घर आएको भोलिपल्टै ऊ सहर फर्की । यत्रो समयपछि गाउँ आएकी छोरी । दुई चार दिन गाउँमै बसोस् । दही-दूध खाओस्। अलिकति भने पनि मोटाओस् भन्ने सोझा बाउआमाको चाहना ।आमाबाबुको मन छोराछोरी माथि छोराछोरीको मन ढुङ्गामुढा माथि भन्ने उखान यत्तिकै बनेको होइन रहेछ। छोरी आधुनिक हुनु पनि बाबुआमालाई साह्रै पिरलो पो हुँदो रहेछ नि !

गाउँमा वाइफाइ छैन। त्यसैले हाइफाइ पनि छैन। अरू त परै जाओस् टेलिफोनको टावर  पनि राम्रो छैन। द्वन्द्व कालमा माओवादीले भत्काएको टावर अहिलेसम्म पनि बनेको छैन। त्यही गाउँको टावर भत्काउने नेता तीन तीन पटक सञ्चार मन्त्री भइसके। त्यही गाउँको तिनैले भत्काएका टावर अहिलेसम्म उस्तै । उनीहरू कस्ता धनाढ्य भइसके गाउँ द्वन्द्व कालकै बुढो लौरो टेकिरहेछ।अहिलेको समय सञ्चार र सोसल मिडियाको हो रेन्त ! सबका सब भुलेका छन्। मस्त छन्। चुस्त छन्। सब चार इन्चको पर्दामा रमाका छन् मानौँ मोबाइल र फेसबुक भनेको मान्छेलाई ज्युँदो छु भन्ने प्रमाण देखि रमाइलो गर्ने एउटा वैधानिक वेश्यालय जस्तो ।

यसैमा केटाकेटीको अन्तरङ्ग गफ। चुम्बन चाटाचाट साटासाटदेखि देह देखाउने लीलागिरी थलो पनि । सेल्फिको चुच्चे नाक होस् या बुद्धि बङ्गारो खुस्केको हाब्रे मुख होस्, सिँगानदेखि अल्सीको वैराग्य विरहसम्म यही फेसबुकमै देखाइन्छ ।भागेर बिहे गर्नी कुरादेखि साँधेर अचार खाने कुरा सम्मको घटना र विचारको पौडी पोखरी हो फेसबुक। घाटमा जलाएको लासदेखि खाएको गाँससम्म यसमै उत्तानिन्छ। उसो त काम नभएका बेरोजगारीहरूलाई समय कटाउने ,गफ पड्काउने, विचार छड्काउने मेसो पनि हो फेसबुक। जति बेला पनि केटालाई केटी र केटीलाई केटो उपलब्ध हुने आधुनिक रत्नपार्क भनेको अहिलेको फेसबुक हो। गाडीमा झन्डा हल्लाउने देखि पिँढीमा कोक्रो हल्लाउने सम्मका उत्तर आधुनिक कथा यसमै पोख्छन् मनुवा।

बुढो भाका बाउ भैँसीको भकारो सोर्ने, सत्तरी नाघेकी आमा डोको नाम्लोले तालु कुच्च्याउने जिन्दगी घिच्च्याउने ! यता तरुनी छोराछोरी जति बेला पनि घोप्टिँदै मोबाइलको मेसेन्जरमा समय सिद्ध्याउने । एउटा विचित्रको घोप्टे रफ्तार हो फेसबुके लीला ।

बल्लतल्ल  घरमा आकी छोरी । दुख सुखका कुरा गर्ली, पढाइका कुरा गर्ली, मलाई यो चाहियो, मलाई उ थोक चाहियो भनेर भन्ली भनेको त मोबाइलमै झुन्डिएको देख्दा बिचरा आमाबाबु आफै लज्जित पो भए । मोबाइल नकिन्दिँदा सम्म त राम्रोसँग बोल्थी। आमाबाबुका दुख बुझ्थी । जब आइ फोन मोबाइल किन्दिएको छोरी त छोरी जस्ती छैन।

दुई दिन बसेर ऊ निस्की । उसलाई सहर नै प्यारो रे। बाबुआमा थोत्रा भए उसका लागि । ऊ आधुनिक सहरिया । गाउँ त ओडार भयो भयो उसको लागि। बाले माया गरी बोलाउने प्यारो नाम छ्यङ्री हो उसको। यो उसको नाम छ्याङ्री जुर्नुमा पनि रोचक कुरो छ। तामाङ बस्तीमा जन्मेकी  ऊ। बच्चामै एउटा गुरुङ्सेनी फुपूले बेस्सरी छ्याङ ख्वाएर नचाएछन्। त्यस बेलादेखि उसको नाम छ्याङ्री ।

गाउँ आएकै पिछे एक महिनालाई पुग्ने सामल लैजान्छे ऊ। स्कुलमा राखेको नाम चैँ सरिता  हो उसको। सरिताको अर्थ सरल शान्त। नामअनुसार काम कस्तो छ  तपाईं यो कथा पुरै पढेपछि थाहा पाउनु हुन्छ। म बिस्तारै भन्दै जान्छु। हतार नगर्नु न। हतार गरेको कुनै काम पनि राम्रो हुन्न क्या। तपाईं हतार गरेर दौडेर पनि के गर्नुहुन्छ आखिर गन्तव्य जाने बसले तपाईंलाई मात्रै कहाँ कुरेर बस्छ र ?

ऊ बस चढ्छे। धादिङ बेसीदेखि बालाजु चोकसम्मको भाडा चार सय थियो । खलासीसँग बेला बेलामा झगडा गर्छे। पाँच सयको नोट दिएकी थी उसले। खलासीसँग खुजुरा थिएन। एक छिनमा पैसा फिर्ता गर्छु है भन्यो उसले। हरेक आधा आधा घण्टामा ऊ पैसा फिर्ता माग्छे। खलासीले “कस्तो किचकिचे केटी हो तिमी ! तिम्रो पैसा कसले खान्छ-? ” भनेर कडापनले दन्कायाे। ऊ चुपचापले घोप्टो परेर मेसेन्जरमा च्याट गर्न थाल्थी ।

मोबाइलमा च्याटिङ गर्दा गर्दै बाटो काटेको पत्तै भएन उसलाई ।

आफ्ना केटाहरूसँग च्याटिङ गर्दा ऊ दायाँबायाँ, वरपर, अगाडिपछाडि केही हेर्दैन थी । ऊ खुब रमाइलो कुरा गर्छे। भर्खरैकी  कोरली, कोर्के  बैँसले लर्के जवानीको पानी भरिएकी खाइलाग्दी । धेरै बोकाहरूको बथानमा एउटा जवानी बाख्री कसरी चोखी रहन्छे ? उसको पनि हालत त्यही हो। अहिलेका फेसबुके बोकाहरूको काम छैन । कोही राम्री तरुनीको प्रोफाइल पिक्चर देखेपछि सक्किगो, भित्रको गडबडी कसलाई के थाहा ? कति केटा फेरिसकिन ?। नयाँ साथीहरूसँग जोडिनु, अलिकति खाइलाग्दा केटाहरूलाई फ्रेन्ड रिक्वास्ट पठाउनु । नचिनेका केटाहरूको फेसबुक प्रोफाइल खोलेर हेर्नु। अलिक मनले खाएको जस्तो केटा देखियो भने स्ट्याटसमा गएर लब्ली लाइक गर्नु, मीठो कमेन्ट गर्नु उसको रमाइलोको विषय हुन्थ्यो।

आफ्ना नजिकैको फेसबुके साथीहरूलाई आफ्ना फोटोहरू देखाउनु, रोमाञ्चक गफ गर्नु, अनलाइन कुराकानी गर्नु, भ्वाइस मेसेज पठाउनु आदि कुरामा ऊ रमाउँछे । ऊ अर्थात् सरिता अर्थात् छ्याङ्री।

आजको त्यो यात्रामा आफूसँगै काम गरेको एकजना अफिसको साथी “सोम” भन्नेसँग गफ भइरह्यो  र अहिले पनि भइरहेको छ। उनीहरूको मेसेन्जर च्याटमा नुहाएको खाएको गाएको लाएको पाएको धाएको छाएको कुरादेखि जवानीका कुरासमेत साटासाट हुन्थे ।

“ओइ छ्याङ्री कहाँ आइपुगिस् ? ”

“नौबिसे पुग्न लागेँ ?”

“खोइ देखा त सेल्फी ।”

“देखाउन्न ।”

“तँलाई  मैले त्यो देखा भन्या हो र ?”

“तैँ देखा न ।”

“किन जान्नी हुने ?”

“मेरो जिन्दगी तेरो हातमा साँचो ?”

“यस्तै हो धेरै केटा साथी हुने केटी भाउ खोज्छन् एउटासँग कुरा नमिले अर्को जगेडा ।”

“तिमी बोकाहरू पनि कम्ता छौर ?”

“ओइ ! गाउँ गएपछि त पुरै चेन्ज भैछस धेरै घ्यु खाइस् कि क्या हो ?”

“ओइ जेपिटि बोल्छस् “?

“रातभर केटाहरूसँग च्याट गरेर थाकिस् होला ।”

“त जस्तो हो र म ?”

“म जस्तो भएको भए तेरो पूजा गर्थें ?”

“गर्न त पूजा । सर्दम ठिक पार। म तेरो रुममा सिधै आउँछु ।”

“पक्का आउछेस् छ्याङ्री ? नत्र म रेडी भएर बस्छु ।”

“के गर्न ?”

“पूजा गर्न ।”

“भात पकाइ राख। म चिकेन र वाइन लिएर आउँछु । आज दिनभर जम्नी”

“गिद्दी होइन नि फेरि खुरुक्क आइज ।”

“हस् आउँछु नि राजा”

” छोरी !” आफ्नै सिटको पछाडिबाट कोही बुढो मान्छे सुँक्क सुँक्क गरेर रुँदै कराए जस्तो लाग्यो। को रोयो भनेर यसो पछाडि फर्किंदा त आफ्नै बुवा। छ्याङ्री एक्कै चोटि चिसो भई। बाटोमा एक्कासि गाडीमा ब्रेक लागे जस्तो भो। एक्कासि अत्तालिएर बोली, “बा !”

“मैले तिमीलाई    महँगो सहरमा पढ्न पठाएको फेसबुके प्रेम गर्न र मनोरञ्जन गर्न पो रेछ। हामीले कोदो खायौँ तिमीलाई चामल पठायौँ। हामीले गुन्द्रुक खाई तिमीलाई  दाल पठायौँ। हामी बेखर्ची भएर पनि तिमीलाई खर्च पठायौँ। हामी लुम्रे झुम्रे बस्यौँ तिमीलाई सुकिलो बनायौँ । तिमी पढेर ठुलो हाेल्याै लोकसेवा पास गर्ल्यौ अधिकृतमा नाम निकाल्यौ भनेको त फेसबुकमा पो नाम निकालिछौ छोरी ! धादिङ बेसीदेखि तिमी नौबिसे खोलासम्म आउँदा  अनेक फोहोरी केटाहरूसँग मन परि च्याट गरेको देखेँ। धिक्कार छोरी ! म तिम्रो बाबु भएकोमा । तिम्रो कारणले यो उमेरमा म यति दुखी  हुन पर्ला भन्ने सोचेको पनि थिइन..यो सोसल मिडियाले सप्रिने भन्दा बिग्रने धेरै भए। अपसोच छ ! सोसल मिडियाको पिरो ज्वालाले  तिमी पनि जल्यौ र हामीलाई पनि जलायौ। हामी गरिब भएर पनि, कहिल्यै गरिब छौ भनेर तिमीलाई  अनुभूति हुन दिएनौ छोरी !

जामले गर्दा गाडी उकालोमा रोकियो। बुढा गाडीबाट सिधै ओर्लिए । जाम खुल्यो। गाडी अगाडि बढ्यो। बुढा पछाडि हटे। यही हो जिन्दगी कोही पछाडि हट्ने पनि असल हुन्छन् र कोही अगाडि बढ्ने पनि खराब हुँदा रहेछन्।