जर्नल कबिन्द्र  बहादुर शाहीको सुरक्षा गार्ड थिएँ म  । त्यति बेला जति बेला यो रमाइलो घटना घट्यो जिन्दगीमा। सेक्युरिटी गार्डमा म सु.मे थिए र मेरै कमान्डमा थिए अरू चार जवान सिपाही । म दिपेन्द्र ढकाल । कान्छी रानी साहेबको मन पर्दा बोलाउने दिपु र राजा साहेबले मन पर्दा बोलाउने नाम बाजे।

बाहुन भएको नाताले मैले विशेष सुविधा पाएको थिएँ । उहाँको दुई रानी थिए। कान्छी रानी पाल्पा रिडीकी । पाल्पाको कमान्ड हुँदा उता बिहे गर्नुभएको । जेठी रानी गोर्खा सिरान चोककी थिइन्। रानी साहेबहरू पनि उतिकै मजाका र दयालु थिए। दुई सौता सौतीमा कहिले झगडा हुँदैनथ्यो। वास्तवमा जहाँ अभाव छ त्यही हुने त हो झगडा पनि । खाली भाँडो नै त हो बज्ने पनि । जलले भरिएको गाग्री कहिले बज्छ र ?

कबिन्द्र सर- बिचारले, मनले, धनले, धर्मले कर्मले सबै कुराबाट अति सम्पन्न  व्यक्ति हुनुहुन्थ्यो । मैले जाने बुझेसम्म उहाँले आफ्ना सिपाही र अर्दलीहरूलाई कहिले पनि गाली गरेको सुनेको छैन। भान्सा म सम्हाल्थे जो अर्याल बाहुन परेँ। उहाँहरू क्षेत्रीय भए पनि बाहुनले तयार गरेको भान्सामा नै रमाउने। म शाकाहारी थिएँ। त्यसैले सिकार र माछा मासुको परिकारको जिम्मेवारी चैँ भिम रानाले पाएको थियो।

भिम राना उतै जेठी महारानी सिरान चोकका माइती गाउँले भाइ थिए। हरेक शुक्रवार त्यो घरमा भव्य  पार्टी हुन्थ्यो । पाल्पा रिडीकी कान्छी महारानी मसँग नजिक थिइन् । भिम राना जेठी महारानीसँग नजिक थिए। रानी साहेबहरू कहिले रिसाएको र झगडा गरेको देखिएन। जेठी रानी साहेबका दुई छोरा अमेरिकामा पढिरहेका थिए। अमेरिकी सोसाइटीको कारण पनि त्यो घर पूर्ण आधुनिक घर थियो।

लामो छुट्टीमा जेठा छोरा अमेरिकाबाट आउँथे । एक दुई महिना रिल्याक्स गरेर फर्किन्थे। उहाँको नेपालमा एक दुइटी गर्लफ्रेन्ड थिए। शुक्रवारको पार्टीमा घरमा ल्याउँथे। आफैसँग राख्थे नाचगान रमाइलो मोज मस्ती गरिसके पछि  आइतबार पुर्याइदिन्थे। हामी सिपाहीहरू अचम्म मान्थ्यौँ कि बिहे नगरीकनै कसरी अर्काकी छोरीलाई आफूसँग दुई दुई दिन राखेर फेरि घरमै पुर्याइदिन सकेको होला भनेर। बसुन्जेल हरेक शुक्रवार हुने घरको निजी पार्टीमा उनी गर्ल फ्रेन्ड फेर्थे। महिनाको पहिलो शुक्रवार आएकी गर्ल फ्रेन्डलाई एकै पटक तेस्रो पार्टीमा बोलाउँथे।

पदले म भन्दा भिम जुनियर भए पनि हामी दुई जनाको गफ असाध्य मिल्थ्यो। घरमा रमाइलो थियो। हामी पाँच  जना सिपाहीको मेष अलग्गै थिएन। सबै जना सँगै खान्थ्यौ। खाना खाने बेलामा कबिन्द्र सरलाई सबै जना अगाडि हुनुपर्थ्यो। बिना मासुको भान्सा हुँदैनथ्यो । त्यसले गर्दा पनि भिम हरेक दिन मसँग हुन्थ्यो। कान्छी रानी साहेब वाइन मज्जाले पिउँथिन्। जेठी खासै पिउँदैन थिन्।

अरू सिपाहीहरूलाई सबैको अगाडि पिउने छुट थिएन। कबिन्द्र सरले शुक्रवार भएपछि एउटा रेड लेबल ह्विस्की दिन्थे सिपाहीहरूलाई। उनीहरू बेग्लै रमाइलो गर्थे। पाल्पा रिडीकी कान्छी महारानी तर्फबाट बच्चा भएको थिएन। शायद जेठी पट्टि दुई दुई छोरा भएपछि बिहे गरेको हुनाले सन्तान नजन्माउने सर्त हुनुपर्छ । कान्छी मस्त तरुनी थिइन । बच्चा नपाएका स्त्रीहरू बुढी नदेखिनु प्राकृतिक नै होला ।

कबिन्द्र सरको सबै कुरा त राम्रो हो तर एउटा कुरा चाहिँ उनी आफूलाई अलिक बढी मर्दाङ्गी देखाउँथे। अर्थात् उनी अलिक रसिक र तरुनी  केटीहरूका प्यारा थिए। अमेरिका जाँदा पनि नाइट क्लब चैँ बसुन्जेल जान्थे रे !  पैसा जति पनि छ। खर्च गर्नलाई अनि के भो र।

अमेरिका आउने जाने गर्दागर्दै कबिन्द्र सरलाई नेपालमा पनि नाइट क्लब जाने बानी परेको हुनुपर्छ । म उनको सेक्युरिटी गार्ड । गाडीमा प्रायः सँगै हुन्थे । र मलाई कुनै कुरा पनि ढाँट्न सक्तैनथे।

पाँच बजे कार्यालय छुटेपछि उनी बानेश्वर चोकभित्र हामीलाई एक छिन है म आइहाल्छु भनेर दुई घण्टा कुराउँथे। फर्किदा तरुनी केटी गाडीसम्म छोड्न आउँथिन्। एक दिन अर्को आउँथिन अर्को दिन अर्कै आउँथिन। पालो पालो गरेर नयाँ नयाँ मुहार हामी पनि देख्न पाउँथ्यौ। फेसबुकमै थुप्रै महिला साथी थिए। एक दुई चोटि मेसेन्जरमा च्याट भयोकी खेल तमाम । “दिनै जसो नयाँ जून हेर्न र फेर्न पाउनु पनि तकदिरमै लेख्नुपर्ने रेछ है” कहिलेकाहीँ हामी जिस्क्याउँथ्यौँ ।

“तिमीहरूलाई पनि लोभ लाग्यो क्या हो मोरा हो” भन्दै गाडीमा बस्थे ।

यो क्रम चलेको करिब ६ महिना भैसकेको थियो। यही बिचमा जेठी रानी अमेरिका सवारी हुनु भएको थियो। कबिन्द्र सर जेठीसँग चाहिँ असाध्य डराउँथे। उनको अगाडि पूरा न्यास ध्यान, धूप, आरती नियममा चल्थे। तर कान्छी रानी चैँ कबिन्द्र सरलाई अलिक हेप्थिन । शायद लभ गरेर ल्याएको भएर पो हो कि। जेठी अलिक रिजर्भ हुनुहुन्थ्यो । कम बोल्ने। तर सबैको ख्याल गर्ने। कसले खायो कसले खाएन, कसलाई के दुख परेको छ, को छुट्टीमा जान खोजिरहेको छ, कसलाई खर्चको जरुरत छ, सब हेर्नुहुन्थ्यो। अमेरिका गएपछि यता हामी पनि अलिक टुहुरा जस्तै बनेका थियौँ ।

एक दिन “आज नगरकोटमा पार्टी छ बाजे । कान्छी रानी साहेबलाई खाना बनाउनुपर्छ म ढिलो भो भने उतै नगरकोट पोस्टमै बस्न सक्छु” भनेर निस्कनु भो।

आज भिम पनि जाउलाखेल गयो।

अरू तिन  जना सिपाही कान्छी रानी साहेब र म मात्रै हो भुजा खाने। बेलुकी ४ बजेतिर रानी साहेबलाई फोन आयो। आज कबिन्द्र सर नगरकोटमै बस्ने भनेर। भिमले पनि फोन गर्यो ऊ फुपूको घरमा बस्ने भनेर। मैले भेज खाना बनाए। आज मासुको परिकार थिएन। कान्छी रानी साहेब भान्सामा सवारी भो। मलाई कहिले ए बाजे भनी मर्जी हुन्थ्यो कहिले दिपु भनेर सम्बोधन गर्नुहुन्थ्यो । मलाई बाजे भनेर सम्बोधन गर्दा पनि मजा लाग्थ्यो अनि कहिलेकाहीँ कविन्द्र सर नभएको बेलामा दिपु भनेर बोलाउनु हुँदा पनि झन् मन पर्थ्यो। आज चैँ दिपु….

“हजुर रानी साहेब”

“राजा भुजा ज्युनार गर्न आइसिन्न नि थाहा पायौ”?

“हजुरले मर्जी भो बल्ल थाहा भो”

“आज त भेज होला है”

“हजुर”

“अनि नन भेज खानलाई राजा साहेब नै हुनुपर्ने हो र तिम्रो रानी साहेब देखेनौ लाटा”?

“आज भिम नआउ नि रे फुपूकोमा गाछ। हजुर कालिज खानी मर्जी हुन्छ भने म तातोपानी तताउँछु र झक सिंहलाई  खोरको कालिज काट्न लगाउँछु नि हुन्न”

“हुन्छ त्यसै गर आज हामी पनि वाइन पिउ नि  हो ?”

“फेरि राजा टुप्लुक्क आइबक्स्यो भने ?”

“म छु नि बाजे किन चिन्ता लिन्छौँ ”

“हस्”

“तिमी पकाउँदै गर म माथि बेड रुममा हुन्छु”

“सवारी होस म बेड रुममा सबै कुरा लिई आउँछु”

मैले पानी तताए। झक सिंहले कालिज भुत्ल्यायो। भुजा तयार भो। सिपाहीहरूलाई खान खान दिए। रानी साहेब र म मात्रै बाकी। फ्रिजबाट वाइन निकालेँ।  कालिजको फ्राई मासु र वाइन लिएर रानी साहेबसँग गएँ। आफ्नो शयन कक्षमा आराम गरिरहनु भएको रेछ। टेबुलमा वाइन र फ्राई मासु राखेर म तल भान्सामा जान लाग्दा-

“बाजे आज सँगै वाइन पिउने ल…”

मलाई अप्ठ्यारो लाग्यो। हुन्छ हुन्न केही भन्न सकिन। र भर्‍याङबाट छिटो छिटो तल ओर्लिएँ । छोप हालेर बनाएको आलुको अचार, किसमिस, पाकिस्तानी पेस्ता, भुटेको बदाम, कालो अङ्गुर र पापड लिएर गए। कोठाको वासना आज अर्कै थियो। बेलायती पर्फ्युम छरिबक्से छ। मधुर रङ्गिन क्यान्डिल जलाई बक्सेछ।

“अघि नबोली गयौ त दिपु सिपाहीहरूलाई खाना देऊ ?”

“दिएँ  हजुर ।”

“अब तिमी र म आज सँगै खाने पिउने ।”

“मलाई त लाग्छ हजुर नपिउकी। हजुर एक्लै पिइबक्स्यो म हेर्छु ।”

“नलागे पिएको के मजा त बाजे अघिपछि पनि त राजासाहेब हुँदा सँगै पिएको हो नि। अलि अलि लागेसि मेरो मुखमा टुलुटुलु घुरेर हेर्थ्यौ त अनि आज किन डराको ?”

“हजुर एक्लै होइबक्सिन्छ लाग्दै जाँदा कथमकदाचित म हजुरको मर्यादामा रहन सकिन भने नि…”

“म माफ दिउँला नि किन चिन्ता ?”

“केही गरी राजा साहेब आइबक्स्यो भने नि ? त्यति बेला मेरो गर्दन भैमा हुन्छ ।”

“चिन्ता नगर उहाँको कमजोरी मलाई थाहा छ म जोगाउँछु”

“म आजसम्म मर्यादामा रहेँ रानी साहेब ।”

“दिपु ! मलाई तिमी मन पर्छ। कविन्द्र साहेबको चिन्ता छोड। स्त्रीलाई पुरुषको दासी भन्छन् त्यो गलत हो। यहाँ यस्तै भ्रम छरिन्छ।पुरुष चैँ महिलाको दास हो । यदि मन परेको छ भने स्त्रीको जस्तोसुकै गल्ती र अपराधलाई पनि पुरुषले माफ दिन्छ ।”

“ओहो हजुर कडा। पाल्पाली सेन वंशकी छोरी पो त है ।”

“आज तिमी र म मात्रै यहाँ कसले सुन्छ र हाम्रो कुरा ।”

“के मर्जी भाको भित्ताको नि कान हुन्छ रे नि त ।”

“कान मात्रै हुने तर नसुन्ने कान त्यो मासुको पाते डल्लोको के अर्थ ? आँखा मात्रै हुने तर दृश्य नदेख्ने त्यो आँखाको नानी के काम ? जिब्रो मात्रै हुने स्वाद थाहा नपाउने जिब्रो के काम ? ओठ मात्रै हुने तर मुस्कान मरेको ओठको के काम ? मुटु मात्रै हुने धड्कन बिनाको मुटु जो मृत मासुको डल्लोको के काम ? हात मात्रै हुने तर पौरख नगर्ने अल्सी हातको के काम ? सबै सबै चिजको समय अनुसारको काम हुनुपर्छ दिपु । पुरुष पुरुष जस्तै हुनुपर्छ । स्त्री-स्त्री जस्तै हुनुपर्छ । स्त्री जस्तो पुरुष र पुरुष जस्तो स्त्री भएर के काम ?

रानी साहेबलाई आज वाइन मज्जाले लाग्यो। आजसम्म भन्न नसकेको कुराहरू खोलिस्यो। बाहिर हाँसे पनि मान्छेको भित्री जलन त लुकाएर राख्नुपर्ने हुन्छ । म आफ्नो मर्यादामै बसेँ। उहाँ एक्लै हुँदा पिउन पनि सकिन। उहाँको सुरक्षामा खटिएको एउटा सिपाही हु म । अनि मैले नै लक्ष्मण रेखा उल्लङ्घन गरे भने यो दुनियाँ कसरी चल्छ?। रानी साहेबलाई खाना खुवाएर जब म तल ओर्लिँदै थिए एक्कासि रानी साहेबले मेरो हात च्याप्प समाउँदै मलाई एकोहोरो हेर्नू भो र भन्नू भो-

“दिपु तिमी मलाई असाध्य मन पर्छ । ”

म कन्फ्युज भएँ । मेरो आनिबानी बोली व्यवहार व्यवस्थापन र मेरो असल चरित्रलाई मन पर्छ भन्नुभएको हो कि मेरो पुरुषपनलाई मन पर्छ भन्नुभएको हो केही बुझिन। सदाझैँ आफ्नै ओछ्यानमा सुतेँ। निदाएछु। भोलिपल्ट घामको न्यानो झुल्को सँगै रानी साहेबलाई चिया लिएर शयन कक्षमा पुगेँ

“दिपु हिजो मैले केही गडबड त गरिन नि है ? ”

“गरिबक्सेन। हिजो हजुर शान्त रहनु भो। मलाई मनको पीडा पोख्नु भो। सबै खानेकुरा मीठो मानी ज्युनार भो खुसी लाग्यो ।”

“तिम्ले वाइन पिएनौ नि किन ?”

“कुनै दिन पिउला नि किन चिन्ता लिइबक्सिन्छ ।”

म भान्सामा गएँ। भिम आइपुग्यो। कविन्द्र साहेब उतैबाट अफिस गइबक्सिन्छ रे। आज सोलारले काम गरेन। रानी साहेबलाई नुहाउन तातोपानीको व्यवस्थापन भयो। भिम तातोपानी लिएर शयन कक्षमा गयो।

कबिन्द्र सर कहिलेकाहीँ कान्छी महारानी लिएर राति राती क्लब जानी भनेर निस्किनु हुन्थ्यो । त्यो बेला गाडी आफै चलाउनु हुन्थ्यो । चालक जाँदैनथ्यो। कति बेला आएर सुत्थे हामीलाई थाहै हुन्थेन । ठुलो घरको ठुलै चाला । एक दिन खाना पकाउने क्रममा मलाई भिमले एउटा जिज्ञासा राख्यो-

“सु.मे साहेब ! सुन्नु न यो गर्लफ्रेन्ड श्रीमती साटासाट गर्ने क्लब पनि छ रे नि काठमान्डुमा हो त ?”

“हैट कसरी साट्ने हो ? कसले भन्यो तँलाई   मूर्ख ?”

“हो रे क्या सर ! पत्याउनुस् न । सधैँलाई होइन नि एक दुई घण्टालाई । रमाइलो गर्ने क्लबमा रे। भि आइ पि व्यक्तिहरू मात्रै ।”

“लु पत्याइन। नजाने गाउँको बाटो नसोध सिपाही भएर ।”

“साहेब त्यता जान पो पल्केका छन् कि क्या हो ह सर ।”

“गए त गए युद्धमा जान पो हुन्न थ्यो प्रेममा जान के भो त ?”

बेलुका पटक्कै निद्रा परेन। यो मोरो भिमले आज अनौठो कुरा पो गर्यो बा। आधा पत्याउन सकिने आधा चैँ सम्भावना नै नभएको जस्तो पो कुरा । पिउने बानी पनि छैन।कुनै कुराको पनि अम्मल छैन।घर नगएको पनि छ महिना भैसकेको छ। आमाले बिहे गर्न भन्दा पनि सेकेन्ड लेफ्टन भए मात्रै गर्छु भनेर टार्दै आएँ। राजा साहेबले छुट्टी दिए पनि कान्छी रानी साहेबले नजानु भन्नुहुन्छ । हिजो खाना खादा पनि तिमी मलाई असाध्य मन पर्छ भन्नुहुन्छ । फेरि कविन्द्र साहेबको पनि धेरै नजिक छु। सबै जिम्मेवारी मेरै थाप्लोमा छ। ठुली रानी साहेब अमेरिका गएपछि यो घरमा मनलाग्दी चल्छ । न कविन्द्र साहेब नै आफ्नो लाइनमा न कान्छी रानी साहेब आफ्नो अनुशासनमा । लोग्ने नभएको बेलामा एउटा पुरुषसँग सँगै बसेर वाइन पिऊँ भनेर भन्ने स्वास्नीमान्छे कति साहसी ! आम्मै खै मैले त केही भन्न सकिन। मैले पनि आफ्नो दायित्व बिर्सिदिएको भए के पो हुन्थ्यो हैट….

सोच्दासोच्दै कति बेला निदाएछु पत्तै भएन। एकैपटक बिहान खोरको भाले बासे पो झस्किएँ।

शुक्रवारको रात। घरमै पियौँ हामी तीनले त्यो दिन। राजा साहेब रानी साहेब र मैले।

मलाई रानी साहेबले कर गरिस्यो।

दुई गिलास रातो वाइन पिएँ। राजा रानी साहेब त फिट्टै। पिउँदा पिउँदै मात्तिँदै गए खै राजा साहेबलाई के सनक चढ्यो अचानक चालक बोलाऊ । घुम्न निस्क्याैँ भन्नुभयो।

रानी साहेब तयार होइबक्स्यो। मैले लुगा चेन्ज गरे। हामी निस्क्यौँ। रातको एघार बजिरहेको थियो। सडकमा गाडी चल्न छोडिसकेको थियो। पुलचोक कटेको सम्म थाहा छ जावलाखेलको कुनै गल्ली भित्र घुसेपछि एउटा भव्य घर भित्र छिर्यौं हामी । सबै जोडी झुमेर नाचिरहेका ।पिइ रहेका। कस्तो अचम्मको ठाउँ रहेछ यो।

राजा हातमा  एक गिलास वाइन लिएर एउटी भर्खरैकी तरुनीसँग नाच्न थाल्नु भो।

म र रानी साहेब सँगै थ्यौ।

“कहाँ यो महारानी ।” मैले साउती गरेर सोधेँ ।

एकै छिनमा बत्तीको लाइन गयो। हल अन्धकार भो। बजिरहेको गीत बज्न छोड्यो। मानिसहरूको एकाएक सन्नाटा सुरु भो। त्यो हल बिस्तारै खाली हुन थाल्यो। अँध्यारोमा जोडी मिलेर अन्त कतै अर्को स्थानमा यात्रा गरे जस्तो भान हुन थाल्यो ।

जोडी  छायाहरू नदी जस्तै बग्दै महासागरतर्फ बगेजस्तो लाग्न थाल्यो।

म एक्लै थिएँ। अलमलिएँ। म बेजोडी आएको । राजा साहेब पनि देखिन। रानी साहेब पनि देखिन। एकै छिनमा कता कता एउटा कोमल हातले स्पर्श गरे जस्तो लाग्यो। कस्तो कोमल अनुभूति भो। हातले हातमा च्याप्प समात्यो। मुहार  चिन्न सकिन। कपाल लामो छ। अत्तर  मगमग वासना आइरहेको छ। त्यो हातले समातेर मलाई खै अर्कै सन्सारमा लगे जस्तो लाग्यो।

कोठामा चुकुल लागेपछि पो झल्याँस सम्झे भिमले भनेको त्यो नाइट क्लबको बारेमा । केही बोलिनँ। निशब्द भएँ । मदहोसी भएँ । सारा शरीर झङ्कृत भो। सबै लाज निस्सङ्कोच निख्रिएर कोसीको निर्मल धारा अलमस्त बगिरहे जस्तो। श्वास आफ्नैको जस्तो । हात आफ्नैको जस्तो। धड्कन आफ्नैको जस्तो । ओठ कहिले कतै छामिसकेको जस्तो… उफ् यो माद यो हुरहुरती बलिरहेको कम्पन !  अँध्यारोमा बैँसले मात्तिएर पुलुक्क देखिएकी जुनकिरी जस्तै। पसिनाले निथ्रुक्क भिजेछु। दश मिनेटपछि  परिचित आवाज विस्फोट भो कानमा-

” दिपु…! साहेबलाई केही नभन्नु है मेरो प्यारो मान्छे”

मैले आत्तिएर भनेँ, “हस् रानी साहेब”