
“म एउटा महाभारत लेख्दै छु । के तिमी त्यसमा पात्र हुन्छौ ?”
उसले कोठामा पस्ने बित्तिकै मलाई प्रश्न गर्यो ।
म चुरोट तानिरहेको थिएँ ।
फेरि उसले भन्यो- “भन तिमी कुन पात्र हुने ?”
पात्र चयन तिम्रो हो । संवाद म लेखिदिन्छु । मलाई उसको प्रश्न नै कविता पढेझैँ लाग्यो ।
चुरोट निभाउँदै मैले दोहोर्याएँ, “म एउटा महाभारत लेख्दै छु, के तिमी त्यसमा पात्र हुन्छौ ? भन तिमी कुन पात्र हुने ? पात्र चयन तिम्रो हो, संवाद म लेखिदिन्छु ।”
त्यसपछि मैले उसको अनुहारतिर हेरेँ । ऊ एकछिन मस्तसँग हाँस्यो र भन्यो, “तिमी कवि हौ भन्ने त थाहा थियो, तर यसरी मेरो प्रश्नमा हठात् कविता बन्ला भन्ने मैले सोचेको थिइन । तर मैले ख्याल गरेको होइन नि । यस पटकको नाटक महोत्सवका लागि नाटक लेख्ने तरखरमा छु । महाभारत मेरो विषय हो । ल, भन तिमी कुन पात्र हुने ? भीष्म, धृतराष्ट्र, विदुर, कृष्ण…।”
“भयो धेरै नामहरू नलेऊ ।” मैले उसलाई बिचमै रोकेँ ।
“मलाई सोच्न त देऊ । आफूलाई सुहाउने पात्र बारेमा सोच्नु पर्यो नि ! त्यसै जे पनि भएर खेल्ने…।
“तिमीजस्तो माझिएको कलाकारले आफ्नो भूमिका त रोज्नै पर्यो नि ! म तिमीलाई एक दिनको समय दिन्छु ।” उसले औला ठडाउँदै भन्यो ।
-“भोलि कति बजेतिर आउँछौ ?” मैले सोधेँ ।
ऊ हावा जस्तै अप्रत्याशित कोठामा पस्ने गर्दथ्यो र मलाई प्रत्येक पटक एउटा समस्या दिएर जान्थ्यो । तर मेरो प्रतिभाको कदर गर्न ऊ जान्दथ्यो । एउटा सफल निर्देशक हुनाले ऊ कलाकारहरूको मित्र थियो । मौन बसिरहने कलाकारहरूका लागि ऊ एउटा कोलाहल थियो । त्यसैले ऊ आउँदा र जाँदा पानीको तरङ्ग झैँ म आफूभित्र मन वीणाका तारहरू झनन बजेको अनुभव गर्थेँ । उसको यस्तो विशेषता थियो । ऊ भित्तामा झुन्ड्याइएको क्यालेन्डर हेरिरहेको थियो ।
-“तिमी भोलि कति बजे आउने ?” मैले फेरि प्रश्न गरेँ ।
यस पटक ऊ मतिर फर्कियो र हाँस्दै भन्यो:
-“म भोलि ठिक चार बजे आउँछु । तिमी कुन पात्र हुने सोची राख्नु । अहिले म हिँडे ।” ऊ फेरि हावा जस्तै हुर्रिएर बाहिर निस्कियो । कति व्यस्त मानिस । सधैँ केही खोज र अनुसन्धानमा हिँडेको यात्रु जस्तै । उसको पदचापबाट नै मलाई यो पनि एक क्षणका लागि अनुभूति भयो ।
म सोफामा अझ सजिलोसित अडेस लगाएर बसेँ । पात्र चयनबारे सोच्न थालेँ । महाभारतका एक एक चरित्रहरू… । भीष्म पितामहको भव्यरूप मेरो आँखाअगाडि आयो । कस्तो तेजस्वी अनुहार संस्कृतिको प्रतीक भीष्म पितामह । एक क्षण मलाई लाग्यो त्यो पात्र नै सर्वश्रेष्ठ पात्र हो, महाभारतको ।
तर…तर के त ?
भीष्म त एउटा विवश पात्र हो महाभारतको । सधैँ लुकिछिपी पाण्डवहरूलाई माया गरिरहनु, उनीहरूका पक्षमा युद्ध गर्न नसक्नु, द्रौपदीको चीरहरण पनि टुलुटुलु हेरेर बसिरहनु । आधुनिक अभिभावक यस्ता हुन्छन् र ?
कस्तो बाध्यता भीष्मको ?
भीष्म कतै पलायनवादी त होइन ? म एक्कासि सशङ्कित भएँ ।
मलाई भीष्म अत्यन्त निरीह, विवश र आफ्नै मनोग्रन्थीले जेलिएको पात्र लाग्यो । भीष्म आधुनिक पुरुष हुँदै होइन । परम्परावादी सङ्कोची, पत्रैपत्रले जेलिएको पात्रको अभिनय म गर्न सकुँला र ?
म सोफाबाट उठेर झ्याल नजिकको कुर्सीमा बसेँ । झ्यालबाट बाहिर सडकमा मानिसहरूको आवत जावत भइरहेको थियो ।
शायद म जस्तै पात्रहरू, महाभारतका चरित्रहरू सडकमा हिँडिरहेका थिए ।
हुन सक्छ अशक्त र निरीह, क्लान्त भीष्मलाई सोफामा छाडेर म ऊबाट तटस्थ, टाढा हुन खोजिरहेको थिएँ ।
तर म निश्चय पनि कुनै पात्र, महाभारतको चरित्र चयन गरिरहेको थिएँ ।
धृतराष्ट्र ! हो, धृतराष्ट्र त अत्यन्त आधुनिक पात्र हो, भीष्मभन्दा भिन्न । महत्त्वाकाङ्क्षी धृतराष्ट्र । ऊ अन्धो भयो त के भयो ? उसको अन्तर्दृष्टि भने आधुनिक पदासीन शासकभन्दा कम छ र ? धृतराष्ट्रले बुझेको छ उत्तराधिकारी र राजनीति दुई भिन्न शब्द होइनन् बरु पर्यायवाची हुन् । धृतराष्ट्र आधुनिक राजनीतिज्ञ हो ।
मलाई धृतराष्ट्र अत्यन्त सामयिक पात्र लाग्यो ।
धृतराष्ट्रको उत्तराधिकारी चयनले विश्वका ठुला ठुला राजनीतिज्ञहरूसँग प्रतिस्पर्धा गर्न खोजेको छ । धृतराष्ट्रको व्यवहारिक पक्ष मलाई मन पर्यो ।
ऊ संवेदनशील छैन ।
ऊ कत्ति पनि डगमगिएको छैन ।
ऊ आदिदेखि अन्त्यसम्म उत्तराधिकारी चयनमा दुढ ट ।
यति हुँदाहुँदै पनि धृतराष्ट्रको मनोरथ पूरा हुँदैन ।
बिचरा धृतराष्ट्र ।
अनि दुर्योधन नि !
मौसम बेमौसममा पनि उन्मत्त भइरहने दुर्योधन ।
महत्त्वाकाङ्क्षी दुर्योधनसँगै गाँसिएको विचार धृतराष्ट्र व्यक्तित्व ।
धृतराष्ट्र त दुर्योधनको बाबु हो ।
दर्शकहरू धृतराष्ट्रलाई गाली गर्दछन् ।
के थाहा कसैले खुलेर नाटक चलिरहेकै बेला स्टेजमा पात्र धृतराष्ट्र माथि नै ढुङ्गा प्रहार गर्ने हुन् कि ? के थाहा ? महाभारतको जड नै यही हो, दर्शक उत्तेजित पनि हुन सक्छन् ।
के थाहा ?
जे पनि हुन सक्छ । दर्शक अनियन्त्रित र नाटक न चल्न पनि सक्छ बिचरा निर्मल…।
मलाई धृतराष्ट्रको भूमिका जोखिमपूर्ण लाग्यो । म वास्तवमा दर्शक र नाटकबिचको यो जोखिम लिन चाहन्नथेँ । एउटा नाटकका लागि आफ्नो ज्यान नै गुमाउनु पर्यो भने…।
विदुरलाई बिर्सियौ ? कसैले म भित्रबाट प्रश्न गर्यो । विदुर महाभारतको एउटा महत्त्वपूर्ण पात्र हो । न्यायप्रेमी, सरल, स्पष्ट विदुर कृष्णको पनि प्रिय विदुर । चाणक्य जस्तै विदुर ।
दर्शकहरूले पनि सहानुभूति राख्नेछन् । मेरो भूमिकाको पनि सह्राना हुन्छ ।
म विदुरको भूमिकामा बढी खुल्न सक्छु । शायद पात्र चयनको अन्तिम पात्र विदुर नै हुन् ।
तर…तर के ?
मलाई एक्कासि विदुर व्यक्तित्वबारे प्रश्न गर्न मन लाग्यो ।
किन विदुर एक पक्षीय भएर धृतराष्ट्रप्रति बढी समर्पित हुन सकेनन् ? किन ? जुन थालमा खायो त्यसैमा प्वाल पार्ने ?
विदुर जस्तै द्वैध मनस्थितिमा म संवादहरू कण्ठ गर्न सकुँला त ?
धृतराष्ट्र अगाडि आउँदा आक्रोशवश बढी उत्तेजित भएँ भने…।
पाण्डव युधिष्ठिर अगाडि आउँदा द्रवित भएँ भने…। शायद म यो सन्तुलित भूमिका गर्न सक्दिन होला ।
विदुर जस्ता संयमी हुन सकुँला ? शङ्कै छ ।
टेबुलमा रहेको चुरोट सल्काएँ र लामो सर्को तानेर विदुरलाई बिर्सन खोजेँ ।
चुरोट निभाउन खोज्दा हठात् कृष्णको मनमोहक रूप अगाडि आयो । विद्वता, कस्तो महान् चरित्र ।
बालक, वृद्ध सबैका प्रिय कृष्ण । प्रत्येक समस्याको कृष्ण ।
म एक क्षण कृष्णको भेषभूषा र साजसज्जामा सिँगारिएको कल्पनामा डुबेँ, दर्शकमध्ये कसैले फूलमाला चढाउनेछन् कसैले त दुई हात जोडेर नमस्कार पनि गर्दा हुन् ।
कोही कोही आल्मुनियमका पातला सिक्का स्टेजमा फ्याँकेर भक्तिभाव देखाउँदा हुन् । तर मेरो रूप ? कालो वर्ण त मेरो पनि छ । कद पनि सामान्य । मेरा आँखाहरू अति सामान्य छन् ।
साना, साना गडेका, उत्साहहीन आँखाहरू । तर कृष्णका आँखा भने…।
कृष्णका ठुला ठुला बोलिरहने आँखा सम्झिँदा मलाई आफ्ना आँखाहरूप्रति हीनताबोध भयो ।
म जुरुक्क उठेँ र दराज अगाडिको ठुलो ऐना अगाडि उभिएर आफ्नो मुखाकृत हेर्न थालेँ । सानो निधार, साना साना आँखाहरू ।
मलाई आफ्नो कुरूपताप्रति आफैँ वितृष्णा भएर आयो । यस्तो अनुहारले कृष्णको भूमिका खेल्ने ? कृष्णको अगाडि मैले आफूलाई ‘लिलिपुट’ अनुभव गरेँ ।
मलाई ग्लानि भएर आयो र आएर कुर्सीमा थ्याच्च बसेँ ।
म वास्तवमा पात्र चयन गर्दा गर्दै थाकिसकेको थिएँ ।
तर निर्मलले भोलिसम्म जवाफ मागेको छ ।
पात्र चयन गर्न नसक्नु मेरो पनि त लाचारी हो ।
म जस्तो अनुभवी कलाकारलाई उसले छोड्ने कुरा पनि त भएन । तर मेरो अनुभव…।
नाटकमा काम गर्दिन भन्न पनि त सुहाउँदैन ।
उसले यस्तो अप्ठ्यारो विषयवस्तु नाटकका लागि किन रोज्यो ?
उसले महाभारत संवाद लेख्ने निर्णय लिइसकेको छ ।
उसलाई हतोत्साहित गर्नु हुँदैन ।
कृष्णको भूमिका सबभन्दा प्रभावकारी छ महाभारतमा ।
उनी आदिदेखि अन्त्यसम्म व्यस्त छन् ।
भूमिका पनि लामो नै हुन्छ ।
पारिश्रमिकका लागि पनि निर्मलसँग बहस गर्ने यथेष्ट ठाउँ छ ।
पात्र त कृष्ण नै हुनु राम्रो ।
तर… र मेरो रूप ? कृष्णका जस्ता काला घुम्रिएका केश पनि छैनन्, न त मुस्कान र चम्किला आँखाहरू । मेरा यी खैरा केशहरू र निधार माथिसम्म खल्वाट भएको अनुहार । कस्तो देखिएला ? के ‘विग’ लगाउने ?
म फेरि आफ्नो रूपमा भित्रभित्रै बिरक्तिएँ ।
अहा ! कृष्णको त्यो मनमोहक रूप…।
समस्या अर्को पनि चर्को छ । मलाई संस्कृत शब्द उच्चारण गर्नसम्म आउँदैन । कृष्णले बाचेका त्यति लामा लामा संस्कृत श्लोकहरू…। त्यो अभ्यास गर्न, शुद्ध उच्चारण गर्न कम्तीमा पनि छ महिना लाग्न सक्छ । भाषाहीन कृष्ण कस्तो लाग्ला ?
म कृष्ण जस्तो असाधारण होइन ।
साधारण, सामान्य, परिश्रमी कलाकार ।
म आफ्नो लघुताभासबाट अझ दबिँदै गएँ ।
कृष्णको भूमिकामा आफूलाई तुलना गर्दा गर्दै मलाई लाग्यो कृष्णरूप एउटा सिपी हो, सेतो झलमल्ल र म त्यसभित्र कुँजिएर बसेको एउटा सानो कीट भुसुना जस्तै ।
म एकाएक दार्शनिक भएँ ।
कृष्ण, कृष्ण, कृष्ण ॥
केटाकेटी देखि नै कृष्णबारे एउटा कौतुहलता थियो । त्यो अहिले पनि उही नै छ । कत्रो दुस्साहस मेरो ? मलाई डर लागेर आयो । पात्र चयन ठिक भएन ।
कृष्णलाई सबै थाहा थियो रे । उनलाई महाभारतको सुरु र अन्त्य सबै थाहा थियो भन्छन् । उनी भूत, भविष्य वर्तमान सबैका ज्ञाता थिए रे ।
तर म…।
मलाई केही थाहा छैन ।
निर्मलको भूमिका खेले बापत कति परिश्रमिक दिने हो थाहा छैन ।
नाटक महोत्सवका लागि नाटक स्वीकृत, अस्वीकृत के हुने हो ? थाहा छैन ।
नाटक पुरस्कृत हुने हो कि होइन थाहा छैन ।
दर्शकले मेरो भूमिका रुचाउने हुन् वा होइनन् थाहा छैन ।
मलाई तत्काल केही पनि थाहा छैन ।
एक छिन आँखा चिम्लन्छु ।
दुर्योधनको भूमिका पनि कम प्रभावशाली छैन । महाभारतमा प्रतिस्पर्धाको केन्द्रबिन्दु त दुर्योधन नै हो । स्वाभिमानी, हठी दुर्योधन । शायद पुरुषत्त्वको एक मात्र प्रमाण दुर्योधन । छली कृष्णसँग टक्कर लिने दुर्योधन ।
दुर्योधनको भूमिका ‘प्रतिस्पर्धात्मक’ छ ।
मलाई यस्तै भूमिका मन पर्छ ।
म भित्रको सम्पूर्ण कलाकारिता प्रस्फुरण हुनेछन् त्यस चरित्रमा ।
अभिमानी दुर्योधनलाई आधुनिक दर्शकले निश्चय पनि रुचाउँछन् होला ।
तर…तर के ?
दुर्योधनको भूमिकामा अस्वाभाविकता छ ।
हर क्षण क्रोधित र आक्रोशित रहनु पर्ने दुर्योधनको चरित्र ।
आफूलाई कृत्रिम बनाउन धेरै प्रयास गर्नुपर्ने ।
मलाई त त्यति गम्भीर एवं भावपूर्ण भूमिका सुहाउँदैन ।
म धेरै उग्र, रिसाउन सक्ने मानिस होइन ।
नाटक अभ्यास गर्दा गर्दै कतै सामान्य जीवनमा पनि म दुर्योधन त हुने होइन ? के थाहा मानिसको स्वभाव हो ।
हुन पनि सक्छ । के थाहा…।
म जस्तो मिलनसार साथीहरूको प्रिय साथी । दुर्योधन र म । कस्तो विरोधाभास ।
असम्भव ।
उसको भए शकुनि हुने त ?
शकुनि पनि त महाभारतको मुख्य पात्र हो ।
दुर्योधनलाई भाँड्ने र उचाल्ने शकुनि ।
धृतराष्ट्रलाई महत्त्वाकाङ्क्षी बनाउने शकुनि ।
शकुनि छुल्याहा र कुरौटेको प्रतीक हो । त्यस्ता शकुनिहरू कति छन् यो समाजमा ।
मलाई त हल्काफुल्का भूमिका मन पर्छ । के शकुनि नै हुने ।
रमेश मेरो भानिज हो । दिदीको निधन पछि विगत दुई वर्षदेखि ऊ मसँगै छ । मैले रमेशको मायालाग्दो अनुहार सम्झिएँ । मैले उसलाई माया गर्नु बाहेक अरू केही विकल्प थिएन ।
मलाई शकुनिको भूमिका उसले कसरी हेर्नेछ ?
यसरी कतै मामा भानिजको सम्बन्ध त बिग्रने हैन ?
शकुनिको कूटनीति र छलकपट ।
त्यो के का लागि गरूँ म ? रमेशका लागि ?
यो मनोवैज्ञानिक कुरो हो ।
रमेश मसँग सशङ्कित हुँदै गयो भने…।
मैले आफूलाई कातर अनुभव गरेँ ।
शकुनि त हुँदै हुँदैन । मामा भानिजको सम्बन्धमा दुर्भाग्य निम्त्याउने हो भने मात्र…।
शायद म पात्र चयन गर्दा गर्दै थाकिसकेको थिएँ ।
पात्र चयन गर्न नसक्नु पनि त मेरो लाचारी हो ।
निर्मललाई के जवाफ दिने ?
हठात् मनमा दुई लाइन कविता जस्तै गरी प्रस्फुटन भयो ।
कि हुने तिमी कर्ण जस्तो
ऋणी आजन्म दुर्योधनको
कि हुने तिमी कर्ण जस्तो
ऋणी आजन्म दुर्योधनको ।
बिचरा कर्ण । कर्ण मित्रताको नमुना हो ।
आधुनिक कर्णले मित्रका आफूलाई त्यसरी मिटाउँछन् र ? असम्भव !
दुर्योधनका लागि आफ्ना सारा जीवन बन्धकी राखेर सन्तुष्ट हुने कर्ण ।
के म दास प्रवृत्ति कर्णको भूमिका गर्न सकुँला त ?
विवश व्याकुल कर्ण ।
दर्शकहरूको दयाको पात्र कर्ण । मलाई सुहाउँदैन । पटक्कै सुहाउँदैन । पात्र चयन गर्न नसक्नु पनि त मेरो लाचारी हो । आजको दिन त्यसै बित्ने भयो ।
५ बजिसकेछ ।
अब बत्ती आउँदैन । क्रमशः अँध्यारो बढ्दै जानेछ ।
अँध्यारो कोठामा म निश्चिन्त भएर सुत्न सक्छु । कोही आउने छैन ।
म सोफामा पल्टिन्छु ।
सात बजेसम्म बत्ती आउँदैन । कोही उठाउन पनि आउँदैन ।
आँखा खुल्दा कोठामा अँध्यारो नै हुन्छ ।
बाहिर हावा चलिरहेको जस्तो छ । फागुन महिनाको आँधी बेरी हुर्रिएर निर्मलझैँ कोठामा पस्न खोज्छ ।
झ्यालका खापाहरू लगाउन खोज्दा बत्ती झक्क बल्दछ ।
चारैतिर उज्यालो । झ्यालबाट बाहिर हेर्छु । खापा लगाउन खोज्दछु ।
मेरो आँखा अगाडि हावा द्राेणाचार्यकाे चक्रव्यूहको रचना गरेझैँ फनफनी घुमिरहेछ ।
मलाई लाग्छ म त्यसभित्र प्रवेश गर्दै छु ।
शायद म पात्र अभिमन्यु हुन खोजिरहेछ ।
शायद म चक्रव्यूहभित्र प्रवेश गरिरहेछु, अभिमन्यु जस्तै मलाई बाहिर निस्कने बाटो थाहा छैन ।
शायद म पात्र अभिमन्यु हुन खोजिरहेछु ।
भुवन ढुङ्गाना



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

