उनले आफ्नो बच्चालाई मजेत्रोले कसेर ढाडमा बोकी  छेपेखोलाको पुल सरासर तरेर पार गरिसकेकी छिन् । अब भने उनी एउटा ढुङ्गोमा टुक्रुक्क बसेकी देखिन्छिन् ।

 

पूर्णिमाको रात छ  एकदमै झलमल्ल उज्यालो । प्रेम गर्नेहरूको लागि झनै प्रेमिल समय छ । रोमाञ्चकारी मौसम छ । रुखको टोड्कामा बसेका लाटकोसेराहरू ध्यानमग्न छन् । पारिजात फुलेको छ गाउँको गल्लीहरूमा झकमक्क । कस्तो शान्तिपूर्ण वातावरण छ । यस्तो लाग्छ कि आज प्रेम गर्न आह्वान गरेको छ स्वयं धरतीले र उसको आह्वानलाई सफल पार्न जून आफै तल्लीन छ त्यसैले पोखिएको छ, छल्किएको छ तलतल फाँटहरूसम्म ।

यो मनमोहक रातमा को हो त्यो एक नारी आकृति ? जो भाग्दै गरेकी देखिन्छिन्  स्कुल डाँडाको मूल बाटोमा ।  जसले बच्चा च्यापेकी छिन् आफ्नो छातीमा । यो शान्ति खलबल्याउने गरी त्यो कसको छाया हो फेरि ? जो हातमा लौरो या खुकुरी जस्तो केही हतियार बोकेर  खेदाउँदै छ त्यो नारी आकृतिलाई । उसले खुट्टा बाङ्गाेटिङ्गाे टेकिरहेको छ । उसको गति एक समान छैन । घरी नजिक पुग्न खोज्छ । भेट्टाउँला भेट्टाउँला जस्तो गर्छ फेरि गति धिमा हुन्छ र पछि पर्छ ।

केहिबेर खेदेर ऊ बिसाउँछ । अब भेट्न सक्दिन जस्तो लागेछ कसो ऊ ढुलमुल ढुलमुल गएकै बाटो फर्कन्छ । नारी आकृति जूनको उज्यालोमा राताेमाटे डाँडा काट्छिन् । उसले भेटेको भए त्यो नारी आकृतिलाई  के मारपिट मात्रै गर्थ्यो होला ? अथवा हत्या नै पो गर्थ्यो कि ?  त्यो त उसको रिस र आवेगमा भर पर्थ्यो होला । पक्कै पनि त्यो पुरुष छाया ती नारी आकृतिको पति हुनुपर्छ  र ऊ रक्सीले बेस्सरी मातेको हुनु पर्छ। यत्ति कुरा त यी सब दृश्यहरू एकाएक गरेर आफ्नो टोड्काबाट नियालिरहेको एक्ले लाटोकोसेरोले पनि बताउन सकिहाल्छ ।

रातको डर र पीडा सबै बिर्सेर ती नारी आकृति एकोहोरो बाटै बाटो हिँड्छिन् । घरीघरी आफ्नो हातहरूको कोक्रो बनाएर बच्चालाई झकझक्याए झैँ गर्छिन् सायद घरीघरी त्यो बच्चा रोएको हुनुपर्छ । सायद उनलाई डर यस कुराको छ कि राति हुँदी नानी रोयो भने भूतप्रेत लाग्छ नानीलाई र बिमार हुन्छ । अलि पर पुगेपछि बाटो दुईतिर बाँडिन्छ । ती नारी आकृति केही छिनको लागि अलमलिए झैँ देखिन्छिन् । सायद तल्लो बाटो सदरमुकाम जाँदो हो । सायद माथिल्लो बाटो उनको माइती गाउँ  जाँदो हो । उनले माथिल्लो बाटो रोजिन् ।

उनका पाइलाहरूको गति बढ्दै गएको छ । आकाशमा जून टहटह लागिरहेकै छ । उनलाई थकान भएको होला , प्यास लागेको होला । तर अहिले त उनलाई डाँको छोडेर रुने फुर्सद पनि छैन ।

निद्रामा हिँडेको मान्छे जस्तै भाव शून्य मुद्रामा उनका पाइला एकोहोरो पूर्व दिशामा चलिरहेको छ । तीन घण्टा जति हिँडेपछि भर्खरै  ती नारी आकृति ठिक छेपेखोलाको झोलुङ्गे पुलमाथि देखिएकी छिन्  । यो त्यही खोला हुनुपर्छ जसलाई तरेर पहिलो चोटि उनले आफ्नो माइतीघर  छोडी पराई घर आउनु परेको थियो ।  यो त्यही पुल हुनुपर्छ जसले उसको घर र माइतीबिच साँघुको काम गरेको हुनुपर्छ ।

यति बेला उनले आफ्नो बच्चालाई मजेत्रोले कसेर ढाडमा बोकिरहेकी देखिइन् । उनले छेपेखोलाको पुल सरासर तरेर पार गरिसकेकी छिन् । अब भने उनी एउटा ढुङ्गोमा टुक्रुक्क बसेकी देखिन्छन् । सायद बल्ल उनले रुने थोरै समय पाएकी छिन् । माइती गाउँको माटोमा टेकेर पक्कै पनि उनलाई झनै पीडा बोध भएको हुनुपर्छ ।

बिना कोसेली पात, मध्य राति हुँदी, दुखिया कर्मको भारी बोकेर कसरी माइतीको आँगन टेकुँ भनेर लाज भएको हुनुपर्छ । पक्कै पनि सङ्कोच भएको हुनुपर्छ । पक्कै पनि आफ्नो पतिको अत्याचारबाट भाग्दै भाग्दै खाली हात माइती आएको यो उनको दसौँ चोटि हुनु पर्छ ।

केही बेरको विश्रामपछि अचानक ती नारी आकृति तरिसकेको पुलतिर फर्किइन् । छेपेखोला जुनेली रातमा मस्त चुपचाप चुपचाप बगिनै रहेको थियो । उनी पुलको बिचमा आएर अचानक टक्क रोकिइन् र उँधो खोलातिर एक टकले हेरिरहिन् । निकै बेर कुनै खास क्रियाकलाप देखिएन ।कुनै हलचल थिएन । यो निर्जन रातमा जून थियो, चिसिँदै गएको हावा थियो । झोलुङ्गे पुल थियो। पुलमुनि छेपेखोला चाँदी टल्के झैँ टिलपिल बगिरको थियो। पक्कै पनि उनी आत्महत्या गर्ने सुरले तरिसकेको खोलाको पुलमा फर्किएकी हुनुपर्छ ।  पक्कै पनि अब यो जिन्दगीको बोझ बोक्न नसक्ने निर्णय गरेकी हुनुपर्छ । तर उनले आफ्नो ढाडमा बोकिरहेकी  त्यो सानो बोझ नि ?

एकै छिनमा गाईले बाछोलाई चाटिरहे झैँ ऊनी आफ्नो बच्चालाई चुमिरहेकी थिइन्। बच्चा पिठ्युँबाट उनको छातीमा सारिसकेकी थिइन् । पक्कै पनि बच्चाको मायाले उनलाई हाम फल्न रोकेको हुनुपर्छ । पक्कै पनि आफ्नो बच्चाको अनुहार हेरेर ऊनी मुस्कुराएको हुनुपर्छ

अन्तिम दृश्यमा ती नारी आकृति  पुल तरेर सरासर उकालो लाग्दै थिइन् । माइती पुग्ने दृढ सङ्कल्पको साथ अझ छिटो छिटो हिँडिरहेकी देखिइन् ।

ठ्याक्कै त्यही बेला मैले पनि  आफूलाई खै कसरी हो  ,झल्याँस्स त्यहीँ हिँडिरहेको पाएँ । उनकै पछि पछि लागिरहेको पाएँ । एक चोटि उनको अनुहार हेर्न मन लाग्यो। को रहेछ भनी चिन्न मन लाग्यो। त्यसैले उनलाई उछिनेर अगाडि गएँ र फर्केर हेरेँ । म झसङ्गै भएँ । छाँगाबाट खसेँ। होस उडे झैँ भयो ।

मुखबाट केवल  यति मात्रै निस्कियो  ” आमा ! तिमी…?”  र त्यो अबोध बच्चालाई पनि हेरेँ । अब्बुई !  चिनेँ ,सानो दुई वर्ष  हुँदाको म !

म मेरी आमाकी पहिलो सन्तान जेठी छोरी ।