बाल्यकालका कुरा इजा बज्यैले भनेअनुसार नै अवगत हुन्छन्। हरेकको जीवनको सुरुआत एकै प्रकृतिबाट भएको हुन्छ। सहर हो वा गाउँ, जीवन समान हो। जीवन दायिनी इजाको ममताले निर्माण भएको देहको अर्धचेतन अवस्थाबाट चेतना भए पछिका आफ्ना कुरा सुरु हुन्छन्।
नितान्त पहाडी गाउँ परिवेश क्रियाकलापहरू स्वाभाविक रूपमा मसँग थिए। कुकुर, बिरालो, बाख्राका पाठा,बाच्छा,पाडा मेरा साथी हुन्थे। खेलौनामा काठका टुक्रा, ढुङ्गा, माटो थिए। मनोरञ्जनमा चराहरू थिए। “ए चरी मलाई नि उड्न सिकाइ दे ।” यसरी चरीसँग एकोहरो संवाद हुन्थ्यो । कुनै कुनै मैले खाँदै गरेको मकैको गेडा ठुँगेर लैजान्थे । मेरो हातको रोटी काटेर खान्थे पाठाहरू । मैले पिउँदै गरेको दूध एका पट्टिबाट बिरालोले पनि चाटिरहेको हुन्थ्यो। मैले खाँदै गर्दा गाँस रुँगेर बसेको कुकुरलाई एक गाँस आफू खाने एउटा कुकुरलाई दिने गर्थेँ। कौवा बोलाई बोलाई रोटी दिन्थे। बुरुक्क उफ्रिन पाठोले सिकायो। चरिले चञ्चलता सिकायो। माटो त जीवन नै हो। माटोमा लडीबुडी खेल्नु,माटो खानु,माटो खेल्नुलाई स्वाभाविक मानिन्छ। माटोले देह बनेको हुन्छ। माटोमै वाक्य फुट्दछन् । माटो मै टेकेर विश्व विजेता बन्दछन् ।माटोको कथा सबैको जीवनसँग हुन्छ । त्यसै गरी मेरो जीवनबाट माटो अलग र अमुक रहन सक्दैन।
समय फेरियो, तल्लोघर मल्लोघर एक्लै जान सक्ने भए सँगै साथीहरू फेरिए, खेल्ने ठाउँ पनि फेरियो। घर आँगनबाट खेतमा पुगियो। भावनात्मक साथीभन्दा सहयात्री साथी भए। मेरो अति नै मिल्ने साथी थिए गंगा कामी,राम कामी,पुष्कर दाइ, गौरी, द्रोपती दिदी थिए।घर परिवारमा इजा,वा,बज्यै पारिवारिक संस्कृति र कुकुर, बिराला, पाठा, बाच्छा, पाडा, चरा पशुवत संस्कृतिबाट साथी सङ्गाती संस्कृति सुरु भयो।साथी समूहबाट जीवन र जगतका राम्रा नराम्रा बुझ्ने मौका मिल्यो। मेरा लागि दोस्रो ठुलो पाठशाला थियो साथी समूह ।अति चञ्चलेमा हाम्रो नाउ दर्ज थियो। कहीँ केही बिगार भएछ भने गाउँ भरि हाम्रै नाउ जोडिन्थ्यो।छोरो बिग्रेको देख्ने कसैका इजा बा को इच्छा त हुँदैन होला परिस्थिति त्यस्तै भइदिँदो रहेछ।सायद चञ्चलता बाल संस्कृति हो कि जस्तो लाग्छ। सबै बाल बालिकामा त्यही देखिन्छ। भनिन्छ बालापनमा चञ्चल र बुढापाका आध्यात्मिक नहुने मानिस असाधारण हो।
मल्लाखलामा जम्मा हुन्थ्यौँ।एक खुट्टे घ्वाइकासा खेल्नु, घुच्ची खेल्ने र कसै न कसैले कुटाकुट गर्नै पर्ने । कुटाकुटलाई पनि केटाकेटीमा खेल मानिन्थ्यो। टिपु, ठिड्की, जस्ता खेल त सामान्य हुन्, कठिन अभ्यासलाई खेलै भनी रमाउँथ्यौँ। उपद्रको पनि सीमा हुन्छ।
घट्टको पनालोमा मुडो अड्काई घट्टको धुलो बगाउने। कुलोको पानी कुलो भत्काएर अन्तै लगाउने क्षति पुर्याउने । बाल चञ्चलताले सिर्जेका घटना केही त क्षम्य पनि थिए। तर अक्षम्य प्रकृतिका पनि हुन्थे। तर सानोतिनो सजाय पनि सामान्य मानिन्थे । हरेक घटनाले पाठ पनि सिकाउँथ्यो । रोपाइमा हिलो छ्याप्ने र होलीमा रङ्ग त रमाइलो नै भए। जात्राको राम रमाइलो स्वाभाविक थियो। उच्चा उच्चा कान्लामा हाम फाल्ने नदको भेलमा बग्ने हाम्रा लागि सामान्य जस्तै लाग्थे। गोवरको डल्लो जलाएर धेरै पातमा बेरी गोलो बनाएर पट्काउँदा धेरैका लुगा जले हात खुट्टामा सानो तिनो नपोलिएको कोही रहेन। नजिकैको परालको माचमा आगो लाग्यो। निकै चर्चित भयो गोवर बम काण्ड।
बज्यैले काउली, गोलभेँडा रोप्दा कुटोले खनेको देखेका थियौँ। हामी पनि बारी खन्नमा लाग्यौँ। रोपेका काउली, गोलभेँडाको नामनिसान नै रहेन। धेरै घटनाको परिणाम रामधुलाई हुन्थ्यो । जसलाई जे भयो सह्यो। धेरैमा अभिभावकले क्षमा माग्नु पर्ने हुन्थ्यो । कुनै घटनामा माफी मागी फर्के पछि मेरो छोरो कहिले सुध्रिएला भनी इजाले रोएको घटनाले अहिले पनि पिरोल्छ। तर परिस्थिति जति जे गरे पनि फेरि उही मति भने जस्तै ।
साथीका झोलामा ढुङ्गा राखिदिने । आफू भन्दा अगाडि बस्ने साथीको पुच्छर बनाउने । पछाडि फोहर गरिने कार्यलाई ठुलो बहादुरी मानिन्थे। हरेक शिक्षकका विद्यार्थीले अपमान हुने गरी उपनाम राखिन्थे। बेला मौकामा जिस्क्याएर भन्ने पनि गरिन्थ्यो।
समय सधैँ एकनास हुने रहेनछ । असाधारण बालक मात्रै होलान् चञ्चल नभएको । सधैँ बालापन नै रहने भए त के नै बाकी रहन्थ्यो र ? उमेरसँगै जिम्मेवारी, दायित्व बढ्छ ।
व्यवहार स्वाभाविक फेरिन्छ। चुनौती पत्तालकी जून जत्तिकै छन्। समयले सधैँ त्यस्तै अनभिज्ञता खोजिरहेको हुन्छ मौका पाए आँखामा छारो हाल्छ। समय बलवान् हुन्छ ।
जतिसुकै प्रौढ बने पनि, जतिसुकै शक्तिशाली र चलाक भए पनि आलोकाँचो नानी देखिको बानी रहिरहन्छ।
पत्तालकी जुन खेलले निकै सास्ती पुर्याउँथ्यो। त्यो पनि खेलियो। पत्तालकी जून एउटा सानो फल्याकमा माटो राखी सानो खाडलमा लुकाई राख्ने । थाहा नभएको साथी बोलाउने र हेर्न लाउने खाडल हेर्दै गर्दा माटोको फल्याक उचालिदिने र आँखाभरि माटो जाने त्यस्तो पत्तालकी जून देखाउने खेल खेलियो। खण्टेको आँखा नै बिग्रिएर उपचार गराउनै पर्यो।
हरेक अभिभावकको चाहना सन्तान सुध्रिउन् भन्ने मनसाय हुन्छ होला। संस्कारवान्, नैतिकवान्, पढेलेखेको होस भन्ने सबैको इच्छा हुन्छ होला। त्यही भएर औपचारिक शिक्षाका लागि विद्यालय पठाए जस्तै अनौपचारिक शिक्षाका लागि उत्सव, पर्व, मेला, विवाह तथा गाउँमा हुने सामाजिक गतिविधिमा औँलो समातेर लैजान्छन्। विद्यालयबाट सिकेको भन्दा बढी समाजबाट सिक्नुपर्ने हुन्छ। चार लाख विद्या चौध लाख चतुर्याइँ चाहिन्छ। समाज बुझ्न सामाजिक गतिविधिमा समावेश हुनु नै पर्ने हुन्छ। बासँग मल्लाखलामा औलो समाती होली खेलेँ। बज्यैसँग देउघरका खलामा गौरा नचाएको हेर्न पुगेँ। इजाले गौरा खलामा गौरा नचाउँदा, बाले देउघरका खलामा धमारी, चैत खेल्दा, बज्यैले गौरा नाचसँगै रनझनिया गाउँदै गर्दा साथीहरूसँग मल्लाखलामा कि त एकखुट्टे घ्वाइकासा खेलिरहेको, कि त पिटापिट कुटाकुट गरी रहन्थ्यौँ। या पत्तालकी जून खेलिरहेका हुन्थ्यौँ। या त खेल खेलिरहेका बिचमा उपद्रो गर्नमा हुन्थ्यौँ।
हामीलाई लाग्थ्यो बालबालिकाको सायद यही संस्कृति हो र त्यस्तै गर्नु पर्छ। मेरा अभिभावकले दिएको संस्कार सिकाइएको संस्कृति यस्तो थिएन । यस्तै गरून् भन्ने अभिभावकले पनि चाहेका हुँदैनन् होला । संस्कृति एक पुस्ताबाट अर्को पुस्तामा सर्छ। सिके सर्छ, सांस्कृतिक गतिविधिमा सामेल भए जानिन्छ। कामकुराे एकातिर कुम्लो बोकी घट्टतिर भए के सिकिन्छ। धेरै महत्त्वपूर्ण चिजहरू लोप भए, धेरै हुँदै छन्। बाले जस्तै त्यही पैतोल मिलाएर धमारी खेलेको भए, लय मिलाएर चैत गाएको भए, बज्यैसँगका दुर्लभ तथ्यहरू टिपोटै गरेको भए पनि त हुन्थ्यो। तर हराए, अझै हराउँदै छन्।
समाजप्रति जति जिम्मेवार हुनु पर्थ्यो त्यो हुन सकिएन। बाल्यकाल लहलहै को लाग्यो र त्यस्तै बित्यो। हामी विभिन्न प्रकारका खेल खेल्थ्यौँ। गिर, बोद्दी, कबड्डी, टीपु, अड्डु, त्यसैमा तारो हान्ने पनि हुन्थ्यो। बासको धनुष र तिर बनाएर तारो हान्ने। गुलेलीमा मट्याङ्ग्रा राखी चरालाई हान्ने मट्याङ्ग्राले धेरै चरा झार्यौ पनि। आँपको पाकेको दाना तारो बनाउँथ्यौ, झार्थ्यौं।हरेकको जीवनको लक्ष पनि हुन्छ। लक्ष पूरा गर्न समर्पण चाहिन्छ। उद्देश्य निर्धारण गरी रणनीतिक रूपमा प्रस्तुत हुन सके सहजै लक्षमा पुगिन्छ। एउटा लक्ष हो तारो। लक्ष भेदन हो तारो हान्नु।
मेरा अति मिल्ने बाल सखा थिए देवानी । उनको घरमा बन्दुक थियो। सिकार खेल्न जाने भनी मलाई पनि साथै लगेर गए । मृगलाई तारो बनाई ढलाए। देवानीले ढलाएको मृगमा पछि धेरैले भाग खोजे। तारो देवानीले नै हानेका थिए।
हाम्रो गाउँबाट विद्यालय अलि टाढा नै थियो। सात बजे पुग्नका लागि पाँच बजे नै घरबाट हिँडिसक्नु पर्ने थियो। धेरै साथी थियौँ ।जान्थ्यौँ विद्यालय। विद्यालय जाँदा आउँदा बाटोको यात्रा अविस्मरणीय नै छन्। धेरै छन् उल्लेखै गर्नु पर्ने त्यसमा एउटा महत्त्वपूर्ण छ तारो हान्ने। विद्यालय जाने बाटामा अरिङ्गालको गोला फेला पर्यो। तारो हान्ने प्रतिस्पर्धा नै चल्यो । गोलोलाई तारो बनाई त्यसैमा अर्जुन दृष्टि केन्द्रित गरियो। पालैपालो तारो हान्ने अभ्यास गरियो। तारो हानियो । तारो मात्र हानिएन गोला पनि फुट्यो। अरिङ्गाल गोली जस्तै भई बर्सिए हामीमाथि । एकै पटकको सामूहिक आक्रमणमा पर्यौँ सबै जना। सबै साथीको स्वरूप फेरियो । के भयो भनी सोध्नै नपर्ने भयो। अरिङ्गालको टोकाइबाट सुन्निएको अनुहार आफै परिचय दिइरहेको थियो ।हामीले मात्र तारो हानेनौ अरिङ्गालले पनि तारो हाने। हामी मात्र होइन त्यो बाटो हिँड्ने कुनै बटुवा सुरक्षित रहेनन्। जोखिम सँग खेल्नु सोख मानिन्थ्यो । जसले निकै असहज परिस्थितिको सिर्जना गर्थ्यो।
तारो हान्ने प्रसङ्गमा नै एउटा ठुलो रुखको मध्य भागमा चिनो लगाएर तारो बनाइयो। ढुङ्गाले पालै पालो तारो हान्दा त्यो ढुङ्गाले मेरो निधारलाई तारो बनायो। निधारमा बेगले फर्केर आएको ढुङ्गो लाग्यो। त्यही रन्थनिएँ। के गर्ने भेउ नै आएन। सँगैका साथीले हातले च्यापेर राखे पुड्को हुँदैन भनेर केही समय च्यापे पनि । वेगसँग बर्सेको ढुङ्गोले आफ्नो गर्ने काम गरिसकेको थियो। चिनारी नै रह्यो तारो हानेको। हुलिया लेख्न काम आएको छ।
हरेक पटक ऐना हेर्दा सम्झाउँछ, हरेक पटक हुलिया लेख्दा प्रसङ्ग मस्तिष्कमा उपस्थित हुन्छ तारो हान्ने घटना।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।