कामको सिलसिलामा व्यस्त हुनुपर्छ दिनभरि । मैले समय व्यवस्थापन गर्न नजानेर हो वा अरू नै कमजोरी हो, कहिलेकाहीँ टेबलमा चिया चिसिएको पत्तो हुँदैन । यसै क्रममा दिनभरिको कामले लखतरान भएर फर्किएको थिएँ । मामा ससुरालीबाट दिउँसोदेखि ३ – ४ पटक फोन आइसकेको रहेछ । घर पुग्ने बित्तिकै श्रीमतीले सधा झैँ टेबलमा खाजा राखेकी थिइन्, फेरी फोन आयो ।

“दर्शन रविन बाबु, सन्चै हुनुहुन्छ नि ?”

“आराम छु मामा, अनि हजुरहरूलाई कस्तो छ ?”

“यता पनि आरामै छौँ बाबु, दिउसो फोन उठेन ।”

“तनाव छ मामा, काम धेरै छ ।” त्यो मेरो गुनासो थियो तर मामाले व्यङ्ग्य गर्दै भन्नुभयो, “कमाई पनि त धेरै छ नि ।”

मैले पनि हाँसेरै भनेँ, “त्यही त जति बैलै पैसा गन्ने ।”

हाहा…।

प्रसङ्गतिर मोडिँदै मैले सोधेँ, ‘मैले फोन आएको थाहा पाएको भए उठाउने थिएँ । आज तुलनात्मक रूपमा कार्यस्थलमा भिड थियो ।  कुरा के थियो होला ?’

“भाइको एस ई ई परीक्षा सकियो, म काठमाडौँ बसेर उच्च शिक्षा लिँदै आइएलटिएस, पिटिई गर्छु र अस्ट्रेलिया वा क्यानडा जान्छु भन्छ । राम्रो कलेजमा भर्ना गरिदिएर तपाईँहरूको रेखदेखमा राख्न पाए हामीलाई ढुक्क हुन्थ्यो । के गर्नु, सानो हुँदा कसरी हुर्केलान् भने पिर, हुर्केपछि कसरी गर्लान् भन्ने पिर ।”

छेउमै रहेकी श्रीमतीले हुँदैन भन्नु भनी साउती गरिन् ।

मामाहरूको योजनामा साथ दिन पाए, गर्वको विषय बन्ने थियो । मसँग स्वरोजगार भए पनि घर व्यवहारमा एक्लै निर्णय लिन जान्दिन, घर सल्लाह गर्नुपर्छ भनेर राखिदिएँ ।

ल हेर, कस्तो प्रवृत्ति भित्रियो नेपालमा ! गाउँमा २-४ रोपनी जग्गा हुनेहरूको विकसित मुलुक पस्ने सपना । विद्यालय शिक्षा सामाजिक, सुसंस्कृत र व्यवहारिक होस् भनेर होइन कसरी विदेश पठाउन सकिन्छ भन्ने सोचले छोराछोरी पढाउँछन् अभिभावकहरू । यो प्रवृत्तिले कता पुर्याउला हाम्रो समाज ? म बरबराउँदै रहेछु । श्रीमतीको आफ्नै गुनासो थियो । “सिधै हुँदैन भनिदिनुस् भनेकी थिएँ त मैले, घर सल्लाह गर्नुपर्छ रे । अब श्रीमतीले हुँदैन भनी मामा, मलाई त मन थियो भनेर मलाई  गाल पारिदिने होला । सजिलो छ लोग्ने मान्छेलाई ।” उनी कता हिँडिन्, म चिसिन लागेको खाजा खान थालेँ ।

पाँच वर्ष खाडी मुलुक बसेर पैसा कमाएँ । पैसा त कमाएँ तर घर परिवार र आफन्तहरूबाट टाढिनुपर्दा विरत्तिएको थिएँ । घर व्यवहारको मेलोमेसो भन्दा पनि काममा घोटिएर कमाउने ध्यान मात्र आउँथ्यो । वैवाहिक जीवन सुरु गर्न उमेर घर्किँदै थियो । बिस्तारै आफ्नै समाजको आवश्यकता रहेको महसुस गरेर म फर्किएँ । विकसित मुलुकमा पनि त्यही हो परिवारबाट टाढिएर बस्न गाह्रो हुन्छ । पश्चिमा मुलुकको संस्कृतिमा भिज्नेहरू फर्केर आउने छैनन् । विद्यार्थी भिसामा कामको समय सीमा हुन्छ, त्यसबाट कमाएको पैसाले खान पर्यो, भाडा तिर्न पर्यो र कलेज फी तिर्न पर्यो । घर बेचेर ऋण गरेर विदेश जानेहरूलाई परिवारले पनि त्यही ऋण चुक्ताको ताकेता गरिरहन्छन् । ती मध्ये धेरैजसो विदेशी संस्कारमा रुझ्न नसक्नेहरू एक्लिँदै जान्छन् । तनावको कारणले कतिले आत्महत्या गरेको पनि पाइन्छ । उता विदेश पलायन हुनेहरूको बा आमा यता बुढेसकालमा सहाराविहीन बस्नुपरेको छ ।

सम्पत्तिको नाममा अनकन्टारको गाउँमा चार रोपनी जग्गा छ मामाको । भाइ एउटा छन्, परिवारको कान्छो छोरो । धेरै छोरीहरू पछिको छोरो भएकाले उसको उमेर सानै भए पनि मामाहरू ५० पुग्न लाग्नुभयो । भाइलाई विदेश नपठाउनुस् भन्दा नराम्रो सोच्नुहुन्छ होला । हाम्रा भाइबहिनीले निकै समय अघि बिदेसिएर उतै घर बनाएका पनि छन्, बा आमा रिटाएर्ड पछिको समय घुमघामका लागि बेला बेलामा गइरहनुहुन्छ । त्यो देखेर हामी गरिब छौँ तर परिश्रमी पनि छौँ, तपाईँहरू भन्दा कम छैनौँ भनिदिनुभयो भने मामाहरूसँगको सम्बन्ध चिसो हुन्छ । जसरी हुन्छ, यो मामिलामा साथ नदिने निर्णय भयो मेरो ।

मामा यताको कलेजहरूको फी शुल्क मनपरी छ । भाइको एस ई ई को नतिजा आओस्, गाउँको सदरमुकाममा पनि पढाई राम्रो हुन्छ । आइएलटिएस, पिटिई भन्ने कुरा उच्च शिक्षापछि लिने हो । सबै कुराको भार एकै पटक लिएर न यता त उता भइदिन्छ । कुरा रह्यो हामीसँगै बसेर पढ्ने । मेरो व्यापार छ, श्रीमतीको जागिर । शिक्षक भए पनि घर व्यवहारले उनी गृहिणी पनि हुन् । हाम्रो व्यस्तताको समय भाइको पढाइमा सहयोग हुनुको साटो कामको भार देखियो भने पढाइमा मन नजान सक्छ । हाम्री सानी छोरी छिन्, उनले पिराएर पढ्न नदेलिन् । व्यापार व्यवसायका मेरा साथीहरूको पनि जमघट भइरहन्छ । यो अवस्थामा बरु सदरमुकाममा डेरा गरेर बस्दा राम्रो हुन सक्छ । भान्जाले सहयोग नगरेको नसोचिदिनु होला है भनेर अर्को दिन फोन गरेँ ।

० ० ०

कपडाको थोक विक्रेताको हैसियतले सबै किसिमका मागहरूको पूर्ति गर्नुपर्ने हुन्छ । आजभोलिको बजारमा नेपाली सिजन अनुसारको मात्र बिक्री हुँदैन । अस्ट्रेलिया, अमेरिका, न्यु जिल्यान्ड, क्यानडा, जापान, फ्रान्स, रोमानिया, दुबई, साउदी, मलेसिया, कतारको सिजनअनुसार पनि माग हुन्छ । व्यापारिक अध्ययनको सिलसिलामा गुगलमा खोजी गरिरहँदा क्वोरा डाइजेस्टको वेभसाइटमा पुगेँ । मान्छेहरूका अनेकानेक जिज्ञासा गुगलमा भेटिन्छ । म पनि जिज्ञासा लिएर गुगल हेरेको मान्छे हुँ । मेरो आवश्यकताको नभए पनि मेरो ध्यान खिचेको प्रसङ्गले मलाई निकै सोच मग्न बनाइदियो ।

मेरो अठार वर्षको छोराको केही दिनपछि जन्मदिन मनाइँदै छ । मैले छोरालाई त्यसै दिनदेखि तिमीले घर छोड भनौँ कि भोलिपल्ट ? मेरो लागि बिलकुलै नयाँ विषयवस्तु पश्चिमा मुलुकको चलिआएको चलन रहेछ । छोराछोरी १८ वर्ष पुगेपछि बा आमाले खर्च बेहोर्न नपर्ने । घर छोडेर आफ्नो निर्णयअनुसार गर्न पाउने वा घरमै बसे पनि आफ्नो लागी र हरेक खर्चमा पैसा तिर्नुपर्ने । यो संस्कारमा कसरी गरेका छन् मलाई राम्रोसँग थाहा छैन तर एउटी आमाको त्यो प्रश्न मेरा लागि मन मथिङ्गल हल्लाउने किसिमको थियो ।

बुझ्दै गएँ, पश्चिमा मुलुकमा कानुन सर्वोपरि रहेछ । माथिको जस्तो प्रसङ्ग धेरै आमाहरूको प्रश्न हुने रहेछ । त्यहाँ छोराछोरीसँग बस्न मिल्ने कानुन नभएको होइन, युवक-युवतीहरूले केही योगदान गरुन् भनेर कानुनी प्रावधान बनाइएको हुन सक्छ । सगोल परिवारमा बस्न मिल्ने प्रावधान छ, खर्च आफैले जुटाउन सक्ने केही सिप हुनुपर्ने र काम गर्न प्रोत्साहन गर्ने शैलीको आफ्नै महत्त्व पनि रहेछ ।

छोराछोरीलाई आत्मनिर्भर गराएर आफैसँग राख्न मैले के गर्नुपर्छ भन्ने प्रश्न ती आमाहरूले गरेको भए सुहाउँदो थियो कि । मानव भएर पनि मानवता हराउँदै गएको भान भयो । सम्झेर जिउ सिरिङ्ग भयो ।

त्यहाँ मानवताको प्रश्न थियो । एउटी आमाले छोराछोरी अठार वर्ष पुगेको दिन केही हलुको महसुस गर्छिन् भने उनको बुढेसकाल कसरी बित्छ ? व्यक्ति, विकास र कानुनी समाजमा मानवता लगभग शून्य लाग्यो मलाई । नेपालमा पनि बिदेसिने प्रवृत्तिले कस्ता खतरा ल्याउने हुन् । मेरो काम एकातिर ध्यान अर्कोतिर भएको अवस्था छ ।

नागरिकतामा उमेर बढाएर भए पनि बाह्र कक्षा पास गरेका छोराछोरी विदेश पठाउने लहर बढ्दो छ । छोराछोरी पठाउन लागिएको देश कस्तो छ, त्यो संस्कारले उनीहरूलाई के सिकाउँछ भन्ने छैन । छोराछोरीले बिदेसिएर पैसा पठाएसँगै फलानोको यति त भयो मेरा पनि पठाउँछु र देखाउँछु भन्ने मनोवृत्तिले समाज कता डोर्याउँदै छ ?

हुन सक्छ, नेपालमा कामको कदर गरिँदैन । काम अनुसारको पारिश्रमिक दिइँदैन । जसोतसो पैसाको जोहो गरेर पढेको मान्छेले काम नभएपछि जिन्दगी कसरी चल्छ र ! देशभित्रै सम्भावना त नभएको होइन तर यहाँ भरपर्दो विश्वसनीयता छैन ।  जनसङ्ख्याको गणना यकिन नभएको देशमा न सेवा न सुविधा छ । जनशक्ति परिचालन गराएर केही गरौँ भन्ने तिर सोच्नुभन्दा  अन्तर्राष्ट्रिय श्रम सम्झौतातिर ध्यान गएको अवस्था छ सरकारी निकायहरूको पनि ।

म रनभुल्ल छु, के भइरहेको छ नेपालमा र विश्व समुदायमा ? विदेशी मुलुकले विकासका खाकाहरू तयार गरेर अनेकौँ प्रलोभनमा जनशक्ति भित्राउँदै गर्दा हामीले पनि विकासको योजना बनाउँदै स्वरोजगार  बनाउन नसकिने हो त ?

मेरो व्यापार फस्टाएको छ, अझ भनौँ माग धान्न मुस्किल परिरहेको अवस्था छ अहिले । तर मेरो मनोभावमा परेको प्रभावले होला ओठ निचोर्दा दूध आउलान् जस्ता देखिने बालबालिकाको गन्तव्य विदेश रहेको देखेर किन यो व्यवसायमा लागेछु जस्तो लाग्छ ।

म सोच मग्न हुन्छु, अबको दुई वर्षभित्र मामाको छोरा स्वरोजगारमै रमाउने बनाउन सकिएला वा विदेश मोह अझै उत्कर्षमा पुग्ला । फेसबुकतिर कन्फेसन देखिन्छन्, भएको जायजेथा धरौटीमा राखेर म अस्ट्रेलिया आएँ । यहाँ भनेजस्तो काम पाइँदैन, यतै आएर चिनेको दिदीसँग बसेको थिएँ । दिदी अहिले बिहे गरेर आफ्नो श्रीमानसँग छुट्टै सहरमा बस्न थाल्नुभएको छ । उहाँले रुम मेट खोजिदिनुभएको साथी आफ्ना साथीहरू लिएर आउँछिन् । मलाई उनको साथी मन पर्छ र उसले पनि मन पराउँछ । घरमा फोन गर्दा धेरै कुरा पैसाकै हुन्छ । व्याज तिर्ने ताकेता गरेर मात्रै फोन आएको जस्तो लाग्छ । मेरो के कसो छ सोध्नुहुन्न, यता धेरै तिर खर्च भइरहन्छ । कलेजको फी तिर्ने समय आइसक्यो । घर भाडा भनेकै दिनमा तिरिएन भने निकालिदिन्छन् । मलाई २२ वर्षको उमेरमा लिभिङ टुगेदरले अर्को समस्या ल्याउँछ कि भन्ने पिर छ । घरमा सल्लाह गर्न चाहन्छु तर यस्ता कुरा हुँदैनन् । म के गरौँ ?

आत्महत्याको समाचार बढेका छन् । कलिलै उमेरमा कोही समुद्रमा डुबेको खबर आउँछ, कोही गाडी दुर्घटनामा परेका छन् । के भइरहेको छ अध्ययन अनुसन्धान छैन ।  साथीसङ्गी र चिनेजानेकाले शव फर्काउन केही रकम जम्मा गर्दै गरेको खबर आउँछ तर कसरी त्यस्तो भयो बुझ्ने र बुझाउने समय छैन त्यहाँ । उसको नराम्रो भयो भन्दैमा मेरो पनि त्यस्तो हुन्छ भन्ने त होइन नि हौ भन्नेहरू उसको राम्रो भयो भन्दैमा मैले पनि त्यस्तै गर्न सम्भव होला कि नहोला भनेर सोच्छन् कि सोच्दैनन् ?

मेरो ससुराली, श्रीमतीको त आफ्नै मामाहरू तर पनि उनको कठोरताको कारण पक्कै पनि केही होला । मैले सोधिन । मलाई थाहा छ, मामाको हृदय विशाल छ । आफू कष्ट सहेर पनि आफ्नाहरूलाई साथ दिन नाइँ भन्नुहुन्न । घरको संस्कार पनि राम्रो छ । श्रीमतीलाई कामको चाप बढेको बेला भाइलाई देखेपछि काम अह्राइन्छ, उसको कामको फाइदा लिन राखेको जस्तो हुन्छ भन्ने डर रहेछ । पसलमा काम दिएर केही सम्भावना देशमै देखाइदिने मेरो सोच छ भन्ने कुरा पनि भएन ।

संयोगले राज भाइ पसलमा आइपुगेका थिए । गाउँको विद्यालयमा नेपाली माध्यमबाट पढेका भाइ निजी कलेजमा कमर्समा भर्ना भएछन् । साइन्स पढ्ने रुचि थियो के गरौँ एस इ इ ग्रेड राम्रो आएन भन्ने गुनासो थियो उनको । कमर्स पढेर एकाउन्टिङ रोज्न सकिने उदाहरण दिएपछि खुसी भए भाइ । १७ वर्षको उमेरमा विदेश जान लालायित उसलाई सोधेँ विदेश नै किन नि ?

‘गाउँका दाजुभाइ विदेश गए, कमाएर काठमाडौँमा घर बनाए । हाम्रा बा आमाले पनि दुःख गरेर पढाउनुभयो । गाउँ छोड्नेहरूले हामीलाई चुनौती दिएका छन्, म पनि के कम ! जे परे पनि गर्छु, बा आमालाई सुख दिएर राख्छु ।’ राजको प्रतिक्रिया थियो ।

मान्छे परिपक्व उमेरले होइन, भोगाइले हुन्छ भन्ने उदाहरण बन्न सक्छन् राज भाइ तर उनको मानसिकतामा देखासिकीको प्रभाव पनि त हुनसक्छ । गाउँबाट सहरमा बसाइँ सर्नेहरूको आर्थिक मजबुत पहिले नै थियो कि । विदेश पठाएर उनीहरूबाट ऋणको ब्याजको अपेक्षा भए पनि बारम्बार ताकेता गरेर थप तनाव नहुनेहरू सजिलै सेटल भएको पो हो की ? गाउँमा भएको चार रोपनी जग्गा बेचेर जाँदा, यता पनि त घर न घाट भइन्छ । केही वर्षपछि बुढेसकाल सुरु हुन्छ तर छोराको पनि आफ्नो गृहस्थी बस्ला, आफ्नो रोजाई होला । मामामाइजुको जीवन दुखमा बित्ने छ, आँसुको आहाल बन्ने छ ।

जतिसुकै कसम खाए पनि आफ्नो गृहस्थी जीवन सुरु भएपछि उनीहरूलाई आफ्ना वाचाहरू बाधा बन्न सक्छन् । उनीहरूको आवश्यकता फरक हुन सक्छ । चाहेर पनि साथ दिन नसक्ने अवस्था आउन सक्छ । आलोकाँचो उमेरका छोराछोरीलाई सुख सयलको लालसामा विदेश पठाउने आफ्नो निर्णय भारी हुन सक्छ ।

पहिले फाट्टफुट्ट मात्रै विदेश जाने हुँदा निकै उत्साहित हुने मन आजभोलिको प्रवृत्तिसँग खुसी छैन । मलाई बिदेसिने रहर छैन र बाध्यता पनि । धेरै पढाई नभएको मान्छे, त्यति बेला कमाउनको लागी खाडी मुलुक रोजिन्थ्यो । म विदेश गएँ, भाइबहिनी पढाएँ । राम्रो पढाई भएकै कारण उनीहरूले विकसित मुलुकमा अवसर पाए । म उनीहरूको सपनाको साझेदार, भविष्य उज्ज्वल बनोस् भन्ने चाहन्थेँ । मेरा भाइ बहिनी उतै बसोबास गरिरहेका छन्, बुबा आमा पनि बेला बेलामा गइरहनुहुन्छ । मलाई पनि उता हुनेहरू आउनु भन्छन्, यता हुनेहरू जानु न के गाह्रो छ र परिवार उतै छन् भन्छन् । व्यावसायिक रूपमा नेपाली संस्कृति झल्काउने कपडाहरू निर्यात भइरहन्छ । मलाई जसरी मन लाग्छ, त्यसै गरी  जाने सुविधा छ तर किन किन मलाई घुम्न जाने समेत हुटहुटी छैन ।

मेरो १४ वर्षको छोरो, अस्ट्रेलिया जाने सपना छ भन्छ । उसलाई थाहा छ कि छैन सपना के हो ? उसको मात्र होइन, धेरैको सपनाको देश अस्ट्रेलिया, अमेरिका, क्यानडा, जापान आदि आदि । अचम्म लाग्छ, जाने मात्रै पनि सपना हुन्छ ?

अनेक मान्छेको भिडभाडमा अनेक सोच विचार र चाहना हुन्छन् । कसैलाई बिदेसिने रहर कसैलाई बाध्यता । विकसित मुलुक उच्च शिक्षाको रोजाई हुन्थ्यो पहिले तर अहिले कमाउने मात्रै ध्यान हुँदो रहेछ । फुर्सदमा बजार घुम्न आएकी केटी निकै आक्रामक देखिइन् । एम्बेसीले सक्कल कागजात खोजेको मेल आएको रहेछ । “कस्ता कुरा गर्छन् मान्छेहरू ? ५०–६० लाख सम्पत्ति भएको भए त को जान्थ्यो ? भाडा माझेरै भए पनि कमाइन्छ भने के भयो त, हाम्रो देशमा त्यही पनि पाइँदैन । आफ्ना सानातिना आवश्यकताको वास्ता नगरेर बाँच्नुको के अर्थ ? त्यहाँ खुसी मिल्छ कि भनेर पो जान खोजेको ! पढ्ने भनेर तिनीहरूले मागेको जति पैसा डिपोजिट गरेको पनि छ । अनि के चाहिएको ? हाम्रो सपना चाहिँ सपना होइनन् ?”

कसले बुझिदिनुपर्ने हो उनको समस्या, सपना र रहर । हे सरकार, नेपाली समाजलाई कस्तो शिक्षा दियौ ? विदेश भनेपछि सबैको तीन नेत्र किन खुल्छन् ? यी नानीको जस्तो सोचले विदेश पुग्नेहरूको इच्छा आवश्यकता सबै पुरा नहुन पनि त सक्छन् नि । विकसित मुलुकको स्तरमा आफ्नो देशमा शिक्षा आर्जन गरेर, यहीँ लगानी गर्ने मेलो मेसो तयार गर । पैसाको पछि लाग्नु, आफ्ना आवश्यकता मात्र सोच्नु र आरामदायी जीवनको अभिलासाले मान्छेलाई कस्तो खुसी मिल्छ ? समाज कता जाँदै छ ? मानवभित्र मानवता हराउँदै मानव सभ्यताको अन्त्यतिर मोडिँदै त छैन ?

नेपाललाई पनि पश्चिमा संस्कृतिले गाँजिसक्यो । प्लस टु सकाएपछि विदेश, उमेरले अठार उन्नाइस ! पश्चिमा मुलुकमा छोराछोरीलाई आत्मनिर्भर बनाएर छुट्टिए पछि बाबु आमाले आफ्नो तरिकाले जिउँछन् र वृद्धावस्थाको लागि जोहो गर्न थाल्छन् । ती सबै खुसी हुँदैनन् । परिवार नै सगोलमा बसेकाहरू आफ्नै परिश्रममा बाँचेका छन् र मिलेर बसेका पनि छन् । ती धेरै खुसी देखिन्छन् । त्यहाँ मानवता छ, एक अर्काको रेखदेख पनि छ, मेलमिलाप पनि छ । हाम्रो मुलुकमा, छोराछोरी विदेशमा पठाएपछि ऋण तिर्ने मेलोमेसो, ऋण तिरेपछि विदेशमै रहने गरी विवाह, आफ्नो लागि केही समयको विदेशी घुमघाम र बुढेसकालमा अनेकानेक तर्कहरूसँग जिउनुपर्छ । बिरामी भएर अस्पतालमा छटपटाउँदा बिदा नमिलेका छोराछोरीहरू मृत्युको खबरपछि भने अर्को दिन एयरपोर्ट आइपुगेको खबर आउँछ आफन्तलाई ।

कलिलो उमेरमा परिवारबाट छुट्टिएर नचिनेको मुलुकमा सङ्घर्ष गर्न जाँदै गर्दा उनीहरूको भावनात्मक विच्छेद सँगसँगै ऋणको भारको लेखाजोखा कागजमा सीमित रहेझैँ चुपचाप; पैतालाले आफ्नो भूमि, परिवार, समाज र देश छोड्न लागेको अनुभूति भइरहँदा कसरी सम्हाल्दा हुन् !

बा आमाले छोराछोरीले आफूले झैँ कुटो कोदालो गर्न नपरोस् भनेर विद्यालय पठाउँदा म गर्व गर्थेँ । मेरो पनि त पढ्ने अधिकार छ जस्तो लाग्थ्यो । पढाइको घमन्डसँगै बढ्दै गएको मानवको मानवता चाहिँ हराउँदै गएको हो कि ? मानवलाई घमन्ड बढेको छ, जति शिक्षित उति स्वार्थ ।

नेपाली मौलिकता खोज्नेहरू विदेशमा पनि धेरै छन् । आफूले वर्षौंदेखि गर्दै आएको व्यवसायमा फरक तरिकाले लगानी गर्न मलाई उत्प्रेरणा दिनेहरू, बिदेसिएका नेपाली नै हुन् । व्यावसायिक रूपमा आफूलाई सक्षम ठाने पनि म सफल हुने कोटिमा पर्दिन जस्तो लाग्छ । सारी चोलो हुँदै कुर्ता सुरुवालसम्म किन्न र बेच्न मलाई समस्या भएन । हुन त मेरै श्रीमतीलाई पनि सारी चोलो, कुर्ता सुरुवाल बाहेक लेहङ्गाको केही अनुभव छ । अरू खासै जान्दिनन् ।

समय र परिस्थितिको मागअनुसार फेसन डिजाइनर श्रुती सिलवाललाई काम दिएँ । मेकअपको कोर्ससमेत पुरा गरेकी श्रुती पनि अस्ट्रेलियाको भिसा प्रोसेसिङ सकेर बसेकी रहिछन् । खुल्दै जाने क्रममा उनले आफ्नो सत्य खुलाइन् । अस्ट्रेलिया पुगेपछि तपाईँको बजार बिस्तारमा सघाउ पुर्याउँछु भन्थिन् । घर फर्किएपछि सोच मग्न रहने मेरो दैनिकी झैँ भयो । आखिर आफूमा निर्भर हुन सक्ने भएपछिको गन्तव्य विदेश नै हुनुपर्छ ? किन नि ? सम्भव भएसम्म नेपालमै केही गर्छु भन्नेहरू छन् त ? म सोच्थेँ ।

एक दिन श्रुतीलाई सोधेँ पनि ।

“छोरा मात्र पढाएर घर उज्यालो हुँदैन, छोरीलाई पनि शिक्षा देऊ कम्तीमा पनि ऊ आफूलाई कमजोर नसोचोस् भनेर गरिएको सङ्घर्षमा जित भएको छ हामी नेपालीको । शिक्षा पाएर मात्र पुग्दैन, आत्मनिर्भर रहनलाई काम पनि त चाहियो । नेपालमा कामको अवसर चाहिँ छैन । कम्तीमा पनि विदेशमा बाँच्ने आधार त छ, म पनि जान्छु भनेर अग्रसरता लिएको मात्रै हो । रहरै रहरमा हेलिने सपना त किन हुन्थ्यो र ! बाध्यता छ नेपालमा ।” श्रुतीको जवाफ थियो त्यो ।

काम सुरु गरेको तेस्रो हप्ता श्रुतीको भिसा लाग्यो । कामप्रति उनको झुकावबाट प्रभावित भइसकेको मलाई दिनभरि नै दिक्क लागेको थियो । भिसा लागेको दोस्रो दिन, तेस्रो दिन उनी काममा आइरहिन् । उनको पारिश्रमिक दिनपर्ने आफ्नो धर्म सम्झिएँ । मन नलागे पनि उनलाई बिदा दिनुको विकल्प थिएन ।

“सर मेरो सुरुवाती  चरणमा धरै सिक्नु छ । म तपाईँको सफलताको कामना गरेरै अगाडि बढ्नेछु, के तपाई साँच्चै बिदाइको हात हल्लाउन चाहनुहुन्छ ?” उनको जवाफ अकल्पनीय थियो । म अवाक् थिएँ मानौँ म कुनै अग्लो धरातलबाट ग्वार्लाम्म झरेको थिएँ । उनको भिसा लगानी र विदेश योजनामा खर्चिएको समयलाई दिनको हजार पारिश्रमिकले चित्त बुझाउन सक्छिन् भन्ने विश्वस्त हुन निकै गाह्रो भयो । नभन्दै उनी गइनन् ।

विदेश जाने भिसा हातमा परेर पनि एउटा सानो रोजगारीको नाममा तिमीले नजाने निर्णय गरिछौ, पछुताउनुपर्ला है भन्नेहरूको कुरा सुनिनन् उनले । “भिसाको प्रमाण स्वरूप एउटा कागज हातमा पर्दा जति खुसी लाग्छ, त्यति नै खुसी त्यहाँ मिल्छ भनेर कहीँ पनि लेखेको छैन । सानै भए पनि आफ्नो सपना पूरा गर्नु भनेको मैले वर्षौंदेखि आफ्नो लगाव जे मा गरेँ, कमाइ थोरै भए पनि त्यसमै रमाउनमा गर्व गर्नेछु । जति नै कष्ट सहनुपरेछ भने पनि मेरो कामलाई बाँच्ने आधार मानेर परिवारको न्यानो स्पर्श अनुभूत गरिरहेको हुनेछु । ठुलठुला महलमा आफ्नो भविष्य व्यवस्थित गर्ने सपना पनि छैन, बस् आफ्नो पौरखले बाँच्न पाइयोस् ।” श्रुती भन्छिन् ।

आंशिक रकम मात्रै फिर्ता गरेर ढुक्कले काममा आइरहेकी श्रुती जस्ता थोरै मात्रै भेट्दा पनि मेरो छाती खुसीले नाचिरहन्छ ।

यदि भाइ राजको सपना सिर्जनशील भएर आफ्नै जन्मभूमिमा फर्कनु र पारिवारिक स्पर्शको मात्रै पनि आशा राखेको र  भावनामा मानवता देखेँ भने मेरै लगानीमा विदेश पठाउन म हिचकिचाउने छैन तर उनी देखासिकीको पछाडि लागेका रहेछन् भने अहँ ! म शुभकामना सन्देश पनि दिन सक्दिन । मलाई आफन्त भएर पनि मानवता गुमाएको ठहर्छ भने हो मैले मानवता गुमाएकै सही ।