म कुनै कुनै सम्झनामा अल्झिँदा आफू पाँच कक्षा पढ्दै गरेको समयमा पुग्छु। जति बेला म यस्तै दश/एघार वर्षकी हुँदी हुँ। कक्षामा केटीहरू हामी चार /पाँच जना थियौँ। सबैभन्दा सानी म नै थिएँ। सबै यौवनको लिस्नो उक्लँदै गरेका थिए। कोही कोही त निक्कै उमेर खाका हुन् कि जस्ता पनि थिए।
त्यो समयमा आजको समयमा जस्तो सानैमा आफ्ना छोरा,छोरीहरूलाई पढाउन पाठशालाहरू थिएनन् त्यसैले पनि उमेरको अन्दाजीमा पाठशाला पठाउन सम्भव पनि थिएन। जो जतिसुकै वर्षका होस् वा जहाँ सहज हुन्छ त्यही समय र त्यहाँ नै पाठशालामा भर्ना गर्ने चलन थियो।
अँ एक जना हामीभन्दा निक्कै वयस्क साथी थिइन्। जो हट्टाकट्टा र खाइलाग्दी नै थिइन्। उनलाई देख्दा लाग्थ्यो उनी पन्ध्र वर्षकी हाराहारीमा थिइन् कि त्यो समय ? तर पनि हामीसँगै कक्षा पाँचमा पढ्थिन्। उमेरको बढ्दो हिसाबले उनी पढ्नमा अब्बल पनि थिइन्।
उनी हेर्दा पनि यसै मोटी र उनको छाती यति मोटो देखिन्थ्यो कि, मानौँ त्यो छाती बालुवाको सम्म्याइएको थुप्रो हो कि ? जस्तो लाग्थ्यो। म अचम्मित बनेर हेर्ने गर्थें। यिनको छातीको आकार किन यस्तो होला भनेर।
एकदिन उनी घोप्टिएर कक्षा कोठा बढार्दै थिइन् कसो कसो गर्दा माथिको सर्टको टाँक फुस्किन गएछ। अनायास हामी केहीको आँखा त्यहीँ ठोक्किन पुगेछ। उनले छातीमा लगभग एक मिटरको कपडा बेस्सरी बाँधेकी रहिछन्। म त अचम्मित भएँ। किन त्यसरी छातीमा कपडा बेह्रेकी होलिन् ? भन्ने प्रश्न मनमा अल्झियो। तर अलिक पर एक दुई जना खासाक खुसुक गर्दै गरेको देखेँ। (सुनेँ ) “अँ उसले त आफ्नो बढ्दै गरेको छाती देखिएला भनेर बाँधेकी नि ! बिचरी कति लाज हुँदो हो ? सबैभन्दा तरुनी पनि छे। ”
हुन पनि सबैभन्दा ढड्याक उनी नै थिइन्। उनको त्यस्तो अवस्था देखेपछि मलाई पनि मनमा एक प्रकारको डर उत्पन्न हुन थाल्यो। अहो ! मेरो पनि पछि त्यस्तै हुन्छ। त्यो समयमा के गर्ने होला ? कति लाज हुँदो हो ? म त अझ सानो डालकी छु। घरमा सबैको अगाडि कसरी देखा पर्नु होला ? यस्तै यस्तै भ्रमित कुराहरू मनमा खेली रहन्थे। कक्षामा सानी भएकी कारणले सबैले माया पनि गर्थे,जिस्क्याउँथे पनि।
कक्षा पाँच पढ्दा पढ्दै ममा पनि केही परिवर्तन देखा पर्न थालेछ। कक्षामा एउटी उटपट्याङ गर्ने साथी पनि थिई। ऊ पनि मभन्दा ठुली। सधैँ मलाई जिस्क्याइरहन्थी, चलाइरहन्थी, भनौँ आजभोलिको शब्दमा हो भने इरिटेड गरिरहन्थी। मलाई त्यो साथी त छेउमा नआए पनि हुन्थ्यो जस्तै लाग्थ्यो तर त्यसलाई के मज्जा आउँथ्यो कुन्नि ? मलाई घोचिरहन जिस्क्याइरहन पाउँदा मच्ची मच्ची जिस्क्याउँथी। कैले त रुनु न हाँस्नु बनाउँथी।
अहिले सम्झिँदा त्यसको आदत अलिक केटाको हो कि ? जस्तो पो लाग्छ। त्यसरी नै हामीले पाँच कक्षा पास गरेर छ कक्षामा पढ्न हाई स्कुलतर्फ लाग्यौँ। त्यो समयमा पाँचसम्म प्राइमरीमा पढ्नु पर्थ्यो। छ कक्षादेखि मात्र हाई स्कुल जाने चलन थियो।
एकदिन कक्षामा हामी बसिरहेका थियौँ। छ कक्षामा हामी नयाँ नै थियौँ। टिफिनको समय थियो। त्यो केटीले मेरो छेउमा आएर खुसुखुसु गरिरहेकी थिई। हाँस्दै के के भन्दै थिई। सुरुमा त मैले उसले बोलेको कुराको भेउ पाउन सकिनँ। तर पनि मलाई दिक्दारी भने लागिरहेको थियो। केही समय पश्चात् पो “- रातो मिठाई,रातो मिठाई “भन्दै हुरुक हुरुक हाँस्दै थिई। पहिला त कुरा बुझिनँ। भरै पो मेरो काखीमुनि हेर्दै हाँस्दा थाहा भो कि त्यसले त मेरो जामाको काखी अलिक ठुलो भएकोले सिधै छातीसम्म देखिँदो रहेछ। त्यहीँ हेरेर मलाई उल्लीबिल्ली पार्दै रहिछे।
हाई स्कुलमा नयाँ भर्ना भएकाले प्रायले स्कुलको ड्रेस (पोसाक ) नलाई आइरहेका थिए। म पनि त्यही अवस्थामा भएकीले त्यो जामाको काखी ठुलो भएर त्यसले रमिता हेर्दै मलाई उडाउने मौका पाएकी थिई।
त्यो दिनदेखि त झन् मलाई त्यसको अनुहार समेत हेर्न मन लाग्न छाड्यो। त्यो छेउमा आई कि डर लाग्न थाल्यो। मनमा एक प्रकारको खिन्नता जाग्न थाल्यो। कति नै ठुलो अपराध हुँदै छ कि जस्तो भान हुन थाल्यो। छोरी मान्छे हुनुको पीडा मनमा बल्झिँदै गयो। “रातो मिठाई, रातो मिठाई”भनेको आवाज कानमा गुञ्जिन थाल्यो। अनि त मैले स्कुलको ड्रेस सिलाई नसकुन्जेल स्कुल नजाने निर्णय गरेँ र कति दिनसम्म गइनँ पनि। अहो ! कति न ठुलो ममा हास्यास्पद कुरा देखियो अर्थात् नहुनु पर्ने कुरा देखियो भन्ने एक प्रकारको ग्लानि महसुस हुन थाल्यो। शरमको त सीमा नै रहेन। मर्नु भए झैँ भयो।
अनि पो बल्ल त्यो अतीतको कुरा सम्झिएँ ! त्यो हामीभन्दा अलिक उमेरले ठुली साथीले किन त्यति साह्रो आफ्नो छाती कसेकी रहिछ भनेर।
लाज भन्ने कुरा कहाँ लुकाउन सकिँदो रहेछ र ? त्यो समयमा एक प्रकारको लाज, अप्ठ्यारोपनले सधैँ मलाई सताइरहन थाल्यो। आफूलाई एक अपराधी झैँ लाग्न थाल्यो। लुकाउनको हैरानीले पराकाष्ठा नाघ्न थाल्यो। कसैको अगाडि सिधा भएर उभिन पनि डर मर्दो हुन थाल्यो।
त्यसरी नै त्यो यौवन समयले आफ्नो आयु लम्बाइरहेको थियो। अलि अलि गर्दै त्यो लाज शरम पनि बानीमा परिणत हुँदै गयो। स्कुल जाने क्रममा उमेरले पनि नेटो काट्दै गयो। एकपछि अर्को कक्षा उक्लँदै गइयो। कक्षा उक्लँदैपिच्छे नयाँ नयाँ साथीहरू भेटिन थाले।
उसरी नै कक्षा आठमा पढ्दा एउटी नयाँ साथी भेटिई। हामी असाध्यै मिल्न थाल्यौं। त्यो मेरै उमेरकी भए पनि मभन्दा खाइलाग्दी र अलिक ठुलो कद्की थिई।
यसो हेर्दा त्यसलाई मभन्दा निक्कै वर्ष खाकी हो जस्तो लागे पनि हामी एउटै उमेरका रहेछौँ। त्यसको त छाती पनि निक्कै ठुलठुला देखिन्थे।
मानौँ त्यो निक्कै वयस्क नै हो जस्तो लाग्ने।
एकदिन त्यसले एइ एकछिन बजार जाऊँ न ! भनी। मैले किन जानु ? भन्ने प्रश्न गर्दा एकदुई वटा चेस्टर (ब्रा ) किन्नु छ, जाऊँ न ! भनी।
म त छक्क परेँ। अरे ! यो उमेरमै त्यस्तो चिज लाउने ? कस्तो यसलाई लाज पनि नभाको होला ? मनमनै यस्तै प्रश्नहरू गर्दै म आफै भित्रभित्रै सर्माएँ। ऊ त निर्धक्क, निर्लज्जसँग जाऊँ भन्दै अघि अघि लागी। म पछि पछि लागेँ।
हामी एउटा पसलमा पस्यौँ। उसले दुई चार वटा चेस्टर (ब्रा )छानी। अझ बिना लाज छातीमा टँसाएर नाप्छे पनि, त्यही पसलेको अगाडि। म भने लाजले भुतुक्क हुन्छु तर ऊ निर्धक्कसाथ पैसाको मोलमोलाइ पनि गर्छे।
अन्तिममा दुई वटा ब्रा किनी उसले। पसलेले एउटा प्लास्टिकमा पोको पारेर दियो। अनि बाटोमा मैले सोधेँ। तैँले कैलेदेखि यस्तो लाउन थालेकी ? तँलाई यो लाउँदा अप्ठ्यारो र लाज भएन ? भनेर। उसले सहजै भनी खै !हौ मेरो त पहिलादेखि नै ठुलठुलो भएकाले मैले लाउन थालेको निक्कै भयो। यो नलाई त मलाई अप्ठ्यारो लाग्छ। हुन पनि उसको अवस्था त्यस्तै थियो। त्यो हिसाबले त म उसको अगाडि सानी किशोरी नै लाग्थेँ।
केही समयपछि मलाई पनि भयो जुन छोरी मान्छेलाई तेह्र /चौध वर्ष पुगे पछि हुन्छ। मलाई त पत्तो पनि थिएन त्यस्तो हुन्छ भनेर। मैले त्यो दिन रातो पेन्ट लगाएकी थिएँ। काठको पिरामा बसेर भात खाइरहेकी थिएँ। वल्लो पल्लो छेउमा अरू दाजु दिदीहरू पनि पिरामा बसेर भात खाइरहेका थिए। ठिक्क मेरो अगाडि बसेर दिदीले खाना थप्ने काम गरिरहनु भएको थियो।
एक्कासि दिदीले मलाई इसारा गरेर उठ उठ भन्नु भयो। म अलमल्लमा परेँ। फेरि तल इसारा गर्नु भो। मैले वहाँको इसारा बुझिनँ। जुरुक्क उठेर पेन्टमा हेरेकी त रातो धब्बा रहेछ। म तिन छक्क भएँ के भयो भनेर। भरै दिदीले अर्थ्याउनु भो। अहिले म सम्झिन्छु त्यो समयमा बाह्र तेह्र वर्षको हुँदा पनि केही थाहा हुन्न थ्यो। झन् मलाई त केटीहरूलाई त्यस्तो हुन्छ भनेर थाहा पनि थिएन।
यसरी हरेक महिना यो प्रक्रिया सुरु भयो। सुरु सुरुमा त स्कुल जान पनि कस्तो शरम लाग्थ्यो। साथीहरूले थाहा पाउँछन् कि ? भनेर मन त्राहि त्राहि हुन्थ्यो। कति पटक त आफूलाई सम्हाल्न, जोगाउन पनि गाह्रो परेको थियो मलाई। अरूभन्दा पनि कसैले थाहा पाउला कि ?भन्ने चिन्ताले झन् आक्रान्त हुन्थेँ म।
अहिले सम्झिँदा यो त नारीहरूको जीवनको एक प्रक्रिया रहेछ जो स्वास्थ्य र जय जन्मसँग सम्बन्धित विषय रहेछ।
उ बेला यस्तो यौनका कुराहरू सम्झाउने, बुझाउने वातावरण र कुनै माध्यम नभएर होला। त्यो समयका हामी सबै अनजानमै थिएछौँ।
यसरी आफ्नो शरीरका अङ्ग प्रत्यङ्गहरूमा परिवर्तन हुँदै गए। आफूलाई पनि आफूमा केही परिवर्तन भएको महसुस हुन थाल्यो। लजालुपन,अप्ठ्यारोपनले आफूलाई बसमा राख्न थाल्यो। तर साँच्चै भन्नु पर्दा मैले त्यो ब्रा भन्ने कुरा कहिले र कहाँदेखि प्रयोग गर्न थालेँ त्यसको हेक्का भने मलाई थाहा छैन।
हो म किन मेरो अतीतमा यसरी डुब्न पुगेँ भने मैले एउटी पन्ध्र /सोह्र वर्षकी केटीलाई घरमा यसो सघाउपघाउ गर्न राखेकी थिएँ। एकदिन त्यसले आफ्नो लुगाहरू धोएर सुकाउँदै थिई। त्यहाँ दुई वटा स्पन्जका गोलाकार आकारका वस्तुहरू पनि थिए। मैले पहिले त कुरै बुझिनँ। मिलाएर हेरेँ मात्र मलाई अचम्म पनि लाग्यो।
भरै मैले सोधेँ उसलाई , “नानी यी दुई वटा चाहिँ के हुन् नि ?”
उसले निर्धक्कसँग भनी, “आन्टी यो छाती सानो हुनेहरूले लाउने हो ब्राभित्र।”
म त छक्क परेँ। सम्झिएँ आफू संसारको त्यत्तिका ठाउँमा टेक्न पुगियो। थुइक्क ! यति पनि थाहा नहुनु ? हो रैछ मेरो समय पनि। ढुङ्गे युगमै बाँचिएछ। यस्ता साधारण कुरा पनि थाहा नभएर हिजो अस्तिको चिचिलाले भन्नु पर्ने। अझै उसले त हाँस्दै भनी निर्धक्कसँग बिना लाज नै, “कहाँ आन्टी आजकल त पछाडि सानो हुनेले पनि पो लाउने स्पन्जको पाइन्छ त !”भन्दै पछाडिको भाग देखाउँदै भनी।
म रनभुल्लमा परेर आफ्नो अतीतमा अलमलिन पुगेछु। त्यो केटीले चिटिक्क परेर मेरो अगाडि उभिएर, “आन्टी म एकछिन बजार पुगेर आउँछु है।” भन्दा पो झसङ्ग भएँ। मैले उसलाई राम्ररी नियालेँ। उसका छाती पनि निक्कै पुष्ट देखिएका थिए। ऊ त्यति मोटीघाटी त होइन तर उसले त्यही स्पन्जको माध्यमले आफ्नो जवानीलाई अझ तरुण बनाउँदी रैछे। बल्ल बुढेसकालमा पो बुझ्दै छु यस्ता यस्ता रहस्यहरू त ! भनेर म मनमनै हाँस्दै आफ्नो कामतिर लागेँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।