
पोखरामा बसोबास गर्ने मान्छे म । पछिल्लो समय मलाई काठमाडौँ बढी नै मात्रामा आउजाउ गर्नुपरेको थियो । कहिले आफू आबद्ध सङ्घसंस्थाहरूको बैठक, कार्यक्रम त कहिले रोगको उपचारका सिलसिलामा पनि समय मिलाएर पुग्नै पर्ने हुन्थ्यो । प्लेन चढ्ने हैसियत नभएकाले बसमै आउजाउ गर्ने गरेको थिएँ । सहज त मलाई ठुलै बसमा यात्रा गर्दा सहज लाग्छ तर समय छिटो होस् भन्ने उद्देश्यले पोखरादेखि प्रायः माइक्रो बस चढेर काठमाडौँ पुग्ने गरेको थिएँ । र यस पटक पनि काठमाडौँ जाने क्रममा म पोखराको बसपार्क पुगेँ । अरू ठुला बसहरूको तुलनामा माइक्रोले छिटो पुर्याउने हुँदा मैले माइक्रो बस नै समातेँ ।
यात्रुहरू नभरिएका हुँदा सहचालक र ड्राइभरसमेत मिलेर अन्य यात्रुहरू खोजिरहेका थिए । अरू माइक्रोमा पनि यात्रुहरूको तानातान थियो । खसी बोकालाई जस्तै गरी यात्रुहरूलाई तानिरहेको दृश्य पनि थियो । नेपालका प्रायः बसपार्कहरूमा यात्रुलाई जबरजस्ती तानेर भए पनि आफ्नो बसमा कोच्ने जुन परिपाटी छ, त्यसबाट पोखराको बसपार्क पनि अछुतो छैन भन्ने प्रमाण दिँदै थिए गाडीका चालक, सहचालक र दलालहरूले पनि । १०–२० रुपियाँको लोभमा यात्रुलाई फकाएर वा तानेरै भए पनि गाडीमा चढाइदिने दलालहरू समेत बसपार्कमा दौडधुप गरिरहेका थिए ।
सिट भरिएपछि पनि बिचको प्यासेजमा समेत मुढा ओछ्याएर बस्नका लागि व्यवस्था मिलाउँदै सहचालक ‘काठमाडौँ, काठमाडौँ; सिट खाली !’ भन्दै चिच्याइरहेको थियो । म सँगैको सिटमा टाँसिएको थियो मेरै उमेरको अधबैँसे, मभन्दा केही कान्छो पनि हुन सक्छ ! सायद ऊ पनि काठमाडौँ जाँदै थियो ।
बसपार्कमा लगभग आधा घण्टा लगाएर प्यासेजमा राखिएका मुढाहरूमा समेत यात्रुहरूलाई बसालेपछि माइक्रोले बिस्तारै गति लिन थाल्यो । बसपार्कबाट एक किलोमिटर जति गुडेपछि अमरसिंह चोकमा आएर मैले भित्रका मान्छेहरू गनेँ । हामी बालबच्चा, पाका, बुढाबुढी, गाडीका स्टाफसमेत सबै गरेर २० जना थियौँ । यो माइक्रोको क्षमताभन्दा बढीको सङ्ख्या थियो । जाडाको समय, बाहिरको मौसम चिसो थियो । वरिपरि बाक्लो हुस्सु भरिएको । भित्र भने मान्छेहरू गुन्द्रुक खाँदिए सरी खाँदिएकाले होला सायद चिसोले त्यति दुःख दिन सकेको थिएन ।
बस विजयपुर खोला तरेर लेखनाथतिर आइपुग्यो । यति बेलासम्म मसँग सँगैको सिटमा बसेको मान्छेसँग मेरो बोलचाल भएको थिएन । उसले बोल्ने प्रयास गर्छ कि भन्ने आसा गरिरहेको थिएँ तर उसले बोल्नका लागि त्यति चासो नदेखाएको हुँदा मैले नै मुख फोरेर उसको घर ठेगानाका बारेमा जिज्ञासा राखेँ ।
‘बागलुङ हो तर अहिले चाहिँ केही वर्षदेखि यता पोखरामै छु । विन्ध्यवासिनी मन्दिरको केही उत्तरतिर सानो झुप्रो बनाएर बसेको छु ।’ उसले सङ्क्षेपमा आफ्नो पुर्ख्यौली थलोका साथै हाल बसोबास गरेको स्थानका बारेमा पनि बतायो ।
‘अनि अहिले काठमाडौँ के कामले हिँडेको त ?’ अघिसम्म झ्यालतिर मुन्टो तेर्स्याएर बोलेको उसले यो प्रश्न सुनेपछि भने मेरै अनुहारमा अलि गहिरिएरै दृष्टि लगायो र भन्यो, ‘काठमाडौँमा उपचारको क्रममा छु । फलोअपका लागि हिँडेको ।’
‘के बिरामी हुनुहुन्छ र तपाईं ? जीउ हेर्दा त मोटोघाटो डम्मकै देखिनुहुन्छ !’ मैले उसको शारीरिक अवस्थालाई पनि सङ्केत गरेँ ।
‘बाहिरबाट हेर्दा छाला र मासुको थुप्रो हृष्टपुष्ट देखिए पनि भित्रका कलपुर्जा गडबड भएपछि दुःख पाइँदो रहेछ सर !’ उसले मलाई ‘सर’ शब्दले सम्बोधन गर्न थाल्यो । र थप्यो, ‘पोखरामा त उपचार पनि गतिलो नहुने ! शरीरको अर्धनाश, पैसाको खर्च मात्रै । अझ त्यसमा पनि मेरो त रोगै पत्ता लगाउन समेत मुस्किल भयो ।’
‘के रोग लागेको रहेछ र भाइ, त्यस्तो ?’ मेरो अनुमानमा ऊ मभन्दा केही सानै उमेरको देखिएकाले मैले उसलाई ‘भाइ’ भनेर सम्बोधन गरेँ ।
उसले भन्न थाल्यो, ‘रोगको नाम पनि अनौठै छ ! सुरुमा त मैले डाक्टरले भनेको कुरै बुझिन, कहिल्यै नसुनेको नाम ! रोगै नयाँ खालको, भर्खर भर्खर पत्ता लागेको रे ! लाखौँ मानिसमध्ये एक जनामा देखिँदो रहेछ यस्तो रोग त !’
‘के नाम रहेछ त्यस्तो ?’ मैले राखेको जिज्ञासालाई उसले वास्तै गरेन । आफ्नै कुरालाई निरन्तर अगाडि बढायो, ‘सुरुमा पोखरामै एउटा फिजिसियनलाई देखाएँ । उसले छातीको एक्स-रे, टाउकाको एमआरआईदेखि रगतबाट विभिन्न परीक्षणहरू गर्यो । रगतको एकथरी परीक्षण के नामको हो कुन्नि ! अहिले बिर्सें, त्यसको रिपोर्ट एक हप्तापछि आउँछ भन्यो । थाइराइड र कोल स्टोरेल बढेको रहेछ । तिनीहरूको औषधि चलायो । एक हप्तापछि रगतको एक थरी परीक्षणको रिपोर्ट बुझ्न जाँदा मास्थेनिया हो कि म्यास्थेनिया के हो भन्थ्यो । मैले कहिल्यै नसुनेको शब्द, बुझ्नै सकिन । मेरा मांसपेशीहरि कमजोर हुँदै गएका थिए । मलाई के लागिरहेको थियो भने यो मांसपेशी वा नशासँग सम्बन्धित रोग हो । यस अर्थमा बरु न्युरो सम्बन्धी विशेषज्ञलाई देखाउन पाए हुन्थ्यो भनेर सल्लाह मागेँ । पोखरामा न्युरो सम्बन्धी राम्रा डाक्टर नभएकाले उसले मलाई काठमाडौँ जाने सल्लाह दियो । त्यसपछि भने म काठमाडौँ धाउन थालेको हुँ सर !’
‘अनि, तिमीलाई भएको के हो ? रोगका लक्षणहरू त थिए होलान् नि !’ मैले जिज्ञासा राख्न छोडिन ।
उसले आफ्नो पकेटबाट सुर्ती झिक्यो । सुपर पावर नामको सुर्ती रहेछ, फाँक हाल्यो । मलाई अचम्म लाग्यो– बिरामी छु भन्छ, मुखमा सुर्तीको फाँको हालेको छ ! उसले सुर्ती खाएको मलाई कत्ति पनि मन परेन, सम्झाउने उद्देश्यले केही बोल्न खोज्दै थिएँ तर ऊ मेरै जिज्ञासाको प्रत्युत्तर स्वरुप बोल्न थाल्यो, ‘लगभग तिन महिना पहिलेदेखि नै केही लक्षणहरू देखा परेका थिए सर ! दाहिने आँखाको परेला खस्दै गएको थियो । मोटरसाइकलमा हिँड्दा निकै गाह्रो भएको थियो । आँखा खोल्नै मुस्किल । खानेकुरा चपाउँदा च्यापुले राम्रोसँग काम नगर्ने । निल्न गाह्रो, बोल्न गाह्रो, सासै फेर्नै कठिन भइसकेको थियो नि ! मलाई त सुरुबाटै नशा वा मांसपेशीकै समस्या भन्ने लागिरहेको थियो । कतिपय साथीहरुले आँखाको परेला खस्दै गएकाले आँखाको डाक्टरलाई देखाउने सल्लाह पनि दिएका थिए तर आँखाको दृष्टि शक्तिमा कुनै समस्या नभएकाले मलाई आँखाको डाक्टरसँग जानै मन लागेन, गइन । मेरो दिमागमा एकोहोरो के आइरहेको थियो भने यो न्युरोसँग सम्बन्धित समस्या हो र मैले एक पटक न्युरो विशेषज्ञलाई भेट्नै पर्छ ।’
माइक्रोको ढोका ढ्याप्प लाग्न छोड्यो । बिग्रेछ कि सायद । घरीघरी ढोकाको चरबाट चिसो स्याँठ छिरेर दुःख दिन थालेको थियो । हामी ढोकाको पल्लो साइड अर्थात् ड्राइभर साइडको बिचतिर थियौँ । ऊ झ्यालपट्टि र म गल्लीपट्टि । उसले डम्मको ज्याकेट लगाएको थियो । अरू यात्री त्यति साह्रो बोलिरहेका थिएनन् । मभन्दा पछाडिको एउटा मोटो मानिस सिटमै निदाएको रहेछ । घुरेको आवाज आइरहेको थियो । बाटो बिग्रेर खतम छ, खाल्डाखुल्डी मात्रै छन् । बसले उचाल्ने र पछार्ने गरेकै छ । यस्तो अप्ठेरामा पनि मान्छे निदाउन सक्दो रहेछ भन्ने प्रमाण त्यस मान्छेको घुराइले दिएको छ । कतिपय यात्रीहरू भने निद्रा नलागे पनि आँखा चिम्लेर बसेका थिए । चिसाको कारणले पनि हुन सक्छ– यात्रुहरू बोल्नभन्दा पनि आँखा चिम्लेर बस्न रुचाएका । भाइले पनि केही झोकाएजस्तो गर्न थाल्यो । अब भने मैले उसलाई प्रश्न सोधेर दुःख दिन चाहिन । रोगी मान्छेलाई किन बढी बोल्न लगाउनु भनेर मैले मोबाइल झिकेँ । मेरो मनमा उसको रोगका बारेमा कौतूहल जाग्न थाल्यो । गुगल सर्च गरेर खोजेँ– कतै माइस्थेनिया त कतै मायस्थेनिया ग्रेविस लेखेको भेटाएँ ।
रोग साँच्चै न उसले भनेजस्तै नयाँ खालकै रहेछ । पत्ता लागेको पनि धेरै भएको रहेनछ । यसले मांसपेशीलाई कमजोर बनाउँदै लाने रहेछ । आँखा, बोली, चिउँडो र गोडामा असर पुर्याउँदो रहेछ । हिन्दी फिल्मी जगतका सुपरस्टार अमिताभ बच्चनलाई पनि यो रोग लागेको रहेछ । गुगलमा यस रोगका बारेमा धेरै लेखहरू थिए । ती लेखमा धेरै कुराहरू लेखिएका थिए । म सरसरी कताकति मात्रै पढिरहेको थिएँ । एउटा लेखमा यसलाई एक किसिमको क्यान्सर भनेर पनि उल्लेख गरिएको रहेछ । मोबाइलको स्क्रिनमा पढ्दै थिएँ, कानमा सहचालक भाइको आवाज पस्यो– ‘ट्वाइलेस्वाइलेट जानुपर्ने, चिया पिउनेहरू झर्नुस् है !’
माइक्रो तनहुँको दुलेगौंडा, खैरेनीटार हुँदै जामुने आइपुगेको रहेछ । ड्राइभर भर्खरको केटौले उमेरका थिए । गाडी हाइवे छेउको एउटा कटेजको प्राङ्गणमा लगेर रोके । त्यहाँ त्यही एउटा मात्र कटेज थियो । अरू होटेल, कटेज वा पसलहरू थिएनन् । व्यापारीहरूको पाेलिसी पनि गज्जबकै मानेँ– विकल्प नै नभएपछि यात्रुहरू सबै त्यहीँ छिर्ने भए । नाफा पनि राम्रै हुने भयो । म ओर्लें । म सँगसँगै बिरामी भाइ पनि ओर्ल्यो । म ट्वाइलेट गएर फर्कँदा भाइले चुरोट तानिरहेको रहेछ । अघि भर्खर सुर्ती खाएको थियो, अहिले चुरोट तान्दै छ । बिरामी मान्छेको यो चर्तिकला देख्दा म आश्चर्यमा परेँ तर उसले चुरोट पिएको बारेमा भने केही बोलिन बरु आफ्ना लागि एक कप चिया मागेर पिएँ । एउटा चुरोट तानेर सकेपछि पुनः अर्को मागेर सल्कायो उसले । मान्छे त सर्वभक्षी नै रहेछ ! दोस्रो चुरोटको अन्तिम सर्को पनि तानिसकेपछि ठुटो फालेर उसले मुखमा एक फाँक सुर्ती हाल्यो । र बस चढ्यो ।
बस बाटो लाग्यो । दमौली आसपासमा बाटाको हालत ज्यादै नाजुक । चक्ल्याउने नाममा बाटो भत्काउन थालेको एक वर्ष बितिसकेको थियो । कास्कीको लेखनाथदेखि मुग्लिनसम्मको सडक प्रायः कच्ची जस्तै । डोजरले काम गरिरहेको ठाउँमा एकाध घण्टा जाम पनि । बाहिर उत्तिकै मात्रामा धुलो । माइक्रोले उचाल्ने र थचार्ने गर्दा मुटु कलेजोसमेत थर्किएको महसुस हुन्थ्यो । यात्रा नगरी सुखै थिएन । आडमा बसेको भाइसित गफिन पाउँदा बाटो काट्दाको मजा नै बेग्लै ठानेर मैले उसलाई हाँसी हाँसी जिज्ञासा तेर्स्याएँ, ‘अनि भाइ ! तिमीले त सुर्ती, चुरोट जे पनि खाँदा रहेछौ त !’
‘जे पनि त खाने गरेको छैन सर ! गाँजा, रक्सी जस्ता कुरा त कहाँ खाएको छु र ! सुर्ती र चुरोटमा भने बानी नै पर्यो । क्याम्पस पढ्दादेखि लागेको बानी, छुटाउँछु भनेर जति नै कोसिस गर्दा पनि सकिन । बिरामी भएदेखि त झन् किन हो कुन्नि ! अझ बढी नै तानूँ, तानूँ लाग्छ । डाक्टरले नखाने सल्लाह पनि दिएकै हो । घरमा पनि सबैले नखा नखा भनेर गाली गरिरहन्छन् । मान्छेको स्वभाव पनि अनौठै हुँदो रहेछ सर ! जुन काम गर्न हुँदैन भन्यो त्यही काम मात्र गर्न मन लाग्ने !’
‘घरमा को को छन् त तिम्रा ?’ मेरो यस प्रश्नमा उसले आफ्नो पारिवारिक विवरण सुनाउन थाल्यो, ‘श्रीमती छे, एउटा स्कुल पढ्दै गरेको छोरो छ । बुढी आमा हुनुहुन्छ । यी तिनै जनाले मैले सुर्ती खाएको देखिसहँदैनन् । म आफ्नो इच्छाअनुसार चल्नै पाएको छैन नि ! मैले सुर्ती खान्छु त, मेरो इच्छाको कुरो हो, उनीहरूलाई किन चिन्ता !’
‘त्यसो भनेर कहाँ हुन्छ र भाइ ! तिमी घरको अभिभावक । सायद तिमीले नै कमाइ गरेर घरव्यवहार सम्हालेका छौ होला, खर्च धानेका छौ होला । अनि तिम्रो स्वास्थ्य नै खराब भयो भने अर्थात् तिमीले काम गर्न सकेनौ भने परिवारको हालत के होला ? परिवारलाई चिन्ता हुँदैन त ? उनीहरूले तिम्रै भलाइका लागि त हो नि चिन्ता गरेको ।’
मेरो यस कुरामा उसले विमति जनाउँदै भन्यो, ‘एक बारको जुनी पनि आफ्नो इच्छाअनुसार चल्न नपाउने भए बाँचेको के नै सार भयो त नि ? आफ्नो मन, विचार र शरीरको हकदार म आफै हुँ भने म किन अरूको इशारामा चल्नुपर्ने ? मनले चाहेको कुरा गर्न पनि नपाउने ? म परिवारका लागि बाँचिदिनु पर्ने किन ? म बिना पनि परिवारले बाँच्ने सामर्थ्य राख्न सक्नु पर्यो नि ! अर्काको भर परेर बाँच्नु त परजीवी बन्नु होइन र सर ?’
उसलाई सम्झाउने मेरो प्रयास बालुवामा पानी हालेजस्तै भएको थियो । आजको जमानामा अर्ती उपदेशको कुनै महत्त्व छैन भन्ने जान्दाजान्दै पनि मैले उसलाई अर्ती दिने मुर्ख्याइँ गरिरहेको थिएँ । तैपनि अझै एक पटक उसलाई सम्झाउन मन लाग्यो । उसले पनि त मलाई एकै पटकमा धेरै प्रश्नहरू गरेको थियो ।
प्रत्युत्तर स्वरूप नरम भाषामा बोल्न थालेँ, ‘इच्छा छ भन्दैमा जे पायो त्यही गर्न त भएन नि भाइ ! मनमा नराम्रा चाहनाहरू पनि त आएका हुन्छन् ! त्यस्ता नकारात्मक भावनाहरूबाट उम्कन सक्नु पर्यो नि ! मनले चाहना गरे जति सबै नकारात्मक कामहरूमा लागियो भने परिवार र समाजकै पनि विखण्डन हुँदैन र भन्या ! तिमी त घरका अभिभावक । छोरो स्कुल पढ्दै रहेछ, काम गर्ने उमेर नपुग्दासम्म उसको पालनपोषण गर्ने जिम्मा तिम्रो हो । परिवारमा बसेपछि तिमीले अभिभावकीय जिम्मेवारी त पूरा गर्नै पर्छ नि भाइ ! पर्दैन र ?’
‘यी जिम्मेवारी र कर्तव्य जस्ता कुराहरू त मलाई बोल्नका लागि बनाइएका आदर्श मात्रै हुन् भन्ने लाग्छ सर ! हात्तीका दुई खाले दाँतजस्तै । व्यवहारमा आफ्नो कर्तव्य पूरा गर्ने मानिसहरू कहाँ पाइन्छन् र यस संसारमा ? सबै व्यक्ति केन्द्री त छन् नि ! मान्छेले मान्छे खाने समाज होइन र यो ? हामी बाघले आफ्नो बच्चा आफैँ खान्छ भन्छौँ तर मान्छेले मान्छे खाएको किन देख्दैनौँ ? त्यसैले नि सर ! मेरो विचारमा मानवीय कर्तव्य, जिम्मेवारी जस्ता कुराहरू सब आदर्श मात्रै हुन्, बकवास नै हुन् । खोक्रो आदर्शले आजको परिवार र समाज अगाडि बढ्छ जस्तो मलाई त लाग्दैन सर ! जहाँसम्म परिवार र समाजका लागि अभिभावकीय भूमिका छ, त्यो त राज्यसँग सम्बन्धित छ । वृद्धवृद्धा र केटाकेटीका लागि राज्यको कुनै दायित्व छैन र ? हाम्रो कर लिएपछि राज्यले हाम्रो हेरविचार गर्नु पर्दैन ? मैलाई हेर्नुस् न, बिरामी छु । लाखौँ रुपियाँ खर्च भइरहेको छ । खर्च गर्ने अवस्था दिन प्रतिदिन कमजोर बन्दै गएको छ । खोइ त मलाई राज्यले सहयोग गरेको ?’
यसरी दर्शनै छाँटेर प्रतिप्रश्न गर्न थालेपछि उसलाई सम्झाउने प्रयत्नबाट म पन्छिन चाहेँ । मेरा लागि यो भाइसित प्रतिवाद गर्न निकै कठिन हुन थालेको थियो । यसपछि भने केही समय ऊ चुप रह्यो र म पनि चुपै रहेँ । बाहिरको परिवेशमा आँखा पुर्याएँ । बस मुग्लिङ बजार आइपुगेको रहेछ । मुग्लिङबाट भने बाटो पनि सजिलो । सर्र गुडिरहेको थियो बस ।
मनमा फेरि यही भाइको उपचारका बारेमा जिज्ञासा पलाउन थाल्यो । मैले जिज्ञासा तेर्स्याएपछि ऊ पुनः बोल्न सुरु गर्यो, ‘पोखराबाट न्युरो विशेषज्ञ भेट्नका लागि मलाई काठमाडौँ धुम्बाराहीस्थित एउटा प्राइभेट हस्पिटलमा जाने सल्लाह दिइयो । त्यहाँ पेटको सिटी स्क्यान गरेपछि थाहा भयो– फोक्साको बाहिरी भागमा मासुको सानो टुक्रो पलाएको रहेछ । त्यहाँ ढुङ्गाना थरका डाक्टरले हेरेका थिए । उनले अप्रेसन गर्नुपर्ने केस हो भन्ने कुरा बताए । एउटा नियमित खानुपर्ने औषधी पनि लेखिदिए । तर उनले लेखिदिएको औषधी त्यस हस्पिटलको वरिपरि कतै पनि पाइएन । पछि महाराजगञ्जको टिचिङ हस्पिटलअगाडि एक ठाउँमा मात्र पाएँ ।’
‘सर्वसुलभ रूपमा नपाइने औषधि किन लेखिदिएको होला हगि !’ बिचैमा राखेको मेरो जिज्ञासालाई वास्तै नगरी ऊ अगाडि बढ्यो, ‘कुरो के रहेछ भने त्यो इन्डियन कम्पनीको औषधी नेपालमा रजिस्टर्ड रहेनछ । अनि औषधीको व्यापार औषधी गर्ने पसलेले मात्रै कति पो गर्छ र ! डाक्टरले पो बढी गर्छ त ।’
‘त्यहाँ ती डाक्टरले तिम्रो रोगको नाम के भने त भाइ ?’ मैले सोधेपछि उसले आफ्नो कुराको सिलसिलालाई पुनः जोड्यो, ‘मायस्थेनिया । त्यसपछि भने म मायस्थेनियाको सिकार भएको छु भन्ने कुरामा क्लियर भएँ । ती डाक्टरले मलाई त्यहीँ कार्यरत अर्का बुढा प्रोफेसर डाक्टरसँग भेट गर्ने सल्लाह दिए । ती सायमी थरका बुढा प्रोफेसरले सिटी स्क्यान लगायतका सम्पूर्ण रिपोर्टहरू हेरेपछि मेरो अनुहारतिर दृष्टि पुर्याएर सोधे, ‘तपाईं के काम गर्नुहुन्छ ?’ ‘म स्कुलमा पढाउने एउटा अस्थायी मास्टर हुँ डाक्टर सा’ब ।’ मेरो उत्तर सुनेपछि उनले भने, ‘तपाईँको यो मेजर अप्रेसन हो । यहाँ खर्च पनि बढी हुन्छ । तपाईंलाई गाह्रो पर्छ । टिचिङमा मेरा स्टुडेन्ट डक्टरहरू छन् । म उनीहरूलाई भनिदिन्छु । तपाईं त्यहाँ जानुस् ।’
‘ती बुढा प्रोफेसरले दिएको सल्लाह मलाई उचित नै लाग्यो । झोला बोकेर म टिचिङ हस्पिटल पुगेँ । टिचिङभित्र मनमोहन कार्डियोथोर्यासिकको बिरामी जाँच कक्षमा एक महिला र एक पुरुष गरी दुई जना डाक्टर सँगै रहेछन्, भेटेँ । बुढा प्रोफेसरले पठाएको नाताले होला सायद, तिनीहरूले मलाई राम्रै रेस्पोन्स गरे । थाइमसको अप्रेसन गर्नै पर्ने कुरा तिनीहरूले पनि दोहोर्याए । अप्रेसनपछि मेरो रोग सन्चो हुन्छ र म पूरै निको हुन्छु त डाक्टर सा’ब भन्ने मेरो प्रश्नको उत्तरमा पुरुष डाक्टरले भने– पचास प्रतिशत निको हुन पनि सक्छ र पचास प्रतिशत नहुन पनि सक्छ, यसै भन्न सकिँदैन । त्यसपछि तिनीहरूले मलाई एक महिनापछि अप्रेसन गर्ने भनी डेट दिएर पठाए । अनि म पोखरा फर्कें ।’ उसले यति कुरा भनिसक्दा मेरो कानमा सहचालक भाइको आवाज ठोक्कियो, ‘ल है, खाना खाने ठाउँ यहीँ हो । खाना खानेहरू झर्नुस् !’
मैले बाहिर हेरेँ । हामी मलेखु आइपुगेका रहेछौँ । गाडी त्रिशूली नदी किनारपट्टिको होटेलको प्राङ्गणमा गएर रोकियो । अन्य यात्रुहरूका साथमा म पनि झरेँ । पोखरा–काठमाडौँको रुटमा यसभन्दा पहिले मैले धेरै पटक खाना गरेको थिएँ । कुनै कुनै समयका ती खानेकुराले पखाला चलाएको अनुभव पनि मसँग थियो । यस अर्थमा पछिल्लो समयमा म भरसक घरमै खाएर हिँड्ने गरेको थिएँ । आज पनि बाटामा खाइने खानाले पेट गडबड गर्छ भन्ने आशङ्का भनूँ वा डरले एकाबिहानै भए पनि अलिकति जाउलो खाएर आएको थिएँ । म खाना खानुपर्ने अवस्थामा थिइनँ । तर सबैले खाना खाएको देख्दा मलाई पनि केही नुनिलो खान पाए हुन्थ्यो जस्तो लाग्यो । चिया पिउनुभन्दा पहिले एक प्लेट चना र एउटा उसिनेको अण्डा मगाएँ । चना बासी परेछ अर्थात् बासी चनालाई सामान्य रूपमा तताएर प्लेटमा हालिएको रहेछ । खाँदै गर्दा नमिठो खालको गन्ध आयो । एक–दुई चम्चाभन्दा खानै सकिन । अण्डा पनि त्यस्तै परेछ । बाहिरको सेतो भाग अलिकति खाएर अरू सबै प्लेटमै छोडिदिएँ । होटेलवाला साहुसँग झगडा गर्नुको कुनै अर्थ थिएन । उसलाई यात्रुहरूको स्वास्थ्यसँग के मतलब, जसरी हुन्छ– पैसा कमाउन पाए भयो ! बरु सम्बन्धित निकायले बेला बेलामा अनुगमन गरिदिने हो भने हामी मर्कामा पर्दैनथ्यौँ कि भन्ने लाग्यो । तर यहाँ अनुगमन गर्नेहरूको पनि कहाँ भर पर्न सकिन्छ र ! कतिपय सरकारी अनुगमनकर्ताहरू पनि सजिलैसित साहुहरूकै पोल्टामा बिकिरहेका छन् । मनमा यस्तै यस्तै कुराहरू खेलाउँदै चिया पिइरहेको थिएँ, त्यो भाइले चाहिँ खाना खाइसकेपछि होटेलको बाहिरपट्टि बसेर चुरोट तान्दै रहेछ । ठिक यसै समयमा ड्राइभर भाइले गाडीको हर्न बजाए । हामी गाडीमा बस्यौँ ।
यात्राले गति लिन थाल्यो । मुग्लिङबाट यता आएपछि भने जाडो त्यति थिएन र धुलाले पनि उति साह्रो दुःख दिएको थिएन । बाटो उताको तुलनामा राम्रो भएकाले बसले उफार्ने र पछार्ने काम पनि कम मात्रामा गरेको थियो । कतिपय अगाडि–पछाडिका यात्रुहरू भाते निद्रामा थिए । मैले त्यस भाइको अनुहारतिर दृष्टि पुर्याएँ । ऊ झ्यालबाहिरका दृश्यहरूमा केन्द्रित थियो । उसले अघि भर्खरसम्म सुनाएको आफ्नो उपचारको कथा सकिएको थिएन । मलाई उसको उपचारको कथा सुन्ने रहरले घचघच्याइरह्यो । ‘तपाईंको कथालाई निरन्तरता दिनुस् न त भाइ अब । त्यसपछि कहाँ कहाँ पुग्नुभयो ?’
मेरो आग्रहपछि ऊ बोल्न सुरु गर्यो, ‘एक महिनापछि म अप्रेसन गर्ने भनेर पुनः काठमाडौँ, टिचिङमा आएँ । यति बेला भने बिरामी जाँच कक्षमा महिला डाक्टर मात्रै थिइन् । तिनले अप्रेसनका लागि मेरो शारीरिक स्वास्थ्य ठिक भए नभएका बारेमा चेक गर्नुपर्छ भन्ने कुरा गरिन् । पुनः न्युरो विशेषज्ञलाई भेटेर अहिले अप्रेसन गर्न हुन्छ वा हुँदैन बुझ्नुस् भनेर सल्लाह दिइन् । तिनले मलाई महाराजगञ्जबाट धुम्बाराही पुग्नुको सट्टा नजिकैको प्राइभेट हस्पिटलको लोकेसन बताएर एक जना न्युरो विशेषज्ञको नाम पनि दिइन् । जसो जसो पण्डित बाजे उसै उसै स्वाहा भन्दै म उनैले नाम दिएको प्राइभेट हस्पिटलतिर लागेँ । र अर्को न्युरो विशेषज्ञलाई भेटेँ । तिनले मेरो शारीरिक अवस्था चेक गरेर अहिले अप्रेसन गर्न नहुने कुरा बताए र मायस्थेनियाका लागि अर्को एक थरी औषधी थपिदिए । पर्सिपल्ट टिचिङमा फर्केर न्युरो विशेषज्ञको रिपोर्ट देखाउँदै बेलिबिस्तारका साथ गुनासो गरेँ । ती महिला डाक्टरले मलाई आत्तिनु हुँदैन, धैर्य गर्नुस् भन्दै पुनः एक महिनापछि अप्रेसन गर्ने सल्लाह दिइन् । एक महिनापछि आउँदा पनि न्युरो विशेषज्ञलाई भेटेर मात्रै आउनुपर्ने कुरा गरिन् । लुत्रे कान लाएर फर्कें म ।’
उसले यति भन्दै गर्दा मलाई उसको अनुहारमा केही निराशाको भाव फैलिएको अनुभव भयो । सान्त्वना स्वरूप नम्र शब्दमा सोधेँ, ‘औषधीले काम गरेन र भाइ ? बिसको उन्नाइस त भयो होला नि !’
‘बिसको उन्नाइस त भयो सर ! तर अप्रेसनको डेट सरिरहँदा भने म बढी नै चिन्तित हुन पुगेँ । उपचार गरे पनि रोग सम्पूर्ण रूपमा निको हुन्छ भनेर ग्यारेन्टी दिन कुनै पनि डाक्टरहरूले सकेका थिएनन् । अस्थायी जागिर, पोखरामा बस्ने मान्छे, जति बेला भन्यो त्यति बेला काठमाडौँ आउजाउ गर्ने कुरा मेरा लागि त्यति सजिलो पो कहाँ थियो र ! तर त्यसपछि भने नियमित औषधीको सेवनबाट केही सहज हुँदै गएकाले अब भने पक्कै अप्रेसन हुन्छ भनेर डाक्टरले दिएको डेटभन्दा चार दिन पहिले काठमाडौँ आएर मैले न्युरो विशेषज्ञलाई भेटेँ । त्यस भेटमा भने उनले मलाई अप्रेसन गर्न हुन्छ भन्ने सल्लाह दिए । अप्रेसन गर्न मिल्ने भयो भन्ने सुन्न पाउँदा निकै खुसी भएँ । जिन्दगीमा केही उपलब्धि हासिल गर्न नसके पनि मान्छेमा बाँच्ने रहर चाहिँ हुँदो रहेछ हगि सर !’ अघि भर्खर निराश देखिएको भाइ अहिले भने मतिर हेरेर फिस्स हाँस्यो ।
ऊ मुस्कुराउँदै गर्दा गाडी जाममा पर्यो । हामी थानकोटको उकालो चढ्दै रहेछौँ । अगाडिपट्टि एउटा मालवाहक ट्रक बाटैमा लम्पसार परेछ । त्यही ट्रकका कारण जाम भएको रहेछ । सानो माइक्रोमा कोच्चिएर बस्नुपर्दा जिउ कक्रक्क परेर दुख्न थालेको थियो । एकै छिन भए पनि खुट्टा तन्काउन पाइने भयो भन्ने ठानेर हामी बाहिर निस्क्यौँ । अरू बसबाट पनि मान्छेहरू सडकमा ओर्लेका थिए । सडक गाडी र मान्छेहरूको भिडले भरिएको थियो । जाममा परेको लगभग आधा घण्टापछि बाटो खुल्यो । युद्धै जितेजस्तो गरी यात्रुहरू गाडीमा चढ्न थाले ।
बसाइमा केही सहज भएपछि मेरै अनुरोधमा उसले आफ्नो उपचारको सिलसिलालाई अगाडि बढायो, ‘अप्रेसनका क्रममा छातीको दायाँ भागमा तिन वटा ठुलठुला प्वाल पारेछन् । दुई घण्टासम्म ती प्वालबाट औजार छिराएर काम गर्दा पनि उक्त मासुको डल्लो निकाल्न सकेनछन् । अनि फेरि छातीको बिच भागमा ठाडो गरी चिर्नुपरेछ । घाँटीको तल्लो भागबाट ठाडो गरी तलतिर एक बित्ता जति नै चिरेछन् । मेरो त होसहवास केही पनि थिएन । अप्रेसनमा लगभग पाँच घण्टा लागेछ । नौ बजे अप्रेसन कक्षमा पसेर बेहोस बन्न पुगेको मान्छे, डाक्टरहरूले आफ्नो काम दुई बजेतिरै सके पनि मलाई होस आउँदा पाँच बजेको थियो । अनि पाँच दिन आइसियु र चार दिन जनरल बेडमा बसेँ । अप्रेसनपछि पनि घाउमा सिलाइएको टाँका फुकाउन र वायोप्सीको रिपोर्टका लागि दुई हप्तासम्म काठमाडौँमै बसेँ म ।’
‘के रहेछ त वायोप्सीको रिपोर्टमा ?’ मेरो प्रश्नको उत्तर दिँदै उसले भन्यो, ‘के हुनु नि ! डाक्टरले फोक्सोसँग सम्बन्धित रोग भएकाले फेरि क्यान्सर विशेषज्ञलाई भेट्नुपर्ने सल्लाह दिए । उनले बताएको क्यान्सर विशेषज्ञ ललितपुरको एउटा प्राइभेट हस्पिटलमा काम गर्दा रहेछन् । त्यहीँ नै उनलाई भेट्न पुगेँ । सिटी स्क्यान लगायतका सबै रिपोर्ट हेरेपछि उनले क्यान्सरसँग सम्बन्धित समस्या नभएको कुरा बताए । त्यसपछि भने शरीर छियाछिया भए पनि म ढुक्क हुन पुगेँ सर !’
‘यो मायस्थेनियाको औषधी कहिलेसम्म खानुपर्ने रहेछ त भाइ ? डाक्टरले के भनेका छन् ? अनि घाउको अवस्था कस्तो छ ?’ मेरा यी जिज्ञासामा उसले भन्यो, ‘त्यही त सर ! मैले पनि बुझेको छैन । यो आजीवन खानुपर्ने हो वा होइन, यस पटक सोधेर क्लियर हुने विचारमा छु । कहिलेकाहीँ औषधी खान बिर्सेको अवस्थामा केही असर पनि परेको छ । घाउ त किन नदुख्नु, बेलाबेलामा दुख्छ नि ! चसक्क चसक्क हुन्छ । अप्रेसन गरेकै दुई महिनाभन्दा बढी भइसक्यो, अझै पनि प्वाल पारेपट्टिको भाग कोल्टो परेर सुत्न मिल्दैन । गाह्रो छ नि !’
मलाई उसले उपचारका लागि गरेको खर्चका बारेमा पनि जान्ने उत्सुकता जाग्यो । ‘अहिलेसम्म कति जति खर्च भयो होला त भाइ ?’
‘खर्चको त के हिसाब भयो र सर ! हामीजस्ता सर्वसाधारण मानिसले यस देशमा उपचार गर्न त निकै कठिन हुने रहेछ ! शिक्षा र स्वास्थ्यमा राज्यले हेरिदियो भने गरिब निमुखाले पनि लेखपढ गर्ने र बाँच्ने अवसर पाउने थिए नि ! तर के गर्नु राज्यले यसतर्फ राम्ररी ध्यान दिनै सकेको छैन ।’ राज्यको दायित्वप्रति गुनासो गर्दै ऊ अगाडि बढ्यो, ‘धन्न काठमाडौँमा होटेलमा त्यति बस्नु परेन, आफन्तकोमा बस्न पाएँ । यही रोगका लागि आजका मितिसम्म लगभग साढे तिन लाख जति खर्च भएको छ सर !’
‘कलङ्की झर्नेहरू अगाडि आउनुस् है !’ सहचालक भाइको आवाज सुनेपछि मैले सिटमुनि राखेको आफ्नो झोला झिकेँ । धुलाम्मे रहेछ, टकटक्याउन थालेँ । भाइले आफू बसपार्कमै झर्ने कुरा गर्यो । मलाई चाहिँ यहीँ नै झर्नु थियो, झरेँ ।
कलङ्कीमा झरेर नगर बस चढेपछि मात्रै सम्झेँ मैले- ज्या ! म त कस्तो हुस्सु भएछु ! त्यो भाइको नाम त सोध्नुपर्ने नि । नामै सोध्न बिर्सेछु । अस्थायी मास्टरको जागिर छ भन्थ्यो, कुन स्कुलमा पढाउँथ्यो कुन्नि ! मोबाइल नम्बर सोधेको भए पनि हुने, त्यो पनि बिर्सेछ । कम्तीमा नामसम्म थाहा हुन्थ्यो भने फेसबुकमा सर्च गरेर भए पनि उसका बारेमा केही जानकारी लिन सकिन्थ्यो । म पनि पोखराकै दक्षिणी काँठमा बस्ने मान्छे, कहिलेकाहीँ विन्ध्यवासिनीको आसपासतिर जानु परेको खण्डमा उसलाई भेट्न पाइन्थ्यो नि ! आठ–नौ घण्टाको सहयात्रामा पनि मैले त तिम्रो नामै सोध्न बिर्सेछु नि मिस्टर मायस्थेनिया !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

