
काठमाडौँको बसाइ। पढाइ, काम आफ्नै व्यक्तिगत समस्यामा अल्झिएको जीवन। बिहान छ बजे निस्केको बेलुका सात/आठ बजे कोठामा पुगिन्थ्यो। सहरमा घर मात्रै नजिक हुने हुन्, आत्मीयता खासै नजिक हुँदैन।
आफ्नै गाउँ-ठाउँका मानिस पनि यहाँ अनजानजस्तै हुन्छन्। त्यसैले घरबेटीसँग पनि नजिक हुने कुरा भएन।
शनिवारको दिन थियो, खाना खाएर बाहिर भाडा माझ्दै थिएँ। उताबाट लौरो टेक्दै हजुरबा आउनु भयो। मैले उहाँलाई पहिलोपटक देख्दै थिएँ। ‘नमस्कार हजुरबा !’ भन्न नपाउँदै उहाँले भन्नुभो, ‘घर कहाँ हो नानी?’
‘मेरो घर पश्चिम हो, हजुरको घर कहाँ नि हजुरबा ?’
‘मेरो पनि पश्चिम हो तर घरमा कोही छैन । यो मेरो छोराको घर हो, केही समय भयो यहाँ बस्न थालेको ।’
‘छोराको घर पनि आफ्नो घर हैन र हजुरबा ?’
‘हुन त हो नानी’ भन्दै हजुरबा गफिन थाल्नुभयो । मलाई पनि बच्चा र बुढापाका मान्छेको गफ सुन्न रुचि लाग्ने, उहाँहरूमा भगवान्को रूप हुन्छ। अझ वृद्ध बा-आमा त मलाई जिउँदो इतिहास वा सिङ्गो विश्वविद्यालय लाग्छ।
हजुरबाका गफ सुन्दै थिएँ, मन भारी भयो। मनमनै प्रश्न गरेँ, ‘किन यस्ता दुःखका कुरा गर्नुहुन्छ ? काठमाडौँमा घर, गाडी, टन्न बैङ्क ब्यालेन्स, सुविधा सम्पन्न परिवार’ तर हजुरबाको कुरामा सम्पन्नताको कुनै झल्को थिएन । बिचमै कुरा काटेर सोधेँ, ‘हजुरबा, आमा कहाँ हुनुहुन्छ नि?’
अब घरबेटी हजुबाकाे कथा सुरू भयो ।

रमा पौडेल
आमाले छोडेर गएको बीस वर्ष भयो नानी। सायद ऊ भगवान्की प्यारी थिई। हामी बिहे गर्दा म दश वर्षको थिएँ । ऊ सात वर्षकी थिई । भाँडाकुटीजस्तै हुन्थ्यो त्यो समयको बिहे तर रमाइलो। अहिले सम्झिँदा पनि खुसी लाग्छ। बिहे भएको केही वर्ष ऊ माइतमै बसी। पछि घर आए पनि हामी एकअर्कालाई हेर्दै लजाउँथ्यौँ, बोल्न डराउँथ्यौँ, इसारामै सब कुरा गर्थ्यौँ। के गर्नु? आजभोलि जस्तो मोबाइल थिएन। तर पनि बच्चा बेलाको माया साह्रै मिठो, रसको रङ्गको लोभ लाग्दो।
त्यो बेला हामीहरूलाई पढ्न पर्थेन। घरको काम चाहिँ सानैदेखि गर्नुपर्ने। बिहे भएको छ/सात वर्षपछि त हामी पनि जवान भएको अनुभव गर्न थाल्यौँ। गफ गर्दै, हाँस्दै, बोल्दै, जिस्किँदै हिँड्न थाल्यौँ। हामीलाई हाम्रो मायाले जित्यो। एकर्काका औधी माया लाग्ने। हाम्रा दौँतरी भने घर समाजको डरले लुकेर माया लगाउँथे। हाम्रो माया झ्याङ्गिँदै गयो।
१७/१८ वर्षमा त ‘फेरि बिहे गरौँ’ भन्दै म उसलाई जिस्काउँथेँ। हाम्रो झगडा खासै हुन्थेन। एक दिनको कुरा हो, दुवै जना खेतबाट घाँसको भारी बोकेर गफिँदै उकालो लाग्यौँ। बिच बाटोमा थकाइ मेटाउन भारी बिसाएर गफ गर्दै थियौँ। गफागफमै मैले ‘फलानाको बुढी त कति राम्री है, बोली पनि कति मिठो। त्यस्तै बुढी भए पो’ के भनेथेँ जीवनमा पहिलो पटक उसको अनुहारमा रिस देखेँ।
म झन् जिस्काउन थालेँ। ऊ रिसले आगो बनी र घाँसको भारी बोक्दै थिई चिप्लिएर आधा बाटो ल्याएको घाँस फेरि खोलामै पुग्यो। त्यस बेला उसको अनुहार हेर्न लायक भएको थियो। आधा घण्टा लगाएर फकाएँ अनि उसलाई मेरो भारी बोकाएर घर पठाएँ। म घाँसको भारी खोज्न खोलातिर लागेँ।
त्यसपछि मैले थाहा पाएँ, नारीले केही सहन सक्दिन भने त्यो हो आफ्नो श्रीमानले परस्त्रीको कुरा गरेको। त्यस दिनदेखि मैले वाचा गरेँ, यस्ता कुरा गरेर उसको मन कहिले दुखाउने छैन। आजभोलि त मान्छे बिहे भन्दा डराउँछन्। अहिलेका मान्छे पैसा खान्छन्, पैसा लगाउँछन्, पैसामै सुत्छन्, पैसामै उठ्छन्।
पैसामा कुनै रस, रङ्ग, माया र भावनात्मक सम्बन्ध हुँदैन। यसले वस्तुको मूल्य ताक्ने हो, केही सुविधा दिने हो। हामीले माटोमा काम गर्यौँ, गाईभैँसी पाल्यौँ, माटोमै सुत्यौँ, खाली खुट्टा हिँड्यौँ। माटोमा जे फल्छ त्यही खायौँ। जब मान्छे प्रकृतिसँग रम्छ वा प्राकृतिक हुन्छ मान्छेमा झन् धेरै माया पलाउँछ।
समय धेरै बितिसकेको थियो। हाम्रा तीन छोरा र एउटी छोरी थिई। उनीहरूको पढाइ, लेखाइ, बिहेदान गरेर सकिसकेका थियौँ। हामीलाई आफ्नो कर्तव्य पूरा गरेको आभास हुन्थ्यो। सबै आ-आफ्नो बाटो लागे, हामी बुढाबुढी मात्र घरमा बसेका थियौँ। नानी, जीवन सधैँ सोचेजस्तो नहुने रहिछ। जीवनमा एउटा सिटामोलसम्म नखाएकी मेरी बुढीलाई प्राणघातक रोग क्यान्सर लाग्यो।
यो रोग सुन्ने बित्तिकै मेरो दिमागमा मृत्युले बास गर्यो। छोराहरूको कार्य व्यस्तताले गर्दा उसलाई अस्पतालमा भर्ना गरेर कुरुवा म बसेँ। बुझ्दै जाँदा उसलाई निको नहुने क्यान्सर लागेको रहेछ। अब मृत्यु कुरेर बस्नुभन्दा अर्को विकल्प भएन। माया त हामी सानैदेखि थाहा पाएर वा अन्जामै एकअर्कालाई गर्यौँ तर अब ऊ मभन्दा मृत्युसँग नजिक छ भन्ने थाहा भएपछि मायामा आँसु मिसियो र पानी बनेर बग्न सुरु गर्यो।
छोरी मान्छे कोमल हुन्छन्, पीडा आँसुबाट बगाउँछन् तर म छोरो मान्छे रुनु, कसैलाई दुःख सुनाउनु कमजोरीको उपमा पाउनु थियो। आँसु आँखामै लुकाउँथेँ, पीडा मनमै दबाउँथेँ। सोच्थेँ, हातखुट्टाको रोग भएको भए पनि काटेर फाल्दिन्थेँ र बाँकी रहेको जीवन उसकै सेवा गरेर बस्थेँ तर जीवनमा यतिसम्म लाचार हुनुपर्ला भनेर मैले कहिले सोचिनँ।
अस्पतालको शय्यामा ऊ छटपटाउँदा मलाई त्यही अस्पताल ऊभन्दा एक मिनेटअघि मर्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो तर अर्को मनले हैन, अन्तिम घडीसम्म म उसको साथमा रहनु पर्छ। चौबिसै घण्टा उनको अनुहार हेर्दै उसकै हात समाएर बस्थेँ। उसको शरीरबाट रगत झिक्दा, सुई लगाउँदा मलाई झन् पीडा हुन्थ्यो। ऊ आफै आफ्नो शरीर कोल्टो फर्कन सक्ने अवस्थामा थिइन।
बेलाबेला दुखाइ सहन गाह्रो भएर ‘आमा’ भन्दै चिच्याउँथिन्। ऊ घाउको पीडाले चिच्याउँथी, म उसको पीडाले मनमनै जल्थेँ। मनको पीडा झन् धेरै घातक हुने रहेछ, न कसैले देख्ने न देखाउन मिल्ने। यसरी अस्पतालको शय्यामा उसका पीडा सहन मलाई साह्रै गाह्रो भयो। मसँग धनसम्पत्ति, पैसा आफन्तको कुनै अभाव थिएन तर मृत्युसँग नसकिने रहेछ।
एकदिन अचानक मेरो मनमा पाप पलायो। ‘डक्टरसा’ब मेरी श्रीमतीलाई बचाइदिनु, यदि बचाउन सक्नु हुन्न भने उसको शरीरमा सिरिन्जबाट उसलाई मार्ने औषधि पठाइदिनु। म अब उनको पीडा सहन सक्दिनँ,’ भनेँ।
डाक्टरलाई यो कुरा स्वीकार्य भएन। फेरि सोचेँ, यिनीहरूले पैसाको लागि यो लास बनेको शरीर अस्पतालमा राखिरहेका त छैनन्? पापी मनले पाप मात्र सोचिरह्यो। उसलाई पनि सबैभन्दा चिन्ता मेरै थियो। होसमा थिई वा बेहोसमा, आँखाभरि आँसु बनाएर भनी- ‘कान्छो छोरासँग बस्नु है ।’
यो उसको अन्तिम वचन थियो। यही वचनसँगै ऊ भगवान्की भई। ऊ भइन्जेल त मलाई उसका पीडाहरूले दुख्थ्यो, जिउँदै जस्तो आभास हुन्थ्यो। त्यो दिनदेखि मेरो पनि आत्मा मरेर भौतिक शरीर मात्रै रहेजस्तै लाग्यो।
त्यसपछि जीवन नितान्त एक्लो भयो। छोराछोरी आ-आफ्नो तरिकाले बसेका थिए। कान्छो छोरा विदेशमा थियो, उसका परिवार यहीँ काठमाडौँमा थिए। अरू छोराले मलाई छ-छ महिना गरेर पाल्ने निर्णय गरे। उनीहरूले मलाई सम्पत्तिजस्तै भागबन्डा लगाउन थाले। म एक्लै आफ्नो थलोमै बस्ने निर्णय गरेँ।
उसले बेलाबेला भन्ने गर्थी- ‘म मरेपछि थाहा पाउनु होला छोरा-बुहारीले कस्तो व्यवहार गर्छन् अनि मेरो याद आउने छ। म तपाईँभन्दा १५/२० दिन भए पनि अघि मर्ने हो।’
ऊ मभन्दा अघि नै भगवान्की भई तर २० दिन भन्थी, आज २० वर्ष पुग्यो नानी। छिमेकीले भन्थे- एक्लो जीवन बिताउन गाह्रो हुन्छ, दुःख पाएकी केटी बिहे गर्नुस्। मैले उसको बालापनदेखि जीवनको अन्तिम घडीसम्म पाएको माया कसैले मेटाउन सक्दैन। ऊ मलाई छोडेर गएकी हैन, मरेर गएकी हो। अरूमा पनि उसकै खाजी हुनेछ र म झन् दुखी बन्नेछु। त्यसैले निर्णय गरेँ, अबको बाँकी जीवन उसकै यादमा बिताउने छु।
मनमा, दिमागमा बेचैनीले बास पायो। कोही आफ्ना छन् जस्तो लागेन। आफ्ना भएकाले पनि आफ्नो हुनुको आभास दिएनन्। श्रीमतीहरू आफ्नो बुढाभन्दा पहिला मर्नु भाग्यमानी ठान्छन् तर श्रीमती मरेपछि बाँचेको श्रीमानजस्तो अभागी कोही नहुने रहिछ नानी।
म मरेर ऊ बाचेको भए घर हराभरा हुन्थ्यो । नातिनातिना, छोराबुहारी, छोरीज्वाइँ, इष्टमित्र सबै आउँथे । मैले यसरी एक्लो हुन पर्थेन होला । म प्रत्येक दिन उसको तस्बिरमा पूजा गरेर जल चढाउँथेँ र भन्थेँ – मलाई पनि तँसँगै लैजा ।
एकदिनको कुरा हो नानी, बर्सातको समय खोलामा बाढी आएको थियो। बिहानै उठेँ, उसको तस्बिर पूजा गरेँ र ‘अब म तँ भएकै ठाउँमा आउँछु’ भन्दै खोलातिर हानिएँ तर धमिलो मनले पनि धमिलो पानीमा हाम फाल्नु कायरता सम्झिएँ र फर्किएँ। एक मनले भन्यो वृद्धाश्रम जान्छु, भएको सबै सम्पत्ति त्यही दान गर्छु। फेरि अर्को मनले सोचेँ, मेरो कान्छो छोरो छ मनको कुरा बुझ्ने, उसले के भन्ला?
कान्छाकी जेठी छोरी काटीकुटी हजुरआमाको रूप लिएर जन्मेकी छ। औधी माया गर्छे। स्कुल बिदा हुने बित्तिकै हजुरबा भन्दै गाउँ जान्थी। घर-आँगन सफा गर्थी। मेरा ओढ्ने, ओछ्याउनेदेखि लिएर सबै लुगा धुन्थी। ‘हजुरबा हिँड्नु काठमाडौं जाऊँ, हजुरलाई माया म गर्छु, म यहाँ बसौँ भने मेरो पढाइ उता छ’ भन्दै फकाउँथी ।
‘तिमीहरू भाडामा बसेका छौ, बाबालाई घर बनाउन भन अनि म तिमीहरूसँग बसौँला’ भन्दै जिस्काउँथेँ । नभन्दै छोराले घर बनायो। अहिले म कान्छो छोरासँग छु। बुढीको अन्तिम वचन पूरा भएको छ। ऊ पनि खुसी भएकी होली तर म मृत्यु कुरेर उसको यादमा बाचेको छु।
नानी, यो संसारमा निःस्वार्थ माया गर्ने भनेको बाउआमा र गतिलो पर्यो भने आफ्नो जोडा रहेछ । जोडा छुटेपछि त बुढेसकालले काल मात्र खोज्दो रहेछ ।’
भूतकाल, वर्तमानका, भविष्यकाल पढेर आएकी म, हजुरबाको कुरा सुनेपछि बुढेसकालजस्तो डरलाग्दो कुनै काल लागेन।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
