करिब तीन दिनको तालिमपछि कम्पनी पुग्दा मलाई सेप्टेम्बरको चिसो हावाको झोक्काले स्वागत गर्यो । पहिलोपल्ट फलामका चाङ देख्दा मेरा आँखा जोडले तिरमिराए । 

 

परदेशको जीवन विचित्रको हुन्छ । अर्लामकाे आवाजसँगै उठ् । अनुहार पनि राम्रोसँग धुन नपाई हतार हतार केही खाऊ र काममा जाऊ । थकाइ नमानी हप्ताभरि उहीँ कम्पनीको ड्रेस लगाएर रातदिन नभनी काममा जोतिनु पर्ने बाध्यता । कोठामा साथीलाई डिस्टर्ब होला कि भनी अपनाउनु पर्ने अतिरिक्त सतर्कता । मेसिनजस्तो जिन्दगी । काम अनि काम । काम सकियो, सम्बन्ध सकियो । कसैलाई कसैको मतलब समेत हुँदैन ।

केही दिनअघि एक जना दाइको बिदाइ कार्यक्रम भयो । दक्षिण कोरियाको झन्डै-झन्डै एकदशककाे बसाइँलाई बिट मार्दै उहाँ घर फर्किँदै हुनुहुन्थ्यो । लामो समय बसेको ठाउँ, सँगै काम गरेका साथीहरूसँग छुटिँदा पक्कै पनि नरमाइलो त लाग्दो हो । तर घर फर्किन पाउँदाको खुसी उहाँको अनुहारमा पर्याप्त देखिन्थ्यो । मैले दाइलाई एकटक हेरी बसेँ – झन्डै- झन्डै पाँच दशक देखेका ती आँखाहरू । तिलचामले केश । प्रौढ शरीर । कुनै दिन उहाँ पनि तन्नेरी हुनुहुन्थ्यो होला ! आफ्नै आवश्यकता र रहरहरू थिए होलान् ! आँखामा रङ्गिन सपनाहरू सजिएका थिए होलान् ! के उहाँले चाहेजस्तै जीवन बाँच्नु भयो होला त ? के उहाँका सबै आवश्यकता, इच्छा, आकाङ्क्षाहरू पूरा भएछन् ?

एभरेज नेपालीहरू निश्चित उमेर पार गरेपछि बिहेवारि गर्छन् । दुई-चार थान सन्तान उत्पादन गर्छन् । देशमा बेरोजगारी व्याप्त छ । कतै रोजगार पाइहाले पनि तलबले परिवार धान्न मुस्किल पर्छ । शासन प्रणालीहरू बदलिए पनि जनताको जीवनमा आर्थिक रूपान्तरण हुन सकेको छैन । श्रम कार्यमा भेदभाव छ । कामकाे सम्मान छैन , मूल्य छैन । कर्मचारीमा कामप्रतिको समर्पण भाव छैन । शासक त शासकै भए जनतामा पनि आत्म-अनुशासन र उत्तरदायित्व हराउँदै गएको छ । व्याप्त बेथिति र स-साना काम गर्न पनि ठुला नेताको सोर्स-फोर्स र चाकडी गर्नु पर्ने प्रवृत्तिदेखि आजित भएर युवाहरू जिन्दगीको खोजीमा विदेशतिर हानिन्छन् । विदेशमा अनेकौँ हन्डर ठक्कर खान्छन् । कठोर काम गरेर कोही स-शरीर धन कमाई फर्किन्छन् । कोही उतै हराउँछन् त कोही बन्द बाकसमा कहिल्यै नउठ्ने गरी फर्किन्छन् । यहीँ हो एभरेज नेपालीहरूको नियति ।

* * *

सानै छँदा एक दिन ठुलो आवाजमा आकाशमा उडिरहेको जिनिसलाई देखाउँदै मैले आमालाई सोधेको थिएँ – आमा त्यो के हो ?”

“त्यो हवाईजहाज हो।” आमाले मतिर हेर्दै भन्नुभएको थियो, “त्यसमा मान्छे चढ्छन्।”

आमाको जवाफ सुनेर म छक्क परेको थिएँ। त्यो हवाईजहाज नामक जिनिस कसरी उड्छ होला ! त्यसमा कस्ता मान्छे चढ्छन् होला ! फेरि त्यो जिनिस कहाँ जाने होला ! म निकै जिज्ञासु बनेको थिएँ । आमाले मेरो अनुहारको भाव बुझ्नु भएको थियो । आफ्नो दाहिने हत्केलाले मेरो निधार सुमसुम्याउँदै भन्नुभएको थियो, “चिन्ता नगर् । ठुलो भएपछि मेरो छोरो पनि चढ्ला !”

म गजक्क परेको थिएँ । आमाले मलाई आफ्नो छातीमा टपक्क टाँस्नु भएको थियो । वर्षाैंपछि आज म त्यहीँ हवाईजहाजमा चढ्न गइरहेको  थिएँ । तर, विगतको त्यो उत्सुकता ममा थिएन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वातावरण उजार, उराठलाग्दो थियो । उफ् ! हामी कामदार निर्यात गर्ने देशका बासिन्दा ! बाआमाकाे अनुहार मलिन थियो । मलाई रातो खादा ओढाउँदै बाआमाले दसैँमा झैँ फररर आशीर्वाद दिँदै भन्नु भो, “कसैको नजर नलागोस् ! दैव सधैँ दाहिना रहून् ! चिताएका सबै कुरा पूरा होउन् ! सबैको भलो गर्नू बाबै !” बोल्दाबोल्दै आमाका आँखा सररै रसाए ।

“आमा त जम्मै राेकाे राेयै हुनुहुन्छ । अब नरुनुस् के ।” दिदीले मेरो शिर सुमसुम्याउँदै फेरि आमातिर हेर्दै भनिन्, ” भाइ यति ठुलो भैसक्याे । आइहाल्छ नि एक/दुई वर्षपछि । म छँदै छु त हजुरहरूसँग ।”

“हुन्दे !” आमाको रुन्चे स्वर सुनेँ,  तिमीहरू जतिसुकै ठुला भए पनि हाम्रा लागि त साना हाै । एकदमै साना । आँखाका नानी जस्ता ।” आमाले सारीको सप्कोले आँसु पुछ्नु भो । बा शिरमा आयातित ढाकाको टोपी मिलाउँदै हुनुहुन्थ्यो । दिदी भने अन्तिम पटक सेल्फीकाे तरखरमा थिइन् । पालैपालो बाआमा र दिदीलाई ढोगेँ । आँखाभरि सप्तरङ्गी सपना र मनभरि बिछोडको पीडा लिएर दक्षिण कोरियाका लागि प्रस्थान गेटतिर लम्किएँ ।

ई. पी. एस मार्फत दक्षिण कोरिया जाने युवायुवतीहरू कालो ज्याकेट र रातो क्याप टोपीमा सझिएर लामबद्ध थिए । उक्त दृश्यले तत्कालीन नेकपा माओवादीले प्रतिक्रियावादी राज्यव्यवस्थालाई ध्वंस गर्दै नयाँ जनवादी राज्यव्यवस्था स्थापना गर्ने मूल नाराका साथ सुरु गरेको सशस्त्र सङ्घर्षमा होमिएका युवायुवतीको झल्को दिन्थ्यो । फरक यत्ति थियो -तत्कालीन युवायुवतीसँग हातहतियार, बन्दुक, गाेलीगठ्ठा थिए । अहिले यी युवायुवतीसँग भने हातमा हरियो पासपोर्ट थियो । करिब पाँच सय कामदार बोकेर हवाईजहाज उड्यो अन्धकार आकाशमा । म उडेँ । पहिलोपल्ट गुँड छाडेर उडेको बचेरो झैँ ।

* * *

“सधैँ हाम्रै मात्र भर परेर काँ हुन्छ ? हाम्रो उमेर पनि ढल्किँदै गाे । हातगोडा बस्न थाले । तेरो पनि त उमेर भयो , अब त केही गर्नुपर्‍यो नि !  सधैँ बाआमाकै मुख ताकेर जिन्दगी चल्दैन बाबै ।” बाले पहिलो पटक मतिर हेर्दै भन्नुभएको थियो । बाकाे स्वर सुनेर छक्क परेँ । त्यो पुस महिनाको पहिलो शनिवारको दिन थियो । सूर्य आकाशको पश्चिमपट्टि थियो । हामी स-परिवार घाम ताप्दै सुन्तला छोडाएर खाँदै थियौँ । उमेरले बाइस नाघिसक्दा पनि  म पुरापुर बाआमामा आश्रित थिएँ  । चाहिएको बेला बाआमालाई दङ्ग्याउँदै पैसा माग्थेँ । चढ्ने साधन छँदै थियो । बिहान कलेज जान्थेँ । दिनभरि फुर्सदिलो हुन्थेँ । जिन्दगी यस्तै त हो नि भन्ने लाग्थ्यो । निकै पुलपुलिएर होला , म भविष्यप्रति खासै गम्भीर थिइनँ ।

“अब अल्लि गम्भीर बन्न सिक् । सधैँ यसरी बरालिएर हुँदैन । हामी पनि डाँडामाथिका घाम भैसक्याैँ ।”, आमाको स्वर तिखो सुनियो ।

सुन्तला छोडाउनमै तल्लीन थिएँ म ।

“कम्मर कसेर पढ् । लोकसेवामा नाम निकालिस् भने बेसै होला ! सरकारी जागिर भनेको सरकारी जागिर नै हो । भोलिका दिनमा राम्रो हुन्छ ।” बाले खोक्नु भो । मैले दिदीतिर आँखा घुमाएँ । उनी फेसबुकमा व्यस्त थिइन् ।

जीवनमा सरकारी जागिर खाने मेरा बाआमाकाे ठुलो सपना थियो रे ! विडम्बना ! उहाँहरूको त्यो सपना पूरा भएनछ । आफ्नो अपुरो सपनालाई छोराले पूरा गरिदेओस् भन्ने चाहना राख्नुभएको रहेछ । अभिभावकले सन्तानप्रति चाहना राख्नु स्वाभाविक हो । तर, उनीहरूले सन्तानको गुण र झुकाव कस्तो र कता छ भन्ने कुराको पनि ख्याल राख्नुपर्छ । सरकारी जागिरप्रति मेरो कहिल्यै झुकाव भएन । सायद ममा त्यस्तो गुण पनि नभएर होला !

“म सरकारी जागिर खान्न ।” मैले भनेँ,  ठाडै ।

“अनि के अर्चस् त ?”  बाले सोध्नु भो, सोझै।

“बरु व्यापार गर्छु ।”

मेरो स्वर सुनेर बाआमा निकै खिन्न देखिनुहुन्थ्याे ।

व्यवस्थापन पढेकै लहडमा व्यापार गर्छु त भनेँ, तर मसँग चाहिने व्यावहारिक ज्ञान थिएन । के गर्ने ? कसरी गर्ने ? भन्ने विषयमै मेरा दिनहरू बित्न थाले । केही महिनापछि जेनतेन एउटा पसल सुरु गरेँ बाआमाकाे सहयोगमा । तर समयको लेखान्त अर्कै रहेछ । पसल फस्टाउन सकेन । फस्टाउन सकेन पनि के भन्नु ! व्यापारमा पर्याप्त लगानी चाहिने । आफूसँग लगानी भएन । विभिन्न बैङ्क र सङ्घसंस्था धाइयो। तर उपलब्धि हात लागेन । कलेजमा अकाउन्ट पढ्दा डेबिट र क्रेडिटको ब्यालेन्स सिट सहजै मिलाइन्थ्यो तर, व्यावहारिक जीवनको डेबिट र क्रेडिटको ब्यालेन्स सिट मिलाउन त्यति सहज रहेनछ । म झोक्राउन थालेँ । स्नातक चौथौँ वर्षको परीक्षा पनि दिइनँ । म भत्किएँ ।

नेपाली समाजमा मानिसको सफलताको मापन गर्ने कसी भनेकै पैसा रहेछ । आर्थिक सम्पन्नताले नै मानिसको सामाजिक प्रतिष्ठा निर्धारण गर्दो रहेछ । पैसा भन्ने चिज नभएपछि साहुहरू सिंह बन्दा रहेछन् । छिमेकी शत्रु बन्दा रहेछन् । आफन्त पराई बन्दा रहेछन् । आफूचाहिँ मजाकको पात्र बनिँदो रहेछ ।

हावा हो मित्र पोल्दा जंगल अग्निको 

त्यहीँ गर्छ दीपको नाश 

निर्दाको मित्र हुन्छ को ? 

                     – कवि शिरोमणि लेखनाथ पाैड्याल

हावाले जङ्गलमा डढेलो दन्काउँछ । त्यहीँ हावाले एउटा निर्दो बत्तीलाई निभाउँछ । निर्दाको मित्र को हुन्छ ? कोही पनि हुँदैन । सबैले उहीँ बलेकै आगो ताप्ने हुन् ।

व्यापारमा ठक्कर खाएपछि अब मैले विदेश जाने सोच बनाएँ । हुन त मलाई पहिल्यै थाहा थियो – नेपाली समाजले देशमै केही गर्नेलाई भन्दा विदेश जानेलाई बढ्ता मान गर्छ भन्ने कुरा । तैपनि सकेसम्म आफ्नै देशमा केही गर्छु भन्ने चाहनाले बिदेसिने इच्छा पहिले कहिल्यै पलाएको थिएन ।

गाउँघरमा विदेश जाने फेसन नै चलेको थियो । अझ राम्रो कमाई हुने ठाउँ भनेपछि त उल्कै हुन्थ्यो । दक्षिण कोरियामा राम्रो कमाई हुन्छ रे भन्ने हल्ला थियो । मैले पनि हल्लाकै भरमा द.कोरिया जान कोरियन भाषा पढ्ने निधो गरेँ । अपितु बाआमा भने मेरो यस निर्णयप्रति पटक्कै खुसी हुनुहुन्थेन । करिब तीन महिना कोरियन भाषा दत्तचित्त भएर पढेँ । यस्तो पढेँ कि, कोठाका समानदेखि जानेका शब्दसम्म मनमनै कोरियन भाषामै उल्था गर्न थालेँ । मानौँ यो नै मेरो सर्व थोक हो । ईपी.एसले लिएको भाषा परीक्षामा पास पनि भएँ । जीवनमा दिएका अन्य परीक्षाका रिजल्टभन्दा यो रिजल्टले बेग्लै खुसी दियो ।

भाषा पास भएको करिब एक वर्षपछि मेरो श्रम सम्झौता आयो । खुसीले फुलेल भएँ । ईपीएस सम्बन्धी सम्पूर्ण कागजी प्रक्रिया र भैसीपाटीकाे सात दिने अभिमुखीकरण तालिम पूरा गरी केही वर्षका लागि घर छोड्ने तयारी पूरा भयो ।

* * *

करिब ६ घण्टाको हवाई यात्रापछि बिहानीपख दक्षिण कोरियाको इन्छन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण  हुँदा मेरा तनमनका पखेटा निकै फुकेका थिए । कोरियाको विकास देखेर म चकित परेथेँ । लाग्थ्यो, यो देशमा काम नै काम छ ! यो पैसै पैसाको सहर हो ! यहाँ दुई हातले पैसा सोहोर्न सक्नुपर्छ !

करिब तीन दिनको तालिमपछि कम्पनी पुग्दा मलाई सेप्टेम्बरको चिसो हावाको झोक्काले स्वागत गर्यो । पहिलोपल्ट फलामका चाङ देख्दा मेरा आँखा जोडले तिरमिराए । म कल्पनाकाशकाे दक्षिण कोरियाबाट यथार्थको वास्तविक धरातलमा पुग्दा निकै रन्थनिएँ । काम गर्ने मेसिन देख्दा म पिँजडामा परेको पन्छी झैँ छटपटाएँ ।

फलामका चाङका बिचबाट इशाराका भरमा काम सुरु गरेँ । मलाई काम सिकाउने एक जना बैसठ्ठी बर्से कोरियन बूढा थिए । उनी निकै मिहिनेत थिए । खालि काम मात्रै गरिरहन्थे । उनको अनुहारको बान्की नै त्यस्तै हो या खै किन हो उनी निकै रिसाएझैँ देखिन्थे । अपितु उनको बोली भने नम्र थियो । सुरुसुरुमा उनले मलाई उछिन्दै कोरियन अभिवादन गर्थे । म जिस्काएझैँ ठान्थेँ । पछि पो थाहा भयो, कोरियनले कामलाई पुज्दा रहेछन् । कोरियामा कामदारलाई सम्मान गर्ने संस्कार रहेछ । कोटी कोटी नमन छ उनीहरूको कामप्रतिको त्यो श्रद्धा र समर्पणको भावलाई ।

एक दिन रेस्ट टाइममा मैले ती सहकर्मी बूढासँग परिवारबारे जिज्ञासा राख्दा उनले मोबाइलमा रहेको फोटो देखाउँदै कोरियनमा भनेका थिए, ” उनी मेरी श्रीमती हुन् । उनी फुड कम्पनीमा काम गर्छिन् । हप्तामा हाम्रो एक पटक भेट हुन्छ । अनि यी दायाँबायाँ उभिएका चाहिँ छोरा हुन् । उनीहरू झन्डै-झन्डै तिम्रै उमेरका भए होलान् । उतै राजधानी सउलतिरै बस्छन् । उतै काम गर्छन् ।” बूढा रोकिए । उनले चुरोटको खिल्ली मतिर बढाए । मैले नकारात्मक टाउको हल्लाएँ । उनले चुरोट सल्काए । लामो सर्को ताने अनि बाहिर धूवाँको अमूर्त आकृति फ्याँकेर बोले, “यहाँ कसैलाई कसैको मतलब हुँदैन । सन्तानले बाआमालाई हेर्दैनन् । उनीहरू उनीहरूकै लागि काम गर्छन् । हामी हाम्रै लागि हातखुट्टा चल्ने बेलासम्म काम गर्छाैं । नत्र खान पाइँदैन नि ।” उनले मतिर पुलुक्क हेरे ।

“हाम्रातिर त गजब छ । एक जना सदस्यको भरमा सिङ्गो परिवार बाँचेको हुन्छ । कामलाई भन्दा मानवीय संवेदनालाई बढी प्राथमिकता दिइन्छ । पचास नाघेपछि नेपालीहरू बुढो भइयो भन्न थाल्छन् । सरकार पनि अन्ठाउन्न मै अवकाश दिन्छ । बूढाबूढीले बोनसमा नातिनातिना पाउँछन् । नातिनातिना हुर्काउँदै दिन बिताउँछन् ।” मेरो कुरा सुनेर उनी छक्क परे ।

वास्तवमा दक्षिण कोरियाका मेरा हनिमुन दिनहरू निकै कष्टपूर्ण रहे भन्दा हुन्छ । बिरानो मुलुक, भिन्न परिवेश, फरक रहनसहन र खानपिनमा एड्जस्ट हुन कठिन हुने नै भयो । त्यसमाथि दैनिक चौध / पन्ध्र घण्टा निरन्तर काम गर्दा थाकेर लखतरान हुन्थेँ । खाना खान गयो, टाढै गन्हाउने । जेनतेन गाँस हाल्यो । निल्नै गाह्रो हुन्थ्यो । नेपालमा बाआमालाई यो भएन, त्यो भएन,  यो खान्न,  त्यो खान्छु भन्दै घुर्क्याउँदै खान पाइन्थ्यो । दुई/चार घण्टा काम गर्‍यो भने थाकेको अभिनय गरिन्थ्यो । जीवनमा कहिल्यै कल्पनासमेत नगरेको दुःख पाउँदा म झोक्राउन थालेँ । सबै मानिसहरू पराई लाग्थे । घर-परिवार र साथीभाइ त हुँदै भए, गाउँघरको ढुङ्गा, मुढाको समेत याद आउँथ्यो। चारैतिर अन्धकार लाग्थ्यो । जीवनदेखि नै विरक्त लाग्न थालेको थियो । समाचार हेर्‍यो, हप्तैपिच्छे मानिस मरेको खबर । कोही आत्महत्या त कोही औद्योगिक दुर्घटनामा । विरक्तिपनले छोपेको बेला यस्ता समाचार पढ्दा मन अझ खुम्चिने रहेछ । नेपालमा हुँदा यसो सोच्थेँ – परदेशमा गएर किन आत्महत्या गर्छन् होला ! परदेश कहाँ स्वदेश जस्तो हुन्छ र ! मन त बुझाउनै पर्छ नि भन्ने लाग्थ्यो ।

दक्षिण कोरिया आएको एक/दुई हप्तामै किन नेपाली श्रमिकले आत्महत्या गर्दा रहेछन् भन्ने गतिलो अनुभव भयो । मानिस निराशाको चरम विन्दुमा पुगेपछि आफूलाई व्यर्थ ठानेर बेहोसमै ज्यान फालिदिने रहेछ । दक्षिण कोरियामा कामकाे चाप, “हाेमसिक” र घरपरिवारले दिने तनाव नै आत्महत्याको मुख्य कारण रहेछ।

जतिसुकै तनाव हुँदा पनि मैले कहिल्यै हार खाइनँ । बरु धेरै पीडा भएको दिन कहिले मन हलुङ्गो पार्न  कोठाको कुनामा मुख छोपेर रोएँ । कहिले मध्यरातमा एक्लै सडकका बत्तीसँग रमाएँ त कहिले मोबाइलमा बज्ने गीतहरूमा हराएँ । सम्झेँ, गाउँमा निकै सम्मान पाएका ती कोरियनबाट फर्किएकाहरूलाई । फेरि सम्झेँ, परदेशमै पसिना र रगत बगाएका ती लाखै लाख युवायुवतीलाई अनि चित्त बुझाएँ । आखिर बुझाउनुपर्ने चित्त नै रहेछ ।

जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा परिस्थितिको विश्लेषण गरी आफूलाई त्यस अनुरूप ढाल्न सक्नु पो रहेछ । मैले आफूलाई समायोजित गर्न थालेँ । महिना बितेपछि प्राप्त गरेको तलबले पनि केही ऊर्जा दियो  होला ! अघि सय मिटर टाढै गन्हाउने खाना दिनदिनै खाँदा मिठो पो लाग्न थाल्यो । चौध/ पन्ध्र घण्टा काम गरेर लखतरान हुने शरीर अब केही अभ्यस्त भयो । साँच्चै मानव शरीर त गजबको हुने रहेछ । मेसिन बरु खिया लागेर भाँचिएला । धेरै चलाए तातिएर पड्किएला । तर यो शरीर जस्तो गरायो त्यस्तै हुने ।

* * *

” कता हरायौ दृश्य भाइ ?” दाइले कोट्याएपछि म झस्किएँ । दाइको अनुहारमा हेर्दाहेर्दै म त आफ्नो विगतमा पो फर्किएछु ।

मोबाइलमा कसैकी पत्नी भइसकेकी मेरी भूतपूर्व प्रेमिकाको तस्बिर हेरेँ, नचाहँदा नचाहँदै ।

“डन्ट फर्गेट मी है ।” उसले अन्तिम भेटमा भनेकी थिई ।

हे दैव !

“म छिटै फर्किन्छु ।” मैले आश्वस्त पार्न खोजेको थिएँ ।

विज्ञानले जतिसुकै नवीन आविष्कार गरे पनि उसको याद मेटाउन सक्ने कुनै ओखती बनाउन सकेको छैन । पानी कहिले दर्किएला खै ?

चियर्स. चियर्स.. चियर्स…

साथीहरू राजनीतिक गफगाफमा व्यस्त थिए । नेपालीलाई जहाँ गए पनि राजनीति नै गर्नुपर्ने । कोही कोही त देशको अवस्थाप्रति चिन्तित देखिन्थे , मदिराको प्रतापमा ।

“केटा हो, डन्ट वेरी ।” बल्ल दाइ भकभकाउनु भो पुरै पारामा, “यी बुढाखाडा नेताबाट हुँदैन । नेपाल फर्किने बित्तिकै अध्यक्ष कमरेडलाई भेट्छु । आउँदो चुनावमा टिकट पाए भने देन आइ वेल साे द फिउचर अफ तवर कन्ट्री ।”

पुनः हाँसोका फोहरा छुटे ।

हाहा .हीही ..होहो…

समय आफ्नै गतिमा थियो । रातको अन्धकार गहिरिँदै थियो । सप्ताहान्त भएर होला  कसैलाई  समयको कुनै परवाह थिएन । पृष्ठ भागमा उदितनारायणकाे स्वर “आँखाभरि हिउँचुली छनछन बग्ने खोला, फेरियो कि मेरो गाउँ अझै उस्तै होला ?” गुन्जिरहेको थियो । नजिकै बसेको साथी साहित्यपाेस्टमा छापिएको “दक्षिण कोरिया र म” शीर्षकको कथा पढिरहेको थियो ।