जेठ महिनाको गर्मी खपिसक्नु थिएन । स्वामीको रुखमुनि चिसो हावा चलेकोले जमिनदार कृष्णलाल र हवलदार श्यामसुन्दर पुन चौतारीमा बसेर गफगाफ गर्दै थिए । कृष्णलाल एक्लो छोरा सम्पत्तिको लेखाजोखा नै छैन । आँखाले देखेर नभ्याइने जग्गा छ । जमिनदार बाउबाजेको सम्पत्ति आफूले सुको कमाउन परेको छैन ।

गफैगफमा श्यामसुन्दरसँग भन्यो, ‘हेर श्यामे सम्पत्ति त मेरो लथालिङ्ग छ । मेरा दुई तीन पुस्तालाई पुग्नेछ । काम धन्दा नगरी खान पुग्छ ।’

उनको कुरा सुनेर श्यामेले भन्यो, ‘हो त नि साहु बा, अब केही आफू अमर हुने राम्रो काम गर्नुस्, सम्पत्ति जति पनि छ ।’

कृष्णलालले भने, ‘धर्मकर्म गरेँ, मठ मन्दिर बनाएँ, तीर्थ गएँ । अरू के असल काम हुन्छ र श्यामे ? म अमर हुन्छु, महान् हुने काम गरेको छु ।’

उनको कुरा सुनेर श्यामेले भन्यो, ‘ती मूर्तिमा पैसा चढाएर मूर्ति र मन्दिरमा ढोग्दैमा अमर भइँदैन । साहु बा अरू समाजसेवामा लाग्नुस् । मैले मन्दिरबाहिर बसेर भीख माग्नेलाई कति पटक खानेकुरा दिएको छु । हजुरभन्दा त मै महान् छु ।’

श्यामको कुरा सुनेर जमिनदारलाई श्यामेलाई जित्ने काम गर्न मन लाग्यो र सोच्यो । आउने शनिवार गाउँभरिका दुःखी गरिबलाई बोलाएर घरमा खाना खुवाउने र आफू अमर हुने योजना बनायो । दुवै जना उठेर आफ्नो आफ्नो घर गए ।

शनिवारको दिन गाउँले सबै भतेर खान जम्मा भए । मीठा मीठा परिकारहरू पकाइएको थियो आउने, जाने, खाने मान्छेको घुइँचो थियो । सबै खुसी थिए । यो दृश्य देखेर कृष्णलाल निकै खुसी भए । आफूले ठुलो काम गरेको महसुस गरेको थियो । अलि पर त्यस्तो गर्मी याममा एउटा किसानले खेत जोतिरहेको देख्यो । त्यो व्यक्ति आफ्नो घरमा खाना खान नआएको देखेर अचम्म पर्यो र आफ्नो मान्छेलाई बोलाउन पठायो तर किसान जान मानेन । नोकर एक्लै फर्केको देखेर जमिनदार छक्क परे । खै त त्यो व्यक्ति किन आएन ? खै हजुर ? आउन मानेन नोकरले बोलाउँदा यस्तो गर्मीमा खेत जोतिरहेको छ । खान नआएको सुनेर जमिनदार आफैँ बोलाउन गए ।

खेत जोतिरहेको किसान सामु पुगेर भने, ‘आज हाम्रो घरमा भतेर खुवाउने काम भएको छ । मीठो मीठो परिकार बनेको छ । हिजो बेलुका नै सबै गाउँलेलाई खबर गरिएको थियो । सबै जना आए । तिमीले खबर थाहा नपाएर हो कि किन हो ? नोकरलाई बोलाउन पठाउँदा पनि आएनौ त ?’

किसानले भन्यो, ‘मालिक म आफैँ मिहिनेत गरेर खान रुचाउँछु । गरिब छु तर अरूको सित्तैमा पाएको चिज लिन्न । आफै कमाउँदासम्म आफ्नै कमाइ खानुमा बडो आनन्द लाग्छ । माफ गर्नुहोला हजुरको भतेर खान आउन मनले मानेन ।”

किसानको कुरा सुनेर जमिनदार दङ्ग परे । यस्तो गरिब, यो गर्मीमा सित्तैमा खान बोलाउँदा न आएको देखेर मनमनै अनेक सवाल खेलाउँदै घर पुग्यो र श्यामेसँग यी सब कुरा विस्तारमा बतायो । ‘हेर् श्यामे, तैँले र मैले राम्रो काम गरियो, पुण्य कमाइयो, अमर र महान् बनियो भन्नु झुटो रहेछ । वास्तविक महान् त त्यो किसान पो रहेछ । कति स्वाभिमानी ? आफैले मेहनत गरेर खान्छ, लोभ-लालच गर्दैन । त्यो किसानको अगाडि म आफूलाई अत्यन्तै सानो महसुस गरेको छु । मैले आजसम्म कहिले मेहनत गरिन जे जति धन सम्पत्ति छ । यो सब पुर्खाले आर्जन गरेको हो वास्तविक गरिब त्यो किसान होइन म पो रहेछु ।’

श्यामसुन्दरले भन्यो, ‘हो साहु वा हो, आफ्नो मेहनतको कमाई पो कमाई । अरूको सित्तैमा मिलेको धन मा घमन्ड गर्नु मूर्खता हो ।’

खजुरा बाँके