एक दिनको कुरा हो, साथीहरूको लहैलहैमा लागेर डेस्टिनी न्यूयोर्कको म्यान्हाटनस्थित बारमा छिरी। डेस्टिनी कहिलेकाहीँ मदिरा पिउँछे तर ऊ जँड्याहा भने होइन। संसारकाे सर्वमान्य परिभाषाअनुसार बिना सितन दैनिक आठ गिलास भन्दा बढी मदिरा पिउने महिलालाई जँड्याही र १५ गिलास भन्दा बढी पिउने पुरुषलाई जँड्याहा भनिन्छ। डेस्टिनी भने सोसल ड्रिङ्कर मात्रै हो र कहिलेकाहीँ साथीहरूको लहैलहैमा लागेर १/२ पेग मदिरा पिउँछे। उसलाई दूध पिएर विष बमन गर्नेहरू भन्दा रक्सी पिएर सत्य ओकल्ने साथीहरूसँगको सङ्गत नै मन पर्छ ।तर  धेरै मातेर बढी बोल्नेहरू भने मन पर्दैन।

त्यो दिन बार छिरेको पाँच घण्टापछि साथीहरूले आआफ्नो बिल तिरेर उसलाई गुड नाइट र बाइ-बाइ गर्दै बाहिर कुरिरहेका आ-आफ्ना ब्वाइ फ्रेन्डसँग बाटो लागे।

डेस्टिनी बारको मधुरो बत्ती मुनिको एउटा बेन्चमा एक्लै थिई। वरपर थुप्रै अनुहारहरू आफ्नै मस्तीमा थिए। टेबुलमा उनीहरूले रित्याएका खाली बोतलहरू। डेस्टिनीले टेबुलमा रित्तिएका बोतलहरूजस्तै आफूलाई पनि रित्तो अवस्थामा पाई। ऊ जीवनमा जस्तोसुकै अवस्था आइलाग्दा पनि एक्लो महसुस नगर्ने बलियो मन भएकी मान्छे। उसले आफ्नो मनोबल बढाउन  ड्रेसिङ टेबुल अगाडी “ Be bold Destiny” भनेर ठुला अक्षरमा नोटिस नै टाँसेकी छ।

हातमा रहेको मोबाइलमा यसो सोसियल मिडियातिर आँखा नचाउँदै गई। एक जना नेपाली लेखकले भर्खरै पोस्ट गरेको एउटा फोटोमा ध्यान गयो। आँखामा मोटो पावरवाला चस्मा लगाएको देख्दा ती लेखकको नेत्र शक्ति कमजोर छ भन्ने प्रस्ट थाहा हुन्थ्यो।

डेस्टिनीलाई उसैलाईrandomly जिस्क्याउने मुड चल्यो ।

मेसेन्जरमा ‘हेल्लो’ भनेर टेक्स्ट पठाई।

उताबाट पनि ‘हाई’ जवाफ आयो।

ऊ गम्भीर स्वभावको तर हँसिलो रसिलो थियो। डेस्टिनी आफ्नो लागि  आफैँले बनाएका नियमहरू मध्येको एक हो सोसियल मिडियामा आफ्ना नजिकका नातेदारबाहेक कसैलाई पनि मेसेज पठाउने वा कल कहिल्यै नगर्ने र कसैको फोन पनि नउठाउने। तर त्यो नियम तोडेर साहस बटुलेर उसले मेसेज पठाई। नसा चढेको सुरमा  लामै कुराकानी भएछ। बारमा धुवाँको मुस्लोमा लाइट चम्किरहेको थियो। ऊ त्यहीँ धुवाँमा हराइरहेकी थिई। ऊ उबर चढेर घर आइपुगेर  कुन बेला निदाई पत्तै भएन।

अर्को दिन बिहानै ह्याङ् ओभर मै काममा पुगी। दिउँसोको लन्च ब्रेकमा खाने खानाको कुनै बन्दोबस्त थिएन। यसै बसेर मोबाइलमा अघिल्लो दिनको च्याट हिस्ट्रि हेरी । उसलाई कुनै बीभत्स सपना जस्तै लाग्यो। उसको नाम डिस्टेन्स रहेछ।

आहा ! कस्तो मिलेको नाम पनि ? डेस्टिनी र डिस्टेन्स। कुरा पनि मिल्ला मिल्ला जस्तो। यत्तिको मान्छे भए त बिहे नै गर्न पनि हुने। डेस्टिनीलाई कम पढेका पुरुषहरूले समाज, जीवन र जगत बुझेका हुँदैनन् जस्तो लाग्छ र सकेसम्म कमै सङ्गत गर्छे। तर पढेलेखेकासँग भने घण्टौँ बितेको पत्तै हुँदैन उसलाई। ऊ आफैँ पनि घर भित्रै बाँधिएर बसेका महिलाहरूसँग पनि खासै सङ्गत गर्दिन। किनभने उसलाई फराकिलो दायरा मन पर्छ। यता अमेरिकातिर नेपाली मूलका पढेलेखेका र अलिअलि कुरा मिल्ने मान्छेहरू अति व्यस्त हुन्छन्, अरू  विदेशीहरूसँग कुरा मिलाउनु पर्ने हुन्छ। यस्तै सोच्दै थिई।

त्यसपछि समय मिल्यो कि कहिलेकाहीँ फुर्सदको समयमा  डेस्टिनी र डिस्टेन्स कुरा गर्न थाल्थे। केही दिनमै  उनीहरू चिरपरिचित जस्ता लाग्न थाले।सोसियल मिडियामा कैयौँ परिचित मानिसहरू पनि गाँसिएका हुन्छन्। तर अपरिचितजस्तो व्यवहार गर्छन्।डिस्टेन्स सबै कुरा बुझ्न सक्ने विशेष प्रकारको विद्वान् मान्छेहरू मध्येको एक थियो।

उनीहरू सँगै बाँच्ने , सँगै मर्ने कुरा बाहेक अरू अनगिन्ती कुरा गर्थे। माया प्रेमका कुरा पनि गर्थे । तर डेस्टिनीलाई कसैसँग  दाम्पत्य सम्बन्ध गाँसेर श्रीमान् बनाएर जीवनभर  उसैको भरोसा गरेर बाँच्ने कुरा चाहिँ वाहियात लाग्थ्यो। प्रेम, सरसहयोग र भरोसाको आडमा आफ्नो अमूल्य जीवन कसैसँग साट्न पनि चाहन्न थिई। उसका जीवनभर प्रेम गरिरहन्छु भनेर वाचा गरेका कतिपय सम्बन्धहरू समय क्रमसँगै बिराना भैसकेका छन्। जे भए पनि डिस्टेन्स र डेस्टिनी माया प्रेमका बढी अनि राजनीति, घरपरिवार, चाडबाड , गाउँघर, भूगोल, इतिहास, मान्छेहरूको प्रवृत्ति र प्रकृति आदि इत्यादि लगायतका सबै विषयमा कुरा गर्थे। मनभित्रका सबै जिज्ञासाको जवाफ  डिस्टेन्ससँग थियो। उनीहरूको कुराकानी भएको दिन, हप्ता, महिना हुँदै वर्षौं बित्यो। प्रेम पनि बिस्तारै छिप्पिँदै गइरहेको थियो।

एक दिन डेस्टिनी र डिस्टेन्सले आफ्नो गहिरो प्रेमलाई पूर्णता दिनलाई भेटघाट गर्ने निधो गरे। डेस्टिनीसले अफिसमा १० दिनको छुट्टी मिलाएर टिकट किनी। काठमाडौँको हायत रिजेन्सी भन्ने होटेलमा कोठा पनि बुक गरी। भारतको नयाँ दिल्लीमा दुई घण्टाको ट्रान्जिट पारेर सिधै काठमाडौँमा ल्यान्ड गरी।

डिस्टेन्स घण्टौँदेखि एयरपोर्ट बाहिर कुरेर बसेको रहेछ। डेस्टिनीलाई गाडीमा राखेर सोझै हायत रिजेन्सी होटेलमा लिएर गयो। लामो यात्राका कारण डेस्टिनी  थकित थिई र भोलि बिहानै भेट्ने सर्तमा डिस्टेन्सले गुड नाइट भनेर छाडेर हिँड्यो। छाडेर हिँड्नुअघि डिस्टेन्सले भोलिपल्ट  चन्द्रागिरि घुमाउन लैजाने बाचा पनि गरेको थियो।  डेस्टिनीले पनि खुसीसाथ हुन्छ भनी।

ओछ्यानमा पल्टेर डेस्टिनी चन्द्रागिरि र सेरोफेरोको बारेमा सोचमग्न भई। चन्द्रागिरिलाई दायाँ पारेर काँकडभिट्टा नाइट बसमा पुस महिनाको चिसो सिरेटो खाँदै काठमाडौँ खाल्डो छिरेको हिजो जस्तो लाग्यो। उसको त्यो जीवनकै पहिलो पटक सबैभन्दा लामो बस यात्रा थियो र लखतरान बनाएको थियो। त्यो पनि झन्डै तीन दशक नै पुग्न लागेछ। तर पनि ऊ कहिल्यै चन्द्रागिरि डाँडामा पुगेकी रहिनछ। त्यति बेला ऊसँग चप्पल पड्काउँदै काठमाडौँ छिर्नेहरूका काठमाडौँमा दरबार नै खडा छन्।

डिस्टेन्स पनि गाउँमा हुर्किएको र निक्कै अगाडि नै काठमाडौँ खाल्डो छिरेको हो। सायद सामान्य पोसाक लगाएको शिरमा टोपी पनि थियो होला उसको। कल्पना गर्न थाली। विसं २०३६ सालमा टिनएजकै थियो होला। जनमत सङ्ग्रहपछिका हरेक परिवर्तनमा लागेका नारा जुलुसहरू कण्ठै छन् उसलाई। डिस्टेन्सलाई सायद आफ्नो जीवन पनि जुलुसमा लगाइने नारा र भिड जस्तै अस्तव्यस्त लाग्छ होला। अब त केही होला कि भनेर आस गर्यो तर कुनै ठुलो परिवर्तन नभई बल्लतल्ल गुजारा मात्रै चल्ने। ब्यवस्था, कानुन, संविधान, विकृति , विसङ्गति, महिला हक-अधिकार अनेक कुराहरूको साक्षी मध्येको डिस्टेन्स पनि एक हो। सायद यो सबै कुरा देखाउन र भन्नलाई चन्द्रागिरिको डाँडाबाट मात्रै सम्भव ठान्यो होला र प्रस्ताव गर्यो भन्ने ठानी। बिहानै उठेर डिस्टेन्ससँग चन्द्रागिरि जाने भनेर ऊ सुती।

डिस्टेन्स गाडी लिएर डेस्टिनीलाई लिन आइपुग्यो। दुवै जना चन्द्रागिरितर्फ लागे। गाडी पार्क गरेपछि दुवै जना केबुलकारको टिकट काट्ने ठाउँतर्फ लागे। डिस्टेन्स अगाडि अगाडि डेस्टिनी पछाडि । यसरी नपर्खेर सँगै नहिँड्ने भए त म यो डाँडो हेर्नलाई एक्लै ट्याक्सी चढेर आइहाल्थेँ नि। तिमीले किन यति दुःख गर्नुपर्थ्यो र ? डेस्टिनीले भनी। उसको बानी नै त्यस्तै रहेछ छिटो छिटो हिँड्ने। दुवै केबुलकार चढे। केबुलकार चढ्दा घमाइलो दिन जस्तै लागेको थियो। मोबाइल साटासाट गरेर एक अर्काको फोटोहरू टन्नै खिचे। माथि डाँडामा पुगेपछि उसले काठमाडौँ सहर देखायो। निक्कै रमाइलो लाग्यो।

डेस्टिनीलाई त्यति सुन्दर डाँडामा डिस्टेन्ससँगै बसेर कफी पिउन मन लाग्यो। प्रस्ताव गरी। डिस्टेन्सले एउटा रेस्टुरेन्टमा लग्यो। मान्छेहरूको भिड। कफी अडर गरे। न त मुस्कान, न त हार्दिकता, केटोले ठ्यास्स ल्याएर कफी राखिदियो। फेरि डेस्टिनीलाई स्टेटमेन्ट कफी कफी जस्तै लाग्दैन र पटक्कै मन पर्दैन। कफी कल्चर छैन भन्यो भने तेरो अमेरिका मात्रै राम्रो भनिहाल्छ। तर कफीको बहानामा एक छिन भए पनि उसको मुख हेरेर समय बिताउन पाउँदा निक्कै खुसी थिई।

घुमघाम सकिएपछि फेरि उनीहरू केबलकार चढे। सन्जोग कस्तो पर्यो भने, उनीहरू दुई जना मात्रै केबुलकारमा अनि कुहिरोले झ्याप्पै छोपिदियो। केबुलकार छुटेपछि ठ्याक्कै उनीहरू आलिङ्गनमा बाँधिए। एकले अर्काको ढुकढुकी , श्वासप्रश्वास महसुस गरे। सायद प्रकृति र परिवेश दुवैले तिमीहरू प्रेम गर्नलाई उपयुक्त पात्र हौ, तिमीहरू निस्वार्थ प्रेम गर्छौ भनेर उनीहरूलाई वातावरण मिलाइदिएको होला। उनीहरू दुवैलाई लागेको थियो कुहिरो नहटोस् र कार पनि बरु बिचैमा टक्क अडिओस्। नभन्दै त्यस्तै भयो। ठ्याक्कै लोडसेडिङले कार टक्क अडियो। करिब ४५ मिनेटमा मात्रै केबुलकार गन्तव्यमा पुग्यो र कुहिरो पनि छ्याङ्गै हटिसकेको थियो।

अनि डिस्टेन्सले गाडी हाँकेर हलुवा, जेरी र स्वारी खाने पसलहरू आज कसरी कफी सप र बार/ रेस्टुरेन्ट भइसके भनेर देखाउन लग्यो। सँगै एक प्लेट म:म र कफी खाएर उनीहरू होटेलको रुममा फर्किए। रातको दश बजिसकेको रहेछ।

डिस्टेन्स र डेस्टिनीको वर्षौं देखिको प्रेममा दुवै समाहित हुने दिन, दुई मुटुको धड्कन एक हुने दिन । दुवै जना फ्रेस भइसकेर बेडमा पुगे। डेस्टिनी डिस्टेन्सको हातको तकिया बनाएर संसारको एउटा छुट्टै कुनामा फरक प्रकारको प्रेम प्राप्तिको महसुस गर्दै थिई। डिस्टेन्स पनि मिठा शब्दसहित मीठो मुस्कान दिँदै डेस्टिनीको कपास जस्तो नरम र स्वच्छ सफा कपाल सुमसुम्याई रहेको थियो।

यसै बखत बाहिर अकस्मात् जोड जोडसँग ढोका ढक ढक गर्यो । डिस्टेन्सले समालिँदै गएर ढोका खोल्यो।

ढोकाबाहिर डिस्टेन्सकी श्रीमती रहिछन्। उनले आफ्नो श्रीमानको फोनमा लोकेसन ट्र्याक गरेर राखेकी रहिछन् र डेस्टिनीसँगको वर्षौं लामो च्याट हिस्ट्री पनि सबै रेकर्डेड रहेछ। निक्कै बेर माहौलले सन्नाटा छायो। कोही कोहीसँग बोलेन।

डिस्टेन्सकी श्रीमतीले डेस्टिनीलाई भनिन् “Destiny, I can’t Share my husband with you, so sorry for that.  तिमी त्यतिका पैसा खर्च गरेर डिस्टेन्सलाई भेट्न आयौ। म पनि तिमीले जस्तै बुझ्ने र माया गर्ने कोसिस गर्छु ।”

आफ्नो श्रीमानलाई प्रेमपूर्वक हातमा समातेर घर लिएर गइन्।

डेस्टिनी नाजवाफ भई। डेस्टिनीले पूरै मन मुटु दिएर माया गरेको मान्छे थियो डिस्टेन्स। अब उसलाई काठमाडौँ बस्नु नै थिएन। ऊ दश दिन पछिको टिकटलाई छोट्याएर दोब्बर भाडा तिरेर भोलि पल्टै अमेरिका फर्की।

अहिले पनि प्रेम भन्ने शब्द सुन्नासाथ डेस्टिनीको मुटुमा आठ रेक्टर स्केलको भूकम्प चल्छ र पराकम्पन छोडिरहन्छ।

डेस्टिनीको जीवनकै अविस्मरणीय र महँगो प्रेम थियो त्यो।