडिकल गरेर घर पुग्दा झमक्क राति परेको थियो। अपहरण भएको समय र अहिले घर पुगेको समय एकै थियो। भरत घर पुगेको खुसीले परिवारमा रुवाबासी भयो। गाउँले थुँगे फूलका माला लिएर स्वागतका लागि बसेका थिए। बन्दुकधारीका मुखबाट भरत फर्केर घर आउनु युद्धको मैदान जितेर आउनु समान थियो। उनलाई एक जना वीर योद्धाको समान गाउँ समाजले स्वागत गर्यो।
केही घण्टापछि समाचारमा हेडलाइन आउन थाल्यो, अपहरण भएको भरत सुरक्षित घर आए। सरकारले त्वरित् कारबाहीमा कमान्डोले सर्च अप्रेसन गरेर भतरलाई सुरक्षित फिर्ता ल्याउन सफल भयो भने सर्च अप्रेसनमा दुई जना आतङ्कवादी पनि पक्राउ परे।
भोलिपल्ट भाइटिकाको दिन थियो। गाउँमा धूमधामसँग भाइटिकाको उत्सव मनाइयो। भरतको परिवारमा अझ आजको दिनको भाइटिका विशेष थियो।
बेलुकी खबर आयो, हिजो पक्राउ परेका दुई आतङ्कीले बयान दिएपछि अपहरणको मास्टर-माइन्ड लेलिन पक्राउमा परेको छ। उसलाई पुलिसले केस दर्ता गरेर झेलमा हालेका छन्।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१९ मंसिर २०८२, शुक्रबार 










