टेलिभिजनको पर्दाबाट दृष्टि हटाएर मदनकुमारले भित्तेघडीमा समय हेरे । रातको नौ बजिसकेको रहेछ । तब उनी उठेर किचेनमा गए ।
मदनले सोधे, ‘लीलावती आइसकेकी छैनन् तुलसा ?’
तुलसाले नम्र स्वरमा जवाफ दिइन्, ‘सर ! आन्टीलाई अचेल घरमा बस्ने फुर्सद नै छैन ।’
मदनले भान्छाको खाना निरीक्षण गर्दै असन्तुष्टि पोखे, ‘कृपाले पनि खाने निश्चित छैन । किन बढी बढी खाना पकाएकी त ?’
तुलसाले आदर्शका कुरा गरिन्, ‘सर ! जिउँदो मानिसको भाग कटौती गर्यो भने घरमा अनिष्ठ हुन्छ रे ।’
मदनले झर्को मान्दै टाउको समाते । त्यसपछि तलतिर ओर्लिए । त्यहाँ रञ्जनबहादुर पनि आफ्नी श्रीमतीको बाटो हेरेर बसिरहेका थिए । रञ्जन मदनको घरमा तल्लो ‘फ्ल्याट’ भाडामा लिएर बस्दै आएका थिए ।
बल्ल लीलावतीको आगमन भयो ।
मदनले ढोकैमा असन्तुष्टि पोख्न थाले, ‘तिमीहरूले भोजभतेरलाई विलासी बनाउँदै लगेका छौ लीला । मानिसहरू तिमीहरूको क्रियाकलापलाई ‘छाडा’ भन्न थालेका छन् ।’
पतिको नाकमा मदिराको दुर्गन्ध ठोक्किन पुग्यो । लीला चुपचाप सिँढी चढ्न थालिन् । आफ्नो भारी ज्यानलाई सोफामा थेचार्दै लीलाले गुनासो पोखिन्, ‘श्रीमतीलाई गर्मी भएको होला भनेर फ्यान चलाइदिनु त कता हो कता, दोष पो लगाउने ? खै, के भएको छ ?’
मदनकुमार चुप्प लागे । तल रञ्जनकी श्रीमती विशाखा पनि भर्खरै आइपुगिन् । तिनीले रातो रङ्गको वान पिस टप्स र सेतो रङ्गको लेगिन्ज—प्यान्ट पहिरिएकी थिइन् । अचेल यस्तै फेसनले बजार पिटेको छ । लीलावतीलाई पनि सारीभन्दा यस्तै पोसाक सजिलो लाग्न थालेको थियो ।
कोठामा पस्नासाथ रञ्जनले सम्झाए, ‘लीला भाउजूको जस्तो पुगिसरी आएको छैन हामीलाई । छोरीको बिहे वारी गर्न हतार भइसक्यो । छोरो विदेशमा सङ्घर्ष गरिरहेको छ । अरूको पो उल्फतको धन छ र बेसरी उडाउँछन् तर हामी त विशुद्ध तलबको भरमा जिउनु पर्ने मानिस हौँ । त्यही भएर…।’
— ‘के त त्यही भएर ?’
प्रतिप्रश्नको झटारो आफल्दै विशाखाले वचन लगाइन्, ‘के हामीले चुलो चौको मात्रै कुर्नु ? आर्थिक अवस्थाको नाउँमा जहिल्यै एउटै लुगामा वर्ष कटाउनु ? अहँ, यस्तो अन्याय कदापि सहिँदैन श्रीमान्जी !’
रञ्जन बेसरी रन्थनिए ।
त्यस्तैमा श्रेया कराउन थालिन्, ‘हैन, आज पनि हजुरहरूको रोइला सुरु भयो ? बस्न नसक्ने भएँ म हजुरहरूसँग ।’
तिनी आफ्नो कोठामा फर्किइन् । विशाखा त्यही नयाँ पोसाकमा टिकटक बनाउन थालिन् ।
उता लीलावतीले पनि प्रतिवादको शैली अपनाउँदै भन्दै थिइन्, ‘हामी नारीहरूलाई पुरुषहरूले पैतालाले कुल्चेर राखिरहन पाए खुसी हुने । नपाए चाहिँ बढी छाडा भए भन्ने ? अल्प बुद्धिका आइमाई भनेर हेलाँ होचो गर्न पाइँदैन मदनकुमारजी !’
लीलालाई मानसिक पीडा पनि परेको थियो । एउटा छोरा त चाहिन्छ भन्ने दबाब झेल्दाझेल्दै तीन–तीन वटी छोरीहरूकी आमा बन्न बाध्य भइन् ।
त्यति बेला मदनका बुबालाई साफ झोक चल्यो र बेसरी झपारे, ‘के तैँले यस घरमा एक दर्जन छोरीहरूको बगाल जन्माउन चाहेको होस् मदन ? अब पनि विचार गर्दैनस् मूर्ख ?’
मदनलाई लागेको थियो, बुबाले दोस्री पत्नी ल्याउन उकासेका हुन् । ढिकुराको मालिक एउटा पुत्र लाभ नगरी नछाड्न दबाब दिएका हुन् । तब त तातो रिसको झोकमा उनी सीधै परिवार नियोजनको कार्यालयमा पुगे र स्थायी भ्यासेक्टोमी गरेर फर्किए ।
मदनले पहाडको घर छाडिदिए र पत्नी र तीन वटी छोरीहरू लिएर काठमाडौँ सहर पसे । समय क्रममा मदन—लीलाकी जेठी छोरी अस्ट्रेलिया पुगिन् । माइली छोरीचाहिँ अमेरिका उडिन । अफसोस ! कान्छी छोरीले आमाको चाहनामा तुसारापात लगाइदिइन् । तिनी ‘मोडल’ बन्न पुगिन् ! त्यही भएर ‘र्याम्प’ मा राति अबेरसम्म क्याटवाक गरिरहेकी हुन्छिन् ।
लीलावतीलाई बुढेसकालमा मस्ती छ । छोरीहरूले खातामा पैसा हाल्दिरहेका छन् । जेठी र माहिलीले लत्ताकपडाहरू पनि पठाइदिइरहन्छन् । तिनी पनि टिकटककी अम्मली हुन् । नयाँ लुगा लगाएकी दिन कम्तीमा तीन—चार थान भिडियो बनाइहाल्छिन् ।
एक बिहान लीलाले ब्रेकफास्ट खानका लागि रञ्जनको परिवारलाई पनि बोलाइन् । खाँदै गर्दा रञ्जनकुमारले ठट्टा गरे, ‘लीला भाउजू ! तपाईँको बर्थ डे पार्टी यही ब्रेकफास्टमा टर्ला जस्तो छ । पर्सिदेखि म सरुवा हुँदै छु ।’
‘मलाई धेरै न तताउनोस् है तपाईँ !’ एक्कासि विशाखा चिढिइन्— ‘तपाईँले सरुवा लिन पाउनु हुन्न !’
रञ्जन व्यङ्ग्यको सुइरोले घोप्न थाल्छन्, ‘त्यसो भए दामी—दामी लुगाहरू नलगाऊ । डिजाइन डिजाइनका सुनका गहनाहरू किन्न पनि कर नलगाऊ । त्यत्ति गर्यौँ भने म रातदिन तिम्रै सेवामा खटिइरहन्छु । हुन्छ ?’
‘उः फेरि सुरु भयो मेरा बा, आमाको ताण्डव !’ श्रेया निकै दुःखी भइन् । बाबाको पनि ओठको मुस्कान पतन भयो । त्यस्तैमा कारको हर्न बजेको आवाज सुनियो । सबैले बाहिरी ढोकातिर नजर बिछ्याए । कृपा कारबाट निस्किइन् । सरासर माथितिर लागिन् र कोठाको ढोकामा पुगिन् ।
उठेर गई मदनले कडा सवाल गरे, ‘तैँले कस्तो लुगा लगाएकी यो ? मोडल भएँ भन्दैमा यस्तो छाडा फेसन गर्न जरुरी छ र ? अनि हिजो राति कहाँ बसिस् नि ?’
लीलाले बसेकै स्थानबाट हप्काइन्, ‘किन छोरीको दिमाग चाटिरहनुहुन्छ ? बिचरी थाकेर आएकी होली । भोक लागेको होला । बढेकी छोरीलाई यसरी हकार पकार नपार्नू है । मैले भन्दिएकी छु । यो घरको आर्थिक अवस्था उच्च पार्नुमा कृपाको पनि त उत्तिकै भूमिका छ नि ।’
‘ल भो भो । बढ्ता भाषण नछाँट तिमी !’ मदनले आलोचना गरे— ‘भोलिका दिनमा केही भयो भने म केही गर्न सक्तिनँ ।’
रञ्जनले सम्झाए, ‘पिर नगर मदन दाइ । समयको हावा नै उल्टो बहिरहेको छ त हामीले के गर्न सक्छौँ ? उः विशाखाकै लवाइ हेर्नोस् न !’
पतिको अभिव्यक्तिप्रति विशाखाले कडा टिप्पणी गरिन्, ‘कुकुरलाई ताकेजस्तो गरेर ढुकुरलाई हान्छन् मेरो बूढो ! लीला भाउजूको लुगाचाहिँ देखेनौ ? मलाई त उमेरभन्दा दस वर्षअघि नै बूढी देख्न थालिसके । कान्छी ल्याउने सुर होला नि !’
लुगा फेरेर आएपछि कृपाले ममीलाई जिन्स पाइन्ट र टी सर्ट दिँदै भनिन्, ‘ममी, हजुर यो लुगा पहिरिस्योस् त । मेरो विचारमा हजुरलाई एकदम ‘म्याच’ गर्छ ।’
ममीले लजाउँदै भनिन्, ‘यो बुढेसकालमा मैले पाइन्ट र गन्जी लाएर हिँड्ने अब ? यस्तो फेसनमा देखिएँ भने त पोइला जान लागिछ भन्न बेर छैन तेरो ड्याडीले ।’ त्यति भन्दै तिनीले पतितिर पुलुक्क हेरिन् ।
पति केही बोलेनन् ।
कृपाले विशाखा आन्टीलाई पनि दिउँसो आफ्नो ब्युटी पार्लर’मा आउन आग्रह गरिन् । तिनीले फ्री सर्भिस दिने भएकी थिइन् । दिउँसो तुलसा र श्रेया पनि जाने भएका थिए ।
० ० ०
दिउँसो मदनकुमार मोबाइलको भिडियो हेर्दै बेथा बाँड्दै थिए, ‘नसकिने भइयो ! अब चाहिँ नसकिने भइयो भाइ—साथीहरू । कसैको म्यारिज एन्निभर्सरीको पार्टी रहेछ । महिलाहरू समेत मा.प.से. गरी उत्ताउलो डान्स गरेका रहेछन् । यो भिडियो भाइरल भएको रहेछ !’
एक कर्मचारी टिप्पणी गर्दै थिए, ‘नेपाली संस्कार र संस्कृतिलाई भड्किलो बनाउन सिकाउने नै हिन्दी सिरियल हुन् सर । हाम्रा चेलीहरू विलासी भैसके !’
अर्की महिला अधिकृतले आत्मालोचना गरिन्, ‘कमजोरी हाम्रै हो । हामी पूरै संस्कृति मन्त्रालय हाँकेर बसिरहेका छौँ । तर खै सुधार भएको ? मलाई लाग्छ, अब कसैले पनि सामाजिक विकृतिहरूलाई सुधार्न सक्दैन ।’
हाकिम मदनले कुर्सीमा पिठिउँ अड्याउँदै भने, ‘अब जे गर्छ, यो मदनकुमारले गर्छ भाइ—साथीहरू । यो मुलुकमा कानुनको राज छैन भन्नेहरूलाई देखाइदिन्छु म ।’
० ० ०
लीलावतीले आफ्नो बर्थ डे पार्टीको आयोजना गरिन् । मदनकुमारको बङ्गला पो हो त । कुनै पार्टी प्यालेसको झल्को दिने खालको बन्दोबस्त गरिएको थियो । तीन जना पत्रकारहरू आइपुगे ।
एक जना युटुबरले सोधिहाले, ‘ए दिदी ! यहाँ बोत्तलहरू कहाँ राखिएका छन् ?’
‘इः यहाँ राखेको छ !’ लीलाले उनलाई एक डिम्मा लगाइहालिन् । तिनी भन्दै थिइन्— ‘बर्थ डे पार्टीको प्रचार गर्नेले रक्सीको बोतल ताक्छ ? यो मेरो पारिवारिक प्रोग्राम हो । थोरै मनोरञ्जनका लागि वाइन राखेका छाैँ तिमीहरूले भिडियो भाइरल बनाउन दुष्प्रचार गर्ने ?’
कार्यक्रम आयोजक लीलावतीले सखी—सङ्गीहरूबाट उपहार ग्रहण गर्दै थिइन् । एक्कासि महिला प्रहरी इन्स्पेक्टरको नेतृत्वमा एक हूल प्रहरी देखा परे ।
लीलाले असन्तुष्टि पोखिहालिन्, ‘यो सब के हो इन्स्पेक्टर म्याम ? यो त भएन नि । एक बहालवाला सरकारी अधिकृतको घरमा बिनाकारण फौज लिएर आउन मिल्छ ? चिठी चाहिँदैन ?’
विशाखाले नम्र भएर भनिन्, ‘हजुरलाई कसैले गलत सूचना दिएछ म्याम । यहाँ मदिरा—सदिरा केही छैन । को फटाहाको काम हो यो ?’
मदनले सबैलाई चकित पार्ने अभिव्यक्ति दिए, ‘मैले नै प्रहरीलाई यहाँ बोलाएको हुँ ।’
‘आच्चे ! त..त..तपाईँको दिमाग त ठिक छ कृपाको बुबा ?’ पत्नीले ठाडै सोधिन्— ‘किन गरेको बूढा नचाहिँदो काम ?’
पतिले हाँसी हाँसी उत्तर दिए, ‘यो किन भन्ने सवालको जवाफ भरे नै पाउँछ्यौ लीला । धैर्य गर ।’
नभन्दै बेलुका नै लीलावतीले दिउँसोको प्रश्नको उत्तर पाइन् । हरेक च्यानलको समाचार प्रसारणमा मुख्य खबरको शीर्षक नै खतरा बनेछ, ‘बर्थ डे पार्टीमा महिलाको रोइलो पतिले नै प्रहरी बोलाए !’
करिब तीन दिनपछि टेलिभिजनबाट मदनकुमारको लाइभ इन्टरभ्यु प्रसारण भयो ।
पत्रकारले जिज्ञासा राखे, ‘मदन सर ! आफ्नै धर्मपत्नीले आयोजना गर्नुभएको कार्यक्रममा किन प्रहरीको हस्तक्षेप गराउनुभयो ?’
मदन जवाफ दिन्छन्, ‘यो हस्तक्षेप शब्द सच्याउनु होला । त्यो यसकारण कि, वर्तमान अवस्थामा नेपाली समाजमा धेरै नै तडक—भडक हुन थाल्यो । संस्कार र संस्कृतिलाई विकृत बनाउन थालियो !’
पत्रकार, ‘मदन सर आफै संस्कृति मन्त्रालय हाँकेर बस्नुभएको छ । यो भन्दा दुःखको कुरा…?!’
मदन, ‘यहाँ त रिजर्भ ट्याङ्की नै फोहर भैराखेको छ । त्यही भएर पानीको मूल नै सफा गर्न खोजेको हुँ ।’
पत्रकार, ‘ए, भनेपछि संस्कृति मन्त्रालयले रोक्न नसकेर गृह मन्त्रालयलाई गुहार्नु भएको हो ?’
मदन, ‘नसकेर होइन, काबुभन्दा बाहिर गएर भनम् न पत्रकार भाइ । यही उपाय ठिक लाग्यो मलाई ।’
मदनकुमारको त्यो अभियानले मुलुक पिट्यो ।
० ० ०
केही दिनपछि दराजका लुगाहरू खोसेल्दै लीला भन्दै थिइन्, ‘बूढालाई मैले फेसन गरेको मन पर्न छाड्यो । छोरीहरूले पठाइदिएका एक भकारी लुगाहरू छन् । साथीहरूलाई बाँडिदिन्छु म त ।’
मोबाइलमा सुन्दरीहरूको फोटो हेरिरहेका पतिले अनौठो शब्द प्रयोग गरे, ‘लगाऊ लगाऊ । तिमीलाई बूढी च्वाँक बनाइदिने नै तिम्रा छोरीहरू हुन् ! महँगा महँगा लुगाहरू बाँडेर साध्य लाग्छ र । बलौटे मरुभूमि त मलाई पनि कहाँ मन पर्छ र पत्नीज्यू । हा हा हा….। हे हे हे..।’
‘के रे, के रे ?’ चिडचिडेपन प्रदर्शन गदै लीलाले गुनासो पोखिन्, ‘के हो यो बूढी च्वाँक भनेको ? हामीलाई हेप्नी ?’
‘ड्याडीले हजुरलाई हेपेर भन्नुभएको हैन ममी ।’ भर्खर भर्खर संस्कारी बनेकी कृपाले हातमा बोकेकी पूजाको थाली राख्दै बताइदिइन्, ‘अचेल हजुरजस्ता महिलाहरूलाई फुर्क्याउने शब्द हो यो । अङ्ग्रेजीमा छ नि एउटा शब्द । ममीलाई पनि थाहा छ नि ।’
ममीले अन्दाज लगाइन्, ‘सेक्सी ?’
‘हो हो त्यहीँ !’ कृपाले हाँस्दै अर्थ्याइन्, ‘आमा, हजुरआमाहरू पनि फेसनेबल भएका छन् अचेल । ती सबै बूढी च्वाँक हुन् । हजुर पनि त बूढी हुनुभयो नि ।’
‘अहँ, म मान्दिनँ ।’ लीलाले ठुलो ऐनामा शरीर नियाल्दै सोधिन्, ‘खै, कसरी बूढी भएँ म ? चालीस कटेसी रमाउँला भन्ने गीत सुनेकी छैनस् तैँले ? मलाई बूढी देख्ने ?’
मदनले झन् जिस्क्याए, ‘छैनौ लीलावती, छैनौ । तिमी बूढी भएकी छैनौ । भर्खर त एकाउन्न पुगेर छयालीसमा टेकेकी छौ । कान्छी छोरीलाई अन्माएर पठाएपछि पो बूढी हुन्छ्यौ त । त्यही भएर पो मैले बूढी च्वाँक भनेर तिमी र तिमीजस्ता महिलाहरूको प्रशंसा गरेको हुँ । हा हाहा…। हा हाहा…।’
त्यसपछि लीलाले मस्किँदै भनिन्, ‘भो पर्दैन बूढी च्वाँक भनेर फुर्क्याउन । म यस्सै राम्री छु नि बूढा !’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।