बुढ्यौलीले अनुहार चाउरिन थालेको छ । लामो यात्राको थकित पथिक झैँ बेला बेलामा आफ्नो नियति सम्झिँदै खुइय सुस्केरा हाल्छन् श्यामलाल ! “जीवन केवल वसन्त होइन तुषारे शिशिर पनि हो, फूलको कालिन होइन तर सङ्घर्ष पनि हो” उहिले स्कुले जीवनमा पढेको कुरा सम्झिन्छन् उनी ।

त्यही भएर  श्यामलालको  मनमा उत्साह घटेको छैन होला । उहिले प्रशस्त उकाली ओराली गरेका खुट्टा बेला बेलामा सर्नै नमाने पनि बिहानदेखि बेलुकीसम्म दौडधुपमै व्यस्त भई जीवनको अन्तिम दिनसम्म पनि सङ्घर्षमयी जीवन बिताउने कुरामा दृढ सङ्कल्पित छन् उनी । मानव जीवन चोला पनि कस्तो अचम्म पहिले जन्मन सङ्घर्ष गर्नु पर्ने आमाको गर्भबाट धर्तीमा पर्दारोपण गर्दा सङ्घर्ष, त्यसपछि खानाको लागि सङ्घर्ष मानौँ सङ्घर्षको अर्को नाम जिन्दगी हो श्यामलाल दार्शनिक पारामा सोचमग्न हुन्छन् ।  तर त्यो यथार्थ छोरालाई किन सिकाउन सकेन होला किन स्वावलम्बी बन्ने शिक्षा दिलाउन सकेन होला उनी चिन्तित हुन्छन् ।

“मैले के गरिन र छोरा छोरीलाई गतिलो शिक्षा दिन आफूले नलगाई नखाई पनि छोरोलाई राम्रो स्कुलमा पढाएकै हो तर उसले कामको महत्त्व बुझ्नै सकेन” श्यामलाल जीवन सङ्गिनी निमासँग फतफताए ।

“हरेक कुराको महत्त्व शून्यबाट हुन्छ शून्य नै प्रगतिको प्रारम्भ हो उन्नतिको प्रस्थान बिन्दु, सङ्घर्षको सुरुवात पनि यही हो ।  त्यही भएर त होला पश्चिमा दार्शनिक पाइथागोरसले गणित नै सब थोक हो भन्ने कुरा बताएको ।  तर हाम्रो छोरोलाई एकै चोटि गाडी चाहिने ठुलो व्यापार चाहिने, सानो काम त देख्दै नदेख्ने” उनले थपे ।

चार चार सन्तान हुर्काउन बढाउन र उचित शिक्षा दिन कम्ती सकस झेलेनन् उनले ।  “मेरा छोराछोरीले जस्तो अवसर मैले पाएको भए मेरो जीवन भिन्नै हुन्थ्यो होला” श्यामलाल आफ्नो पुरानो स्मृतिमा फर्किए । पहाडको बसाइ निरक्षर टुहुरा “बा” खेतीपातीका लागि पर्याप्त जग्गाजमिन थिएन । अर्काको अधिया बनाएर परिवार पाल्नु पर्ने बाध्यता, बिहान खेत जोतेर दुई घण्टाको उकाली चढेर विद्यालयको आँगन टेक्नु पर्ने विवशताका बिच बेलुका विद्यालयबाट घर फर्किंदा भोकले आकुल व्याकुल हुनुपर्थ्यो ।

घरमा पुगेर आमाले राखिदिएको चिसो भात खाई पुनः खेतमा पानी लगाउन कुदिहाल्नु पर्थ्यो । यसरी नै सङ्घर्ष गरी हाइस्कुलको शिक्षा पूरा गरेको थिएँ मैले । त्यसपछि कलेज पढ्न पनि कम्ती सङ्घर्ष गरेको थिइन मैले । गाउँका साहुसँग पन्ध्र सय कर्जा लिएर चार दिन लगाएर राजधानी काठमाडौँ  पुगेको थिएँ सुदूरको गाउँबाट । “पन्ध्र सयले छ महिना त धान्यो पुनः मेरा सङ्घर्षका दिन सुरु भए बिरानो सहर सहयोगी हात कोही थिएनन् ।  कैयौँ रात रायोको सागमा झोल हालेर पनि खाइयो अनि राजधानीकै एक स्कुलमा पढाउँदै स्नातकोत्तरसम्म अध्ययन गरेँ ।

श्यामलालले आफ्नो सङ्घर्षको कथा सम्झिए ।

स्नातकोत्तर अध्ययन पश्चात् गाउँमै शिक्षण थालेको मैले, मेरो जिन्दगीको शब्दकोशमा आराम विश्राम भन्ने शब्दावली नै थिएन । एक्लैको कमाइले चार चार छोरा छोरी र परिवारको भरण पोषण तथा शिक्षा जुटाउन कम्ती सकसपूर्ण थिएन तर जे भए पनि म सफल भएँ छोरा छोरीलाई राम्रै शिक्षा दिलाएँ ।

“के साँच्चै मेरो प्रारब्ध नै त्यस्तै थियो कि जसले गर्दा मैले सङ्घर्षमय जीवनबाट कहिले विश्राम पाएन । त्यति विधि दुख गरेर हुर्काएका छोराछोरी बेरोजगार छन् । अझै पनि दिनभर काम नगर्दा चुलोमा आगो बल्दैन । यी लक्का जवान छोराछोरी पनि के खालका बुवाको दुःख बुझ्न नै नसक्ने” । उनी फतफताइरहे ।

आफ्नो जीवनको सारा कमाइ शिक्षामा लगाएका श्यामलाल कुनै बेला त देशको शिक्षा प्रणालीलाई नै दोष करार गर्छन् । किन हाम्रो शिक्षा प्रणालीलाई सीपसँग जोड्न नसकेको होला ? किन सिपलाई श्रमसँग र श्रमलाई रोजगारीसँग नजोडिएको होला ? एउटा न्यून मध्यम वर्गीय परिवार जसले आफ्नो सम्पूर्ण श्रीसम्पत्ति  सन्तानको शिक्षामा भिक्षावर गर्दिन्छन् तर त्यसको उत्पादन अनुत्पादक हुँदा त्यो परिवारको कस्तो हविगत हुन्छ होला  उनी नीतिकर्तासँग प्रश्न तेर्साउन पुग्छन् ।

अनि राज्य संयन्त्रले आवश्यक जनशक्तिको माग प्रक्षेपण गरी सोहीअनुसारको शिक्षा प्रणाली अवलम्बन नगर्दाको परिणाम हो भनी ठान्दछन् वर्तमान बेरोजगारी ।सामाजिक व्यवहार हेरेर बनाइएका उखान पनि आफ्नो जीवनमा कति मिलेका श्यामलाल गम्न थाल्छन् “बाह्र छोरा तेह्र नाति बुढाको काम्लो काँधै माथि”  । यो सांसारिक माया पनि विचित्रको हुँदो रहेछ छोराछोरीको चिन्ताले कहिले नछोड्ने पहिले पाउनुको चिन्ता अनि हुर्काउन र पढाउन त्यसपछि बिहे अनि तीनको सुखमय जीवनको । त्यसैले त होला मनुष्यको दशौँ गृह सन्तान भनिएको अन्य सबै गृहहरू जन्म कुण्डलीमा राम्रा हुँदा पनि दशौँ गृह बिग्रिए जीवन नै तहसनहस हुने र जहिले पनि तिनकै चिन्ताले सताइरहने । यति खेर भने श्यामलालको अनुहारमा हल्का मुस्कान देखियो ।

हिन्दु धर्ममा मनुष्य चोलालाई चार भागमा बाँडिएको छ ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ तथा संन्यास। मानिसको आयुलाई सय वर्ष मानेर प्रत्येक आश्रम पच्चिस वर्षको मानिएको छ  जसअनुसार उमेरले करिब चार बिसको नजिक रहेका श्यामलालको संन्यास आश्रमको बेला भैसकेको छ । मोक्ष प्राप्तिका लागि साधना गर्नु पर्ने बेलामा घर परिवारको चिन्ताबाट मुक्त भई ईश्वरको आराधनामा लिन हुनुपर्ने बेलामा म कहाँ फस्दै छु धार्मिक कुरा सम्झेर श्यामलाल मन कुँडाउँछन् ।

तर भोलि यिनीहरू के गर्लान् लगत्तै उनी आफ्ना सन्तान सम्झन पुग्छन् अनि यिनीहरूको व्यवस्था मिलाएर मात्र आँखा चिम्लिने प्रण लिन्छन् ।