
एयरपोर्टको मूल प्रवेशद्वार अगाडि ७० वर्षे वृद्धाका झिना आशा अनि पटक पटक निराशाका बादल मडारिएका ती नयनहरू सोझिँदै छन्, लस्कर लागेर आएका ट्याक्सीतिर र सुटकेस गुडाउँदै आएका प्रौढहरूतिर ।
घरी सुनौला आशाका किरणसहित उज्यालो मुहार बनाउँदै आफ्नै मान्छे भेट भएसरह पैतालाहरू गेट तिरै सोझिन्छन् । फेरि रित्तै फर्कनुपर्दाका अनि प्रतीक्षाका पलपललाई निचोर्दै आकाशतिर नियाल्दै, औँला भाँच्दै गर्दा अगाडि देखिएको घनले प्राप्त भएको निराशाका कारण सुस्केरा हाली दुई थोपा आँसु बगाई सडकको पेटीमा थचक्क बसी सोच्दी हुन् “आज आठ वर्ष तीन महिना र दुई दिन भइसकेछ मेरो ठुले विदेश गाको । जाने बेलामा मलाई भनेको थियो, महिनै पिच्छे पैसा पठाउँछु, दुःख नगरी बसेर खाए है आमै । अहिले सानो झोला बोकेर गए पनि आउँदा अलैँचीभरि नयाँ लुगा अनि मोबाइल पनि ल्याइदिन्छु ।” भन्दै निस्केको थियो ।
“दुःखको सागरले कहिल्यै छोडेन । रातभरि ढिकी जाँतो गरेँ, अहिले पनि २ घडी रात नसुती ढिकी जाँतो नै गरिराइछु । रात बितेको पत्तै हुँदैन । जाँतोमा मकै दलेर भैँसीका लागि कुँडो पकाउँदा र आरीभरि कोदो पिसेर सबै केटाकेटीलाई ढिँडो र रोटो खान पुग्ने तुल्याउँदा ।” उनले आफ्ना बेथाहरू पटक पटक मसँग कहन्थिन् ।
भैँसीले दुई माना दूध दिन्छ, कालो चिया खाएर भए पनि बजारमा लएर बेच्छु । यिनैका पढाइका लागि ।
लोग्नेले अर्की लिएर मधेसतिर पसे त्यसपछि फर्केनन् । साना लालाबाला स्याहारी नसक्नु बनाएर छोडेर गए । सम्पत्तिको नाममा चार पाँचोटा पाटा बारी, कोदो मकै मात्र फल्ने ।
“दिनभरि निमेक गर्यो र यिनै केटाकेटीको लागि कहिलेकाहीँ यसो मुख फेर्न भए नि दुई-चार माना चामल किन्यो । चाहिएको कापी, कलम, किताब किन्यो, सकियो । यसो दुख बिमार पर्दा दबाई किन्न त पैसै पुग्दैन । नेपाल गयो कपाल सँगै बर्मा गयो कर्मसँगै भन्छन् जिन्दगीमा दुःखले कहिल्यै नछोड्नी भयो । ठुले गएको रिन पनि कहिले तिर्नी ? साहुले ब्याज चुल्याएर तेब्बर बनाइसके । अब त अलिअलि भएका बारीका पाटा पनि तिनैले लेलान् जस्तो छ ।” यस्तै यस्तै भनी कहिलेकाहीँ भेट हुँदा पारी ठुल्दाइकी आमाले आफ्ना बेथाहरू सुनाउँथिन् । सायद आफ्ना कथाहरू सुनाउँदा उनको मन पनि हलुङ्गो हुँदो हो ।
वल्लो पल्लो गाउँको बिचमा कमेरे खोलाले छुट्याउँथ्यो । त्यही खोलाको कुनामा मिठो चिसोपानीको मुहान । दुवैतिरका गाउँले गर्मी महिनामा खानेपानी लिन जाँदा भेट हुन पाइन्थ्यो । दुवै गाउँलेको दुःखसुख साट्ने माध्यम त्यही खानेपानीको मुहान थियो । कहिलेकाहीँ पानी लिन जाँदा उनै धनसरासँग भेट हुन्थ्यो । उनको अनुहार कहिल्यै उज्यालो हुँदैनथ्यो । बिचरा धनसरा सङ्घर्ष गर्दागर्दै जीवनको पौने शतक बिताइसकेकी थिइन् । “सुख र खुसी भन्ने कुरा त मेरो जीवनमा कहिल्यै लेखेको रहेनछ ।” एक दिन उनले हाम्रै काकाको मेलामा धान काट्न आउँदा भनेकी थिइन् । हुन पनि उनको जीवनका पथहरू चारैतिरबाट काँडा नै काँडाले घेरिएका थिए ।
“कान्छो छोरो बिरामी छ । गाउँतिरका अस्पतालहरूमा जँचाइसकेँ । डाक्टरले एक चोटि काठमान्डु लैजान भनेको छ मैले केही जान्दिनँ ।” एक दिन उनले बजारमा दूध बेचेर आउँदा बाटोमा भनेकी थिइन् । “हुन्छ लिएर आउनु मैले सकेको सहयोग गरम्ला” मैले उत्तर दिएको थिएँ ।
उनले कान्छोलाई उपचारका लागि काठमाडौँ ल्याएको खबर दुई दिनअगाडि थाहा पाएको थिएँ । एक दिन तल्लो गाउँका गोपाल दाइ बाटोमा भेट हुँदा भन्नुभएको थियो, “धनसरा आमा कान्छालाई लिएर आउनुभएछ । कहिले अस्पतालमा बस्नुहुन्छ । कहिले मैले पालो दिएको छु । मेरो डेरामा बहिनीसँगै बस्नुहुन्छ । दिउँसो भने उहाँकी भतिजीले पालो दिएकी छिन् । उनी धापासीतिर बस्दी रहिछन् ।”
यो कुरा थाहा पाएपछि मलाई पनि ती ठुल्यामालाई भेट्न मन लाग्यो । के. एम. सी. अस्पतालमा उपचारको लागि राखेको कुरा थाहा पाएपछि म त्यतै सोझिएँ । गेटनेरै प्लास्टिकको झोला बोकेर उभिएकी थिइन् उनी । उनलाई देख्ने बित्तिकै मैले परैबाट नमस्कार गरेँ । आवाज सुन्ने बित्तिकै उदेक मान्दै उनले मैतर्फ हेरिन् ।
“सन्चै हुनुहुन्छ ठुल्यामा ? अनि कस्तो छ कान्छालाई ?” मैले सोधेँ ।
“अलि बिसेक भएको छ ।” उनले उत्तर दिइन् । म कान्छो भएको बेडतिर सोझिएँ ।, “कान्छो भर्खर औषधी खाएर सुतेको रहेछ । भाइ निदाएका रहेछन् अर्को दिन भेटम्ला । आउनु ठुल्यामा केही समय बाहिर बेन्चमा बसम् ।” उनी म भएतिरै आइन् ।
“कहिले आउनुभयो ठुल्यामा ?” मैले सोधेँ ।
“अस्ति आएको । तलको गोपालले सबै मिलाको छ । कहिले ऊ बस्छ । हजुर कोठामा जानु भनेर मलाई उसको कोठामा बस्न पठाउँछ । कहिले भतिजी यतै छ । ऊ र म बस्छम् ।”
“एकदिन गोपाल दाइ कुर्न बस्या बेलामा हाम्रातिर जाम न त हुन्न ?” मैले सोधेँ ।
“खोइ गोपालले के भन्छ ? सल्ला गरम्ला । उनले भनिन् ।”
“मैले नै गोपाल दाइलाई फोन गरम्ला नि आमै ।” मैले यति भन्दा उनले स्वीकृति जनाइन् पुलुक्क मुखमा हेर्दै भनिन्, “खोइ शिव, मैले बाटो चिन्दिनँ लिन आए त जाम्ला नि ।”
मैले गोपाल दाइलाई फोन गरेँ । सल्लाह बमोजिम त्यो दिन दुवैलाई अस्पतालमा पालो मैले दिनुपर्ने भयो अनि कहिलेकाहीँ ठुल्यामालाई मेरो डेरामा पनि लैजाने । त्यस दिन राति मैले भाइलाई फोन गरेर खबर गरेँ र अस्पतालमा कान्छालाई कुरेर बसेँ ।
भोलिपल्ट बिहान गोपाल दाइ र ठुल्यामा आउनुभयो । मैले बेलुकी लिन आउने सल्लाह गरेर डेरातिर लागेँ । डेरामा पुग्दा भाइ क्याम्पस गइसकेको रहेछ । नित्यकर्म सकी हतार हतार खाना बनाएर खाएँ र कार्यालयतिर लागेँ । अनिदो भएकोले केही समय काम गर्न गाह्रो भएको थियो तर पछि सहज हुँदै गयो । साँझ ५ बजे बिदा भएपछि सोझै अस्पतालतिर लागेँ । त्यहाँ पुगेर कान्छालाई पनि भेटेँ । केही समय गोपाल दाइलाई प्रतीक्षा गरेँ । ६ः३० मा गोपाल दाइ आएपछि ठुल्यामालाई लिएर बाहिर निस्केँ र वानेश्वरको गाडी चढेँ । केही समयमा हामी वानेश्वर पुगी गाडीबाट ओर्ल्यौं । चोकबाट ओरालो लागेर डेरामा पुग्यौँ ।
डेरामा मसँगै मेरो सानो भाइ बस्थ्यो । भाइ भर्खर एस. एल. सी. पास गरेर आएको थियो । भाइलाई देख्ने बित्तिकै धनसराले अचम्म मान्दै सोधिन्, “ ए,तेजु पनि आएको रैछ, कहिले आइस् त बाबै ?”
“म आएको बिस बाइस दिन जति भयो ठुल्यामा, अब यतै पढ्न भनेर आएको” भाइले उत्तर दियो । “ए” अचम्म मानिन् ।
“टाउको साह्रै दुखेको छ तेजु, अलिकति तातोपानी तता न खानुपर्यो ।”
“हुन्छ ।” भन्दै तेजुले एक गिलास तातोपानी ततायो र धनसरालाई दियो ।
धनसराले पानीको गिलास हातमा लिइन् र हेर्दै भनिन्, “ए मैले त चिया पो भनेको, यल्ले त साँच्चै तातोपानी तताएर ल्याएछ ।”
“हजुरले चियालाई तातोपानी भन्नुहुन्छ भन्ने मलाई थाहा भएन नि ।” भाइले उदेक मान्दै भन्यो र फटाफट कालो चिया बनाएर दियो । धनसरा पीडाले भरिएका आँखाहरू यताउता डुलाउँदै भाइले दिएको चिया सुरुप्प सुरुप्प पार्न थालिन् । त्यसपछि म खाना बनाउनतिर लागेँ । उनी भने टोलाएर एक्लै कुरा गर्न थालिन् ।
“डाक्टरले अझै एक हप्ता राख्न भनेको छ । कान्छाले जति बेला नि घर जाम भन्छ । नुन चर्को खान खोज्छ । अस्पतालले नुन कम दिन भनेको छ । मिठो नलार होकि जति बेला नि मुख बिगारेर भात फाल्छ । नङ काटिदिनु भनिराछन् । शिवसँग पत्ती छ कि, लगेर भोलि काटिदिन्छु । घराँ सेन्केटी एक्लै छे । स्कुल नि जान पाइछैन । भैँसीले दूध दियो कि दिएन कुन्नि ? माथिल्लो पाटोमा कोदो रोप्न बाँकि नै थियो । एक्लै त्यल्ले पनि के गरी होला र ? वरिपरि मकैघारी छ । माथिल्ला घरकी रमिलालाई बोलार सुत् है एक्लै नबस् भनको आई कि आइन कुन्नि ?…।”
यतिसम्म त सुनेँ र बुझेँ पनि । त्यसपछि प्रेसर कुकरको सिँ सिँ र तरकारी झ्वाँइयँ आवाजले उनले गुनगुन मात्र गरेजस्तो सुनेँ तर के बोलिन्, पत्तै पाइनँ । खाना पाकिसक्दा पनि उनी एक्लै बोलिरहेकी थिइन् । हुन त श्रोता हामी छौँ भन्ने ठान्दी हुन् तर हामी भने आफ्नै संसारमा थियौँ ।
“आमा, खाना पाक्यो, खाना खान आउनू है” मैले बोलाएँ । उनी झस्किइन् र भनिन्, “ए पाकिसक्यो, ल म आएँ ।” यति भन्दै उनी हात धोएर खान बसिन् ।
मुखमा एक गाँस खाना राखिन् र फेरि भनिन्, “मलाई गल लाग्छ पानी पनि ले है ।” तेजुले पानीको जग उनलाई दियो । अनि फेरि बोलिन्, “मिठो पकाउँदो रैछ शिवले कहिले सिकिस्, घरतिर हुँदा त पकाउँथेनस् नि हैन ?”
“हो, घरमा हुँदा त आमा र दिदीले नै पकाउनुहुन्थ्यो । यहाँ आएर एक्लै कोठामा बसेपछि खानै पर्यो अनि सिकेँ । बानी पनि पर्यो ।” अहिले त तेजुले पनि जानिसक्यो । बिहान उसले नै पकाउँछ ।” मैले उत्तर दिएँ । “ए” जवाफमा उनले यत्ति भनिन् ।
त्यस राति खाना खाएर सुत्यौँ ।
अर्को दिन बिहान उठ्यौँ । यसो नुहाउन खोजेको ट्याङ्कीको पानी सकिएको रहेछ । पानीको मोटर चलाएर छतमा निस्केको थिएँ । उनी पनि सँगसँगै आइन् । म ट्याङ्कीमा पानी हेर्दै थिएँ । उनले माथि आकाशमा उडेको जहाज हेर्दै भनिन् “ यो हावइजाहाज कताबाट आएको हाला ?”
“खोइ धेरै माथि छ, यहाँबाट केही देखिँदैन ।” मैले उत्तर दिएँ ।
छतमा घरभेटी दाइले रायोको साग पखाल्दै थिए । फेरि उनले घरभेटी दाइतिर फर्केर सोधिन्, “बाबु एयरपोर्ट कता हो, हावइजाहाज कतार उड्छ ?”
“घरभेटी दाइले पूर्व दिशातिर देखाउँदै भने, ऊ त्यतै पर्छ ।”
“त्यसो भए हाम्रो ठुले त्यतैबाट गएको हो कतार ?” उनले फेरि मतिर फर्केर सोधिन् ।
“हो आमा विदेश जान पहिला त्यही जानुपर्छ अनि टिकटको समयअनुसार प्लेनमा चढ्नुपर्छ ।” उनले ए भन्दै एयरपोर्टकै दिशातिर आँखा डुलाइन् ।
“त्यहाँ जानी कताड हो शिव?” उनले फेरि सोधिन् ।
“कान्छालाई भर्ना गरेको अस्पतालबाट उकालो लागेर देब्रेतिरको बाटोबाट अलिकति उता लागेपछि पुगिन्छ । हजुरलाई जान मन लाग्या छ र ?” मैले सोधेँ ।
उनले स्वीकृतिपूर्वक टाउको हल्लाइन् र भनिन्, “बाबु मलाई त ठुले गाको बाटो त्यो एयरपोर्ट हेर्न मन लाको छ । सोध्दै गए पुगिन्न र ?” उनले जिज्ञासा राखिन् ।
“एक्लै जान सक्नुहुन्न एक दिन मैले समय मिलाएर लगिदिम्ला ।” मैले यसो भन्दा उनी केही बोलिनन् । “हिँड्नु अब तल जाम्, तेजुले खाना पकाछ खार अस्पताल जानपर्छ । फेरि गोपाल दाइलाई अफिस जान ढिलो हुन्छ ।” मैले फेरि थपेँ ।
त्यस दिन खाना खाएर मैले धनसरा ठुल्यामालाई अस्पताल पुर्याइदिएँ र कार्यालयतिर लागेँ ।
त्यस दिन अलि व्यस्त नै भएँ । उनीसँग भेट हुने समय पनि मिलेन । दुई दिनपछि धनसरा आमा र कान्छालाई भेटूँ र उनलाई एयरपोर्टतिर पनि घुमाउनुपर्ला भनेर कार्यालयबाट दुई बजे नै बिदा मिलाएर निस्केको थिएँ । बाटोमा आश्चर्यलाग्दो दृश्य पो आँखाअगाडि पर्यो । उनको अनुहार चाहिँ मैले देखिन तर उनको आँखा एयरपोर्टको मुख्य प्रवेशद्वार तिरै थिए । आफ्ना पाइलालाई घरी अगाडि त घरी पछाडि सार्थिन् अनि आँखा चारैतिर डुलाउँथिन् । घरी फर्केर पेटीमा बस्थिन् प्रायः आँखामा परेको घामलाई हातले छेक्दै गेट तिरै हेरिरहन्थिन् । विदेशबाट फर्कँदै गरेका आफन्तको पर्खाइमा बसेको जस्तो । को रहेछ भनेर नजिकै गएर हेरेँ । अचम्म परेँ, उनै धनसरा पो रहिछन् ।
नजिकै गएर सोधेँ, “ठुल्यामा हुजुर यहाँ ?”
उनी झसङ्ग भइन् । “ए शिव तँ ? काँड आइस्” उनले सोधिन् ।
“मेरो अफिस यतै नजिक हो ठुल्यामा अनि हजुर एक्लै यहाँ ? एक्लै त आउनहुन्न नि यहाँ त हराइन्छ ।”
“काँ हराउनु नि ? म त अस्तिदेखि सोध्दै सोध्दै दिनदिनै आइछु । ठुले आछ कि भनेर हेर्न आएको ।” उनले उत्तर दिइन् ।
“कसरी आउनुभयो नि ?” फेरि सोधेँ ।
“अस्ति तैँले भनेको होइन नजिकै पर्छ भनेर ? सोध्दै सोध्दै आएँ । अब त चिनिसकेँ ।” उनले भनिन् ।
आफ्ना कुरा सकेपछि उनले फेरि गेट तिरै हेर्न थालिन् । ठुले नै आउने थाहा भएर प्रतीक्षा गरेझैँ ।
विमानस्थलको गेटभित्रबाट एकजना चालिसदेखि पैँतालिस वर्षको प्रौढ हातमा सुटकेस गुडाएर आउँदै गरेको दृश्य देखिन्थ्यो । त्यो देखेर उनी हतार हतार त्यतैतिर सोझिइन् र त्यस व्यक्तिको नजिक गएर बोलाइन् । “मेरो ठुले तँ आइस् ?”
त्यस व्यक्ति अक्क न बक्क पर्यो । एक पटक उनको मुखमा पुलुक्क हेर्यो अनि नबोली आफ्नो बाटो लाग्यो ।
शब्दविहीन ओठ, निराशाको बादल लागेको अनुहारसहित पर्खाइले थाकेका धनसराका आँखाहरूले सुटकेस गुडाउँदै पर पुगिसकेको त्यस व्यक्तिलाई एकोहोरो हेरिरहेका थिए ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

