आहा ! त्यो रातो गलैँचामा कस्तो मोहनी थियो कुन्नि ? अलि-अलि खुइलिएको पुरानो, हल्का बुट्टाहरू भएको रातो गलैँचा मैयादेवीका लागि मुटुको टुक्राजस्तै थियो ।

कुखुराले आफ्नो चल्लालाई छोपेझैँ मैयादेवी पनि त्यो गलैँचा निकालेर हमेसा आफ्नै पलङमा बिछ्याउँथिन् ।

खै किन हो, आफ्नो कोठाको भुइँमा पनि पलङबाट गलैँचा निकालेर बिछ्याउने इच्छा भएन उनलाई ।

गाउँ छाडेर सहर आउँदा पनि त्यो गलैँचालाई हमेसा आफ्नै बिछ्यौनामुनि राख्थिन् । गजबै थियो गलैँचाप्रति उनको आशक्ति र मोह ।

सहरको डेरामा बस्दा पनि गलैँचालाई पची-पची गर्थिन् उनले । जसरी भए पनि आफ्नै बिछ्यौनामुनि गलैँचा बिछ्याउन बिर्सन्न थी उनी अरू कुरा बिर्से पनि । उनका यी सबै क्रियाकलापप्रति छोरा-बुहारीलाई कुनै सरोकार थिएन । भनौँ वास्ता थिएन ।

सहरमा आएर केही वर्षपश्चात् घर बनाएर सरेपछि बुहारी शोभाले कोठा सजाउने र मिलाउने क्रममा सासूको पलङमा राडी बिछ्याएर त्यो रातो गलैँचा छोराको कोठामा बिछ्याएकी थिइन् निःशङ्क भावमा ।

सासू मैयादेवीको मन्दिरबाट फर्केपछि नातिको कोठामा आफ्नै गलैँचा बिछ्याएको देखेर उनको रङ्ग नै उड्यो, मानौँ कसैले उनको प्यारो वस्तु खोसेको छ । उनी हुर्रिँदै नातिको कोठामा गलैँचा तान्न गइन् । तान्दातान्दै झसङ्ग भइन् र त्यहीँ मिलाइन् फेरि गलैँचालाई । नातिको माया र छोरा-बुहारीको डरले उनको रिस सेलायो । तत्कालै फेरि बुहारीकहाँ भन्न गइन्, तर भान्साकै ढोकामा मूर्तिझैँ उभिइन् — न त बोली फुट्छ, न त शरीरका अङ्गहरू नै क्रियाशील हुन्छन्, त न उनको आत्मा छ न त शरीर छ, न त मुख र मनै छ न त उनको हैकम नै छ ।

त्यही ढोकामा उनी पग्लिरहिन् मैनबत्तीझैँ ।

“के भयो आमा ? किन टोलाएर हेर्नुभएको ? आज छोराको कोठामा तपाईंको पलङको गलैँचा राखिदिएँ । नयाँ किन्न पनि सकिएन । पलङमा राडी ओछ्याइदिएकी छु ।”

मैयादेवी केही बोलिनन्, चुँडिएको धागोझैँ लत्रिँदै आइन् कोठामा । पलङ पनि रित्तो-रित्तोजस्तो, कोही नभएको जस्तो, कोठाबाट कोही गएजस्तो, कसैसँग बिछोड भएजस्तो, चारैतिर शून्यता फैलिएको जस्तो लाग्यो उनलाई ।

उनको एकाग्रता त्यो रातो गलैँचामा यस्तरी केन्द्रित भयो कि उनले गलैँचाबाहेक अरू केही सम्झन सकिनन् । चारैतिर गलैँचा- गलैँचा ।

उनी फेरि हस्याङफस्याङ गर्दै गइन् नातिको कोठामा । उनले देखिन्— नातिको कोठा रातो गलैँचाले उज्यालो देखिएको छ, तर उनको मन र उनको कोठा उज्यालो छैन । उनलाई लाग्यो, गलैँचा स्वयम् पनि उनको बिछोडमा रोइरहेको छ । गलैँचा पनि मैयादेवीकै बिछ्यौनामुनि बस्न चाहन्छ, उनकै तातो स्पर्श चाहन्छ । उनले फेरि गलैँचालाई तान्न खोजिन्, तर उनी चेतनाशून्य भइन् । लाग्यो, उनको सारा शक्ति निःशेष भएको छ । जुरुक्क उठेर गलैँचालाई हेरिन् माथिदेखि तलसम्म । सोचिन्— नातिका साथीहरूका, छोरा-बुहारीका र नातिका कठोर पाइलाहरूले कति रगड्ने हुन् गलैँचालाई । कति फोहोर गर्नेछन् । जुठा खानेकुराहरू कति खस्ने हुन् । कति जथाभाबी कुल्चने छन् । यी कुराहरू सम्झँदा उनको मन धरक्कै भयो । न त उठाएर गलैँचालाई आफ्नो कोठामा ल्याउने आँट गरिन्, न त नातिको कोठामा बिछ्याएको देखेर खुसी नै भइन् । सोचिन् उनले— यो गलैँचा उठाएर लैजानु उनको मूर्खता र स्वार्थीपन हुनेछ ।  छोरा, बुहारी, नाति सबै रिसाउनेछन् उनीसँग । कति छुच्ची आमा, कति छुच्ची सासू, कति छुच्ची हजुरआमा भनेर सबैको मनमा गाँठो कसिनेछ । नकारात्मक भावना सबैको मनभित्र फैलिनेछ उनीप्रति ।

उनी चुपचाप कोठामा फर्किन् । जे भए पनि सासूको पलङमा राखेको गलैँचा झिक्न बुहारीले एक वचन सोध्नुपर्ने हो नि । कति सोमत नभएकी बुहारी ! एक पटक झनक्क रिस उठ्यो बुहारीसँग । मनमा आगो बलिरह्यो । आगो ओकल्न सकिनन् बुहारीसमक्ष आफ्नै पीडाको एकान्त गुफामा बसिरहिन् उनी ।

एक मनले सोचिन्— के भयो त नि ! आफ्नै नातिको कोठामा सजिएको छ । बाहिर त होइन नि । मन कति सानो गरेर दुखाउनुपर्यो र ? कोठा र पलङ मिलाउने सधैँ बुहारीले नै हो । किन उनीप्रति द्वेष राख्ने ? किन रिसाउने ?

सँभाल्न खोजिन् आफूलाई अनेक तरहले, अनेक प्रकारले । तर मन काँडेघारीमै जान्थ्यो, अँध्यारो बाटोमै हुत्तिन्थ्यो ।

जतिसुकै चित्त बुझाउन खोजे पनि उनले आफूलाई सन्तोष र समझदारीको चौतारीमा पुर्याउन सकिनन् । भीर-भीरमै मनलाई अल्झाइरहिन्, असन्तोषको जालो बुनिरहिन् ।

गलैँचाप्रतिको उनको प्रगाढ माया चुम्बकझैँ टाँसिएको छ उनको  मनभरि । उनको जीवनका लागि हीराभन्दा मूल्यवान् छ त्यो गलैँचा । गलैँचामाथि कसैको पाइलाले कुल्चिएको कल्पनै गर्न सक्दिनन् उनी । जब सबका पाइलाहरूले गलैँचामाथि कुल्चेको कल्पना गर्छिन् तब मन पागल घोडाझैँ दगुर्थ्यो रन्थनिएर । गलैँचामा उनको प्राण नै अल्झेको छ ।

उनलाई लाग्छ, गलैँचाप्रतिको उनको सङ्कीर्ण सोचाइ गलत हो, तर ती सब कुराहरू जान्दाजान्दै पनि उनको आशक्तिपूर्ण सोचाइका लहरहरू विसर्जित भएनन् ।

आफ्नो रहस्यमय पीडाभित्र डुब्न थालिन् उनी । गलैँचाको ममता र आशक्तिमा भावनात्मक र मानसिक रूपमा उनी यति टाँसिएकी थिइन्, मानौँ कुनै जुको उनको शरीरको अङ्गमा टाँसिएको छ, जसलाई फ्याँक्न उनलाई कठिन भइरहेछ ।

जति सकारात्मक सोचलाई फूलको थुँगाझैँ टिपेर मनको गमलामा सजाउन खोजे पनि असहिष्णुताको कीराले फूलका पात्रलाई खाइहाल्थ्यो ।

हुन पनि पाँच दशकदेखि त्यो गलैँचासँग उनको गहिरो र आत्मीय सम्बन्ध रहेको छ । त्यो गलैँचामाथि आजसम्म अविच्छिन्न रूपले सुत्दै आएकी छन् । उनको लोग्नेले आफ्नै कमाइबाट पहिलो पल्ट बजारबाट त्यो गलैँचा संयुक्त परिवार भएको घरमा ल्याउँदा सबै जना झुम्मिएर त्यो सुन्दर गलैँचामाथि नबसी प्रदर्शनी सामानहरू हेरेझैँ उठेर हेरेका थिए, हातले स्पर्श गरेका थिए ।

मैयादेवीको लोग्नेले आफ्नै कोठामा गलैँचा बिछ्याएपछि त्यसमाथि मैयादेवीले नयाँ तन्नाले छोपेर जतन गरेकी थिइन् ।

त्यो रात उनीहरूले त्यो नयाँ, सुन्दर, तर भुवादार गलैँचामाथि सुतेर जीवनको शाश्वत आनन्द-उत्सव मनाएका थिए  ।

त्यो रात उनीहरूका लागि अविस्मरणीय र रमाइलो थियो । केही समयपछि लोग्नेको बस-दुर्घटनामा मृत्यु भएपछि गर्भे छोरालाई अत्यन्तै दुखकष्टले हुर्काएकी थिइन् मैयादेवीले । लोग्नेको मृत्युपछि हमेसा उनले गलैँचालाई आफ्नै बिछ्यौनामुनि राखिन्, जुन आजपर्यन्त जारी नै थियो ।

आज अचानक त्यो गलैँचा आफ्नो पलङबाट झिकेकोमा उनलाई नराम्रो लाग्नु स्वाभाविकै थियो । किनभने गलैँचासँग उनको अन्तरङ्ग सम्बन्ध गाँसिएको छ ।

बुहारीले भात खान बोलाउँदा पनि टाउको दुखेको बहाना गरेर पलङमा पल्टिन्, तर उनलाई लाग्यो- उनको आधार स्तम्भ नै भत्किएको छ, कता-कता पातालमा झर्दै गएको खाली-खाली अनुभूति भयो उनलाई । कसैले साथ छोडेजस्तो, कसैले हात छोडेजस्तो भयो उनलाई ।

केही दिनसम्म उनको अनुहारबाट नीरसता र शून्यताको पर्दा हट्न सकेन ।

छोरा, बुहारी र नातिले मैयादेवीको सन्चो-बिसन्चोबारे सोधिरहे ।  उनले टाउको दुखेको भनेर झूटो जवाफ दिइरहिन् । भन्न त मन लाग्थ्यो, मुखभरि जवाफ आउँथ्यो, “मेरो गलैँचा मेरै पलङमा राखिदेऊ, मलाई सन्च हुन्छ ।”

यसरी छोरा, बुहारी, नातिको इच्छाविरुद्ध कठोर भएर केही भन्न सकिनन् । उनको मुखभरि आएको जवाफ त्यसै हराएर जान्थ्यो, मानौँ पानीमा फिँज उठ्दै-हराउँदै छ ।

मुखले केही नभने पनि उनको मनभरि उठिरहेको दहन भने साम्य कहाँ हुनु ? नातिको कोठामा उनका साथीहरू पस्दा उनका कान र आँखा चनाखा हुन्थे, कसैको पदचाप सुन्दा पनि डराउँथिन् उनी । कसैले गलैँचामा कुल्चे कि ? कसैले जुत्ता लगे कि ? उनलाई लाग्यो— अब गलैँचाको स्याहारसम्भार हुनेछैन । चाँडै थोत्रिनेछ, पुरानो हुनेछ, मैलो हुनेछ । नातिका साथीहरू बसेको ठाउँमा हर्न जान खोज्थिन् तर आँट हुन्न थ्यो । छटपटीमै सहेर कोठामै बस्थिन् उनी ।

नाति र उसका साथीहरू गएपछि नातिको कोठामा आएर आफूले पनि नटेकी आँसु झार्दै हेरिरहन्थिन् गलैँचालाई । उनले जे सोचेकी थिइन् त्यस्तै भयो एकदिन ।

नातिका साथीहरू चार-पाँच जना ग्वारग्वारती जुत्तैसँग नातिको कोठा पसेँ । जुत्तैसँग सोफा, गलैँचा र पलङमा बसेर गिटार बजाउन थाले । मैयादेवीको तनमन जल्न थाल्यो । असह्य दृष्टिले नातिको कोठामा हेर्थिन् मात्र । एक मन त लाग्यो, उठेर भन्न जाऊँ- “जुत्ता फुकालेर बस ।” फेरि सोचिन्— भन्लान् सबैले कति छुच्ची बूढी भनेर उनको मन कहाँ शान्त र स्थिर हुनु ? लाग्यो — उनकै मुटुमाथि र लोग्नेको छातीमाथि टेकेका छन् चरप-चरप गर्दै । आफ्नो प्यारो गलैँचाको त्यस्तो अकल्पनीय बिजोग देखेर मैयादेवीलाई कहाली लागेर आयो । न त रुन सकिन्, न त कराउन सकिन्, न त त्यहाँ गएर हस्तक्षेप नै गर्न सकिन् ।

आफ्नो कोठामा ओहोरदोहोर गरिरहिन्, मानौँ  हुरीले कुनै पातलाई हावामा उडाइरहेछ ।

बुहारीले नाति र उनका साथीहरूलाई नास्ता खुवाएपछि उनीहरू बाहिर गए ।

खै कुन शक्तिको स्रोत उनको मनमा भरिएर आयो, उनी हत्त न पत्त नातिको कोठामा आएर गलैँचालाई बेरेर आफैँले बोकेर कोठामा ल्याइन् । यतिखेर उनले सबैलाई बिर्सिन् । सारा सङ्कोच, लाज, शिष्टाचार र डर सबै हराएर गए उनको मनमस्तिष्कबाट । सम्झिरहिन् उनले गलैँचालाई मात्र, मात्र गलैँचालाई । उनलाई लाग्यो, मानौँ कुनै गुमाएको बहुमूल्य वस्तु फेरि उनले प्राप्त गरेकी छन् ।

सासूले गलैँचा उठाए ल्याएको देखेर शोभाले छक्क पर्दै भनिन्, “किन आमा कोठामा बिछ्याएको गलैँचा उठाएर ल्याउनुभएको ? छोराको कोठामा राम्रो भएको थियो । अब के बिछ्याउने ? अर्को गलैँचा पनि किन्न सकिन्न । बाबुको कोठामै बिछ्याउन दिए हुन्थ्यो नि ।” शोभा आफ्नै सुरमा बोलिरहिन् ।

बुहारीको यथार्थ कुरालाई उनले सुनिन् कि सुनिनन् कुन्नि ! उनले पनि रुन्चे र दृढ स्वरमा भनिन् आफ्नै सुरमा, “यो गलैँचा तिम्रो ससुराको चिनो हो । पचास वर्षदेखि म यो गलैँचालाई आफ्नै पलङमा राखेर सुत्दै आएकी छु । खै किन हो, यो गलैँचाले सदा तिम्रै ससुराको सम्झना गराउँछ । यो गलैँचाबिना म निदाउन सक्दिनँ । अरू बिछ्यौना निकाल, मेरो चित्त दुख्दैन, यो गलैँचा निकाल्दा मेरो मुटु दुख्छ, अझ कसैले टेक्दा झन् मुटु नै चुँडिएला जस्तो हुन्छ । यो गलैँचा मेरो पलङबाट कहिल्यै ननिकाल्नू । म बाँचुन्जेल यो गलैँचा मेरै पलङमा होस् ।”

गलैँचासँगको सासूको भावनात्मक सम्बन्धबारे रामकहानी सुनेर शोभाको मनभित्र ग्लानि भएर आयो । केही नबोली बढिरहेको ग्लानिबाट बच्न चुपचाप आफ्नो कोठाभित्र पसिन् ।