असमको तेजपुर विश्वविद्यालय पेक्षागृह प्रविधि हस्तान्तरण सभा बसेको छ। यहाँ विश्वविद्यालयले आविष्कार गरेका प्रविधिहरू ठुलठुला कम्पनीहरूले क्रय गर्छन्। मालिकसत्व हस्तान्तरण हुन्छ। यसको प्रयोग गरी कम्पनीहरूले करोडौँ रुपियाँको उपार्जन गर्छन्। विदेशी लगायत भारतका धेरै विज्ञानीहरूले खचाखच भरिएको।

मञ्चमा खडा युवा विज्ञानी विजयाले व्याख्या गर्दै छिन्, “प्लास्टिक प्रदूषणले हाम्रो दैनन्दिन जीवन अस्तव्यस्त पारेको छ। प्रकृतिमा यसको विघटन हुन चार-पाँच सय वर्ष लाग्छ। तर मैले प्रयोगशालामा प्लास्टिक हजम गर्ने जीवाणुको सृष्टि गरेकी छु। विद्यावारिधि गर्दा। यसले यो काम दुई महिनामा नै गर्न सक्छ। हामीले दूधमा जोडन हालेर दही बनाउँछौँ। आनुवंशिक इन्जिनियरिङ प्रविधि अपनाएर सृष्टि गरिएको यो जीवाणुले त्यसरी नै काम गर्छ”।

उनले जीवाणुको तस्बिरलाई ठुलो पर्दामा प्रदर्शन गर्छिन्। द्रवमा डुबेका प्लास्टिकका टुक्राहरूलाई जीवाणुले खाँदै तरल पदार्थमा रूपान्तर गरेको भिडियो पनि देखाइन्।व्याख्या गरिन् । प्रवचन सुनेर उपस्थित सबै विमुग्ध भए।

भाषण सकियो।थपडीका गडगडाहटले सभाकक्ष नै थर्कियो। धेरै बेरसम्म विश्वका विभिन्न विज्ञानीहरू अनलाइनमा पनि जोडिएका रहेछन्।कोलम्बिया विश्वविद्यालयका विज्ञानी माइकल हार्टले यस्ता खाले शोध कार्यमा सहयोग गर्न प्रस्ताव दिए।अमेरिकाका व्यवसायी एलन मास्कले उनको यो प्रविधि किन्नलाई एक लाख डलरको प्रस्ताव दिए।

सभा अभूतपूर्व भयो। पत्रकारहरूले अनगिन्ती प्रश्नका ठेली विजया अघि राखे। धेरैले सोधे, “यस्तो काम गर्ने प्रेरणा कहाँबाट पाउनु भयो”?

“मेरा बाल सखाबाट”। यति भनेपछि उनको मन फुत्त उडेर अतीततिर गमन गर्यो।

 * * *

तेजपुर असमको दरङ कलेज। कक्षा एघारको आज रिजल्ट दिने दिन। बिहानदेखि नै परिसर सक्रिय भएको छ। समय ठिक्क दस बजे। सूचना पाटीमा रिजल्टको तालिका टाँसियो। एक नम्बरमा तेज बहादुर सार्कीको नाउँ रहेछ। बिस नम्बरमा विजया शर्माको।

 

कक्षा बारको पढाइ आरम्भ भएको केही दिन पछि मनभित्रका हिचकिचाहटलाई पर पन्छाउँदै विजया तेजको छेउ पुगिन्। केही सङ्कोच मान्दै बोलिन्।

“तेज, मलाई रसायन विज्ञान र गणित अलिक अप्ठ्यारो लाग्छ। तर मलाई उच्च शिक्षा भने विज्ञान मै गर्न मन छ। ट्युटरकहाँ गएर पनि पढेँ। तर रिजल्ट सुध्रेन । के मलाई मद्दत गर्न सक्छौ ?”

कक्षामा देखिरहेकी परिचित अनुहार। तर कहिल्यै सामुमा नपरेकी। अकस्मात् छेउमै आएर यसरी बोल्दा अप्रस्तुत भए तेज। “निश्चय, यी दुवै विषय त एकदमै सजिला हुन्। चाखलाग्दा पनि छन्। झिजो नमान। मैले कसरी मद्दत गर्न सक्छु ?”

“तिम्रो नोट्स दिएर…”।

तेजले तत्कालै उनको ब्याग खोले । अनि कापीहरू  दिँदै बोले, “भोलि बिदाको दिन छ। राम्ररी पढेर पर्सी कक्षामा फर्काइदिँदा भइहाल्यो”।

विजयाले  सहर्ष नोट थापिन्। उनको अनुहार आत्मसन्तुष्टिले धपक्क उज्यालियो। उनी फर्किइन् वातावरणमा मिठो महक छाड्दै।

विजयालाई तेजको लेखाइ खुबै प्रभावशाली लाग्यो। हस्ताक्षर छपाएका जस्तै सुन्दर थिए । पढिरहूँ लाग्ने। आकर्षक। विजयाले ज्ञान आर्जन गर्दाको गति अवरोधलाई जित्न सजिलो साधन पाइन्, तेज। उनले अब उसो व्यक्तिगत ट्युटर लिने आवश्यकता अनुभव गरिनन्।

व्यवहार र पहिरन दुवैमा सामान्य थिए तेज। पढाइ मात्र, होइन खेलकुद आदिमा पनि अब्बल।विश्वविद्यालयको कुइज या तर्क प्रतियोगितामा उनलाई हराउन सायदै कोही विद्यार्थी थिए होलान्।

कलेजको पढाइ सकिएको थियो। विजया फाइनल इम्तिहानको तयारीमा थिइन्। गणित र विज्ञानका कतिपय प्रश्नका जवाफ खोजेर हैरान थिइन्। तेजलाई म्यासेज पठाएर जवाफका लागि पर्खिरहिन्। फोनै लगाइन् । तर बन्द रहेछ। धेरै चोटि प्रयास गर्दा पनि सम्पर्क गर्न सकिनन्। भेट नगरी नहुने भो। घर कहाँ होला अड्कल थियो उनलाई। आफ्नो स्कुटीमा चढेर कसो कसो पुगिन् त्यहीँ।

टिनको धुरीले अस्थायी घर। बाँसका मोटा- मसिना चोयाद्वारा बुनेर तयार पारिएको चित्रोको भित्ता। तगारो खोलेको ध्वनिले उनी परिसरभित्र पसेको सङ्केत गर्यो। एउटा किशोरी निस्किइन् र बार्दलीको कुर्सी मै बस्ने आग्रह गरिन्। भारेभुरे विद्यार्थीहरू पुस्तक च्याप्दै भित्र कोठाबाट सहसा निस्के। सबैभन्दा पछि थिए तेजबहादुर।

“ए… तिमी पो रहिछ्यौ। यसरी अपर्झट ?” आँखा ठुला पार्दै, निधारका बलि रेखा खुम्च्याउँदै सोधे तेजले।

“तिमीलाई म्यासेज पठाएकी थिएँ। जवाफ फर्केन । धेरै चोटि फोन लगाएँ। बन्द रहेछ। इम्तिहानको तनावमा छु । कतिपय प्रश्न बोकी आफै आएकी ।” विजयाले सासै नरोकी कुरा सकिन्। मानौँ उनले रटेरै आएकी थिइन् । उनको अनुहारमा अपराधिता टाँसिइरहेको थियो।

दुवै आँखाले ‘बिराएछु’ बोलिरहेका थिए।

“परीक्षाको तनाव हुनु स्वाभाविक हो ।अस्तिदेखि मेरो मोबाइल फोन बिग्रेको छ। हातबाट चिप्लेर पानीमा झरेको थियो”– परिस्थितिलाई सामान्य पार्न तेजले स्पष्ट पारे।

“ला आ…” विजयाले लामो लेग्रो तानिन्।  अन्तरमा समानुभूतिका विचारलहरी अङ्कुरण भए।  अनुहार र बोलीमा त्यसको प्रतिफल भइरह्यो। यसपछि उनले आफ्ना शैक्षिक अप्ठ्याराहरू तेजसँग चर्चा गरिन् ।

केही बेर लगाएर सुने तेजले। कुनै पनि जटिल समस्यालाई सजिलो पाराले विश्लेषण गर्थे उनी। समाधान गर्ने बाटो देखाउँथे । उनको धीर-स्थिर व्यक्तित्व माथि विजया प्रभावित नभई सकिनन् । साँझ परिसकेछ। विजया उठिन् । अनि धन्यवादको लेप लगाउँदै बोलिन्…

“तिमी ट्युसन गर्दै थियौ होला। मैले एकाएक  आएर विघ्न पारेँ हुँला । क्षमा गर ।”

कदापि होइन विजया। यी सबै नानी मेरा भाइबहिनीहरू हुन् । म समय निकालेर यसरी नै पढाउँछु। काका भारतीय सेनामा हुनुहुन्थ्यो। गए वर्ष कश्मीरको पुलवामामा सन्त्रासकारीको सिकार हुनु भयो। घरको जेठोबाठो भएकाले दायित्व ममाथि आइलाग्यो । सकेजति थाम्दै छु”। दुवै जना अघिपछि लाग्दै तगारासम्म पुगे।

देब्रे हातातिर कबाडी थुपारेको एक थोत्रो झोपडी रहेछ । माथि झुन्डिइरहेको थियो एक ठुलो तराजु । त्यसको केही पर एक बिजुली बत्तीले मधुर प्रकाश पोखिरहेको थियो, छताछुल्ल।तेज कबाडीवालाको छोरो भए तापनि पढाइमा कति प्रखर ! विजयाले मनमनै सराहना नगरी सकिनन्। उनले हेल्मेटको फित्ता कस्दै बिदा मागिन् । तेजले पनि हात हल्लाइरहे। स्कुटी अँध्यारोमा बिलाउँदै गयो।

केही महिनापछि कक्षा बारको रिजल्ट निस्कियो । तेज असम प्रदेश भित्रैमा दोस्रो नम्बरमा आएछन्। औसत पञ्चानब्बे प्रतिशत नम्बर प्राप्त गरी विजयाले डिस्टिङ्सन पाइन्।

आवेशमा विजयाले फोन लगाइन्, “हार्दिक अभिवादन, तेज। तिम्रो सफलतामा साह्रै हर्षित छु। गर्वित पनि”। “धन्यवाद विजया ।  तिमीलाई पनि अभिवादन।  तिम्रो सफलताको लागि म उत्तिकै खुसी छु।  आज बेलुका के छ तिम्रो व्यस्तता ? एकछिन् भेट गर्न मिल्छ ?” विजयाले प्रस्ताव दिइन्।

“बेलुका चार बजे हाम्रो मोहल्लामा साना नानीहरूको सभा राखेको छु। तिमी पनि आऊ न। यिनीहरूलाई प्रोत्साहन मिल्छ।म ठाउँको ढुङ्गो ह्वाट्सएपमा  पठाइदिँदै छु” । यति भनेर तेजले ठाउँको अवस्थिति साझा गरे। अनि फोन काटे।

बेलुका चार बजे । नानी केटाकेटीहरूले खचाखच थियो स्कुल सभागृह । अभिभावकहरू पनि सामेल रहेछन्। प्रतिवर्ष तेजले आयोजन गरिआएका रहेछन् यस्तो कार्यक्रम। भिन्नाभिन्नै विषयमा नानीहरूलाई बोल्न सिकाइँदो रहेछ । त्यसपछि अभिभावकहरूको मन्तव्य।  यसपालिको विषय थियो ‘प्लास्टिक प्रयोगको अपकारिता।’

नानीहरूले बोलेका प्रमुख कुराहरू यस्ता प्रकारका थिए, ’प्लास्टिकले हाम्रो माटो, पानी र हावा सबैलाई प्रदूषण गरिरहेको छ। पृथ्वीको आयु घटाएको छ। यो पानीमा बगेर नदी र समुद्रमा पुग्छ । त्यहाँ जल जीवलाई मार्छ। माटोमा रहेर जनावरलाई सङ्कटमा पारेको छ ।”

अभिभावकहरूले पनि प्लास्टिकलाई भरसक वर्जन गर्नुपर्छ भनी अङ्गीकार गरे। सर्वोत्कृष्ट अभिमत राख्ने तीनजनाले पुरस्कार प्राप्त गरे। अरूहरूले अनुप्रेरणा।

यस्तो अनौठोको कार्यक्रममा भाग लिएर विजयालाई नयाँ किसिमको आनन्द मिल्यो। सबै भाग लिने नानीहरू सहरका फोहोर बटुल्ने केटा रहेछन्। तेजले तिनलाई बिहान-बेलुका पढाउँदा पनि रहेछन्।

केही दिनपछि एकाबिहानै तेजको मोबाइल फोन बज्यो। कल विजयाको रहेछ। तुरुन्त उठाए। “हेल्लो” भन्नु मात्र पर्यो। उताबाट विजयाले चर्को बोलिन्। “एउटा खुसीको खबर छ । मैले भारतीय प्रौद्योगिकी संस्थान, चेन्नइको प्रवेश परीक्षा दिएकी थिएँ। चयन भएछु। समाचार पाउने बित्तिकै तिमीलाई फोन लगाएकी”।

उनको बोलीमा ऊर्जा दीप्तिमान थियो।

“हार्दिक अभिवादन। भारतमा यो अनुष्ठानको स्थान उच्च छ। तिम्रो इच्छाले मुक्त आकाशमा विचरण गरिरहोस्। चङ्गा भई क्षितिज पुगोस्। अशेष शुभकामना”। तेजले उत्साह भर्दै जवाफ फर्काए।

“तिमीले चाहिँ कहाँ पढ्ने विचार गर्याै ?”

“अहिलेको कलेजमै जारी रहन्छ मेरो”। लामो सुस्केरा हाल्दै तेजले बोले।

उनको निरुत्साहित जवाफ सुनेर विजयालाई ठिक लागेन। मानौँ उनको उड्दै गरेको गुब्बारा हठात् सियोले घोचियो। फुस्स। “आज बेलुका गणेश घाटतिर आउन भ्याउँछौ ? एउटा जरुरी कुरो छ।”

“हुन्छ। चार बजे ल ।” जवाफ दिएर प्रसङ्ग सके तेजले।

समयभन्दा केही छिटो पुगेछन् तेज। गणेश घाट ब्रह्मपुत्र नदी पारि तर्ने यात्रीहरूका लागि प्रमुख ठाउँ हो।बिस्तारै लहरमा बगिरहेका थिए महाबाहु। एउटा रित्तो नौका घाट मै बाँधिएको रहेछ। त्यहीँ चढे उनी। अनि टोलाइरहे नदीको गहिराइ नियाल्दै। चारैतिर निस्तब्धता।

“आहा ! मलाई पनि असाध्यै मन पर्छ नौकामा चढ्न ।” विजयाको उत्तेजित बोलीले सुनसान परिवेशलाई  चिथोर्यो। शब्दका प्रतिध्वनिहरू बिस्तारै बिलाउँदै गए पानीका लहर बिचमा।

उनी कुद्दै आइन् र चढ्न खोजिन्। तेज उभिए र हात अघि सारे। दुवैको वजन एकैपट्टि परेछ। नौका कोल्टियो। विजया झन्नै नदीमा नझरेकी! तेजको छातीमा ग्वाम्म लडिन्। तेजले तत्काल सम्हाले। दुवैको वजनलाई नौका बिचैमा राखेर सन्तुलन बनाए। विजयाको छातीको ढुकढुकी तेजले स्पष्ट सुने। उनी लाजले रातिपिरी भइन्। डरले कामिरहिन्। ‘सरी’ भन्दै हत्तपत्त निस्किइन् र मुन्टो निहुराएर खडा भइन्। उनको सारा शरीरलाई बिजुलीको झट्का लागे जस्तो भयो।

तेजले आजसम्म कुनै पनि महिलाको सान्निध्य यति छेउबाट पाएका थिएनन्। देह स्पर्शको त कुरै आउँदैन। एक अनौठो संवेदनशीलता अनुभव ‌भइरह्यो उनलाई। धेरै बेरसम्म। केही क्षणको ढलपल ढलपल पछि नौका पनि स्थिर हुन लाग्यो।

दुवै मौन। तेजले ठुलो सास फेरे । अनि सामान्य हुँदै चकमन्नता तोडे, “अब भन त विजया किन भेट गर्न खोजेकी थियौ ?”

“चेन्नइ पढ्ने मौका पाएर म धेरै खुसी थिएँ । तर त्यहीअनुसार तिम्रो पनि बाहिर पढाइ नहुने भएकाले मलाई त्यति सन्तुष्टि प्राप्त भएको छैन। साँचो भनूँ भने मन खल्लो लागिरहेको छ” ।

“तिमी प्वाँख उघारेकी मुक्त चरी हौ।धोको पुगुन्जेल उडिराख सम्भावनाको निल गगनमा। म भएँ रुखमा अल्झिएको चङ्गा। चाहेर पनि उड्न पाउँदिन। घरको दायित्व धेरै छ । पिताजी रोगी हुनुहुन्छ । उहाँको व्यवसाय मैले रेखदेख नगरी हुँदैन। भाइबहिनीको जिम्मेदारी मेरो माथि छ।

त्यति मात्र होइन । हाम्रो महल्लाका भुराहरूले तेजपुर सहरको कबाडी सङ्ग्रह गर्छन् । हाम्रोमा बेच्छन्। यस कामलाई म सधैँ प्रोत्साहन गर्छु। हाम्रो व्यवसायमा नाफाको लागि मात्र होइन । परिवेश हितको लागि। तेजपुर आज भारतमा सबैभन्दा थोरै प्रदूषित सहर हो। विश्व स्वास्थ्य संस्थाको रिपोर्टमा  उल्लेख छ।  यसमा यी भुराहरूको अवधान धेरै छ।  म बिहानबेलुका यिनीहरूलाई पढाउने गर्छु”। खुइय गर्दै तेज रोकिए।अनुहारमा फोस्रो हाँसो सजाउँदै।

विजयाले लामो सास फेरिन्। कत्रो दायित्वशील रहेछन् तेज। उनको यत्रो जिम्मेवारीलाई काँध थापिदिने विजयामा अनुभूति पलायो। मनभित्र नाना भावनाहरूले चाकाचुली खेल्न लागे।  तर व्यवहारिकताको अघि आवेगले कहिलेकाहीँ हार मान्नु पर्दो रहेछ । उनको मन र मस्तिष्क बिच धेरै बेर युद्ध चलिरह्यो ।

घामले आफ्नो ज्योति गुमाएर जून जस्ताे बनिसकेकाे थियाे। ब्रह्मपुत्रभित्र पस्ने तरखरमा थियाे। विजयाले निन्याउरो अनुहार पार्दै बसेकाे ठाउँबाट उठिन् । आँसु झर्न आँटेका राता रसिला आँखा। अड्की अड्की कम्पित स्वरले भनिन्, “मेरो भोलिको उडान छ चेन्नइलाई । यसपछि सायद हाम्रो भेट हुँदैन होला । म्यासेजमा जवाफ फर्काउनू।” गहिरो सास फेर्दै स्कुटीतर्फ लागिन्।

परिस्थितिलाई हलुको पार्न तेजले दिल्लगी गरे, “अँ, गणित र विज्ञानका केही जटिल प्रश्न छन् भने पठाउन नभुल्नू है”।

एक मुस्लो धुवाँ छोडी विजयाको वाहनले वेग टिप्यो। आँखाबाट ओझेल भयो ।

तेज बहादुरले मनको कुनामा रिक्तता अनुभव गरे।  केही क्षणलाई के गरौँ के नगरौँ जस्तो लाग्यो। शरीरबाट अत्तरको मिठो बास्ना महकिरहेको थियो। विजयासँग  स्पर्श भएको ठाउँलाई उनले सुमसुम्याइरहे केही बेरसम्म।

विजया चेन्नइमा भर्ना भइन् । तेजले दरङ कलेजमै डिग्री पढ्ने विचार गरे। समयले पाउलो फेर्दै गयो। हेर्दाहेर्दै एक वर्ष पूर्ण भयो । गर्मी बिदामा विजया तेजपुर फर्किइन्।

भोलिपल्ट एकाबिहानै तेजको मोबाइलले म्यासेज आएको सङ्केत गर्यो। आइतबार बिदाको दिन।  बिहान अबेरसम्म सुत्ने योजना थियो उनको। विरक्तिले पुलुक्क स्क्रिन हेरे । विजयाको रहेछ।  उनको तन्द्राले एकाएक चम्पट खोल्यो। थचक्क बसे ओछ्यान मै। “फुर्सत छ भने आज भेट्ने अग्निगढ पहाडमा ? बेलुका पाँच बजे ?”  तेजले जवाफमा ‘पक्का’ लेखी पठाए ।

पहाड नाउँ भए पनि अग्निगढ तेजपुर सहर भित्रको एक सुन्दर उद्यान हो। रोमान्टिक जोडीबिच रहेको प्रेमलाई मलजल गरी उर्वर गराउने ठाउँ।

यस स्थानको एक प्रसिद्ध पौराणिक कथा छ। इतिहासको कुनै एक समयमा वाणासुर तेजपुरका प्रबल प्रतापी राजा थिए अरे। उनकी छोरी उषा अनिरुद्धको प्रेममा परिन्। सपना मै । अनिरुद्ध कृष्णका नाति रहेछन्। तर वाणासुरलाई यो कुरा मन परेको थिएन। त्यसैले उनले अग्निगढ किल्लाको निर्माण गरी  उषालाई यहीँ लुकाएर राखेका थिए अरे ।

विजया समयभन्दा अघि नै आइन्। उपवनमा धेरै पौराणिक मूर्तिलाई आधुनिक रूप-रङमा सजाएर राखिएका थिए।  त्यसभित्रमा उषाले अनिरुद्धलाई फूलमालाले वर वरण गर्नलाई उभिएको मूर्ति प्रमुख थियो। छेवैमा पर्यटक बस्नलाई बनाइएको एउटा बेन्च रहेछ।  उनी त्यहीँ बसिन्। यसबाट एकापट्टि ब्रह्मपुत्र नदीको विशालता नियाल्न सकिन्छ। अर्कापट्टि तेजपुर सहरको सुन्दर नजारा। उनी यी दृश्यहरूमा आफैलाई डुबाउन लागिन्।

हेर्दाहेर्दै पाँच बजिसकेछ। तेज कतै देखा परेका थिएनन्। समय व्यतीत हुने साथसाथै विजयामा खटपटी बढ्न लाग्यो। ‘उनीजस्ता समयनिष्ठ मानिस यति बेरसम्म किन आइपुगेनन् ?’ यस प्रश्नले घोचिरह्यो उनलाई।

पछाडि पट्टिबाट एक्कासि देखा परे तेज। हातमा एउटा ढुकुर। “यसलाई निकुञ्जभित्रको रुखमा भट्याक भट्याक गर्दै अड्केको भेटेँ। दुवै खुट्टा प्लास्टिकले बाँधिएर अल्झिएका रहेछन्। तिमीले हलौँ हातले खोलिदेऊ त । म चरोलाई समाइरहन्छु”। ढुकुर तेजको दुई हातबिच टुलुटुलु हेरिरहेको थियो घाँटी तन्काउँदै। मुटु ढुकढुक गरिरहेको। बिचरा डरले कम्पमान।

“कुन पापीको कुकर्मले गर्दा बिचराले यस्तो पिर भोग्नुपरेको ?” भन्दै विजयाले बिस्तारै खोलिदिइन्।

“हामी मानिस नै पापी” तेजले व्यङ्ग हाने।

अनि दुवै हात खोलिदिए। ढुकुर भुर्र उडेर गयो। दुवैले ढुक्कको सास फेरे। विजयाको औँलाले तेजको हत्केलालाई स्पर्श गरेछ । शरीरभरि विद्युतीय तरङ्ग बगिरह्यो उनको जिउमा। तर यो छुवाइ लामो समयसम्म रहोस् जस्तो लागेको थियो उनलाई।

तेजले विजयालाई हेरेको हेरै भए।

“किन नचिने जस्तो हेरिरहेका ?”

“निधारमा चन्द्रमाको टिको, खोपोमा सेतो चमेली फूल, रक्तिम ओठ, आँखामा हल्का गाजल, नाकमा फुली, गुलाबी सिल्क साडीले तिमी त टक्कै दक्षिण भारतीय सुन्दरी पो देखियौ ।”

लाजले भुतुक्क भइन् विजया। अनुहार रातिपिरी । उत्ति नै गदगद भइन् खुसीले भित्रभित्रै। आवेगलाई सम्हालेर मुस्कुराउँदै बोलिन्, “ए, त्यस्तो पो देखिएछु ?”

तेज छेउमै बसे। चमेलीको सुवाससँग अत्तरको महक। दुवै मिलेर बनेको नयाँ सुगन्ध फैलिरहेको थियो हावामा। एकपल्ट हराएको चीज धेरै दिनपछि पाउँदा मनमा असीम आनन्द लाग्छ। यी जोडीलाई मनमनै त्यस्तै अनुभव भइरहेको थियो।

धेरै भन्नुपर्ने थियो विजयाको। तर अकमकिइन्। यत्रो दिन उकुसमुकुस भइरहेका कुराहरू कहाँबाट आरम्भ गर्नु ?  कुराको गाँठो फुकाउनै समय लाग्यो।

“बोल्दिनौ त । केको हतारमा बोलाएकी थियौ ?” तेजले जिस्काए।

झल्याँस्स भइन् विजया। मुस्कुराइन्। यसपछि दुवैले आफ्ना मिठा कुराका पोका खोल्न लागे । विजयाको पोको ठुलो रहेछ।

धेरै बेर पछि । क्रिङक्रिङ विजयाको मोबाइल बज्यो । उनले स्क्रिनलाई हेरिन्। बहुत म्यासेज पनि आएका रहेछन् घरबाट। गफागफमा समय कतिखेर फुत्केर गएछ थाहा नै भएन ।  दिनले बिदा लिइसकेछ। पिलपिल बिजुली बत्तीले साँझलाई स्वागत गरिरहेका थिए। जुन कुरो ‘भन्छु’ सोचेर विजयाले योजना बनाएकी थिइन् । भन्नै रहेछ। पछुतो लागिरह्यो मनमनै। अनकनाउँदै उठिन् उनी। पछि पछि तेज। दुवै बाटोतिर ओर्लिन लागे।

“ए साँच्ची। अरण्यक एनजिओसँग तिम्रो काम कस्तो चल्दै छ ?” विजयाले जिज्ञासा राखिन्।

“राम्रो ‌। यसपल्ट ब्रह्मपुत्रको भुकटाउले धेरै क्षति गरेको छ । अनेक गाउँ-घर नदीको छातीभित्र हराएर गए । यसलाई रोक्नको लागि हामीले बाँध लगाउने परीक्षणमा सफल भएका छौँ। मानिसले फ्याँकेका प्लास्टिकका बोतल प्रयोग गरी बाँध निर्माण गरेर।”

“अरे, यो त सारै चाखलाग्दो भयो। कबाडी प्लास्टिकको सत् प्रयोग। काँडाले नै काँडालाई निकाल्ने ?” विजयाले स्कुटीमा चढेर हात हल्लाउँदै भनिन्,”चाँडै भेटौँला।”

तेज पनि हतारमा आफ्नो टुङ्गोतिर लागे।

एक वर्ष कट्न कति बेर पो लाग्दो र छ र ? विजयाले ख्यातिपूर्वक एमएस्सी पास गरिन्।एक दिन बिहान “क्रिङ क्रिङ क्रिङ” तेजको मोबाइल बज्यो। विजयाको म्यासेज रहेछ। लेखिएको थियो, ‘मैले विद्यावारिधि गर्न फेलोसिप पाएँ। अध्ययनलाई अझ उचाइ लैजाने सिद्धान्त लिएँ । अरू तीन वर्षा मात्र त रह्यो । मेरो शोधको विषय तिमीलाई मन पर्ने हुनेछ। भेट भएमा विस्तार गरुँला।  धेरै माया।’ साथमा उनले माया भरिएका इमोजीहरू टाँसेकी थिइन्।

जवाफमा तेजले लेखे, ‘भालत्तुक्काल् लाग्दै छ तिमी उतैकी हुन लाग्यो। त्यसैले गुगलको सहाराले तामिल मै अभिवादन लेखि पठाएँ’। साथमा हाँस्दै गरेका धेरै स्माइलिहरू टाँसिदिए।

जवाफमा विजयाले लेखिन् “फर्सी लहरिएर जति नै टाढा नपुगोस् किन उसको जरो त यथा स्थान मै रहन्छ नि।” साथमा उनले फर्सी फुल्दै गरेको स्टिकर टाँसिदिइन्।

तीन वर्षपछि। राति सुत्ने बेलामा तेजको मोबाइलले क्रिङ क्रिङ गर्यो । म्यासेज विजयाको रहेछ, “एउटा आनन्दको समाचार छ । तेजपुर विश्वविद्यालयको रसायन विज्ञान विभागमा सहप्राध्यापकको नियुक्ति पाएँ ।अन्तर्वार्ता आदि अनलाइन मै भएको थियो। मैले थिसिसको काम सकेर बुझाएँ । चाँडै भेट्ने प्रतीक्षामा।”

जवाफमा तेजले प्रतिक्षारत जिआइएफहरू पठाए।

केही दिनपछि विजया चेन्नइबाट घर फर्किइन्।तेजपुर विश्वविद्यालयमा  भर्ना भइन् । उनको शोध कार्यले व्यापक चर्चा पायो । प्रिन्ट र सोसल मिडियामा उम्दा विज्ञानीका रूपले  उनी भाइरल भइन्।

* * *

तालीको गडगडाहटले उनी वास्तवमा फर्किइन्। चारैपट्टि  पत्रकारहरू खडा रहेछन्। तेजपुर विश्वविद्यालयको प्रेक्षागृह बाहिर। हल्ला केही थामिएपछि उनले बोलिन्, “त्यसैले यो सफलताको हकदार म तेजबहादुर सार्कीलाई  दिन्छु । उहाँकै प्रोत्साहनले म यहाँसम्म आइपुगेँ। यो नयाँ जीवाणुको न्वारान गर्दा उहाँको नामलाई जोडेकी छु। पी सार्की अर्थात् प्रोटियोब्याक्टेरिया सार्की। अन्तर्राष्ट्रिय संस्थाबाट यसको अनुमति प्राप्त गरेकी छु।

त्यति मात्र होइन। तेजबहादुरले फोहोर बटुल्ने गरिब नानीका पाठन पठनमा मद्दत गर्नुहुन्छ । परिवेशका प्लास्टिकलाई न्यून गर्ने कार्यमा लागिपर्नु भएको छ । त्यस्ता काम गर्ने एनजिओको सञ्चालन गर्नुहुन्छ। आज प्रविधि हस्तान्तरण गर्दा मैले प्राप्त गरेको दुई करोड रुपियाँ हो। यी जम्मै रकम मैले तेजको एनजिओलाई अर्पण गरेँ।

राति अबेरसम्म अनलाइनमा काम गर्दै थिइन् विजया। पल्लो कोठामा आमाबाबा घर सल्लाह गर्दै थिए। संलापका कतिपय चोइटा उनका काममा आएर प्रवेश गरे।

* * *

आमा, “हाम्रा समाजका धेरैको विवाह कर्म हजुरले नै उतारी दिनुहुन्छ । त्यही अनुरूप सारा अञ्चलले हजुरलाई श्रद्धा गर्छ । तर आफ्नै घरको बित्तोलाई कस्तो दृष्टि नपरेको होला ?  उज्यालो छर्ने दिब्री तल सधैँ अँध्यारो भएको जस्तो ।”

बाबा, “ए छोरीको बारेमा कुरा गरेकी ?  भर्खर त पढिसकेर जागिरे भएकी छिन्। किन यसरी हतारिएकी ?”

आमा, “निर्वाह गर्नुपर्ने कर्मलाई ढिलो गर्नु हुन्न । समयलाई कसले पो रोक्न सक्छ र ?”

बाबा, “तर मैले भित्री खबर नलिएको पनि छुइन नि। गुवाहाटी विश्वविद्यालयमा एकजना लायकका प्राध्यापक रहेछन् ।आउँदो साता म उनका पिताजीलाई भेट्ने कुरा सोच्दै छु ।”

आमा, “त्यसो भए उत्तम हुने रहेछ । तर छोरीलाई दुई कुरा सोधिहेर्नु पर्छ होला। उसको राय लिनु पनि जरुरी होला ।”

बाबा, “हाम्री स्वाभिमानी छोरीले मातापिताको कुरालाई सधैँ सम्मान गरिआएकी छिन्। बित्थामा अनर्थ सोच्नु हुँदैन ।”

* * *  

उतापट्टि वार्तालाप सकियो। सायद दुवै निद्रा लोकमा गमन गरे। तर विजयालाई भने रातभरि निद्रा परेन।

साँझ परेको समय। स्थान तेजपुर विश्वविद्यालयको उद्यान। विजया एउटा बेन्चमा बसेकी। सुनसान परिवेश। बिजुली बत्तीको अवस्थान केही टाढा। पिलपिल मधुरो प्रकाश। छेउमा टुसुक्क बस्दै बोले तेजले, “आज सबै थोक सपना जस्तो लागेको छ। तिमीले  मेरो बारेमा यत्रो सोचेकी रहिछ्याै ! मेरो आभार व्यक्त गर्ने शब्द नै रहेन । म जस्तो भाग्यवान् कोही छैन होला”।

“त्यसो नभन तेज। मेरा लागि तिमी नै सबै थोक हौ। याद गर त कक्षा एघारको रिजल्ट तालिका । तिमी शीर्षमा थियौ अनि म सामान्य विद्यार्थी। म आज यत्रो ओहोदामा पुगेकी केवल तिम्रै कारणले हो।”

यसपछि दुवै वार्तालापमा हराए। विजया नै धेरै सक्रिय थिइन्। तेज त केवल बिच बिचमा घान लगाउने उपकरण मात्र।

साँझ परिसकेछ । रातले छिचोलिसकेछ दिनलाई। छात्रावासको घण्टीले नौ बजेको सङ्केत गर्यो। विजयाले अन्तिम जिज्ञासा राखिन्, “अनि तिमीले पढाउँदै गरेका महल्लाका विद्यार्थीहरू यति बेर कहाँ कहाँ पुगे ?”

“सबैको टुङ्गो लाग्यो। तिनमा कोही डक्टर, इन्जिनियर र कलेजका शिक्षक पनि भएका छन् ।”

“तिमीले सबैको बाटो लगाएछौ । अभिभावकको दायित्वको पालन गर्यौ। तर एउटा उत्तरदायित्व अझै बाँकी छ ।” विजयाले अनुहारमा अर्थपूर्ण हाँसो सजाइन्।

तर तेजले नबुझे जसो गरी ‘ट्वाँ’ परेर हेरिरहे।

“केही बुझेनौ ?”

“अहँ।”

विजयाले हैरानीको ठुलो सास फेरिन् अनि स्वर बजाउँदै भनिन्, “ए विज्ञानी। हिजोआज मलाई एउटा सपनाले बारबार सताउँछ । मनलाई हुँडल्याई रहन्छ। यसको विश्लेषण गरी समाधान गरिदेऊ न ।”

“कस्तो सपना ?”

“तिमीलाई थाहा नै छ अक्सिजन र हाइड्रोजन परमाणु मिलेर पानी अणुको सृष्टि हुन्छ । यो धर्तीलाई पानीको खाँचो छ । विशेष गरी ग्लोबल वार्मिङसँगको युद्ध जित्न। निलो आकाशमा । अक्सिजन परमाणु हाइड्रोजनलाई भेट्न आतुर छ । उतै अग्रसित।  तर बिचमा बादलको पर्खाल ठिङ्ग खडा छ।  पल्लापट्टि हाइड्रोजन बसिरहेको छ। टसको मस गरेको छैन। ऊ केही अघि सर्दा अक्सिजनलाई पाइहाल्ने स्थानमा छ। अब तिमी भनिदेऊ त  हाइड्रोजन अघि बढेर अक्सिजनलाई भेट्ला ? अक्सिजनले कति दिन हाइड्रोजनलाई खोज्दै तड्पिरहनु पर्ला ?” विजयाले शरारती हाँसो सजाइरहिन् ।

तेज जवाफ खोज्दै अन्तर्मन खोतल्न लागे।