ऊ कोठामा छिर्नुअघि नै उसको जिउमा अल्झेर आएको आइमाई पर्फ्युम र रक्सीको कडा फ्युजन घरभित्र घुसिसकेको थियो। त्यो खरो गन्धले मेरो दम बढ्ला बढ्ला जस्तो भएको बेला मैले भित्तामा झुन्डिएको घडी हेरेँ । रातको पौने बाह्र कटिसकेको छ।
सोचेँ चकमन्न मध्यरात, सम्बन्धमा भड्केको लोग्ने उसमाथि नशाले लट्ठ, अनि ऊ र उसकी प्रियतमाको बिचमा तगारो बनेर उभिएकी मन नपरेकी आइमाई म । एक मनले भन्यो चुप लागेस्! त्यो बाहेक हर चिज असुरक्षित छ तेरो लागि। यस्तो अवस्थाको पुरुष राक्षस बन्न सक्छ जुनसुकै बेला!
“यो मान्छे सदैव यस्तै न हो। सामान्य रूपमा घर फिरेको त कहिले पो छ र? गर, कुरा गर, वार कि पार बना ! आखिर यो अन्योलको चाकाचुली जस्तो जिन्दगी कहिले सम्म ?”
अर्को मनले असन्तुष्टिमा हुङ्कार गर्यो तुरुन्त।
तत्कालैका लागि यो द्विविधालाई थाती राखेर मैले कर्तव्य नै त नभनूँ, औपचारिकताको सलाई झ्वार्र कोरेँ ।
“खाना पस्क्यूँ ?” जवाफ मलाई थाहा थियो, तर पनि कुराको सुरुवात यसरी नै गर्न सहज भएर आयो।
“भो पर्दैन खाइसकेँ मैले ।”
मलाइ त्यो पनि थाहा थियो कि उसले कहाँ, को सँग, के के खाएर आएको । जवाफमा चुपचाप एउटा चिसो सन्नाटालाई घुटुक्क निलेँ मैले।
यो प्रेम (?) भन्ने चिज पनि विचित्रै हुँदो रहेछ। बिहे गरेर आफ्नै सन्तानकी आमा बनेकी आफ्नै स्वास्नीसँग नहुन सक्दो रहेछ। फेरी अर्कैसँग बिहे गरेर, अर्कैकी स्वास्नी अनि बच्चाकी आमा बनेकी आइमाईसँग बिछट्टै गाढा पनि हुन सक्दो रहेछ।
उसको र मेरो असली कथा नै यही थियो। जति बेला ऊ त्यो गैर आइमाईसँग गहिरो प्रेममा चुर्लुम्म डुबेको थियो, म उसकी बिहाइता स्वास्नी ऊ बाटै जन्माइएको सन्तानलाई आफ्नो काखमा बोकेर उसैले दिएको नाममा उसकै थर जोडिरहेकी थिएँ। ऊ भने आफ्नो त्यो कु-सम्बन्धलाई गुप्त राख्न अनेक प्रपञ्च रचिरहेको थियो।
० ० ०
तपाईंको लोग्ने जब नियमित भन्दा ज्यादा प्रेम अचानक देखाउन थाल्छ नि सम्झनुस् दालमा केही कालो पसेको छ। सुरुवातमा मैले यस्तै नौटङ्की झेल्न पुगेँ।
अनायास ऊबाट पोखिएका अस्वाभाविक व्यवहारले म रनभुल्ल हुन पुगेँ। लाग्यो केही अद्भूत चमत्कार भएको छ। तर त्यो आशा आशङ्कामा रूपान्तर हुन कुनै समय लागेन। मेरी आफ्नै सँगीले मलाई झसङ्ग बनाई। त्यसपछि बिस्तारै मैले आफ्नै सूत्रहरू लगाएर अनुसन्धान सुरु गरेँ। केही समयको कसरतपछि उसको प्रेमलीला छताछुल्ल भएर सतहमा आयो। त्यसपछि कुठाउँमा फाटेको कट्टु जस्तो हाम्रो सम्बन्ध टाल्ने अनेक प्रयत्नहरू धमाधम असफल भएर गए।
आफ्नो बनिबनाऊ घरलाई त्यत्तिकै भताभुङ्ग हुन त कहाँ दिएकी हुँ र मैले ? बरु गर्न बाँकी पो के राखें र? तर खै किन हो धेरैलाई लाग्दो रहेछ भिरबाट खसेको आफ्नै सम्बन्धलाई हेरेर मैले राम-राम सम्म पनि भनिनँ।
केही उल्लेखनीय घटनाहरु म अझै पनि जस्ता को तस्तै सम्झिन्छु। एक एक शब्दहरू फेरि जीवन्त भएर आउँछन् यादहरूमा। अनेक बाध्यता र दबाबका बिच लिक छोडेर विचलित भएको त्यो सम्बन्धलाई पुन लिकमा घिच्च्याउन कम्ता प्रयत्न गरिनँ मैले।
उसको त्यो कृष्ण लीला नाङ्गो भै सके पछि पनि मैले उसलाई एउटा अलौकिक अवसर दिने घोषणा गरेकी थिएँ। मेरो घोषणामा त्यस्ता असम्भव माग केही थिएनन्।
‘अपराध स्वीकार!
माफीको याचना !
अनि गल्ती कहिल्यै नदोहोरिने सुनिश्चितता’ ।
यी तीन चिज गर्नु जति सजिलो एउटा कसुरदार व्यक्तिलाई अरू केही हुँदो हो र ? तर उसले त्यति योगदान गर्न सकेन। अहँ उसको अहमले दिँदै दिएन।
म पनि आफूलाई एउटा अबला स्विकार्ने बिन्दुमा छँदै थिइनँ।
मलाई एउटा परस्त्री लम्पट लोग्ने जस्ताको तस्तै फोहोरी, दुर्गन्धित र अपराधी अवस्थामा चाहिएको थिएन।
“गुड नाइट”
फ्रिजबाट चिसो पानीको बोतल निकालेर घुर्क्याउँदै उसले उम्किने प्रयत्न गर्यो।
“बस न केही भन्नु छ ।” मैले केही गम्भीर पक्षको सङ्केत गरेँ।
“हैन म ठिक छु, भन के भन्नु छ” उसले धैर्यता देखाउन सकेन।
उसको र मेरो संवाद यस्तो दयनीय हुन थालेको लामो समय भै सकेको थियो। सौहार्द बातचित खासै हुँदैनथ्यो।
लामो समयसम्म सोचेँ उसको स्वभाव नै यही हो। यसैलाई मैले स्विकार्नु पर्छ। तर त्यसो होइन रहेछ। उसमा मैले कहिल्यै नचिनेको रोमान्टिक मान्छे पनि जिउँदै रहेछ। मलाई कोठामा एक्लै छोडेर पल्लो कोठामा आधा आधा रातसम्म जब ऊ कोही दोस्रीसँग इतरिन्थ्यो। म कोठाबाट उसका ती अनेक अभद्र द्विअर्थी वार्तालापहरू सबै सुनिरहन्थें। त्यहीँबाट न हो मैले ऊ भित्रको त्यो बेग्लै पुरुषलाई लुकेर चियाउन पाएकी। नत्र उसले त्यस्तो रोमान्टिक अनुहार म सामु कहिल्यै प्रस्तुत गरेन। अरू त अरू विवाहका सुरुवात कालिन समयमा समेत ऊ मेरो सामु त्यो रूपमा प्रस्तुत भएको थिएन। उसले मसँग त्यस्तो चिसो व्यवहार किन देखायो म जान्दिन। हुन सक्छ ऊ सुरुदेखि नै अरू कसैको मोह जालमा बन्दी थियो। म सँगको विवाह सायद उसको इच्छा विपरीत लादिएको थियो। म केवल अनुमानहरूमा अनुबन्धित थिएँ।
जिन्दगी त्यस्तै तवरले घस्रिँदै थियो। चिजहरू यस्तै हुने रहेछन् क्यारे, नहुने बेला सुरु देखिनै नमिलेर जाने।
ऊ धैर्यता बाँधिरहेको थियो किन कि त्यसमै उसको स्वार्थ पुरा भै रहेको थियो। तर म धैर्य हुन सकिरहेकी थिइन किनकि मलाई म बनेर चैनसँग बाँच्न उसको कर्तुतले दिइरहेको थिएन। मभित्र हर बखत बेचैनीको आँधी सलबलाइरहेको थियो।
उसको विवाहेत्तर सम्बन्धको बारेमा मैले औँलो उठाएदेखि झन् उसको र मेरो सम्बन्ध शून्य डिग्री भन्दा तल झरेर ठिहिर्याउने चिसो बनेको थियो।
त्यसपछि नै हो झन् ऊ घरै नआउने, आए पनि आधा राततिर आउने गर्न थालेको। त्यसैले कयौँ दिनपछि आज भेटेको यो अवसरलाई गुमाउने पक्षमा म थिइनँ। ऊसँग म आफ्नो उकुसमुकुस पोख्न तल्लीन भएँ।
“तिमीलाई यो ज्ञान छ कि छैन कुन्नि, तिमी उपर मैले धेरै बलिदानहरू गरेकी छु। नोकर्नी बनेर तिम्रा जुठा भाँडाहरू मस्काएकी छु! तिम्रा दुर्गन्धित कट्टु गन्जीहरू धोएकी छु, तिम्रा बुढा बा-आमाका दिशा-पिसाब, रयाल-सिँगानहरू पुछेकी छु, यौन दासी बनेर तिमिले चाहेको बेलामा आफूलाई गिजोल्न दिएकी छु। ती बाहेक अनगिन्ती मेरा सपनाहरू मारेर तिम्रा आदेशहरूमा खरो उत्रिएकी छु। ती सारा मेरा बलिदानहरूको ऋण कसरी तिर्ने सोचेका छौ तिमीले?”
मेरो प्रश्नले ऊ केही खुम्चियो। सालिकमा रूपान्तरित भयो। उसले कहीँ कतै अनुमान गरेको नहुँदो हो यस्ता कुराहरूको। कुनै जवाफ नझरे पछि मैले अझ आफूलाई प्रस्ट्याउन मौका छोपेँ।
“मैले मेरो करिअर बनाउने बेला तिम्रो स्वास्नी बन्नुको भूमिका निर्वाह गर्नु पर्यो, मेरो कलेजको पढाइलाई तिलाञ्जलि दिन लाएर तिमिले आफ्ना रोगी र बुढा बा आमाको स्याहार प्राथमिक रहेको घोषणा गर्यौ। मैले सानोतिनो जागिर गर्छु भन्दा त्यो जरुरी नभएको र त्यसले तिम्रो इज्जतको उचाइलाई गिराउने जवाफ दियौ। कुनै दिन कुनै समय कुनै क्षण के तिमिलाई आफूले गल्ती गरेँ जस्तो सम्म लाग्दैन ? एक पटक सरि सम्म भन्नु पनि जरुरी छ जस्तो लाग्दैन ?” म भकभकी उम्लिएँ। निदाइ रहेको डेढ बर्से छोरीको अनुहार हेर्दै मैले आफ्नो विक्षिप्ततालाई ओल्टाइ पल्टाइ गरेँ।
उसले सदा झैँ केही बोल्नु जरुरी सम्झेन। थप एक पटक फेरि मेरा आर्तनाद र पिडालाई अवमूल्यन गर्दै ऊ आफ्नो कोठातिर लम्कियो।
मलाई उसबाट खासै कुनै अपेक्षा पनि थिएन। तर बारम्बार उसको अपराधमा दुनियाँले ममाथि थोपरेको लाञ्छनाको बोझ बढ्दै गएपछि भने म यसरी हताश हुन थालेकी थिएँ। अरू केही नभए पनि मेरो क्रोधमा उसले देखाउने मौनताभित्र केही राहत अनुभव गरिरहेकी हुन्थें। ऊ अनि उसको विरासतलाई बिदा गरेर जानुअगाडि सायद म उसले खाँदी खाँदी मभित्र भरेको तीतोलाई उसमाथि नै थुक्न खोजिरहेकी थिएँ।
ऊ मतलब लोग्ने, पुरुषप्रधान यो दुनियाँको एउटा सबल, सक्षम, सम्पन्न ब्यक्ती! ऊ यत्तिकै यति सहज र सहनशील बनेको थिएन। उसका दम्भ उसका उत्तेजना अनि उसको पुरुष इगोलाई त्यो तहमा झारेर गुजुल्टाउनु मैले ठुलै युद्ध छेडेकी थिएँ। सुरुमा त उसले आफ्नो नाजायज सम्बन्धलाई गुप्त नै राख्ने षडयन्त्र बुनेको थियो। जब त्यो छुप्न सकेन, उसले अझै हुँदै होइन भनेर टार्न खोज्यो। त्यो पनि सम्भव नभए पछि उसले ‘म लोग्ने हुँ, यो घर मेरो कमाइले चल्छ, तँ मेरो कमाइमा जिउँदो छेस्’ भन्ने सम्मका निकृष्ट तर्कहरू पेस गर्यो। उसले सोचेको हुँदो हो, उसका कर्तुतहरूलाई म एउटी अबला बनेर सहने छु। तर म उसले सोचे जस्ती सहनशील सुशील श्रीमती थिइन । यो बुझ्न उसलाई थोरै समय लाग्यो। इटाको जवाफ पत्थरले दिँदै मैले उसको अनुमानलाई मात खुवाएकी थिएँ। जब उसका अनेक ताण्डव नाचको फेहरिस्त मेरो हात लाग्यो मैले उसको सार्वजनिक बेइज्जती सम्म गर्न छोडिन। त्यसो त उसले आफ्नो पद, सम्पत्ति र प्रभावको आडमा मलाई दबाउने प्रयत्न नगरेको हैन।
कसो कसो मैले त्यसै बेला एउटा एन जी ओ मा काम सुरु गरेकी थिएँ। आफ्ना ससाना खर्चहरूका लागि समेत ऊ समक्ष हात फैलाउनु पर्ने स्थितिबाट मुक्ति लिनु जरुरी भए पछि यो सुरु भएको थियो। संयोग कस्तो परिआयो भने मेरो जागिर पीडित महिलाहरूको हक हितका लागि काम गर्ने संस्थामै हुन पुग्यो। मेरा सहकर्मीहरू वकिल, कानुन व्यवसायीहरू भूतपूर्व प्रहरी अधिकृतहरू हुन पुगे। त्यो मेरो लागि एउटा बलियो सहारा भै दियो। यो यथार्थ बुझे पछि भने ऊ केही खुम्चिँदै गएको थियो। अरू अनेक कुराहरूलाई परै राखे पनि मैले अबोध छोरीको जिन्दगीलाई अवमूल्यन गर्न सकिन। नाबालक छोरी कै लागि भनेर म सम्झौताका लागि तयार भएकी थिएँ। तर ऊ केही पनि गर्न तयार भएन। गल्तीलाई गल्ती सम्म नस्विकार्ने उसको नियतले मलाई ठुलै झडका दियो। यसरी खस्कँदै गएको सम्बन्धको जगमा हाल्न खोजेको लिउन व्यर्थ भएर गयो। अन्ततः त्यो घरै भताभुङ्ग भएर थुप्रियो।
भन्छन् घनघोर कालो बादलमा पनि चाँदीको घेरा हुन्छ त्यसैले यो विनिर्माणलाई स्विकार्नु सही मानेको थिएँ मैले। किनकि पुरानो भताभुङ्ग भए पछि मात्र नयाँको सुरुवात सम्भव रहन्छ।
त्यसैले म यो भग्नावशेषलाई जगै देखि भत्काउने गम्भीर निर्णयमा पुगेकी थिएँ।
० ० ०
आमाका आँखाहरू कमजोर भएका थिए सायद, खुब ध्यानसँग पुरै नुहेर चामल केलाइरहेकी थिइन्। झन्डै एक वर्षपछि म आइपुगेकी थिएँ भेट्न। जब म बालक थिएँ मेरो खुब मनोरञ्जनको कुरो हुन्थ्यो चामल केलाउनु । आमा चामल केलाउन थाल्नुहुन्थ्यो। आमाका छेउ रिङ्गै एक हुल भँगेराहरू भुनभुनाउँथे चामलका बियाँ टिप्न। म घरी घरी तिनलाई लखेटेर असीम आनन्द बटुल्थेँ।
आमा चामल केलाउन बसेपछि म पोल्टो थापेर उनको छेउमा गजधम्म बस्थेँ। उनी केलाएका चामलका बियाँहरू मेरो पोल्टोमा राख्दै जान्थिन्। भँगेराहरू बियाँ टिप्न नजिक आउँथे तर मेरो पोल्टोमा पस्न डराउँथे। म आफू नचलमलाई शान्त बसिदिन्थेँ। अनि ती बिस्तारै बिस्तारै डराई डराई मेरो पोल्टोमा फुत्त आउँदै बियाँ टिप्दै भुर्र भुर्र उड्ने गर्न थाल्थे । त्यो क्रम चल्दै जाँदा भँगेराहरू निस्फिक्री मेरो पोल्टोमा बस्तै बियाँ टिप्दै गर्न अभ्यस्त हुन थाले। पछि पछि त यस्तो देखिन थाल्यो कि भँगेराहरू मेरो पोल्टोभित्र बाटै भुरभुरी उडिरहेका छन्। देख्नेहरू यो दृश्य बाट चकित पर्थे। हामी दुवै आमा छोरी मग्न हुन्थ्यौँ यो खेलमा। त्यत्ति नै बेला कतिखेर आमा फेरि सम्झिनु हुन्थ्यो र हप्काउनु हुन्थ्यो-
“पढ्नु पर्दैन तँलाई ? फेल हुने बिचार छ ?”
म अटेर गर्थेँ।
“तँ यही बियाँ जस्तै हुने भइस् छोरी ।”
आमा रिसाउँदै त्यसो भन्नुहुन्थ्यो। म त्यो भनाइको सार बुझ्दिन थेँ। त्यो सुनेर म त खुसी हुन्थेँ, मलाई लाग्थ्यो बियाँ हुनु जस्तो गजब के होला ? बियाँ हुनु त झन् सुन्दर र मनमोहक हुनु हो, भँगेराहरूको प्रिय हुनु हो। हाम्रो पेट चामलले अघाए जस्तै भँगेराहरूको पेट बियाँले नै त हो अघाउने। आखिर यो दुनियाँ सुन्दर हुनुमा चराहरूको महत्त्व चानचुने कहाँ छ र ?
तर उनको अनुहारको रङ अर्कै हुन थाल्थ्यो, रिसको रेखा गाढा हुन थाल्थ्यो। अनि मलाइ शङ्का हुन थाल्थ्यो बियाँ हुनु भनेको असल हुनु हो या खराब हुनु हो ? म रुँदै भाग्थेँ कोठातिर। मलाई ती बियाँहरू प्रिय लाग्थे, मेरा भँगेराहरूको आहारा हो अप्रिय कसरी हुनु ?
जब जब म आफ्नो बाला पन सम्झन्छु, खासै धेरै कुराहरू भेट्दिन। मैले सम्झने तिनै भँगेराहरूले छोपिएको मेरो प्रिय इन्द्रेणी समय हो। त्यो नै मेरो बालापनको एउटा विचित्र रङ थियो जसको यादले म आफ्ना धेरै दुखका गाँठाहरू बिर्सिरहन्छु।
“आमा किन त्यस्तो निहुरिनु भएको ? आँखा के भो ?” अप्रत्याशित प्रश्नले भन्दा पनि ज्यादा मेरो आकस्मिक आगमनले आमा झसङ्ग हुनु भो सायद, उहाँ अलमल्ल पर्नु भो। म बिना खबर माइती पुगेकी थिएँ। यो पहिलो पटक थिएन। म यस्तै थिएँ। आमाको भनाइमा चामलको बियाँ जस्तो सन्तान। स्कुल जीवनमा पनि मैले खासै राम्रो गर्न सकिनँ, उनका तेज सन्तानहरूमा मै एउटी लट्ठक थिएँ। स्कुलमा फेल भएर रेकर्ड राख्ने छोरी मै थिएँ। अरू सब पढन्ते थिए। दिदी, दाइ र बहिनीको पढाइ र उचाइले बुवा आमाको नाक चुलिँदै गर्दा म त्यसमा हिलो छ्यापिरहेकी हुन्थेँ। एस एल सी को परीक्षा मेरो लागि साँच्चै फलामको चिउरा साबित भयो। दुई पटक सम्म असफल हुँदा मेरो हैसियत घरमा शून्य सरह भएको थियो।
‘त्यति पास गरेको सुन्न पाए यसलाई डाँडो कटाउन हुन्थ्यो ।’ बुवाको रुखो बोली ठिक मेरै अगाडि बज्रिन्थ्यो। आमा त्यत्तिकै रुष्ट हुनु हुन्थ्यो।
जसो त्यसो एस एल सी पास गरेर कलेज पढ्दै गर्दा मेरो पढाइमा केही सुधार भएको थियो तर अब बिहे गर्नुपर्छ भन्ने गाइँगुइँ चल्न थालेको थियो घरमा। म भन्थेँ मलाई स्नातक सक्न दिनुस्। उनीहरू भन्थे बिहे पछि पढ्लिस् नि। यस्तै दोहोरीमा केही महिना बिते। त्यस्तैमा अचानक एउटा घटना घट्यो। कसैले घरमा सुनाइ दिएछ कि कलेजमा मेरो आफू भन्दा सानो जातको केटोसँग हिमचिम बढेको छ। सत्य भन्दा धेरै भयानक अनुहार बनाएर घरमा पुगेको खबरले सबको मनमा ढ्याङ्ग्रो ठोकेको थियो। अकस्मात् मलाई सहरबाट पढाइ छुटाएर घर बोलाइयो। अनि मेरो बिहेको निर्णय गरियो। त्यो दिन पनि आमा चामल केलाउँदै थिइन्, म उनको छेउ उसै गरी ढसमस्स बसेकी थिएँ रुन्चे अनुहार लगाएर।
“आमा म अहिले बिहे गर्दिन, बुवासँग भनेर मलाई मेरो पढाइ सक्न दिनुस् न”
“अब त्यो हुँदैन, यो निर्णय बदलिन्न जे गर्नु छ बिहे पछि गर ।”
बियाँहरू मेरो पोल्टोमा हाल्नुको साटो बाहिर फेँक्दै उनले भनिन्।
“अब एक वर्ष त हो, अनि जे भन्नुहुन्छ त्यही गरुँला म ।” मेरो आग्रहको कुनै सुनुवाइ नहुने बुझिरहेकी थिएँ म।
“भो नकरा के गरी बसेकी यो? अब तँ बालिखा होइनस्, उठ।” उनको बोलीमा दिक्दारी थियो ।
“तँ साँच्चै निकम्मा भइस् छोरी, आखिर तँ बियाँ नै रहिछस्, रछानमा फालिने चिज ।”
आधा मुठी जति बियाँ रछानतिर मिल्काउँदै उनले भनिन्। उनको सङ्केतले मेरो भित्र कतै पहिरो गयो। अब म बच्ची थिइन, उनको कुरो नबुझ्न। यो पटकको बियाँको कथाले मेरो स्वाभिमानमा चोट पुर्याएर छोड्यो। तर त्यसले कसलाई के फरक पर्थ्यो र ? मेरो बिहे निश्चित गरियो। म फेरि फर्केर कलेज पुग्न सकिनँ। उनीहरूको निष्कर्षमा म बियाँ जस्ती हुँदा हुँदै पनि खै कसरी हो भाग्यमानी रहेँ, भनियो मेरो लागि भेटिएको केटो मेरो हैसियत भन्दा धेरै माथिको छ।
बिहेपछि माइतीसँगको दुरी बिस्तारै बढेर गएको थियो। सायद त्यो सामान्य हुँदो हो। नयाँ मान्छेहरू, नयाँ भूमिका नयाँ सोच! जिन्दगीको त्यो लय पहिल्याउनु सहज थिएन। झन्डै दुई वर्षपछि म आमा बनेँ। गर्भवती अवस्थादेखि नै लोग्नेसँग मेरो सम्बन्ध चिसिँदै गएको अनुभव हुन थाल्यो। उसको घर आउने, मसँग समय बिताउने, रुटिनमा पुरै परिवर्तन देखिएको थियो। बिस्तारै उसमा रक्सी र चुरोटको कुलत बढेर गएको थियो। यी पारिवारिक कुराहरू म माइतीमा बाँड्न उति रुचाउँदिनथें। त्यसैले पनि म फोनबाट टाढा रहन खोज्थेँ। आमासँग कुरा भयो भने ढाँट्न मुस्किल हुन्थ्यो। तर मेरो कुरो विभिन्न तरिकाले माइती पुग्दो रहेछ। बिलकुलै गलत र झुटो रूपमा। घरमा भने “गल्ती गरिरहेकी छे र त हामीसँग केही बोल्दिन” भन्ने अर्थ निकालिँदो रहेछ । त्यसै पनि बालकैदेखि नरुचाइएकी सन्तान थिएँ म। उनीहरूलाई बोल्न सजिलो भै हाल्यो।
खासमा म उति सम्पर्कमा रहन्नथें। आफ्ना मुस्किल र समस्याहरू बाँड्ने कला म सँग थिएन सायद। म खासै दुखको झोला बोकेर त्यो फुकाउन माइती पुग्दिन थेँ, तर जब आमाको नियाँस्रो हुन्थ्यो म बिना जानकारी ढोका ढक ढकाउन पुग्थेँ। त्यसैले मेरो आगमनले घरका सदस्यहरू त्रस्त हुन्थे। खुसी र स्वागतको अपेक्षा हुँदैन थ्यो।
‘घरमा केही न केही हङ्गामा गरेर माइती आएकी हुन सक्छ’ त्यो त्रास म प्रत्येक आँखामा पढ्न सक्थेँ। म आउने बित्तिकै बुवा ज्वाइँसँग फोनमा कुरा गर्न थाल्नु हुन्थ्यो यो बुझ्न कि घरमा कुन नाटक रचेर हिँडेकी हुँ म। म उहाँहरूकी सुल्झिएकी छोरी थिइन। मुस्किल अप्ठ्यारा र समस्याहरूले सदैव प्रेम गरे मलाई जिन्दगीमा।
० ० ०
“के यही हो त तैँले खोजेको ? त्यो सब गरेर खुसी भइस् त तँ ?”
आमाको आक्रोश चुलियो। उहाँ चामलले भरिएको नाङ्लो पर सारेर मतिर केन्द्रित हुनु भो। सायद भर्खरै विकसित मेरा नयाँ कुराहरूको बारेमा उहाँलाई केही सत्यता बताइएको थियो।
परिस्थितिले मलाई केही बोल्न दबाब दिइरहेको थियो। सायद आमासँग केही गम्भीर कुराहरू गर्ने अवसर थियो यो।
“म हजुरलाई कसरी सुनाऊँ भनेर सोचिरहेकी थिएँ, हजुरलाई कसैले सुनाएछ, ठिकै छ। आखिरमा यही बाटो रोजेँ मैले आमा ।” जति मन थाम्न खोजे पनि म कमजोर हुँदै गएँ। मेरा शब्दहरू क्रन्दनमा रूपान्तरित भै दिए।
“के अब यसरी नै चल्छ त जीवन तेरो ? के तँलाई आफूले जिते जस्तो लाग्छ ?”
उनमा मैले आशा गरेको सहानुभूति कहीँकतै एक थोपासम्म थिएन। एउटा भत्किएको, भित्रैसम्म खलबलिएको मान्छेले आफन्त खोजेर किन आउँछ ? के यही भेट्न हो ? झन घृणा, दुरुत्साहन र अपमान पोल्टोभरि थाप्न हो? झन् झन् गलित भै रहेँ म। यस्तो लाग्यो दुनियाँ भरको सबै भन्दा ठुलो दोषी मै हुँ।
सदा झैँ आज पनि उनले मेरै मात्र दोष भेटिरहिन्।
“खुसी भनेको के हो र आमा ? जस्तो भए पनि लोग्ने भन्ने एउटा चिज साथमा रहुन्, बिहान बेलुका उसले जोहो गरेको गाँस टिप्नु र उसको कठपुतली बनेर बाँच्नु नै हो भन्नुहुन्छ भने माफ गर्नुस्, मैले त्यो सुख नरोजेकै हो ।” अनायास म भित्रबाट विद्रोहका आवाजहरू समेटिएर बाहिरिए। “जिन्दगीमा लोग्नेले जुटाएको गाँस टिपेर, लोग्नेले दिएको टिभीमा सिरियलहरू हेर्दै रल्लिनुलाई मैले रोजिन आमा!”
“तैँले गल्ती गरिस् छोरी, अनर्थको गल्ती! अझै पाउ परेर माफी मागिस् भने माफ पाउन सक्लिस् कि! तेरो यो हालत देखेर म चाँडै मर्छु जस्तो छ अब बुझिस् ।” उहाँ टसको मस हुनु हुन्थेन। म पनि अब त्यति कमजोर थिइन।
“म दुखी छैन आमा चिन्ता नलिनुस्! यो दुःख होइन। दुःख त त्यो थियो जब आधा रातसम्म म चिसो भान्सा कुरेर बस्थेँ अनि ऊ कतै अर्कै आइमाईको बाहु पासमा कुहिरहेको अनुभव हुन्थ्यो। जब म उसकै दीर्घायुको कामनामा दिन दिन भर भोको हुन्थेँ तर रक्सी धोकेर मेरो बेइज्जत गर्दथ्यो, हात पात गर्दथ्यो। म पति भक्त नारी बनेर उसको, उसका सन्तानको, उसका वृद्ध आमा-बाउ माथि आफ्नो जिन्दगी समर्पित गरि रहन्थेँ, उनीहरूका रयाल सिँगानका छिटाहरू हत्केलाले पुछिरहेको हुन्थेँ तर ऊ मेरो त्यो कर्मको सम्मान गर्दैन थ्यो। म आज ती यावत चिजबाट मुक्त छु। यसलाई खुसी नभनेर केलाई खुसी भन्ने आमा ? जिन्दगीमा अवश्य केही चुनौतीहरू छन्, तर चुनौतीहरू भनेका दुःख कदापि होइनन्। ती त सुख फलाउने अवसरहरू हुन् आमा। तिनका लागि मभित्र प्रशस्त हिम्मतहरू छन्। धेरै कुराहरू गुमाएर हिम्मत कमाएको छु मैले।”
मेरा जवाफबाट उहाँ सन्तुष्ट त हुनु हुन्थेन तर केही प्रभाव अवश्य थियो उहाँभित्र। उहाँ कतै शून्यमा बिलाउनु भो।
म फेरि आफैँ अन्तर्द्वन्द्वमा फस्दै गएँ। जब जब सम्झेर ल्याउँछु मन भक्कानिएर आउँछ। काल जस्तो भय बह समयले जिन्दगीलाई धक्का दिएर गयो। आधा राततिर धरमराउँदै जब ऊ आउँथ्यो, ऊ सँगै आएको उसको त्यो घिनलाग्दो शरीरसँग भन्दा मलाई उसको साथमा आउने त्यो कलुषित नियतसँग अग्घोर घृणा लाग्थ्यो। त्यस्तो पतित व्यक्तित्व बोकेको पुरुषलाई मेरो मन्दिर जस्तो घरभित्र प्रवेश गर्न दैलो खोल्नु पर्दा मेरो मृत्यु बारम्बार हुने गर्थ्यो। जब ऊ मलाई टुकुचामा हेलिएको ढल जस्तो त्यो हातले छुन खोज्थ्यो, सिसडोलको फोहोरको डङ्गुर जस्तो ज्यानले थिलथिलाउन खोज्थ्यो म मेरो आत्मादेखि चीत्कार गरिरहन्थेँ। अपसोच त्यो तिमिले सम्म सुन्न सकिनौ आमा। कयौँ पटक मैले आत्मघातको सोच सम्म बनाएको थिएँ। धन्न त्यति कमजोर हुनुअघि मभित्र एउटा आँट पलाएर आयो। जहिले देखि त्यो अभिसप्त छायालाई मैले मेरो सन्तान, मेरो घर र मेरो जिन्दगीबाटै दूधमा डुबेको माखो जस्तो टिपेर मिल्काउने निर्णय गरेँ, मेरो जीवन धन्य भएको महसुस हुन गयो।
० ० ०
“सबैभन्दा ठुलो शक्ति भनेको तेरो हातमा यो सन्तान छ। तँ धैर्य गरेर बस त्यही सन्तानको शक्तिले खिंचिएर एक दिन उनी तँ भएकै ठाउँमा फर्केर आउने छन्। तेरो जित निश्चित छ।” आमाले फेरी पनि त्यही दोहर्याइन जुन उनी बारम्बार भनिरहन्थिन्।
मेरी आमाको नजरमा उनको ज्वाइँको त्यो खासै ठुलो गल्ती थिएन। म नै थिएँ जो तिललाई पहाड बनाइरहेको थिएँ।
उनले फेरि मलाई सम्झाउने अध्याय सुरु गरिन, “यस्तै हो बाबै यो कुरा सम्झिन खोजेस्, वैवाहिक जीवनको यस्तो मोडमा पुगेपछि आइमाईको शरिरमा केही शिथिलता आउँछ,अनि लोग्ने मान्छेमा केही विचलन देखा पर्छ। उनीहरू शारीरिक संसर्गलाई ठुलो महत्त्व दिन्छन् र दायाँ बायाँ लाग्छन्। उनीहरूमा आइमाईमा जस्तो सहन्शिलता र दूरदर्शिता हुँदैन। त्यस्तो बेला हामी बहकिनु हुँदैन। हाम्रो सधैँ यो मर्यादा रहनु पर्छ कि हामी त्यो विचलनमा संयम र धैर्य रहौँ। त्यो स्थितिमा हामी निष्ठ रहेर अघि बढ्यौँ भने हामीले त्यो अवरोधलाई जित्न सक्ने छौँ। र उसलाई घर फिर्ता ल्याउन सक्ने छौँ।”
यसो भन्दै गर्दा उनको अनुहारमा गम्भीरताको बादल घनघोरसँग मडारियो। यस्तो लाग्थ्यो अब बर्सने छ साउने झरी।
“खै यो के गरिस् बाबै तैँले? ठिक भयो जस्तो लाग्दैन मलाई ” एक छिनको सन्नाटापछि उहाँ फेरी अधीर हुनु भो।
“अरूको के कुरा र छोरी, मैले मेरै जिन्दगीमा यो भोगेकी छु।” उनका आँखाहरू तलाउ मा तैरेका दुई डुङ्गा जस्ता देखिए।
छोरीको जीवन भत्किने नै भो भन्ने लगभग निर्क्योल भएको अनुभूतिले उनले आफ्नो कलेजोमा जुगौंदेखि कसिराखेको एउटा गाँठो फुसुक्क फुकाइन्।
“पुरुषहरू यस्तै हुन् छोरी। तेरी दिदी जेठी जन्मिए लगत्तै उनी मबाट केही टाढिएको महसुस भयो मलाई । म आफ्नै धन्दामा व्यस्त थिएँ। सोचेँ यो परिवर्तनले सायद जीवनको एक छिमल यस्तै रहँदो हो सबैको। तर केही महिनामा बिस्तारै गाइँगुइँ सुनिन थाल्यो उनको बाहिरी सम्बन्धको बारेमा। म पर्वतबाट खसे जस्ती भएँ। तर मैले हिम्मत हारिनँ, एउटा पतिव्रता पत्नीको कर्ममा निर्लिप्त भएर लागेँ। उनी प्रतिको आफ्नो कर्ममा एक अंश पनि कम हुन दिइन। तीर्थ व्रतहरू गरेँ, भगवानका पूजा आराधनामा एकाग्र भएँ। हप्तामा तीन दिन सम्मको व्रत लिन्थेँ। महिनौँ सम्मको मेरो त्यो निरन्तर त्याग र तपस्याको फल अन्ततः मैले पाएँ। आखिर एक दिन उनी बिराएको बाटो त्यागेर फिर्ता भए। भगवानले सिरमा हात राखिदिए।”
आमाको लामो निश्वास बाहिरियो। के त्यो सन्तुष्टिको निश्वास थियो या विषादको ? जुन अझैसम्म कतै जिउँदै थियो, यसै भन्न सकिन्न’थ्यो। म भने अवाक् भएकी थिएँ।
आफूले आदर्श पुरुष मानेको आफ्नै बाबुको इतिहासमा छोपिएको त्यो कुरूप अनुहार देखेर म चकित थिएँ। आफ्ना अनेक पिडाहरूको बोझ भन्दा ज्यादा बोझ अनाचन मैले आमाको शिरमा लादिएको देखेँ। उनले जिन्दगीभर झेलेको त्यो घाउको पिडाको तुलनामा मेरो पीडा मलाई हठात् दुब्लो प्रतीत भएर आयो।
कठै एउटी नारी जो त्यत्रो भीमकाय घृणा र अपमानको ज्वाला छातीभित्र अँठ्याएर कसरी बाहिर चुपचाप पहाड जस्तो शान्त हुन सकेकी?
त्यो अनुमानले मात्रै पनि म अत्यन्त अशान्त हुन पुगेँ। एउटा प्रश्नले मेरो दिमाग हल्लायो।
“आमा त्यसरी बुवा फिर्ता हुँदा के उहाँले तपाईंसँग आफ्नो गल्ती स्विकार्नु भयो ? के तपाईंसँग माफी माग्नु भयो?”
अहँ उनी बोल्न सकिनन्। उनी नाजवाफ भएर कतै टोलाइरहँदा बरु उनका गोडाको बुढी औँलो अशान्त भएर भुईँ कोट्याइरह्यो, उनको बोलिले शब्द उन्न सकेन।
एउटा सानो विश्राम पछि बल्ल उनी बोलिन्,”मैले तँलाई अघि नै भनेँ नि लोग्ने मान्छेहरू आइमाई जस्तो महान् हुन सक्दैनन्, त्यागी हुन सक्दैनन्, शान्त र सहनशील हुन सक्तैनन्। उनले केही भनेनन् तर उनको मनमा भएको त्यो पश्चात्ताप मैले अनुभव गरेँ। उनले मागेनन् तर मैले आफैँ माफी दिएँ”
उफ् सुन्दा सुन्दै मन उम्लिएर आयो। आमाको त्यो पछिल्लो प्रयासमा बुवाको नाङ्गिएको चरित्र एक रत्ति पनि ढाक्न नसकेको स्पष्ट देखिन्थ्यो।
मेरो दृष्टिमा माफी त्यसै बाँडिँदैन, माफी कमाउनु पर्छ गल्ती गर्नेले। ठुलो प्रायश्चित्त, प्रार्थना र प्रयास पछि मात्रै माफी कमाइन्छ। ठिक यही बिन्दुमा म आमा सँग सहमत हुन सकिन, बिलकुल हुन सकिन।
आफ्नो अनुहार भरी आग्रह पोतेर उनले मेरो अनुहार हेरिन। मैले बुझी सकेकी थिएँ कि उनी म बाट के चाहन्थिन! निःसन्देह उनी मैले पनि उनको इतिहास दोहोर्याओस भन्ने चाहन्थिन। मैले पनि उनले जस्तै तीर्थ, व्रत, पूजा, पाठ गरोस्, पतिलाई सदैव परमेश्वर मानेर सम्मान गरोस्, अनि जीवनलाई उनले सोचे जस्तै ढङ्गले जिओस् भन्ने उनको आशय मैले बुझेर पनि नबुझेको जस्तो गर्न मन्जुर गरेको थिएँ।
म मेरो लोग्नेले मप्रति गरेको विश्वास घातको दोष कुनै भगवानतिर सार्न सक्तिनथें। मैले त्यसो नगरेकोमा आमालाई भित्रभित्रै कतै न कतै मेरो दोष नजर भै रहन्थ्यो। किनकि म एउटि आइमाई हुँ र मैले निरन्तर अन्यायहरू सहँदै जानुपर्छ भन्ने मिथ्या आदर्श उहाँमाथि जमानाले थोपरेर छोडेको थियो। जसलाई मैले सख्त इन्कार गरेको थिएँ।
“मेरा सन्तानहरूमा सबै भन्दा निकम्मा तँ नै भइस्। कान्छीको त्यस्तो बनिबनाउ छ। जेठीको उस्तै राम्रो भएर आयो। उसले धैर्य लिन जानी। सहन सकी अनि उसको जित भएरै छाड्यो।”
एकै छिनको धैर्यता पछि उनको मनको बाँध फेरि भत्केर गयो। उनी फर्केर फेरि उही बिन्दुमा आइ पुगिन। उनलाई सम्झाउने मेरा प्रयासहरू निरन्तर असफल भइरहे। तर पनि म चुप बस्न सकिन। मैले आफ्नो नियन्त्रण गुमाएँ।
“कान्छीको के कुरा गर्नु हुन्छ आमा ? हजुरलाई लाग्छ कान्छी खुसी छे? सुखी छे? पढाइमा त्यस्तो अद्भुत क्षमता थियो ऊसँग। उसको डाक्टर बन्ने सपना थियो। त्यो कुनै कठिन कुरो थिएन उसका लागि। उसले सरकारी कोटामा नाम सम्म निकालेकी थिई। तपाईँहरूले एक रुपैयाँ खर्च गर्न नपर्ने गरी त्यो पूरा गर्न सक्थी उसले। तर के भयो? तपाईँहरूले डक्टर बन्न चाहेकी छोरीलाई डक्टर होइन डक्टरकी स्वास्नी बनाएर छाडिदिनु भयो। डाक्टर केटो भेटियो तेरो सपना उसैले पुरा गर्यो भन्दै उसको सपनामाथि तेजाब खनाउनु भयो। डक्टरकी स्वास्नी बनेर उसको जिन्दगीमा कुनै परिवर्तन टुसाएन। ऊ त्यही गरिरहेकी छे जो हरेक सामान्य आइमाईहरू गरिरहेका छन्। आफैँ डक्टर हुनु र डक्टरकी स्वास्नी हुनुमा आकाश र जमिनको फरक छ आमा।”
म यत्तिमै पनि सन्तुष्ट हुन सकिन। ठुली दिदीको कुरोले मलाई भतभत पोलिरहेको थियो। मनको उकुसमुकुस हुलुक्क भएर आयो।
“जेठी दिदीको त झन् कुरै न उप्काउनु भएको भए हुन्थ्यो। आज उसको जीवन समुद्र जस्तो शान्त देखेर के गर्नु ? याद गर्नुस् त कुन आँधी भुमरी र चक्रवात सहे पछिको शान्ति हो त्यो ?”
उसको जिन्दगी नरक थियो आमा! मलाई अझै याद छ, ऊ चुटिएर निल डाम बोकेर खोच्याउँदै माइती आउँथी। तपाईं तेल नुन पानी बोकेर घण्टौँ कोठामा हराउनु हुन्थ्यो, उसलाई सेक ताप गर्नुहुन्थ्यो। म सानी अवश्य थिएँ, अबुझ थिइन। हिजो उसको जिन्दगीमा लागेको त्यो धब्बा आजको जुनसुकै आवरणले ढाके पनि ढाकिन्न आमा। उसले भोगेका ती प्रताडनाहरू सम्झँदा आज पनि आँग सिरिङ्ग हुन्छ, उसलाई कस्तो हुँदो हो। जति चाहेर पनि भुल्न नसकिने कुरो त के हो भने उसलाई जिउँदै आगो लगाएर जलाउने सम्मका प्रयासहरू भए। हामी बारम्बार उसलाई सहेर बस मात्र भनिरह्यौँ अनि त्यही नरकमा धकेलिरह्यौँ। दुखको कुरो ऊ आज पनि त्यही मान्छेको अनुहार भएका नराधमहरूको बिचमा बाँचिरहेकी छे। अचम्म त यो लाग्छ कि खै कसरी तपाईँहरू उसलाई खुसी देख्नु हुन्छ ?”
मैले अनेक प्रयासहरू गरेँ आमालाई सम्झाउन। परिवारका अरू सदस्यको खासै मतलब थिएन मलाई। जसरी मेरो खासै मतलब थिएन उनीहरूलाई।
कम्तीमा आमाले मेरो जिन्दगीको बोझ टाउकोमा बोकेर नहिँड्नु भए हुन्थ्यो जस्तो लागि रहन्थ्यो।
कोसिस अनेक भए तर आमाका अनुहारका रेखाहरूमा आश्वस्तता सञ्चार हुन सकेनन्। जुगौंदेखि जमानाले लादेको पुरुष सर्वोच्चताको छाया, पुरातन वादी सोच र दमनले उनको हृदय यसरी दबिएको थियो कि उनले त्यसलाई अर्को दृष्टिकोणबाट हेर्न सक्दै सकिनन्।
असम्भव भए असम्भव नै सही। आमाको त्यो सोचको लागि मैले आफ्नो जिन्दगी र आफ्नो सिद्धान्तको बलिदान गर्न सक्दिनथेँ। अब प्रयास भन्दा पनि मैले आफ्नो जिन्दगी सफल र सुमधुर बाँचेर देखाएपछि उनी आश्वस्त हुनेछिन्, यस्तो लाग्न थालेको थियो मलाई।
फेरि मेरो यो सङ्घर्ष आज मेरो लागि त थियो थियो तर त्यति मात्र नभएर हुर्किँदै गरेकी मेरी छोरीको लागि पनि थियो। भगवान् नगरुन् उसले त्यस्तो दिन कहिल्यै देख्न परोस्, तर दुर्भाग्यवस यदि उसले त्यो बाटो हिँड्नु पर्यो भने पनि कम्तीमा आज मैले भोगे जस्तो द्विविधामा उसले आफ्नो आधा जिन्दगी त्यत्तिकै तिलाञ्जलि नदियोस् उसका लागि आफ्नै आमाको जिन्दगी नै उत्प्रेरणाको श्रोत बनेर रहोस् भन्नका लागि पनि थियो।
यति बेला म आफ्नो आदर्श पछ्याएर आफू र आफ्नी छोरीप्रति स्वार्थी बनेकी छु।
ब्रिस्बेन, अस्ट्रेलिया
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।