
भर्खरै बाबाले ल्याइदिएको साइकल लिएर कुद्नु कुनै बेलाको मेरो दिनचर्या नै थियो । हामी पहाडबाट तराई झरेको लगभग दुई वर्ष मात्रै भएको थियो होला । पहाडको गाउँमा खासै अन्न उब्जनी हुँदैन थियो । त्यसमाथि जङ्गली जनावरको राज चल्छ अहिले धेरै स्थानमा । बाआमा र दिदीहरूले आफ्नो खेती लगाएर बचेको समयमा अरूको मेलापात, अधियाँ, ठेक्का आदि गरेर जसोतसो पाँच जनाको परिवार पाल्नुभएको थियो ।
म माथिका दुई ओटै दिदीले पढ्न पाउनु भएन । नपढेको भन्नाले सावाँ अक्षरै नचिनेको भने होइन । दुवै दिदीले कक्षा पाँच जेनतेन उत्तीर्ण गर्नुभएको रे । त्यो भन्दा बढी पढ्न गाउँ छोडेर पल्लो गाउँको विद्यालयमा जानुपर्दथ्यो । हिँडेर तिन घण्टामा पुगिने उक्त ठाउँमा छोरीलाई कसले स्कुल पठाओस् ?
जब म कक्षा तिनबाट जसोतसो चारमा पुगेँ, वा पुर्याइएँ भनौँ बाआमालाई मेरा बारेमा एक खालको चिन्ता भएको पाएँ । पछिल्लो साल त मेरो पनि त्यो विद्यालयको पढाइ सकिन्थ्यो । ‘यसलाई अलि पढाउन पाए बुढेसकालमा सुख हुन्छ कि’ भन्ने उहाँहरूको आशा थियो होला – आफूलाई त पढ्न मन भए पो !
तराईमा झरेपछि मलाई पहाडमा भन्दा हाइसन्चो थियो । पहाडमा कहिलेकाहीँ मलाई घाँस दाउरामा जानुपर्थ्यो । बिहान छिटै उठ्नु, गोबर सोहोर्नु, अलिकति भएको दूध लिएर डेरीमा जानुजस्ता दिक्दारीपूर्ण काम मैले बारम्बार गरिरहनु पर्दथ्यो । मलाई त्यस्तो काम लगाएर बाआमाले समयको बचत गर्न चाहनुभएको थियो होला तर तराई झरेपछि त मेरो दिनचर्या पूरै फेरिएको थियो । बिहान अबेरसम्म सुत्नु, मन लागेको ठाउँमा घुम्न जानु, सुपारी तथा नरिवल चोरेर खानु जस्ता कुराले बालसुलभ आनन्दको अनुभूति हुन्थ्यो । बाआमालाई जे सुकै होस्, मलाई मतलब थिएन ।
बाले घरछेउमा अलिकति जग्गा भाडामा लिएर सानो टहरो बनाउनुभएको थियो । जसमा किराना पसल राखियो, त्यो पनि मेरै नाममा – तेजस किराना स्टोर । आफ्नै नाममा खुलेको पसलको नाम हेरेर म पुलकित हुन्थेँ । बिहानबेलुका बा पसलमा बस्नुहुन्थ्यो भने दिउँसोचाहिँ आमा । बा कता कता काममा जानुहुन्थ्यो होला । दिदीहरूको विवाह भैसकेको थियो । मैले तराई झर्ने बित्तिकै बालाई साइकल किनिदिन अनुरोध गरेको थिएँ । त्यो माग पूरा हुन झन्डै दुई वर्षै कुर्नुपर्यो । कारण बासँग पैसा थिएन । तर मेरो जिद्दीले नजित्ने भन्ने त कुरै हुन्नथ्यो ।
साइकल मेरो बाध्यता पनि थियो । विद्यालयमा सब साथीहरू साइकलमा आउँथे । कतिपयको त अभिभावकले नै मोटरसाइकलमा विद्यालय ल्याउने लाने गर्दथे । मेरो बाल मनले भन्थ्यो – मेरा बाको पनि यस्तै मोटरसाइकल भइदिए !
साइकल ल्याइदिएको दिन मेरो खुसीको सीमा नै रहेन । मेरो बाजस्तो माया गर्ने त कोही छैन होलाझैँ लाग्यो । कुद्दै गएर नजिकैका केही साथीहरूलाई सुनाउन भ्याएँ । केही साथी त उत्सुकतापूर्वक हेर्न पनि आए । रातो राम्रो चिटिक्क परेको साइकल देखेर भित्रभित्रै जलेका थिए । उनीहरू जलेको देखेर मलाई कम्ता आनन्द आएन ।
साइकल पाएपछि मेरो दिनचर्या पुरै बदलियो । बिहान चाँडै उठेर साइकल कुदाउन जान्थेँ । एक दिन त सपनामा कसैले साइकल चोरेको देखेँ । म मज्जाले रुन थालेछु । आमाले ब्युँझाएर सोध्नुभयो । त्यस दिनबाट मेरो रातो साइकल मेरै ओछ्यान छेउमा हुन्थ्यो ।
सुरुसुरुमा मलाई साइकल कुदाउन एकदम गाह्रो भो । सिक्ने क्रममा कति लडियो कति । बारम्बार गिट्टीमा पछारिँदा हात र घुँडामा दर्फर्याएको खाटो बस्थ्यो र उक्किन्थ्यो । तर पनि मैले घरमा भनिनँ । कहिलेकाहीँ नुहाउँदा आमाले उक्त घाउ देख्नुहुन्थ्यो र औषधि लगाइदिनुहुन्थ्यो पनि । तर म फेरि लड्थेँ, घाउ बिसेक हुनै पाउन्नथ्यो ।
एक दिन बिस्तारै गुडाउँदै पल्लो गाउँसम्म साइकल लिएर गएँ । मोटर नै कुद्न सक्ने बाटो भए पनि कहिलेकाहीँ बाहेक मोटर आउँदैनथे । जाँदा अलि उकालो परेकोले जिउ पूरै पसिनाले भिजेछ । माथि पुगेर चौतारीमा एक छिन बसेँ । भेटिएका केही साथीलाई मैले पुनः फुर्ती लगाउन भ्याएँ । फर्किदा ओरालो-ओरालो भएकोले पाइडल हान्नु परेन । एउटा गोलाइमा आइपुगेपछि अचानक खाल्टो आइपुग्यो । खाल्टो जोगाउने त खोज्दाखोज्दै म पछारिएँ । मेरो चाक नराम्रोसँग घिस्रियो, न त म रुन सकेँ, न हाँस्न नै । कसले मूलबाटोमा खाल्टो पारेको होला ? मनमनै सरापेँ । तर कसले सुन्ने र मेरो सराप ? हिजो अस्ति बाले किनिदिएको कट्टु धुजा धुजा परेको थियो ।
मेरो पढाइ पनि बुढो साइकलजस्तै खटखट उक्लिँदै गयो । अर्थात् म दुई विषय लागेर कक्षा चढाइएँ । आन्तरिक परीक्षामा कहिल्यै राम्रो नगरे पनि फाइनल नतिजाको मार्क सिटमा कहिल्यै म फेल हुन्नथें । अरू कुरा दैव जानुन् । माध्यमिक विद्यालय गाउँमै थियो । तर मेरो साइकल रवाफले मलाई घर नजिकै पढ्न दिएन । मैले नजिकको विद्यालयमा अनिच्छा देखाएका कारण आजित भएर बाले पल्लो गाउँको विद्यालयमा मेरो भर्ना गराइदिनुभो, ठुलो मान्छे मलाई जो बनाउनु थियो ।
नयाँ विद्यालयमा नयाँ रवाफ मैले देखाउन थालेँ । बाटोमा बिस्तारै पाइडल मारेर केटी साथीहरूका छेउमा पुगेर अचानक घण्टी बजाएर तर्साउनमा मलाई खुब आनन्द आउँथ्यो । केटीहरू रिसाएर कस्तो पात्तिएको बाहुन, चुच्चे, टपरे आदि जस्ता शब्दले मलाई गाली गर्थे, त्यतिन्जेलमा म पर पुगिसकेको हुन्थेँ । बाहुनकै छोरो भए पनि मलाई बाहुन, टपरे आदि गालीसँग खुब रिस उठ्थ्यो ।
एक दिन मेरो साथी अनुजले सहरमा नयाँ फिल्म लागेकोले हेर्न जाने प्रस्ताव ल्यायो । प्रस्ताव मलाई अनुचित लागेन तर दुई ओटा समस्या आए । पहिलो फिल्म दिउँसो चल्ने भएकोले पढाइ छोड्नुपर्थ्यो । दोस्रो सहर जान साइकलमा झन्डै तीन घण्टा लाग्थ्यो । पैसाको चाहिँ मलाई त्यति समस्या हुन्नथ्यो । बाआमा नभएको मौका पारी म सन्दुकबाट थाहा नपाउने गरी ‘सेल्फ सर्भिस’ गर्थें ।
उपयुक्त दिन छनौट गरी हामीले फिल्म हेर्ने योजना बनायौँ । अनुजको घरमा त खासै समस्या थिएन । तर मलाई त फिल्म हेर्न जाने कुरा चानचुने ‘कर्म’ थिएन ।
फिल्म हेर्न भनेर तय गरिएको दिन बिहानै उठेर नुहाएँ । आमाले सदाझैँ खाना तयार पार्नुभयो । खाना खान बसेँ तर भित्रैबाट डर लागेर आयो । झुटो कुरा लुकाउन कहाँ सजिलो हुँदो रहेछ र ! मैले पेट दुखेर खान मन लागेन भनेर पुनः अर्को झुट बोलिदिएँ । आमाले स्कुल नजा भन्दै हुनुहुन्थ्यो, म वास्तै नगरी घरबाट निस्केँ ।
बाचाअनुसार अनुज चौतारीमा भेटियो । स्कुल जान भनेर हिँडेका हामीसँग झोलामा पुस्तकहरू थिए । त्यत्रो भारी बोकेर के सहर जानू ? मैले चिनेको एक जना साहुजीलाई झोला राखिदिन अनुरोध गरेँ । उनले पनि चार बजे भित्रमा लैजानु भनेर झोला राखिदिए ।
पिँजडाबाट फुत्किएको उन्मुक्त सुगाझैँ हामी सहरतिर हान्नियौं । फिल्म हलमा पुग्दा बाह्र बज्न लागेको थियो । फिल्मको दोस्रो सो को टिकट हामीले पाएनौँ । उक्त सो बाह्र बजे सुरु हुन्थ्यो, हामीलाई घर फर्किन पनि सहज हुन्थ्यो । अब तेस्रो साेको लागि पर्खिनुपर्यो जुन तिन बजे मात्र सुरु हुन्थ्यो । हामीले टिकट लियौँ र सजगतापूर्वक बाहिर निस्कियौँ कारण कसैले चिनेर पोल लगाइदिए स्कुलबाट निष्कासित भइन्थ्यो भने घरमा पनि बासको टुङ्गो हुने पक्का थिएन । हामीलाई तिन घण्टा कुर्नुपर्ने थियो । समय व्यर्थमा कटाउन कति गाह्रो हुन्छ भन्ने कुरा मैले त्यही दिन महसुस गरेँ ।
सेकेण्ड-सेकेण्ड गर्दे सरेको घडीको काँटाले बल्ल तिन बजेको जनाउ दिन थाल्यो । फिल्महल वरिपरि मान्छेको खुब भिड थियो । कोही हामीजस्तै केटाकेटी थिए भने कोही नवयौवनाहरू । युवायुवतीहरू एक अर्काका हात समातेर हिँडेको देख्दा मलाई लाज लागेर आयो भने कलिला केटाहरू देख्दा आफूजस्तै भागेर आएका होलान् भनेर लख काटेँ । धेरैजसो दर्शक हातमा केही न केही खानेकुरा लिएर लामबद्ध भएका थिए । हामी भने भोकले रन्थनिन थालेका थियौँ । मैले अनुजको पनि टिकट किन्नु परेकोले खाजा खाने पैसा हामीसँग थिएन ।
फिल्म हलमा पस्दा अँध्यारोका कारण सुरुमा त मैले केही देखिन । आदेशबमोजिम हामी सबभन्दा अगाडिको सिटमा बस्यौँ । एउटाले टर्च लाइट बालेर आएर हाम्रो टिकट चेक गर्यो । त्यसपछि यसो हेरेको पछाडि केही सिट खाली रहेछन्, हामी त्यहीँ सर्यौँ । फिल्म सुरु भो । चकमन्न अँध्यारो हलमा डुङडुङ आवाजसँग खुब कलात्मक तवरले नामहरू उफ्रिँदै, बटारिँदै आए । मैले फिल्म त पहिला पनि हेरेको थिएँ तर त्यसरी नाम उफ्रेको, कुदेको मलाई याद छैन । म खुबै रोमाञ्चित भएँ । साथीलाई हेरेको ऊ पनि त्यस्तै देखिन्थ्यो ।
फिल्मको कथा बढ्दै जाँदा दर्शकमा पनि एक किसिमको बेचैनी आउँदो रहेछ । कहिले उनीहरू चिच्याउँथे, कहिले सुसेल्थे । कहिले त आफैँ गएर भिलेनलाई हान्दिउँलाझैँ पनि गर्थे । चेलीबेटी बेचबिखनका विरुद्धमा हिरोको सशक्त प्रस्तुतिले सबैलाई रोमाञ्चित बनायो ।
लगभग छ बजेतिर फिल्म सकियो । बाहिर निस्केर सबै जना आ-आफ्नो घर जाने तरखर गर्न थाले । म हताश हुन थालिसकेको थिएँ । एकातर्फ भोकले आन्द्रा सुक्न थालेको थियो भने अर्कोतर्फ आज घरमा के भन्नुहुने हो भन्ने चिन्ता पनि उत्तिकै थियो । अनुजलाई मैले छिटो गरेर घर फर्किन भनेँ । तर मलाई आश्चर्यमा पार्दै उसले आज राती भो मेरो मावली नजिकै छ त्यतै जाऊँ भन्ने प्रस्ताव राख्दा म छाँगाबाट खसेझैँ भएँ । मैले आफू त्यसो गर्न नसक्ने जानकारी दिएँ र बाटो लागेँ । सहरबाट बाहिर निस्किएँ शरीरमा ‘स्टामिना’ भए पो साइकल ठेल्न सक्नु ! कहिले पाइडल मार्दै कहिले डोहोर्याउँदै अलि पर पुगेँ । भोकले लखतरान जिउ कति ठेल्न सकिन्थ्यो र ? त्यही दिन मैले थाहा पाएँ पापी पेट पाल्न कति गाह्रो छ ! दिउँसो सहर जाँदा बिच बाटोमा केरा पाकेको देखेको थिएँ । साइकललाई साइड लगाएर म केराबारीमा हाम फालेँ । पाकेको केही केरा भेटियो, खाएँ, केही बोकेँ पनि ।
फेरी अर्को समस्या आइलाग्यो – बाटोमा घना जङ्गल थियो । जङ्गलको बिचमा चिहानघारी पर्दथ्यो । दिउँसै पनि एक्लै हिँड्न डर लाग्थ्यो । उक्त दिन त मूल साँझ नै पर्न थालेको थियो । के गर्ने म अन्यमनस्क हुँदै अघि बढ्दै थिएँ । मसँग अर्को विकल्प थिएन ।
यस्तैमा पछाडि आगोको झिल्को जस्तै देखियो । त्यो बढ्दै आयो । साइकल रोकेर हेरेँ । त्यो त झनझन ठुलो हुँदै जाँदा मेरो मुटुको धड्कन कानमै आएर बजारिन थाल्यो । केटाकेटीमा राँके भूत हुन्छ भन्ने सुनेको म आज भोग्ने भएँ भन्ने लाग्यो । निकै वरै आएपछि थाहा पाएँ – त्यो त मोटर पो रहेछ । अचानक त्यो गाडी मेरो सामुन्नेमा आएर रोकियो । ड्राइभरले गाडी रोक्दै भन्यो ‘ए फुच्चे, यति राति कहाँ जान हिँडिस् ?’ ‘त्यही जङ्गल पारीसम्म जान्छु’, मैले उत्तर दिएँ । उसले मोटरमा जान मलाई प्रस्ताव गर्यो । मैले पनि ढुङ्गा खोज्दा देउता मिलेको जस्तो ठानेँ । साइकल गाडीको डालीमा राखेर म ड्राइभरसँगै बसेँ । बाटोमा दिनभरिका सबै कहानी सुनाएँ । उसले फिस्स हाँसेर भन्यो, ‘उमेरमा यस्तै हो’ । म भित्रभित्रै मुरमुरिँदै थिएँ । मान्छे कति निर्दयी हुन सक्छ ? एउटाको यत्रो पीडालाई कसरी सहजै हाँसेर उडाउन सक्छ मान्छे ? तर जे भए पनि आशाको दियो त्यही मान्छे नै थियो मेरो ।
जङ्गलको भाग सकिएपछि मेरो घरमा पुग्न झन्डै एक घण्टा लाग्थ्यो । ड्राइभरले मलाई उसैकोमा जाने प्रस्ताव गर्यो । अत्यन्तै डराएको म के गर्न सक्थेँ र ? हुन्छ, भनिदिएँ ।
खोला तर्ने बित्तिकै ड्राइभरको घर आइपुग्यो । सानो परिवार रहेछ – बाआमा अनि उसकी श्रीमती थिए । पुग्ने बित्तिकै खाना खान बोलाइयो । खाना खाइसकेपछि केही बेर गफ गरियो । छिँडीमा सुत्ने ठाउँ देखाइदिए । दिनभरि थाकेको म ओच्छ्यानमा ढल्ने बित्तिकै भुसुक्क निदाएछु ।
उता स्कुलबाट घर नआएपछि मेरो खोजी सुरु भएछ । बाआमाले विद्यालयमा सम्पर्क गर्नुभएछ । म विद्यालय नगएको जानकारी पाएपछि गाउँलेसमेत लागेर मेरो खोजी चलेछ । साथीभाइ, इष्टमित्र, आफन्त कतैबाट मेरो बारेमा सुराक नपाएपछि सबै हताश भएछन् । बुढेसकालको एक मात्र सहारा छोरो हराएपछि आमालाई पर्नु पिर परेछ । गाउँलेहरूले म डुँडे खोलातिर जाँदै गरेको देखेको भनेर समेत कुरा लगाउन भ्याएछन् । तनावै तनावको कारण आमा ढल्नुभएछ । हतार-हतार एम्बुलेन्स बोलाएर अस्पताल लगिएछ । एकातिर छोरो हराएको पिर अर्कोतिर आमा बेहोस । बाको हालत कस्तो भयो होला !
भोलिपल्ट बिहान घर पुगेँ । घरमा कोही नहुँदा मन आत्तियो । छिमेकी काकीलाई सोधेँ । उहाँले एकै सासमा सविस्तार लगाउन भ्याउनुभयो – तिमी घरमा नआएपछि तिम्रो खोजी हुन थाल्यो । वरपर आफन्त, छरछिमेक सबैतिर खोजियो । कसैले तिम्रो बारेमा सकारात्मक समाचार ल्याएनन् । अझ तिमी खोलातिर गएको भन्ने पनि गाइँगुइँ सुन्न थालियो । त्यत्तिकैमा तिम्री आमा ढलिन् । एम्बुलेन्स बोलाएर हतार हतार जिल्ला अस्पतालतिर लगियो ।
उहाँले त्यति भनी नसक्दै मेरो हंसले ठाउँ छोडिसकेको थियो । म रुन थालेछु । सोचेँ – मेरो सानो गल्तीको कति ठुलो सजाय दियौ, भगवान् ! मनमनै ‘मेरी आमा सकुशल घर फर्किनुहोस्’ भनेर कामना गरेँ ।
काकीले खाना खान डाक्नुभयो । तर मुखमा पुर्याएको गाँस माटो चपाएजस्तो भो । भित्र जानै मानेन । मुख जुठो मात्र पारेर उठेँ । सेकेण्डसेकेण्ड गर्दै दिन बित्यो । आमाको हालखबर केही थाहा थिएन । घडीतिर हेर्थेँ ‘साँच्चै समय पनि कति ढिलो कुदेको !’ जीवनमा पहिलो पटक मैले आमाको अभाव महसुस गरेँ । कोकोहोलो गरेर रुन मन नलागेको पनि होइन तर आफ्नै गल्तीमा कसरी रुनु ? आफैँलाई सम्हालेँ ।
साँझ झमक्क परिसकेको थियो । अचानक एउटा गाडी हाम्रो घरको आँगनमा रोकियो । आमालाई लिएर बा आउनुभएको रहेछ । अचानक म रुन थालेछु – मनका ऊहापोह पोख्ने सबभन्दा सहज ठाउँ नै आमाको काख हो, सायद । आमाले गहभरि आँसु पारेर मतिर हेर्नुभयो – आल्हादित मन लिएर । सायद भन्दै हुनुहुन्थ्यो होला – छोरा, म नभएर पनि तिमी बाँच्छौ होला तर तिमी नभएर म एक पल पनि बाँच्न सक्दिन । मलाई छोडेर यसरी नहिँड ।
मैले प्रण गरेँ – अब म आमाको मन कहिल्यै दुखाउने छैन ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

